श्रीमान्संग तीसहजार पाइला (२)
स्वाभिमानको पाठ
“म करिब दिउँसो १२ बजे पूर्व नै त्यस कार्यालय पुगिसकेको थिएँ । प्रक्रियागत श्रृङ्खलाहरु पार गर्नको लागि कोठाकोठा चाहार्दा चाहार्दै १:४५ जति भैसकेको थियो । २ बजे रसिद काट्न बन्द हुने कुरा मैले कण्ठस्थ गरिसकेको थिएँ र त्यो कुरा आफैले अरुलाई पाठ पढाइसकेको पनि थिएँ । तसर्थ २ बजेपछि रसिद काटिदेऊ भन्नु मेरो आफ्नै स्वाभिमानलाई धक्का पुर्याउनु हुन्थ्यो । अतः म रसिद काट्ने कक्षमा २ नबज्दै पुगेँ ।
कोठामा पुग्दा रसिद काट्ने जिम्मेवारी पाएका लेखापालले कम्प्युटरमा तास खेलिरहेका थिए । मैले रसिद काटिदिन अनुरोध गरेँ । उनले २ बजे नै रसिद काट्न बन्द भइसकेको कुरा मलाई सुनाए । मैले भनेँ कुन बेलाको २ बजेको कुरा गर्दै हुनुहुन्छ । आफ्नो घडी हेर्नुस् त महाशय दिउँसोको २ त अझै बजिसकेको छैन ।
उनले कम्प्युटरबाट आँखा यताउता पनि सारेनन् र जवाफ दिए, “यो अफिसमा आएर तपाईँले समयको पाठ हामीलाई पढाउने होइन । मेरो घडीमा २ बजिसकेको छ वश् ।”
मेरो कन्पारा तातिन थालिसकेका थिए, “समय पनि अफिसपिच्छे, कोठापिच्छे र मान्छेपिच्छे फरक हुन्छ यहाँ ? तपाईँहरुले स्टाण्डार्ड टाइमलाई फलो गर्नुपर्दैन ? अहिले जवाफसवालमै २ बजाइदिएर मलाई फर्काउन पाउनुहुने छैन । मैले भनेको छु ! खुरुक्क रसिद काटिदिनुस् !!”
“मिल्दैन त भनिसकेँ नि । कानूनले मिल्छ भने मिल्छ, मिल्दैन भने मिल्दैन । मिल्दैन भनिसकेको कुरा पछि मिल्ने अवस्था आउँदै आउँदैन कानूनमा । बरु तपाईँ नै खुरुक्क फर्किनुस् र भोलि समयमै रसिद काट्न आउनुस् ।”
उसले कम्प्युटरबाट नजर अझ हटाएको छैन ।
“ए, महोदय कोसंग कुरा गरिरहनुभएको छ ? नजर त यता लगाउनुस् । म एक कानूनको अफिसर हुँ, बुझ्नुभो ? कानूनको पाठ तपाईँले भन्दा मैले नै बढी घोकेर आएको छु ।”
अब उसले अलिकति टाउको हल्लायो र मलाई चश्माको माथिबाट झुलुक्क हेर्यो । उसले फेरि कम्प्युटरकै तासमा ध्यान दिँदै भन्यो, “यो कोठा कानूनकै अफिसरहरुले मात्र रसिद काट्न आउने कोठा हो, बरु तपाईँले नै बुझ्नुस् ।”
उसको नेग्लिजिन्सीको ताल देखेर मेरा कन्सिरी नै रन्किइसकेका थिए अब ।
“तपाईँले त्यो कर्मचारीको बर्दी उतारेर फालिदिए हुन्छ । योग्यता र दक्षताका प्रमाणपत्रहरु आगो लगाइदिएर खरानी तुल्याए हुन्छ तपाईँले ! उता तपाईँको अर्थ मन्त्री बाबुराम भट्टराईले जनताको घरदैलोमा पुगेर अहोरात्र खटेर भए पनि राजश्व संकलन गर्ने नीति ल्याएको छ, यता त्यही नागरिक राजश्व बुझाउन सरकारी अफिसमै धाएको छ अर्थात सरकारी अधिकारीको पाउमै परेको छ, तर तपाईँको अफिसले प्रक्रियाको रणभुलैयामा घुमाउँदाघुमाउँदै २ घण्टा खाइदिएर अहिले समयको ध्वाँस लगाइराख्नुभएको छ । धिक्कार छ तपाईँको कार्यान्वयनस्तरलाई !
बरु भन्नुस् अब, म फर्कौँ कि के गरौँ ? अन्तिम चोटी प्रश्न गर्दैछु तपाईँलाई ।”
मेरो अन्तिम वाक्य सुनेपछि ऊ बल्ल चलमलायो र कलबेल थिच्यो । उसको कलबेलको ध्वनी संकेतले सायद कार्यालय सहयोगी हुनुपर्छ, आइपुग्यो । त्यस लेखापालले आफ्नो लक गरिसकेको दराजबाट रसिद प्याड र कार्बनपेपर झिक्यो र ऊतिर हुत्त्याउँदै आदेश दियो त्यस कर्मचारीले, “उहाँलाई रसिद काटिदेऊ ।”
आदेश मुताबिक रसिद काटियो र मेरो नगदको मूल्य बराबरको रसिद प्राप्त गरेँ मैले ।
उसको स्वाभिमान भने पटक्कै गलेन । गल्नु त परको कुरा अलिकति पनि रसाउँदै रसाएन । उसले आँफैले रसिद नकाटी अरुलाई नै बोलाएर रसिद कटायो । धन्य मानवीय स्वाभिमान !
सायद ऊ आफैले रसिद काटेर आफ्नो दायित्व पूरा गरेको भए मैले पनि ‘सरी है सर, कामको परेशानीले आवेगमा आएर के के भनियो के के ! माइण्ड नगर्नुहोला’ भनी औपचारिकता प्रकट गर्ने दायित्व मेरो भागमा पनि बाँडिन्थ्यो होला । मैले त्यो औपचारिकता पूरा गर्न पनि अब आवश्यक ठानिन र उसलाई कर्के नजर लगाएर हिँडिदिएँ ।”
श्रीमानका यी भोगाइहरु समय सान्दर्भिक थिए अहिले पनि । एकातिर सरकारले सुशासन सुशासन भनेर घाँटी सुकाइराखेको छ । अर्कोतिर सरकारकै अंशियारहरु मन्त्रीदेखि निम्नस्तरका कर्मचारीहरुसम्म कुशासनको कार्यशैली र व्यवहारबाट अलिकति पनि यताउता डगमगाउन चाहँदैनन्, अनि भुत्रो महशुश गर्छन् जनताले सुशासनको अनुभूति ! मेरो दिमागमा यस्तै कुराहरुले पिङ खेल्न थाले ।
यतिबेला हामी चाख्लीघाटदेखि एक किलोमिटर वर आइपुगेका थियौँ । सडकबाट तलतिर एकछाङ्गे भीर थियो । त्यतातिर हेरे रौँ नै ठाडा हुन्थे, आँखा रिङ्थे र निस्सासिने भीर भएकोले त्यो भीरबाट चरोमुसो खसे पनि सिधै खोलामा बजारिन्थ्यो र धुलोपीठो पर्ने सम्भावना देखिन्थ्यो । त्यही ठाउँमा घटेको एउटा घटना मैले पनि श्रीमानलाई सुनाउन भ्याएँ:
एक निमेषमा टरेको दुर्घटना
“श्रीमान, यही गएको तिहारतिरको कुरा हो । मेरा जहानकेटाकेटीको विदा थोरै भए पनि यस पटक सबैले दशैँ रुकुममै मनाउन उपयुक्त हुने भनी कर गरी गरी मनाएर परिवार नै यतातिर आइरहेको थियौँ । साथमा भाइ प्रकाशको परिवार, बहिनी निशा तथा उसको बच्चा र बहिनी किरण सहित उनका बच्चाबच्चीहरु काठमाण्डौबाटै गाडी रिजर्भ गरेर हामी रुकुम आइरहेका थियौँ । काठमाण्डौबाट बिहानै चारबजे नै हाम्रो यात्रा शुरु भएको थियो । हाम्रो लक्ष्य हिँडेकै दिन घरमा पुग्ने थियो । गाडीचालक दाइ होशियार भए पनि नारायणघाटदेखि पश्चिमको बाटोको लागि अपरिचित थिए ।
गाडीमा सबै परिवारभित्रकै यात्रुहरु भएकोले यात्राको मज्जा बेग्लै थियो । पेटे भाषा, चुले व्यवहार, ठर्रो हाँसोठट्टा, बच्चाहरुको हल्लीखल्ली सबै अत्यन्तै आत्मीय लाग्थे । हामी दाङ आइपुग्दा चार बजेको पत्तै भएन ।
“हाम्रो अञ्चल राप्ती !” भन्दै कानकीरा खानेगरी चिच्याएका थिए केटाकेटीहरु भालुबाङ आइपुग्दा । सायद यस्तै लाग्दोहो विदेशिएका दाजुभाइ नेपाल प्रवेश गर्दा पनि । तुलसीपुर पुग्दा पाँच नाघिसकेको थियो । जब तुलसीपुरबाट राप्ती राजमार्ग शुरु भएको जानकारी दिएँ केटाकेटीलाई, फेरि चिच्याए केटाकेटीहरु, “हाम्रो घर पुग्ने बाटो !” भन्दै । ‘थकाइ लागेको भए दाङमा नै बास बस्ने’ बिचार अल्पमतमा पर्यो भने बहुमतले ‘घरकै चुलोमा पुगी आजै बाज्याबैको काखमा पुल्टुङबाजी खेल्ने’ बिचारलाई पारित गर्यो । कति आत्मीय लाग्छ मान्छेको जातलाई आफ्नो जन्मस्थल ! यही घर पुग्ने सडकको आत्मीयताले नै यो मतलाई बहुमतमा पुर्याउन बल गरेको थियो । सभामुखको भूमिका खेलिरहेका चालक दाइले पनि बाटो अप्ठ्यारो नभए ढिलै भए पनि आरामसाथ रुकुम पुर्याइदिने उदघोष गरे । चालकको गाडी हँकाइ यति होशियार थियो कि त्यहाँ आइपुगुन्जेल कतै कुनै कारणले पनि अलमलिनु परेन ।
दाङबाट कपुरकोटसम्म जङ्गलैजङ्गल पर्छ । दशैँतिहारताका लुटेराहरुको खुब बिगबिगी चल्ने हल्ला थियो यो जङ्गलतिर । घरमा आमाबाले पनि ‘दाङमै बसेर भोलिपल्ट रुकुम आउन’ सुझाव दिनुभएको थियो । तर पनि रात पर्न केही समय बाँकि नै भएकोले बहुमतको जिद्दीले हामी उकालो लागिसकेका थियौँ । लुटेराको हल्ला गाडी सवार सबैको कानमा परिसकेको थियो । अतः कपुरकोट नपुगेसम्म मेरा कुनै पनि जोकले त्यो परिवारलाई हसाउन सकेनन् ।
कपुरकोटदेखि गाडीभित्र बढेको अलिअलि हस्सीमज्जाक अरिङाले फेदी पुगेपछि फेरि शान्तियो, शान्तिनु के थियो, ठप्पै भयो । अब अँध्यारो भइसकेको थियो । बाहिर गाउँ छ कि जङ्गल छ केही देखिँदैनथ्यो । लुहाम बजार, छायाँक्षेत्रको फेदी बजार, लान्ती, शितलपाटी बजारहरुको झिलिमिलि बत्तीले केटाकेटीहरुको मनमा पसेको डरको अँध्यारो हटाइदिन्थ्यो । शितलपाटीबाट सल्यान खलंगा जाने सडकबाट रुकुमको सडक छुट्टियो । यो जानकारी पाउने बित्तिकै निदाइसकेका केटाकेटीहरु पनि आँखा मिच्दै हौशिए मानौँ उनीहरु घरकै आँगनमा पुगिसकेका छन् । अब २ घण्टामै रुकुम पुगिसकिन्छ भन्ने आश्वासनले २ घण्टाको दुरी उनीहरुलाई लामो उति लामो लागेन, किनकि भक्तपुरबाट रत्नपार्क पुगेर फेरि भक्तपुर पुग्दा २ घण्टाभन्दा बढी लाग्ने हुँदा त्यति नै दुरी बाँकि होला भन्ठाने उनीहरुले । तर अझै हामीले ८५ किमि दुरी पार गर्न बाँकी नै थियो । यो कुरा भने उनीहरु नआत्तिऊन् भनी अर्थ्याउन चाहिन ।
यही ठाउँमा आइपुग्दा रातको आठ नाघिसकेको थियो ।
सडक उकालो थियो । त्यो कुरा चालकलाई हेक्का भएनछ । चालक त्यही उकालोमा गाडी रोकेर बाहिर निस्किए । सायद हावा खान वा गाडीको अवस्था हेर्न वा पिसाब फेर्नलाई हुनसक्छ ।
चालकसंगै मेरो सिट थियो । उता भीर भएको कुरा चालक दाइलाई थाहा नहोला भनेर मैले तत्कालै ढोका खोलेर ‘त्यता भीर छ दाइ, त्यता नजानुस्’ भन्न नपाउँदै गाडी पछिल्तिर सर्किन थाल्यो ।
दुर्घटनाको भयले आत्तिएर हामी एकसाथमै चिच्यायौँ । चालक नजिकै रहेछन् र ढोकाबाहिरैबाट हातैले ब्रेक थिचे । अनि फुत्त भित्र पसेर गाडीलाई आफ्नो कन्ट्रोलमा लिइहाले । एक निमेषको अबुद्धिमताले निम्त्याएको दुर्घटनालाई निमेषमै अपनाएको बुद्धिमताले सम्भावित दुर्घटनालाई पर धकेलिदिएको थियो ।
अहिले पनि जीउमा काँडा फुलेर आउँछन् त्यो घटना सम्झँदा । यदि चालक नजिकै नभइदिएको भए ? वा सर्किने गति अलि तिब्र भइसकेको भए ? वा चालकको कोशिसबाट पनि गाडी कन्ट्रोलमा नआइदिएको भए ?
तर यस्ता आशंका गर्ने पर्थेन, यदि चालकले होशियारपूर्वक कहाँ गाडी राख्दैछु, गाडी कन्ट्रोलमा छ छैन, सडकको अवस्थाअनुसार गाडी चलाइरहेको छु छैन, भनी अलिकति पनि हेक्का राखिदिने हो भने ।
त्यसपछि भने सुरक्षितसाथ हामी राति अबेर रुकुमको गाउँमा पुगेका थियौँ र आमाबासंग पुनर्मिलन भएको थियो हाम्रो । गाउँको हाम्रो कच्चीघर इन्द्रकै दरबारतुल्य भइरहेको थियो त्यतिखेर ।
त्यतिबेला हाम्रो मुटूको धड्कन जसरी बेसमारी बढेको थियो त्यसरी नै अहिले त्यसको कल्पना गर्दा काँडा उम्रिएका छन् जीउभरि मेरा ।”
र त्यही कुरा श्रीमानलाई सुनाएर देखाउँदैछु भीरको अवस्था । श्रीमानले जिब्रो टोक्दै भन्नुहुन्छ, “चालक यात्रु तथा सरोकारवालाहरु र राज्य बरोबर जिम्मेवार भइदिने हो भने दुर्घटनाको अवस्था बिरलै आउँथे होलान् ।”
अब हामी चाख्लीघाटको सानो बजारमा पुगिसकेका छौँ र चिया पसलमा चियाको अर्डर गरी आराम गरिरहेका छौँ । गाडी मर्मत भएर आउने कुनै सम्भावना छैन । चालकलाई फोन पनि लागिरहेको छैन यतिखेर ।
“पाइताला त भतभती पोल्न थाले त ! के गरौँ ? अब यतै बसौँ, अगाडि नबढौँ ।” अलि बढी नै थाकेजस्तो श्रीमानको अभिव्यक्ति छ ।
“श्रीमानको जे मर्जी !”
चिया खाइसकेपछि फेरि श्रीमानले उही कुरा दोहोर्याउनुभयो, “के गरौँ त अब ?”
“श्रीमान, हजुर नै बढी थाके जस्तो छ । मलाई त दिनभर हिँडे पनि केही फरक पर्दैन । हिँडाइमा नै मलाई रमाइलो लाग्छ । हजुरको थकाइ र इच्छाशक्तिको कुरा हो । म त गाउँले मान्छे । श्रीमान हिँडाइको थकानले चूर भएको बखत मैले हिँडौँ भन्नै मिलेन नि हजुर ।”
चियाले भन्दा बढी मेरो जवाफले श्रीमानमा स्फुर्ति ल्याइदिएजस्तो देखियो र भन्नुभयो, “मलाई पनि कौनसा शहरिया ठान्नुभयो र तपाईँले ? म पनि त तपाईँजस्तै जाजरकोटको दुर्गम कन्दरामा नङ्ग्रा खियाएको व्यक्ति हुँ नि ! ल हिँड्नोस् ! तपाईँकाभन्दा मेरै खुट्टा र पाइला लामा छन् । तपाईँभन्दा म पनि के कम हँ ?”
श्रीमान काँधमा पसिना र धुलोले मुछिएको जाकेट काँधमा फालेर लमक लमक लम्कन थालिहाल्नुभयो । मलाई भने यो जवाफ नगरेको जस्तो लाग्यो र उहाँलाई पछ्याउँदै गएँ ।
यता फोनको टावर नटिपेकोले फोन लागेको छैन र त्यसैले नै श्रीमानको स्फुर्तिमा कतैबाट अवरोधसूचक सुझाव प्राप्त भइरहेका छैनन् । खाना कता खाने कुनै अत्तोपत्तो नै छैन । दिनको एघार नाघिसकेको छ ।
हामीले अहिलेसम्म करिब पन्ध्रहजार पाइलाको दुरी पैदलै पार गरिसकेका छौँ तर पनि हिँड्न छोडेका छैनौँ । हामी एक पाइला पनि नहिँडेर बरेला नै बसेको भए पनि केही फरक पर्दैनथ्यो । हामी हिँडेर गाडीको दुरी र लागत छोटिने कुरा थिएन । तैपनि हिँड्दै थियौँ । के ले दिन्छ मान्छेलाई यो स्फुर्ति ?
“श्रीमान, हामी पटारे पुग्यौँ भने त हामफाल हुँदै फास्ट ट्रयाकबाट एक डेढ घण्टामै पारि थारमारे पुगिसक्छौँ । गाडी मोख्ला, कालाखेत घुम्दै थारमारे पुग्दा झण्डै हामीले भेट्टाउन सक्छौँ । वा गाडी त्यतै पर्खेर बस्ला । यो पीच सडकमा हिड्नुभन्दा अलि सजिलो पनि हुन्छ हिँडाइमा । कि त्यसै गरौँ त ?”
श्रीमान खुइए श्वास फेर्दै हातले पर्ख भन्ने संकेत गर्दै मलाई प्रश्नसूचक नेत्रले हेर्नुहुन्छ । सायद ‘यो मान्छेले मलाई कति हिँडाउन खोजेको होला ? किन हिँडाउन खोजेको होला ?’ भनी तीनछक परिरहनुभएको होला ।
अनि भन्नुहुन्छ, ‘फास्ट ट्रयाक ? ल, सुन्नुस् फास्ट ट्रयाकको विषयमा’
म चकित पर्छु समयसान्दर्भिक चाखलाग्दो घटना फेरि सुन्न पाइने भो भनेर । अनि फास्ट ट्रयाकको सम्बन्धमा के रहेछ त्यो सुन्न तन्मयित र लालायित हुन्छु ।
क्रमशः