प्रवचन संग्रह

संगमयुगको कहानी

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

मान्छेहरु राम कहानी, कृष्ण कहानी सुनाउँछन् र सुन्नेवाला त्यो सुनेर गदगद हुन्छन्, भावविभोर हुन पुग्छन् । तर संगमयुगका ब्राह्मण कुल भुषणको पुरुषार्थको कहानी एकदमै जबर्जस्त कहानी हो । यी सबै जीवन कहानीहरुको संग्रह गरेर दुनियाका मान्छेहरुको सामुन्ने राख्ने हो भने त्यो पढेर उनीहरुको जीवनमा धेरै हदसम्म परिवर्तन आउनेछ र उनीहरु हैरान हुनेछन् कि यी मान्छेहरुले के र कस्तो प्रकारको पुरुषार्थ गरेका रहेछन् भनेर ।

यदि हरेकले आफ्नो आफ्नो संगमयुगको पुरुषार्थको कहानीको विश्लेषण गर्ने हो भने यो थाहा हुन्छ कि संगमयुगमा असंभव कुरा संभव र संभव कुरा असंभव भइरहेको छ । तपाईँ आज जुन कुरा असम्भव सम्झनुहुन्छ, त्यो कार्य यति सजिलैसंग सम्भव हुन पुग्छ कि तपाईँलाई आश्चर्य लाग्छ । जब हामी यस ईश्वरीय विश्व विद्यालयमा आएथ्यौँ, उस समय यो कस्तो थियो ? आज यो कस्तो भयो ? कहाँसम्म पुग्यो ? यसलाई कसले सम्भव बनायो ? शिव बाबाले जो सर्वशक्तिवान त्रिकालदर्शी हुनुहुन्छ । उहाँलाई सबै थाहा छ कि भविष्यमा के हुने वाला छ ? धेरै पटक हामी हलचलमा आइहाल्छौँ कि यस्तो परिस्थिति आयो अब के होला ? यसैले उहाँ सँधै अचल र अटल हुनुहुन्छ । आफ्नो आफ्नो पुरुषार्थ अनुसार हामीहरु कोही अचल रहन्छौँ, कोही डोलायमान भइहाल्छौँ । जेसुकै होस् तपाईँ यो सम्झनुहोस् कि यो असंभव र संभवको कहानी हो । कोही यस्ता मानिसहरु पनि ईश्वरीय ज्ञानमा आउँछन् कि उनीहरु बहिनीजीसंग भन्छन्, ‘बहिनीजी, तपाईँ भन्नुहुन्छ कि म मनुष्यबाट देवता बन्नेछु, यो कसरी हुनसक्छ ? यो त असम्भव छ, किनकि तपाईँ मलाई जान्नुहुन्न कि म कस्तो मानिस हुँ । खूद म बुझ्छु कि म कस्तो मानिस हुँ भनेर । मेरो भित्र त अन्धकारै अन्धकार छ । म विकारहरुमा डुबेको छु, दलदलमा फसेको छु । म मनुष्यबाट देवता बन्ने कुरा असम्भव छ । मनुष्यबाट मानव बनूँ यही नै काफी छ ।’ यस्तो कुरा धेरै मानिसहरु भन्ने गर्दछन् । हामीले आफ्नो जीवनमा देखेका छौँ कि जुन कुरा असंभव सम्झेका थियौँ, त्यो संभव भएको थियो र छ । यस ईश्वरीय सेवाक्षेत्रमा पनि हामीले कति परिस्थितिहरु देख्यौँ । सारा शहर तथा शहरका प्रतिष्ठित गन्यमान्य व्यक्ति र सरकार एकातिर, अर्कोतिर ईश्वरका थोरै बच्चाहरु मात्र । विजय कसको होला ? सबैले यही ठानेका थिए, विजय त्यसको हुनेछ, जता शहरका सारा गन्यमान्य व्यक्तिहरु लागेका छन् । तर हामीले देख्यौँ, विजय त्यसको भयो, जो थोरै संख्यामा थिए, ईश्वरीय बच्चाहरु थिए, किनकि उनीहरुसंग ईश्वर भगवान नै हुनुहुन्थ्यो । यो असंभव कुरा संभव भयो । हामी स्वयम् यो देखेर हैरान हुन्थ्यौँ कि यो कसरी सम्भव भयो ? दुनियाँको दृष्टिमा हाम्रो कुनै गन्ती नै छैन, मान्छेहरुको हिसाबले हामी केही पनि थिएनौँ । यो असंभव कसरी संभव भयो ? यिनका पछि को थियो ? गीतामा भनिएको छ, ‘जता धनुर्धर अर्जुन छन्, जता स्वयम् भगवान हुनुहुन्छ, विजय त्यतैको हुनेछ ।’ यसको अर्थ के हो ? अर्जुन पुरुषार्थीका प्रतिक थिए । उनी पुरुषार्थी पुरुषार्थ गर्नमा सफल हुन्छन् र उनको साथमा भगवान हुनुहुन्छ भने के होला ? विजय निश्चित छ । बाबा भन्नुहुन्छ, ‘बच्चा हो, मलाई आफ्नो साथी मानेर चल ।’ सर्वशक्तिवान भगवान हाम्रा साथी हुनुहुन्छ र हामीले पनि पुरुषार्थ गरिरहेका छौँ भने फेरि पनि हाम्रो कार्य नहोला ? यो कुरा हाम्रो समझमै आउँदैन । यो कसरी सम्भव नहोला र ? जब भगवानले खूद भनिरहनुभएको छ कि ‘म बच्चाहरुकै लागि आएको हुँ । गुमाएको स्वराज्य फिर्ता दिनको लागि आएको हुँ, मायामाथि विजय गराउनको लागि आएको हुँ,’ भने कुनै पनि कार्य कसरी असम्भव हुन सक्छ ? उहाँ आउनुभएको हो बच्चाहरुलाई पूरा वर्सा दिनको लागि । तसर्थ उहाँले आफ्नो कार्य पूरा गर्नु नै हुनेछ । यो अटल हो, यो सत्य हो र यो अटल सत्य  हो । गीतामा अर्जुनले यही भन्नुभएको छ कि  ‘हे भगवान, हजुर त ठीक भन्नुहुन्छ, तर यो मन एकदमै चञ्चल छ, म असक्त छु, यो म गर्न सक्दैन ।’ तब भगवान भन्नुहुन्छ, ‘हे वत्स, तिमी किन चिन्ता गर्छौ ? यो भइ नै सक्यो । तिमी खाली निमित्त बन । म तिम्रो साथमा छु । तिमीले चिन्ता गर्नुपर्ने कुनै जरुरत छैन ।’ जब बाबा टिचर तथा सद्गुरु समर्थ हुनुहुन्छ भने आफ्ना कमजोर भन्दा कमजोर बच्चाहरुलाई पास गराएरै छाड्नुहुनेछ । तपाईँ किन चिन्ता गर्नुहुन्छ ? टिचर सद्गुरु भन्नुहुन्छ, ‘बच्चा हो, तिमी कल्प-कल्पका विजय हौ । तिमी नै विश्वका मालिक थियौ, अब फेरि तिमीलाई नै बनाउन आएको छु ।’ यसो हो भने हामीले किन चिन्ता गर्ने ? जब हामीले परिपूर्ण टिचर सद्गुरु मिल्नुभएको छ, उहाँले हामीलाई सिर्फ पास मात्र किन, पास विद अनर गराएरै छाड्नुहुनेछ । उहाँले भनिरहनु भएको छ, ‘तिमी चिन्ता किन गर्छौ ? म तिम्रो जिम्मेवारी लिन्छु । सिर्फ तिमी मेरा पछिपछि हिँड । म जे भन्छु, तिमी गर्दै हिँड । त्यसमा आफ्नो मत मिक्स नगर ।  म गर्न सक्दैन, म चल्न सक्दैन, यस्तो आनाकानी छाड ।’ बाबा भन्नुहुन्छ, ‘जब मैले तिम्रो सबै जिम्मेवारी लिएको छु भने तिमीले किन आफ्नो जिम्मेवारी लिइरहेका छैनौ ? ठीकै छ लिने हो भने लेऊ, अघिको लागि तिमी नै जिम्मेवार हुनेछौ, म अलग हुनेछु । सोच यी दुईमा तिमीलाई कुन मञ्जुर छ ?’

भनिन्छ कि दुई किसिमका सन्यास हुन्छन् । एउटा हुन्छ बाँदरको जस्तो सन्यास, अर्को हुन्छ बिरालो जस्तो सन्यास । प्रश्न उठ्न सक्छ के बिरालो र बाँदरले पनि सन्यास लिन्छन् ? कथाकार भन्छन्, बिरालोले आफ्नो बच्चालाई मुखमा उठाएर लैजान्छन् । तपाईँलाई थाहा छ होला बिरालोले आफ्नो बच्चालाई सात घर घुमाउँछ । भनिन्छ, बिरालोले यी दिनहरुमा बच्चालाई कसरी दूध पिउने ? घरमा मान्छे नहुँदा कसरी खानपिन गर्ने ? घरमा मान्छे हुँदा कसरी लुक्ने ? यी सब सिकाउँछ । बाँदरले आफ्नो बच्चालाई पिठमा वा छातीमा राखेर लान्छ । ऊ एक वृक्षबाट अर्को वृक्षमा कुद्दा आफ्नो आमाबालाई कसरी मजबुत तरीकाले पकड्ने, बच्चाको जिम्मेवारी हुन्छ । बाँदरको त यति जिम्मेवारी हुन्छ कि बच्चाको वजन उठाएर लाने । तर आमाबाबुलाई पकडने उनका बच्चाको काम हुन्छ । कुद्ने समयमा नपकडेर छाडिदिने हो भने खसिहाल्छ । यी उदाहरणबाट उनीहरुले यो भन्न खोजेका हुन् कि एक त तपाईँ परमात्मालाई पकडिराख्नुभएको छ, अर्को तपाईँलाई परमात्माले पकडिराख्नुभएको छ । कुनचाँहि कुरा ठीक होला ? तपाईँ आफूले आफैलाई परमात्मामा सुम्पिदिनुभयो भने उहाँले तपाईँलाई आफ्नो मुखमा च्यापेर भवसागरबाट पारि लिइजानुहुनेछ । एक सन्यासी भन्छ, ‘हे परमात्मा, मेरो लागि म जिम्मेवार छैन, सब जिम्मेवारी हजुरकै हो । अर्को सन्यासी भन्छ, ‘परमात्मालाई पकडेर राख्नू, कहिले पनि नछाड्नू, जसले गर्दा उहाँले यस भवसागरबाट पार गराउनुहुनेछ ।’

तर बाबा जो सर्वसमर्थ हुनुहुन्छ, भन्नुहुन्छ, ‘बच्चा हो, तिमी चिन्ता नगर । तिम्रो सब जिम्मेवारीहरु मलाई देऊ । म तिम्रो रक्षा गरुँला ।’ जब बाबा यसो भनिरहनुभएको हुन्छ, त्यसबेला आत्मा आरामको अनुभव गर्दछ । मन हल्कापनको अनुभव गर्दछ । भनिन्छ योगबाट मनका सारा तनाव दूर हुन्छन् । तर केही यस्ता मान्छेहरु हुन्छन् कि बाबा भन्नुहुन्छ, चिन्ता गर्न छाड, तर उनीहरु चिन्ता गर्न छाड्दैनन् । तिनीहरु चिन्ताका यति आदी हुन्छन् कि जस्तो जँड्याहा रक्सीका आदी हुन्छन् अफिमची अफिमका आदी हुन्छन् । बाबा भन्नुहुन्छ, ‘तिमी सबथोक मलाई समर्पित गरिदेऊ, तिम्रो योगक्षमता म हेर्दछु ।’ समर्पित गर्नुको अर्थ यो हो कि बाबा जे भन्नुहुन्छ, जस्तो गर्ने भन्नुहुन्छ, त्यस्तै गर्ने । तर कत्ति पनि समझमा आउँदैन भने त केही छैन चुप रहू । जो बाबा भन्नुहुन्छ, त्यो सुन्दै हिड वा गर्दै हिँड । मैले यो भनिरहेको थिएँ कि यो संगमयुग हो, असंभव कुरा संभव हुने र संभव कुरा असंभव हुने युग । यसैले बाबाले जे भन्नुभएको छ, त्यसमा ज्यादा नसोच । उहाँले भनिरहनुभएको छ ‘हुनु नै पर्छ ।’ यसैले उहाँ जे भन्नुहुन्छ, त्यो गर्दै हिँड, निश्चिन्त र निस्संकल्प भएर । यो नभुल्नू कि यो संगमयुग हो र सर्वसमर्थ बाबा हामीलाई भनिरहनु भएको छ । कहिले पनि यो नसोच कि यो होला वा नहोला ? उहाँ भन्नुहुन्छ You cannot change events, but you can change attitudes. विश्वका सारा सभ्यताको इतिहास तपाईँ पढ्नुहोस्, तपाईँले पाउनुहुनेछ कि जो पहिल्यै मनबाट हारिसकेका थिए, तिनीहरुले लडाइ पनि हारे र जो मनले पहिले नै जितिसकेका थिए, तिनीहरुले लडाइ जिते । जसले पहिलेदेखि नै यो सोचे कि थाहा छै,  न होला कि नहोला ? तपाईँलाई त थाहा हुनुपर्ने हो कि यो हुने नै छ । भगवान हाम्रा साथी छन् । उहाँ सर्वशक्तिवान हुनुहुन्छ । यो उहाँले नै दिनुभएको आज्ञा हो । कसरी नहोला ? कसैले तपाईँलाई सोध्यो भने यो होला कि नहोला ? तपाईँ बताइदिनुहोस् कि यो जसरी पनि हुन्छ, किनकि यो भगवानले दिनुभएको कार्य हो । तपाईँले आत्मविश्वाससाथ भन्नुभयो भने उसले पनि विश्वास गरेर त्यस कार्यमा सहयोग गर्नेछ ।

उदाहरणार्थ परमात्मा सर्वव्यापी हुनुहुन्न । यस कुराको तपाईँले सिद्ध गर्नुपर्‍यो । सारा दुनियाँले सम्झन्छ कि परमात्मा सर्वव्यापी हुनुहुन्छ । तपाईँ भन्नुहुन्छ, ‘परमात्मा सर्वव्यापी हुनुहुन्न ।’ कसरी बताउनुहुन्छ । तपाईँलाई विश्वास छ कि परमात्मा सर्वव्यापी हुनुहुन्न, उहाँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँ परमधाम निवासी हुनुहुन्छ, उहाँ सर्व आत्माको पिता हुनुहुन्छ । यस सिद्धान्तलाई कुनै जिज्ञासुको अगाडि राखिदिनुभयो भने उसले भन्नेछः ‘बहिनीजी, यी ठूलाठूला पण्डित विद्वान साधुसन्त महात्मा आदिले जो भन्छन् र वेद शास्त्र पुराण आदिमा जे लेखिएको छ कि परमात्मा सर्वव्यापी हुनुहुन्छ । अणु-रेणु-तृण-काष्ठमा पनि यो के हो ?’ यस सिद्धान्तलाई सिद्ध गर्नको लागि तपाईँ अरु पनि केही कुरा उसको साम्ने राख्नुहुन्छ । उसलाई सोच्नको लागि भन्नुहुन्छ । तब उसले भन्नेछः ‘हो बहिनीजी, तपाईँले ठीक भनिरहनुभएको छ परमात्मा सर्वव्यापी हुनुहुन्न ।’ अब त्यस जिज्ञासुलेले कसरी मान्यो ? कि परमात्मा सर्वव्यापी हुनुहुन्न भनेर । यसैले कि बाबाको त्यस कुरामा तपाईँको अचल निश्चय र दृढ आत्मविश्वास छ । त्यस निश्चयबाट र आत्मविश्वासबाट उसलाई तपाईँले सिद्ध गरेर देखाउनुभयो कि परमात्मा सर्वव्यापी हुनुहुन्न, उहाँ परमधाम निवासी हुनुहुन्छ । यस प्रकार हामीले आफू उपर पनि आत्मविश्वास राख्नुपर्‍यो कि मेरो लागि बाबाले जे भन्नुभएको छ, त्यो सही हो । यस्तो नसोच कि मैले गर्न पाउँला या नपाउँला ? हामी उपर ६३ जन्मको विकर्मको बोझ छ । त्यो उतार्नुछ । त्यो उतार्नको लागि ६३ जन्म चाहिएला त ? चाहिन्न । यस संगमयुगमा हामीलाई जति पनि समय उपलब्ध छ, त्यही समयभित्र हामीले सबै पापहरु दग्ध गर्नुछ । बाबाले भन्नुहुन्छ, संगमयुगको एकएक क्षण कैयौँ वर्ष बराबरको हो । यसैले हामीलाई जति पनि समय मिल्यो, बाबालाई धन्यवाद् भन्नुपर्छ, किनकि यो समय भाग्य बनाउनको लागि र पाप मेटाउनको लागि मिलेको हो । मिलेको यस समयको सदुपयोग गरौँ, बाबाको हरेक कुराहरुमाथि सम्पूर्ण रुपमा विश्वास गरौँ र यसलाई कार्यमा लगाउँदै अघि बढौँ । जति समय मिले पनि, एक वर्ष मात्र मिले पनि, त्यसको सदुपयोग गरौँ र अगाडि बढौँ । के कसैलाई थाहा छ आफू कति वर्ष बाँचिन्छ भनेर ? कसैलाई थाहा छ ? कसैसंग भगवानको अदालतको मोहर लागेको पट्टा छ कि यो ७० वर्षसम्म बाँच्ने भनेर ? अँहँ छैन, कसैलाई पनि थाहा छैन कि को कति वर्ष बाँच्ने भनेर । यसैले जति समय मिले पनि त्यसको हर घडीको महत्त्व सम्झेर त्यसको सत् प्रयोग गरौँ ।

पहिले पहिले यो सम्झौँ कि यो संगम युग संभव र असंभवको युग हो भनेर । जब तपाईँ कसैलाई भन्नुहुन्छ कि हामी दम्पति संगै रहेर पनि पवित्र छौँ, तब लौकिकवालाहरु भन्छन्, महान तपश्वीले पनि भनेका छन् कि पुरुष र स्त्री एउटै छतको तल बसेर पवित्र रहन सक्दैनन् । आगो र कपास संगै रहन सक्दैनन् । ऋषि मुनिहरुको कहानी तपाईँले पुराणमा पनि सुन्नुभएको होला । ठूलाठूला तपश्वी योगी पनि पवित्र रहन सकेनन् । रम्भा, अप्सरा, आदि अप्सराहरुबाट वशीभूत भए । काम विकार यति जबर्दस्त छ । ती साधुसन्त शहरबाट घरबारबाट टाढा गएर जङ्गलमा कन्दमूल खाएर जिउँथे, भगवानको तपस्या गर्दथे । तिनीहरु पनि पवित्र रहन सकेनन्, के तपाईँ रहन पाउनुहोला ? तर बाबाले के भन्नुभयो ? यो हुन सक्छ । तिमी बच्चाहरु पवित्र रहनुपर्छ । त्यसैले त तिमीहरु पवित्र रहेका छौ होइन ? कसरी ? आफूलाई आत्मा सम्झ, पवित्र रहन सकिन्छ । यदि आफूलाई शरीर सम्झिएमा अपवित्र हुन पुगिन्छ । त्यसैले तपाईँले आफूलाई आत्मा सम्झनुभएकोले पवित्र रहन सहज भएको छ । पहिलेको बिचारधारा गलत थियो, हामीले आफूलाई स्त्री, पुरुष सम्झन्थ्यौँ, यसैले पवित्र हुँदैनथ्यौँ । अपवित्र विकारी रहनु नै मनुष्यको सहज स्वभाव हो भनेर बसेका थियौँ । बाबाले भन्नुभयो, ‘बच्चा हो, तिमी आत्मा आपसमा भाइ भाइ हो । साकारमा भाइ बहिनी त पवित्र हुन सहज र स्वाभाविक भइहाल्यो । कसरी भयो ? तपाईँले आफ्नो प्रवृत्ति र विचारधारा बदल्नुभयो र पवित्र कसरी रहने ? भन्ने विधि सम्झनुभयो, तब तपाईँ सहज रुपमा पवित्र हुन सक्नुभयो । विधिबाट नै सिद्धि प्राप्त हुन्छ । यसैले तपाईँ पक्का सम्झनुहोस् कि संगमयुग नै असंभवलाई संभव तुल्याउने युग हो । बाबाले भन्नुहुन्छ ‘माना हुआ हि पडा है ।’ बाबा यो भन्नुहुन्छ कि तपाईँले मेहनत गर्ने जरुरत पनि छैन । बाबा भन्नुहुन्छ, ‘बच्चा हो, पवित्र बन्नको लागि मेहनत गर्नै पर्दैन । खाली मलाई प्रेम गर्यौ भने मेहनतबाट मुक्त हुनेछौ र सहज रीतिबाट पवित्र बन्नेछौ । केही चिज नगर केही चिज नत्याग । के हामी बाबालाई मायाँ गर्न सक्दैनौँ र ? बाबा भन्नुहुन्छ, ‘म एकलाई प्रेम गर, मायाँ गर, अनि हेर असंभवलाई संभव तुल्याउँछु कि नाइँ ? यो एक फिलासफी हो । यो मायाँको फिलासफी हो । दार्शनिकहरुले दर्शनशास्त्र त लेखेका छन् सांख्य दर्शन, वेदान्त दर्शन, योग दर्शन, न्याय दर्शन आदि । थाहा छैन, कति दर्शन लेखिएको होला ? तर प्रेमको दर्शन (Philosophy of Love) कसैले लेखेका छैनन् । दर्शनको रुपबाट कसैले पनि प्रेमको व्याख्या गरेका छैनन् । सन्त कबीरले त लेखेका थिए कि ढाइ अक्षर प्रेमको पढ र पण्डित बन, ढाइ अक्षर प्रेम के पढे सो पण्डित होय । तैपनि उनले पनि प्रेमको फिलासफी लेखेका छैनन् । तर बाबाले हामीलाई प्रेमको दर्शन मायाँको फिलासफी दिनुभएको छ । बाबाले भन्नुभएको छ कि केही गर्नुपर्दैन, केही दिनुपर्दैन, तर यति त गर्नसक्छौ कि एक मलाई मात्र मायाँ गर, वश् सब पापहरुबाट मुक्त गरिदिउँला ।

गीतामा लेखिएको छ, भगवान आफ्नो भक्तसंग भन्नुहुन्छ ‘यसो गर ।’ भक्त भन्छन् ‘त्यो म गर्नसक्दैन’ । ‘छोड, यो गर्न सक्दैनौ भने यसो गर ।’ ‘यो गर्न पाउँदैनौ भने यसो गर’ ‘त्यो पनि गर्न सक्दैनौ भने पत्र-पुष्प त चढाउन सक्छौ नि । रुखबाट पत्र-पुष्प ल्याएर मलाई चढाउन त सक्छौ ।’ यस प्रकार बाबाले पनि भन्नुभएको छ, ‘यदि तिमीले कसैलाई ज्ञानसेवा गर्न सक्दैनौ भने, मन सेवा त गर्न सक्छौ । मन सेवा पनि गर्न सक्दैनौ भने कर्मणा सेवा गर । जे भए पनि सेवा गर ।’ यदि तपाईँ कुनै पनि ईश्वरीय सेवालाई सेवाभावबाट यो बाबाको कार्य हो, यो सर्वको भलाइको लागि हो, यस्तो सम्झिएर गर्नुहुन्छ भने त्यो सेवा ठूलाठूला सभाहरुमा हजारौँ मानिसहरुको सामुन्ने गरेको भाषण समान हो, कोर्स गराउनु समान हो, लाखौँ रुपैयाँको धनसेवा गर्नु बराबर हो । सेवा जुन भावबाट हुन्छ, महत्त्व त्यति नै हुन्छ । सेवा सेवाभावबाट गरियो भने त्यसको पूर्ण मार्क हुन्छ, देहभानबाट गरेको सेवा अपूर्ण मार्क हुन्छ । यसैले बाबा भन्नुहुन्छ, ‘कहिले पनि दिलशिकिस्त नबन ।’ मनमा कमजोरी रुपी संशयरुपी भाइरस पैदा भए भने संशयबुद्धि विनश्यन्ति । ‘त्यो कार्य कसरी होला र ?’ यसरी होइन । ‘यो कार्य कसरी नहोला र ?’ यो निश्चय हुनुपर्‍यो । बाबा भन्नुहुन्छ, ‘निश्चयबुद्धि विजयन्ति ।’ निश्चयको फाउण्डेसन पक्का राखौँ । बाबाले भन्नुहुन्छ, ‘यो हुनु नै पर्छ ।’

तपाईँले एक कहानी पढ्नुभयो होला स्कूलमा । एक गुरुकुल थियो । त्यहाँ धेरै शिक्षार्थी बच्चाहरु थिए । वर्षाको मौसम थियो । एक दिन वर्षात खुब पर्‍यो, अनि गुरुले एक शिष्यलाई बोलाएर भने कि ‘हेर वर्षात भैरहेको छ, खेतमा बगैँचामा धेरै फलफूलको फसल छ । ज्यादा पानी भित्र पस्यो भने त्यो खराब हुन सक्छ, तसर्थ भेललाई भित्र पस्नबाट रोक ।’ त्यो शिष्य बाहिर गयो, त्यहाँ त धेरै पानी बगिरहेको थियो । माटो राखेर रोक्ने कोशिस गर्‍यो, तर माटोलाई बगाइदिन्थ्यो । अन्तमा ऊ आफै भेल रोक्नको लागि ढलिदियो । बेलुका त्यो शिष्यलाई नदेखेपछि गुरुले भने ‘हेर त्यो बच्चा त आएन, कहाँ गयो ?’ बाहिर गएर हेरेपछि सबैले देखे कि त्यस शिष्य त खेतको भुइँमा ढलिरहेको छ । उसलाई भित्र ल्याई मसाज गरेर होशमा ल्याइयो, अनि उसलाई सोधियो, ‘यस्तो किन गरेको ?’ उसले जवाफ दियोः ‘गुरुको आज्ञा थियो कि खेतको पानी भित्र आउन नदिने फसल नष्ट हुन नदिने । गुरुको आज्ञा पालन गर्नु मेरो धर्म हो । गुरुको आज्ञा नै कालको आज्ञा हो । उनको आज्ञापालन गर्नु हाम्रो कर्तव्य हो । त्यसैले मैले खेतमा ढलेर भए पनि बाहिरको पानी भित्र आउन दिएन र फसललाई बचाएँ ।’ परन्तु यहाँ हाम्रा गुरुका पनि गुरु जगद्गुरु सद्गुरु शिव बाबाले भनिरहनुभएको छ कि ‘बच्चा हो, तिम्रो नयाँ संस्कृति स्थापना गर्नुछ, तिमीहरुले नयाँ समाज ल्याउनु छ, सतयुग ल्याउनु छ, यो तिमीहरुको जिम्मेवारी हो । यस जिम्मेवारी कसले पूरा गर्ने ? हामीले नै गर्ने हो । यसैले पहिले पहिले यो सम्झ कि यो आज्ञा कसको हो ? उहाँ हाम्रो परमपिता हुनुहुन्छ, परमशिक्षक हुनुहुन्छ, परम कल्याणी हुनुहुन्छ, हाम्रो सतगुरु र संरक्षक हुनुहुन्छ । ईश्वरी कार्य हुनु नै पर्छ, हुनु नै छ । सिर्फ हामीले निमित्त बन्नु छ, आफ्नै भाग्य बनाउनको लागि ।

  • (पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *