राहत भर्सेस आहत
मध्यरात अघि नै
निन् निन् निन् निन्
सुमधुर गीत गुनगुनाउँदै
तिम्रा ती सुडौल लामालामा हातले
यी अनिदा गाला मुसार्दै
निरन्तर चुम्बन गर्छ्यौ मेरो ओठमा
म बिर्सन्छु दिनभरिका पीडाहरु
तिम्रो मायाँ मलाई राहत लाग्छ ।
जब देख्नपुग्छु एकाबिहानै
अभिमानले गजधम्म फुलेकी तिमी
तिम्रो मस्त मस्त हिँडाइ मलाई भद्दा लाग्छ
तिम्रो सुस्त सुस्त बोली मलाई दिगमिग लाग्छ
तिम्रा झुसे जीउ नै मलाई सिकसिक लाग्छ ।
प्रतिक्रियाविहिन
मेरो कमजोरीको भरपूर उपयोग गर्दै
तिमीले रातरातभर मेरो रगतसंगै
अनगिन्ति सपना चुसेर पो
आफ्नो पेट भरेर चालढाल बदलिछ्यौ
मेरो ओठको घाउ छाम्छु
तिम्रो स्वार्थ मलाई आहत लाग्छ ।
साँच्चिकै भनौँ ए, लामखुट्टे मैयाँ
तिम्रो राहतभन्दा मेरो आहत
कैयौँ गुणा वेशी लाग्छ !
२०७२।०२।१५