रिजल्ट
एकाबिहानै फोनको घण्टी बज्यो । म प्रायः यति बिहान कहिले उठ्ने गरेको थिएन । तर फोनको लगातारको टिङटङ गरिरहेको तीखो स्वरले नउठी धरै दिएन । मन नलागी नलागी फोन उठाएँ, उताबाट चिरपरिचित साथी दिपकको स्वर सुनियो, “रिजल्ट हेर्न जाने होइन ? रिजल्ट टाँसिसके रे नि त !”
“के को रिजल्ट हो र ?” मैले जाँगर नलागी नलागी सोधेँ ।
“त्यही के चुनावमा खटिने ”
“ए, हो ?” भन्दै कौतुहल हुँदै छिटोछिटो हातमुख धोइओरी म पनि रिजल्ट हेर्न निस्किएँ । जिविस भवनमा रिजल्ट टाँसिएको रहेछ । त्यहाँ रिजल्ट हेर्नेको भीडले खुट्टा टेक्ने ठाउँ नै थिएन । ठेलमठेल गरी रिजल्ट हेर्नुभन्दा एकछिन भीड घटेपछि हेरुँला भनी म सडकमै उभिएँ । त्यो भीडबाट निस्केर दिपक खुशी हुँदै सडकमा झर्यो ।
“मेरो त मैकोट परेछ । ‘कहाँ जाने हो ?’ भनी हाकिमसाबले सोध्नुभएको थियो । टाढै गए दुईचार पैंसा पनि बढी आउने ठाउँ पनि हेर्न पाइने ठानी ‘मैकोट भए पनि हुन्छ’ भनेको थिएँ । त्यहीँ परेछ ।”
“ए राम्रो भयो, अनि मेरो पनि हेरिदिनु भयो कि ?”
“कहाँ हेर्न सकिनू ? त्यत्रो भीडमा । एकछिन पछि हेरौँला नि !”
त्यसपछि उमेश पनि असिनपसिन हुँदै भीडबाट निस्किए । दिपकले नै प्रश्न गरे, “तपाईँको कहाँ परेछ नि ?”
“मैले पनि मैकोट नै भनेको थिएँ तर गोतामकोट परेछ । त्यहीँ भए पनि ठीकै छ । तर त्यहाँ अलि बढी विवाद हुने सम्भावना छ रे । खटाएको ठाउँमा जानै पर्यो ।”
दिपकले मलाई सोधे, “अनि तपाईँले पनि कसैलाई भन्नुभएको थियो कि ?”
“खै ? त्यहीँ खटिएका एकजना कर्मचारीलाई भनेको हुँ । धेरै टाढा हिड्न पनि नसकिने नजिकै गए पैंसा थोरै हुने । तसर्थ एकैदिन पुगिने ठाउँ, तर छ कोषभन्दा टाढा राखिदिए हुन्थ्यो भनेको थिएँ । खै ? भनेको ठाउँमा पर्यो कि परेन ?”
अनि त्यही भीडबाट निक्लँदै आशिष आइपुगे । उनको अनुहार अलि निन्याउरो थियो ।
“के भयो ? तपाइँको त भनेको ठाउँमा परेन कि क्या हो ?” मैले नै प्रश्न गरेँ ।
“मेरो त नाम नै रहेनछ । अस्ति सम्पर्क राख्न आउने चिठ्ठीमा थियो । आज लिष्ट सप्पै हेरेँ कतै छैन । के रहेछ ? कार्यालयमै बुझ्नुपर्यो” भन्दै उनी सम्पर्क कार्यालयतिर दौडिए । रिजल्ट हेरेर आउनेहरुले कसैले खुशी व्यक्त गर्दै थिए भने कसैले गुनासो । सायद खटाउनेहरुले पनि सबैलाई खुशी पार्नसक्ने अवस्था थिएन होला ।
लामो समयसम्म पनि भीड घट्ने सम्भावना नदेखिएकोले म पनि रिजल्ट टाँसेको भवनतिर उक्लिएँ र त्यही भीडमा ठेलमठेल गर्दै आफ्नो नाम धुइँधुइँति खोजेँ । बल्ल फेला पर्यो । मेरो नाम रुकुमकोटको कुचीवाङ केन्द्रमा मतदात अधिकृतको रुपमा परेको रहेछ । ‘रुकुमकोट’ नाम देखेकोले मलाई सन्तोष नै भयो । किनकि त्यो रुकुमको पुरानो सदरमुकाम पनि थियो । म यस अघि कहिले त्यस ठाउँमा पुगेको पनि थिएन । पैदल गए पनि ५/६ घण्टामा सजिलै पुग्न सकिन्छ भन्ने कुरा मलाई थाहा थियो । तसर्थ मलाई खुशी नै लाग्यो । मनमनै रमेशलाई मैले धन्यवाद् दिएँ ।
तल सडकमा दिपक मलाई पर्खेर बसेको रहेछ । उसले नसोध्दै मैले नै भनेँ,
“बल्लबल्ल नाम भेट्टाएँ । मेरो रुकुमकोट परेको रहेछ ।” आफ्नो जिम्मेवारी भने उसलाई मैले बताइन । किनकि म राजपत्र अनंकितस्तरको कर्मचारी भए पनि मैले ठूलो जिम्मेवारी पाएको थिएँ जुन जिम्मेवारी उनीहरुले पाएका थिएनन् । सायद जिल्लामा मौजुदा रहेका अधिकृत कर्मचारीको जनशक्तिले नै नपुगेर होला । उसले जिज्ञासा राखिहाल्यो, “सहायक त होला हैन ?”
मैले स्पष्ट भनिनँ, “अँ, त्यस्तै त्यस्तै ।”
त्यसपछि हामी बजारतिर झर्र्यौँ । आशिष अँध्यारो मुख लगाएर दौड्दै आए ।
“मेरो त नाम हटाइएको हो रे !”
“किन ?” मैले उत्सुक हुँदै सोधेँ ।
“खोइ थाहा भएन । अस्थायी, करार, राहतका शिक्षक सप्पैको नाम पर्ने, मेरो नपर्ने के कारण हो ? मैले त केही बुझ्न सकिन । खोइ राजनीतिक चलखेल भयो भन्ने भनाइ छ । मलाई पनि निर्वाचन कार्यालयले जबर्जस्ती राजनीतिक बिल्ला भिराएर हो कि । न म कुनै संगठनको सदस्य न त पदाधिकारी । यो लिष्ट पनि फेरिन सक्छ रे ।”
दिपक बोल्यो, “मैले त हाकिमसाब बाहेक अरु कसैलाई भनेको छैन । फेरिए पनि केही छैन । टाढा राखे टाढै जाउँला बीचमा राखे पनि ठीक्कै छ । नजिकै पारे झन् काइदा । बन्दसन्दमा टाढा हिँडेर जान पनि गाह्रै त होला । नामै नपरे पनि केही छैन । पैंसाको कुराले त ठीकै छ, तर सुरक्षाको हिसाबले त गाह्रो पो छ त चुनावमा खटिनु पनि । दाङ र काठमाण्डौतिर मतदान अधिकृतलाई नै काटे रे ।”
यो कुराले मेरो जिउ नै सिरिङ्ग गर्यो । मैले आँफैलाई सम्झाउने पाराले भने, “होइन होला ! रेडियोले त्यस्तो केही भनेको छैन ।”
“कहाँ हुनु ? सबै कर्मचारी तर्सन्छन् भनी रेडियोमा यस्ता समाचार प्रसारण नगर्ने निर्देशन छ रे सरकारको ।”
मेरो मुटु बेसरी हल्लियो । तर म पनि मतदान अधिकृतको रुपमा खटिएको कुरा उनीहरुलाई भने खुलाइन ।
“जाबो कर्मचारी खटाउने कुरामा राजनीति नमिसाउनुपर्ने ।” दिपकले गुनासो राख्यो ।
मैले मनमनै कल्पिएँ, ‘मलाई मतदान अधिकृतको रुपमा खटाएका छन्, कतै मै प्रति कटाक्ष हो कि ? मलाई कसैले युनियनको भन्छन्, कसैले राकसको, कसैले संगठनको । तर आजसम्म कुनै संगठनको सदस्यता लिएको छैन । मन मिल्ने साथी रमेश बाहेक अरु कसैलाई मेरो नाम राखिदिनुपर्यो भनेको पनि होइन । रमेश कुन संगठनको हो, त्यो पनि मलाई थाहा छैन । उसैले मेरो नाम राखिदिएको हो कि त्यस्तै पर्न गएको हो, त्यो पनि उसैले जानोस् ।’
“के घोरिइरहेको ? कतै तपाईँले पनि कुनै संगठनलाई भन्नुभएको थियो कि नाम राखिदिन ?”
“मरिजाउँ, मैले रमेश बाहेक अरु कसैलाई भनेको थिइन ।” मैले आफ्नो सफाइ पेश गरेँ ।
“जे होस् रुकुमकोटसम्म संगसंगै जान पाइने भो ।” उसले कुरो फेर्यो ।
“राम्रै हुने भो ।” मैले सहमति जनाएँ । तर मनमा फेरि अर्को चिसो पस्यो, ‘कतै मलाई पनि राजनीतिक रंगमा मुछ्ने पो हुन् कि ? ‘
यसबारे दिपकले नै फेरि सन्देह पोख्यो, “साँच्चै, त्यहाँ को होला त कर्मचारी खटनपटनमा राजनीतिक रंग दिने ? दुईदुईजना श्रीमान् छन् न्यायिक निकायका । सहायक निर्वाचन अधिकृत तीनैजना बेग्लाबेग्लै आस्था राख्ने व्यक्तिहरु हुन् भन्ने सुनेको थिएँ । कर्मचारी खटनमा सिडिओसाबको आदेश पनि चल्छ रे । कसरी सम्भव भयो होला राजनीति त्यहाँ ? सप्पैको मन नमिली त राजनीति घुस्नै नपर्ने ! के हो के हो ! कर्मचारीहरु खटाउँदा सकभर कर्मचारीलाई पायक पर्ने र सम्भव भएसम्म उनीहरुले रोजेको ठाउँमा पठाउने नीति छ रे भन्ने पनि सुनेको हो । केही दलका नेताले खटनपटनको सोर्स लाउँदै आआफ्ना समर्थक कर्मचारीको नाम दिएकै हुन् रे । फेरि यहाँका कर्मचारीको संख्या यति नै हो, अन्तबाट ल्याएर खटाउन सक्ने अवस्था पनि छैन । शिक्षकहरुको अवस्था सबैले बुझेकै हो । जसलाई जहाँ खटाए पनि कुरो उही त होला नि”
“आ, जे सुकै होस् । हामीले तोकिएको आफ्नो काम गर्ने हो, कर्तव्य निभाउने हो, चुनाव सम्पन्न गर्ने हो । त्यहाँ सबै राजनीतिक दलका मान्छे हुन्छन्, सबै दलका कार्यकर्ता होलान्, जनता पनि लाटा छैनन् । एउटा कर्मचारीले चुनावमा गर्न नै के सक्ने हो र ? कसैले गरिहाले पनि गर्नेले नै सजाय पाउला । हामीलाई के को टाउको दुखाई ?”
त्यसपछि हामी आआफ्नो अफिसको बाटो लाग्यौँ ।
अफिसमा एकजना रुकुमकोटमै काम गर्ने कर्मचारी आएका रहेछन् । उनले मलाई रिजल्ट हेर्न गएको कुरा थाहा पाएछन् क्यारे, सोधिहाले, “अनि, सर कता पर्नुभएछ त ?”
मैले हाँस्दै जवाफ दिएँ, “म पनि तपाईँकै ठाउँतिर । रुकुमकोटमै”
“कुन केन्द्रमा ?”
मैले स्पष्ट्याएँ, “रुकुमकोटको कुचीवाङ केन्द्रमा ।” उनले निधार खुम्च्याउँदै भने, “अनि किन कुचीवाङ रोज्नुभएको त ? त्यो त रुकुमकोट गाविस भए पनि त्यहाँबाट धेरै टाढा पो छ त ! रुकुमकोटबाट झण्डै पाँच घण्टा उकालो लाग्छ । बरु त्यहाँभन्दा काँक्री रोजेको भए तेर्सो पनि पर्ने, पैँसा पनि त्यहाँको भन्दा दोब्बर आउने । झन् त्यो ठाउँ त सुरक्षाको हिसाबले पनि ठीक होइन । बहिष्कारवादीहरुबाट अत्यधिक प्रभावित ठाउँ पो हो त । ठाउँ फेर्न लगाइहाल्नुस् सर !”
म तर्सिएँ, “साँच्चि हो र ? मलाई के थाहा त !”
एक त बन्द । जताकतै बम पड्किरहेको समाचार आइरहेको थियो । अर्कोतिर खटनपटनले राजनीतिक रंग रुप लियो भनेर मन तर्सेको थियो । फेरि अर्को आपत् ! मेरो स्वास्थ्यको समस्याकै कारणले टाढा नजान आग्रह गरेको थिएँ साथीसंग । झनै त्यस्तो ठाउँमा पो पारिदिएछन् त ! मेरो झनक्क रिस उठ्यो र तुरुन्त रमेशलाई फोन गरिहालेँ । तर उनले सितिमिति मेरो फोन नै रेसिभ गरेनन् । धेरै प्रयासपछि फोन उठ्यो र मैले मेरो औडाह पोखिहालेँ, “मलाई जानीजानी अप्ठ्यारो ठाउँमा हाल्ने ? यही हो असल मित्रको तरिका ? म त्यस ठाउँमा नजाने भएँ, अर्को ठाउँमा राखिदिनू ।”
“सर, मेरो बलबुताले अनेक अनुरोध गरी गरी बल्लबल्ल त्यस ठाउँमा राखेको हो । त्यो कस्तो ठाउँ हो मलाई पनि थाहा छैन । अब फेरि अर्को ठाउँ फेर्न त श्रीमानले के मान्नुहोला र खै ? त्यसै त राजनीति भयो भन्ने आरोप आइरहेका छन् ।” उनले असमर्थता प्रकट गरे ।
“उसोभए म जान्न, मेरो नाम कटाएर अर्कै कर्मचारी खटाउनू ।” भनेर मैले फोन राखिदिइहालेँ । केही घण्टापछि रमेशको फोन आयो, “सरऽ नाम सार्न त मिल्दैन रे तर नाम कटाउने भए ठीकै छ, तर नगएकोलाई भोलि स्पष्टीकरण सोधिन्छ रे ! के गरम् ?” मैले केही जवाफ दिन सकिन । एक त बल्लबल्ल खाएको जागिरी तैपनि शुरुदेखि स्पष्टीकरण खान थालेपछि जागिर जोखिममा पर्नु स्वाभाविकै थियो । अतः स्पष्टीकरण खानुभन्दा खटाइएकै ठाउँमा जान सहमत भएँ ।
भोलिपल्ट चुनाव खर्च लिन हामीहरु निर्वाचन कार्यालय पुग्यौँ । रुकुमकोट पुग्ने र त्यहाँदेखि एकदिन टाढा पर्ने कुचीवाङ पुग्नेले पनि बराबर खर्च पायौँ । अझ विडम्बना त के थियो भने दुरी कुचीवाङ बराबर तर सजिलो ठाउँ खटिनेले दोब्बर खर्च बुझिरहेका थिए !
पर्सिपल्ट बिहानै केन्द्रमा जानको लागि तयार भयौँ र प्रहरी कार्यालयमा मतपेटिका बुझ्न पुग्यौँ । हामीहरुको आफ्नै सामानको भारी थियो । थप चुनाव सम्बन्धी मसलन्द सामग्रीले हाम्रा ठूलाठूला झोला भरिएका थिए । मतपेटिका र मतपत्रको भारी कार्यालय सहयोगीले बोक्ने भए । उनीहरुलाई त्यही नै ठूलो भारी भयो । झण्डै आठदश केन्द्रमा खटिने कर्मचारी, म्यादी प्रहरी, जनपथ प्रहरी समेत गर्दा झण्डै सयजनाको भारी सहितको लश्कर रुकुमकोटतिर लाग्यो । यसरी समूहमा लाइनबद्ध लश्करमा हिड्न पाउँदा मन साह्रै आनन्दित भएर आयो । मनमा उब्जिएका आशंका र अप्ठ्यारा कुराहरु सप्पै भुलेँ ।
जब हामी आधा घण्टा टाढा पुग्यौँ । मतपेटिकाको भारी बोक्ने दुईजना कार्यालय सहयोगी धेरै पछि परिसकेका थिए । भारी त सप्पै कार्यालय सहयोगीलाई थियो नै । भारी बोक्नेहरुले सकीनसकी खुट्टा घिसारिरहेका थिए । हामीलाई पनि शुरुमा त हाम्रो झोलाको केही बोझ जस्तो लागेन तर विस्तारै बाटो काट्दै जाँदा भारी पनि थपिँदै गएको अनुभव भइरहेको थियो ।
दुईजना भारी बोक्ने साथीहरु पछि पर्नुको कारण बारे छलफल भयो ।
“पहिले नाम परेन भनेर मरिहत्ते गरे । अहिले भारी बोक्नुपर्यो भनेर रिसाइरहेका छन् । “अरु के हुनु ?”
“भारी नै धेरै गह्रुङ्गो छ, जसलाई पनि त्यस्तै हो ।”
“उमेर पनि अलि बढी नै भएकोले होला । तन्नेरीलाई पनि गह्रौँ हुने भारी छ ।”
उनीहरु नजिक आइसकेपछि एकजना प्रहरीले हकारे, “किन पछि रहेको ए बुढा हो ? यो हिडाइले कसरी पुगिन्छ आज रुकुमकोट ?”
“भारी धेरै भएर हजुर ।” उनीहरुको जवाफ थियो ।
“सबैको भारी उस्तैउस्तै त हो नि ! कसरी भयो तिमीहरुको मात्र भारी गह्रुङ्गो ?”
“हैन हजूर । अरुले मतपेटिकाको मात्र भारी बोकेका छन्, हामीले भने मतदान अधिकृत र सहायक मतदान अधिकृतको थप १५ किलोसम्मको झोला समेत बोक्नु परेको छ ।”
हामीले उनीहरुको भारी हेर्र्यौँ । नभन्दै उनीहरुको मतपेटिकाको भारीमा अन्य कर्मचारीको भारी समेत थपिएको थियो । हामी आश्चर्यचकित भयौँ । ‘कस्ताकस्ता हुन्छन् मान्छेहरु पनि ? यस्तो अवस्थामा भारी बाँडचुँड गर्नु त कता हो कता आफ्नो भारी, पानीका बोत्तल समेत अरुलाई बोकाएर आफू चाहिँ पैदल यात्रामा पनि अफिसर कहलाएर ढल्कीढल्की हिँडिरहेछन् ।’ ती भारी बोकाउने कर्मचारीहरु भने हामीभन्दा निक्कै अघि पुगिसकेका थिए । पछि थाहा भयो तीन दिनको लागि अधिकृत कहलिएका ती कर्मचारीहरुले त भारी बोक्नेलाई दिनुपर्ने ढुवानी खर्च समेत भारी बोक्नेलाई दिनुको सट्टा आफ्नै गोजीमा भरेछन् ।
दिनभरको लगातारको हिँडाइपछि हामी राती १० बजेतिर मात्र रुकुमकोट पुग्यौँ । ती मतपेटिकाको भारी बोक्ने कर्मचारीहरुको खुट्टामा फोका उठेर फुटिसकेकाले उनीहरुलाई हिड्न निकै गाह्रो भएको थियो । तर रुकुमकोट पुगेपछि भने सैयौँजनाको लश्करलाई गास र बासको व्यवस्था एकैपटक गर्न निकै गाह्रो पर्यो त्यो रातमा हामीलाई ।
भोलिपल्ट साथीहरु आआफ्नो बाटो लागे । कुचीवाङ केन्द्रका हामी कर्मचारीहरु छुट्टियौँ । हिजैको थकाइ मेटिएको छैनऽ गह्रौँ भारीसितको उकालो चढाइऽ कुचीवाङ पुग्दा त दिन ढल्किसकेका थिए । केन्द्रमा पुगेपछि बल्लबल्ल हामीले भारी बिसाउने मौका पायौँ ।
त्यस दिन स्थानीयले नै खाना तथा बासको व्यवस्था मिलाइदिएऽ तर भोलिपल्टदेखि आफैले व्यवस्था गर्नुपर्ने भयो । हाम्रो टोलीमा खटिएका सबै कर्मचारीको संख्या झण्डै १५ जना जति थियौँ जसको गासबासको व्यवस्थापन आफैले गर्नुपर्यो । चुनाव सकिँदा त निर्वाचन कार्यालयले उपलब्ध गराएको व्यवस्थापन खर्चले नपुगेर आफ्नै गोजीबाट झिक्नुपर्ने बाध्यता आइपर्यो ।
भोलिपल्ट मतदाता परिचयपत्र बाँड्ने र बुथ निर्माण कार्यमै बित्यो । त्यस केन्द्रमा ५० प्रतिशत जति व्यक्ति पनि मतदाता परिचयपत्र लिन आएनन् ।
मंशिर ४ गतेले बिहानै पाइला टेक्यो कुचीवाङमा पनि । निर्वाचनको पूर्वतयारीको लागि करिब ४ बजेदेखि नै हामी तयार भइसकेका थियौँ । होशियारीपूर्वक कामको जिम्मेवारी बाँडफाँड गरियो । बुथको अवस्थालाई पुनः निरीक्षण गरियो । जिम्मेवारीअनुसारको सिटको व्यवस्था पनि गर्यौँ । सबै ठीकठाक पार्दापार्दै सात बज्न थालिसकेको थियो । सातबजे पछि मात्र राजनैतिक दलका प्रतिनिधिहरु आए । मतदाताहरु मतदान केन्द्रमा जिज्ञासा पूर्वक महिला तथा पुरुषको लाइनमा लाग्न थाले । पहिलो मतदानको लागि राजनैतिक दलका प्रतिनिधि लाइनको अगाडि आए । हाम्रो एकजना कर्मचारीले मतदाताको नाम भिडाए, राजनैतिक दलका अन्य प्रतिनिधिले मतदाता लिष्टमा भएको नाम सोही व्यक्ति नै भएको भनी सहमति जनाए, महिला कर्मचारीले बुढी औँलाको नङमा मसी लगाइदिइन्, अर्को कर्मचारीले मैले हस्ताक्षर गरिसकेको प्रत्यक्षतर्फको मतपत्र दिए । मतदान गर्न अगाडि आइपुगेका व्यक्ति अकमकाउँदै र हात कँपाउँदै मतपत्र बुझिरहेका थिए । उनको मनोदशा हेर्दा लाग्थ्यो शिक्षित देखिने कुनै दलको प्रतिनिधित्व गर्ने व्यक्तिले नै ‘मत कसरी हाल्ने ?’ भन्ने मेसो पाइरहेका थिएनन् । उनले प्रत्यक्षतर्फको मतदान गरेपछि त्यसै प्रक्रियाबाट समानुपातिक तर्फको मतपत्र लिएर मतदान पनि गरे । उनलाई नै पोलबक्समा गएर स्वस्तिक चिन्हले मतपत्रको मत चिन्हमा छाप लगाउने पट्याउने र मतपेटिकामा मत राख्ने गर्दासम्म अकमकाएकोले सिकाउनु परेको थियो । यसरी नै आठदश व्यक्तिले मतदान गरे ।
त्यसपछि एकजना अनपढ देखिने व्यक्ति लाइनको अगाडि आइपुगे । उनको पनि नाम सोधेर पहिचान भइसकेपछि मतपत्र बुझाउनेसम्मको काम सम्पन्न भयो । तर उनी अकमकाए । प्रहरी साथीले पोलबक्स देखाउँदै त्यहाँ गएर छाप लगाउन सुझाए । तर पनि उनी अगाडि बढ्न अकमकाए र हडबडाउँदै सोधे, “सर, कहाँ छाप लगाउने हो ?”
“तपाईँलाई मनपर्ने उम्मेदवारको चिन्हमा ऊ त्यहाँ रहेको छापले छाप लगाउनू न ।”
“कुन उम्मेदवारको चिन्ह कुन हो भन्ने कुरा थाहा छैन हजुर मलाई”
“चुनावमा कोही प्रचार गर्न आएनन् ?”
“यो गाउँमा कोही पनि आएका छैनन्, हजुर .”
उसको अनभिज्ञता देखेर म चकित भएँ । यसैबेला राजनैतिक दलका प्रतिनिधिहरु चलमलाए । मैले उनीहरुलाई यो घडीमा मत संकेत हुने कुनै पनि हर्कत नगर्न चेतावनी दिएँ । मसँग काम गर्ने एकदुई जना कर्मचारी पनि सलबलाए, उनीहरुलाई पनि सचेत गराएँ । मसँग त्यहाँ नमूना मतपत्र पनि थिएन र भएको भए पनि चिन्ह लगाउने तरिका सिकाउँदा उसले त्यही ठाउँमा मत दिनसक्ने सम्भावना थियो । अतः उसलाई दुवै मतपत्र हात लगाई ‘तपाईँ जसरी मत हाल्नुहुन्छ, त्यसै गर्नुस्’ भनी पठाएँ । उसले के गर्यो, उसैले जानोस् ।
दिनभरि यस्ता मानिसहरु धेरै आए । कसैले मतपत्रमा ल्याप्चे छाप पनि ठोके । ‘ल्याप्चे लगाउने होइन, ऊ त्यहाँ सुल्फाको आकारको छाप छ, त्यसैको टुप्पोले छाप लगाउने हो नत्र तपाईँहरुको मत खेर जान्छ, तपाइँको आजको दुख्ख खेर जान्छ’ भनी प्रत्येक अनपढ देखिने व्यक्तिलाई सुझाइयो, तर केही सीप लागेन ।
एकजना मतदातासंग भनाभन नै पर्यो । उसले प्रत्यक्षतर्फको मात्र मतदान गर्यो । समानुपातिकतर्फको पनि मतदान गर्नुपर्छ भनी मतपत्र दिँदा उसले त्यस मतपत्र लिन नै मानेन । ‘आफूले पहिले दिएको मत बिगारिदिनको लागि नै फेरि अर्को मतपत्र दिएको’ भनी उसले कर्मचारीहरुसंग झगडा नै गर्न थाल्यो । राजनैतिक दलका प्रतिनिधहरुलाई सम्झाउन आग्रह गरेपछि मात्र उसले कुरा बुझ्यो ।
यस घटनाले मलाई साह्रै सशंकित तुल्यायो । साँच्चिकै देशभरि यस्तै मतदाता भएमा मतको सदुपयोग कसरी हुनेहोला ? एकदुई मतको अन्तरले जितेर देशलाई दुरगामी असर पार्ने नीति निर्माणको जिम्मा दिन प्रतिनिधि पठाउने काममा कति ठूलो लापरवाही छ ! लोकतान्त्रिक प्रणालीको कति उपहास भएको छ ! राजनीतिक दलको सुगम ठाउँमा मात्र हानथाप छ । त्यतै केन्द्रित छन् । तर मतको महत्त्व भनेको जुनसुकै व्यक्तिको लागि पनि बराबर छ । गाउँलेको एक मतको महत्व जति मूल्यवान छ, शहरका एकजनाको मतको पनि त्यति नै महत्व छ । तर त्यतातिर कसैको चासो नै छैन । यस लापरवाहीको जिम्मेवार को हो ? के प्रशासन हो ? वा राजनीतिक दल हो ? वा निर्वाचन आयोग हो ? दूरदराजका स्थानीय जनता नै हुन् ? वा निर्वाचनमा खटिएका कर्मचारी हुन् ? यसको जवाफ खोज्ने समय पनि छैन । मतदान केन्द्र बाहिर केही दलका स्वयमसेवकको पनि व्यवस्था भएको देखिएको थियो । तर न तिनीहरुले मतदातालाई मत हाल्ने तरिका सिकाएका छन्, न गाउँका सबै मतदातालाई मत हाल्ने गरी उत्प्रेरित गर्दै मतदानकेन्द्रसम्म ल्याएका छन्, न त मतदाता परिचयपत्र बनाउनको लागि सबै नागरिकलाई उत्प्रेरित गरेका छन् । स्पष्ट के देखियो भने बाहिर स्वयमसेवकको रुपमा खटिने अधिकांश व्यक्तिको मतदान गर्ने अधिकार नै छैन वा तिनीहरुले मतदाता परिचयपत्र नै बनाएका छैनन् । यस्तै मतदान गर्नबाट बञ्चित हुनेको संख्या मतदान केन्द्रबाहिर गाउँघरमा अझै ठूलो होला । मतदाता परिचयपत्रको आधारमा मात्र मतदान गर्न सकिने भएकोले हुनुपर्ने त के थियो भने कम्तीमा पनि ९५ प्रतिशत मतदान हुनुपर्ने हो, तर ७० प्रतिशत मात्र मत खस्दा पनि पहिलेको भन्दा बढी मतदान भयो भनी प्रचार भइरहेको छ । वश् जबर्जस्त विजयको लागि चाहिँदा नचाहिँदा हर्कतहरु भइरहेका छन् ।
मलाई झनै डर के कुरामा लाग्यो भने मैले पो आफ्नो कर्तव्यलाई इमान्दारीपूर्वक पालना गर्न त्यहाँका कर्मचारी वा राजनैतिक दललाई सतर्क गराएँ तर राजनैतिक विचारले लैष भएका कर्मचारीहरु वा राजनैतिक दलका प्रतिनिधि रहेको देशभरिका अन्यत्र केन्द्रहरुमा अमूल्य मतको कति दुरुपयोग हुँदो हो ! केही गर्दा यी सबैको मन मिल्यो भने ! यस्ता मतदाता रहेको ठाउँबाट आउने रिजल्ट कति खतरनाक हुनसक्ला ? मेरो मुटु फुलेर आयो । डरले सर्वाङ्ग काँप्यो ।
निर्वाचन प्रक्रिया जेनतेनले सिध्याइयो । निर्वाचन अवधिभर कुनै अप्रिय घटना भने घटेन । रातारात रुकुमकोट पुगेपछि त्यहाँ एउटा ट्रक फेला पर्यो । त्यही ट्रकमा राँगाहरु कोचेजस्तै मतपेटिका लगायत सैयौँ कर्मचारीहरु कोचियौँ र अत्यन्त बिग्रिइ ठूल्ठूला खाल्डा परेको पहाडी कच्ची बाटोमा ट्रकको डण्डीहरुमा ठोक्किँदै रातको बखत सदरमुकामतिर आउनुपर्दा झांगलझुंगलले जिउ साह्रै दुखिरहेको थियो । शरीरभरि घाउ नै घाउ हुन गएकोले यो दुखाईले अहिले पनि घाउ चहराइरहेको छ ।
भोलिपल्ट दुर्गम ठाउँहरुबाट हेलिकप्टरबाट करोडौँ खर्चमा मतपत्र ओसारियो । त्यसै दिनदेखि मतगणना पनि शुरु भयो । यस्तै अज्ञानता, अविकास र अँध्यारोले निर्लिप्त क्षेत्रको मत परिणामको जोडघटाउको आधारमा जितहारको नतिजा मुलुकभरबाटै आउन थाल्यो र अन्ततः यस जिल्लाको पनि नतिजा घोषणा हुन गयो ।
त्यसको भोलिपल्ट चुनावमा जित्ने र हार्नेहरु सबैबाट ‘प्रशासनको कमीकमजोरीबाट नै मतदान प्रभावित भएको’ भन्दै धमाधम विज्ञप्ति निस्कन थाल्यो ।
अर्को दिन म आफ्नो काम विशेषले जिल्लाका उच्च पदाधिकारीहरुको जमघट रहेको ठाउँमा सहभागी हुन पुगेँ । त्यहाँ निर्वाचनकै विषयलाई लिएर छलफल भइरहेको थियो ।
एकजना पदाधिकारी भन्दै थिए,
“यसपटकको चुनावको रिजल्ट त अनपेक्षित पो रह्यो त !”
अर्को पदाधिकारी भन्दै थिए,
“चुनावमा भाग लिने दलहरुको उनको आफ्नै क्रियाकलापहरुले गर्दा कसैको पक्षमा जित भयो, कसैको हार भयो । यो रिजल्टसंग हाम्रो रत्तिभर पनि स्वार्थ गाँसिएको छैन । पोलिटिकल लिडरहरु उनी आफैलाई चुनाव हुने कुरामा विश्वास थिएन । पोलिटिकल कमिटमेन्ट विक भएको हुँदा ब्यूरोक्र्याटिक बोल्ड कमिटमेन्टकै कारण चुनाव सम्पन्न हुनसकेको हो । चुनावकै दिनमा पनि सैयौँ ठाउँमा रिपोलिङ हुने आँकलन भइरहेको थियो । यही जिल्लामा पनि कम्तिमा ५ केन्द्रभन्दा बढी केन्द्रमा रिपोलिङ हुने अत्यधिक सम्भावना थियो । तर हामीले यस संवेदनशिल जिल्लामा खटिएको कारणले अत्यन्तै सतर्कतापूर्वक चुनावलाई सम्पन्न तुल्याउन दिलोज्यानले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्यो । हाम्रै निरन्तर खटाइले गर्दा नै यस्तो संवेदनशिल जिल्लामा चुनाव सफलतापूर्वक सम्पन्न हुन सकेको हो । तर परिणामतः कुनै दलले पनि हामीलाई जस दिन आवश्यक ठानेनन् ।”
अर्कोले भने, “राजनीतिक दाउपेच उत्कर्षमा पुगेको ठाउँमा प्रशासनले भोग्ने रिजल्ट सँधै यस्तै त हो, आफ्नो कर्तव्य निर्वाहमै दत्तचित्त हुँदाहुँदै अपजस पाउनु बाहेक अरु के नै आश गर्न सकिन्छ र ?”