शुभकामना औ श्रद्धाञ्जली !
महा विनाशकारी भूकम्पमा परी अकाल ज्यान गुमाउनेहरुलाई
हृदयविहिन ‘हार्दिक श्रद्धाञ्जली’ छ,
आफ्नै कटेरोको चिहानमा पुरिएको आफ्ना पृयजनको अनुमानित सास वा लाश
अर्को महामारीको कुनै परवाह नगरी
अद्यापि टोलाएर हेरी बस्ने आहत अभागीहरुलाई
भाग्यवश् सात सात रेक्टर स्केलको भूकम्प थेग्न सकेको
भूकम्प प्रतिरोधात्मक भवनको सुविधायुक्त शयनकक्षबाट
(वा भागिसकेपछिको)
अत्याधुनिक सञ्चार प्रविधिको माध्यममा हतपत टुपुल्किँदै
जटिल भाषा र गुलिया शब्दहरुको माध्यमबाट
यो र त्यो पुनर्जीवनको लागि राहत स्वरुप ‘लाखौँलाख शुभकामना’ छ !
दुईचार दिन खुल्ला चौरमुनि संगै थियौँ भनेर नहेप मलाई
त्यत्रो भूकम्पले बराबरी सातो खाएको थियो भनेर बित्थैको आरोप नलगाऊ
जे भए पनि तिमी अभागी र म भाग्यमानी !
मेरो बास र तिम्रो बासमा आकाश-जमिनको फरक छ
मेरो गास र तिम्रो गासमा पूर्व-पश्चिमको फरक छ
मेरो व्यवसाय र तिम्रो व्यवसायको बीच दिन-रात जत्तिको फरक छ
मेरा सबै कुरा स्थायी हुन्, तिम्रा सब कुरा अस्थायी, यत्ति बुझ, वश्
तसर्थ आजसम्म तिमीले यी फरकहरुको साँधी कहाँनेर पर्छ भनी कहिले पत्तो पाउन सकेनौ ।
थाहा छ ? मरिसकेका अभागीहरुको निम्ति मैले ‘हार्दिक श्रद्धाञ्जली’ भन्दै एक ‘स्टाटस’ खर्चिएँ
झण्डै मरेका भाग्यमानीहरुले दश हजार ‘लाइक’ हानिदिए
झण्डै मरेका भाग्यमानीहरुको लागि पनि मैले
भर्खरैको भूकम्पले भग्नावशेष तुल्याएको कटेरोको एउटा फोटो डाउनलोड गरेर
सफ्टवेयरको माध्यमबाट आफ्नो पुरानो फोटो चलाखीपूर्ण रिमिक्स गर्दै
‘बाँच्नेहरुलाई हार्दिक शुभकामना !!!’ भनेर पोष्ट गरिदिएँ ल, जा ! भन्दै
थाहा छ ? फलस्वरुप लाख-लाख ‘लाइक’ आए लाटा, लाख-लाख
तिमी र ममा यही फरक छ,
बुझेनौ ? तिमी यी कुरा बुझ्न सक्दैनौ (त्यसैले त यो विपत्तिमा बढीजसो तिमी नै पर्यौ !)
किनकि न तिमीसंग भाषा छ, न भाषा बदल्ने अत्याधुनिक प्रविधिमा पहुँच छ
श्रद्धाञ्जली पाउनेले पनि बुझ्न सक्दैनन् (किनकि उनीहरुसंग यी दुवै कुरा आइन्दा पहुँचमा हुने छैनन्)
तर तिमीहरुकै निम्ति खर्चिएका मेरा ‘शुभकामना औ श्रद्धाञ्जली’ का दुई शब्दले मात्र
लाखौँलाख ‘लाइक’ र ‘वाहवाही’ बटुलिरहेका छन् यहाँ
देख्यौ ? देख्यौ ?? तिमी र ममा यही नै मूल फरक छ !
मैले पटक्कै बुझिन :
किन फलाकिरहन्छ, रेडियो टिभीले दुर्दशाका खबर मात्र ?
किन आफ्नो प्राण अर्पेर अरुको प्राण बचाउन लागिपरेका छन् कोही कतै ?
(मजस्तै किन भाग्नसकेनन् यिनीहरु कहिले भूकम्पले नभेट्ने गुप्त भूमितिर ?)
किन भूकम्पको आलो पीडा छँदै आधा पाटो मेलो सार्न फर्कँदै छन् किसानहरु ?
किन चिन्ताले चाउरी परेको अनुहारहरुले बहिष्कार गरिरहेका छन् चाउचाउ र चिउरा ?
अनि किन लुगलुग काँप्दै, पिलपिलाउँदै आर्तनाद दोहोर्याइरहेका छन् ?
“सरखार !! पाल चाहियो, पाल !!!”
(मैलाई पो गुहारिरहेका हुन् कि ? )
किन ? किन ?? आखिर किन ???
जे भए पनि तिमी हरिकंगाल आहतहरुलाई
हेलिकप्टर वा कारहरुबाट राहत बाँड्न हैसियत राख्ने भाग्यमानी हुँ म
(वा हज्जारौँ पटक भुइँचालोले झकझकाउँदा पनि ‘भाग्यमानीको अहम्’ त्याग्न नसक्ने)
तसर्थ मेरो यस स्टाटसलाई देख्नेले स्वीकार ‘हार्दिक शुभकामना ! नवजीवनको !!’
र नदेख्नेले स्वीकारः
———– ——– ———- ।
२०७२।०१।२१