संस्मरण

श्रीमान्‌संग तीसहजार पाइला (१)

राष्ट्रपतिका मित्र

उहाँले आफ्ना जीवनका रोचक प्रसंगहरु सुनाइरहनु भएको थियोः
“एकजना मेरा चिरपरिचित मित्र हुनुहुन्यो  । प्रसंगवश् रामवरण यादवको कुरा चल्यो ती मित्रले मसंग दावी गर्नुभयो कि ‘रामवरणसंगै उठ-वस घुमफिर गरेको छु, उनीसंग अक्सर गरेर भेट भइरहन्छ’ भनेर ।’
उनको कुरामा विश्वास नलागेर मैले कुरा प्रष्टयाएँ मैले ‘अरु मान्छेको कुरा गरेको होइन । यो देशको वर्तमान राष्ट्रपति रामवरण यादवको कुरा गर्दैछु ।’
“हो, हो मैले पनि तिनै मान्छेको कुरा गरेको हुँ । उनी त मसंग संगै पढेको मान्छे समेत हुन् । उनीसंग हात मिलाउने मात्र होइन, उनले त मेरो झोला पनि बोकिदिएका छन् ।” उनले अर्को अपत्यारिलो कुरा थपिदिए ।
मलाई विश्वास पटक्कै लागेन ।
“पत्याउनुभएन ?” उनले भने, “म त ती नेपालका राष्ट्रपतिको सिटमा पनि बसेको छु ।”
यो हुनै सक्तैनथ्यो किनकि रामवरण यादवको जन्मस्थल सुदूर-पूर्व पर्थ्यो । मेरा मित्रको जन्मस्थल सुदूर-पश्चिम पर्थ्यो । उनी तराइका वासिन्दा मेरा मित्र पहाडका वासिन्दा । मैले उनी तराइमा पनि बसोबास गरेका थिए भन्ने कुरा कहिले सुनेको पनि थिएन । आजसम्म रामवरण यादव एकजना बाहेक राष्ट्रपतिको सिटमा बस्ने दोस्रो व्यक्ति कोही छैन । तसर्थ यतिसम्म बेबकुफ कुरा गर्नसक्दा रहेछन् कुनैकुनै मान्छेले भनेर म चकित परेँ ।
उमेर पनि एकजना वृद्धावस्थाका अर्का प्रौढावस्थाका । विश्वास गर्ने आधार छँदै थिएन । मैले ओठ लेब्र्याउँदै उनलाई सत्य कुरा बताउन आग्रह गरेँ ।
उनले भने;
“एकपटकको कुरा हो । म महेन्द्रनगरतिर आउनुपर्ने । महेन्द्रनगरको बसको टिकट मिलेन । तसर्थ बिराटनगर जाने बसमा नारायणघाटसम्म पुग्ने टिकट मिल्यो । तसर्थ कलंकीबाट पूर्वतिर जाने बसको टिकट काटेँ ।
मेरो अघिल्लो सिटमा बस्ने मान्छेले पत्रिका पढिरहेका थिए । म उनको ठीक पछिल्लो सिटमा परेकोले उनले पढिरहेको पत्रिका मैले समेत संगै पढ्ने मौका मिल्यो ।
त्यो गाडी कलंकीबाट नारायणघाटसम्म पुग्दा खाना खाने क्रममा, चियानास्ता खाने क्रममा, शौच जाने क्रममा र पटकपटक बिग्रिरहने गाडी फेला परेकोले हावाखान बाहिर निस्कने क्रममा, ती अघिल्लो सिटकै व्यक्तिसंग पटकपटक उठबस गर्नैपर्ने बाध्यता आइपर्यो ।
गाडी नारायणघाट पुग्न थाल्दा मलाई लाग्यो यी व्यक्तिसंग परिचय गर्नैपर्नेभयो ।
परिचयबाट थाहा भयो यी त डाक्टर रामवरण यादव पो रहेछन् ।
झर्न सजिलोको लागि एकछिनको लागि मैले सिट फेर्न अनुरोध गरेँ । उनले आफ्नो सिट छाडिदिए उनी मेरो सिटमा बसे म उनको सिटमा बसेँ । नारायणगढमा ओर्लँदा उनीसंग हात मिलाएँ र उनले मेरो झोला झार्न मद्दत गरे ।
केही वर्षपछि पहिलो गणतान्त्रिक राष्ट्रपति रामवरण यादव बने रे भन्ने सुन्नासाथ मैले पत्रिका किनेर उनको फोटो हेरेँ । त्यो यात्राको क्रममा संगै उठबस गरेका संगै पढेका आफ्नो सिट छाडिदिएका व्यक्ति नै रामवरण यादव रहेछन् । आजभोलि यिनको मसंग टेलिभिजनमा अक्सर भेट भइरहन्छ । उनको समाचार हेरिरहन्छु ।”

दुई श्रीमानसंग
यस्तै रमाइला कुराहरु गरेर श्रीमानले (न्यायाधीश हेमन्त रावल) हामीलाई यात्राको क्रममा मनोरञ्जन दिइरहनुभएको थियो ।
उहाँसंग आजसम्म लामो यात्रामा संगै निस्कने मौका नै मिलेको थिएन । यसपटक काठमाण्डौदेखि रुकुमसम्मको यात्राको लागि मैले श्रीमान रावलज्यूको गाडीमा लिफ्ट पाएको थिएँ । सो यात्रामा जाजरकोटका श्रीमान भुवन थापा समेत हुनुहुन्थ्यो ।
यात्रामा श्रीमानद्वयले नेपालका न्यायिक क्षेत्रका विद्यमान अवस्था कमीकमजोरी सुधारका लागि चालिनुपर्ने कदमहरु जस्ता न्याय सम्पादनका कुराहरु गरिरनुभएको थियो । ती कुरा मैले आधाआधी मात्रै बुझ्दथेँ । अतः यात्रा अलि कमै रमाइलो भएको अनुभूति भएकोले मैले केही मनोविनोदका कुराको प्रसंग चलाइदिएँ । त्यसपछि त गाडीको पट्यार लाग्दो निरस यात्रालाई उहाँका रमाइला र पेट मिचिमिचि हाँस्नुपर्ने चुड्किलाले सरस बनाउन थालिहाल्यो ।

गाडी छाडी पैदल यात्रा
सल्यानको बरालाको एकदुई किलोमिटर अघि नबढ्दै हामी चढेको गाडी बिग्रियो । गाडी मर्मत गराउन अगाडि कतै वर्कशप नमिल्ने भएकोले गाडीलाई शितलपाटीतिरै फर्काउनुपर्नेभयो । त्यसै गाडीमा फर्कनुभन्दा केही पाइला अगाडी बढ्नुनै उपयुक्त ठानी श्रीमान् र म दुईजना गाडीबाट ओर्लियौँ र अगाडि पाइला बढायौँ । श्रीमानको पिएसो सहित गाडी शितलपाटीतिर फर्कियो ।
बिहानको नौ बजेतिर । न्यानो घाम लागिरहेको थियो । खोलाको चिसो बतासको झोँक्काले छातिलाई नै ताकेर प्रहार गरिरहेको थियो । हामी यही न्यानो चीसोको अनुभूति संगाल्दै अगाडि बढ्दै गयौँ ।
हिड्दै गर्दा श्रीमानले पटक पटक आफ्नो गाडी बिग्रिरहँदा आफू आजित भइसकेको तर अर्को विकल्प पनि नभएको सम्बन्धमा केही उदाहरणहरु दिनुभयो । ड्राइभरको कुरा नमान्दा एकपटक राजापुरमा खेप्नु परेको दुःख यसरी सुनाउनुभयोः

तेलको बदला तेल
“एकपटक मानवअधिकारकर्मी हरिबहादुर थापासंग उहाँकै गाडीमा नेपालगंजतिर फर्कँदै थियौँ । गाडीमा तेल राख्नुपर्ने भनी ड्राइभरले हरिजीलाई अनुरोध गरे ।
‘तेल भर्खर हिजो मात्रै हालेकोले अहिल्यै तेल हाल्नुपर्ने अवस्था नआएको बरु नेपालगंज नपुग्दै तेल बाटैमा सकिएछ भने बाटोतिर हालौँला नि’ भनेर तेल तत्कालै हाल्न इन्कार गर्नुभयो ।
ड्राइभरले तेल जहाँ हाले पनि पुग्नुपर्ने गन्तव्य, पैँसा र दुरी उही हुने भएकोले केही फरक नपर्ने जिद्दी कसे । हरिजीले पनि चर्को स्वरमा उही कुरा दोहोर्याउनुभयो ।
ड्राइभरले आफ्नो हाकिम हरिको कुरा मान्नैपर्यो । गाडी अगाडि बढ्यो ।
तर उनको चित्त नबुझेको कुरा उनको मुखाकृति, उनको गाडी हँकाइ र उनको लवजबाट झल्किरहेको थियो । गाडी राजापुरको नदी किनारमा पुगेपछि रोडभन्दा अलिकति बाहिरपट्टिबाट कुद्न थाल्यो । त्यत्तिकैमा गाडी बालुवामा यसरी फस्यो कि कैयौँ प्रयत्नले पनि अगाडि बढ्दै बढेन ।
जेठ महिनाको तराइको मध्य दिनको गर्मीको धुप अत्यन्तै चर्केको थियो । बालुवामा त्यसको प्रभाव झनै तेज हुने नै भयो । यस्तो गर्मीले गर्दा हाम्रो लुगा पसिनाले पहिल्यै निथ्रुक्कै भिजिसकेको थियो । अब झन् गाडी बालुवामै फसेपछि गाडी निकाल्नै पर्यो । हामी सकी नसकी बालुवामा फसेको गाडी निकाल्न गाडी घचेट्न थाल्यौँ । हाम्रो पाइतालामुनिको बालुवा आगोको फिलिङ्गोसरि तातो थियो । बिचबिचमा चल्ने तातो हावाले हाम्रो सासनै बन्द गरिदिन्थ्यो । त्यस्तो अवस्थाको आफूले कहिले गर्नु नपरेको मिहेनेत त्यो मरुभूमि सरहको ठाउँमा गर्नुपर्यो । अब हाम्रो जीउबाट पसिना होइन तेल नै निस्कन थाल्यो । गाडीको बचेखुचेको तेल पनि सकिन थाल्यो र हाम्रो तेल समेत सकिनथाल्यो ।
त्यो परेशानीमा एकाध घण्टा बिताउन जुगौँ बिताएसरि भयो हामीलाई । बल्लतल्ल गाडी निकाल्न सफल भयौँ । तेलको बदला तेल निकालेपछि हामीले उसले सिकाएको पाठ जीवनमा कहिले नभुल्ने गरी सिक्यौँ ।”
श्रीमानले यो घटना सुनाइरहँदा हामी पनि झण्डै दुई किलोमिटरको दुरी पार गरिसकेका थियौँ । हिँडिसकेका थियौँ । गाडी अझै फर्केको थिएन । घाम चर्कन थालिसकेको थियो । खाना खाएका थिएनौँ । पहाडको उकालो ‌ओरालोमा हिड्नुभन्दा समथर पिच रोडमा हिँड्दा थकाइ बढी लाग्छ र पाइताला पनि छिट्टै दुख्न थालिहाल्छन् । त्यो अनुभूति हामीलाई हुन पनि थालिसकेको थियो । हाम्रो अगाडि ढोरचौर बजार आइपुग्यो । हामीले चिया खान एकछिन बजारमा अलमलियौँ । हाम्रो शरीरमा निस्केको पसिनाले अलिअलि कपडा भिजिसकेका थिए । तर बजार भने कोल्टोपट्टि परेकोले पसिना ‌ओबाउनुको सट्टा चिसोले कँपाउनथाल्यो । तसर्थ घाम लाग्ने ठाउँमा पुग्नको लागि फेरि हाम्रो यात्रा शुरु भयो । श्रीमानले आफ्नो शुरुको जागिरीमा घटेको अर्को अविस्मरणीय क्षण यसरी सुनाउनुभयोः

