मिलन
के भनूँ भनी भेउ नै पाइन मैले ।
उसैले भनी, “हेलो !”
मैले पनि जवाफ फर्काएँ, “हेलो ?”
उताबाट घुर्की आयो, “निर्मायाँ !!”
“के भनेको ?” स्पष्टीकरण मागेँ मैले ।
“दयामायाँ केही नभाको, निष्ठुरी मान्छे” उसले स्पष्टीकरण पेश गरी । म अवाक् भएँ । उसैको आवाज आयो फेरि
“छिटो आउनू रे !”
“कसले भन्यो, नानू ?”
“आफ्नै मान्छेलाई सोध्नू नि । दिएँ मैले उही मान्छेलाई ।”
मैले “हेलो, हेलो” गरेँ उताबाट फोन काटिएको टोन आयो । मैले फेरि फोन लगाएँ । धेरै घण्टी गएर पनि उठेन । फेरि फोन गरेँ, उठेन । फेरि गरेँ, फेरि गरेँ, प्रयास असफल ! अन्तमा फोन नै स्वीचअफ भयो ।
मेरो जाँच सकिन एक हप्ता मात्र बाँकि थियो । चारवटा पेपरको जाँच सकिइसकेको थियो । अब एउटा पेपर मात्र बाँकि थियो । जाँच दिएका चारवटै पेपर राम्रै भएको थियो । मलाई बाँकि पेपर छोड्न मुस्किल थियो । त्यो पेपर दिएर पास भए मेरो डिग्री सकिन्थ्यो । मेरो दुईतीन वर्षको परिश्रमले उचित पुरस्कार पाउँथ्यो र मेरो एक तहको आवश्यकता परिपूर्ति हुने वाला थियो ।
मसंग वार्तालाप गर्ने फुच्ची थिई, “मिलन” । मेरो टाढाको नाता पर्ने फुपूकी छोरी । अत्यन्तै चकचके थिई ऊ । उमेर त्यस्तै आठ दश वर्षकी । उसलाई मैले एकाध वर्ष अगाडि गाउँकै बोर्डिङ स्कूलमा एलकेजीसम्म बालमनोभाव अनुसार पढाएकोले मसंग असाध्यै लाडिन्थी ।
ऊ हामीबीचकी मध्यस्थकर्ता । मेरो कुरा उता लान्थी, उसको कुरा मसम्म ल्याउँथी । हामीले कुरा गर्नै पर्दैनथ्यो । थपथाप पारेर वा ओरिजिनल कुरालाई तोडमरोड गरेर पुग्थ्यो एक अर्कोकहाँ सन्देश ।
उसकी दिदी थिई ‘निलम’ । ऊभन्दा ८/१० वर्ष जेठी । उसले मलाई दिलैदेखि प्रेम गर्थी वा गर्दैनथी उसैले जानोस् । तर मैले भने उसलाई प्रेम गर्न थालिसकेको थिएँ । यसरी बलजफ्ती प्रेममा फसाउने कोशिस गर्ने केटी थिई मिलन ।
एकपटक एउटा मेलामा मैले एक्लै मनोरञ्जन लिइरहेको थिएँ । अकस्मात कसैले मेरो हात पक्रियो । मैले पछाडि फर्केर हेरेँ, उही मिलन रहिछ । निलम अलि पर थिई । उतिर हेर्ने बित्तिकै ऊ अर्कोपट्टि फर्किई । मैले सोधेँ, “दिदीलाई छाडेर मतिर किन ?”
उसले मलाई डोर्याउँदै एउटा पसलतिर लगी र भनी, “दाइ, मलाई एउटा सामान किन्दिनू न है ?”
“के सामान ? तिमी रोज, म किन्दिन्छु ।”
“साँच्चिकै ? म हेर्छु है त ।” ऊ खुशीले उफ्रिई । अनि उसले पसलमा पसेर रेडिमेड कपडा ओल्टाइपल्टाइ हेरी । मेरो मनमा चीसो पस्यो । कतै यस्तै महंगा लुगा छानी भने मसंग त्यो सामान किन्न पुग्ने पैँसा नै थिएन । ‘पैंसा पुगेन’ भन्न पनि मिलेन, ‘त्यति महंगो कपडा किन्न सक्तिन’ भन्नु पनि भएन । कस्तो आपत !
अनि ती लुगा उधिन्न छाडेर ऊ अर्कातिर लागी र घडीहरु हेरी । अनि चुरा हेरी । ब्याग हेरी । लेडिज पर्स हेरी । बल्ल उसको आँखा मोबाइल कभरमा पुगेर अडियो । अनि एउटा गुलाबी कलरको मोबाइल कभर लिई र पसलेलाई सोधी, “दाइ, यसको पैंसा कति हो ?”
अब मन अलि हलुंगो भयो । “छोड म सोधिहाल्छु नि ।” मैले पर्स निकाल्दै भनेँ, “कति हो दाइ, यसको पैंसा ?”
पसलेले भन्यो, “दुईसय रुपैँया ।”
“दुईसयमा नघट्ने ? यो त एकसयमै आउँछ ।” उसले बार्गेनिङ गर्न थाली ।
“पर्दैन, नानू । जाबो दुईसयमा के बार्गेनिङ गर्नू ?” भन्दै मैले दुई सय रुपैँया पसलेको हातमा थमाइदिएँ र मिलनलाई सोधेँ, “तिम्रो मोबाइल छ र ? केमा हाल्छ्यौ कभर ?”
उसले आफ्नो छातितिर देखाउँदै भनी, “मुटुमा !”
म अवाक् भएँ । यो फुच्चीले जानीजानी यस्ता जवाफ दिन्छे कि अनायास ?
अनि ऊ दगुर्दै दिदीकहाँ पुगी । दिदीको मोबाइल मागेर कभर हाल्ने प्रयास गरी । कभर मिलेन । ऊ निरास भई । दिदीचाँहिले बहिनीसंग रिसाएको स्वाङ पारी र कभर फिर्ता गर्न कर गरी । बहिनी पसलतिर दगुरी । म भने त्यताबाट ओझेल परिदिएँ । उसले पसलेकहाँ त पुगी तर कभर फिर्ता गरिन बरु सुटुक्क आफ्नो खल्तीमा लुकाई र दिदीकहाँ पुगेर भनी, “मैले कभर फिर्ता गरिदिएँ ।”
यसप्रकारकी ढाँट थिई ऊ । मैले यी कुरा सम्झन पुगेँ ।
ऊ अहिले किन मलाई फर्काउन प्रयास गरिरहेकी छे ? फुच्चीचाँहिकै लाड हो कि समस्या नै परेर हो ? उसले बुझ्दिन, मेरो वर्षौँ परिश्रमको प्रतिफलको मूल्य । मेरो पढाइको चटारोमा ढाँटेर किन डिस्टर्ब गर्छे यो फुच्ची ? कि दिदीको कतै बिहे हुने कुरा छिनेर मलाई त्यसको संकेत गर्दैछे ? मेरो सर्वाङ्ग काँपेर आयो । कामना गरेँ, निलमको बिहे अहिल्यै नछिने हुन्थ्यो ।
त्यसपछि मेरो पढाइतिर ध्यान पटक्कै जान सकेन । पाठ जति घोके पनि त्यही फुच्ची आँखामा रिङिरही । उसैको “छिट्टै आउनू रे !” भन्ने वाणी गुञ्जिरह्यो ।
हिजै मात्र एकजना शहरबासी साथीसंग बिहेको बारेमा नै गफ भएको थियो । उसले भन्दैथियो, “डिग्री सकेर गाउँमा फर्केपछि त केटी दिनेको लर्को नै लाग्नेछ तेरो पछिपछि । रोजीबिनी बिहे गर्न पाउँछस् । बरु अलि धनी, सुन्दरी र कुल घरान छानेस् है । कसैको प्रेममा फस्लास् र जिन्दगीभर पछुताउलास् ।”
उसको कुराले मलाई केही ढाढस दियो र लाष्ट पेपरको नोट पढ्न थालेँ पुनः । अलि अलि पाठका कुराहरु दिमागमा घुसे जस्तै भयो । यसले मलाई केही बेर आनन्द दियो र फेरि अरु पाठ घोक्न थालेँ । यसैबेला मोबाइलमा मिसकल आयो । हेरेँ यो मिसकल उसैको थियो ।
मैले यताबाट फोन लगाएँ । मरे उठेन । अन्तमा उसको फोन पुनः स्वीचअफ हुनपुग्यो ।
मेरो पनि रिस उठ्यो र आफ्नो मोबाइल स्वीचअफ गरिदिएँ । अनि पाठ पढ्न थालेँ । साँच्चिकै भन्ने हो भने लाष्ट पेपरको रिफ्रेन्स बुक एकपटक सरसरी पढी भ्याएको पनि थिइन । तसर्थ पाठ घोक्नुभन्दा दिनको १५० पेजको दरले चार दिनमा पुस्तक पढी भ्याउने र अनि मात्र नोट पढ्न उपयुक्त हुने ठानेँ र त्यसै गरेँ । दिनको पाँच बजिसकेको थिएँ । घुँडा धसेर पढ्न थालेँ । ५० पेज जति पढिसक्दा रातको ९ बजिसकेको थियो । खाना पकाउन भुसुक्कै बिर्सिएछ । अनि मोबाइल स्वीचअन गरेर मिसकल एलर्ट हेरेँ । करिब एकदर्जन उसकै फोनबाट र ३ वटा आफ्नै आमाको मिसकल एलर्ट आएको रहेछ ।
अनि झटपट आमालाई फोन लगाएँ । ‘फोन सम्पर्क हुन सकेन’ भन्ने मेसेज आइरह्यो । निलमलाई फोन गरेँ । उसको फोन स्वीचअफ नै थियो । अब मेरो मनमा आतंक मच्चियो । घरमा केही भयो कि ? वा निलमलाई केही भयो कि ? वा मिलनलाई केही भयो कि ? आँतमुख सुकेर आयो । जिउ गलेजस्तै भयो । मेरो खाना पकाउने जाँगर पनि हराएर गयो ।
बत्ती निभाएर सुत्ने प्रयास गरेँ । निद्रा लागेन । बत्ती बालेर निदाउने प्रयास गरेँ । अँहँ पटक्कै पनि निद लागेन । दिनमा पढेका कुरा सम्झने प्रयत्न गरेँ । एउटा कुरा पनि दिमागमा घुसेको रहेनछ । ओल्टीपल्टी गर्दागर्दा रातको दुई बज्यो । बल्ल आँखा लागेछ । तर रातभर पहिरोको, आगलागीको र मिलन घाइते भएर रोइरहेको आदि केके हो, केके डरलाग्दा सपना देखियो । ब्यूँझँदा शरीर पसिनैपसिनाले निथ्रुक्क भिजेको थियो । घडी हेरेँ बिहानको चार बजिसकेको रहेछ । यता बसेर पनि कुनै प्रगति हुने नदेखेपछि घर फर्कने निर्णय गरेँ र उठेर झोला मिलाउँदै कलंकीतिर हानिएँ ।
गाउँमा पुगेपछि पाल्लाघरे साइँलामामासंग पहिलो भेट भयो । केही अनिष्ट खबर नसुनियोस् भनी कामना गर्दै मामालाई सोधेँ, “मामा, सबै सञ्चै हुनुहुन्छ ? हाम्रो घरतिरको खबर के छ ?”
उहाँले सबैलाई सञ्चै भएको खबर सुनाउनुभयो । अब मेरो मन ढुक्क भयो । अलि पर पुगेपछि सानीभाउजुसंग भेट भयो र पहिलो मिलनकै खबर सोधेँ, “मिलन कस्ती छे ?”
उहाँले गिज्याउँदै जवाफ दिनुभयो, “तपाईँ उता जानुभएको तीन महिना मात्रै त भयो नि, तीन महिनामै कस्ती हुनु नि ! उस्तै त हो नि चकचके केटी । बरु निलमको भने बिहे हुने हल्ला छ । उसलाई माग्न आइरहेका छन् । कुरा छिने नछिनेको थाहा भएन ।”
मेरो मन चीसो भएर आयो । जीउ फेरि अत्यन्तै थकित भएको महशुश भयो । मनमनै कामना गरेँ उसको बिहे नछिनेको भए हुन्थ्यो ।
अलि पर गएँ । निलम देखिई, देखिने मात्र होइन छिटको धोती र निलो ब्लाउजमा अत्यन्तै सुन्दरी देखिई । होइन कि भनी पुनः घाँटी तानेर हेरेँ । ऊ नै थिई, ऊ बारीमा घाँस काटिरहेकी थिई । उसंग मैले नचिनेको तन्नेरी जिस्कीजिस्की कुरा गरिरहेको थियो । यो देखेर मेरो मन फेरि त्यस्सैत्यस्सै मरेर गयो । ऊ अब मेरो दृष्टिमा अत्यन्तै कुरुप देखिई । अनि उसले नदेख्नेगरी तर्केर म अर्को बाटो पक्रेर घरतिर लागेँ ।
मलाई देखेपछि आमाले अनौठो मान्दै सोध्नुभयो, “किन आइस् निर्मल ? परीक्षा त अर्को हप्तासम्म छ, भनेको होइनस् र ?” मैले आमाको हातमा ढोगिदिएँ ।
“परीक्षा सर्यो आमा, दुईमहिना पछिसम्म । त्यसैले फर्केर आएँ ।” मैले आमालाई ढाँटेँ र मूलढोकातिर लागेँ ।
“पख्, पख् ! भित्र नजा । तँ गएको तीन महिना भयो । तीन महिनामा भित्र पस्न हुँदैन ।” आमाले मलाई भित्र पस्न दिनुभएन ।
“उसोभए म मिलनको घरमा जान्छु नि त आमा, एकदुई दिन उतै बस्छु ।” मैले अनायास निर्णय दिएँ ।
“हुँदैन । अरु कसैका घर छैनन् र यता ? मूलढोकाबाट पो छिर्नुहुँदैन भनेको त । पछाडिको ढोकाबाट छिर्दा केही हुँदैन । आइज ।”
मैले आमालाई ‘मिलनको घरमा जान्छु’ भनेको कुरा सम्झेर आफैलाई लाज लागेर आयो । आमाले के सोच्नुभयो होला ? निलमको बारेमा सुनेको र देखेको कुराले झनै आफ्नो भनाइप्रति घिन पनि लाग्यो ? अनि आफ्नै मनलाई सम्झाएँ । निलमको लागि हो र म त्यहाँ जाने भनेको ? मिलन पनि त छे नि त्यहाँ !
बाले पछाडिको ढोकामा लिस्नो लगाइदिनुभो र म त्यतैबाट उक्लिएर खाटमा गई लम्पसार परेँ । तनमा थकाइ, मनमा छटपटी र पछुतोले अरु गाँज्दै लग्यो । सोचेँ, नजिकैको परीक्षा किन छाडेर आएँहुँला ? आखिर सबैलाई गाउँघरमा सञ्चै त रहेछ नि !
लामो यात्राको थकानले होला मलाई मीठो निद्राले छोपेछ । बेलुका साढे आठमा आमाले खान उठाएपछि म उठेँ र छिटोछिटो खाना खाई पुनः बिछ्यौनामा पल्टिएँ । एकछिनमै मीठो निद्रामा पुनः हराएँ ।
बिहान उठ्दा नजिकै कसैको खितखित हाँसो बजिरहेको थियो । उही मिलन रहिछे ।
“आठ/आठ बजेसम्म सुत्ने, अल्छी मान्छे” उसले मलाई गिज्याई ।
“अल्छी त बनाइहाल्यौ नि ! त्यति महत्वपूर्ण परीक्षा छुटाएर अनाहकमा गाउँमा कुद्ने बनायौ । ढाँट्न पनि कतिसम्म ढाँट्न जानेकी ! यस्तो गर्न हुँदैन बुझ्यौ ? अरु भए के के गर्ने थिएँ ।”
“मैले हो र ! उसैलाई सोध्नू नि ।”
“को उसैलाई ? मैले किन सोध्नु उसलाई ? तिमी र ऊ फुपूकी छोरी, नाताले मेरी बहिनी पर्ने, हामीले अन्यथा सोच्नुहुन्न ।” मैले आफ्नै मनलाई थामथुम पारेँ ।
एकछिनपछि जीउ तन्काउँदै म उसंग बाहिर निस्किएँ र सोधेँ, “दिदीको त अर्कैसंग बिहे हुने भएछ नि ! कोसंग हो रे ?”
उसले भनी, “होइन । हल्ला मात्र हो । दिदीले मान्नुभा छैन ।”
“किन नमान्ने ? राम्रो पाए त, ‘हुन्छ’ भनिदिए भैहाल्यो नि !”
“खोइ ? म के जानुम् ? तपाईँले किनिदिएको मोबाइल कभर दिदीको मोबाइलमा ठ्याक्कै मिल्यो । अत्यन्तै मन पराउनुभएको छ दिदीले ।”
मैले भनेँ, “मिलन तिमीले यो के गर्यौ गर्यौ ! न पहिले उसले मलाई मन पराउँथी, न मैले नै उसलाई । तिमीले नै मेरो मन चोरेर उसम्म पुर्यायौ, उसको मन चोरेर मसम्म पुर्यायौ । तिम्रै कारणले हामीले एकअर्कालाई मन पराउन थाल्यौँ । तर जब म पढ्नलाई बाहिरिएँ । उसको जीवनमा राम्राराम्रा छनौटका अवसर आइदिए । भनौँ, मैले नै छनौटको अवसर दिएँ उसलाई । अनि उसले अरुलाई नै छनौट गर्न चाही । मलाई थाहा छ, तर तिमीले उसको इच्छाविरुद्ध ढिपि गरिरहेकी छ्यौ ।”
“खोइ ? म के जानूम् ! उसैलाई सोध्नू ।” भन्दै ऊ गुलाबी कलरको मोबाइलकभर राखेको निलमको मोबाइल हल्लाई र मदेखि रिसाएर आफ्नो घरतिर कुदी । ऊ कुदिरहेको मैले हेरिरहेँ । ऊ सानी पुतली थिई । भरखरै पुतलीखोरबाट निस्केकी । प्रेम के हो ? आसक्ती के हो ? चाहना के हो ? आवश्यकता के हो ? केही बुझ्दिनथी । नबुझ्नुपर्ने हो ! तर यो के भै रहेछ ? कि म मुर्ख हुँदै गइरहेको छु ?
‘होइन । ऊ पुतली होइन । एउटा फूलकी प्याउली । ऊ फुलेकै छैन र त कुनै पनि भमरा ऊ नजिक पुगेकै छैन । तर बिशुद्ध र स्निग्ध प्रेम बासना छरिरहेकी छ । उसको यस बासनामा कसैको कुदृष्टि नपरोस् ।’ यही कामना गरेँ मैले ।
ऊ ओझेल परिसकेपछि मैले हातमुख धोएँ । आमाले चिया तयार पारिदिनुभो । मैले आमासंगै बसेर चिया पिउन थालेँ । यसैबेला आफ्नो शंका निवारण गर्न सोधेँ, “आमा, साँच्चिकै निलमको बिहे हुन थालेको हो ?”
“भए के त ? कोही छैनन् र यो गाउँमा अरु ?” आमाको मुखभरिको जवाफ पाएँ ।
“मैले त्यसो भन्न खोजेको होइन, आमा । सोधेको मात्र हो ।”
“कि तैँले पनि प्रेम गर्छस् निलमलाई ?”
मैले ‘होइन’को संकेत गर्दै टाउको हल्लाएँ ।
“कि त्यही फुच्ची केटी मिलनसंग बिहे गर्छस् त ?”
“आमा पनि !” मैले लजाउँदै र दुई हातले आमालाई घुचेट्दै भनेँ, “बोल्नै पाप लाग्ने कुरा गर्नुहुन्छ, आमा पनि ।”
“जा, बरु गाउँ घुमेर आइज । मामाघरतिर पनि जा । अस्तिदेखि भाञ्जा कहिले आउँछन् भनी सोधेको सोध्यै छ तेरो मामाले ।” म खुशी हुँदै कपडा फेर्न थालेँ ।
“अनि सुन्, आज मै पकाउँछु खाना । मामामाइजुले कर गर्लान् खानको लागि । भोलि आमाछोरा आउँछौँ भन्नू । चिया मात्र खाएर आउनू नि फेरि ।”
म निस्किएँ । झलझली मोबाइल कभर आँखा वरिपरि नाच्न थाल्यो । कल्पना गरेँ यो छुच्चीले दिदीको मुटुमा मेरो मायाँको कभर राख्न प्रयत्न गर्दैछे । तर मोबाइल कभर मिलेकै छैन । मोबाइल र मोबाइल कभर फरक फरक कम्पनीका छन् । त्यही फुच्चीले भनेको कुरा सम्झेँ । ‘मोबाइल कभर ठ्याक्कै मिल्यो ।’
म मामामाइजुको घरतिर धेरै बेर भुलेँ । आमाले घरबाट बोलाएपछि मात्र फर्कन तरखर गर्न थालेँ । म आँगनबाट बाटोमा निस्कन नपाउँदै फेरि टुप्लुक्क मेरो बाटो छेक्न आइपुगी मिलन ।
उसले हतारहतार भनी, “भोलि हामी दुईबहिनी सदरमुकाम जाने । तपाईँ पनि बिहानै आउनोस् है सदरमुकाम ?”
मैले अनायास “हुन्छ” भनिदिएँ । ऊ रमाउँदै गई । अलि पर निलम पनि उभिएकी रहिछे मतिर पिठ्यूँ फर्काएर र टाउको निहुराएर । उसले मलाई नहेरेरै बहिनीलाई तान्दै आफ्नो घरतिर फटाफट लागी ।
मलाई आजको दिन बिताउन निकै गाह्रो भयो । मैले आफ्नो दिमागबाट मिलनको प्रस्तावलाई नकार्न जति प्रयत्न गरे पनि सक्दै सकिन । रात पनि त्यस्तै अनावश्यक तर्कनाले नै बित्यो । आमालाई भोलि बिहानै सदरमुकाम उक्लनुपर्ने कुरा बताइसकेको थिएँ । तसर्थ बिहान उठ्ने बित्तिकै चिया पनि नखाई म सदरमुकामतिरको बाटो समाएँ ।
उनीहरु आउने बाटोमा पुगेपछि मैले एकछिन उनीहरुलाई पर्खिएर उभिएँ । मिलनलाई धेरै पटक फोन लगाएँ पटक्कै लागेन । पछि हेरेँ मोबाइलको टावरनै रहेनछ । यताको टावर बिग्रिएर दिनहुँ यस्तै दुःख दिने कुरा सुनेको थिएँ । अब धैर्यसाथ कुर्नुको विकल्प थिएन । जेठ महिनाकै केही दिन बाँकि भए पनि बर्खा शुरु भैसकेको थियो । कुहिरोले पूरै गाउँ निर्लिप्त थियो । दुई मिटर परको वस्तु पहिल्याउन पनि गाह्रो हुने खालको बाक्लो कुहिरो । पानी सिमसिम परिरहेको थियो । असारे रोपाइँ शुरु भैसकेको थियो । कामको चटारोले यताउता दौड्न स्वास्नीमान्छे र लोग्नेमान्छेहरु प्रशस्तै थिए बाटोभरि । तर मैले आफ्नै गाउँका पनि अधिकांशलाई चिन्दैनथेँ । किनकि म गाउँ उति घुम्दैनथेँ ।
“निर्मल ! कसलाई पर्खेर बसेको हो, यो चौबाटोमा ?” म झसङ्गै तर्सिएँ, यस आवाजले । लाज लागेर आयो । एकोहोरो भएर उभिएकोले ती दिदी आफ्नै अगाडि उभिएको पत्तै पाइनछु ।
“कसैलाई होइन, म…. त्यत्तिकै । सदरमुकाम उक्लनुछ, त्यसैले…… । कति बाक्लो कुहिरो हगि, दिदी ?” मैले कुरा टार्न खोजेँ ।
“मैले कुरा बुझेँ । निलमलाई पर्खेको हो भने उसका दुईबहिनी अघिनै निस्की सके ! यी हेर उनीहरु गएको संकेत !” बाटोको डीलमा सालको हरियो पातलाई औँल्याउँदै उनले भनिन् । मैले त्यतातिर नजर लगाएँ । त्यहाँ सालको हरियो पात, दुबो र पाती ढुङ्गाले थिचेर राखिएको थियो । दिदीले भनिन्, “प्रभात पनि भरखर गएका छन् ।”
“को प्रभात ?” मैले अक्कमक्क भएर दिदीलाई सोधेँ ।
“ए, प्रभातलाई चिन्दैनौ ? भरखर जागिर खान आएका हुन् । तिमी चिन्दैनौ होला । यही गाउँमा बस्छन् । ल जाउ है म त गएँ ।” दिदी आफ्नो बाटो लागिन् । मैले पनि थप जान्न आवश्यक ठानिन । यो गाउँमा नयाँ पुराना मान्छे त कति छन् कति । कतिलाई चिनेर साध्य हुन्छ र ! जागिर खानेहरु पनि आउँछन्, जान्छन् । आफूले जागिरी खान नलागेकोले त्यतातिर ध्यान पनि जाँदैन मेरो ।
निलमहरु निस्किसकेको कुरामा निश्चित भएपछि म पनि उकालो उक्लन थालेँ । अलि पर पुगेपछि कुहिरो हट्यो । आँखा तन्काएर पर परसम्म हेरेँ मैले । १०० मिटरजति पर एकजना मान्छे देखियो । सायद त्यही होला ‘प्रभात’ नामको मान्छे । कुहिरो अझै परपर हट्दै गयो । दुईसय मिटरजति माथि उकालोमा दुइजना मान्छे पनि मधुरोमधुरो देखिए । त्यो आकृति केही प्रष्ट हुँदै गयो । तिनीहरु नै थिए मिलनका दुई बहिनी ।
सानीचाँहिले हात हल्लाइरहेकी थिई । तलबाट चिन्दै नचिनेको अर्को मान्छेले हात हल्लाएर उनीहरुको जवाफ दिइरहेको थियो । यो देखेर मेरो भने सदरमुकाम उक्लने जाँगर मरेर गयो । आः किन खानू बेकारमा त्यत्रो उकालो भन्दै म थ्याच्च भुँइको ढुङ्गोमा बसिदिएँ ।
मिलनको हिजोको प्रस्ताव सम्झिएँ । होइन, मिलनले त्यो मान्छेसंग भेट गराउन अवश्य बोलाएकी होइन होली । मिलनले मलाई नै बोलाएकी थिई । त्यस मान्छेलाई भ्रम पर्न गएको हो । म यतैबाट फर्किँएँ भने ती दुइबहिनीको योजनामा तुषारापात होला । म जानैपर्छ । बरु मैले बल गरेर भए पनि यो मान्छेलाई उछिनेर अगाडि बढ्नुपर्छ । यही सोचेर हिँडाइको गतिलाई तिब्र पारेँ । ठाडो उकालो थियो । मलाई त्यो मान्छेलाई भेट्टाउनै मुश्किल भयो । कुहिरोले फेरि बाटो डम्मै ढाक्यो । उनीहरु देखिन छाडे ।
शरीरबाट पसिना तरतरी चुहिन थाल्यो । छाताले अलि हिँडाइमा अवरोध गरेको जस्तो लाग्यो र छाता पनि ओझेल पारेर लठ्ठी बनाएर टेक्दै हिँडेँ । पानी सिमसिम परिरहेकै थियो । त्योभन्दा बढी त शरीरभरि पसिनाकै वर्षा भइरहेको थियो । तसर्थ केही परवाह गरिन सिमसिमे पानीको ।
कुहिरो अलि बाक्लै थियो, तर घरिघरि बाक्लिँदै जाने घरिघरि पात्लिँदै जाने । घरि पारिका डाँडापाखा समेत स्पष्टै देखिने, घरि नजिकैको वस्तु समेत नदेखिने । बाटोसम्म देखिने भएकोले मान्छेले बाटो बिराउने सम्भावना त कमै थियो । तर चराचुरुङ्गीलाई त आपत नै पर्छ होला, यति खेर । त्यसैले त ‘कुहिरोको काग’ भन्ने उखान बन्यो होला । कुहिरोमा फसेको बेला काग बेसरी भौँतारिन्छ होला । उसलाई आकाशै खसेको भान हुन्छ होला र आफ्नो बास वा बथान पहिल्याउन रोइकराइ गर्छ होला । एकोहोरो ‘का!’, ‘का!’ स्वरले अलापबिलाप गर्दै आफन्तलाई विक्षिप्तसरी बोलाउँछ होला ।
मान्छेको जीवन पनि यस्तै हो । एकको अगाडि अर्कोलाई कुहिरोले डम्मै ढाकेको हुन्छ । अर्कोको सही पहिचानको लागि हामी संधै कुहिरोको कागजस्तै त हुन्छौँ । तर अरुको अगाडि जानेबुझेको कहलिन आफूलाई कागभन्दा माथि रहेको स्वाङ पार्छौँ । अलि अलि कुहिरो हटेको बेला कसैलाई जे देख्छौँ, उसलाई संधै उस्तै रुपमा देखिरहन्छौँ । मेरो लागि निलम पनि संधै कुहिरोभित्र नै छे । म पनि उसको लागि कुहिरोभित्रै छु । हामीबीचको कुहिरोलाई हटाउन मिलनले भरमग्दुर प्रयास गर्दैछे ।
कुहिरो अझै हटेको छैन । एकोहोरो उकालो चढाइले खुट्टा फत्रक्कै गलिसकेका छन् । तैपनि मैले प्रयत्न छाडेको छैन । एकजनालाई उछिनेर अर्कोलाई भेट्टाउन म उकालो एकरफ्तारले काटिरहेकै छु ।
अलिकति पर एकजना मान्छे थकाइ मारेर बसिरहेको रहेछ । उसले मलाई निकै गढेर हेर्यो । मैले पनि उसलाई उसरी नै हेरेँ । ऊ उही थियो, जो हिजो मात्रै निलमले घाँस काट्दै गर्दा मस्कीमस्की गफ गर्दैथियो । सायद यसैको नाम होला ‘प्रभात’ । ममा ऊप्रतिको घृणा, रिस र डाह एकैपटक चुलिएर आयो ।
मैले बाटो काटेर अगाडि लम्कन खोजेँ । उसले मलाई रोक्दै भन्यो, “पख्नुस्, संगै गए भैहाल्छ नि ।” उसको यस भद्दा बोलीले गर्दा मलाई ऊप्रति अझै घृणा जाग्यो । लाग्यो, यसले त मलाई राम्रोसंग चिन्दो रहेछ ।
“होइन, मलाई अलि हतार छ । तपाईँ आउँदै गर्नुस् ।” म हतारिएँ र छरितो पाइला चाल्न थालेँ । ममा उसलाई जितेको तृप्ति भयो । थकाइ अलि घटेर गयो ।
केही मिटर मात्रै माथि चढेपछि जति पाइला अगाडि बढाउन खोजे पनि बढ्नै मानेनन् । मुटुको ढुकढुकी अत्यन्तै बढेर गयो । स्याँस्याँ बढेर आयो । रिङ्टा लाग्न थाल्यो । दौडले धेरै परेशान हुँदा ‘मुटु फुटेर ज्यान जाने’ कुरा आमाले धेरै पटक सुनाउनुभएको झल्याँस्स सम्झिएँ । अनि चार हातखुट्टा टेक्दै बाटो छेउमा थचारिएँ ।
मुटुको गति यथास्थानमा आउन समय लाग्यो । तर त्यो प्रभात नामको तन्नेरी मसम्म एकैछिनमा आइपुग्यो र घुर्दै हेर्यो । अनि भन्यो, “तपाईँ आउँदै गर्नुस्, म त लागेँ ।” अनि उसले पनि छिटोछिटो कदम बढाउन थाल्यो । म हेरेको हेर्यैइ भएँ ।
स्याँस्याँ घटेपछि म पनि उठेँ र उकालो चढ्न थालेँ । कुहिरोमा उसको आकृति बिलाइसकेको थियो । सायद अहिलेसम्म निलमसंग भेट भैसकेको होला उसको । यस्तै अनुमान गरेँ मैले । ऊप्रतिको ईर्ष्या घनीभूत भयो फेरि ।
मैले कल्पिएँ, किन मैले उसलाई ईर्ष्या गर्दैछु ? मभन्दा उसैले बढी मायाँ गर्दो हो निलमलाई र निलमले पनि बढी मायाँ गर्दी हो, उसलाई । साँच्चिकै भन्ने हो भने निलम र मेरो प्रेमको टुसा पलाएर झाङ्गिनै पाएको पनि छैन । यही टुसा पनि मिलनले दिनरात पानी हाली हाली टुसाउन मद्दत गरेकी हो । के दोष छ र निलमको ? अनि के दोष छ र यस मान्छेको ?
अलि पर पुगेपछि दोबाटो आइपुग्यो । एउटा बाटो तेर्सो लागेर सदरमुकाम पुग्थ्यो, अर्को बाटो ठाडै उकालो । तेर्सो बाटो घुमाउरो भएकोले अलिकति समय लाग्थ्यो । सायद आइमाइ, केटाकेटी र वृद्धको लागि तेर्सो बाटो बनाइएको होला । निलमहरु कुन बाटो गए होलान् ? म अलमलिएँ । निलमको मोबाइल फोन अझै स्वीचअफ नै थियो । टावर नभएकैले होला स्वीचअफ भनेको । मलाई उछिनेर जाने मान्छे पनि कुहिरोमा अलप भइसकेको थियो ।
मैले गाउँमा भेटिएकी दिदीले भनेको कुरा सम्झिएँ । हरियो पातको चिनोको कुरा । अनि हरियो पातको संकेत हेरेँ । तेर्सो बाटोतिर सालको पातको चीनो राखिएको थियो भने उकालो बाटोतिर दुबोपातीको चिनो । यसबाट पनि कुनै अनुमान गर्न सकिन । सायद त्यो प्रभात भन्ने तन्नेरीले भने चिनोको अनुमान गरेर उनीहरुकै बाटो पछ्याइसकेको होला । म सालको पात चिनो राखेको तेर्सो बाटोतिर लागेँ । बाटो तेर्सो भएकोले अब मलाई छरितो पाइला चाल्न सजिलो भयो । धेरै पर पुगेपछि सदरमुकामबाट फर्किँदै गरेकी एकजना चिनजानकी बहिनी भेटिइन् । मैले उनलाई सोधेँ, “मिलनलाई देख्यौ कि ?” भनेर ।
उनले नभेटेको जानकारी दिइन् ।
उनीहरु यो बाटो नगएको निश्चित भयो र म अब फर्कनुपर्ने भयो ।
“किन फर्कनुभाको दाइ ? सदरमुकामसम्मकै गन्तव्य हो भने, यो बाटो पनि पुगिहालिन्छ नि ।” उनले गिज्याएको मन परेन मलाई । म ऊसंग केही नबोली फटाफट अघि बढेँ ।
अलिकति पर मात्र के पुगेको थिएँ । बाटो समेत बगाउने गरी आफ्नै अगाडि सानसानो पहिरो नै गइदियो । अब पर्यो फसाद ! पहिरो गएको ठाउँमा दबदबे हिलो थियो । त्यो ठाउँमा टेकेपछि चिप्लिएर एकैपटक खोला पुगिने पक्का थियो । पहिरोमाथि पहरै पहर थियो । त्यताबाट पारि जाने सम्भावना नै थिएन ।
अब कि त पुनः फर्केर घुमाउरै बाटोको सहायता लिनुपर्थ्यो, कि भरखरै गएको पहिरोमा हेलिएर जोखिम मोल्दै पार गर्न साहस गर्नुपर्थ्यो । त्यसैबेला अघिकी बहिनीले भेट्टाउन आइपुगी । ऊसंग जवाफसवाल गर्नुभन्दा पहिरोमै हेलिन उपयुक्त ठानी अगाडि बढेँ म ।
ऊ चिच्याउँदै थिई, “ए ! ए ! के गरेको त्यो ? कस्तो मुर्ख मान्छे ! पहिरो जान रोकिएको छैन । मर्नलाई किन तम्सिएको ?”
नभन्दै दुइचार पाइला अघि के बढाएको थिएँ मेरा एउटा खुट्टा बेसरी हिलोमा धसिन पुग्यो । त्यस खुट्टालाई निकाल्न बल गर्दा अर्को खुट्टा पनि हिलोमै दब्यो । मलाई उद्धार गर्न कोही अगाडि बढ्न साहस गरेन । मेरो लागि उनीहरुले प्राणको बाजी राख्नुपर्ने कुनै कारण पनि त थिएन । धेरै प्रयास गरेपछि केही बेरपछि खुट्टा मात्रै आए जुत्ता त्यतै अड्किन पुगे । अब मैले अगाडि बढ्न साहस गरिन । पछाडितिर घस्रिन थालेँ । तर यसै बेला माथिबाट अर्को ढिस्को धस्सिन पुग्यो र म त्यसैमा तलतिर चिप्लिन पुगेँ । म उभिएको जमिन उक्लनमिल्ने बाटोको सतहबाट धेरै तल पुगिसकेको थियो पहिले बिस्तारै अनि गति बढाउँदै बढाउँदै ।
वारिपारिपट्टिका मान्छेहरु कराइरहेका थिए । चिप्लिँदै गर्दा भाग्यले मैले पाल्नोपट्टिको रुखको जरा समाउन पुगेँ । रुख अलि ठूलै थियो । ठूलै पहिरो आए मात्र उखेलिने खालको । म निराश भैसकेको थिएँ । एक मनले भन्यो, ‘छोड्दे ! यो रुखको जरा पनि र ढुनमुनिँदै पुग् तल खोलामा । यो जीवनलाई यतै ईतिश्री गरिदे ।’ तल बर्खाको खोला विशाल भेल बनेर उर्लिरहेको थियो । त्यो अत्यन्तै ठाडो र बेग पनि अत्यन्तै द्रुत थियो । केही गरी तल पुगुन्जेल बाँचिहाले पनि त्यसमा मिसिएपछि बाँचिने एकप्रतिशत् पनि आशा थिएन ।
अर्को मनले भन्यो, “होइन, किन मर्ने ? कसको लागि मर्ने ? हुँदैन । मलाई बचाउनैका लागि रुखले आफ्नो जरो मसम्म पुर्याइदिएको होला । बाँचेर धेरै काम गर्नुछ । जीवन बाँच्ने आफ्नै लागि हो । अरुको लागि होइन ।’ मैले आफ्नै मनको यही आदेशलाई शिरोपर गरेँ र पुनः संघर्ष गर्दै बल्लतल्ल पारिपट्टिको पाखामा उक्लन पुगेँ । जीऊ पूरै हिलाम्मे भैसकेको थियो । जीउ लगलगी काँपिरहेको थियो । कताकता घाउ पर्यो केही अनुमान गर्न सकिएन ।
अनि बिस्तारै बाटोसम्म पुगेँ । खोलासम्म झर्न करिब २० मिनेट लाग्थ्यो होला । तर नजिकै माथिबाट कुलो काटिएको थियो । त्यहाँ पुग्न ५ मिनेट मात्र लाग्थ्यो । दुखाइभन्दा पनि इज्जतको डर लाग्यो । छिटोभन्दा छिटो मैले कपडा सकेसम्म पखाल्नैपर्छ । अनि म लागेँ पुनः उकालोतिर । कुलोमा पुगेपछि मोबाइलतिर ध्यान गयो । धन्न मोबाइल खसेको रहेनछ र भिजेको पनि रहेनछ । फोनमा अझै टावर देखाइरहेको थिएन । अनि हिलो लागेका सबै कपडा फुकालेर पखालेँ र निचोरेँ । दाहिने हातको कुहिनो र दायाँ खुट्टाको साँप्रामा अलि ठूलै घाउ परेछ । हिलो पखालेपछि ह्वालह्वाल्ती रगत बग्न थाल्यो । आङको अरु भागमा अलिअलि कोतरकातर भएको रहेछ । जुत्ता पहिरोमै पुरिइसकेका थिए, खुट्टाका औँलामा पनि घाउ लागेको रहेछ ।
अनि चिसै कपडा लगाएर घर फर्किने निश्चय गरेँ ।
यसैबेला कोही मान्छे माथिबाट झर्दैथिए । मेरो दशा देखेर उनी निकै टिठाए । उनले, “घाउ नै घाउ लिएर घर फर्कनुभन्दा अस्पत्ताल पुगेर ब्यान्डेज गर्नुपर्ने” सल्लाह दिए । मेरो अन्तरमनले पनि यस्तै सुझाव सुन्न चाहेको रहेछ । म पुनः लागेँ उकालैतिर । दुखाइले गर्दा हात खुट्टा र आङ जम्मै भतभती पोल्न थाल्यो । दुखाइ झनझन् बढ्दै गयो । तैपनि खोच्याउँदै खोच्याउँदै नाङ्गै खुट्टा उकालो चढ्न छाडिन ।
नेटोमा पुगेपछि पसलहरु भेटिए । एउटा पसलबाट चप्पल र रुमाल किने । ओबानो रुमालले घाउ पुछपाछ पारेँ । चप्पलमा खुट्टा छिराउँदा पाइताला सहनै नसक्ने गरी चहराए ।
म पुनः अघि बढेँ । अब फेरि बाटो छुट्टिने ठाउँ आइपुग्यो । सदरमुकाम जान अब तेर्सो लाग्नुपर्थ्यो । अस्पत्तालतिर जान अझै उकालो चढ्नुपर्थ्यो । अस्पत्तालतिर पाइला के अघि बढेका थिए, त्यहाँ फेरि त्यही ‘हरियो दुबोपातीको चिनो’ राखेकोमा नजर पुगेर अडिए । मलाई त्यस चिनोले तर्साइदियो । अनि फरक्क फर्केर लागेँ सदरमुकाम जाने बाटोतिर ।
अलि पर के पुगेको थिएँ । एकजना पसल्नीले बोलाइन्, “ए भाइ, तपाईँ हो ‘निर्मल’ भनेको ?”
मैले सकारात्मक टाउको हल्लाएँ ।
“एउटी सानी केटीले खबर छाडेकी छे । तपाईँ यो बाटो जानुस् रे ।” ती आइमाइले मलाई अस्पत्तालको बाटोतिर देखाइदिइन् ।
म को देखि भाग्दैछु ? किन भाग्दैछु ? मलाई कसले लखेटिरहेको छ ? वा कसले आफूतिर तानिरहेको छ ? कारण खोजेँ, खासै कारण केही फेला परेन । अनि बाटो परिवर्तन गर्न करै लाग्यो । म लागेँ पुनः अस्पत्तालको बाटोतिर । आखिर म जानुपर्ने पनि अस्पत्तालसम्मै त हो, किन अर्कोतिर लाग्नू ? यही सुझायो अन्तरमनले पनि ।
केही समयपछि म अस्पत्ताल पुगेँ र घाउ देखाएँ । घाउमा स्वास्थ्यकर्मीहरुले ब्यान्डेज गरिदिए । मेरो ज्वरो नापे । ब्लड प्रेसर पनि हेरे । सबै अस्वाभाविक रुपमा बढेको जानकारी दिँदै दिनभरि अस्पत्तालकै इमर्जेन्सी वार्डमा रहन सल्लाह दिए । मेरा आँखाले भने अरु कसैलाई खोजिरहेका थिए । जसलाई खोजिरहेका थिए, तिनीहरु कतै देखिइरहेका थिएनन् ।
मलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो । दुखाइ कम गर्ने होला, इन्जेक्सन दिइयो । अनि सलाइनपानी पनि चढाउन थालियो ।
केही छिनपछि एकजना नर्सले भनिन्, “एकजना फुच्ची केटीले भनेकी थिई, ‘निर्मल नामको दाइ आएमा ‘एअरपोर्ट जानू रे’ भनिदिनू, हामी त्यतै पर्खेर बसेका हुनेछौँ ।’ तपाईँको नाम निर्मल नै रहेछ । तर यस्तो बेला तपाईँ हिँडडुल गर्नुहुँदैन । ब्लिडिङ रोकिएको छैन । हिँडडुल गर्दा बढी रगत बग्यो भने रगत पाउन गाह्रो हुन्छ यहाँ ।”
“हँ ?” मलाई फेरि त्यो मिलन नामकी केटीको खबरले नजानिँदो तरिकाले उतिरै तान्न थाल्यो । उनीहरुलाई भेट्ने हुटहुटी बढ्दै गयो । तर के निहुँ पारेर अस्पत्तालको बेडबाट उम्कने ?
उपाय पनि निस्कियो ! पिसाब फेर्ने ठाउँ अस्पत्तालको बाहिरपट्टि पनि थियो । तसर्थ हातमा लगाइरहेको सलाइनको सिरिन्ज थुतेर पिसाब फेर्ने निहुँले म बाहिरिएँ । कुनै नारी आवाजले चेतावनी दिँदैथियो, “ए, ए, के गरेको त्यो ? कहाँ भागेको ?” म सुन्दै नसुनेको झैँ गरी कुद्दै अगाडि बढेँ ।
म अलि पर पुगेँ । एरपोर्टको पूरै भाग देखियो । पारिपट्टिको कुनामा तीनजना मान्छेहरु पनि देखिए । उनीहरु सायद फोटो खिचिरहेका थिए । उनीहरु तिनै थिए जसलाई मैले देख्न चाहेको थिएँ मिलन, निलम र प्रभात नामको केटो । म अब अगाडि बढ्न चाहिन र दुवै घुँडा टेकेर थचक्क त्यहीँ बसेँ । केही छिनपछि रिङ्टा लागेको जस्तो भयो । म त्यतै अचेत भएछु ।
पछि ब्यूँझँदा अस्पत्तालको बेडमा गाउँका मान्छेहरुबाट घेरिएको पाएँ । केही घण्टा अगाडिको दृश्य आँखा वरपर घुम्न थाल्यो । आफ्नो हविगत पनि स्मरणमा नाच्न थाल्यो । अहिले भने सबैभन्दा बढी आमाको नै चिन्ताले सताउन थाल्यो । आमाको कानमा यो कुरा पुगिसक्यो होला । यस खबरले कति पीडा दिएको होला आमालाई ! कसैसंग लिनुदिनु केही थिएन, तर आफूले बित्थैमा दुःख पाउनु पर्यो । यस दुःखकी मुख्य कारक त्यही थिई, मिलन नामकी फुच्ची केटी । मैले त्यही मूल्यांकन गरेँ ।
अब फेरि स्मरणपटलभर नाच्न थाली, मिलन । आखिर त्यसले मलाई किन दुःख दिन चाहन्छे ? अनावश्यक नाटक रचेर मेरो हृदयमा छुरा रोप्न किन चाहन्छे त्यो ? के देखाउन खोजेकी हो ? के बुझाउन खोजेकी हो ? के भोगाउन खोजेकी हो ? र के पाठ पढाउन खोजेकी हो ? शंकैशंकाको कुहिरोले डम्म मगज भरियो ।
हो कुहिरो त हुन सक्छ नि । कुहिरोमा कटु सत्य कुरा लुकेर बसेको छ । बिचरी मलाई उकालो कुदाउने ऊ मात्र हो र ? आफ्नै मन त हो नि । पहिरोमा लडाउन उसले खोजेकी हो र ? आफ्नै ढिपी त हो नि । उसको निस्वार्थ मायाँ छ, ममाथि कम र बढी आफ्नै दिदीमाथि । त्यसैको परिणति हो सब यो । ममा त्यो मिलन नामकी केटीलाई देख्ने तिर्सना पुनः बढ्दै जान थाल्यो ।
फोनमा टावर आयो । आउने बित्तिकै उसैको फोन आयो, “निष्ठुरी ! बोलाएको ठाउँमा पनि नआउने ।” भन्दै उल्टै मलाई नै थर्काई मिलनले ।
“निष्ठुरी को रहेछ, पछि थाहा भैहाल्छ नि ।” भन्दै मैलै फोन काटिदिएँ । अनि आमाको फोन आयो, रुँदै मेरो अवस्था बुझिरहनुभएको थियो । धेरै शुभेच्छुक साथीहरुको पनि फोन आयो शिघ्र स्वास्थ्यलाभको कामना गर्दै । साँच्चिकै म एउटा ठूलो दुर्घटनाबाट बचेको थिएँ ।
अस्पत्तालले आज यतै भर्ना गर्नुपर्ने सुझाव दियो ।
मैले मानिन, “मलाई केही भएको छैन । म यहाँ बस्दिन । मलाई डिस्चार्ज गरिदेऊ । यत्तिको उपचार त मेरै आमाले गर्न सक्नुहुन्छ ।”
गाउँलेहरुले पनि कर गरे अस्पत्तालको वार्डमै भर्ना भएर बस्नलाई । तर मैले मान्दै मानिन ।
बेलुकातिर म डिस्चार्ज भएँ । अस्पत्तालसम्म आइपुगेका आफन्तहरुसंग मेरो त्यो साहसी कदमको बखान गर्दै हामीहरु गाउँतिर झर्न थाल्यौँ । दुखाइ कम गर्ने सुइको कारणले होला घाउको दुखाइ एकदमै कम थियो । शरीरभरिको घाउको बाबजुद पनि म ठमठम्ती हिँडिरहेको थिएँ । दुर्घटनास्थल पुगेपछि सबैले हेर्न चाहे पहिरो गएको त्यो ठाउँ । हेर्दा मेरो आङ नै सिरिङ्ङ गर्यो । पहिरो गएको ठाउँदेखि तल हेर्दा त आँखा नै रिंगे । कुन शक्तिले गर्दा त्यो पहिरोमा हेलिन उर्जा पैदा गर्यो, आँफ्फै छक्क परेँ । दुर्घटनास्थल हेर्नेहरुमध्ये कसैले मलाई मूर्ख भने, कसैले लहडी भने, कसैले पागल भने, कसैले साहसी पनि भने । यी सबै उपमा पाएकोमा मैले उनीहरुलाई धन्यवाद् दिएँ । दुर्घटनाको बारेमा धेरै सोधखोज भयो । अरुले जति कर गरे पनि के कारणले मैले त्यो दुस्साहस गरेँ, त्यो भने बताइन । खाली यति भनेँ, “सदरमुकाम जाने काम नभएपछि फर्कँदै थिएँ, पहिरोमा परेँ ।”
हामी गफिँदै गर्दा निलमको घर जाने दोबाटोमा पुगिसकेको पत्तै भएन । बाटोमा मिलन कुरेर बसिरहेकी रहिछे । मलाई देख्ने बित्तिकै ऊ त ‘क्वाँ क्वाँ’ रोइदिई । ऊप्रति ममा जागेको वितृष्णा स्वाट्टै हटेर गयो, ऊप्रति दया जागेर आयो । अनि यति मात्र भन्न सकेँ, “किन रोएकी त्यसरी ? मलाई ठीक भइसक्यो नरोऊ त्यसरी ।”
उसले आँशु पुछ्दै मेरा सबै घाउ हेर्न चाही । मैले सर्टको र पाइन्टको बाउला सारेर देखाइदिएँ । उसले जिब्रो टोक्दै भनी, “आम्मै ! कति ठूलो घाउ !! कति दुखिरहेको होला !!! मैले गर्दा नै…… ” भनेर ऊ फेरि भक्कानिन थाली ।
मलाई भन्न करै लाग्यो, “हैन नानू, तिमीले गर्दा होइन । म आफैले गर्दा हो ।”
मसंगै आएका अरु नातेदारहरु जिल्लिएर पालैपालो हामी दुईलाई हेर्न थाले । त्यो फुच्चीले गर्दा कसरी म पहिरोमा पर्न गएँ केही खुट्टयाउन सकेनन् उनीहरुले । कसैले यसको अर्थ जान्न चाहेका थिए । मैले भनिदिएँ, “के भन्छे, के, यो फुच्चीले !!”
उसले भनी, “एकछिन मेरो घरमा पुगेर जानुहोला । आमाबाले सोधिरहनुभएको छ ।”
“म अहिले जाँदिन नानू । अब अलि सञ्चो भएपछि आउँला ।”
यति भनेर हामीहरु मेरो घरको बाटोतिर अघि बढ्यौँ । यसैबेला निलम, निलमका बाबु र आमा पनि दोबाटोसम्म आइपुगे । निलमले सजल नेत्रले मलाई हेरी मात्र । केही बोलिन । उसका बाबुआमाले भने घटनाको सम्बन्धमा सबै सोधे । त्यसपछि गाउँभरका मान्छे बाटोसम्मै आएर सोधखोज गरे । गाउँतिर जताकतै दुर्घटनाको हल्ला फैलिसकेको रहेछ ।
मिलन पछिपछि आइरहेकी रहिछे । मैले उसलाई फर्कन आग्रह गर्दै भनेँ, “तिमी अब फर्क नानू म अहिले दोहोरो घाउले गर्दा घाइते छु । तिमी अब मेरो दुवै घाउ सञ्चो भएपछि मात्र मेरो घरतिर आऊ है ।”
मेरो दुवै घाउको अर्थ अरुले बुझेनन् । ऊ भने यो कुरा सुन्ने बित्तिकै तर्सिइ र फेरि झर्न थालेका बलिन्द्र धारा आँशु पुछ्दै त्यतै उभिइरही ।
हामी अलिकति पर के पुगेका थियौँ मलाई भेट्न मेरो आमा वरैसम्म आइपुग्नुभयो । मलाई देख्नेबित्तिकै ग्वाम्लाङ्ग अंगालो हाल्दै केही बेर रुनुभयो । मैले पनि आँशु थाम्न सकिन ।
केही दिनपछि दिलको घाउ र शरीरको घाउ संगसंगै निको हुँदै जानथाल्यो । म कतै निस्किइन यो अवधिभर । आमाले दुवै घाउमा तेलबेसार लगाइदिएर सञ्चो बनाई छाड्नुभयो । साहसिक कथाहरु लगायत बीरसिक्काका कथाहरु खुब सुनेँ र आफै पनि पढेँ यो समयमा ।
अलि सञ्चो भएपछि मैले परीक्षा दिने निहुँले शहर जाने योजना बुनेँ । तर त्यसै दिनमा मेरो अन्तिम पेपरको जाँच पनि सरेको खबर दियो रेडियोले । मैले ढाँटेको कुरा त सत्य नै प्रमाणित भइछाड्यो । अब मिलनसंग परीक्षा छुटाइदिई भनेर गुनासो राख्ने बाटो पनि रहेन । यस समाचारले ऊ अब मेरो दिलमा स्फटिककै दानासरी सफा हुन पुगी ।
मैले अब राम्रोसंग पढेर बाँकि पेपरको जाँच दिने अवसर पाएकोमा खुशी पनि भएँ । यसको लागि मैले भोलिपल्ट नै गाउँ छोडेर शहर जाने निश्चित गरेँ । आफ्नो छोराको भलाइको लागि आमाबा पनि मेरो योजनामा सहमत हुनुभयो ।
मेरो एक मनले एकपटक मिलनलाई मात्र भए पनि भेटेर जाने निधो गर्यो । अर्को मनले भन्यो उसको लाडे व्यवहार नबुझी यता आउँदा यो दुःख झेल्नुपर्यो । दुःख झेल्ने मात्र होइन ज्यान नै जान सक्थ्यो । अब फेरि अर्को आपत केही आइलाग्ला । उसको अनुरोध र आदेशको अगाडि हरेक पटक लत्रिनुपरेको छ । अतः शहर जाने निश्चित गरिसकेकोले अब त्यता जानु उपयुक्त छैन ।
मेरो मनस्थितिले यही पछिल्लो कुरालाई नै सदर गर्यो र मैले मामाहरु बाहेक अरु कोही नातेदारतिर भेट्न गइन । सन्ध्याकालले नगाँज्दै मामाघरबाट म घरमा फर्केर आइसकेको थिएँ । तर मिलनलाई नभेट्दाको तलतल भने बढ्दैजाँदो थियो ।
यसैबेला मिलनका दाइ मेरो घरमा हतासिँदै आइपुगे र बोलाए आँगनबाट मलाई, “निर्मल !, निर्मल !!”
बा आमा र म बारदलीमा निस्कियौँ र हतासिँदै आउनुको कारण सोध्यौँ ।
उनले कालोनिलो अनुहार पार्दै भने, “मिलनलाई साह्रो पारेको छ । जति औषधिमूलो, धामीझाँक्री गरे पनि पटक्कै छोएन । उसले निर्मललाई भेट्ने इच्छा गरेकी छ । निर्मल एकछिन गइदिनुपर्यो ।”
म छाङ्गोबाट खसेतुल्य भएँ । सदासर्वदा पुतलीजस्तै भुर्रभुर्र गरेर बारी चाहार्ने र म भनेपछि मरिमेट्ने त्यो फुच्चीलाई अकस्मात के भयो होला त ? हे भगवान्, उसलाई केही पनि नहोओस् । छिट्टै सञ्चो होओस् भगवान् । मैले देवीदेवतालाई भाकल गर्न थालेँ ।
अनि मिलनको दाइलाई पछि पार्दै दौडदै एकै सासमा उसको घरमा पुगेँ ।
मिलनको घरमा गाउँघरका धेरै मान्छेहरु जम्मा भएका रहेछन् । मलाई आफैप्रति रिस उठेर आयो । मेरै लागि मरिहत्ते गर्ने त्यो फुच्ची यति सारो बिरामी हुँदा समेत म बेपरवाह भएर आफ्नै शरीरको घाउ जोगाउन घरमै गुडुल्किइरहेको रहेछु । सायद् मेरै सामिप्यताको लागि बन्देज लगाइदिएकोले बिरामी परेको हो कि ? धिक्कार छ तेरो सुद्धिलाई ।
मलाई देख्नेबित्तिकै निलमले नै पहिलो डाँको छोडी । अनि परिवारका सबै मान्छे रुन कराउन थाले । यो देखेर सबै मान्छेहरु अत्तालिए ।
म सरासर ऊ सुतिरहेको खाटमा पुगेँ र उसको गोरानतिर बसेर उसको मुख खोलेर हेरेँ । मेरो आँखाबाट बलिन्द्रधारा आँशुको मूल पहिल्यै फुटिसकेको थियो ।
“मिलन !, म आइपुगेँ, अब तिमीलाई केही हुँदैन । आँखा खोलेर हेर त ! को आयो ?” मैले उसलाई झकझकाउँदै बोलाएँ । उसको निधार छामेँ । ज्वरो अत्यन्तै बढी थियो । नाडी छामेँ नाडी मोटा तिब्र र अनियमित थियो । अनुहार पहेँलिएको थियो । ओठमुख कलेटी परेका थिए । जिउ एकहप्तामै सुकेर सिन्कासरी भैसकेको रहेछ । अनुहारभरि चिटचिट पसिना आइरहेका थिए । उसले आँखा खोल्न बल गरी तर सकिन ।
मेरो मुटु भक्कानियो र रुमालले आँशु पुछ्न थालेँ ।
यस वातावरणले अरु मान्छेको दिल पगाल्न अरु मद्दत पुर्यायो । दिल हुने जति सबै रोए । वातावरण अरु निरसिलो हुँदै जान थाल्यो ।
यसैबेला उसले फेरि आँखा खोल्न बल गरी र केही बरबराई ।
मैले उसको निधारमा चिसो रुमाल लगाइदिएँ र उसको पानी प्यासलाई बुझेर मुखमा अलिकति पानी लगाइदिएँ ।
उसले अब आँखा हेरी । म खुशीले चिच्याएँ, “मिलनले आँखा हेरी ! अब उसलाई केही हुँदैन !! तपाइँहरु नआत्तिनोस् !!!” भन्दै अरुलाई ढाढस दिन खोजेँ, तर, आँफै पनि मुर्छित हुन्छु कि जस्तो गरी बसेको जमिन रिङ्न थालिसकेको थियो ।
“निर्मल दाइ, तपाईँ आउनुभयो ?” उसले मुख पनि खोली ।
बिरामीलाई आँशु देखाए झन मन खस्छ भन्ने भनाइ रहेकोले मैले झटपट आँशु पुछेँ र टाउको हल्लाएँ । अनि भनेँ, “आएँ, नानी आएँ । तिमी बिरामी भएको मलाई खबरै भएन ।”
उसले फेरि आँखा बन्द गरी र भनी, “पानी !!!”
मैले, “लौ, नानी, पानी खाऊ” भन्दै उसलाई झकझकाएँ । उसले फेरि आँखा हेरी र टाउको उठाउन बल गरी, तर सकिन । मैले नै उसको टाउको उठाइदिएँ, मेरो छातिमा अडेस लगाएँ अनि पानी पिलाइदिएँ । उसले जीउ कँपाउदै र स्वाँस्वाँ गर्दै घुटुघुटु धेरै पानी खान थाली ।
“अब भयो” भनेँ र मैले उसको मुखबाट पानीको लोटा हटाइदिएँ ।
एकछिन सुस्तिएपछि उसले भनी, “दिदी खोई ?”
“म यतै छु, नानी ।” निलमले खाटमा बस्न चाही । म उसलाई बस्नको लागि ठाउँ छोडिदिन उठ्न खोजेँ ।
“तपाईँ नउठ्नोस् ।” ऊ चलमलाई, “यिनी लुगाहरु हटाइदिनोस् ।” आफूलाई ओढाइएको सिरक हटाउन आफ्नी दिदीलाई संकेत गरी । अनि भनी, “म दिदीको काखमा बस्छु ।”
दिदीले बिस्तारै उसलाई उठाई र काखमा राख्दै भनी, “ओहो ! जीउ त आगोको भुङ्ग्रो जस्तै पो छ त !! यसको यो कोमल शरीरले कसरी सहेको होला, यो ज्वलन ? हे भगवान् ! मेरो बहिनीलाई केही नहोस् !! म तिमीले भनेको सप्पै मान्नेछु ।”
मिलन अलि सजिलोसंग दिदीको काखमा बस्न खोजी । निलमले पनि छड्के पारेर उसलाई अंगालो मारी । मिलनले बिस्तारै निलमको गाला मुसार्दै भनी, “साँच्चिकै ?” अनि दिदीको चोलीको खल्तीबाट गुलाबी कलरको कभर भएको मोबाइल झिकेर खेलाउँदै मिलनले मुस्कुराउन कोशिस गरी । उसको यस बालमुस्कुराहटले मेरो अन्तरहृदयसम्म चिमोट्यो ।
“कसम ।” निलमले कसम खाइदिई ।
मिलनले पिसाब फेर्न ट्वाइलेट जान खोजी । दिदीले बोक्न खोजी ।
“होइन म हिँड्छु ।” ऊ दिदीको काखबाट भुइँमा झरी र खाट समातेर उठ्न खोजी । तर धङ्धङिई । करिब एक हप्ताको बिमारले उसको शक्ति सबै खाइदिइसकेको थियो । दिदीले अडेस दिई । अनि दिदीकै आडमा ऊ धङ्धङिदै ट्वाइलेटसम्म पुगी ।
अब मिलन हिड्न समेत सक्षम भैसकेकोले बिरामी भेट्न र बिरामीको परिवारलाई शान्त्वना दिन आएका गाउँलेहरु बिस्तारै आआफ्नो घर फर्किन थाले ।
बाँकि गाउँलेलाई पनि फर्काउन अनुरोध गरी मिलनले । मिलनका आमाबाले उनीहरुलाई पनि विदा गरिदिए ।
ऊ आएर फेरि खाटमा सुती । उसलाई ट्वाइलेट पुगेर फर्कँदा पनि पहाड उक्लिएजस्तै गाह्रो भइरहेको थियो । अलिकति सुस्ताएपछि दिदीको हात खेलाउँदै भनी, “दिदी, तपाईँ निर्मल दाइलाई मायाँ गर्नोस् । दाइ तपाईँकै लागि परीक्षा छोडेर शहरबाट गाउँसम्म आउनुभाको हो ।”
मैले बीचमै मिलनको कुरा काट्दै भनेँ, “मायाँ त कसैले गर भनेर गरिने हो र ? उसको हृदय आफ्फै पग्लनुपर्छ नि ! फेरि निलमले अरु कसैलाई ….. ” मैले यति भनी नभ्याउँदै मिलनको अनुहार बिग्रियो । उसको सर्वाङ्ग काँप्यो । मुख खोल्न खोजी सकिन । अनि आँखाका परेला बन्द हुन थाले ।
फेरि हामी सबै आत्तियौँ । परिवारका सबै सदस्यहरु उसको वरिपरि झुम्मियौँ । मैले मिलनको मुख खोलिदिएर पानी खुवाइदिएँ । ऊ बेहोश भई वा निदाई । झटपट मैले नाडी छामेँ । नाडी पहिलेको भन्दा मन्द र स्थिर गतिमा चलिरहेका थिए । ज्वरो धेरै घटिसकेको थियो । अतः मैले अरुलाई ढाढस दिएँ, “केही हुँदैन । उसलाई एकछिन आराम गर्न दिऊँ ।”
यसैबेला उसको बालहठको बारेमा परिवारकै सदस्यहरुबीच हामीले कुरा गर्न थाल्यौँ । निलम लाजले अर्को कोठातिर लागी । उसको दाइले भन्दै गए:
“मिलन अत्यन्तै हठी स्वभावकी । केही कुरामा लाग्यो कि त, लाग्यो, लाग्यो । दिदीलाई अत्यन्तै मायाँ गर्ने । दिदी जहाँ पुग्यो, पछिपछि उतै जानुपर्ने । उसको हठलाई स्वीकार गरेमा जसलाई पनि आदर गर्ने । तर हठलाई आलोचना गरिदिए, त्यस्तो मान्छेलाई पटक्कै मन नपराउने । दिदीको उमेर बढ्दै गएपछि फक्रिएको फूलमा स्वभावैले विभिन्न भमरा बस्न खोज्ने । तर त्यस्ता भमराहरुले फूलको साथसाथै उपस्थित भएको कोमल कोपिलालाई मन नपराउने । त्यस कोपिलालाई हटाउन खोज्ने वा अपमान गर्न खोज्ने । त्यस्ता भमराहरुलाई फूलले जेसुकै मूल्यांकन गरोस्, तर कोपिलाले खनिखेदो गरिहिड्नुपर्ने । त्यो कोपिलाले फूललाई समेत त्यस्ता भमराको पछि नलाग्न चेतावनी दिँदै हिड्ने । अरु व्यवहारमा पाको मान्छेहरुजस्तै अत्यन्तै व्यावहारिक । दिमाग अत्यन्तै तेज । आदि, आदि ।
यस्तै कुरा भइरहेको थियो । मिलनले खाटबाट बोलाइ, “निर्मल दाइ !!”
ऊ ब्युँझिछ । हामी सबै खुशी भयौँ ।
“भन नानू, म यतै छु ।”
“त्यो दिन मेरै कारणले तपाईँलाई घाउ लाग्न पुगेछ ।” उसले ओठ पिलपिल्याइ । फेरि उसको अवस्था नबिग्रोस् भन्ने हेतुले मैले सञ्चो भएको घाउ देखाउँदै चिमोटेँ, “यी नानी ! यी !! सञ्चो भैसक्यो अब, चिमोट्दा पनि दुख्तैन । अब यो घाउको कुरै नगर । मेरै बुद्धिले गर्दा…. ।” मैले उसलाई सहज होस् भन्ने हेतुले खितखिताट बनावटी हाँसो निकालेँ । मेरो हाँसोमा अरुले पनि हाँसो थपे । हाँसोले कोठा गुञ्जायमान भयो ।
उसले दिदीलाई पनि खोजी । दिदी आफ्नो कोठाबाट निस्किँदै लजाउँदै उसको अगाडि उपस्थित भइदिई ।
मिलनले मलाई नजिक बोलाउँदै भनी, “अब त्यो ‘प्रभात’ भन्ने मान्छे कहिले पनि दिदीको अगाडि आउनेछैन । मैले अस्ति त्यसै दिन नै उसलाई आइन्दा नआउन किरिया खुवाइसकेँ । जवानीको पछि मात्र लागिपर्ने मान्छे, मान्छे होइनन्, पशु हुन् । ऊ ‘पशु’ हो । यही भनेँ मैले ।”
निलम मुख छोपेर रुन थाली ।
“म यसरी बिरामी परेको त्यसैको कारणले गर्दा हो भनेर दाइले पनि ऊसम्म खबर पठाइसक्नुभो । नि दाइ ?” उसको दाइले सकारात्मक टाउको हल्लाइदिए ।
“अब मेरो दिदीले पशुलाई होइन, मान्छेलाई मात्र मायाँ गर्नुहुन्छ । नि दिदी ? त्यो मान्छे भनेको निर्मल दाइ मात्र हो ।”
निलमले मुण्टो हल्लाउँदै बहिनीलाई दुवै गालामा दुई चुम्बन गरिदिई ।
“अब चार चुम्बन यस मोबाइललाई ।” मिलनको आदेशअनुसार निलमले त्यसै गरी । यसबेला निलमको गालाबाट रगत चुहिएला जस्तै लाजले अत्यन्तै राता भएका थिए । उसको प्रेमको असली छायाँ मोबाइलमा परेको मैले बुझेँ ।
यसको जवाफ मैले पनि दिनुपर्ने कर्तव्य ठानेँ ।
मैले पनि मिलनले आदेश नदिँदै मिलनको हात तानेर उसको हत्केलामा दुई र उसको मोबाइल तानेर मोबाइलमा चार चुम्बन गरिदिएँ ।
मिलन अब एकदमै खुशी देखिई र भनी, “म अब आफ्फै उठ्छु । कसैले अडेस नलगाउनुहोला ।” ऊ धङ्धङिदै उठी र अगेनाछेउमा गएर टुक्रुक्क बसी । अनि खाना खान खोजी ।
यो देखेर उसको सबै परिवार खुशीले एकैपटक रमायो । अनि छिटोछिटो उसको आमाले सानो थालीमा दुधभात राखिदिनुभयो ।
मिलनले कपाकप दुधभात खान थाली ।
हामी सबैले उसको बालहठलाई एकतमाशले हेरिरह्यौँ ।