संस्मरण

श्रीमानसंग तीसहजार पाइला (३)

फास्ट ट्रयाक
श्रीमान् उभिएर हामी भरखरै आफ्नै पाइलाले नापेको बाटो नियाल्नुहुन्छ परपरसम्म एक तमाशले । एउटा पहर चिरेर सडक बाटो बनाइएको छ । पहर काटिएको भित्तोमा अझै ताजा चट्टान र माटो देखिन्छ आलो घाउझैँ ।
यो सडक बनेको एकदशक बितिसक्यो । चाख्लीघाट भएर बरलातिर हिँड्ने पहिलेका बटुवाहरु यो बाटो भएर कहिले पनि हिँडेनन् । किनकि यो मोटरको लागि मात्र बनेको नयाँ बाटो हो । यो मान्छे हिँड्नलाई धेरै फेरो पर्छ । त्यसबेला छोटो बाटो माल्टा मालनेटा हुँदै जान्थ्यो । भरखरै बनेको कच्ची सडकमा शुरुशुरुमा गाडी चल्दा त बरलाबाट माल्टा हुँदै चाख्लीघाट झर्ने यात्रीले बरलाबाट ढोरचौर हुँदै चाख्लीघाट आउने गाडीलाई उछिनिसक्थ्यो ।
“श्रीमान्, हजुरले ‘फास्ट ट्रयाकको सम्बन्धमा बताउँछु’ भन्दै हुनुहुन्थ्यो ।”
म उहाँको बिचारमग्नतालाई हस्तक्षेप गर्न खोज्छु । उहाँको मुखाकृति, हाउभाउ, हिँडाइ आदिले थकाइले अरु गल्दै गएको आभाष दिइरहेका छन् । लाग्छ उहाँलाई नझिँजाएको भए पनि हुन्थ्यो ।
उहाँले फेरि आफूले भर्खरै तरेको चाख्लीघाट खोलोलाई गढेर हेर्नुभयो । मैले पनि हेरेँ । धेरै सानो हुँदै खिइँदैछ यो खोला, हिउँद भएकोले होला । त्यो खोला केही तल शारदा नदीमा पुगेर बिलाएको छ । खोला मिसिएर शारदा नदीको आकारमा कुनै परिवर्तन आएको देख्दैनन् यी आँखाहरु । कुनै मापनीय साधन लिएर पानीको आयतन नाप्ने हो भने अवश्य शारदा नदीको पानी बढेको हुनुपर्छ । देखिनु र देखाइनु फरक कुरा हो ।
दुवै खोला उँधो नै बग्छन् भन्ने कुरा यस यात्राका पात्रहरु श्रीमान् र म त के आम प्राणीलाई थाहा छ । आआफ्नो उद्गमस्थल छ, तर भिन्नभिन्न ठाउँमा ।
“श्रीमान् ! ?” म श्रीमानको विश्लेषण सुन्न अधैर्य हुँदै गएको छु ।
“ए, अँ ।”
“अँ…. यसबाट कसैको लागि सिमित सम्भावनाहरु उजागर हुन्छन् । कसैको लागि असीमित सम्भावनाहरु बन्द हुन पुग्दछन् सँधैको लागि ।”
उहाँको वाक्यमा यतिमै पूर्णविराम लाग्छ । योभन्दा धेरै कुरा भन्नलाई जाँगर छैन उहाँमा । बन्द वाक्यबाट यही बुझ्नुपर्ने हुन्छ मैले । यही वाक्यमा धेरै वा सबै कुराहरु लुकेका पनि हुन सक्छन् ।
उहाँकै नजरलाई मेरा नजरले पछ्याउँछन् । ‘माल्टा हुँदै झर्ने पैदल बाटो फास्ट ट्रयाक होला र यही पैदल बाटोलाई पछ्याउन खोजेको भए हामीले भरखरै नापेका पन्ध्रौँ हजार पाइलाका भलाकुसारी र दायाँ बायाँको दृश्यस्वादन गर्ने सम्भावनाहरु बन्द हुन पुग्थे होलान् ।’
‘ती शारदा नदीमा विभिन्न ठाउँमा मिसिने खोलाहरु पो फास्ट ट्र्याक हुन् कि ? खोलाको कुँदाइ रुप र बेग फरक छ । नदीको बहाव र सुन्दरता फरक छ । शारदा नदीमा बाँच्ने माछा लगायतका जीव र वनस्पति यी खोलाहरुमा बाँच्नै सक्तैनन् ।’
हामी अब बिस्तारै अगाडि बढ्छौँ । हाम्रो गति धेरै सुस्त भइसकेको छ । यो थकाइको कारणले पार गरिसकेको त्यति नै दूरी नाप्न अब धेरै पाइलाहरु चाल्नुपर्नेछ हामीले । म फेरि तर्क गर्न थाल्छुः
‘न्यायिक मन भएका व्यक्तिको अर्कै धारणा पनि हुन सक्छ । न्याय सम्पादनको क्रममा न्यायिक निर्णयका विधि र प्रक्रियालाई परवाह नगरी सीमित सम्भावनालाई प्रश्रय दिने हेतुले असीमित सम्भावनाहरुलाई तिलाञ्जली दिनुपरेका धेरै अनुभवहरु पनि हुनसक्छन् उहाँसंग ।’
‘श्रीमान पनि एक कर्मचारी नै भएकोले कर्मचारी व्यवस्थापनका चरणहरु जस्तैः पदस्थापन, सरुवा, बढुवा, पुरस्कार तथा अन्य मौद्रिक अमौद्रिक वृत्तिविकासका अवसरका सम्बन्धमा भुक्तभोगी हुनुपर्छ । यी यावत कुराहरुमा भइरहेको स्वविवेकी वा अविवेकी निर्णयाधिकारले गर्दा केही निर्णयाधिकारीले स्वार्थप्रेरित भई केही कर्मचारीहरुलाई काखीमा च्यापेर सीमित सम्भावनाको उजागर गरिदिने र सो क्रममा कैयौँ अन्य कर्मचारीहरुको असीमित सम्भावनालाई धुलो चटाइदिने विद्यमान अवस्थाप्रति इङ्गित गर्न खोजेको पनि हुन सक्छ । एकजना हाकिमले कुनै कर्मचारी मन नपरेमा उसको पूरै भविष्य बिगारिदिन पनि सक्छ वा कसैलाई मन परेमा भविष्य सुधारिदिन सक्छ । विवेकशिल हाकिम परेमा मात्र उसले कानूनको विवेकसम्मत कार्यान्वयन गरी कर्मचारीको हित अनुकूल कार्य गर्न सक्छ ।’
‘केही सरकारी सेवामा रहेको फास्ट ट्रयाक प्रणालीमा प्रशस्तै गुणहरु हुँदाहुँदै पनि यही स्वविवेकीय अधिकारको कारणले कसैको असीमित सम्भावनाहरु पटाक्षेप भएका कैयौँ उदाहरणहरु छन् बल्कि उसंग प्रशस्त क्षमता, दक्षता, सीप तथा जाँगर ताजै रहेका हुन्छन् ।’
“यसैले त सल्यान नाम रहेको होला !” श्रीमानको छोटो उद्गार फेरि यो ।
हामी पटारेको अलिक नजिक पुगिसकेका छौँ । वारिपारितिर माथितिर जताकतै सल्लाका रुखहरुको राज छ, रुखमुनि पनि घाँसपात फस्टाउन मुश्किल भएको अवस्था ! सल्लाको जङ्गल भएको कारणले गर्दा अन्य वनस्पतिको सुन्दर जङ्गल हुने सम्भावनाबाट वञ्चित छ यो क्षेत्र ।
“हिँडेरै रुकुम पुग्ने हो भने कति लाग्छ होला अब ?”
“छिटो पाइला चालेमा पूरै एक दिन ! तर बिस्तारै गए दुईतीन दिन पनि लाग्न सक्छ श्रीमान् ।”
श्रीमानमा रहेको आशालाई बढार्दै निराशापनलाई पो बढाइदियो कि मेरो जवाफले ?
मैले यसो भनेको भए पनि हुनेः
“दाङबाटै चारदेखि पाँच घण्टाको आरामदायक बसयात्राबाट रुकुम पुग्न सकिन्छ । यहाँबाट गाडीमा करिब एक घण्टामै रुकुम पुग्न सकिन्छ ।” नभनेकै वेश किनकि यो कुरा त उहाँलाई पनि थाहा छ ।
‘रुकुम’ शब्दले भने मेरो अगाडि रुकुमको सुन्दर दृश्य लम्पसार पर्न आइपुग्छ । आफ्नै जन्मस्थल भएर हो कि वरिपरिका अन्य जिल्लाभन्दा रुकुम साँच्चिकै सुन्दर र सुगम्य लाग्छ मलाई । जब रुकुमको सिमाना शुरु हुन्छ, स्वागत गर्न नजिकै आइपुग्छन् सिस्ने र पुथा हिमालका लश्करहरु । लालीगुराँस, कटुस तथा रयाँजका बोटहरुले शितल हावा हम्किन आइपुग्छन् मेरो गुम्सिएको शरीरलाई ।
यो त मेरो अलि परको कल्पना मात्र । त्यो आइपुग्न अझै धेरै टाढा छ, पैदल पूरै एक दिन । अरु गाल्छ मेरा पाइतालाहरु यो सम्झनाले ।
फोनको टावरले अहिले काम गरेको छ क्यारे श्रीमानको फोन फेरि बिजी हुन थालेको छ । मैले उहाँलाई लर्खराउँदै पछ्याइरहेको त छु तर के कुरा गरिरहनुभएको छ केही भेउ पाउनसकेको छैन । उहाँ पनि सोचमग्न मुद्रामै अगुवाइ गरिरहनुभएको छ । श्रीमानको ‘फास्ट ट्रयाक’ शब्दजालमा बेसरी जेलिएको पाउँछु आफैँलाई । यसबाट उम्कन कोशिस गर्छु म फेरि ।
‘अख्तियारको फन्दामा परिने डरले केही राष्ट्रसेवकहरुले धमाधम राजिनामा दिएको भरखरैको समाचारको कल्पना गर्न पुग्छु । जागिरको लोभले अरुको जीवनमा कति खेलबाड गर्छन् मान्छेहरु ! एकजना राष्ट्रसेवक हुँ भनी गर्व गर्ने व्यक्तिले स्वाध्ययनको माध्यमबाट ज्ञान आर्जन नगरी फास्ट ट्रयाकको विधि अपनाई नक्कली सर्टिफिकेट प्राप्त गर्दछ । अझ भनौँ फास्ट ट्रयाकको विविध विधिहरु अपनाई शक्ति पद र सुविधा प्राप्त गरिरहेको हुन्छ । अनि त्यही अस्त्रबाट शिक्षा र सेवा दिने ढोँग रचेर हामी र हाम्रा भावी सन्तानहरुलाई गुमराहमा पारिरहन्छ उसले !! ओहो कति कहाली लाग्दो अवस्था यो !!! हाम्रा सन्तानका असीमित सम्भावनाका ढोकाहरुमा बल्जफ्ती ताल्चा ठोकिँदै छन् यिनीहरुबाटै !!!!’
राजनैतिक विधि प्रक्रियाको फास्ट ट्रयाकको कुरा गर्नुभएको पो हो कि जुन विगत एक हप्तासम्म नेपाली समाचारको आकाशमा गमक्कै ढाकेको थियो ।
आर्थिक फास्ट ट्रयाकको प्रसंग थियो भने यसो हुनुपर्थ्योः खाद्यान्नमा ढुङ्गा मिसाएर वा म्याद समाप्त भइसकेका सडे गलेका वस्तु विक्रिबाट वा नापतौलका सामानमा कैफियत गरेर वा नाफा दोब्बर गरेर वा कालोबजारी गरेर वा उपभोक्ताउपर खुल्ला वा छद्म ठगीका अन्य विधि अपनाएर भए पनि रातारात कमाउनुछ केही व्यावसायिक जगतले फास्ट ट्रयाककै माध्यमबाट ।
वा मन पर्ने व्यक्तिसंग तुरुन्त सम्बन्ध गाँस्न वा कायम भैसकेको सम्बन्धलाई समाप्त गर्न पनि फास्ट ट्रयाक विधि नै अपनाइरहेको समाजप्रति व्यङ्ग्य गर्न पो खोजिएको थियो कि ?
श्रीमानले विश्राम गर्दै ‘गोरीजिउलामा बास नपाई चीसो ढुङ्गामा रात बिताएको’ आफ्नो रोचक घटना सुनाउनहुन्छ । मेरो आधा ध्यान त्यता खिँचिन्छ आधा खिँचिदैन । एकसरो हिँड्नमा पनि कुनै बाधा उत्पन्न भएको छैन ।
हिँड्दै गर्दा मैले आफ्नै विगतको अँधेरीमा पुरिइसकेको एक घटना झल्याँस्स सम्झिएँ ।
‘मेरो जागिरीको कूल आयको १० प्रतिशतका दरले सञ्चय कोष जम्मा हुन थालेको करिब ८ वर्ष बितिसकेपछिको कुरा हो । मैले प्राप्त गर्ने नब्बे प्रतिशतको महत्वभन्दा सञ्चयकोषमा जम्मा भइरहेको दशांश रकम नै मलाई १० गुणा बढी महत्त्वको लाग्ने गर्थ्यो । त्यो जम्मा गरेको करिब १०० महिनासम्मको सञ्चित कोष रकमको त्यो आयतन दिन दुगुना रात चौगुना भनेझैँ फैलिरहेको महशुश हुन्थ्यो । रकमको अंश जति थपिँदै जान्थ्यो, त्यति नै त्यस रकमको उपयोग कसरी गर्ने सम्बन्धमा मेरा योजनाका ठेलीहरु पनि बाक्लिँदै गइरहेका थिए । मैले पाइला पाइला गनेर जम्मा गरेको रकम थियो त्यो । जागिरी जीवनमा मैले तीसहजार घण्टे पाइला चालिसकेको थिएँ त्यसबेलासम्म ।
नासु स्तरको जागिरीले पाँचजनाको परिवार पाल्नुपर्दाका कठिनाइ जति सबै भोगिरहेको थिएँ मैले त्यसताका । केटाकेटीको स्कूलको फिस तिर्न सकिरहेको थिइन । यसले गर्दा केटाकेटीहरु स्कूल जाँदा भन्ने गर्थे, “बुबा, बरु कापी किताब किनिदिनू भन्दैनौँ । मीठो खाना र नयाँ लुगा चाहिँदैन हामीलाई । स्कूलको फि भने तिरिदिनू न प्लिज ! हरेक दिन प्रिन्सिपलले फिसकै निहुँ झिकेर हामीलाई गाली गर्नुहुन्छ । सक्नुहुन्न भने हामीलाई स्कूल नै नपठाउनुस् !” त्यो बिलापले मलाई उति सारो छुँदैनथ्यो किनभने उधारो लिएका पसलेहरुबाट र सापटी लिएका साथीहरुबाट पनि यस्तै अपहेलनाको सामना गरिरहनुपरेको अवस्था थियो आफैले पनि ।
एक रात पारिवारिक सल्लाह भयो जम्मा भएको सञ्चय कोषको रकम झिकेर सबै फिस उधारो र सापटी तिरिदिने र केही समय भए पनि आत्मसम्मानपूर्वक बाँच्ने ।
भोलिपल्ट सबै प्रक्रिया पूरा गरी जम्मा भएको सञ्चयकोष सापटी रकम पनि झिकियो । चालीस हजार रुपैँया । त्यो रुपैँया मेरो लागि धेरै ठूलो कुरा थियो किनकि त्यसले मेरा धेरै सम्भावनाहरु उजागर गर्नेवाला थियो ।
त्यो रकमको प्राप्तीले गर्दा धेरै दिनसम्म अधकल्चो रहेको निद्राले पनि पूर्णता पाउने भयो अर्थात त्यो साँझ मीठो निद्रा पर्यो मलाई । भोलिपल्ट पाइन्टको खल्ती खोज्दा थाहा भयो अनन्त सम्भावना बोकेको मेरो त्यो पैँसा चोरी भैसकेको थियो । जहानबच्चाको रुवाबासी चल्यो । मैले छिमेकी गुहारेँ । प्रहरी समेतको सहयोगबाट चोरलाई पक्रन पनि सफल भइयो र त्यस चोरलाई त्यही बेलुका घर नजिकैको चौकीमा बुझाइयो ।
यसले मेरो ओइलाइसकेको आशा फेरि पलाउनु मात्र त के झाङ्गिदै जान थाल्यो । भोलिपल्ट सोधपुछ गर्दा केही पैँसा चोरबाट असूल भइसकेको र केही हुने क्रममा रहेको आश्वासन मिल्यो ।
पर्सिपल्ट घनीभूत आशालाई सकीनसकी थामथुम पार्दै चोर थुनिएको ठाउँ पुगेँ । तर चोरीको पैंसा फिर्ता हुने आश्वासन दिने व्यक्तिहरु त्यहाँ देखिएनन् । अर्कै व्यक्ति आएर मलाई हप्काउन थाले, “बिनसित्ति अरुलाई दुःख दिन खोज्ने ? थुनिदिऊँ यहीँ ? त्यो चोर भनी आरोपित मान्छे निर्दोष भएको पाइएकोले उसलाई हामीले थुनाउमुक्त गरिसक्यौँ । आइन्दा यस्ता निराधार आरोप लिएर यो ठाउँमा कहिले पनि नदेखिनू, बुझ्यौ ?”
मेरो टाउको बेसरी चक्करायो । पत्नी रुनकराउन थालिन् । न्याय पाउनुपर्ने ठाउँबाटै ठगिएपछि हाम्रो सामू कुनै विकल्प बाँकि थिएन । हामी सम्हालिँदै घरतिर फर्क्यौँ । केटाकेटीलाई, पसलेहरुलाई र सापटी दिने साथीहरुलाई उनीहरुको चर्को रेडिमेड प्रश्नको जवाफ के दिने भन्ने हिसाबले म चेतनाशून्य भैसकेको थिएँ ।
यो घटनाबाट कसैका सीमित सम्भावनाहरु फास्ट ट्रयाक विधिबाट उजागर भएका थिए होलान् । मेरा भने असीमित सम्भावनाहरु धुलीसात भैसकेका थिए ।
यही हुनुपर्छ फास्ट ट्रयाकको सबभन्दा राम्रो उदाहरण ! श्रीमानले यही भन्न खोजेको हुनुपर्छ ।
श्रीमानसंग उजुरी गरौँ गरौँ लाग्छ त्यस घटनाका विषयमा । तर सतर्क हुन्छु, त्यसैबेला निराधार आरोप भनिइसकेको मेरो उजुरीको अब आधार खोज्न सकूँला र ?
श्रीमानले ‘मान सरोवरतिर घुम्न जाँदा जुम्लीबाट कुटाइ खाएको’ अर्को प्रसंग पस्कनुहुन्छ रोचक शैलीले । त्यो घटना पनि राम्रोसंग सम्झिन सकेको छुइन मैले ।
अर्को प्रसङ्ग ‘कुनै रात लाप्कोमा सुरेली खेल्दै नदी पार गरेको’ घटना सुनाउनुहुन्छ । मेरो ध्यानलाई यस घटनाले पनि आकर्षित गर्दैन ।
म त पूर्ण रुपमा ‘फास्ट ट्रयाक’ को माकुरे जालोमा फसिसकेको छु ।
पाइतालामा छोएको अति ठण्डा तरल पदार्थले मेरो तन्द्रा भङ्ग हुनपुग्छ । हामी पटारेको सानो खोला तर्दै रहेछौँ ।
हामफालको उकालोको पैदल बाटो र मोख्ला हुँदै घुम्ने सडक बाटो यही ठाउँबाट फाट्छ । फास्ट ट्रयाक रोज्ने कि नरोज्ने विकल्प हाम्रो अगाडि तेर्सिएको छ ।
‘अब श्रीमानलाई यतैकतै विश्रान्ति दिन मद्दत गर्ने कि ? हामफालको उकालो हुँदै फास्ट ट्रयाकतिर गोडा चाल्ने कि ? नयाँ बसेका सुन्दर बजारहरु मोख्ला, कालाखेत हुँदै शालीन शारदा नदीको उद्गम पछ्याँउँदै नवीन दृश्य र स्मरणहरु संगाल्दै अघि बढ्ने ?’
बिहानको खाना रुकुम पुगेर मात्र खाने निर्णय गरेका छौँ हामीले । मध्यान्हको साढे बाह्र बजिसकेको छ । भोक थकान र परिश्रमले दुवैजना लखतरान छौँ । सायद पिचरोडको हिँडाइले पाइतालामा फोका उठसकेका होलान् । पाइताला दुख्नुको साथै पानीको शितलताले पीडा घट्नुको साटो चहर्याउँन पुगेको छ बेसरी ।
त्यसैबेला तिब्र गतिमा बेगिँदै आएको श्रीमानको गाडी हाम्रो अगाडि घच्याक्क रोकिन्छ ।
………………………………………………………….
हामीमा कुन विकल्प छान्ने दुविधा छैन अब । पैदल यात्राको टण्टा सकिइसकेको छ ।
मेरो लागि यस्तो अवसर भने विरलै मिल्न सक्छ ।
मैले श्रीमानसंगै करिब तीस हजार पाइला पार गरिसकेका छु र बाँकि तीस हजारभन्दा बढी यसै दिनको यात्रा संस्मरणका सम्भावनाहरु भने बिलाएर जानेवाला छन् केही बेरमै ।
गाडीको यात्रा मलाई संस्मरणयोग्य नै लाग्दैन ।

२०७१।१०।१४
रुकुम

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *