योगमा लगन, मगन, अगन र बिघ्न
- ब्रह्माकुमार जगदीश चन्द्र
शिव बाबाबाट हार्दिक अर्थात मनको गहिराइको सच्चा प्रेम छिपाएर पनि छिपाउन सकिँदैन । यो प्रेम उसको व्यक्तित्वमा, मुखमा, नयनमा, बोलीमा, चालमा निश्चय नै झल्किन्छ । किनकि जो खुमारी छ, जसलाई नशा छ, जसको मौलाइ मस्ती छ, नारायणी नशा भनिन्छ वा ईश्वरीय खुमारी भनिन्छ, निश्चय नै झल्किन्छ । यस नशामा लगन, मगन, अगन र बिघ्न यी चार चिजको खेल हुन्छ ।
पहिलो हो, लगन । लौकिक दुनियाँमा मगनी लाउँदा, विवाह गर्दा पहिलो प्रक्रिया लगन नै हुन्छ । जब हामीलाई थाहा हुन्छ कि यो हाम्रो भविष्यको नाता हो, दुवैको मनबाट लगन जुराइन्छ । यहाँ पनि आत्माको परमात्मासंग परिचय मिलेकोले आत्मारुपी दुलहीको परमात्मारुपी दुलाहासंग लगनमा भेट हुन्छ । लगन सबभन्दा पहिलो चिज हो । जसमा जति लगन हुन्छ, उतिनै योगमा कुशल हुन्छ, योगमा उसको राम्रो स्थिति हुन्छ । भक्तिमार्गमा तपाईँले देख्नुभएकै छ कि कति भक्तहरु परमात्मा कहाँ छन् ? भन्दै परमात्मालाई खोज्दछन् । उनीहरुमा परमात्मालाई पत्ता लगाई छाड्ने धुन सवार भएको हुन्छ, लगन लगाइराखेका हुन्छन् । कतिले घरबार छाडेर सन्यास लिन्छन्, कतिले अरु केही गर्छन् । लगन त उनीहरुमा पनि हुन्छ, त्यसैले त उनीहरुले यत्रो त्याग गर्दछन्, यति व्रत बस्दछन्, अनेक कठिनाइहरुको सामना गर्दछन् । तर ज्ञान मार्गको लगन अलग कुरा हो । यसमा हामी ज्ञान मिलेपछि लगनमा मगन भइहाल्छौँ । शिव बाबाको परिचय मिल्ने भएकोले हाम्रो मन उनैमा मग्न हुन्छ । लगनले मात्र काम सफल हुँदैन, लगनमा मगन हुनु जरुरी छ । मन उसमा रमाइरहेको होस्, याद निरन्तर होस्, उनी नै हाम्रा प्रेमका केन्द्रबिन्दू होउन्, हाम्रो मनको एकाग्रत उनमै रहोस्, यही हो लगनमा मगन हुनु भनेको । यसैले तपाईँले देख्नुहुन्छ कि दुनियाँमा योगशास्त्रका कैयौँ पुस्तकहरु लेखिएका छन्, तिनमा योगशास्त्रका अलग अलग व्याख्याहरु लेखिएका छन् ।
बाबाले योगको व्याख्या यति सरल तरिकाबाट बताउनुभएको छ कि लगनमा मगन हुनु नै योग हो । यति सरल शब्दमा, यति गहिराइमा कसैले पनि योगको व्याख्या गरेका छैनन् । लगन भएन भने मगन पनि हुन सक्दैन । लगन पनि चाहियो र मगन पनि चाहियो, अनि मात्र योग भनिन्छ । मगनका पनि विभिन्न स्टेजहरु छन् । कति यस्ता कार्य छन् कि गर्ने समयमा शिव बाबामा पूरै रीतिले बुद्धि लगाउन सकिँदैन । काममा ध्यान जाने गर्छ, बाबामा ध्यान केही हल्का हुन पुग्छ । अतः यसको अर्थ मगनको स्टेज पनि कम र बढी हुन्छ ।
हाम्रो मगनको स्थिति यस्तो होस् कि योग अग्नि प्रज्वलित होओस् । योगलाई अग्नि पनि भनिन्छ । यसले हाम्रो विकर्म दग्ध तुल्याउँछ । यसले आत्मामा भएको फोहोरचिज (मुलम्मा) जो पुरानो संस्कारको मिश्रण छ, त्यसलाई पगालेर आत्माबाट अलग बनाउँछ । आत्मा आफ्नो मूल चमक प्रारम्भिक ज्योतिको स्टेज प्राप्त गर्दछ । मगनको स्टेज पनि यस्तै हुनुपर्छ । कैयौँ पटक यस्तो भान दिन्छ कि सूर्यको किरण लेन्सबाट गुज्रिरहेको छ, उसको अगाडि कुनै कपास वा कागज राखिदिने हो भने त्यसमा आगो नै लाग्छ, यति एकाग्रता हुनुपर्दछ । यस प्रकार हाम्रो लगन, हाम्रो मगनको स्थितिले अग्निको रुप लिएझैँ हुनुपर्छ । एकदमै शक्तिशाली अनुभव हुनु पर्दछ । यस्तो अनुभव तपाईँले गरिसक्नुभएको छ होला । जब हाम्रो योगको स्थिति राम्रो भयो भने हामीलाई लाग्दछ कि हामी लाइट र माइटको एक गोला समान अनुभूति हुन्छ र हाम्रो लाइट र माइट हामीबाट निक्लिएर सारा विश्वमा गइरहेको छ । यतिखेर हामीलाई शरीरको भान र हाम्रो आसपासको जो संसार छ उसको भान नै हुँदैन, जसलाई बिज रुप स्थिति भनिन्छ । यस बिज रुप स्थितिमा लगन, मगन र अगन सबै हुन्छ ।
तर योग गर्ने समयमा बिघ्न पनि पर्छ । मायाले बिघ्न ल्याउँछ । कथामा सुनाइन्छ कि जब यज्ञ गरिन्थ्यो त्यसबेला असुर आएर विघ्न पार्दथ्यो । असुर के हो ? चित्रकारले देखाउँछन् कि सिंग वाला भयंकर शरीर भएको, के त्यही हो ? होइन । हाम्रो पुरानो संस्कार, जीवनका उतार-चढाव, परीक्षाहरु, परिस्थितिहरु जो आउँछन्, तिनीहरुले भयंकर रुप धारण गर्दछन्, यिनीहरु नै असुर हुन् । कुनै बेला हाम्रो व्यापार व्यवसायमा लाभ हुन्छ, कहिले हानी हुन्छ, कहिले जुन मित्रहरुलाई आफ्नो ठानेका हुन्छौँ आइपरेको बेला साथ छोडिदन्छन् । मण्टो बङ्ग्याउँछन् र हामी उदास तथा दुःखी हुन्छौँ, अनि लगन, मगन र अगनमा बिघ्न आइपर्छ । हामीहरु संधै बाबाको जुन मुरली सुन्छौँ, त्यसमा ती बिघ्नहरुलाई समाप्त गर्ने उपायहरु हुन्छन् । बाबाले बताउनुभएको नियमहरु र श्रीमतमा चलेपछि माया आउँदै आउँदैन । यो हाम्रो लागि ढाल हो, कवच हो । यसले हाम्रो सुरक्षा गर्दछ ।
भक्तिमार्गमा कुनै पण्डित अथवा योगीले मंत्र दिन्छन् र ‘यसलाई जप गर, यसलाई बाँध, तिम्रो रक्षा हुनेछ तिम्रो विघ्न टार्नेछ’ भन्दछन् । उनीहरुले स्थूल चिज दिन्छन्, तर बाबाले हामीलाई मनमना भवः को मंत्र दिनुभएको छ । हाम्रो मन परमात्मा लागिरहेको छ र याद निरन्तर छ भने विघ्न आउँदैनन् । आए भने पनि ‘बाबा, बाबा’ भनिराख्ने हो भने माया भागिहाल्छ, विघ्न टर्नेछ । यो एकदमै आश्चर्यको कुरा हो । किनकि मायामाथि जित पाउनको लागि कैयौँ मान्छेहरुले के के मात्र गरेनन् । आखिर उनीहरुले यही भने कि माया दुस्तर छ, माया दुर्जेय छ । भक्तिमा कति ठूला ठूला भक्त भएका छन्, भक्तशिरोमणि नाम राखे, तर मायाबाट परास्त भइ गए । उनीहरु भगवानसंग पुकार्दछन्, ‘हे प्रभू हामी हजुरको शरणमा आउँछौँ, हामीलाई मायामाथि विजय प्राप्त गराउनुहोस् ।’ तर बाबाले भन्नुहुन्छ कि केही पुकार्नुपर्दैन, केही त्याग्नु पर्दैन, खाली मनमनै ‘बाबा, बाबा’ भनीराख त माया भागिहाल्छ । यी विघ्न यति सजिलैसंग निकाल्न सकिन्छ कि जसरी नौनीबाट रौँ निकाल्न सकिन्छ । तर यदि शिशामा वा सुकिसकेको सिमेन्टमा वा ढुङ्गामा रौँ मिसियो भने समाप्त गर्न वा निकाल्न एकदमै कठिन हुन सक्छ । तर नौनीमा रौँ मिसिएमा सजिलैसित निकाल्न सकिन्छ । बाबा भन्नुहुन्छ, बच्चाहरु हो, ‘बाबा, बाबा’ भनिराख त कुनै पनि विघ्न सजिलैसित हट्नेछ । यो कुराको अनुभव तपाईँहरुलाई कुनै न कुनै रुपमा भएकै हुनुपर्दछ । तपाईँले आफ्नो अनुभवको साथ कसैलाई यो ईश्वरीय ज्ञान सुनाउनुभयो भने उसलाई लाग्नेछ कि यो ज्ञान उच्च छ, श्रेष्ठ छ र जीवनमा धारण गर्न लायक छ । यसबाट अतीन्द्रिय सुख प्राप्त हुनेछ ।
(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)