स्वाभिमानले गुमेको अवसर
“मैले क्याम्पसको पढाइ सक्नेबित्तिकै विद्यूत प्राधिकरणमा जागिर पाइहालेँ । मेरो प्रतिस्पर्धामा अरु सहपाठीहरु आउन मुश्किलै थियो किनकि म पढाइमा पनि अरुभन्दा तेज नै थिएँ । त्यसबेला म निकै उम्दा कर्मचारीमा गनिन्थेँ । मैले नजानेको कुरा केही थिएन जस्तो लाग्थ्यो । कानूनका दफा दफा कण्ठ थियो । बिहान १० बजेदेखि ५ बजेसम्म एकछिन विश्राम नगरेर काममै खटिन्थेँ । १० बजेदेखि २ बजेसम्म विद्यूत महशुल बुझ्ने काम थियो मेरो । त्यसपछि म अफिस व्यवस्थापनको काममा जुट्थेँ । मेरो काम गराइको सीप जाँगर र चासो देखेर मेरा हाकिमहरु मदेखि निकै खुशी थिए ।
एक दिनको कुरा हो । २ बजेर करिब ५ मिनेट गएको हुँदो हो । मैले खाता बन्द गरी रसिद थन्क्याइसकेर हिसाबमिलानमा लागेको थिएँ । त्यसैबेला एकजना भद्र व्यक्ति महशुल बुझाउन आइपुगे ।
मैले २ बजेसम्म मात्र शुल्क बुझ्ने नियम भएकोले र अब खातापाता पनि बन्द भइसकेकोले आज शुल्क नबुझ्ने बरु भोलि बिहानै बुझिदिने कुरा उनलाई सुनाएँ ।
उनले ‘केही हप्ताको लागि आफू बाहिर जानुपर्ने भएकोले आजै शुल्क बुझाउनैपर्ने बाध्यता’ देखाउँदै विनम्र भई मलाई शुल्क बुझिदिन अनुरोध गरिराखे । म ‘हुन्न’ भनिसकेपछि ‘हुन्छ’ भन्ने स्वभावको मान्छे थिइन । अब उनको जतिसुकै अनुरोधले पनि ‘हुन्छ’ भन्न मिल्दैनथ्यो मैले । यही सल्लाह दियो मेरो स्वाभिमानले पनि । यही कारणले नै मेरो स्वाभिमानको प्रशंशा गर्थे सबैजना । नियम मिचेर काम गर्न थाले भोलि सबैको नजरमा आफू शंकाको घेरामा परिने डर पनि थियो ममा । तसर्थ मैले कुनै हालतमा महशुल नबुझ्ने अड्डी लिइरहेँ ।
उनले ‘जनताको सरकारले बनाएको नियम जनताकै लागि हो । त्यो नियमलाई कतिसम्म लचकदार बनाउने भन्ने आफ्नै विवेकको कुरा हो । जनहितको लागि नियम मिचिए पनि त्यो स्वाभाविक हुने’ पाठ पढाउन थाले मलाई । म आफ्नो कर्तव्यको लागि अरुलाई पाठ पढाउने स्तरको कर्मचारी थिएँ नकि कसैले पढाएको पाठ सिक्ने स्तरको । उल्टै उनले नै मलाई अर्ति दिनथालेपछि मलाई रिस उठ्यो । अतः उनलाई थर्काउँदै आफ्नो अफिस कोठा बन्द गरेर म बाहिरिएँ ।
उनी निराश भई फर्किए ।
त्यसपछिका दिनहरुमा पनि मैले उनलाई बाटोमा भेट्ने गर्थेँ । उनले मलाई कर्के नजरले हेर्थे । मैले टाउको अझै ठाडो पार्दै छाति फुलाउँदै तर्किन्थेँ । मेरो स्वाभिमान चुलिएको महशुश गर्थेँ म त्यसबेला ।
एकपटकको कुरा हो । युनिसेफले अधिकृतस्तरको कर्मचारी आवश्यक भएको विज्ञापन खोल्यो । मलाई त्यो पद पाउने लोभ जाग्यो । सबैतिरबाट त्यो जागिरी पाउन सके जीवनमै अभूतपूर्व परिवर्तन हुने र मेरो भाग्य चम्किने सुझाव प्राप्त भइरहेको थियो । मेरो योग्यता र क्षमतालाई देखेर नै मलाई उत्साहित गरिरहेका थिए मेरा शुभचिन्तकहरु । कसैकसैले त मेरो भाग्यलाई देखेर अग्रिम बधाइ पनि दिइरहेका थिए ।
म पनि त्यो जागिरीको परीक्षाको तयारीमा तनमनका साथ जुटेँ । मेरो प्रतिस्पर्धामा अरु आउन नसक्ने कुरामा म ढुक्क थिएँ ।
अन्तर्वार्ताको दिनसम्म पूर्ण तयारी गरी त्यस दिन म युनिसेफको कार्यालयमा समयमै पुगेँ । कार्यालयको सजीसजाउ, व्यवस्थापन, सुकिलामुकिला मान्छेको ‌ओहोरदोहोर देखेर मेरा खुट्टा यति हलुका भइरहेका थिए र मन यसरी चङ्ग भइरहेको थियो कि मानौँ मैले त्यो जागिरी प्राप्त गरिसकेको छु र आज जागिर खाने क्रममै म यहाँ आइपुगेको छु ।
अन्तर्वार्ता हुनुभन्दा केही अघि अन्तर्वार्ता कक्षको ढोका आधा खुल्यो । मैले भित्रका मान्छेहरुको अनुहार हेर्न भ्याएँ । दाहिनेपट्टि र देब्रेपट्टि लहरै दुईदुईजना अन्तर्वार्ता लिने तयारीमा फाइल केलाएर बसेका थिए । सायद मेरै फाइल थियो त्यो । मेरो स्वाभिमान अरु चुलियो । अनि अघिल्तिर मुख्य कुर्सीमा बसेका व्यक्ति अनुहारतिर मेरो नजर पुग्यो ।
उनको त्यो अनुहार चिरपरिचित लाग्यो यसो सम्झिएँ । मैले अनुमान गर्नेबित्तिकै म खङ्ग्रङ्गै तर्सिएँ । त्यसैबेला ढोका लाग्यो र भित्रको दृश्य मेरो नजरबाट हट्यो । सायद त्यही व्यक्ति नहुन पनि सक्छन् भनी म ढोकाको नजिकै सरेँ पुनः त्यो अनुहार पहिल्यै हेर्ने तलतलले ।
नभन्दै फेरि ढोका खुल्यो । मैले सिधै ती व्यक्तिलाई नै चिहाएँ । अब भने म निश्चित भएँ । यिनी मान्छे तिनै थिए जो बेलाबखत मेरो अफिसको बाटोमा भेटिन्थे र मलाई कर्के नजर फ्याँक्थे । म झनै टाउको ठाडो पारेर र छाति फुलाएर हिड्ने गर्थेँ । जसलाई देख्दा मेरो स्वाभिमान अझै चुलिने गर्थ्यो । ती मान्छे तिनै थिए जसलाई केही महिना अगाडि मैलै निर्धारित समय सकिएर पाँच मिनेट मात्रै जाँदा कुनै हालतमा महशुल बुझ्न नमिल्ने भनेर आफ्नो अफिसबाट फर्काइदिएको थिएँ ।
अब मेरा खुट्टा लल्याकलुलुक भए । मुटु हल्लिन थाल्यो । भित्र पस्ने जाँगर मरेर गयो । मैले अब त्यो अन्तर्वार्ता दिइरहनुको कुनै अर्थ देखिन । म त्यस स्थलबाट उल्टो पाइला पछितिर सर्दै गएँ ।
अलि पर पुगेपछि मेरो नाम बोलाइयो । मिस्टर रावल ! मिस्टर रावल !! मिस्टर रावल !!!
यो नामले मलाई गिज्याएजस्तो लाग्यो र म झनझन भाग्दै टाढिएँ । मेरो स्वाभिमान त्यसबेला शून्यमा ‌ओर्लिसकेको थियो ।
अनि म युनिसेफको अफिसर कहिल्यै बन्न सकिन ।

शालीन शारदा
यस्ता रोचक घटनाले कति बाटो काटियो हेक्कै रहेन । गाउँ सकिएर जङ्गल शुरु भइसकेको थियो । एकछिन हामी सडकको किनारमा उभिएर थकाइ मार्दै तल बग्ने शारदा नदीलाई हेरिरहेका थियौँ ।
“हेर्नुस् यो नदी ।”
“हेरिरहेको छु श्रीमान् ।”
“के देख्नुभयो ?”
“यसलाई हेर्न थालेको तीसौँ वर्ष भयो हजुर । बीसौँ वर्षतक त यसको किनारकिनारै कति हिँडियो कति । सँधै उस्तै छ । उत्रै छ ।”
“अरु के देख्नुभयो तपाईँले ?”
“धेरै समय सङ्लोपना, कहिलेकाँहि थोरै समय धमिलोपना । हिउँदमा झण्डैझण्डै सुकेको अवस्था, कुलेसो मात्रै । बर्खामा मात्र नदी भन्न भन्न लायक ।”
“तपाईँले जे देख्नुपर्ने हो, त्यो देख्नुभएनछ ।”
“के कुरा हजुर ?”
“ऊ त्यो आली । त्यो खेतको आलीले कहिल्यै डर मानेन यस नदीको । बर्खामा पनि र हिउँदमा पनि । नदी किनारसंगै टाँसिएको आली नै नदीको बेगसंग निष्फिक्री भइदिएपछि अरु त्योभन्दा परका वस्तु र प्राणी डराउने झन् कुरै भएन । कसैलाई दुःख दिइनन् यी नदीले बरु सबैको पेट पाल्ने मुख्य आधार बनिन् यस जिल्लाको । सहमत हुनुहुन्छ ?”
“हजुरका कुन कुरादेखि म असहमत छु र हजुर ।”
यी न्यायका प्रतिमूर्ति । जो कसैलाई पनि आफ्नो बौद्धिक वक्तृत्वकलाले प्रभावित नगरी छाड्दैनन् । सदाबहार सङ्लोपना । तर कहिलेकाँहि यिनको क्षणिक धमिलोपना पनि देखेकै होलान् कसै कसैले ।
म पनि यसको शिकार भएको थिएँ एकपटक । मैले काम गर्ने अड्डाको कार्यशैली र यिनको अड्डाको कार्यको बीचको पारस्परिक घर्षणले कुनै बेला आकाशमा कालो बादल मडारिन थाल्यो । घनघोर वर्षा भयो । खहरे खोलाहरु उर्लन थाले । नदीमा अभूतपूर्व भेलकै प्रवाह भइदियो । नदी किनारका आलीहरु भत्किने सम्भावना प्रबल बढ्यो । नदी घोर गर्जनसाथ कूद्न थालिन् ।
तर आली किञ्चित पनि डराएन किनकि यो नदीको शालीनता उसले पनि बुझेको थियो । उसलाई पूर्ण विश्वास थियो आलीको एकछेउ पनि यिनले भत्काउने छैनिन् भनेर । ऊ कहिल्यै तर्सिएन नदीदेखि र त्यसबेला पनि डराउन आवश्यक ठानेन । एकछिनपछि शान्त भइहाल्ने नदीको त्यो रौद्र रुपले आत्तिएन ऊ । सँधै टाँसिएर रहन मन परायो । नभन्दै नदी पनि एकछिनमै शान्त भइहालिन् । धन्य यी नदीको शालिनता ।
कैयौँ खहरेहरु छन् जसले क्षणिक बैंसको उन्मादमा आफ्नै किनाराहरु भत्काइदिन्छन् । वितण्डा मच्चाउँछन् प्रकृतिमा र केही समयमै बिलाउँछन् । फेरि वर्षाद्कालीन बैंसको उन्माद चढ्छ र आफ्नो असली रुप देखाइ छाड्छन् । कहिल्यै बुझ्दैनन् किनाराहरुको सामिप्यता ।
भनिदिऊँ भनिदिऊँझैँ लाग्यो श्रीमानलाई । तपाईँ शारदा नदीजस्तै म त्यो आलीजस्तै । तर पुरानो घाउ नबल्झियोस् भन्ने हेतुले मैले प्रकट गरिन ।
होला । उनले मलाई यो कुरा बुझाउन खोजेकै होइनन् । मान्छेको अन्य आम विकृति र विडम्बनालाई बुझाउन खोजेका हुन् शारदा नदी र आलीको उदाहरण दिएर । तर मैले अर्कै रुपले बुझिदिएँ । कसको के लाग्छ । म त भन्छु बुझ्न जत्तिको स्वतन्त्रता अरु कुरामा मान्छेलाई छँदैछैन ।
हिँडाइको थकान फेरि मेटिइसकेको थियो । अब हामी फेरि हिडाइमा निरन्तरता दिन थाल्यौँ ।

श्रीमानको परिचय
हाम्रो गाडी हामीलाई भेट्टाउन आइपुगेकै छैन अहिलेसम्म । मेरो मनमा अझै गाडी नआइदिए हुन्थ्यो जस्तो भइरहेको छ ।
श्रीमानले जाकेट खोलेर काँधमा भिर्नुभयो । यसैबेला जाकेटमा राखिएको मोबाइल सडकमा खस्यो र यसका पार्टपूर्जा चार टुक्रा भइ छरिए । मोबाइल टिप्न खोज्दा खल्तीका खुद्रा नोटहरु बाटैभरि ओइरिए । नोट बटुल्न खोज्दा जाकेट नै धुलोमा खस्यो र जाकेट टकटक्याउँदा बाँकी कपडा र जीउ पनि धुलैनाम भयो ।
मलाई हाँसो थाम्न मुश्किल भइरहेको थियो । बिचरा पिएसओ बिनाका श्रीमान् ।
सबै कुरा मिलाइसकेपछि श्रीमानले मोबाइल सुमसुम्याउन थाल्नुभयो ।
कतै बिग्रियो श्रीमान् मोबाइल पनि ।
यस्तो अवस्थामा कहाँ बिग्रन मिल्छ यसले पनि । यो पनि बिग्रियो भने त सक्किगो नि । कम्तीमा यसले त धोका दिन हुँदैन ।
उहाँले मोबाइल अफ गर्दै र अन गर्दै गर्न थाल्नुभयो । उहाँको अनुहारमा संशय र त्रासले डेरा जमाइसकेको थियो ।
यस अघि श्रीमानलाई घरिघरि उहाँको घरतिरबाट फोन पनि आइरहेको थियो । फोनको टावरले कतै कतै मात्र काम गर्थ्यो । कुरा गर्दागर्दै फोन काटिन्थ्यो फेरि फोन लाग्थ्यो । रमाइला रमाइला गफ पनि हुन्थे उहाँका फोनमा । आफ्नो अवस्थाको बारेमा प्रत्यक्ष प्रसारण गरिरहन पाउँदा उहाँ आनन्दित भएको पाउँथेँ ।

फोनको घण्टी बज्यो । उहाँ खुशीले उफ्रनुभयो ।
“हेलो, हेलो !”
उताबाट आएको कुरा मैले सुन्न सक्तैनथेँ । खाली श्रीमानको जवाफ मात्र सुनिरहेको थिएँ ।
……………………………..
“छैन, छैन । अझै आइपुगेकै छैन ।”
………………………………
“कहाँ बस्नु त ? सल्यानका डाँडापाखामा थोरै बनेका छन् पार्क उद्यानहरु ?”
……………………………………..
“छिटफुट पाइने छाप्रे चिया पसलहरुमा बसेर लामो समय बिताउने कुरा पनि आएन । तातो चियाभन्दा चिसो चियोकै गन्धले पिरोल्छ त्यता पनि ।”
……………………………………
“आफ्नो गाडी मर्मतमा पठाइएको छ । कसरी प्रहरीको मद्दत लिनू त ? त्यही पनि सल्यान प्रहरी र रुकुम प्रहरीको ठीक बीचमा छौँ अहिले ।
……………………………….
“खाने कुराहरु र सामान सबै गाडीमै छ ।”
…………………………….
“के म चिनजान नभएकै मान्छेसंगै हिँडेको हुँला त ? मेरो साथमा पूर्ण ओलीजी पनि हुनुहुन्छ, तिमी पनि चिन्छ्यौ नि, हो त्यही । हिँडाइको भरपूर आनन्द आइराख्या छ । त्यताको सुगर सब स्वाहा ।”
…………………………………
“यता कसैले चिन्दैनन् मलाई । ढुक्क होऊ ।”
……………………………………….
अनि फोन काटिएको हुनसक्छ र त श्रीमानले फोन खल्तीमा राख्नुभयो र मलाई प्रश्न गर्नुभयो ।

“कसैले चिन्दैनन् त भनियो तर गाडी ‌ओहोरदोहोर गरिरहेकै छन् । ती सवारीसाधनमा सवार यात्रुहरु कसैले न कसैले त चिनेकै होलान् मलाई ! के भन्दा हुन् मान्छेहरु ! न गाडीमा चढ्न खोजेको छ, न त कतै विश्राम लिन खोजेको छ । कोही मान्छे नहिड्ने सवारीसाधन मात्र चल्ने सडकमा लुखुरलुखुर हिँडेको छ, छ । अफिसमा छिनछिनमा सलाम खाइरहेको व्यक्ति यहाँ धोती न टोपीको अवस्थामा एक्लै सडकमा लुखुरलुखुर । अलि सुहाएन कि ? मेरो परिचय नै धरापमा परिसक्यो त !”
“खै, श्रीमान् ? मलाई भने आनन्द भइरहेको छ, हजुर । कहिल्यै नहिँडेको र हिड्नु पनि नपर्ने कुनाकन्दराका ठाउँमा उच्च व्यक्तित्वसंग हिँड्दाको अनुभूति भिन्नै हुँदोरहेछ । हजुर नै साथमा भएपछि मलाई त कसैले चिने पनि केही फरक पर्दैन । मैले त गर्वको अनुभूति पो गरिरहेको छु त ।”
“उसोभए त सक्किगो नि ।” उहाँ धित मर्नेगरी हाँस्न थाल्नुभयो ।
मैले प्रसंग फेरि मोड्न खोजेँ ।
“श्रीमान्, बरु स्वाभिमानका त्यस्तै केही अन्य अनुभूति पनि छन् भने सुनम् न हजुर ।” मैले जिज्ञासा राखेँ । स्वाभिमानको कथा पढ्न र सुन्न मलाई बढी मन पर्छ ।
श्रीमानसंग गफ भइरहँदा मेरा जोर नजरलाई एउटा सेतो ढिस्कोले खिँच्यो । सडक किनारमा राखिएको माइलस्टोनमा लेखिएको थियोः चाख्लीघाट २ किमि । सडक बनेदेखि कुन ठाउँदेखि कुन ठाउँको दुरी कति छ भन्न गाह्रो छैन अब । पहिलेपहिले दुरी नाप्ने सर्वसुलभ मापदण्ड पाइला हुने गर्थ्यो । खेतबारी लगायतको स्थलीय नाप पनि पाइलाबाटै पहिचान गरिन्थ्यो ।
हाम्रो हिँडाइको गति मत्थर हुँदै गइरहेको भए पनि एकरफ्तारको छ । करिब ४ किमि दुरी पैदलै पार गरिसकेका छौँ । यस दुरीमा करिब दशहजार पाइला हिँडिसकेका छौँ हामीहरु ।
“ल सुन्नुस् अर्को घटना ! ठ्याक्कै त्यसै घटनासंग मिल्दोजुल्दो घटना । तर फरक सन्दर्भमा । मैले अरुलाई नै स्वाभिमानको पाठ पढाइदिएको घटना ” श्रीमानले अर्को घटना सुनाउन थाल्दा मैले मेरो उत्सुकतालाई कानमा केन्द्रित गरिसकेको हुन्छु ।

बाँकि अर्को दिन

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *