श्रीमद्‍भागवतगीता सार

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप दोस्रो अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारुप

 

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

 

अंग्रेजी नेपाली रुपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – दुई

गीताको सारसंक्षेप

 

 सञ्जय उवाच

तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्

विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ॥१॥

(सञ्जयले भने – करूणाले भरिएका शोकले व्याकुल भएका र आँखाभरि आँशु लिएका अर्जुनलाई देखेर मधुसूदन कृष्णले निम्नलिखित शब्दहरू भन्नुभयो ।)

 

श्रीभगवानुवाच

कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।

अनार्यजुष्टमस्वर्ग्यमककीर्तिकरमर्जुन ॥२॥

(श्रीभगवानले भन्नुभयो- प्रिय अर्जुन, तिमीमा यी कल्मषहरू कसरी आए । जीवनको मूल्य बुझ्ने मानिसको लागि यी कुराहरू सुहाउँदैनन् यसबाट न स्वर्गीय लोकहरूको प्राप्ति हुन्छ न राम्रो कीर्ति नै रहन्छ ।)

 

क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते ।

क्षुद्रं हृदयदौर्बल्य त्यक्त्वोत्तिष्ठ परन्तप ॥३॥

(हे पृथापुत्र अर्जुन, नामर्द नबन, तिमी जस्तो वीरलाई यो शोभा दिँदैन । हे शत्रु दमनकर्ता, हृदयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ ।)

 

अर्जुन उवाच

कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन ।

इषुभिः प्रतियोष्मि पूजार्हावरिसूदन ॥४॥

(अर्जुनले भने – हे शत्रुहन्ता, हे मधुसूदन, मैले कसरी युद्धभूमिमा भीष्म र द्रोण जस्ता पूजनीय व्यक्तिहरूमाथि वाणले प्रतिप्रहार गरुँ ।)

 

गुरूनत्वा हि महानुभावान्

श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके ।

हत्वार्थकामांस्तु गुरूनिहैव

भुञ्जीय भोगान् रूधिरप्रदिग्धान् ॥५॥

(ठूला महानुभाव गुरूजनहरूलाई मार्नुभन्दा त बरू भीख मागेर यो संसारमा बाँच्नु राम्रो हो । सांसारिक लाभका इच्छुक भए पनि तिनीहरू मेरा गुरूहरू हुन् । यदि तिनीहरू मारिन्छन् भने हामीले भोग गर्ने हरेक चिज रगतले साँधिएको रक्तरञ्जित हुनेछ ।)

 

न चैतद्‍विद्‍मः कतरन्नो गरीयो

यद्‍वा जयेम् यदि वा नो जयेयुः ।

यानेव हत्वा न जिजीविषाम –

स्तेवस्थिताः प्रमुखे धार्तराष्ट्राः ॥६॥

(हामीले उनीहरूलाई जिते राम्रो हुने हो कि उनीहरूले जिते राम्रो हुने हो, यो पनि हामीलाई थाहा छैन । हामी जुन धृतराष्ट्रका छोराहरूलाई मार्न चाहन्नौँ तिनीहरू नै अहिले हाम्रो अगाडि युद्धभूमिमा उभिइरहेका छन् ।)

 

कार्पण्यदोषोपहतस्वभावः

पृच्छामि त्वाँ धर्मसम्मूढचेताः ।

यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे

शिष्यस्तेहं शाधि मां त्वां प्रपन्नम् ॥७॥

(यतिबेला विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य ठम्याउन सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैर्य पनि गुमाउँदै छु । यस्तो अवस्थामा मैले हजुरसंग सोधिरहेको छु – मेरो लागि सबैभन्दा राम्रो के हुन्छ त्यही भन्नुहोस् । म हजुरकै शिष्य हुँ र हजुरकै शरणमा आएको छु, अतः कृपा गरेर मलाई समुचित अर्ती उपदेश दिनुहोस् ।)

 

न हि प्रपश्यामि ममापनुद्याद्

यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।

अवाप्य भूमावसपत्नमृद्धं

राज्यं सुराणामपि चाधिपत्यम् ॥८॥

(मेरा इन्द्रियहरूलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिन । स्वर्गमा देवताहरू झैँ यो पृथ्वीमा संसारभरिको निष्कण्टक र धन-धान्यपूर्ण राज्य पाए पनि म यो शोकलाई हटाउन सक्दिन ।)

 

सञ्जय उवाच

एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।

न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ॥९॥

(सञ्जयले भने –  यति भनेपछि शत्रुहरूलाई दमन गर्ने अर्जुनले कृष्णसंग गोविन्द म लडाइँ गर्दिन भनेर चुप लागेर बसे ।)

 

तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।

सेनयोरूभयोर्मध्ये विषीदन्तमिदं वचः ॥१०॥

(हे भरतवासी धृतराष्ट्र, त्यस बखत दुवैतर्फका सैनिकहरूका बीचमा शोकमग्न भएका अर्जुनलाई कृष्णले हाँस्दै यी शब्दहरू भन्नुभयो ।)

 

श्रीभगवानुवाच

अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादाँश्च भाषसे ।

गतासूनगतासूँश्च नानुशोचन्ति पण्डिता ॥११॥

(भगवानले भन्नुभयो – तिमी कुरा त विद्वानका जस्ता गर्दछौ तर जसका लागि शोक गर्नु आवश्यक छैन त्यसैका लागि शोक गरिरहेका छौ । पण्डितजनहरू न त जिउँदाका लागि शोक गर्छन् न त मरेकाका लागि)

 

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।

न चैव न भविष्यामः सर्वे वयामतः परम् ॥१२॥

(योभन्दा अघि पनि म नभएको, तिमी नभएको र यी राजाहरू नभएको कुनै समय थिएन र पछि भविष्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुनेछैन ।)

 

देहिनोस्मिन् यथा देहे कौमारं यौवनं जरा ।

तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ॥१३॥

(जसरी यो शरीरधारी आत्मा निरन्तर वाल्यावस्थाबाट युवावस्थातिर र युवावस्थाबाट वृद्धावस्थातिर सर्किइरहेको छ त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्यूपछि अर्को शरीरमा सर्छ । यस किसिमको परिवर्तनलाई देखेर धीर पुरूषहरू मोहित हुँदैनन् ।)

 

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।

आगमापायिनोनित्यांस्तितिक्षस्व भारत ॥१४॥

(हे कुन्तीपुत्र, दुःख र सुख भन्ने कुरा त कालक्रममा आउने र जाने सर्दी र गर्मी ऋतु जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोधबाट उत्पन्न हुन्छन्, अतः हे भरतवंशी अर्जुन, यस्ता कुरालाई मानिसले विचलित नभईकन सहन गर्न सिक्नुपर्छ ।)

 

यं हि न व्यथयनत्येते पुरूषं पुरूषर्षभ ।

समदुःखसुखं धीरं सोमृतत्वाय कल्पते ॥१५॥

(हे पुरूष श्रेष्ठ अर्जुन, जुन व्यक्ति सुख र दुःखबाट विचलित हुँदैन र दुवै अवस्थामा समान रहन्छ त्यो व्यक्ति निश्चय नै मुक्ति पाउन लायक हुन्छ ।)

 

नासतो विद्यते भावो नाभावो विद्यते सतः ।

उभयोरपि दृष्टोन्तस्त्वनयोस्तत्त्वदर्शिभिः ॥१६॥

(असत वस्तु भौतिक शरीरको कुनै चिरस्थायित्व छैन र सत् वस्तु आत्माको कुनै परिवर्तन नै हुँदैन । आत्मा र शरीर यी दुवैका प्रकृतिको अध्ययन गरेर तत्त्वदर्शीहरूले यस्तो निश्कर्ष निकाले ।)

 

अविनाशि तु तद्धिद्धि येन सर्वमिदं ततम् ।

विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ॥१७॥

(जो सम्पूर्ण शरीरहरूमा व्याप्त छ त्यसैलाई तिमीले अविनाशी सम्झनुपर्छ । त्यो अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन ।)

 

अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।

अनाशिनोप्रमेयस्य तस्माद्युध्यस्व भारत ॥१८॥

(अविनाशी, अपरिमेय र शाश्वत जीवात्माको भौतिक शरीर नाशवान छ, त्यसैले हे भरतवंशी अर्जुन तिमी युद्ध गर ।)

 

य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।

उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ॥१९॥

(जसले यो जीवात्मालाई मार्नेवाला ठान्दछ र जसले यसलाई मर्नेवाला ठान्दछ ती दुवै अज्ञानी हुन् । यो आत्मा न त मर्छ न त मारिन्छ)

 

न जायते म्रियते वा कदाचिन्

नायं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोयं पुराणो

न हन्यते हन्यमाने शरीरे ॥२०॥

(आत्माका लागि न कहिले जन्म छ, न कहिले मृत्यू । आत्मा कहिले जन्मिएन, जन्मिदैन र जन्मिनेछैन । ऊ त अजन्मा छ, नित्य छ, शाश्वत छ र पुरातन छ । शरीर मर्दा पनि ऊ मर्दैन ।)

 

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।

कथं स पुरूषः पार्थ कं घातयति हन्ति कम् ॥२१॥

(हे पार्थ, जसले यो आत्मा अविनाशी छ, नित्य छ, अजन्मा छ र अव्यय छ भन्ने जान्दछ, त्यसले कसरी कसैलाई मार्ला वा मार्न लगाउन सक्ला ?)

 

वासांसि जीर्णानि यथा विहाय

नवानि गृह्‍णाति नरोपराणि ।

तथा शरीराणि विहाय जीर्णा

न्यन्यानि संयाति नवानि देही ॥२२॥

(जसरी मानिसले पुराना कपडाहरू त्यागेर नयाँ कपडा धारण गर्दछ, त्यसै गरी आत्माले पनि पुराना र काम नलाग्ने शरीरलाई त्यागेर नयाँ भौतिक शरीर धारण गर्छ ।)

 

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।

न चैनं क्लेदयन्त्यापो न शोषयति मारूतः ॥२३॥

(यो आत्मालाई न त कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ, न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ, न त हावाद्वारा नै सुकाउन सकिन्छ ।)

 

अच्छेद्योयमदाह्योयमक्लेद्योशोष्य एव च ।

नित्यः सर्वगतः स्थाणुरचलोयं सनातनः ॥२४॥

 (यो व्यष्टि आत्मा कहिल्यै नफुट्ने, न डढ्ने, नभिज्ने र नसुक्ने खालको छ । यो आत्मा सधैँ रहिरहन्छ, सर्वव्यापक छ, अपरिवर्तनशिल छ, अचल छ र सर्वदा एकैनासको छ ।)

 

अव्यक्तोयमचिन्त्योयमविकार्योयमुच्यते ।

तस्मादेवं विदित्वैनं नानुशोचितमर्हसि ॥२५॥

(यो आत्मालाई अव्यक्त, अचिन्त्य र अपरिवर्तनशिल भनिन्छ । यो कुरा बुझेर पनि तिमीले शरीरका लागि शोक गर्नुहुँदैन ।)

 

अथ चैनं नित्यजातम् नित्यं वा मन्यसे मृतम् ।

तथापि त्वं महाबाहो नैनं शोचितुमर्हसि ॥२६॥

(यदि तिमीले आत्मालाई सधैँ जन्मिइरहने र सधैँ मरिरहने ठान्छौ भने पनि हे महाबाहु, तिमीले यसका लागि शोक गर्नुपर्ने कुनै कारण छैन ।)

 

जातस्य हि ध्रुवो मृत्यूर्धुवं जन्म मृतस्य च

तस्मादपरिहार्येर्थे न त्वं शोचितुमर्हसि ॥२७॥

(जो जन्मिएको छ त्यो अवश्य मर्छ र मरेपछि फेरि अवश्य जन्मन्छ, अतः आफ्नो नगरिनहुने कर्तव्यको पालन तिमीले गर्नैपर्छ र यसमा शोक गर्नुहुँदैन ।)

 

अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।

अव्यक्तनिधनान्येव तत्र का परिदेवना ॥२८॥

(जन्मिनुभन्दा सबै जीवहरू अव्यक्त अवस्थामा हुन्छन्, जन्मेर नमरूञ्जेलको मध्य अवस्थामा तिनीहरू व्यक्त हुन्छन् र मरेपछि फेरि अव्यक्त नै हुन्छन्, अतः यसमा शोक गर्नपर्ने के आवश्यकता छ ?)

 

आश्चर्यवत पश्यति कश्चिदेनम्-

आश्चर्यवद् वदति तथैव चान्यः ।

आश्चर्यवच्चैनमन्यः शृणोति

श्रुत्वाप्येनं वेद न चैव कश्चित् ॥२९॥

(यो आत्मालाई कसैले आश्चर्यको रूपमा हेर्छन्, कसैले आश्चर्यको रूपमा बयान गर्छन्, कसैले यसलाई आश्चर्यकै रूपमा सुन्छन् र कसैले यसको बारेमा सुनेर पनि केही बुझ्न सक्दैनन् ।)

 

देही नित्यमवध्योयं देहे सर्वस्ये भारत ।

तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ॥३०॥

(हे भरतवंशी अर्जुन, शरीरमा रहने शरीरका स्वामीलाई कहिल्यै मार्न सकिन्न त्यसैले कुनै पनि जीवात्माका लागि तिमीले शोक गर्नुपर्दैन ।)

 

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।

धर्म्याद्धि युद्धाच्छ्रेयोन्यत् क्षित्रयस्य न विद्यते ॥३१॥

(एउटा क्षत्रियले गर्नुपर्ने विशिष्ट कर्तव्यलाई विचार गरेर धर्मका लागि युद्ध गर्नुभन्दा राम्रो अरू कुनै कार्य छैन भन्ने कुरा तिमीले बुझ्नुपर्छ र यस्तो कार्य गर्न तिमीले कुनै सङ्कोच मान्नुहुँदैन ।)

 

 

यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।

सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशं ॥३२॥

(हे पार्थ आफूसुकै प्राप्त हुन आएको, स्वर्गको खुलेको ढोका जस्तो युद्धको अवसर त अत्यन्त सुखी वा भाग्यशाली क्षत्रियहरूले मात्र प्राप्त गर्दछन् ।)

 

अथ चेत्त्वमिमं धर्म्य संग्रामं न करिष्यसि

ततः स्वधर्म कीर्ति च हित्वा पापमवापस्यसि ॥३३॥

(यदि क्यै गरी तिमीले यो युद्धरूपी धार्मिक कर्तव्य पूरा गरेनौ भने, तिमीले आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्नेछ र तिमीले योद्धाको रूपमा कमाएको यश पनि गुमाउनेछौ ।)

 

अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेव्ययाम् ।

सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ॥३४॥

(मानिसहरूले सधैँ तिम्रा कुरा काट्नेछन् । एउटा सम्मानित व्यक्तिको लागि अपयश भन्ने कुरा मृत्यूभन्दा पनि बढी हुन्छ ।)

 

भयाद्रणादुपरतं मंस्यन्ते त्वाँ महारथाः ।

येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ॥३५॥

(जुन जुन महारथीहरूले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन्, तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई तुच्छ मान्नेछन् ।)

 

अवाच्यवादांश्च बहून् वदिष्यन्ति तवाहिताः ।

निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ॥३६॥

(तिम्रा शत्रुहरू तिम्रो पुरूषार्थको उपहास गर्दै अनेकौँ दुर्वाच्यहरू बोलेर तिम्रो निन्दा गर्नेछन्, त्योभन्दा कष्टदायी कुरा तिम्रा लागि के होला र ?)

 

हतो वा प्राप्यस्यसि स्वर्ग जित्वा वा भोज्यस्य महिम् ।

तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ॥३७॥

(हे कुन्तीपुत्र यदि युद्धमा मारियौ भने तिमीले स्वर्गलोक पाउनेछौ र यदि युद्ध नै तिमीले जित्यौ भने पृथ्वीको राज्य भोग्न पाउनेछौ, त्यसैले दृढसङ्कल्पका साथ उठ र युद्ध गर ।)

 

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।

ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ॥३८॥

(सुख-दुःख, लाभ-हानी, विजय-पराजयसम्बन्धी विचारै नगरी तिमी युद्धका लागि युद्ध गर, यसो गर्‍यौ भने तिमीलाई कुनै पाप लाग्नेछैन ।)

 

एषा तेभिहिता सांख्य बुद्धिर्योगे त्विमां श्रृणु ।

बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि ॥३९॥

(यसरी विश्लेषणात्मक अध्ययनद्वारा मैले तिमीलाई यो ज्ञानको वर्णन गरेँ । अब म निष्काम कर्मको व्याख्या गर्छु सुन । हे पार्थ यदि तिमीले यही ज्ञानमा रहेर कर्म गर्‍यौ भने तिमीले आफूलाई कर्मबन्धनबाट मुक्त गर्नेछौ ।

 

नेहाभिक्रमनाशोस्ति प्रत्यवायो न विद्यते ।

स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ॥४०॥

(यस प्रयासमा न कुनै हानी छ न विघ्न नै । यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त खतरनाक किसिमको भयबाट मुक्त गरिदिन्छ ।)

 

व्यवसायात्मिका बुद्धिरेकेह कुरूनन्दन ।

बहुशाखा ह्यनन्ताश्च बुद्धयोव्यवसायिनाम् ॥४१॥

(जो व्यक्ति यो मार्गमा लागेका छन्, जो आफ्नो लक्ष्यमा दृढ छन्, तिनको उद्देश्य एउटै  हुन्छ । हे कुरूनन्दन, तर जो दृढप्रतिज्ञ छैनन् तिनीहरूको बुद्धि भने अनेक शाखामा विभाजित हुन्छ ।)

 

यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।

वेदवेदारिताः पार्थ नान्यदस्तीति वादिनः ॥४२॥

कामात्मनः स्वर्गपराः जन्मकर्मफलप्रदाम् ।

क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ॥४३॥

(अल्पज्ञानी व्यक्तिहरू वेदका आलङ्कारिक वचनहरूप्रति अति आसक्त हुन्छन् । त्यहाँ स्वर्ग प्राप्ति गराउने र राम्रो जन्म, शक्ति र यस्तै अन्य कुराहरू प्राप्त गराउने धेरै प्रकारका सकाम कर्महरू बताइएका छन् । इन्द्रियभोग र सम्पन्न जीवनको चाहना राख्ने व्यक्तिहरू योभन्दा ठूलो अरू केही छैन भन्ने गर्छन् ।)

 

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।

व्यवसायत्मिका बुद्धि समाधौ न विधीयते ॥४४॥

(जसको मन इन्द्रियभोग र सांसारिक वैभवप्रति अत्यधिक आसक्त छ र जसलाई यस्ता वस्तुहरूले मोहित तुल्याउँछ त्यस्ता व्यक्तिहरू भगवानको अटल भक्तिमा दृढ हुन सक्तैनन् ।)

 

त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।

निर्द्वन्द्वो नित्यसक्त्ववस्थो निर्योगक्षेम आत्मवान् ॥४५॥

(वेदमा खासगरी प्रकृतिका तीन गुणहरूका सम्बन्धमा उल्लेख छ । त्यसैले हे अर्जुन, यी तीन गुणभन्दा पर होऊ । सम्पूर्ण द्वेतभावबाट मुक्त होऊ, सम्पूर्ण सुरक्षा र लाभको चिन्ताबाट पनि मुक्त होऊ र आत्मामा स्थित होऊ ।)

 

यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।

तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ॥४६॥

(जसरी एउटा सानो कुवाको काम विशाल जलाशयबाट  तुरून्त पूरा हुन्छ, त्यसैगरी वेदका पछाडि रहेको प्रयोजन परब्रह्मलाई जानेपछि स्वतः पूर्ण हुन्छ ।)

 

कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ॥४७॥

(तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधिनमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नठान र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ ।)

 

योगस्थः कुरू कर्माणि सङ्ग त्यक्त्वा धनञ्जय ।

सिद्ध्यसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते ॥४८॥

(हे अर्जुन, सफलता वा असफलताका सम्पूर्ण आसक्तिहरूलाई त्याग गरेर समभावमा रहेर आफ्नो कर्तव्य गर । यही समभावलाई नै योग भनिन्छ ।)

 

दुरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।

बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ॥४९॥

(हे धनञ्जय, भक्तिमय सेवाद्वारा सम्पूर्ण निन्दित कर्मबाट टाढा होऊ र त्यही सेवाभावमा रहेर भगवानका शरणमा पर । आफ्ना सकाम कर्महरूको फल भोग्न चाहनेहरू त कृपण हुन्, तुच्छ विचारका हुन् ।)

 

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।

तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ॥५०॥

(भगवद्‍भक्तिमा लागेको मानिसले यही जीवनमा नै आफूलाई राम्रो नराम्रो दुवै कर्मबाट मुक्त तुल्याउँदछ । त्यसैले तिमीले भक्तियोग प्राप्त गर्ने प्रयत्न गर । किनभने सम्पूर्ण कर्महरूमा कुशलता नै योग हो ।)

 

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनिषिणः ।

जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ॥५१॥

(यसरी भगवानको भक्तिमा तल्लीन भएर महर्षि र भक्तहरूले आफूलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त पार्दछन् र यसरी नै जन्म र मृत्यूको चक्रबाट मुक्त भएर तिनीहरूले सम्पूर्ण दुःखहरूभन्दा परको अवस्था (भगवद्‍धाम) प्राप्त गर्दछन् ।)

 

यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति ।

तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ॥५२॥

(जब तिम्रो बुद्धिले मोहरूपी घना जङ्गललाई पार गर्नेछ, त्यसबखत तिमी पहिल्यै सुनिसकिएको र सुन्नुपर्ने कुराप्रति विरक्त हुनेछौ ।)

 

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।

समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ॥५३॥

(जब तिम्रो मन वेदका आलङ्कारिक भाषाबाट विचलित हुनेछैन र आत्माको अनुभूतिमा एकाग्र भएर स्थिर रहनेछ तब मात्र दिव्य चेतना प्राप्त गर्नेछौ ।)

 

अर्जुन उवाच

स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।

स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत् किम् ॥५४॥

(अर्जुनले सोधे, हे कृष्ण, अध्यात्ममा लीन भएका व्यक्तिको पहिचान के हो ? ती कसरी बोल्छन् ? तिनको भाषा कस्तो हुन्छ ? ती कसरी बस्छन् ? अनि कसरी हिड्छन् ?)

 

श्रीभगवानुवाच

प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान् ।

आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ॥५५॥

(भगवानले भन्नुभयो- हे पार्थ जब मानिसले मानसिक चिन्तनबाट इन्द्रियतृप्तिका लागि उठ्ने सबै किसिमका इच्छाहरूलाई त्यागिदिन्छ र त्यसरी पवित्र हुन पुगेको उसको मनले आफ्नै आत्मामा पर सन्तुष्टि प्राप्त गर्न थाल्दछ अनि मात्र त्यस्तो व्यक्तिलाई पावन तथा दिव्य चेतनामा अवस्थित (स्थितप्रज्ञ) मानिन्छ ।)

 

दुःखेषवनुद्धिग्नमनाः सुखेषु विगतस्पृहः ।

वीतरागभयक्रोधः स्थितधीर्मुनिरूच्यते ॥५६॥

(तीन तापहरूको बीचमा रहँदा पनि जसको मन विचलित हुँदैन, वा सुखमा हुँदा जसको मनमा अनुराग हुँदैन र जो डर, क्रोध र आसक्तिबाट मुक्त छ त्यसैलाई स्थितप्रज्ञ सन्त भनिन्छ ।)

 

यः सर्वत्रानभिस्नेहस्तत्ततप्राप्य शुभाशुभम् ।

नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ॥५७॥

(यस भौतिक संसारमा जसले असल कुराको प्राप्त हुँदा हर्षित हुने र अशुभ कुरा आइपर्दा घृणा गर्ने गर्दैन, त्यही नै पूर्ण ज्ञानमा अवस्थित भएको व्यक्ति हो ।)

 

यदा संहरते चायं कूर्मोङ्गानीव सर्वशः ।

इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ॥५८॥

(जसरी कछुवाले आफ्ना अङ्गहरूलाई खुम्च्याएर आफ्नो खप्परभित्र समेट्छ, त्यसैगरी जसले आफ्ना इन्द्रियहरूलाई तिनका विषयहरूबाट खिच्दछ त्यही व्यक्ति नै दृढतापूर्वक पूर्ण चेतनामा स्थिर रहन्छ ।)

 

विषया विनिर्वतन्ते निराहरस्य देहिनः ।

रसवर्जं रसोप्यस्य परं दृष्ट्वा निवर्तते ॥५९॥

(कुनै देहधारी जीव इन्द्रियभोगबाट छुटे पनि उसको त्यसमा वासना भने रहिरहन्छ, तर यदि त्योभन्दा उत्कृष्ट रसको स्वाद उसले पायो भने विषयभोगको अभिरूचि समाप्त हुन्छ र ऊ कृष्ण चेतनामा स्थिर रहन्छ ।)

 

यततो ह्यपि कौन्तेय पुरूषस्य विपश्चितः ।

इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ॥६०॥

(हे अर्जुन, इन्द्रियहरू कति बलवान र वेगवान् छन् भने तिनीहरूलाई नियन्त्रण गर्ने प्रयत्नशील विवेकी मानिसको मनलाई पनि तिनले बलपूर्वक हरण गरिदिन्छन् ।)

 

तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।

वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ॥६१॥

(जुन व्यक्तिले आफ्ना इन्द्रियहरूलाई पूर्णतया नियन्त्रणमा राखेर निग्रह गरेको छ र आफ्नो चेतनालाई ममा स्थिर गरेको छ, त्यही व्यक्ति स्थितप्रज्ञ कहलाउँछ ।)

 

ध्यायतो विषयान्पुंसः संङ्गस्तेषूपजायते ।

संङ्गात्सञ्जायते कामः कामात्क्रोधोभिजायते ॥६२॥

(इन्द्रियका विषयहरूको चिन्तन गर्दागर्दै मानिस तिनै विषयहरूमा आसक्त हुन पुग्दछ, यस्तो आसक्तिबाट काम पैदा हुन्छ र कामबाट क्रोध उत्पन्न हुन्छ ।)

 

क्रोधाद्‍भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।

स्मृतिभ्रंशात् बुद्धिनाशो बुद्धिनाशत्प्रणस्यति ॥६३॥

(क्रोधबाट पूर्ण मोह पैदा हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ, स्मरण शक्ति भ्रमित भएपछि बुद्धि नाश हुन्छ, बुद्धि नाश भएपछि मानिस यो संसाररूपी कुवामा फेरि खस्छ ।)

 

रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।

आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ॥६४॥

(तर सम्पूर्ण राग र द्वेषबाट मुक्त भएको र स्वतन्त्र नीति नियमहरूद्वारा आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले भगवानको पूरापूर कृपा प्राप्त गर्न सक्दछ ।)

 

प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।

प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ॥६५॥

(यसरी कृष्णभावनामा सन्तुष्ट रहने व्यक्तिका लागि संसारमा तीनै किसिमका कष्टहरू धेरै टिक्दैनन् । यस किसिमको तृप्त चेतनामा रहने व्यक्तिको बुद्धि चाँडै नै स्थिर हुन्छ ।)

 

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।

न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ॥६६॥

(जो व्यक्ति कृष्णभावनामा रहेर भगवानसँग गाँसिएको छैन, त्यो व्यक्तिको न बुद्धि नै दिव्य हुनसक्छ न त मन नै स्थिर हुन सक्छ । अस्थिर मन भएका व्यक्तिले शान्ति प्राप्त गर्नु सम्भव छैन र शान्तिविना सुख कसरी पाउन सकिन्छ र ?)

 

इन्द्रियाणां हि चरतां यन्मनोनुविधीयते ।

तदस्य हरति प्रज्ञा वायुर्नावमिवाम्भसि ॥६७॥

(जसरी पानीमाथिको डुङ्गालाई हावाले हुत्याएर एकातिर पुर्‍याइदिन्छ, त्यसैगरी विचरणशील इन्द्रियहरूमध्ये कुनै एकमा एकाग्र भएको मनले मानिसको बुद्धिलाई नै हरण गरिदिन्छ ।)

 

तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।

इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ॥६८॥

(त्यसैले हे महाबाहु, जसका इन्द्रियहरू आ-आफ्ना विषयबाट पूर्णतया हटेर नियन्त्रणमा आएका छन् त्यसैको बुद्धिलाई निसन्देह स्थिर बुद्धि मान्नुपर्छ ।)

 

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।

यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ॥६९॥

 (जुन समय सबै जीवहरूका लागि रात्रि हुन्छ, त्यसमा आत्मसंयमी पुरूष जागा रहन्छन् र सबै जीवहरू जाग्ने समयमा आत्मदर्शी मुनिका लागि रात्रि हुन्छ ।)

 

आपूर्यमाणमचलप्रतिष्ठं

समुद्रमापः प्रविशन्ति यद्वत् ।

तद्वत्कामा यं प्रविशन्ति सर्वे

स शान्तिमाप्नोति न कामकामी ॥७०॥

(जसरी सधैँ परिपूर्ण र अचल रूपमा प्रतिष्ठित समुद्रमा नदीहरू प्रवेश गर्छन्, त्यसैगरी स्थिर चित्त भएका व्यक्तिको हृदयमा अनेक इच्छाहरू नित्य प्रवेश गर्दछन् र बिलाउँछन् । त्यस्तै स्थिर व्यक्तिले मात्र शान्ति प्राप्त गर्दछन् तर विषयको इच्छा व्यक्तिले त्यो शान्ति पाउँदैनन् ।)

 

विहाय कामान् यः सर्वान् पुमांश्चरति निःस्पृहः ।

निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ॥७१॥

(जसले इन्द्रियतृप्तिका सबै चाहनाहरूलाई त्यागिदिएको छ, जो इच्छाहरूबाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि त्यागिदिएको छ र अहंकारशून्य बनेको छ त्यही व्यक्तिले मात्र वास्तविक शान्ति प्राप्त गर्न सक्दछ ।)

 

एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।

स्थित्वास्यामन्तकालेपि ब्रह्मनिर्वाणमृच्छति ॥७२॥

(यही आध्यात्मिक तथा ईश्वरीय जीवनको बाटो हो, जसलाई प्राप्त गरेपछि मानिस मोहित हुँदैन । हे पृथापुत्र अर्जुन, जीवनको अन्तिम अवस्थामा पनि यस्तो स्थितिमा पुग्ने मानिस भगवानको धाममा प्रवेश गर्न सक्दछ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत गीताको सारसंक्षेप शीर्षक दोस्रो अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *