मीनो
डुबुल्की ?
छेउमा मात्र के मार्थ्यौ !
नदीको मीनो याने मूल प्रवाहमा
पर्ख न !
तिमी तानिनेछौ र भनिनेछौ – ‘समाहित मूलप्रवाहमा’
तिम्रो लागि मात्र, जङ्घार, याने फैलिनेछैन नदी
जहाँ साँघुरिएको छ ।
खटपटपछिको हडबड
उफ्…………
अनि व्यग्र छटपट
मतलब छैन उसलाई
न छेउ पाउनेछौ
न भेउ पाउनेछौ
फुत्किन
जति नै बलबुता खर्च गर
व्यर्थ………….
न काखा लाग्नेछौ
न पाखा लाग्नेछौ
फुत्त उछालतिर
सुलुत्त फेरि मीनैतिर
निस्सासिँदै निस्सासिँदै
न चयनले, श्वास फेर्न पाउनेछौ
न मनराजी, कोल्टे फेर्न पाउनेछौ
पर्ख न !