रघुजीलाई पनि नचिन्ने कस्तो पुरनजी !!
❤❤
चिन्नुपर्नेले चिनिदियो भने चिनी दिएजत्तिकै गुलियो हुन्छ । नचिन्नेले चिनेन भने कागलाई चिन्नो फलेजस्तै हुन्छ । तर नचिन्नेले चिन्यो भने त्योजत्तिको किस्मत अर्को हुँदैन र चिन्नैपर्नेले चिनेन भने त्योभन्दा विस्मत अर्को हुँदैन ।
साहित्यकार हरिप्रसाद भण्डारीले भुँडीपुराणका केशव पराजुलीलाई चिनाइदिएर ठुलो गुण लगाएका छन् । बागबजारमा बरालिँदा केशव पराजुलीले लुकीलुकी आफैलाई हेरे कि जस्तो लाग्छ र खुट्टा स्वचालित रूपमा पद्मकन्या कलेजको दक्षिणपट्टिको गल्लीतिर मोडिँदै भुँडीपुराणतिर छिरिहाल्छन् । भुँडीपुराणमा पुग्दा केशव पराजुलीसँगै भेट भयो भने त झन् चिन्नैपर्नेलाई चिन्न पाइएछ भन्ने गर्वले एक मुठीको छाती चार हातजति विस्तारित भइदिन्छ ।
भुँडीपुराणमा पुग्नुका अनेकौँ फाइदाहरू छन् । पहिलो त त्यहाँ दिनहुँ पुस्तक प्रदर्शनी चलिरहन्छ । पुस्तक किनमेल गर्नेको भिडभाडमा मिसिन पाइन्छ । दोस्रो बजारमा नयाँ पुस्तक के छापियो भन्ने कुरा भुँडीपुराणमा पुगे पनि पत्तो लागिहाल्छ । अर्को महत्त्वपूर्ण कुरा त्यहाँ आउनेहरू आधाआधी पुस्तक व्यापारीहरू हुन्छन् भने आधाआधी पुस्तक प्रकाशनार्थीहरू । पुस्तक प्रकाशनार्थीमध्ये पनि कोही एक सयौँ कृति प्रकाशनको प्रतिष्पर्धामा उत्रेकाहरू हुन्छन् भने कोही पहिलो कृति प्रकाशनको लागि सोधखोज गर्दै पुगेकाहरू ।
केशवले को विशिष्ट र को कनिष्ट साहित्यकार भनी कहिल्यै छुट्याएको थाहा छैन । उनको कामै के हुन्छ भने कसैलाई यो ऊ नभनी उपस्थित लेखकहरूबिच एउटालाई अर्कोसित परिचित गराइहाल्ने । उनले भनी हाल्छन् उहाँ फलानो फलानो कृतिका फलानो कृतिकार हुनुहुन्छ नि । तपाईँले त चिन्नैपर्ने हो । चिन्नुभएन र ?
चिन्नुभएन र ? भन्ने प्रश्नै यति बनिबनाउ र जब्बर हुन्छ कि किन नचिन्नू भन्ने जवाफ त्यहाँ उपस्थित जोकोही लेखकको मुखारविन्दबाट फुस्किहाल्छ ।
मान्छे चिनाउने काममा मलाई गुण लगाउने अर्का महामना कमल ढकाल हुन् । उनले लोकेन्द्रबहादुर चन्दको ‘अपराजिता’ उपन्यासको समीक्षकको रूपमा र नन्दकिशोर पुनको ‘यात्रा जिन्दगी’ संस्मरणसङ्ग्रहको समीक्षकको रूपमा विशाल जनमानसको अगाडि उभ्याइदिए । त्यो अवसर प्राप्त गर्दा मेरो ५ फुटको उचाइ ५० फुटसम्म अग्लिएको ठानेको थिएँ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र बहालवाला प्रधानमन्त्री प्रचण्डकै समकक्षमा रहेर फोटो खिचाउन पाउँदा मन सम्हालिनसक्नु भएको थियो ।
अलिकति मन खिस्रिक्क त त्यो मन्चमै भइसकेको थियो । पहिलो कार्यक्रममा त मुस्कानको जवाफ मुस्कानले नै तिर्ने अवसर मिलेको थियो तर दोस्रो कार्यक्रममा त प्युँसातुल्य पनि परिचय मिलेन । त्यहाँ एकजना लेखक र उसका प्रमुख तथा विशिष्ट अतिथिले कृति समीक्षकलाई नचिन्ने यस्तो पनि कुनै लोकमा सम्भव छ र ? भनी ताजुब लागेको थियो । चिन्नै पर्नेले नचिनेजस्तो हृदयतलमा महाविस्मत सिर्जना भएको थियो । पछि समाचारले झन् कतै छेउपुच्छरमै ठाउँ नदिँदा बल्ल आफ्नो वास्तविक साइजको अनुभूति दिलाइदिएको थियो । यसै नचिन्ने, उसै नचिन्ने । फूलबुट्टा भरेर समीक्षा गरिदिएकोमा औधी पश्चात्ताप भएको थियो ।
********************
आज भुँडीपुराण प्रकाशनमा पस्ने खसखसले अर्का सुपरिचित राजनेतासँग जम्काभेट गराइदियो । मैले पालैसँग त्यहाँ उपस्थित सबैलाई नमस्कार टक्र्याउँदा एकजना रघुजी पन्तजस्तै मान्छेले झुक्किएँ । म कति असमन्जसमा परेँ भने रघुजी पन्त त एक घेरा उनका अङ्गरक्षकहरू र अर्को घेरा उनका कार्यकर्ताहरूबाट घेरिएर आउनुपर्ने । दुईतीनजना व्यक्तिसँग आउने यिनी रघुजी पक्कै होइनन् होला । कुनै विशिष्ट साहित्यकार पो हुन् कि भनी कृति र कृतिकारको नाम सम्झँदै जान थालेँ ।
मेरो अन्टसन्टको अवस्था बुझेर केशव पराजुलीले चिनापर्ची गराइदिई हालेः चिन्नुभएन र पूर्ण सर ? उहाँ रघुजी पन्त सर के ।
मैले हत्तपत्त रघु सरलाई अर्कोचोटि नमस्कार टक्र्याएँ ।
अनि मलाई औँल्याउँदै केशवजीले रघुजीसँग पनि भनिहालेः उहाँ पूर्णजी । रुकुमेली साहित्यकार । राम्रो लेख्नुहुन्छ ।
सुपरिचित राष्ट्रिय राजनेताको अगाडि केशवजीले गराइदिएको परिचयले मेरो कद ह्वात्तै ५० फिट अग्लिन पुग्यो । एकजना रघुजीले मात्र आफूलाई चिने पनि लाखौँजना पाठकहरूले चिने बराबर हो भन्ने ठम्याउँदै म गजक्क परेँ ।
तर रघुजीले मेरो नामतिर ध्यानै नदिएजस्तो लाग्यो । उनी मप्रति बेपरवाह भइदिएपछि म उत्तिखेरै आफ्नै वास्तविक साइजमा ओर्लिएँ । उनले आफूलाई चिन्नुले पो ठुलो फरक पार्दछ र रघुजीलाई त एउटा पूर्णले होइन २/४ लाख पुरनहरूले नचिन्दैमा केही फरक पर्दैन क्यारे ।
मैले आफ्नै मनलाई सम्झाएँ । मेरो नाम पूर्ण भए पनि आफूजत्तिको अपूर्ण यो दुनियामा अर्को कोही जन्मिएको छैन होला । मेरो वास्तविक साइजलाई अवास्तविक उचाइमा तन्काएर मलाई बलजफ्ती पूर्ण बनाउन लागीपरेका महामनाहरूको कारणले नै म पूर्ण नामले गजक्किन पाएको छु । हैन भने मभन्दा त जोखे र कालगिरेहरूलाई नै मान्छेले बढी चिन्छन् ।
*********************
भुँडीपुराणमा छिर्नुका अरू पनि अनेकौँ फाइदाहरू छन् । कृति र लेखकहरूको अनुहारको साइज हेर्न पाइन्छ । बागबजारको ओहोरदोहोरले आँतमुख सुकेको बेला शुद्ध पानीले घाँटी सित्याउने र निशुल्क स्वादिलो चियाले जिब्रो मिठ्याउन पाइने मात्र होइन बजारमा बहुमूल्य ठानिएका पुस्तकहरू सित्तैमा फुत्क्याउन पनि पाइन्छ ।