मुसाकी चल्ली
मेरो एकजना भाइ कृषितर्फको डिग्री सकेर भर्खर घर फर्केको थियो । ऊ र म एकदिन खेत जोत्न हिड्यौँ । उसले बाटोतर्फको खेत जोत्न थाल्यो । मैले उसको भन्दा माथिपट्टिको खेत जोत्न थालेँ । जेभएपनि भाइ खेत जोत्ने काममा काँचो नै ठानी मैले उसलाई अर्ति दिएँ, “भाइ, हाम्रो प्रमुख उद्देश्य भनेको हामीले जोत्न थालेका एकएक पाटा खेत आज नै जोतिसक्नु हो । तसर्थ कतै राँटा नराखेर समयमै खेत जोतिसक्नु पर्छ ।” उसले जान्ने कहलाउँदै भन्यो, “दाइ, यो कुरामा मैले डिग्री समेत पास गरेको छु तिमीले सिकाइराख्नु पर्दैन । हेरी राख, तिमीभन्दा छिटो र राम्रो तरिकाले म नै खेत जोतिसक्नेछु ।” उसको जवाफले म अत्यन्तै खुशी भएँ ।
उसले जोत्दै गयो र उसले जानेका कुरा पनि सुनाउँदै गयो, “दाइ, यस खेतमा कतै चिसो कतै रुखो छ, बराबर सिँचाइ गर्नुपर्ने । झार धेरै रहेछ, हर्बिसाइट पनि राख्नुपर्छ । ओहो ! कमिला पनि कति थुप्रै ! इन्सेक्टीसाइट पनि राख्नुपर्ने । कीराफट्याङ्ग्रा पनि उत्तिकै रहेछन् । तिमीहरुले वैज्ञानिक तरिकाले खेती गर्न जानेका रहेनछौ कि क्या हो ? कहिल्यै मल र कीटनाशक औषधि नै नराखेजस्तो के हो यस्तो ?”
“ए, दाइ ! हेर न मुसाले त खोरै लगाएको पो रहेछ त ! ऊ! ऊ!! हेर न, तीनवटा त अर्कैको खेतमा कुदी सके । छवटा यही खेतको अर्को दुलामा पसे । हेर त दाइ, एउटा मुसाको चल्लो त मैले पक्डिएँ । मारिदिऊँ कि के गरुँ ?”
उसको एकोहोरो अनावश्यक फतफत सुनी म दिक्क भैसकेको थिएँ । मैले उसलाई हियाउँदै जवाफ दिएँ, “तैँले जे पढेको थिइस्, त्यही गर् न ! मैले आधा खेत जोतिसक्दा तैँले जाबो चार सियो पनि जोतेको छैनस् । खेत जोत्न आएकाले यस्ता झिनामसिना कुरामा ध्यान दिएर हुन्छ कतै ? छिटो गर् ।”
उसले जवाफ दियो, “मुसालाई त मार्नुपर्छ भनी पढेको थिएँ दाइ, मुसाका चल्लालाई के गर्नुपर्छ ? त्यो भने मैले भुलेँ ।”
“ए, बाबा ! उसो भए तेरा गुरुहरुलाई सोध् ।”
उसले फोन गरेर आफ्ना साथीभाइहरु, गुरुहरु र कृषिका सबै विद्वानहरुलाई ‘यस्तो अवस्थामा के गर्ने ?’ भनी सोध्यो । सायद सबैबाट ‘मुसा र मुसाका चल्ला भनेका एउटै हुन्, तसर्थ मारिदिनुपर्छ’ भन्ने जवाफ पायोहोला अनि जोत्नसोत्न छोडेर बाटोमा लिएर मार्न तम्सियो ।
एउटा बटुवाले उसलाई रोक्दै भन्यो, “ए, ए, त्यस्सै प्राणीलाई कहाँ मार्न पाइन्छ ? पख ! पख ! के रहेछ म हेरुँ ।” उसले त्यो मुसाका चल्लालाई ओल्टाइपल्टाइ हेर्यो र निश्कर्ष निकाल्यो, “यो त मुसाको चल्ला नभै मुसाकी चल्ली पो रहिछ । तसर्थ यसलाई मार्न पाइँदैन । कानूनमा के लेखेको छ, थाहा छ ? कुनै पनि स्त्री चौपायालाई मारेमा दश वर्ष जेल र दश लाख रुपैंया जरिवाना हुन्छ ।”
यो कुरा सुनी मेरो भाइ तर्सियो ।
त्यो बटुवा आफ्नो बाटोतिर लाग्यो । कानूनका कुरामा मेरो भाइ झनै जानिफकार थियो । तसर्थ उसले यो कुरा पत्यायो । उसले मतिर हेर्यो । मैले ज्यादै रिसाएको जस्तो गरी आँखा तरेर हेरिदिएँ । अत: मलाई नहेरी एकछिन घोरियो, अनि एउटा गतिलो उपाय पत्ता लगाए जस्तो गरी एकदुई पाटा तल पुगी मुसाकी चल्लीलाई त्यहीँ छोडेर आयो । मैले खेत जोत्न भ्याइसकेको थिएँ । उसले भने त्यही चारपाँच सियोभन्दा बढी जोत्न भ्याएन । समय पनि घर्किसकेको थियो । अनि गोरु फुकाएर म कहाँ आयो र मैले केही भन्नुभन्दा पहिल्यै फूर्ति लगाउन भ्यायो :
“ए दाइ, तिम्रो खेतमा भन्दा मेरो खेतमा यस पटक चालीस प्रतिशत बढी धान फल्नेछ ।”
मैले “कसरी ?” भनी प्रश्न तेर्स्याएँ ।
उसले स्पष्टीकरण पेश गर्यो, “किनकि मेरो खेतमा भेटिएका दश मुसामध्ये तीनवटा पहिल्यै अर्कैको खेतमा भागिसके र बाँकि एउटा मुसाकी चल्लीलाई पनि मैले अर्कैको खेतमा छाडेर आइसकेँ ।”
म भने उसको विद्वता देखेर तीनछक परिरहेको थिएँ ।