प्रवचन संग्रह

मनवा मेरे बाबा बाबा बोल

  • ब्रह्माकुमार जगदीश चन्द्र

जब बच्चा बोल्न सिकेको हुँदैन, सानो हुन्छ, अनि उसलाई पहिले पहिले बोल्न सिकाइन्छ । ऊ खूद बोल्न सक्दैन, किनकि अझसम्म दाँत पनि पूरा उम्रिएको हुँदैनन्, त्यसबेला कसरी र के सिकाउन शुरु गरिन्छ ? ‘बाबा, बाबा’ । यो सबभन्दा सरल शब्द हो । पहिले पहिले यही ‘बाबा, बाबा’ शब्द नै सिकाइन्छ । तर त्यो बच्चा बाबा भनेर त बोल्दैन अरु केही बोल्दछ । जति जति ठूलो हुन्छ, थोरै थोरै बोल्न शुरु गर्दछ । शुरु शुरुमा मह चटाइदिन्छन् । सानो बच्चाको जिब्रोमा मह राख्दिन्छन् । भाव यो हुन्छ कि ठूलो भएपछि मीठो बोलोस् । बच्चाले त्यो भाव त बुझ्दैन, मह खाइदिन्छ । पछि ठूलो भएपछि कस्तो बोल्छ ? कति कटु वचन बोल्दछ ? कतिको दिल दुखाउँछ ? भनिन्छ कि तरवारको घाउ बरु मेटिन सक्छ, तर जिब्रोको घाउ मेटिन मुश्किल हुन्छ । मनुष्यको वाणी कस्तो हुन्छ ? वाण सरह । मनुष्यको मुख पनि कमान समान हुन्छ । यसबाट वाणी यस्तो बोल्छ कि जस्तो वाण चलाइरहेको छ । यसैले याद दिलाइन्छ कि यस मुखबाट ‘बाबा बाबा’ बोल । यसैलाई बार बार स्मृतिमा ल्याऊ किनकि हाम्रो स्मृति जस्तो हुन्छ, त्यस्तै हाम्रो स्थिति हुन्छ ।

दुनियामा मनोविज्ञानका धेरै पुस्तकहरु लेखिएका छन् । तीमध्ये मानव-स्वभाव (Human nature/ behaviour ) को विश्लेषण गरिएको छ । तर कसैले पनि मानव-स्वभावको बारेमा पूरै तरहले बताइएको छैन कि जस्तो स्मृति, त्यस्तै स्थिति । यो एक बेसिक ल हो । यस नियमबाट संसारलाई बदल्न सकिन्छ । एउटा महान वैज्ञानिकले भनेका छन् कि मलाई एउटा लामो र शक्तिशाली लठ्ठी देऊ, म पूरै संसार हल्लाइदिन्छु । भौतिकशास्त्रमा एक नियम छ, जसलाई Principle of Livers भनिन्छ । त्यसमा बताइएको छ कि यस्तो एउटा लामो लठ्ठी देऊ, त्यसको अर्को छेउमा संसारलाई बाँधेर एक्लै यस संसारलाई घुमाइदिउँला । भौतिकशास्त्रको नियमअनुसार यो ठीक हुनसक्छ, तर यति लामो लठ्ठी नै कहाँ पाउनु र ? त्यस्तो मिल्दै मिल्दैन । दुनियाको घुमाउने वाला त्यो रड हो, जो बाबाले बताउनुभएको छ कि ‘जस्तो स्मृति, उस्तै स्थिति ।’ यसैले बाबाले बारम्बार भन्नुहुन्छ, ‘मलाई याद गर, मलाई याद गर ।’ तर तपाईँ यस्तो व्यक्तिको याद गर्नुहुन्छ, जसले तपाईँलाई दुःख दिन्छ, अपमान गर्छ, तपाईँसंग ठीक व्यवहार गर्दैन दुर्व्यवहार गर्छ भने तपाईँको मनमा अशान्ति पैदा हुन्छ, घृणा पैदा हुन्छ । राम्रो फिलिँग आउँदैन, किनकि स्मृति नै यस्तो चिज हो । स्मृतिको स्थितिसंग एकदमै गहिरो सम्बन्ध छ । यही एउटा कुरा लिएर हामीले स्वयमलाई र विश्वलाई बदल्ने कोशिस गरिरहेका छौँ । जस्तो स्मृति, उस्तै स्मृति, मनवा मेरे ‘बाबा, बाबा’ बोल । भक्तिमार्गमा भनिन्छ तेरो के मोल लाग्ला ? तेरो के खर्च होला ?’ किनकि कलियुगमा सारा कार्य कमर्शियल भैसक्यो । हरेक चिजको मूल्य निकालिन्छ । कुरा ठीकै हो भने भनिन्छ कि सोह्रै आना सत्य हो । सत्यतालाई आनामा नापिन्छ । मनुष्यको स्वभाव नै यस्तो भैसक्यो कि हरेक चिजको महत्त्व पैंसामा आँक्न लागेका छन् ।

मन एउटा धेरै ठूलो शक्ति हो । यो एकदमै वन्डरफुल शक्ति हो । यसको परिवर्तन गर्नु छ । मनको परिवर्तन गर्नु भनेको इच्छाहरु, तृष्णाहरु, कामनाहरु, अपेक्षाहरु, कल्पनाहरु, अनुमानहरुको परिवर्तन गर्नु हो । मनलाई मार्नु होइन, मनलाई सुधार्नु हो, मनलाई फर्काउनु हो, यसलाई मलजल गर्नु हो, यसलाई प्रशिक्षित गर्नु हो । मनलाई घोडा भनिन्छ । घोडा यसर्थ हो कि यसको माथि चढेर यात्रामा जान सकिन्छ, यसलाई आफ्नो काबूमा राखेर यात्रामा निस्कन सकिन्छ । घोडा यात्रा गर्नको लागि उपयुक्त साधन हो । त्यसरी नै मन पनि मुक्ति जीवनमुक्तिको एक उपयुक्त साधन हो । यदि यसमा हामी सवार भयौँ भने यसबाट हामी प्राप्ति गर्न सक्छौँ । यो हाम्रो नियन्त्रणमा हुनुपर्छ । जसरी चाह्यो, त्यसरी उपयोग हुनुपर्छ । यस्तो होइन कि यसले जसरी चाह्यो, हामीलाई चलाओस् ।

मनले दुई प्रकारको कार्य गर्दछ । यसको अर्थ यो होइन कि मन दुईवटा हुन्छन् । मन त एउटै हो । एउटै मनले दुईप्रकारले काम गर्दछ । एउटाले यसो भन्छ, अर्कोले उसो भन्छ । यसैल मनुष्य कन्फ्यूज हुन्छ । या त मन र बुद्धिको मेल हुँदैन, या त मन र स्मृतिको मेल हुँदैन, या बुद्धि र संस्कारको मेल हुँदैन । यी आपसमा लड्दछन् । मैले भन्दै थिएँ कि मनका दुई रुप हुन्छन् । एक हो हाम्रो मूल संस्कार, अनादि संस्कार, जो सुषुप्त रुपमा हुन्छ, तब त प्रवृत्ति हुन्छ । उसका प्रमाण के हो ? धेरैजसो मान्छेहरु डार्बिनको इभोलुसन थ्योरीलाई लिएर गलत कुरा भन्दछन् कि मनुष्यका पूर्वज जंगली र शिकारी थिए, गुफामा बस्दथे । त्यसोभए तिनीहरुलाई सोधौँ कि मनुष्यमा जुन सात्विक बिचार छ त्यो कहाँबाट आयो ? मनोवैज्ञानिकहरुले पनि भन्छन् कि मनुष्यको अन्कन्सियस माइन्ड र सब-कन्सियस माइन्ड हुन्छन् । तिनीहरु भन्छन् कि खराब संस्कार त्यसमा भरिएको हुन्छ र त्यो उम्लिरहेको हुन्छ । यदि यसो हो भने नोबल अर्थात सात्विक बिचार किन आउँछ ? सात्विक बिचार त हरेकलाई आउँछ । कोही अत्यन्त नराधम अपराधी किन नहोस्, उसको पनि राम्रो र सात्विक बिचार आउँछ । कुनै मान्छेले चोरी गर्दछ, रिस गर्दछ, तपाईँले उसलाई सोध्नुहोस्, उसलाई पनि आफ्नो त्यो काम राम्रो लाग्दैन । ऊ सम्झन्छ कि मैले ठीक गरिरहेको छैन । खूद पनि दुःखी भइरहन्छ । किन ? यदि कसैले रिस पनि उठाउने र कसैलाई मारिदिन पनि सक्छ, तर पछि किन पछुताउँछ ? यसबाट यो पत्ता लाग्दछ कि उसको भित्र पनि एक यस्तो प्रवृत्ति हुन्छ, जो सच्चाइलाई, राम्रोलाई, इमानदारीलाई, आज्ञाकारितालाई राम्रो मान्दछ । यदि यस्तो सम्भावना छ भने यो कहाँबाट आयो ?

यो त्यो खराब संस्कार हो, दुषित संस्कार हो, जो द्वापर युगबाट, जब हामीहरु बदलिन लाग्यौँ, तल झर्न थाल्यौँ, तब आएका हुन् । वातावरणको प्रदुषण त अहिले भैरहेको छ, तर मनको प्रदुषण धेरै पहिलेदेखि द्वापर युगदेखि नै शुरु भयो । मनको, बुद्धिको प्रदुषण २५०० वर्ष पहिलेदेखि शुरु भएको हो । नैतिक मूल्य र मानवीय मूल्य तितरबितर भइसके, क्षीण भइसके । धेरैलाई युद्धमा मारिदिने वालालाई भनिन्थ्यो वीर योद्धा, शूर योद्धा, धेरै ठूला योद्धा । उसको प्रशंसा गरिन्थ्यो कि यी महाबीर छन्, महाधीर, महाशक्तिशाली सैनिक हुन् । उसलाई इनाम दिइन्थ्यो । मार्नेवालालाई इनाम र प्रशंसा दिइन्थ्यो । यस प्रकार द्वापर युगमा हिंसा गर्ने वालालाई, मार्ने वालालाई हामीले महत्त्व दिन लाग्यौँ, जस्तो कि अलेक्जेन्डर दि ग्रिट (सिकन्दर महान) को उपाधि दिइयो । ऊ कस्तो महान सिकन्दर थियो ? ऊ एक ठूलो सेनानी थियो, यो ठीक हो । महान कसरी थियो ? महान कसलाई भनिन्छ ? कति देशलाई उसले बर्बाद गर्‍यो ? कति मान्छेहरुलाई मारिदियो र मार्न लगायो ? उसका कति सैनिकहरुका स्वास्नी र छोराछोरीलाई बर्बाद गर्‍यो ? जसले उसको जीवनकहानी पढेका होलान्, उनलाई थाहा छ कि उसले कति रक्सी पिउँथ्यो ? ऊ रक्सी पिएर मरेको थियो । उसले यति रक्सी पिउँथ्यो कि वैद्यले उसलाई मनाही गरिदिएका थिए, ‘रक्सी पिएमा मर्नेछौ भनेर ।’ फेरि पनि मान्न सकेन । उसले विभिन्न देशहरुलाई जित्यो, तर आफ्नो मनलाई जित्न सकेन, रक्सी समेत छाड्न सकेन । बोतलले नै उसलाई पिइदियो, ऊ समाप्त भयो । यसैले यस्ता व्यक्तिहरुको महात्माहरुको जीवन कहानी सुनौँ वा पढौँ, जसले आफ्नो मनलाई परिवर्तन गरेर असल बने । सात्विक बने र राम्रो काम गरे । तब हामीले पनि कुनै काम गर्न प्रेरणा पाउनेछौँ ।

म एउटा छोटो कथा बताउँछु । म जब यस ईश्वरीय विश्व विद्यालयमा पहिलो पटक आएँ २-३ दिन भएको थियो मुश्किलले । बहिनीजीले सोध्नुभयो, ‘केही काम गर्न सक्छौ ? मैले भनेँ ‘कोशिस गरुँला ।’ विचार थियो कि यहाँबाट यति प्राप्ति हुन्छ भने केही सेवा त गर्नैपर्दछ । उहाँले भन्नुभयोः ‘यो पार्सल हो, यसलाई स्टेशनसम्म पुगेर पठाइदिनुपर्ने भयो ।’ मलाई धेरै खुशी लाग्यो । जून महिना थियो । जो दिल्लीमा बसेका  वा पुगेका छन्, उनीहरुलाई थाहा छ कि जून जुलाईमा यहाँ के हालत हुन्छ भन्ने कुरा !  मध्यान्हको समय थियो । मैले त्यो पार्सल लिएर दिल्लीको मेन स्टेशनमा पुगेँ र लाइनमा खडा भएँ ताकि मेरो पालो आओस् । उतिबेलै एकजना काँधमा काठको एउटा बडेमानको बाकस बोकेर आयो । त्यसमा फलामको पट्टी लगाइएको थियो । किला मारिएको थियो । ऊ मेरो सामुन्ने आयो र त्यस बाकसलाई फ्याँकिदियो, अनि त्यो मेरो खुट्टामा खस्यो । चप्पल लगाएको थिएँ, पाइतला दब्यो र नङ बाहिर निस्कियो र रगत बग्न थाल्यो । जवानीको उमेर थियो २३-२४ वर्षको थिएँ, कसरत गर्दथेँ । तब मनमा ठूलो जोश आयो । यति जोश आयो कि मनमा आयो ‘यो कति दुष्ट मानिस हो ? यसलाई राम्रै तरीकाले पाठ सिकाउनुपर्ने भयो ।’ उल्टो सुल्टो ख्याल आयो । त्यसभन्दा पहिले सेवाकेन्द्रमा गएको थिएँ, त्यसबेला बहिनीजीले भन्नुभएको थियो कि ‘मनुष्यले रिसलाई त्याग्नुपर्छ । रिस राम्रो चिज होइन ।’ मलाई यो लाग्यो कि यो त कुनै नौलो कुरा होइन, सबै सत्संगवालाले यही भन्ने गर्दछन् कि रिस गर्नु खराबी हो, रिसलाई छाड्नुपर्छ । यही कुरा नै बहिनीजीले बताइरहनुभएको थियो, कुनै फरक थिएन । फेरि उहाँले बताउनुभयो रिस छाड्नुपर्छ यसको अर्थ हो कि कसैले तपाईँको अपमान गरे, नोक्सान पुर्याए, कष्ट दिए त्यस बखत पनि रिस नआओस् । जब कसैले परीक्षा लिन्छन्, तब पनि रिस उठ्नुभएन । असल भलाद्मी मान्छेको किन रिस उठ्छ र ? केही भए त रिस उठ्ने हो । जस्तै विकट परिस्थिति होस्, त्यस समय पनि रिस उठ्नु भएन । यो हाम्रो भाव हो । मैने भनेँ, ‘राम्रो भयो, तपाईँले स्पष्ट गरिदिनुभयो ।’ फेरि मलाई लाग्यो यो त कुनै नयाँ कुरा होइन । फेरि बहिनीजीले भन्नुभयो, ‘यो ज्ञान हो । यो पढाइ हो । जब पढाइ पढ्छौ, परीक्षामा कुनै बेला पनि जानै पर्छ । यो परीक्षा जहिले पनि हुन सक्छ, जहाँ पनि हुन सक्छ । स्कूलमा जुन पढाइ हुन्छ, ती लौकिक परीक्षाको मिति पनि हुन्छ, स्थान पनि हुन्छ, रोल नम्बर हुन्छ, फलानो हल हुन्छ र फलानो विषयको पेपर हुन्छ । तर यो अलौकिक परीक्षा कहाँ आउँछ, कहिले आउँछ, कुन विषयमा आउँछ र कोद्वारा आउँछ पत्ता नै हुँदैन । अचानक कहीँबाट पनि, कसैबाट पनि आउन सक्छ । तब मलाई लाग्यो यो नयाँ कुरा हो । यो पुरै दुनिया परीक्षा हल हो । मलाई जहिले पनि परीक्षा पेपर आउन सक्छ । तीन दिन पहिले बहिनीले मलाई यो कुरा बताउनुभएको थियो ।

भर्खरै नयाँ नयाँ मुसलमान बनेको थिएँ । ‘अल्लाह, अल्लाह’ गर्न सिकेको थिएँ । आज नै यसले यस्तो गरिदियो, बाकस मेरो खुट्टामा फ्याँकिदियो । उसले मलाई दुख दियो । एकतर्फ त जोश आयो जवानीको, देह-अभिमानको, रिसको तुफान आयो, जस्तो कि अरु मान्छेहरुलाई आउँछ, अर्कोतर्फ याद आयो कि बहिनीजीले भन्नुभएको थियो, ‘यो संसार परीक्षा हल हो । तब मलाई लाग्यो यो मेरो एक्जामिनर परीक्षक आयो, यसले मेरो परीक्षा लियो, मेरो पेपर सकियो । यदि मैले रिस उठाएँ भने म फेल हुन सक्छु । बहिनीजीलाई गएर के बताउँला ? उहाँले भन्नुहोला कि यो नालायक विद्यार्थी गएर फेल भएर आयो । यो त ठीक होइन । तब मनमा आयो रिस नउठाऊँ । रिस कसरी नगर्ने ? यसको विधि पनि बताउनुभएको थियोः परमात्मा शान्तिका सागर हुनुहुन्छ, आनन्दको सागर हुनुहुन्छ, प्रेमको सागर हुनुहुन्छ, म आत्मा पनि उहाँकै सन्तान, शान्ति, आनन्द, प्रेम स्वरुप हुँ । म पनि यस्तै हुनुपर्छ । मैले मनमनै यो कुरा रिपिट गर्न थालेँ । त्यो अग्लो न अग्लो डरलाग्दो मान्छे मेरो सामुन्ने नै थियो । मैले याद गरिरहेको थिएँ ‘म ज्योतिर्बिन्दु आत्मा हुँ, लाइट हुँ, माइट हुँ, आनन्द हुँ, शान्ति हुँ ।’ यस्तो सोच्न लाग्दा त मनमा शान्ति भयो, रिस भागिहाल्यो । बाबाको याद गर्दा मन बदलिएर फाइदा नै भयो । रिस त गयो, तर पुरै रुपमा गएको थिएन । त्यो मान्छे अलि पर पुगिसकेको थियो, फेरि ममाथि नै हावी भएर भन्न थाल्यो ‘तिमी एकतर्फ किन उभिन्नौ ? किन यहीँ खडा भइरहेका छौ ?’ उसले सोचेको थियो होला कि यसले मलाई केही भन्यो भने यसको कमजोरी निकालिदिऊँ ता कि यसले आफ्नो गल्ती थाहा पाओस् । उसले मलाई फेरि भन्न थाल्यो, ‘तिमी गलत ठाउँमा उभिएका छौ ।’ मलाई लाग्यो कि बहिनीजीले मलाई जुन पाठ बताउनुभयो, त्यो यस दुनियामा काम आउने वाला छैन । यहाँका मान्छेहरु अर्कै खालका छन् । म त मान्दछु कि म एक ज्योतिर्बिन्दु आत्मा हुँ, तर यसले त मान्दैन । मैले सोचेँ, यो कुरा यहाँ चल्दैन, यो त  सिर्फ सेन्टरमा मात्र ठीक हुन्छ । सेन्टरको कुरा सेन्टरमै ठीक हुन्छ, यहाँको कुरा यहाँ नै ठीक हुन्छ । फेरि रिस फर्केर आयो । यतिबेलै लाइनमा अरुहरु पनि खडा थिए, उनीहरुले मेरो तर्फबाट बोल्न थाले ‘यिनी त ठीक ठाउँमा खडा छन्, गल्ती त तपाईँकै हो । एक त तपाईँले नै हान्नुभयो, उसको नङ नै निस्किएको छ, रगत बगिरहेको छ, अर्को उसलाई गलत तरीकाले बोलिरहनुभएको छ ।’ उनीहरुले बोल्न थालेपछि म चुपचाप खडा भइरहेँ । म कि चुपचाप उभिएँ ? किनकि बहिनीजीको त्यही कुरा याद आइरहेको थियो कि ‘म एक ज्योतिर्बिन्दु आत्मा हुँ, शान्ति स्वरुप हुँ, आनन्द स्वरुप हुँ ।’ फेरि ममा आनन्द आउन थाल्यो । त्यहाँ उभिएका मान्छेहरुले सोचे कि यो त बुद्धु रहेछ । हामी यसको तर्फबाट यति सारो बोलिरहेका छौँ, तर यो त केही पनि बोलिरहेको छैन, मानौँ यसको कुनै नट-बोल्ट होलो छ । तर जसले बाकस फ्याँकेको थियो, त्यो व्यक्तिलाई के भयो थाहा छैन, मलाई शान्त भएको देखेर ऊ तल झुक्यो र मेरो पाइतालामा हात राख्न थाल्यो । मलाई भन्यो कि, ‘मलाई माफ गरिदेऊ । तपाईँ धेरै महान हुनुहुन्छ ।’ मैले सोच्न थालेँ म कसरी महान हुँ ? पहिले मलाई हान्यो अनि भन्छ, तिमी त महान हौ । म महान कसरी भैहालेँ ? यो मेरो समझमा आएन । फेरि भन्न थाल्यो, ‘मैले नै यति कष्ट दिएँ, दुःख दिएँ, तर तपाईँले एक शब्द बोल्नुभएन, शान्त खडा हुनुभयो । तपाईँ धेरै महान हुनुहुन्छ ।’ मलाई उसको शब्दले मनमा छोयो । म भर्खरै त यस मार्गमा चलिरहेको छु, म को हुँ ? याद गरेँ र थोरै सहन गरेँ यत्तिकैमा पनि उसले भन्छ, ‘तपाईँ महान हुनुहुन्छ ।’ तसर्थ मलाई लाग्यो क्रोधलाई त्याग्नु नै महानता हो । अहिले मलाई समझमा आयो कि क्रोधलाई त्याग्ने युक्ति के हो ? यो कुरा समझमा आउन थालेपछि जीवनमा परिवर्तन आउन शुरु भयो । दिनदिनै सेन्टरमा जान शुरु गरेँ । मलाई अनुभव हुन थाल्यो कि यी ब्रह्मकुमारी बहिनीजी जसले राम्रो कुरा बताउनुहुन्छ, ती प्राक्टिकल कुरा हुन् । यस्तो होइन – यिनको ज्ञान, यिनको नियम, आजको दुनियामा चल्नेछैन । होइन, यस दुनियमा यिनको नै चल्नेछ । यीबाट शान्ति हुनेछ, आफूलाई पनि र अरुलाई पनि । यो सिर्फ मेरो एउटा अनुभव होइन, तपाईँलाई पनि अनुभव हुनेछ । यस्ता अनुभवहरुको संग्रह गरेर दुनियावालाको सामुन्ने राख्यौँ भने उनीहरुका आँखा खुल्नेछन् । सम्झनेछन् कि यस संस्थाका यी शिक्षाहरुबाट मानिसहरुमा कति ठूलो परिवर्तन आइरहेको छ ! यसबाट समाजमा कति सुधार भइरहेको छ ! मैले भनिरहेको थिएँ कि मनको परिवर्तनको लागि सत्संग गरौँ र दिलबाटै ‘बाबा बाबा’ भन्दै जाऊँ, तब जीवनको नाउ सहज पार गर्न सकिनेछ ।

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *