सच्चा दीपावली कसरी मनाउने ?
- ब्रह्माकुमार जगदीश चन्द्रजी
दीपावलीको दिनमा मान्छेहरुले विभिन्न प्रकारका बत्ती बाल्ने गर्दछन् । पुरानो जमानामा घ्यूको बत्ती बालिन्थ्यो । पछि मैनबत्ती बाल्न शुरु गरियो । त्यो जमाना पनि गयो । अब बिजुलीका साना साना बत्तीहरु जसलाई मिनिचर भनिन्छ बाल्न शुरु भएको छ । जेनेरेटरबाट पनि बत्ती बालिन्छ । बाबाले हाम्रो जो आत्मरुपी लाइट बाल्नुहुन्छ, त्यो अटोमेटिक लाइट हो । धेरै मान्छेहरु भन्छन् कि पहिलेको जमानामा मंत्र बलले, योग बलले, आफ्नो तपोबलले अग्नि प्रज्वलित गर्दथे । बाबाले हाम्रो आत्माको ज्योति तथा अग्नि जलाउनुभएको छ, मनमनाभव मंत्रद्वारा । यही नै शुद्ध अग्नि हो । यो त्यो अग्नि होइन जसलाई जमिनको तेलबाट, कोइलाबाट अथवा करेन्टबाट जलाइने । यो सेल्फ जेनेरेटिङ अग्नि हो । यो त्यो अग्नि होइन जसले प्रदुषण बनाउँछ । बाबाले सिर्फ यो लाइट हामीलाई दिनुभएको छैन, हामीलाई सबैभन्दा ठूलो लाइट हाउस नै तुल्याइदिनुभएको छ । बाबाले भन्नुहुन्छ, बच्चाहरु हो, तिमी बच्चाहरुलाई लाइटहाउस तुल्याइदिन्छु ताकि अरुहरुले पनि तिम्रो बाटो पकड्न सकून, उनीहरुलाई पनि प्रकाश मिल्न सकोस् । तिमी त्यो प्रकाश होइनौ, जो आफ्नो लागि मात्र हुन्छ, तिमी त अरुहरुको लागि समेत प्रकाश दिनेवाला हौ । पहिलेको जमानामा दीपावलीको दिन केही मानिसहरुले आफ्नो घरमा बत्ती बाल्दथे, आफ्ना परखालहरुमा बाल्दथे र चौबाटोमा लिएर राख्दथे, जसले गर्दा अरुलाई पनि प्रकाश मिलोस् । आजकाल त सबै ठाउँमा बिजुलीको रोशनी चम्किरहेको हुन्छ, रीतिरिवाज नै बदलिइसकेको छ । पहिलेको प्रथा यो थियो कि आफ्नो घरमा पनि रोशनी होस् र अरु सबैलाई पनि रोशनी मिलोस् । आजकाल त लेजर लाइटको जमाना छ । लेजर लाइट धेरै तेजिलो हुन्छ । बाबाले पनि भन्नुहुन्छ, बच्चाहरु हो, तिम्रो योगबल यति शक्तिशाली हुनुपर्छ कि अरुको समेत पाप दग्ध होओस् । यही नै दीपावलीको दीप जगाउनुको अर्थ हो ।
फेरि कुरा आउँछ दीपावलीमा हिसाबकिताबको पुरानो खाता बन्द गर्ने र नयाँ खाता खोल्ने । ईश्वरीय जीवनमा नयाँ खाता कसरी खोलिन्छ ? खातामा यो लेखिन्छ कि कति आउँछ, कति जान्छ र कति बच्छ । तसर्थ बाबाले भन्नुहुन्छ, बच्चाहरु हो, संगम युगमा तिमीहरुको नयाँ खाता खोल्नुपर्छ । यसको अर्थ के हो ? बाबाले कमाइ गर्ने जो विधि सिकाउनुहुन्छ, त्यसलाई हामी खाता भन्छौँ । बाबाले भन्नुहुन्छ, बच्चाहरु हो, तिमी खुब कमाऊ । कुनचाँहि कमाइ खुब कमाउने यो बुझ्नुपर्छ । अरु मानिसले पनि कमाउछन्, तर केही मानिसहरुले हाम्रोजस्तै कुरा गर्छन्, जस्तो यति कमाएपछि सरकारलाई यति इन्कम टैक्स तिर्नुपर्छ भनेर । जति जति कमाइ बढी हुन्छ, त्यति त्यति नै इन्कम टैक्सको रेट पनि बढी हुँदै जान्छ । बाबाले भन्नुहुन्छः म तिमी बच्चाहरुलाई यस्तो कमाइको तरीका बताउँछु कि जसमाथि इन्कम टैक्स नै लाग्दैन र सो कमाइ कसैलाई बेचिहाले पनि सेल्स टैक्स लाग्दैन । आज लौकिकमा तपाईँ जुनसुकै चिज बेच्नुहोस् वा व्यापार गर्नुहोस् सेल्स टैक्स तिर्नैपर्छ । अनि कुनै व्यक्तिसंग जति सम्पत्ति जम्मा हुँदै जान्छ त्यसमा वेल्थ टैक्स पनि लाग्ने गर्छ । यति मात्र होइन बाबु मरेपछि उसको सम्पत्ति छोरामा ट्रान्सफर हुँदा समेत इस्टेट टैक्स लाग्दछ । यसरी कलियुगमा हरेक कमाइमाथि टैक्स लाग्ने गर्छ । अझै यति मात्र पनि होइन कमाउने व्यक्ति मरेपछि पनि उसको सबै पैंसा र सम्पत्ति लाकर्समा परिरहेको हुन्छ, कसैलाई दिएको रहेछ भने उसैसंग रहन्छ र कतै छिपाएर राखेको रहेछ भने पनि त्यो सम्पत्ति छिपिरहन्छ, मृत व्यक्ति भने खाली हात जानुपर्छ । किनकि खाली हात आएको थियो, खाली हात नै गयो । न आफ्नो रजाबाट आयो, न आफ्नो रजाबाट गयो । सब कमाई यहीँ रह्यो । तर बाबाले हामीलाई यस्तो कमाइ सिकाउनुहुन्छ कि त्यसमाथि कुनै टैक्स लाग्दैन । यो सम्पत्ति, मृत्यू हुँदा पनि आफ्नै साथ जान्छ । यसलाई अविनाशी कमाइ भनिन्छ । बाबाले ग्यारेन्टी दिनुहुन्छ कि यो कमाइले २१ जन्मसम्म धान्दछ, अरु के चाहियो ? यो नयाँ खाता हो, जो बाबाले सिकाउनुहुन्छ । यसलाई अविनाशी कमाइ यसकारण भनिन्छ कि न कुनै चोरले चोर्नसक्छ, न आगोले जलाउन सक्छ । यो तपाईँको साथमा नै जान्छ । अतः आफैँसंग सोधौँ कि हामीले कुन खाता खोलेका छौँ ? आयकर लाग्ने खाता हो कि वा अविनाशी २१ जन्मसम्म चल्ने वाला खाता ? त्यो कमाइ बैंक आदिमा राखिन्छ, तर तपाईँलाई थाहै छ कति बैंक र कम्पनी त आजभोलि टाट पल्टिरहेका छन् । तर यस खातामा कहिले पनि घोटाला र दिवालिया हुँदैन । विनाशी कमाइको तपाईँ जति खर्च गर्नुहुन्छ वा अरुलाई जति दान दिनुहुन्छ, त्यति त्यति कम हुँदै जान्छ । तर ईश्वरीय कमाइको जति तपाईँ खर्च गर्नुहुन्छ वा दान गर्नुहुन्छ, त्यसको कैयौँ गुणा बढ्दै जान्छ, यो कमाइ ईश्वरीय बैंकमा जम्मा हुँदै जान्छ, कुनै फिक्रि गर्नुपर्दैन । यस कमाइ अर्थात ज्ञानधनको यो विशेषता छ कि लिए पनि बढ्छ र दिए पनि बढ्छ । दुनियाँमा अर्को यस्तो कुनै धन छैन जुन दिए पनि बढ्दै जान्छ । बाबाले हाम्रो लागि जुन खाता खोलिदिनुभएको छ, त्यो अविनाशी रुपले चल्दै जान्छ ।
लौकिक खातामा यो ध्यान दिनु आवश्यक छ कि कति आयो ? कति गयो ? र कति बच्यो ? जति बच्छ त्यसलाई शेष भनिन्छ । परन्तु बाबाले मनसा-वाचा-कर्मणा हामीले कति आत्माहरुको सेवा गरेका छौँ ? यो हिसाब राख्नको लागि अह्राउनुहुन्छ । यही नै कमाइ हो । लौकिक दुनियाँमा सेवाको कमाइ मानिँदैन । उनीहरु सम्झन्छन् कि धन-सम्पत्तिको संग्रह गर्नु मात्र कमाइ हो । अविनाशी खाता खोल्ने तरिका हो मनसा-वाचा-कर्मणा, दृष्टि-वृत्ति-स्मृतिद्वारा अरुलाई सेवा गर्नु र ईच्छा मात्रम् अविद्या बनेर रहनु । हामीलाई व्यक्तिको गुण देख्नको लागि श्रीमत मिलेको छ । परन्तु यदि व्यक्तिमा अवगुणहरुको गन्ध आयो भने हामीले के गर्ने ? जुन गुणको कमी त्यस आत्मामा छ, त्यही गुण उसलाई दान गर्ने । यही हो अविनाशी कमाइ गर्ने विधि । हामी दाताका बच्चा हौँ । त्यस आत्मामा सहन गर्ने शक्ति छैन भने, रिसाहा छ भने उसलाई सहनशिलताको गुण देऊ, मधुरताको गुण देऊ, नम्रताको गुण देऊ । हामी आफ्नो जीवनको सद्गुणहरुको यति सुवासनामय बनाऔँ कि देख्नेहरुले आएर सोधून् कि हामीमा नभएका गुणहरु तिमीहरुमा कहाँबाट र कसरी आए ? मलाई बताइदेऊ कि मैले पनि यी गुणहरु कसरी धारण गरुँ ? यही हो गुणदान । गुणदान गर्नु धेरै ठूलो कमाइ हो ।
हामीहरुले अब यस्तो हिसाब राख्नुपर्छ, हामीले कति ज्ञान लियौँ ? र कति दियौँ ? ज्ञान कति लियौँ ? यसको पनि हिसाब राख्नुपर्छ । किनकि लिनुको अर्थ जम्मा हुनु हो । परन्तु ज्ञान दिनमा कञ्जुस भएमा जति जम्मा गर्न चाहेको उति जम्मा नहुन सक्छ । ज्ञान लिएर जम्मा त हुन्छ, तर ज्ञान लिए पश्चात् ज्ञान दिने प्रक्रिया पनि छ, त्यसबाट जम्मा हुँदैन किनकि तपाईँले पाएको ज्ञान अरु कसैलाई दिनुभएन । तपाईँले आफ्नो दीप त जगाउनुभयो, तर अरुको कति दीप जगाउनुभयो त ? दीपावलीको दिनमा यसको हिसाबकिताब हेर्नुपर्छ । यदि दीपावलीको दिनमा आफ्नो घरमा मात्र दीप बलिरहेको छ भने यसलाई दीपावली भनिँदैन । तपाईँको घरमा २० वर्षदेखि दीप बलिरहेको छ, तर तपाईँको छिमेकको घरमा अँध्यारो नै छ भने कसरी त्यसलाई दीपावली भन्ने । यसैले बाबाले भन्नुहुन्छ कि नयाँ खाता पनि खोल र आफ्नो घर लगायत अरुको घरमा पनि दीप प्रज्वलित गर ।
दीपावलीको दिनमा सबै घरको सफाइ गरिन्छ । यो पनि हामीले हिसाब हेर्नुपर्छ कि आफ्नो सफाइ कत्तिको गरियो ? र अरुको सफाइ कत्तिको गरियो ? भनिन्छ कि घरभरि सफाइ त गरियो, तर एक कुना मात्र बाँकी रह्यो भने पनि लक्ष्मी प्रवेश गर्दिनन् । यसरी नै हाम्रो मनमा कुनै पनि विकार, काम, क्रोध, लोभ मोह थोरै पनि बाँकी रह्यो भने दीपावली मनाउनुको अर्थ नै के रह्यो र ? बिना सफाइ लक्ष्मी घरमा आउँदिनन् । यहाँ त तपाईँ स्वयम् नै लक्ष्मी नारायण बन्दै हुनुहुन्छ भने तपाईँमा विकारको कुनै पनि दुर्गन्ध बिल्कुल हुनु भएन ।
सफाइ पछि आउँछ मिठाइको कुरा । दीपावलीको दिनमा तपाईँ आफ्ना नातेदारहरुलाई मिठाइको डिब्बा बाँड्नुहुन्छ । त्यसरी नै हामीले पनि भेट हुनेहरुलाई ज्ञानरुपी प्रसाद दिनुपर्छ । उनीहरुलाई कुनै न कुनै यस्तो ज्ञानको कुरा सुनाउनुहोस् जो उनलाई मीठाइभन्दा पनि बढी मीठो लागोस् । ज्ञानको मीठाइलाई बाबाले दिलकुश मीठाइ भन्नुहुन्छ । कसैको दिलको दुःखदर्द हरिदिनु पनि मुख मीठो गरिदिनु वा दिलखुश गराउनु नै हो । रुनेहरुलाई हसाउने, दुःखीहरुलाई खुशी बनाउने, यही नै सच्चा सेवा अर्थात कमाइ हो । आजका मान्छेहरु त खुब पैंसा कमाउछन् । पहिलेको जमानामा लखपति पनि थोरै थिए, आज करोडपति पनि निकै धेरै छन् । आजको आवश्यकता हो दुःख हरेर दिलखुश वाला मिठाइ खुवाउने । लौकिक दुनियाँमा जो जति ठूला खानदानका हुन्छन्, उति नै बढी मीठाइ बाँड्दछन् । हामीहरु त कति ठूला बाबाका बच्चाहरु हौँ । कति उच्च खानदानका हौँ । यसकारण आफूले आफैलाई सोध्नुस् कि तपाईँले कतिजनालाई ईश्वरीय ज्ञानको मीठाइ खुवाउनुभयो ? र कतिजनाबाट खानुभयो ? मिठाइ लिनु दिनुको अर्थ यो पनि हो कि हामीले कतिसंग मधुर सम्बन्ध राख्न सक्यौँ ? कसैले कसैलाई मिठाइ दिनुको अर्थ उससंग भएको प्रेम तथा राम्रो सम्बन्ध हो । लिनेवालाले पनि उत्तिकै प्रेमले स्वीकार गरोस् । हामीले पूरै कोशिस गरौँ कि कोही पनि हामीसंग नाराज नहोस् । यस प्रकार आउनुस् नयाँ खाता खोलेर मनको सफाइ गरेर ज्ञान रुपी मीठाइ बाँडेर सच्चा दीपावली मनाऔँ ।
(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)