श्रीमद्भगवद्गीता सारसंक्षेप दशौँ अध्याय
श्रीमद्भगवद्गीता
यथारूप
कृष्णकृपामूर्ति
श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद
संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ
अंग्रेजी नेपाली रूपान्तर
नारायणप्रसाद अधिकारी ‘वादरायण’
अध्याय – दश
भगवानको ऐश्वर्य
श्रीभगवानुवाच
भूय एव महाबाहो श्रृणु मे परमं वचः ।
यत्तेहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया ॥१॥
(भगवानले भन्नुभयो – हे महाबाहु अर्जुन, फेरि सुन, तिमी मेरा प्रिय सखा भएका हुनाले तिम्रा हितका लागि म यस्तो ज्ञान दिन्छु, जुन मैले अहिलेसम्म दिएका ज्ञानमध्ये सर्वश्रेष्ठ ज्ञान हुनेछ ।)
न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः ॥२॥
(मेरो उत्पत्ति र ऐश्वर्यलाई न देवताहरूले जान्दछन् न त महर्षिहरूले जान्दछन्, किनभने म त हरेक दृष्टिबाट ती देवताहरू र महर्षिको पनि उत्पत्तिको श्रोत हुँ ।)
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम् ।
असम्मूढः स मर्तेषु सर्वपापैः प्रमुच्यते ॥३॥
(जसले मलाई अजन्मा, अनादि, सबै लोकका परमईश्वर भनेर बुझेको छ, त्यही व्यक्ति मानिसहरूमा मोहरहित हो र त्यही व्यक्ति सबै पापहरूबाट मुक्त पनि हुन्छ ।)
बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुखं भवोभावो भयं चाभयमेव च ॥४॥
अहिंसा समता तुष्टिस्तपो दानं यशोयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथगविधाः ॥५॥
(बुद्धि, ज्ञान, सन्देह र मोहबाट मुक्ति, क्षमा, सत्य, इन्द्रिय नियन्त्रण, मनको नियन्त्रण, सुख, दुःख, जन्म, मृत्यू, डर, निर्भयता, अहिंसा, समता, सन्तोष, तप, दान, यश, अपयशलगायत जीवात्माका सबै गुण वा भावहरू मैबाट उत्पन्न हुन्छन् )
महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा ।
मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः ॥६॥
(सातजना महर्षिहरू, त्योभन्दा पूर्वका चारजना महर्षिहरू, मनुहरू, सबै मबाट पैदा भएका हुन् र विभिन्न लोकमा निवास गर्ने सम्पूर्ण जीवात्माहरू तिनीहरूबाट उत्पन्न भएका हुन् ।)
एतां विभूतिं योगं च मम यो वेत्ति तत्वतः ।
सोविकल्पेन योगेन युज्यते नात्र संशयः ॥७॥
(मेरो यो ऐश्वर्य र योगमा जसलाई पूर्ण विश्वास छ, त्यो व्यक्ति मेरो अनन्य भक्तिमा लाग्न तत्पर हुन्छ, यसमा कुनै सन्देह छैन ।)
अहं सर्वस्य प्रभवो मत्तः सर्व प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विता ॥८॥
(सम्पूर्ण आध्यात्मिक तथा भौतिक जगतको उत्पत्तिश्रोत मै हुँ । हरेक वस्तु मैबाट पैदा हुन्छ । यो कुरा बुझेका बुद्धिमान जनहरू पूरा हृदय लगाएर मेरै भक्तिमा संलग्न हुन्छन् र मेरै पूजा गर्दछन् ।)
मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम् ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ॥९॥
(मेरा शुद्ध भक्तहरू मेरै बारेमा विचार गर्छन्, तिनको जीवन मेरै सेवामा पूर्ण समर्पित हुन्छ, अनि तिनीहरू सधैँ आपसमा ज्ञानको आदानप्रदान गरेर र मेरो चर्चा परिचर्चा गरेर परमसन्तोष तथा आनन्दको अनुभव गर्दछन् ।)
तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते ॥१०॥
(प्रेमपूर्वक मेरो सेवा गर्ने कार्यमा जो निरन्तर लागिरहन्छ, त्यसलाई म बुद्धि दिन्छु र त्यही बुद्धिको सहायताले उसले मलाई प्राप्त गर्दछ ।)
तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वाता ॥११॥
(उनीहरूलाई विशेष कृपा गर्नको लागि, तिनकै हृदयमा निवास गर्दै ज्ञानको उज्यालो बत्तीद्वारा अज्ञानबाट उत्पन्न अन्धकारलाई मैले नाश गर्दछु ।)
अर्जुन उवाच
परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम् ॥१२॥
आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा ।
असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे ॥१३॥
(अर्जुनले भने – भगवान्, हजुर परमब्रह्म हुनुहुन्छ, परमधाम हुनुहुन्छ, परमसत्य हुनुहुन्छ, शाश्वत हुनुहुन्छ, दिव्य हुनुहुन्छ, अजन्मा हुनुहुन्छ र महानतम् हुनुहुन्छ । नारद, असित, देवल, व्यास जस्ता ऋषिहरूले यही सत्यको पुष्टि गरिरहेका छन् र स्वयं हजुरले पनि मसँग यही कुराको घोषणा गरिरहनुभएको छ ।)
सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः ॥१४॥
(हे कृष्ण, हजुरले मसँग भन्नुभएको सबै कुरा म पूर्ण सत्यको रुपमा स्वीकार्दछु । हे प्रभू, हजुरको व्यक्तित्वलाई न त देवताहरूले बुझ्न सक्दछन् न असुरहरूले ।)
स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भूतभावन भूतेश देवदेव जगत्पते ॥१५॥
(हे परमपुरुष, हे सबैका उद्गम स्रोत, हे सम्पूर्ण प्राणीहरूका स्वामी, हे देवताहरूका पनि देवता, हे ब्रह्माण्डका अधिपति, स्वयं हजुरले मात्रै आफ्नो अन्तरंगा शक्तिद्वारा आफूले आफैलाई जान्नुहुन्छ ।)
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः ।
यार्भिर्विभूतिभीर्लोकानिमांस्त्वं व्याप्यतिष्ठसि ॥१६॥
(जुन जुन विभूतिहरूद्वारा तपाईँ संसारमा व्याप्त भएर बस्नुभएको छ कृपा गरेर ती सबै विभूतिहरूको बारेमा विस्तारपूर्वक मलाई भन्नुहोस् ।)
कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तयन् ।
केषु केषु च भावेषु चिन्त्योसि भगवन्मया ॥१७॥
(हे कृष्ण, हे परमयोगी, मैले कसरी निरन्तर हजुरको चिन्तन गरुँ, हजुरलाई मैले कसरी जानूँ, हे भगवान् हजुरलाई म कुन कुन रुपमा सम्झना गरुँ ? )
विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन ।
भूयः कथय तृप्तिहिं श्रृण्वतो नास्ति मेमृतम् ॥१८॥
(हे जनार्दन, कृपा गरेर फेरि पनि हुजरको योग शक्ति तथा ऐश्वर्यहरूको बारेमा विस्तारपूर्वक वर्णन गर्नुहोस् । हजुरका शब्दरुपी अमृतको स्वाद जति सुन्यो उति मीठो भएकोले हजुरका बारेमा सुनेर म कहिले पनि अघाउन्न ।)
श्रीभगवानुवाच
हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः ।
प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे ॥१९॥
(भगवानले भन्नुभयो – हुन्छ, अब म तिमीलाई मेरो मुख्य मुख्य वैभवयुक्त रुपहरूको वर्णन गर्छु, तर अर्जुन, मेरा ऐश्वर्यको कुनै सीमा छैन ।)
अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।
अहमादिश्च मध्यं च भूतानामन्त एव च ॥२०॥
(हे अर्जुन, म समस्त जीवात्माहरूको हृदयमा निवास गर्ने परमात्मा हुँ र म नै सम्पूर्ण जीवहरूको आदि, मध्य र अन्त पनि हुँ ।)
आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान् ।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी ॥२१॥
(म आदित्यहरूमा विष्णु हुँ, ज्योतिहरूमा तेजस्वी सूर्य हुँ, वायुहरूमा मरीचि हुँ, र नक्षत्रहरूमा चन्द्रमा हुँ ।)
वेदानां सामवेदोस्मि देवानामस्मि वासवः ।
इन्द्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना ॥२२॥
(वेदहरूमा म सामवेद हुँ, देवताहरूमा स्वर्गको राजा इन्द्र हुँ, इन्द्रयहरूमा मन हुँ र समस्त जीवहरूको जीवनशक्ति वा चेतना हुँ ।)
रुद्राणां शंकरश्चस्मि वित्तेशो यक्षरक्षसाम् ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम् ॥२३॥
(म सम्पूर्ण रुद्रहरूमा शंकर हुँ, यक्ष र राक्षसहरूमा धनका देवता कुबेर हुँ, वसुहरूमा अग्नि हुँ सम्पूर्ण पर्वतहरूमा सुमेरु हुँ ।)
पुरोधसां च मुख्यं मां विद्धि पार्थ वृहस्पतिम् ।
सेनानीमहं स्कन्दः सरसामस्मि सागरः ॥२४॥
(हे अर्जुन, म सम्पूर्ण पुरोहितहरूमा वृहस्पति हुँ, सबै सेनापतिहरूमा स्कन्दः (कार्तिकेय) हुँ र जलाशयहरूमा समुन्द्र हुँ )
महर्षिणां भृगुरहं गिरामस्म्येकमक्षरम् ।
यज्ञानां जपयज्ञोस्मि स्थावराणां हिमालयः ॥२५॥
( म महर्षिहरूमा भृगु हुँ, वाणीमा दिव्य ध्वनि ॐकार हुँ, समस्त यज्ञहरूमा पवित्र जप – संकीर्तन हुँ, र समस्त अचल वस्तुहरूमा हिमालय पर्वत हुँ ।)
अश्वत्थः सरववृक्षाणां देवर्षीणां च नारदः ।
गन्धर्वाणां चित्ररथः सिद्धानां कपिलो मुनिः ॥२६॥
(सबै वृक्षहरूमा म पीपलको वृक्ष हुँ, देवर्षिहरूमा नारद हुँ, गन्धर्वहरूमा चित्ररथ हुँ र सिद्ध पुरुषहरूमा कपिलमुनि हुँ ।)
उच्चैःश्रवसमश्वानां विद्धि माममृतोद्भवम् ।
ऐरावतं गजेन्द्राणां नराणां च नराधिपम् ॥२७॥
(मलाई घोडाहरूमा अमृतका लागि समुद्रमन्थन गर्दा उत्पन्न भएको उच्चैश्रवा भन्ने जान, राज-हात्तीहरूमा म ऐरावत हुँ, मानिसहरूमा राजा हुँ ।)
आयुधानामहं वज्रं धेनूनामस्मि कामधूक् ।
प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः ॥२८॥
(हतियारहरूमा म वज्र हुँ, गाईहरूमा सुरभि हुँ, सन्तान उत्पत्तिका कारणहरूमा म प्रेमका देवता कन्दर्प हुँ र सर्पहरूमा म वासुकि हुँ ।)
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणारमर्यमा चास्मि यमः संयमतामहम् ॥२९॥
(अनेक फणाधारी नागहरूमा म अनन्त हुँ, जलचरहरूमा म वरुण देवता हुँ, पितृहरूमा म अर्यमा हुँ, नियम पालनकर्ताहरूमा म मृत्यूका देवता यम हुँ ।)
प्रल्हादश्चास्मि दैत्यानां कालः कलयतामहम् ।
मृगाणां च मृगेन्द्रोहं वैनतेयश्च पक्षिणाम् ॥३०॥
(दैत्यहरूमा म भक्त प्रल्हाद हुँ, दमनकारीहरूमा म समय हुँ, पशुहरूमा सिँह हुँ र चराहरूमा म गरुड हुँ ।)
पवनः पवतामस्मि रामः शस्त्रभृतामहम् ।
झषाणां मकरश्चस्मि स्रोतसामस्मि जान्हवि ॥३१॥
(पवित्र गर्नेहरूमा वायु हुँ, शस्त्रधारीहरूमा राम हुँ, माछाहरूमा गोही हुँ, र नदीहरूमा गङ्गा हुँ ।)
सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन ।
अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहम् ॥३२॥
(हे अर्जुन, सम्पूर्ण सृष्टिहरूको आदि, मध्य र अन्त्य मै हुँ, सम्पूर्ण विज्ञानहरूमा आत्मविज्ञान हुँ, र तर्कशास्त्रहरूमा म सारभूत सत्य हुँ ।)
अक्षराणामकारोस्मि द्वन्द्वः सामासिकस्य च ।
अहमेवाक्षयः कालो धाताहं विश्वतोमुख ॥३३॥
(अक्षरहरूमा म अकार हुँ, समासहरूमा द्वन्द्व समास हुँ, म अक्षय शाश्वत समय पनि हुँ र सृष्टिकर्ताहरूमा ब्रह्मा हुँ ।)
मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमाः ॥३४॥
(म सर्वभक्षी मृत्यु हुँ र पछि उत्नपन्न हुनेहरूको सृष्टि नियम पनि मै हुँ । स्त्रीहरूमा कीर्ति, लक्ष्मी, वाणी, स्मृति, बुद्धि, धृति, र क्षमा पनि मै हुँ ।)
बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।
मासानां मार्गशीर्षोहमृतुनां कुसुमाकारः ॥३५॥
(सामवेदका गीतहरूमा बृहतसाम हुँ, कविताहरूमा म गायत्री हुँ, महिनाहरूमा मंसिर हुँ र ऋतुहरूमा म फूलहरू फुलाउने बसन्त ऋतु हुँ ।)
द्यतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
जयोस्मि व्यवसायोस्मि सत्त्वं सत्त्ववतामहम् ॥३६॥
(म ठगीहरूमा जूवा हुँ, तेजस्वीहरूमा तेज हुँ, उद्योगहरूमा विजय हुँ, म नै साहस हुँ र बलबानहरूको बल पनि म नै हुँ ।)
वृष्णीनां वासुदेवोस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ॥३७॥
(वृष्णीकुलमा म वासुदेव हुँ, पाण्डवहरूमा अर्जुन हुँ, मुनिहरूमा व्यास हुँ र महान विचारकहरूमा म शुक्राचार्य हुँ । )
दण्डोदमयतामस्मि नीतिरस्मि जिगीषताम् ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम् ॥३८॥
(अराजकतालाई दमन गर्ने सम्पूर्ण साधनहरूमा म दण्ड हुँ, विजयको चाहना गर्नेहरूमा म सदाचार हुँ, रहस्यमय वस्तुहरूमा मौन हुँ, बुद्धिमानहरूमा बुद्धि हुँ ।)
यच्चापि सर्वभूतानां बीजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम् ॥३९॥
(हे अर्जुन, म त अझ समस्त अस्तित्वलाई जन्माउने बीज हुँ, त्यस्तो कुनै चर वा अचर प्राणी छैन जो मबिना रहन सकोस् ।)
नान्तोस्ति मम दिव्यानां विभूतीनां परन्तप ।
एष तूद्देशतः प्रोक्तो विभूतेर्विस्तरो मया ॥४०॥
(हे परन्तप, मेरा दिव्य विभूतिहरूको कुनै अन्त्य छैन, मैले तिमीसँग जे भनेँ, त्यो त मेरो अनन्त विभूतिहरूको संकेत मात्रै हो ।)
यद्यद्विभूतिमत्सत्त्वं श्रीमदूर्जितमेव वा ।
तत्तद्देवावगच्छ त्वं मम तेजोंशसम्भवम् ॥४१॥
(सम्पूर्ण ऐश्वर्य, सौन्दर्य र यो गौरवशाली सृष्टि, मेरा तेजको एउटा झिल्काबाट उत्पन्न भएको हो भन्ने कुरा तिमीले बुझ ।)
अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।
विष्टभ्याहमिदं कृत्स्नमेकांशेन स्थितो जगत ॥४२॥
(तर अर्जुन, यो सम्पूर्ण विस्तृत ज्ञानको आवश्यकता के छ र ? मैले त आफ्नो एउटा मात्र अंशले यो सम्पूर्ण ब्रह्माण्डमा व्याप्त भएर यसलाई धारण गर्दछु ।)
यस प्रकार श्रीमद्भगवद्गीता ग्रन्थअन्तर्गत ‘भगवानको ऐश्वर्य’ शीर्षक दशौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।