संस्मरण

रहम दिल

“नमस्कार हाकिमसाब् !” अरुभन्दा बेग्लै नरम स्वरले मेरो ध्यान खिच्यो । ढोकामा एकजना तन्नेरी मन्द मुस्कुराहटमा  थिए । मैले टाउको हल्लाएँ । मेरो संकेत बुझेर उनी भित्र पसे र कोठा छेउको सोफामा टुसुक्क बसे ।

म यो जिल्लाका लेखापाल साथीहरु करिबकरिब सबैलाई चिन्छु । उनी तिनीहरुमध्येका लेखापाल होइनन् भनी निश्चित हुन्छु । पेन्सनको काम लिएर पनि थुप्रै सेवाग्राहीहरु आउँछन् यहाँ । प्रायशः उमेर ढल्केकाहरु । यिनको उमेर पेन्सन पकाउने गरी खुम्चिएको देखिँदैन । त्यसो त अठाह्र वर्षभित्रै रिटायर भएका प्रहरी र आर्मीहरु तन्नेरी नै हुन्छन् । उनको पहिरन र हेयर कटिङ स्टायलले त्यो चरित्र पनि देखिँदैन । उनको उमेर हेर्दा अनुहार बिर्सिएका पुराना साथीभाइमध्ये कोही होलान् भन्ने पनि ठान्दिनँ ।

म धेरै सेवाग्राहीहरुबाट घेरिएको छु र उनीहरुको कुरा सुन्दै र काम निष्पादन गरिरहँदा घरिघरि उनीसँग आँखा जुध्न पुग्छन् । उनी अलिकति शर्माएजस्तो भावमा धैर्यसाथ बसिरहेका छन् । अरु सेवाग्राहीहरुलाई त यसरी बस्ने धैर्यता नै कहाँ हुन्छ र । भित्र पस्नेबित्तिकै, “सर, मेरो अरुभन्दा विशेष काम छ, हतार छ, अगाडि मेरै गरिदिनुपर्‍यो”  भन्दै पेलपाल पार्न थालिहाल्छन् ।

निचोड निकाल्छुः यिनी सेवाग्राही होइनन् । सेवाग्राहीलाई त खालि रहेका सोफा वा कुर्सीमा बस्ने पनि धैर्यता नहुँदा मेरो कुर्सीलाई घेरेर उभिइरहेका छन्, छट्पटाइरहेका छन्, एक मिनेटमै काम सकिँदा त्यही एकमिनेट पनि उनीहरुलाई लामो लाग्छ । उनीभन्दा पछि पनि सेवाग्राहीहरु आउँदै जाँदै गरिरहेका छन्, फलस्वरुप उनको पालो मिचिन थालिसकेको छ । उनको पालो मिच्नमा म पनि सहयोगी भएको छु । तैपनि उनी कुनै गुनासोविना चुपचाप बसेकै छन् । म धमाधम काम निप्ट्याइरहँदा हाकिमी गर्वले फुलेको छु । हाकिमी पाराको अभिमानले चुलिएको छु ।

मेरो आँखा पुनः ती व्यक्तिसँग जुध्न पुग्छन् उनी उसरी नै शर्माउँछन् । म हाकिमी पारा देखाइहाल्छुः “काम केही थियो कि ?” मेरो भनाइको अर्थ थियोः ‘काम छैन भने सुटुक्क कोठाबाट निस्किहाल्नुस् ।’

जुम्लाहात जोड्दै अझै नम्रतापूर्वक आफ्नो नाम बताउँछन् । त्यो नामसँग म पूर्वपरिचित नै थिएँ । तर पनि अनुहारसँग परिचित हुन केही अलमलमा परेँ । उनले जब आफ्नो पेशा पनि बताए, ममाथि बिजुलीजस्तै झड्का लाग्यो, यसरी कि नामरुपको धनात्मक चार्ज छँदै थियो, त्यसमा पदरुपको ऋणात्मक तार जोडिन पुग्यो । त्यो झड्काले मेरो हाकिमी अभिमान एकाएक सेलाउन पुग्यो । उनको अहिलेसम्मको धैर्यताको नमूनाले मलाई चिस्याउन थाल्यो । बाँकी सेवाग्राहीलाई एकछिन बाहिरै रोक्न लगाएँ र ‘हाकिम’को कुर्सीबाट ओर्लिएर अर्को कुर्सी तान्दै उनका कुरा सुन्न थालेँ ।

०००

हो, अहिले पुनः त्यही नामले मात्र दोस्रो झड्कामा परेको छु । मेरो एउटा लेखको प्रतिक्रियाको पुछारमा यिनको नाम पनि समाविष्ट छ । त्यो झड्काले मेरा नजर चुस्न थालेको छ । मेरो दिमाग सोस्न थालेको छ । तर प्राणपखेरु उडाउने गरी भने होइन । म पूर्वानुमान निकाल्छुः “यिनले मेरो विरोधमा प्रतिक्रिया दिन सक्दैनन् ।”

तर त्यो लेखमा दोस्रो परिचयको प्रतिक्रिया प्राप्त छैन । अलिकति मन खिन्न जस्तो हुन्छ । अलिकति मन ढुक्क जस्तो पनि हुन्छ । म अनुहार सम्झन्छु । म पूर्वाग्रही अनुमान निकाल्छुः उनले पनि मेरो विरोधमा प्रतिक्रिया दिन सक्दैनन् ।

उपलब्ध प्रतिक्रिया पढ्न म उत्सुक हुन्छु । जब पढ्न थाल्छु, अकस्मात् मेरो आँखामा धुलो पस्छ । आँखा बिझाउन थाल्छ । म अक्षरहरु राम्रोसँग ठम्याउन सक्दिनँ । ल्यापटप एकातिर मिल्काएर हातले आँखा मिन्न थाल्छु ।

०००

आँखामा पसेको धुलोको नालीबेली खोज्न थाल्छु । धुलो बाहिरबाट सानाठूला छिद्र खोज्दै भित्रतिर खनिइरहेको छ । म आफ्नो कोठाबाट उठेर झ्यालसम्म पुग्छु । बाहिरपट्टि चैते हुरीले वितण्डा मच्चाइरहेको छ । बहुलाहा जस्तै परपरसम्मको बोक्न सकिने जति फोहोर विनाप्रयोजन मेरो कोठाबाहिरपट्टि ल्याएर थुपार्दै र खेलाउँदै गरिरहेको छ । छारोधुइरो बेसरी बुङ्बुङ्ति उडाइरहेको छ । त्यतिले नपुगेर रुखका सुकेका र नरम हाँगाहरु भाँचकुच पारिरहेको छ ।

मैले आश्रय लिइरहेको घर एउटा अग्लो पर्खालले घेरिएको छ । त्यो पर्खालभित्रपट्टि केही अग्लाअग्ला रुखहरु ठडिएका छन् । आँगनभरि ती रुखका सुकेका पातहरु खसेर पहिलेदेखि नै खातिएका छन् । सुक्न थालेका र केही कमजोर पातहरु हुरीले नै लुछलाछ पारेर खसालिरहेको छ । बाहिरबाट ल्याएर जम्मा गरेको फोहोरसहितका पतिङ्गर खेलाइरहेको छ हुरीले, यताबाट उता, उताबाट यता । ती पतिङ्गरहरुलाई बोकेर भाग्न खोज्छ हुरी, तर नजिकैको अग्लो पर्खालले मनाही गरिरहेको छ । पूर्व हानिन्छ, पूर्वको पर्खालले छेक्छ । पश्चिम हानिन्छ, पश्चिमकै पर्खालले छेक्छ । मैले एउटै पर्खाललाई दुई भागमा विभक्त भएको कल्पना गर्दैछु ।

त्यो पर्खाल घरको रखबारी गर्न बिर्सेर यतिखेर हुरीकै चर्तिकला हेर्नमा रमाइरहेको छ । बौलाहा हुरी घरि पूर्वतिरको आँगनलाई नाङ्गो बनाइरहेछ घरि पश्चिमतिरको आँगनलाई । पुनः त्यो आफैले तुल्याएको नाङ्गोपनलाई छोपछाप पार्नको लागि उद्यत छ भैरहवाको चैते हुरी ।

हो, भैरहवाको । पराकाष्ठाको पर्याय ठान्छु म भैरहवालाई । यहाँ कहिले उत्पात गर्मी हुन्छ । कहिले शितलहरले सहीनसक्नु कठ्याङ्ग्र्याउँछ । कहिले प्राणघातक हुरी र लु चल्छ, कहिले हावा नै नचलेर उकुसमुकुस तुल्याउँछ । कहिले घनघोर वर्षाले पुरै बस्ती डुबाउँछ, कहिले खडेरी परेर टक्साउँछ यहाँका बस्तीहरुलाई ।

तर सबै ठाउँहरु भैरहवाजस्ता छैनन् ।

म जीवनसँग तुलना गर्छु भैरहवालाई । जीवन सबैको एकनाश छैन । कसैको जीवन नदीजस्तै शान्तसँग सुलुलुलु बगेर महासागरमा बिलिन हुन्छ । कसैको जीवन खहरेजस्तै गडगडाउँदै उर्लिएर नदीसम्म समेत नपुगी बीचमै सुकी सक्छ । कसैको जीवन हुरीजस्तै बेगवान हुँदै देशदेशावर थर्काइ हिँड्छ । कसैको जीवन सुस्त हावाजस्तै चाल मारेर एकैठाउँमा चलिरहन्छ । कसैको जीवन कालो बादलजस्तै मडारिइरहन्छ । कसैको जीवन वर्षादजस्तै वर्षिरहन्छ । कसैको जीवन तातिइरहन्छ । कसैको जिवन कठ्याङ्ग्रिइरहन्छ । कसैको जीवनमा सबथोक आइपर्छ ।

एउटै मान्छेले समयान्तरमा भोगेका जीवनका अवधिहरु पनि एकनाश हुँदैनन् ।

जीवनको कुनै अवधिमा हुरी, बतास, असिना, खडेरी सबै आइपर्छ । कुनै अवधिमा मन्द शितल हावा मात्र चलिरहन्छ । जीवनमा पनि थरिथरि मौसम देखापर्दछ । मौसमअनुसार ६ वटै ऋतुको प्रभाव पर्छ जीवनमा । घाम लाग्छ, पानी पर्छ, न्यानो हुन्छ, शितलहर चल्छ, फेरि न्यानो हुन्छ, हुरी चल्छ, थामिन्छ । लु पनि चल्छ र केही समयमा थामिन्छ पनि ।

कसैको जीवन अवधिमा उग्र ऋतुहरु मात्र घुमिरहन्छन् । कसैको जीवनमा सुस्त ऋतुहरु स्थिर भैरहन्छन् । कसैको जीवनमा उग्र र सुस्त दुवै ऋतुहरु चलिरहन्छन् पालैपालो ।

०००

भर्खरै पसेको कसिङ्गरले गर्दा मेरो आँखा बिझाउन छोडेको छैन । मसँग मात्र के दुश्मनी छ ? यो चैते हुरीको किन हालिदिन्छ, खोजीखोजी मेरै आँखामा कसिङ्गर ? म झ्यालहरु थुन्न खोज्छु, हुरी कापकापबाट पसेर मलाई हैरान पारिरहन्छ । म बाहिर निस्केर हुरीलाई चेतावनी दिन खोज्छु, ऊ भने मेरो जीउमा बाँकी रहेका लुगाहरु उडाएर अझै नङ्ग्याउन खोज्छ । आँखा-मुखमा अरु धुलो ल्याएर कोच्न खोज्छ । मेरा पाइलाहरु धर्मराउन खोज्छ, मलाई लडाउन खोज्छ यो हुरी । मलाई हायलकायल पार्न खोज्छ ।

जीवनका हुरीका रुपहरु पनि एकनाश छैनन् । कहिले लोभका हुरी, कहिले अहंकारका हुरी, कहिले पीडाका हुरी, कहिले दुःखका हुरी । जब हुरीको प्रवेश हुन्छ, स्थिर हुन धौधौ पर्छ मनलाई । सुकेको पतिङ्गर जस्तै न हो मन । ऊ पनि त्यही हुरीको बेगमा बतासिन खोज्छ । धैर्यताका पर्खालहरुलाई हम्मेहम्मे पर्छ मन जोगाउन ।

म आँखा चिमचिम पार्दै ल्यापटप खोलेर पुनः सामाजिक सञ्जालभित्र छिर्छु । त्यहाँ पनि उस्तै ऋतु प्रभाव छ । कोही हुरी चलाइरहेका छन्, कोही लु चलाइरहेका छन् । कोही शितलहर चलाइरहेका छन्, कोही असिना बर्साइ रहेका छन् । कोही झ्याल थुनेर यी सबै दुष्प्रभावहरु आफ्नो बचावट गरिरहेका छन्, कोही बाहिरतिरको असामान्य मौसममा हेलिएर तमाशा देखाइरहेका छन् ।

म पनि यो हुरीबाट अछुतो छैन । हो, यतिखेर मेरो छातिभित्र असन्तोषको हुरी बेगिइरहेको छ । यो असन्तोषले परपरसम्मका थुप्रै फोहोरहरु बटुलेर ल्याइपुर्‍याएको छ । मेरा धैर्यताका रुखका हाँगाहरु लुछिरहेको छ । पात चुँडाइरहेको छ । घरि मेरो मनलाई नाङ्गो बनाइरहेको छ घरि नाङ्गोपन छोपेको नाटक गरिरहेको छ । उसले मेरो मनलाई खेलाउनु खेलाइरहेको छ, उडाउनु उडाइरहेको छ ।

धुलो र फोहोरको सम्मिश्रणले काला काला बादलका धब्बाहरु छातिभरि मडारिन थाल्छन् । अरुका धारणाका धनात्मक र ऋणात्मक चार्जले हृदयभरि बिजुली चम्किरहेको छ । चर्को गड्याङगुडुङसहित चट्याङ परिरहेको छ । अब भावना पग्लिएर शब्दका ठूलाठूला असिनाहरु बर्सिन खोज्छन् ।

पर्खालहरु यो असामान्य विपरीत परिस्थितिसँग कुनै साइनो छैन झैँ स्थिर ठडिइरहेका छन् । रमिता हेर्न मात्र तल्लिन छन् । मलाई झोँक चल्छ यी हातगोडाविहिन गतिहिन अभिशप्त पर्खालहरुको तमाशा देखेर । आठ दिशामा टुक्राउन मिल्ने पर्खाललाई यतिखेर मैले दुई दिशातिर मात्र देखिरहेको छु । एउटा पर्खालको भरमा अर्को अडिएको जस्तो लाग्छ मलाई । एउटाले अर्कोलाई थामेको जस्तै । पूर्वी पर्खाल र पश्चिमी पर्खाल ।

पूर्व र पश्चिमतिर मात्र । म जहाँनेर उभिएको छु त्यहाँदेखिको मेरो निजी दृष्टि मात्र हो यो । किनभने मेरो पूर्वी पर्खाललाई मेरो घरपूर्वपट्टिको छिमेकीले पश्चिमपट्टि देख्छन् । मेरो पश्चिमी पर्खाललाई मेरो घरभन्दा पश्चिमपट्टिको छिमेकीले पूर्वपट्टि देख्छ । अरुहरुले अरु दिशातिर पनि देख्न सक्छन् । यी पर्खालप्रतिको अरु छिमेकीहरुको दृष्टिकोण अझै फरकफरक छ । सबैको दृष्टिकोण उस्तै हुँदैहुँदैन मौसमजस्तै । अर्थात् जीवन जस्तै ।

मैले मेरै सजिलोको लागि ती पर्खालहरुको नाम माओवादी पर्खाल र काँग्रेस पर्खाल राखेको छु । ती पर्खालका संरचनामा अरु थुप्रै अवयव पनि मिसिएको देखेको छु । तर अहिलेको प्रसङ्गको लागि ती गौण छन् ।

हो माओवादी पर्खाल मेरो कोठाको पूर्वतिर छ र त्यसमा ‘जनार्दन’ रङ पोतिएको छ । पश्चिमतिर काँग्रेस पर्खाल खडा छ जसमा ‘गोपाल’ रङ पोतिएको छ । कसिङ्गरले आँखा बिझाइरहेको हुँदा अरु रङहरु म ठम्याउन सकिरहेको छैन यतिखेर । उसो त अरु रङले मलाई उति चिन्दैनन् पनि ।

एउटा सेतो रङ ।

अर्को रातो रङ ।

मन उद्देलित भैरहेको छ । यी दुवै रङप्रति भने मेरो तिव्र वितृष्णा बढिरहेको छ यतिखेर । सेतो रङले मेरो दिशा छेकेको ठानेको छु । रातो रङले पनि मेरो दिशा अलमल्याएको निश्कर्ष निकालेको छु । यही सेतो र रातोको मिश्रित भद्दा कालो रङले समग्र प्रशासन पोतिएको छ । खासमा त्यही मिश्रित रङको धुलो नै छातिभित्र मडारिइरहेको कालो बादलको अंश हो । त्यसले हृदयमा झुल्किन खोज्ने घाम छेकिरहेको छ । अँध्यारो अँध्यारो बनाइरहेको छ मभित्र । मलाई दिशाहिन तुल्याउन जोडबल गरिरहेको छ । त्यो रङले मेरा पाइतालाहरु बारम्बार चिप्ल्याउने खोजिरहन्छ ।

त्यसैले काला बादलहरु मडारिनमा सहायक भैदिन्छु म । चट्याङको रुपमा बज्रिन चाहन्छु । असिनाको रुपमा बर्सिन चाहन्छु । तुफानको रुपमा बेगिन चाहन्छु ।

मैले आफ्नो उद्वेग प्रकट गर्न पात्रको खोजीमा लाग्छु । कथावस्तुको खोजीमा भौँतारिन्छु । खोजीको क्रममा तीनचार वर्ष अघिको कथावस्तु फेला पार्छु, त्यही कथावस्तुसँग सम्बन्धित वास्तविक पात्रहरु छान्छुः खम्बु र हिरालाल ।  त्यसपछि उनीहरुको मुखबाट आफ्ना भावनाहरु ओकल्न खोज्छु । दिनरात नभनी, भोकप्यास नभनी, कर्तव्य नभनी नाताकुटुम्ब नभनी म खनिइरहन्छु आफ्नै धरातल वरपर ।

असिनाका शब्दहरुले ढाकिसकेको छ यो धरातलको सतह । चट्याङरुपि शब्दहरुले चिराचिरा पारेको छु कमजोर धरातल । तुफानरुपी शब्दहरुले लुछलाछ पारिसकेको छु सिर्जनाहरुलाई । अझै काला बादलको करामत सकिएको छैन मभित्र ।

म शब्दहरुमा आगो सल्काउन खोज्छु । उध्याई उध्याई तरवारको धार तुल्याउँछु । केही शब्दहरुलाई सक्दो तीतो बनाउँछु । केही शब्दहरुलाई चर्का र अमिला तुल्याउँछु । यी दुई विपरीत रङहरुलाई रङहिन तुल्याउन । दुईवटाले दुईवटालाई ।

सिर्फ दुईवटा । मेरो हातमा दायाँ र बायाँ दुई हातको मात्र विकल्प छ । तेस्रो हात मसँग छैन । हेर्नको लागि दुई आँखा मात्र विकल्प छन् मसँग । सुन्नको लागि दुई कान मात्र विकल्प छन् र हिड्नको लागि दुई खुट्टा मात्र विकल्प छन् । एउटा सरल रेखामा दुई सीमा मात्र हुन्छन् । सबै भौतिक वस्तुहरु सरल रेखासँग सादृश्य छन् ।

म देब्रे हातले बिहान दिशा धुन्छु र दाहिने हातले ईश्वरको पूजा गर्छु । दिशा धुँदा दाइने हात पनि सँगै हुन्छ र पूजा गर्दा पनि देब्रे हात सँगै बस्दछ । अलग अस्तित्व सम्भव छैन मेरा हातहरुको । मसँग सँगै जन्मिए यी हातहरु र मर्दा पनि सँगै जानेछन् ।

०००

एउटा सीमापछि छातिभित्र मडारिइरहेका कालाकाला धब्बाहरु सकिँदै छन् । नसकिएका बादलहरु सेता र सुनौलो रङमा बदलिइरहेका छन् । मभित्र असन्तोषको हुरीको बेग ओरालो लाग्छ । चट्याङ र असिनाको बल शून्य भैसकेको छ । पीडाको आबेग शान्त हुन लाग्छ । मत्थर हुँदै गएको चित्तले म दोहोर्‍याउँछु आफैले थुपारेका गालीगलौजका शब्दहरु । अस्वाभाविक लाग्छन् । किनकि विपरीत मौसमले आफ्नै छाति चर्किएको छ । आफ्नै दिल धर्किएको छ । जसलाई प्रहार गर्नुपर्ने हो उसैलाई प्रहार नगरी आफैलाई पोल्ने लाग्छन् आफैलाई बिझ्न थाल्छन् यी शब्दहरु ।

म अब ओर्लिँदो असन्तोषसँगै शब्दहरुलाई पनि झार उखेलेजस्तै उखेल्दै फ्याँक्दै गर्न थाल्छु । दालमा मिसिएका ढुङ्गा टिप्न थाल्छु । लुछिएका अवयवहरुलाई मुसार्न थाल्छु । बिलाइसकेको छ असिनाको थुप्रो पनि । उज्यालो भित्रभित्र पस्न थाल्छ ।

जब रात पर्दै जान्छ बाहिर हुरी चल्न थाल्छ । कसिँगर मेरो आँखामा हालिदिन्छ पुनः । म फेरि फालिएका शब्दहरुलाई खेरखार पारेर लेखभित्र हुल्न खोज्छु । जब हुलिसक्छु बल्ल सन्तोष मान्छ मनले । आँखामा परेको कसिँगर आँखाकै आँशुले बगाइदिन्छ । म आनन्दसँग सुत्छु ।

कसरी गाली गर्न सक्छु म रातो रङलाई ? जो RBC को रुपमा नशानशामा बगिरहेको छ । कसरी गाली गर्न सक्छु सेतो रङलाई ? जो WBC को रुपमा जो बाहिरी रोगसँग लडिरहेर मलाई प्रतिरोधात्मक क्षमता उपलब्ध गराइरहेको छ । म समग्रमा यही रातो र सेतोको मिश्रण त हुँ । मेरो जीवन यही रातो र सेतोको मिश्रण त हो ।

मसँग अब गोडमेल गरिसकेका निम्छरा शब्दका ढिक्काहरु मात्र बाँकी छन् । बिलाइसकेका शब्दका शेषहरु छन् । ऋणात्मक वा धनात्मक चार्ज गुमाइसकेका बिचारहरु बाँकी छन् । पुनः सामाजिक सञ्जालमा प्रवेश गर्छु । आवेगका हुरीहरुले मलाई हल्लाइदिन्छन् । वितृष्णाको वर्षाले मेरा शब्दहरुलाई भिजाइदिन्छन् ।

मैले पनि ढिला गर्न हुँदैन । हत्तपत्त अधमरो पारिएको  विरुप लेख नेपाल टकमा पठाइदिन्छु । नेपाल टकले सितिमिति छाप्दैन । जब हुरी मत्थर हुन्छ नछापिदिए पनि हुन्थ्यो जस्तो लाग्छ । जब हुरी बेगबान हुन थाल्छ, मैले फोन गरेरै सोध्छु किन छापिएन त्यो लेख ?

आखिरमा छापियो नै । प्रतिक्रिया रसाउन थाल्यो नेपाल टकको फेसबुक भित्तोमा । मैले पनि शेयर गरिदिएँ आफ्नै लेख र प्रतिक्रियाको पर्खाइमा कुरेर बसेँ । उता अनलाइन पत्रिकामा सत्रहजार भ्यूज नाघिरहेको थियो । हजार शेयरतर्फ उक्लिरहेको थियो । मेरो फेसबुक भित्तोमा कुनै प्रतिक्रिया रसाउने छाँट देखिएन । ठानेँ यो लेखले कसैको नजर तानेन वा कसैलाई छुन सकेन ।

मेरा नजरहरु बाहिरपट्टिका पर्खालमा गएर ठोक्किए । किन गुनासो गरेन मलाई पूर्वी पर्खालले ? किन  हप्काएन मलाई पश्चिमी पर्खालले ? ती पर्खालहरुउपर पोतिएको रङकै विरोधमा व्यक्त गरिएको भाव त बाँकी नै थियो । पर्खाल पर्खाल नै हुन् । नजर त के बन्जर बज्रिए पनि निष्प्रभावी बनिदिन्छन् ।

पर्खालमा पोतिएको रङमा मुछिन्छन् मेरा नजर । रङमा के छ र । हुरीले पनि बिगारिदिनसक्छ । घामले उडाइदिन सक्छ । झरीले बगाइदिन सक्छ ।

मैले धेरै पटक गाली गरेको छु रातो रङलाई । कहिले ब्लडप्रेसर बढाइदियो भन्दै, कहिले ब्लडप्रेसर घटाइदियो भन्दै । रगत मुटुलाई केन्द्रबिन्दु बनाएर शरीरभरि चलिरहेको छ । मैले महत्त्व नै बुझेको छैन सेतो रङको, जसले पलपलमा मेरो प्राणको रक्षा गर्न भूमिका निभाइरहेको छ । पर्खालमा पोतिएका रातो र सेतो रङ दुवै मेरो आवेगप्रति निष्प्रभावी छन् यतिखेर । अतः मेरा नजरहरु चाहेर पनि अलग हुन सकिरहेका छैनन् पर्खालमा पोतिएका रङहरुबाट ।

प्रतिक्रियाहरु त बग्रेल्ति थिए नि ! किन नहुनु ?

नेपालटकको फेसबुक अकाउन्ट खोलेर हेरेँ । गाली गर्ने र ताली बजाउनेहरुको बाक्लो उपस्थिति थियो त्यहाँ । उनीहरुले मजासँग गाली गरे मेरो भावनालाई । उनीहरुको नजरमा कस्तो देखियोहोला मेरो भावनाको रङ ? रातो ? वा सेतो ? वा कालो ? तर ती गाली गर्नेहरु पर्खालबाहिरका पात्रहरु थिए । पर्खालबाहिर त के छ के छैन म किन ध्यान दिऊँ । न मैले नै पर्खालबाहिरको वातावरणलाई चिन्छु न त उसले नै मलाई चिन्छ । अति नै भयो भने पनि मेरो घर नजिकै ठडिएका यी दुई पर्खालहरु सुरक्षा दिन पर्याप्त छन् मलाई ।

तर एउटा कुरा किन बुझ्दैन मान्छे । गोपालजी माओवादीमा प्रवेश गरेमा कतिको जहाज डुब्छ ? जनार्दन काँग्रेसमा प्रवेश गरे कतिको जहाज डुब्छ ? संसार उल्टिन्छ ? पश्चिमबाट घाम उदाउँछ ? संसार उल्टियो वा पश्चिमबाट घाम उदाए पनि के हुन्छ ? ध्वस्त हुन्छ यो श्रृष्टि ?

दुवैले मझधारको मार्ग समातेमा नै दीगो शान्ति हुने होइन र ? दुवै एकअर्काको भावनामा छिर्न सके उनीहरुप्रति आशातित भावनाहरु अझ सुन्दर हुने होइनन् र ?

संयुक्त राष्ट्र संघले विकासका विभिन्न मोडेलको परीक्षण गरिसकेपश्चात् सस्टेनेबल डेभलपमेन्ट मोडेल परीक्षण गर्दैछ । यसको सफलता वा असफलतापछि पनुः अर्को मोडेल सिफारिश गर्ला । ऊ अब फेरि मिलेनियम डेभलपमेन्ट गोलतिर कदापि फर्किँदैन । समस्या र समाधानलाई अलगअलग चिरा पारेर होइन जोडेर हेर्नुपर्छ भन्ने नै सबै मोडेलको निश्कर्ष हुनुपर्छ ।

एसेम्बल्ड प्रविधिले रोबोट जन्माइरहेको छ । सूचना प्रविधिले संसारलाई नै हत्केलामा खुम्च्याइदिएको छ । जेनेटिक इन्जिनियरिङको युगको उत्कर्ष चलिरहेछ । कुनै दुई वा दुईभन्दा बढी जीवको उत्तम जिनहरु लिएर तेस्रो अझ सक्षम जीवनको उत्पत्ति गर्न सकिन्छ । जिनहरुबाट रोगप्रतिरोधी अर्थात दीर्घजीवी अर्को जीव सिर्जना गर्न सकिन्छ । कहाँ बाँकी छ र हजारौँहजार बिचार फलाउन सकिने बाँझो जमिन मान्छेहरुको खोपडीमा अब ?

भावना त्योभन्दा धेरै माथिको कुरा हो । भावनालाई न वर्गीकृत गर्न सकिन्छ, न त सीमान्तकृत गर्न । राम, कृष्ण, पैगम्बर, क्राइस्ट, बुद्ध जसले पनि मानव कल्याणको लागि संघर्ष गरेकोले महामानव बनेका हुन्, ईश्वर कहलिएका हुन् । उनीहरुको देनमा सारभूत अन्तर छैन । अन्तर छ त केवल ग्रहण गर्नेहरुको दृष्टिकोणमा मात्र ।

०००

अब मेरो आँखाको कसिङ्गर आँशुले बगाइसकेको छ । छ्याङ्ग फाटिसकेको छ मेरो नजरभित्रको आकाश । बादलका एउटा रेसा पनि बाँकी छैन त्यहाँ । न धुलोमैलो छ, न आँशु नै । जताकतै नीलोको मात्र साम्राज्य छ ।

म मेरो लेखउपर प्रतिक्रिया दिने मान्छेको नाम अब प्रष्ट हुँदै गएको देख्छुः

खडक डाँगी ।

नेबिसंघ, केन्द्रीय उपाध्यक्ष ।

म हाकिमको भूमिका निमाइरहेको बखत यही नाम उच्चारण गरेर परिचित गराएका थिए उनले आफूलाई । हो यही पेशा बताएका थिए उनले, एकदमै अनुशासित र नम्र भाषामा । उनको प्रस्तुतिले मेरो शिर श्रद्धाले झुकेको थियो । म नतमस्तक भएको थिएँ, उनको मानवोचित नम्र व्यवहारमा । मैले त्यसबेला यस्तो दिल भएका मान्छेलाई के उपमा दिन सकिन्छ भनी उपयुक्त शब्दको खोजीमा भौँतारिएको थिएँ  त्यतिखेर ।

०००

मैले उनले मेरो लेखमा दिएको प्रतिक्रिया उत्सुकतापूर्वक पढ्न थालेँ । मलाई कुनै धुकचुक थिएन उनको प्रतिक्रिया पढ्न । उनको भावनाको भौतिक नेतृत्व जसलाई मैले तथानाम गाली गरेको छु । तिक्ष्ण आलोचना र व्यङ्ग्य पस्केको छु । त्यसको प्रतिक्रियास्वरुप एक शब्द पनि बोल्न चाहेको भेट्टाइनँ ।

बरु मेरो पात्रलाई सभ्य भाषामा गाली गरिदिए । मेरो पात्रलाई गाली गर्नु भनेको घुमाउरो भाषामा मलाई नै गाली गर्नु हो । म बुझ्नसक्छु त्यतिसम्म त ।

उनको प्रतिक्रिया मनन गर्दै गएँ । उनले चाकडीका रुपहरु फेरिइरहेको कुरा झिके । चाकडीका श्रोत फेरिइरहेको कुरा झिके । चाकडीका साधनहरु फेरिएको कुरा झिके । कुरा झिक्दाझिक्दै टुङ्ग्याइदिए आफ्नो प्रतिक्रियाः समयले दोषीहरुलाई सजाय दिनेछ भन्ने कामना गर्दै ।

असम्भव कुराहरु सम्भव भैदिन्छन् समयको चापसँगै । सामना गर्दागर्दै कहिले स्विकार गर्नुपर्ने दिन पनि आउँछन् । समग्र मानव कल्याणको निम्ति असम्भवजस्तो लाग्ने अपरिहार्य कुरा स्विकार गर्ने दिन आउनु पनि पर्छ ।

समयका सुक्ष्मकणहरु हावासँगै उडिरहन्छन् । पानीसँग बगिरहन्छन् । कहिल्यै झरेर फर्कँदैनन् तिनीहरु । रुप, श्रोत र साधनहरु समयले फेरिरहन्छ । समयको हावाले चेतनाको परिभाषा पनि फेरिरहन्छ । जीवन सबैको एकनाश हुँदैन । जीवनका अवधिहरु पनि एकनाश रहँदैनन् ।

तसर्थ मनमा हुरी चलिरहेको बखत आलोचना गर्न पुगिन्छ । हुरी थामिएको बखत प्रशंशा गर्न पनि सकिन्छ । प्रशंशालाई चाकडीको पर्खालभित्र कैद गर्दा र आलोचनालाई विरोधीको रुपमा मात्र परिभाषित गर्दा पनि त युक्तिसँगत नहोला नि ? होइन र ?

०००

खडकजी, मैले तपाईँलाई त्यो शिष्ट प्रतिक्रियाको बदला के उपहार दिऊँ ?

पख्नुस् है त, सम्झनाको कुटिरो खोतलखातल पारी हेर्छु । मलाई दिइएका उपहारहरु अधिकाँश बासी भैसकेका रहेछन् । त्यहाँ एउटा उपहार भने अद्यापि ताजा नै रहेछ । मेरो भैरहवा बसाईबाट विदाइ हुँदैगर्दा ॐ शान्ति पथिकहरुबाट प्रदत्त उपहार । रहमदिल ।

समय तथा चेतनाको चापले पनि नबदलिने उपहार । कहिल्यै फेरिँदैन यसको रुप । जुन मैले तपाईँलाई पनि उपहार टक्राउन चाहेँ । त्यसको रङ रातो, सेतो वा निलोभन्दा विल्कुल फरक छ । अर्थात् रङबिहिन । तपाईँले स्विकार्नुभयो भने जीवनयात्राका मोडहरुमा काम आउन सक्छ । यो उपयोग गरेर कहिले पनि सकिँदैन । यसमा कुनै पनि धर्म, वर्ण तथा वर्गको निजी स्वामित्व रहँदैन ।

रहमदिल सायद हिन्दी शब्द हुनुपर्छ । तर यी अक्षरहरु हिन्दी मात्र होइनन् । भाव पनि हिन्दी हुन सक्दैन । अक्षर र भावना पराइ कहिले पनि हुँदैनन् । अक्षर र भावनाको कुनै स्थायी रङ पनि हुँदैन ।

०००

२०७५ चैत्र २१, सल्यान

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *