मिथक
मैले हातले छामछुम पारेँ । एकछिन अघिसम्म संगै सुतेको बिछ्यौनामा ऊ थिएन । बाथरुमतिर गएको होला भन्ठानी एकछिन पर्खिएँ । तर धेरै लामो समयसम्म पनि ऊ कोठामा नफर्केको हुँदा उठेर बत्ती बालेर हेरेँ । म सुत्ने कोठाबाट बाहिर निस्कने दुईवटा ढोका थिए । मेरा नजर त्यतैतिर दौडिए, ती दुवै ढोकाहरुमा भित्रैबाट गजबार लगाइएको अवस्थामा थिए । त्यसपछि झ्यालतिर हेरेँ, झ्यालमा पनि भित्रबाटै गजबार लगाइएको थियो । उसको मानसिक अवस्था सन्तुलित नभएकोले सबैले उसलाई ‘मिथ्या पागल’ भन्दथे । ती ढोका र झ्यालबाट ऊ नबाहिरिएको पक्का भएपछि कतै लुकेर बसेको होला भन्ने सोची मैले दराज खोलेर हेरेँ र खाटको मुनि छिरेर पनि हेरेँ, त्यहाँ पनि ऊ थिएन । ऊ अनौठो तरिकाले गायब भएको देखी मेरो मुटू ढक्क फुलेर आयो । हातगोडा थरथरी काँप्न थाले । रात अझै बाँकि थियो तसर्थ त्यो कोठामा बस्न मलाई डर लागेर आयो । अनि पश्चिमतर्फको ढोका खोलेर भर्याङबाट कुद्दै माथि उक्लिएँ र ‘आमा ! आमा !!’ भनी कराएँ ।
“के भो, फेरि ? रातभर जागराम बस्छ, न आफू राम्रोसंग सुत्छ, न अर्कालाई सुत्न दिन्छ ! के भो ? उज्यालो हुन अझै १/२ घण्टा बाँकि नै छ । जा सुत् ।” आमाले मलाई हप्काउनुभयो ।
“तल कोठामा संगै सुतेको मिथाराम छैन, आमा । तर अनौठो कुरा, ढोकाको भित्रबाटै गजबार लगाएको छ ।” मैले एकै सासमा भनेँ ।
“को मिथारामको कुरा गरेको ? तँसंग आएको मान्छे, यस गाउँको पागल मिथाराम होइन भनी कति भनेँ, विश्वास नै छैन, यल्लाई ! तँसंग बेलुका आएको मान्छे त हिजो राति नै गइसकेको थियो नि । मैले नै त्यो मान्छे बाहिर गएपछि भित्रबाट गजबार लगाएकी हुँ ।
“होइन आमा, ऊ मेरो बाल्यकालको सखा मिथाराम नै थियो । रातभर हामी दुईजनाले कुरा गरेर बसेका थियौँ । ऊ मसंगै सुतेको हो ।”
“सपना देखेको होलास् नि ! जा छुपुक्क सुत् !! पागलको छ, औधि तिर्सना छ, यसलाई पनि अब के के हुने हो !” आमाले फेरि हकार्नुभयो ।
यो घटना सपना नै होला त ? म एकछिन अलमलमा परेँ, अनि त्यो घटना सपना नै हो कि त भन्ठानी कोठातिर ओर्लिएँ र ओछ्यानमा पल्टिएर एकछिन घोत्लिएँ । सपनामा देखिने भ्रमपूर्ण घटनास्थल, वस्तु वा मान्छेको छनक कतै देखिन । सिलसिलाविहिन घटना पनि थिएन । हिजो बेलुका करिब ४ घण्टासम्म यही बिछ्यौनामा सुतेर नै मैले उसका चमत्कारपूर्ण घटनाको बेलिबिस्तार सुनिरहेको थिएँ । १२ बजेपछि ‘अब सुतौँ’ भनी मैले नै आग्रह गरेपछि उसले घटना सुनाउन रोकेको थियो । निद्रा नलागुन्जेल दुवैले वर्काफर्की गरिरहेका थियौँ । केही बेरपछि मात्र निद्रा लागेको थियो मलाई । यो सत्य घटना सपना हुनै सक्तैनथ्यो । तथापि उसका भनाइहरु भने वास्तविकताभन्दा धेरै परका थिए र ती घटना सत्य भनी कसैले पत्याउन सक्ने कुरै थिएन । सायद सबैसंग यस्तै कुरा गर्ने भएकोले नै उसले पागलको संज्ञा पाएको हुन सक्छ । उसोभए कुनै पनि झ्यालढोका नखोलेर ऊ कहाँ हरायो त ? यदि आमाले भनेको कुरा सत्य हो भने ऊ बाहिर कुनबेला गयो ? र मसंग कुरा गर्न कसरी आइपुग्यो ? मेरो फेरि मुटू फुलेर आयो र बेसरी ढुकढुक गर्न थाल्यो ।
========================================================
हामी सानै छँदाको कुरा हो । एकदिन उसले हामी कलिला बच्चाहरुलाई खेरेर हेलिकप्टरको उडानको परीक्षण गरिरहेको थियो । मैले आकाशमा धेरै टाढा ठूलो आवाज निकाल्दै प्लेन उडेको धेरै पटक देखेको थिएँ । त्यो प्लेन सानो सेतो पुतलीजस्तै देखिन्थ्यो । हामीले त्यसलाई चीलगाडी भन्दथ्यौँ । नजिकमा प्लेन कस्तो हुन्छ, कहिल्यै देखेको थिइन । त्यसबेला हेलिकप्टरको नामनै सुनेको थिइन, मैले । तर मिथारामले ‘मैले हेलिकप्टर बनाएँ उडेको हेर्न आऊ’ भनेर हामीहरुलाई एउटा चहुँरमा बोलाएको थियो । हामी व्यग्र उत्सुक थियौँ त्यो कुरा उडेको हेर्न । त्यो हेलिकप्टर नामको वस्तु अहिलेको हेलिकप्टरभन्दा फरक थिएन । जब उसले केही चिज घुमाएर छाडिदियो, त्यो पखेट्टा घुमाउँदै उड्नथाल्यो । ऊ हेलिकप्टर उडेको एकतमाशले हेर्न थाल्यो, हामीले पनि ताली बजाउँदै, चिच्याउँदै, तीनछक परेर हेरिरहेका थियौँ । त्यो वस्तु चारपाँच मिटरको उचाइमा करिब ५ मिनेटसम्म फन्का मारीमारी उडेको थियो र बिस्तारै भुइँमा आएर रोकिएको थियो । हामीले त्यसको बनावट हेर्न त्यो अजीव वस्तुको वरिपरि झुम्मियौँ । तर उसले हामीहरुलाई हटायो र आफ्नो हातमा लिँदै हामीलाई सफलताको कथा सुनायोः “देख्यौ ? मेरो प्रयास सफल भयो कि भएन ? मैले यसभित्र बसेर ५ घण्टासम्म आकाशमा चक्कर लगाएँ । चारपाँच हजारको उचाइको आकाशबाट हेर्दा तिमीहरु त भुसुना बराबर देखिन्थ्यौ !”
हामीले उसलाई गिज्याउँदै पेट मिचिमिचि हाँस्यौँ, किनकि त्यो वस्तु ५ मिनेट मात्र उडेको थियो र चारपाँच मिटरभन्दा माथि गएकै थिएन । ऊ बढाइचढाइ यस्ता कुरा गर्छ कि ? साँच्चिकै त्यस्तै अनुभूत गर्छ ? हामीले केही बुझ्दैनथ्यौँ । तसर्थ नै हामीहरुको दृष्टिमा पनि ऊ पागलको संज्ञा पाउन उपयुक्त नै थियो ।
तर सत्य कुरा के थियो भने त्यो वस्तु बिना इन्धन, बिना चालक, बिना प्रविधि थोरै समय, थोरै उचाइ भएपनि आखिर उडेकै थियो । यति मात्र होइन, उसले हामीलाई पोखरीमा जम्मा गरेर कागजको डुंगा दौडाउन प्रतिस्पर्धा गर्थ्यो । हाम्रा डुंगा हावा नलागी चल्दैनथे, तर उसका डुंगा मजासंग हावाबिना नै चल्दथे । उसले राकेट (कागज पट्याएर उडाइने खेलौना) उडाउने प्रतिस्पर्धा गर्थ्यो र उसका राकेट नै धेरै आकाशसम्म धेरै दूरी पार गर्दथे । माहुरीलाई बाँसको ढुङ्ग्रामा बन्द गरेर ‘रेडियो बजाएँ’ भन्थ्यो, अनि कहिले ‘गीत बज्दैछ’ भन्थ्यो त कहिले ‘समाचार आउँदैछ, ल ध्यान दिएर सुन’ भन्थ्यो र आफूले ध्यानपूर्वक समाचार सुनेर बुझेको नक्कल पार्थ्यो । एकदुई दिनपछि साँच्चिकै उसले सुनेको समाचार सही भएको गाउँमा हल्ला चल्थ्यो ।
मैले आमालाई सँधै सोध्थेँ, “आमा, किन हामीभन्दा मिथाराम फरक छ ? किन उसंग हामीहरु प्रतिस्पर्धामा कहिल्यै जित्न सक्तैनौ ? किन उसका कामहरु हाम्राभन्दा बेग्लै र चमत्कारपूर्ण छन् ?” भनिकन । तर आमाले ‘सबै संयोगिक घटना’ भएको बताउनुहुन्थ्यो । कहिलेकाँहि त मिथारामले हामीहरुलाई देखाएका ती खेलहरु पुनः देखाउन मिथारामलाई आग्रह गर्दै प्रौढहरु पनि उसको वरिपरि जम्मा हुन्थे । तर मिथारामले पुनः त्यो खेल देखाउन सक्तैनथ्यो । हामीले देखेको भनेका कुराहरु ‘सब मिथ्या हुन्’ भन्थे ती गाउँलेहरुले । हामीले प्रमाण देखाउन सक्दैनथ्यौँ । ‘बच्चाहरुको कल्पना हाम्रोभन्दा भिन्न हुन्छ, उनीहरुको काल्पनिक संसार बेग्लै हुन्छ’ भनेर गफ गर्थे उनीहरु ।
मिथारामसंग मेरो बाल्यकाल संगै गुज्रिए पनि प्रौढकाल संगै बिताउन पाइएन । उसलाई नभेटेको २ दशकभन्दा बढी भइसकेको थियो । उसको खबर भने मैले सँधै जान्न चाहिरहन्थेँ । ऊ पूर्ण रुपमा पागल भइसकेको खबर पाउँथेँ । मिथारामले कहिले कसैको घर आगो लगाइदिएको, कहिले भीरबाट हाम फालेको, कहिले कसैका पशु चौपाया फुकाएर जङ्गलतिर लखेटिदिएको, कहिले सबै लुगा फुकाएर नाङ्गै गाउँ डुलेको जस्ता उपद्र्याहा खबरहरु बारम्बार आउँथे, मकहाँ । गाउँमा त्यस्ता असामाजिक कार्यहरु गरेको हुँदा उसलाई कहिले शरीरभरि नीलडाम बस्ने गरी पिटेको, कहिले हर्रामा कसेको, कहिले जेलमा कोच्ने गरेको आदिजस्ता दण्डात्मक खबरहरु पनि संगसंगै आउँथे । त्यसको त्यो अवस्था थाहा पाउँदा म बेचैनीले छटपटाउँथेँ, “कठै ! त्यति चमत्कारपूर्ण खेलहरु देखाउने मेरो मित्रको अवस्था किन त्यति नाजूक अवस्थामा पुग्यो होला ? उसको भावना र उसमा रहेको अद्भूत शक्तिको रहस्य कसैले बुझिदिएमा अवश्य ऊ महामानव बन्थ्यो कि !
एकदिन मलाई गाउँ फर्कने अवसर जुट्यो । घरमा पुग्ने बित्तिकै आमालाई मिथारामको बारेमा सोधेँ । उहाँले ‘मिथारामलाई राँची मानसिक हस्पिटलमा पुर्याएको’ जानकारी दिनुभयो । म वास्तवमा मिथारामलाई भेट्ने आकांक्षाले नै गाउँ पुगेकोले यो समाचारले म निकै निराश बन्न पुगेँ । त्यस बेलुका मलाई खाना पनि राम्रोसंग रुचेन ।
भोलिपल्ट बाल्यकालमा रमाएका कान्लाहरु, पोखरीहरु, चहुरहरु खोज्दै हिँडेँ । ती सबैको रुप परिवर्तन भइसकेको थियो । मिथारामसंग संगै खेलेका स्मरणयोग्य डोबहरु कतै भेटाइन । म झोक्राएर घर फर्किएँ । मन अँध्यारो भएकोले गाउँ, गाउँले र ग्रामीण क्रियाकलाप सबै चारैतर्फ अँध्यारैअँध्यारो मात्र पाएँ ।
करिब एक हप्ताको घरको बसाइ मेरो निरसिलो ढङ्गबाटै बित्यो । भोलिपल्ट मेरो शहर फर्कने कार्यक्रम थियो । म गाउँको अनुभव ताजा रहोस् भन्ने हेतुले गाउँको एक चक्कर लगाउन निस्केँ । एकजना सेताम्य भई दारीजुँगा फुलेको वृद्ध मान्छेसंग अकस्मात् जम्काभेट हुन पुग्यो । मैले त्यस वृद्ध व्यक्तिलाई गाउँ आएकै दिनदेखि यदाकदा जोगीको भेषमा घुमिरहेको देखेको थिएँ । तर आजभने ऊ र म आउनेजाने बाटो एउटै पर्न गयो । ऊ मलाई देख्नेबित्तिकै तर्कियो र “मोदीलाई म मन पराउँदैन, मोदीको कल्याण होस् !” भन्दै मुख छोपेर रुन थाल्यो । म उसको नजिकै पुगेँ र उसलाई गढेर हेरेँ । ऊ उही मिथाराम थियो । तर यति बुढो कसरी भयो यो ? ऊ त मेरै छाउँलीको भएकोले अहिले अधबैंसे हुनुपर्ने थियो मेरो अड्कलमा ।
मैले निश्चय गर्नको लागि सोधेँ, “तिमी मिथाराम होइनौ ?”
उसले आँशु पुछ्दै जवाफ दियो, “हो लाटु, म मिथाराम नै हुँ । म बर्बाद भएँ । म न बाँच्न सक्छु, न मर्न नै । यति भनी ऊ फेरि निस्सास्सिँदै रुन थाल्यो । मलाई ‘लाटु’ भनेर बोलाउने ऊ एक मात्र साथी थियो । तसर्थ ऊ मिथाराम नै हो भन्ने कुरामा म निश्चिन्त भएँ । तर मोदी को हो ? एउटा विक्षिप्त व्यक्तिलाई मर्नु र बाँच्नुको भेदको अनुभूति कसरी हुन आयो ? भन्ने कुरामा म जिल्लिएँ ।
उसका अद्भूत व्यवहारहरुको रहस्य के हो ? भनी मैले बाल्यकालमा सोध्ने ज्ञान ममा आएको थिएन । जान्न म आतुर थिएँ । तसर्थ उसले मान्यो भने उसलाई आफ्नो घरमै लाने बिचार कसेँ ।
“मिथाराम, हाम्रो बाल्यकालको तिमीबाट प्रदर्शित अनौठा व्यवहारहरु मैले कहिल्यै भुल्न सकिन । म तिम्रै सम्झनाले गर्दा तिमीलाई भेट्ने उद्देश्यले गाउँ फर्किएको हुँ । आज तिमी र म संगै बस्नुपर्छ । के तिमी मेरो अनुरोधलाई स्वीकार्न तयार छौ ?”
“मलाई कसैसंग बस्नुको कुनै अर्थ छैन । म मेरो परिवारबाट परित्यक्त भैसकेँ । अब मैले जन्मँदै मलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नुछ, बश् । समयको गतिलाई तिब्रता दिन नसक्दा म यो संसारमा प्रताडनाको शिकार भैरहेको छु ।” भन्दै ऊ विपरीत बाटोतिर मोडियो ।
मैले हत्त न पत्त उसको हात पक्रिएँ । उसका हातको स्पर्शले ऊ वृद्ध होइन अद्यापि बच्चा नै छ भन्ने अनुभूत गरायो मलाई । मैले उसलाई तान्दै मेरो घरतिर ल्याएँ । ऊ अझै रोइरहेको थियो । रुन्चे स्वरमै मसंग अनुरोध गर्यो, “मेरो हात छोडिदे, लाटू, म तेरो घरमा जान राजी भएँ । बरु तैंले मेरो शर्त मान्नुपर्छ ।”
“के ?” मैले उससंग जिज्ञासा राखेँ ।
“मेरो आत्मवृतान्त सुन्न चाहन्छस् भने अरु नपस्ने छुट्टै कोठामा बस्ने बन्दोवस्त मिला । वर्णनको क्रममा कुनै पनि प्रश्न खडा नगर्नू र मेरा घटना कसैलाई पनि नसुनाउनू । नत्र तँ पनि मजस्तै विक्षिप्त बन्न सक्छस् ।
मैले कुनै प्रश्न नगर्ने र उसले गरेका कुराहरु कहिल्यै अरुलाई नभन्ने प्रतिज्ञा गरेँ ।
हामी घरमा पुग्यौँ । हामीहरुलाई देख्नेबित्तिकै आमाले मलाई इशाराबाटै ‘पाहुना बोकेर किन आएको ?” भन्ने पाराले हप्काउनुभयो, तर बोलेरै केही भन्न सक्नुभएन किनकि आमाले पनि कसैको अभावमा मैले अव्यक्त पीडा खेपिरहेको कुरा बुझिसक्नुभएको थियो । खाना खाइसकेपछि हामी एकछिन बाहिरियौँ र फेरि मेरो एकान्त कोठामा पसेर बात मार्न थालेका थियौँ । बात मार्नु के थियो, अघिको शर्तअनुसार उसले आफ्नो जन्मेदेखिको आत्मवृतान्त मलाई सुनाउँदै थियो भने म आज्ञाकारी चेलोझैं कुनै प्रतिप्रश्न नराखी एकोहोरो सुनिरहेको थिएँ । उसको जीवनमा घटेका भनिएका प्रायः घटनाहरु अस्वाभाविक र पत्याउनै नसकिने खालका मिथक मात्र थिए ।
उसले आफ्नो आत्मवृतान्त यसरी क्रमिक रुपमा भन्दै गयोः
“म जन्मेदेखि दुई वर्षभन्दा पछिका घटनाहरु मात्र याद छ मलाई । म दुई वर्ष उमेरको पुग्दाको घटना हो म एकदिन खेल्दै गर्दा अकस्मात भकारीको खुट्टामा लड्न पुगेछु । मेरो कञ्चटमा भकारीका पिँधतिरको धारिलो भागले गहिरो घाउ हुने गरी घोच्न पुगेछ । मेरो कञ्चटबाट ह्वाल्ह्वाल्ती रगत बग्न थाल्यो । यो दुर्घटनाको उपचारको लागि त्यसबेला न कुनै अस्पत्ताल थियो, न त रगत थाम्ने ग्रामीण प्रविधि नै । म बाँच्ने कुनै सम्भावना नै थिएन । म केही बेरमै बेहोश हुन पुगेँ ।
केही छिनपछि मलाई परमआनन्दको अनुभूति भयो । मैले ब्यूँझिएर हेर्दा म एकजना अद्भूत नारीको काखमा थिएँ । उनले मलाई मुसार्दै भनिरहेकी थिइन्, “तिमी अहिल्यै मर्दैनौ । तिमीमा दशलाख मानवीय अंशमध्ये एक हजार दैवी अंश छ । त्यो पूरा भएपछि मात्र तिम्रो यस संसारमा कर्म पूरा हुनेछ । तिमीले त्यो शक्तिको स्मरण गरेर जे कुरा सोच्छौ, त्यो पूरा हुनेछ !”
त्यसपछि म फेरि बेहोश भएँ । जब पुनः ब्यँझिएँ । मेरै जन्म दिने आमाको काखमा थिएँ म । मेरो उपचार कुनै हालतमा हुन नसक्ने देखी उहाँ तिब्र क्रन्दनसाथ रोइकराइ गरिरहनुभएको थियो । वेदनाले छटपटाइरहनुभएको थियो । गाउँका धेरै मान्छेहरु मेरो वरिपरि जम्मा भएका थिए । मेरो निधारको घाउ सहनै नसक्ने गरी चहराइरहेको थियो, यसकै कारणले गर्दा म धेरै पटक अचेत हुने र चेतमा फर्किने क्रम पुनरावृत्ति भइराख्यो ।
केही महिनापछि मलाई पूर्ण रुपमा सञ्चो भयो । मैले त्यो घटना बिर्सँदै गएँ ।
त्यस घटनाको तीनचार वर्षपछि एकदिन अकस्मात मैले त्यस दिनको घटनाको अद्भूत नारीलाई सम्झन पुगेँ । उनले “तिमीले चिताएको कुरा पूरा हुनेछ !” भनेर भर्खरै भनेजस्तो लाग्यो । मलाई त्यो कुराको परीक्षण गर्न लहड चल्यो । मैले नदेखेको कुरा कल्पना नै गर्न सक्दिनथेँ । तसर्थ मलाई सँधै तर्साइराख्ने ‘आँखाफोर कीरा’ बनाएर हेर्न मन लाग्यो । साना झिँजाहरु खोजेर आँखाफोर कीराको नमूना तयार गरेँ र तीनै देवीको स्मरण गरेँ, त्यो नमूना कीरा साँच्चै जीवित कीरा बनेर हिड्न थाल्यो । म कराउँदै भागेँ ।
“कीरा देखेर पनि त्यसरी तर्सेर भाग्ने ?” भन्दै साथीहरुले मलाई गिज्याए । भोलिपल्ट साथीहरुलाई भेला गराएर मैले जीवित पुतली बनाउने निधो गरेँ । साथीहरु जम्मा पनि भए । मैले झिँजा र पातहरु खेरेर नमूना पुतली बनाई सजीवसरह उडाइदिएँ । एकदुई जना साथी यो अलौकिक खेल देखेर चकित परे, तर धेरै साथीहरुलाई यो कुरा विश्वास लागेन । उनीहरुले ‘पहिल्यै पुतली छोपेर लुकाएर राखेको होस्’ भनी जिद्दी पनि गरे । तर यो चमत्कारको पनि सीमा हुँदोरहेछ, एकदिनमा एउटाभन्दा बढी चमत्कार सफल हुँदैनथ्यो । कुनैकुनै साथीले आफ्नो आमाबालाई चमत्कारको कुरा सुनाउन पुग्थे र धेरै आमाबाहरुले त्यो कुरा पत्याउँदैनथे । जसले पत्याउँथे उनीहरु मेरो परीक्षण त हेर्न आउँथे, तर मैले त्यो कुरा दोहोर्याउन सक्दिनथेँ ।
यसरी डुँगा कुदाउने, राकेट उडाउने लगायतका विविध केटाकेटी खेलहरुमा मैले चमत्कारिक शक्तिको प्रयोग गरी बालसाथीहरुलाई मनोरञ्जन दिइरहेको थिएँ । मैले पढ्न पनि थालेँ । सानै हुँदा मैले मिदासको कथा पढ्ने अवसर पाएँ । ‘सुनको लोभले छोरी नै सुनमा परिवर्तन भएको’ कथाले मलाई सचेत हुन मद्दत दियो । तर हज्जार अंश दैवी शक्तिमा धेरैजसो लहडमै खर्च भैसकेको थियो । मैले अब यस्ता केटाकेटी खेलबाट दिमाग अन्तै डोर्याउनु पर्नेभयो । अतः सामान्य मानवीय क्रियाकलापमा म फर्किएँ ।
तर जीवनमा धेरै अप्ठ्यारा बाटोहरुको सामना गर्नुपर्दा अन्तिम बिकल्प प्रयोग गर्नैपर्थ्यो मैले । जस्तो एकपटक भाइ भीरबाट खस्यो, उसलाई पुनर्जीवन आवश्यक थियो, मैले पुनर्जीवन दिन सफल भएँ । एकपटक असिनाहुरीले भर्खर पाक्न थालेको बाली नष्ट गरी सारा गाउँलाई अनिकालको मुखमा पार्न आँट्दै थियो, मैले त्यो हुनबाट जोगाएँ । अर्को पटकको सलहको आक्रमणबाट पनि जोगाएँ गाउँलेलाई ।
कहिले सामान्य कुराको लागि पनि चमत्कारिक शक्तिको प्रयोग गर्नुपर्थ्यो । जस्तो आमाले खेतरोपाइको क्रममा हिलो उठेको खेतमा बम्बैबाट कष्ट गरी ल्याइएको फलामे दराजको चाबी हराउनुभएछ । बहुमूल्य कुराहरु सबै त्यसै दराजमा थियो । अर्को चाबी नहुँदा त्यो दराज खोल्ने कुनै उपाय नै थिएन । त्यस चाबी खोज्न गाउँका सबै मान्छेहरुले मद्दत गरे, तर कतै भेटिएन । खेतका गराहरु नै एक दर्जनभन्दा बढी भएकोले कहाँनेर खोज्ने कसैले भेउ पाउन सकेनन् । सामान सहितको दराज बोकेर फेरि बम्बै पुर्याउन पनि सम्भव थिएन । यही सानो कारणले बाआमाको सम्बन्ध नै बिग्रँदै जानथाल्यो । यस्तो स्थिति आयो कि सम्बन्ध नै विच्छेदको संघारमा पुग्यो । मैले बुझेँ कि मैले नै मेरो चमत्कारिक शक्तिको प्रयोगमा ढिलाई गरिरहेको रहेछु । म दौड्दै एउटा खेतको गरामा उभिएँ र ‘त्यो चाबी यहीँ भेटियोस् !’ भनी त्यसै शक्तिलाई पुकार्दै हात हिलोमा डुबाएँ । नभन्दै चाबी त्यहीँ नै भेटियो । त्यस दिनदेखि पुनः आमाबाको सम्बन्धमा वसन्तबहारको पालुवा पलाउन शुरु भयो ।
बाल्यकालदेखि अहिलेसम्म यस्ता धेरै जटिल घटनाहरु घटे, जसलाई मैले त्यही शक्तिले बशमा ल्याउन सफल भएँ ।
तर एक दिन अप्रत्याशित घटना घट्न पुग्यो । म जागिरको सिलसिलामा शहरमा पुगेको थिएँ । मैले एउटा क्याम्पसमा प्राध्यापनको जागिर पनि भेट्टाएँ । क्याम्पस मेरो डेरादेखि अलिक टाढा भएकोले क्याम्पस पुग्न म बस चढ्नुपर्थ्यो । यसरी क्याम्पस जाँदै गरेको एउटा बसमा एउटा महिला प्रवेश गरिन् । मैले उनलाई कतै देखेदेखे जस्तो र चिनजान भएजस्तो लाग्यो । उनी अत्यन्तै सामान्य पहिरनमा थिइन्, उनको चेहरा तथा जीउडाल सामान्य खालको नै थियो । उनी सामान्य भएकै कारणले हो या किन हो बारम्बार उनीतिर मेरो नजर परिरह्यो । तर उनलाई यसको कुनै परवाह थिएन र परवाह हुने कुरा पनि भएन ।
अर्को दिन मात्र होइन, मेरो अफिस जानेबेला प्रायः म चढेकै बसमा उनी चढ्ने गर्दथिन् । उनी सिट भए बस्थिन् र नभए उभिन्थिन् । अरुको नजर उनीतिर पर्दैनथ्यो, यसकारणले कि उनी सामान्य रुप, रङ्ग र पहिरनमा थिइन्, नभए मेरो नजरको फाइदा अरुले नै पुर्याउन सक्थ्यो ।
मैले देखे देखेजस्तो लाग्ने ती केटीको अनुहार मेरो बच्चापनमै दुर्घटना हुँदा मलाई काखमा लिने महिलाको अनुहारसंग मिल्न पुगेको रहेछ । मैले ती देवीलाई स्मरण गर्न पुगेँ । लाम्चो अनुहार, नबाँधेर छाडेको खैरो कपाल, औसत उचाइ, श्रृङ्गारविहिन मुखाकृति । ओहो ! ठ्याक्कै उस्तै । मलाई त्यसैले पो उनलाई कतै देखेजस्तो भान भइरहेछ ! “धन्य नारी, तिमीले मेरा धेरै कठिनाइमा मद्दत गरेकी छौ तसर्थ मैले तिमीलाई प्रेम गरिरहन पाऊँ ।” अनायास मेरो मुखबाट यस्तो लालसा प्रस्फूटन हुन पुग्यो ।
त्यस दिनदेखि मेरो उनीप्रतिको चाहना बढ्दै जान थाल्यो । केही समयपछि उनी भने म चढेको बस चढ्नै छोडिन् । मलाई उनीलाई कहाँ भेटूँ, कसरी भेटूँ, भनेर छटपटी बढ्दै गयो । म उनीबिना पानीबिनाको माछो सरह छटपटिन थालेँ । मलाई न उनको कुनै ठेगाना थाहा थियो, न फोन नै, न उनीसंग एकशब्द बोलेको नै थिएँ !
यसरी नै जीवन चलिरहेको थियो । एक दिन उनी अकस्मात मैले पढाउने गरेकै क्याम्पसमा देखा परिन् । मैले सपना देखेको हो कि भनी आफूलाई चिमोटेर हेरेँ, यो सपना थिएन, विपना नै थियो । म खुशीले अत्यन्तै आल्हादित भएँ र उनलाई सोध्ने हिम्मत गरेँ, “तपाईँ के काम परी यस क्याम्पससम्म पाउकष्ट गर्नुपर्यो ?”
उनले आफू पनि पढाइको सिलसिलामा यसै क्याम्पसमा पढ्न आइपुगेको कुरा बताइन् । उनको नाम ‘मोदी’ रहेछ । उनलाई आफ्नै नजिक भइरहेको देख्न पाइने ठानी म खुशीले नाचेँ, उफ्रिएँ र जिन्दगीमा पहिलो पटक धेरैभन्दा धेरै रमाएँ । मैले उनीसंग अरुभन्दा बढी नजिकिन प्रयास गरेँ । तर उनले अरुसंगको समानान्तर व्यवहार गरिन् ।
मैले उनलाई दिलोज्यानले मेरो विषय लगायत अन्य विषयहरु पनि सिकाइदिने लोभ देखाउँदै उनीसंग लहसिने प्रयास गरेँ । उनले मेरो अभिष्ट बुझिन् कि बुझिनन् म भन्न सक्तिन । तर मैले “मोदी, तिमीलाई म असाध्यै प्रेम गर्छु !” भन्ने साहस कहिले पनि गरिन ।
अकस्मात मेरो सरुवा त्यस क्याम्पसबाट अन्यत्रै हुनगयो । तर मैले उनलाई पुनः मैले पढाउने नयाँ क्याम्पसमा आकर्षित गर्ने प्रयासमा लागिरहेँ । उनलाई दिक्क लगाउने गरी दिनदिनै फोन गर्ने क्रम जारी रह्यो । उनी केही गरे पनि मप्रति आकर्षित हुन सकिनन् । मसंग अरुलाई आकर्षण गर्ने गुणहरु पनि केही थिएनन् । अतः मैले पुनः तिनै शक्तिलाई स्मरण गरी ‘उनी पनि मेरो प्रेम जालमा परुन् !’ भन्ने ईच्छा जाहेर गरेँ । फलस्वरुप त्यस दिनदेखि उनको मलाई बुझ्ने दृष्टिमा परिवर्तन आइरहेको आभाष पाउन थालेँ । मलाई असिम आनन्दको अनुभूति भयो । मैले सारा कुरा प्राप्त गरेको अनुभूति गर्न थालेँ । हप्तौँ म उनको प्रेममा रमाउँदै हराएँ ।
यो खुशियालीको दिन धेरै समय लामो हुन सकेन । एक दिन मेरो परिवारले घरखर्च टार्नको लागि मेरो भागको जग्गा नै बेचिदिएको खबर पाएँ । यसले मेरो वास्तविक धरातलको सूचना दिँदै मलाई झकझक्यायो । मैले उनलाई प्राप्त गरेपछि उनलाई सँधै खुशी तुल्याउन के के योगदान गर्नुपर्ला भन्ने तर्फको सचेतनाको पूर्व संकेत थियो यो । मैले सोच्दै गएँ, मसंग उनलाई खुशी राख्नयोग्य कुनै पनि साधन बाँकि थिएन । न उनलाई प्राप्त गर्नुको मलाई कुनै अर्थ नै थियो, न मलाई प्राप्त गरेर उनलाई कुनै फाइदा नै थियो ।
यो हामी दुवैजनाले बुझ्दाबुझ्दै पनि हाम्रो प्रेमालाप कहिलै घटेन, प्रेमको बिरुवा बढ्दै गयो, झाङ्गिदै गयो ।
अर्को दिन मलाई एउटा चिठ्ठी प्राप्त भयो । त्यसमा धम्कीपूर्ण भाषामा लेखिएको थियो, “मेरो परिवार भाँड्न खोज्ने तँ को होस् ? तैँले मेरो मोदीमा लगाएको मोहनी फिर्ता गरिनस् भने तँलाई दुई गीड पारिदिनेछु । तँ को होस्, कहाँ छस्, सबै पत्ता लगाइसकेको छु, मैले । अहिल्यै समाप्त पार्ने थिएँ, तर तेरो मोहनी मोदीबाट फिर्ता नभएमा मेरो जीवन सदा अधमरो रहने मैले बुझेको छु ।”
बल्ल थाहा पाएँ कि मैले प्रेम गरेकी भनिएकी ती महिला त अर्कैकी रहिछन् ! प्रेमको याचना गर्दा कसको, के चिज माग्दैछु भन्ने कुरामा समेत सुद्दि पुगेनछ, मेरो । थुक्क मेरो सुद्दि ! अनि पुनः मैले शक्तिलाई स्मरण गर्दै प्रार्थना गरेँ “हे अलौकिक शक्ति, मलाई एकजना बाल्यसखा बाहेक कसैले चिन्न नसक्ने बनाइदेऊ !”
अर्को दिन घरमा मेरो आमा सिकिस्त भएको खबर पाएँ । तर मैले ती महिलालाई नभेटेको जुगौँ भइसकेको जस्तो भइराखेको थियो । उनलाई कतै देखेर वा कतै भेटेर मात्र रुग्ण आमालाई भेट्न जाने निधो गरेँ । म फेरि शहर पसेँ र उनले पढ्ने गरेको क्याम्पसमै पुगेँ । उनको दशा हृदयविदारक थियो, तर उनले मलाई चिन्न सकिनन् । मैले “म उही मिथाराम हुँ” भनी अनुनय विनय गरे पनि उनले मेरो कुरामा विश्वास गर्न सकिनन् । मलाई उनको मान्छेको धम्कीभन्दा बढी उनको यस अवस्थाले घायल तुल्यायो उनको भौतिक एवं आत्मिक शरीरभन्दा बढी उनको भविष्यको चिन्ताले सतायो । मेरै कारणले उनको परिवार नभाँडियोस् भन्दै मैले पुनः प्रार्थना गर्न थालेँ ।
उनलाई बुझाउने केही सीप नचलेपछि म गाउँतर्फ हानिएँ । बाल्यकालमा सबैतिर सम्पन्न ठानेको मेरो गाउँमा मैले अहिले भने अभावैअभाव मात्र पाएँ । अविकासको चरम प्रभावले गाउँ भोक, शोक र रोगले ग्रसित थियो । एउटै गाउँमा लाखौँ समस्या थिए, एउटै परिवारमा हजारौँ समस्या थिए, एउटै व्यक्तिमा सैयौँ समस्या थिए । मेरो दिमागमा पछुताउको मथिङ्गल मच्चियो । ममा भएको अलौकिक शक्तिको प्रयोग गरी मैले ती गाउँलेको रोग, शोक र भोक निवारणको लागि प्रयोग गर्न सकिन लाटू । जब चेत खुले म अब धेरै बुढो भइसकेको थिएँ । मलाई गाउँमा कसैले चिन्दैनन् । मलाई मेरो आमाले पनि चिन्न सक्नुभएन र फलस्वरुप मलाई सित्तैमा एक गाँस दिन अरु गाउँले त के मेरी आमा पनि तयार हुनुभएन । धिक्कार छ ममा रहेको मानवीय उर्जालाई ! मैले प्राप्त गरेको भिन्न क्षमताको अधिकांश भागलाई मानवीय हितमा प्रयोग गर्नुको साटो, मैले मनोरञ्जन, लहड र लालसामा मात्र प्रयोग गर्दै दुरुपयोग गरेँ !
तसर्थ म साँच्चिकै भिखारी भएँ र अन्तत्वगत्वा पागल बन्न पुगेँ लाटू ।”
उसको यस आत्मवृतान्त सुनिसकेपछि भनेको थिएँ मैले, “मिथाराम, मध्यरात भयो, अब सुतौँ ।”
भोलिपल्ट मैले आमालाई धेरै प्रश्नहरु गरेँ, “आमा, मिथारामले कतिसम्म पढेको थियो ? कहिलेदेखि क्याम्पस पढाउन थाल्यो ? ऊ कुन कुन शहर गयो ? उसको परिवार कहाँ छ ? त्यो मोदी नामकी महिला को हो ? ” आदि आदि ।
आमाले भन्नु भएको थियो, “यो गाउँबाट मिथाराम आजसम्म कतै निस्किएकै छैन । यहीँको विद्यालयको प्राथमिक तहभन्दा अरु उसले पढ्न नै पाएन । ऊ जन्मजात पागल भएकोले उसलाई कुनै केटीले पत्याउने कुरा पनि आएन, तसर्थ आजसम्म बिहे गरेको पनि छैन । उमेर बढ्दै जाँदा पागलपन पनि बढ्दै गयो । उसको उपचार यता हुन नसकेकोले उसलाई एक हप्ता अगाडि मात्र राँचि पुर्याइएको छ ।”
आमाको यो भनाइ नै मलाई मिथ्या लाग्यो र आमाको यो जवाफले म सन्तुष्ट भइन । मैले हिजै मात्र भेटेको मिथाराम र उसले सुनाएको घटना मिथक हुनै सक्तैन । ऊ अवश्य पनि यतैकतै हुनुपर्छ । यस्तै सोची आफ्नो जागिरको विदा लम्ब्याउँदै मिथारामलाई खोजी गर्ने मैले पुनः निधो गरेँ ।