श्रीमद्‍भागवतगीता सार

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप तेह्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

 

अध्याय – तेह्र

प्रकृति, पुरुष र चेतना

 

अर्जुन उवाच

प्रकृतिं पुरुषं चैव क्षेत्रज्ञमेव च ।

एतेद्वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव ॥१॥

श्रीभगवानुवाच

इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।

एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः ॥२॥

अर्जुनले भने – हे कृष्ण, म प्रकृति र पुरुषलाई, क्षेत्र र क्षेत्रज्ञलाई तथा ज्ञान र ज्ञेयलाई जान्न चाहन्छु । भगवान्‍ले भन्नुभयो – हे कुन्तीपुत्र, यो शरीरलाई क्षेत्र भनिन्छ र यो क्षेत्र जान्नेलाई क्षेत्रज्ञ भनिन्छ ।

 

क्षेत्रज्ञं चापि मां विद्वि सर्वक्षेत्रेषु भारत ।

क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ॥३॥

(हे भरतवंशी अर्जुन, म सम्पूर्ण शरीरहरूको ज्ञाता हुँ, यो बुझिराख । मेरो बिचारमा यो शरीर र यसको ज्ञातालाई जान्नु वा चिन्नु नै ज्ञान हो ।)

 

तत्क्षेत्रं यच्च यादृक्च यद्विकारि यतश्‍च यत् ।

स च यो यत्प्रभावश्‍च तत्समासेन मे श्रृणु ॥४॥

(यो कर्मक्षेत्र के हो ? कसरी बनेको छ ? यसमा के परिवर्तन हुन्छ ? यो कहाँबाट उत्पन्न भएको हो ? यो कर्मक्षेत्रको ज्ञाता को हो ? र यसको प्रभाव के छ ? इत्यादिको विषयमा अब मबाट संक्षेपमा सुन ।)

 

ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधैः पृथक् ।

ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ॥५॥

(विभिन्न ऋषिहरूले विभिन्न वैदिक ग्रन्थहरूमा कर्मक्षेत्र र कर्मका ज्ञाताको ज्ञानका विषयमा चर्चा गरेका छन् । विशेष गरी वेदान्त सूत्रमा कार्य र कारणको सम्पूर्ण मीमांसा प्रस्तुत गरिएको छ ।)

 

महाभूतान्यहंकारो बुद्धिरव्यक्तमेव च ।

इन्द्रियाणि दशैकं च पञ्‍च चेन्द्रियगोचराः ॥६॥

इच्छा द्वेष सुखं दुःखं संघातश्चेतना धृतिः ।

एतत् क्षेत्रं समासेन सविकारमुदाहृतम् ॥७॥

(पञ्‍च महाभूत, अहंकार, बुद्धि , अव्यक्त प्रकृति, दश इन्द्रिय, मन, पाँचवटा इन्द्रियका विषयहरू, इच्छा, द्वेष, सुख, दुःख, शरीर, प्राणशक्ति र धैर्य यी सबै सारांशमा कर्मक्षेत्र तथा यसका अन्तरक्रियाहरू मानिन्छन् ।)

 

अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।

आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः ॥८॥

इन्द्रियार्थेषु वैराग्यमनहंकार एव च ।

जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम् ॥९॥

असक्तिरनभिषवङ्गः पुत्रदारगृहादिषु ।

नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ॥१०॥

मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी ।

विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ॥११॥

अध्यात्मज्ञाननित्यत्वं तत्त्वज्ञानार्थ दर्शनम् ।

एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोन्यथा ॥१२॥

(विनम्रता, निरभिमानिता, अहिंसा, सहनशीलता, सरलता, सुयोग्य गुरुको शरण, पवित्रता, स्थिरता, आत्मसंयम, इन्द्रियतृप्तिका विषयहरूको परित्याग, अहंकारको अभाव, जन्म, मृत्यु, वृद्धावस्था र रागजन्य दोषहरूको ज्ञान, अनासक्ति, सन्तान, पत्नी, घर, आदि कुराहरूको जञ्जालबाट मुक्ति, राम्रा र नराम्रा घटनाहरूप्रति समभाव, मप्रतिको निरन्तर तथा शुद्ध भक्ति, एकान्तवासको चाहना, जन समूहबाट पर रहने इच्छा, आत्मसाक्षात्कारको महत्त्वलाई स्वीकार्नु, र दार्शनिक रूपले परमसत्यको खोजी गर्नु जस्ता सम्पूर्ण कार्यलाई म ज्ञान मान्दछु र यस बाहेक अन्य जुनसुकै कुरालाई म अज्ञान मान्दछु ।)

 

ज्ञेयं यत्ततप्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते ।

अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्यते ॥१३॥

(अब म तिमीलाई जान्नुपर्ने विषयका बारेमा बताउँछु, जुन कुरा जानेपछि तिमीले नित्य अमृत तत्त्वको आस्वादन गर्नेछौ । मेरा अधिनमा रहेको अनादि ब्रह्म वा आत्मा यो संसारको कार्यकारणभन्दा पर छ ।)

 

सर्वतः पाणिपादं तत्सर्वतोक्षिशिरोमुखम् ।

सर्वतः श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ॥१४॥

(उहाँका हात, पाउ, आँखा, शिर, अनुहार र कान सर्वत्र फैलिएका छन् । यसरी परमात्मा हरेक वस्तुमा व्याप्त भएर रहेको छ ।)

 

सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम् ।

असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्‍तृ च ॥१५॥

(परमात्मा सम्पूर्ण इन्द्रियहरूका मूल स्रोत भएर पनि इन्द्रियविहीन हुनुहुन्छ, समस्त जीवात्माका पालनकर्ता भएर पनि अनासक्त हुनुहुन्छ, र प्रकृतिका गुणहरूभन्दा पर रहेर पनि सम्पूर्ण गुणहरूका स्वामी हुनुहुन्छ ।)

 

बहिरन्तश्‍च भूतानामचरं चरमेव च ।

सूक्ष्मत्वात्तदविज्ञेयं दूरस्थं चान्तिके च तत् ॥१६॥

(परमसत्य समस्त चराचर प्राणीहरूका भित्र तथा बाहिर पनि अवस्थित छ । अत्यन्त सूक्ष्म भएकाले उहाँलाई भौतिक इन्द्रियहरूद्वारा देख्‍न वा जान्न सकिन्न । उहाँ धेरै धेरै टाढा हुनुहुन्छ तापनि सबैका लागि अत्यन्त नजिक पनि हुनुहुन्छ ।)

 

अविभक्तं च भुतेषु विभक्तमिव च स्थितम्

भूतभर्तृ च तज्ज्ञेय ग्रसिष्णु प्रभविष्णु च ॥१७॥

(परमात्मा सम्पूर्ण जीवात्माहरूबीच विभाजित भए जस्तो देखिए पनि उहाँ कहिल्यै विभाजित हुनुहुन्न । उहाँ एउटै स्वरूपमा अवस्थित हुनुहुन्छ । उहाँ प्रत्येक जीवात्माका पालनकर्ता भए पनि उहाँले सबैको विनाश पनि गर्नुहुन्छ र विकास पनि गर्नुहुन्छ भन्ने बुझ्नुपर्छ ।)

 

ज्योतिषामपि तज्ज्योतिस्तमसः परमुच्यते ।

ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ॥१८॥

(भगवान् समस्त प्रकाशमान वस्तुका प्रकाशका स्रोत हुनुहुन्छ । उहाँ भौतिक अन्धकारभन्दा पर हुनुहुन्छ र अप्रकट हुनुहुन्छ । उहाँ नै ज्ञान हुनुहुन्छ । उहाँ ज्ञानका विषय हुनुहुन्छ र उहाँ ज्ञानको लक्ष्य पनि हुनुहुन्छ । उहाँ हरेकको हृदयमा विराजमान हुनुहुन्छ ।)

 

इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासतः ।

मद्‍भक्त एतद्विज्ञाय मद्‍भावायोपपद्यते ॥१९॥

(यस प्रकार मैले कर्मक्षेत्र ज्ञान र ज्ञेयका विषयमा संक्षेपले वर्णन गरेँ । केवल मेरा भक्तहरूले मात्र यसलाई राम्रोसँग बुझ्न सक्दछन् र बुझेर मेरो स्वभावलाई प्राप्त गर्दछन् ।)

 

प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।

विकाराँश्‍च गुणांश्चैव विद्वि प्रकृतिसम्भवान् ॥२०॥

(भौतिक प्रकृति र जीवात्मालाई अनादि सम्झनुपर्छ । तिनका विकारहरू र पदार्थका गुणहरू प्रकृतिकै उत्पादन हुन् ।)

 

कार्यकारणकरतृत्वे हेतुः प्रकृतिरुच्यते ।

पुरुष सुखदुःखानां भोक्त्तृत्वे हेतु रुच्यते ॥२१॥

(प्रकृतिलाई सम्पूर्ण भौतिक कार्य र कारणको हेतु मानिन्छ र जीवात्मालाई संसारका अनेक सुख र दुःख भोगको कारण मानिन्छ ।)

 

पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।

कारणं गुणसङ्गोस्य सदसद्योनिजन्मसु ॥२२॥

(यस प्रकार जीवात्माले प्रकृतिमा रहेर प्रकृतिकै तीन गुणहरूको उपभोग गर्दै आफ्नो जीवन बिताउँछ, प्रकृतिसँगको सङ्गतले गर्दा उसको यो स्थिति भएको हो र यसै गरी उसलाई राम्रा र नराम्रा जुनीहरू प्राप्त भइरहन्छन् ।)

 

उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः ।

परमात्मेति चाप्युक्तो देहेस्मिन्पुरुषः ॥२३॥

(यो शरीरमा एउटा अर्को पनि दिव्य भोक्ता छ, त्यो साक्षी र अनुमति दिने परमस्वामी तथा ईश्वर हो र त्यसलाई परमात्मा पनि भनिन्छ ।)

 

य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणैःसह ।

सर्वथा वर्तमानोपि न स भूयोभिजायते ॥२४॥

(जसले प्रकृति, जीवात्मा र प्रकृतिका गुणहरूको अन्तर्क्रियासँग सम्बन्धित दर्शन बुझ्दछ, त्यसले अवश्य मोक्ष पाउँछ । वर्तमान स्थिति जस्तो भए पनि त्यसले पुनर्जन्म लिनुपर्दैन ।)

 

ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना ।

अन्ये सांख्येन योगेन कर्मयोगेन चापरे ॥२५॥

(कसैले ध्यानद्वारा परमात्मालाई आफैभित्र देख्दछन्, कोही ज्ञानको अनुशीलनद्वारा र अरु कसैले निष्काम कर्मद्वारा पनि परमात्माको दर्शन पाउँदछन् ।)

 

अन्ये त्वेवमजानन्तः श्रुत्वान्येभ्य उपासते ।

तेपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणाः ॥२६॥

(आध्यात्मिक ज्ञानबाट अपरिचित व्यक्तिहरूले अरुबाट सुनेर भगवान्‍को पूजा गर्न थाल्छन् । प्रामाणिक व्यक्तिहरूबाट सुन्ने मनोवृत्ति भएका ती व्यक्तिहरूले पनि जन्म र मृत्युको पथलाई पार गर्छन् ।)

 

यावत्सञ्जायते किञ्चित्सत्त्वं स्थावरजङ्गमम् ।

क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्वि भरतवर्षभ ॥२७॥

(हे भरतवर्षभ्, यो अस्तित्वमा चर र अचर प्राणीहरू जे जति तिमीले देखिरहेका छौ, त्यो सबै केवल कर्मक्षेत्रका ज्ञाताको संयोग मात्र हो ।)

 

समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् ।

विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति ॥२८॥

(जसले सम्पूर्ण शरीरमा विद्यमान जीवात्मालाई परमात्माका साथमा देख्दछ र विनाशशील शरीरमा रहने आत्मा र परमात्मा दुवैलाई अविनाशी देख्दछ, त्यसैले वास्तविकता देखेको मानिन्छ ।)

 

समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम् ।

न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ॥२९॥

(जसले परमात्मालाई समानरूपले सबैतिर सबै जीवात्मामा देख्दछ, त्यसले आफूलाई भ्रष्ट बनाउँदैन, यसरी परमलक्ष्यमा पुग्दछ ।)

 

प्रकृत्यैव च कर्माणि क्रियमाणानि सर्वशः ।

यः पश्यन्ति तथात्मानमकर्तारं स पश्यति ॥३०॥

(जसले प्रकृतिबाट उत्पन्न भएको शरीरद्वारा नै सम्पूर्ण कार्यहरू भएको देख्दछ र आत्माले केही नगरेको देख्छ, त्यही नै वास्तविक द्रष्टा हो ।)

 

यदा भूतपृथग्भावमेकस्थमनुपश्यति ।

तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा ॥३१॥

(जब कुनै विवेकी मानिसले भौतिक शरीरका कारणले बनेका विभिन्न स्वरूपलाई विभिन्न नदेखेर एउटै देख्छ र सर्वत्र जीवात्माको विस्तार भएको देख्छ, त्यसले ब्रह्मभाव प्राप्त गर्दछ ।)

 

अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्ययः ।

शरीरस्थोपि कौन्तेय न करोति न लिप्यते ॥३२॥

(शाश्वत दृष्टि भएका मानिसले यो अविनाशी आत्मा दिव्य छ, नित्य छ र भौतिक गुणहरूभन्दा पर छ भन्ने देख्‍न सक्छन् । हे अर्जुन, भौतिक शरीरको सम्पर्कमा रहेको भए पनि यो आत्मा न केही गर्दछ, न कुनै वस्तुमा लिप्त रहन्छ ।)

 

यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।

सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ॥३३॥

(आकाश सर्वव्यापी छ, तापनि अत्यन्त सूक्ष्म हुनाले कुनै वस्तुमा लिप्त छैन । त्यसै गरी ब्रह्मदृष्टिमा स्थित भएको आत्मा शरीरभित्र रहेर पनि शरीरमा लिप्न हुँदैन ।)

 

यथा प्रकाशयत्येकः कृत्स्नं लोकमिमं रविः

क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ॥३४॥

(हे भरतपुत्र अर्जुन, जसरी एउटै सूर्यले यो सम्पूर्ण ब्रह्माण्डलाई प्रकाशित गर्छ, त्यसै गरी शरीरमा रहेको यो आत्माले पनि चेतनाद्वारा सम्पूर्ण शरीरलाई प्रकाशित गर्दछ ।)

 

क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा ।

भूतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ॥३५॥

(ज्ञानका आँखाले शरीर र शरीरको ज्ञाताबीच रहेको भिन्नतालाई देख्‍न सक्ने र सांसारिक बन्धनबाट मुक्त हुने विधि जान्ने व्यक्तिले परमलक्ष्य प्राप्त गर्न सक्छ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत प्रकृति, पुरुष र चेतना शीर्षक तेर्‍हौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *