मनको सुमन र बुद्धिको सद्बुद्धि कसरी बनाउने
- ब्रह्माकुमार जगदीश चन्द्र
हाम्रो सारा संकल्प-विकल्पको आधार मन हो । यिनको कर्ता, भोक्ता मन हो । मनको नै सारा खेल हो । मन ठीक छ भने पुरुषार्थ ठीकसंग चल्छ । यसैले यस पढाइबाट आफूमा परिवर्तन गर्ने जुन यत्न गरिरहनुभएको छ, त्यो एक विचारबाट, एक दृष्टिकोणबाट मनको परिवर्तन हो । मनले के गर्छ ? मनका के विशेषता छन् ? के योग्यताहरु छन् ? मनलाई कुन कुन कुरामा ठीक गर्नुपर्ने हो ? मनलाई ठीक गर्नुपर्छ, यसलाई मोटामोटी रुपमा एक शब्दमा हामीले भनिदियौँ । तर के गर्ने हो ? हामी भन्छौँ कि मन चञ्चल छ, यसको भाव के हो ? मनलाई स्थिर गर एकाग्र गर- यसको के अभिप्राय हो ? मनले के गर्छ ?
तपाईँले देख्नुभएकै छ, मनले इच्छा गर्छ । मनको मुख्य क्रिया र योग्यता नै इच्छा गर्नु हो । कामना गर्नु हो । जसको लागि बाबाले हामीलाई सम्झाउनुहुन्छ, ‘बच्चा हो इच्छा मात्रम् अविद्या बन ।’ इच्छाहरुको पछाडि मन भड्कन्छ, यिनलाई समाप्त गर । बिल्कुल समाप्त त गर्न सकिँदैन, किनकि यिनलाई समाप्त गर्न खोज्नु पनि इच्छा हो । जबसम्म जीवन हुन्छ, तबसम्म इच्छा रहन्छ नै । तर नराम्रो चिजलाई छोड्न सकिन्छ, खराब चिजहरु, जो दुःखदायक र हानिकारक हुन्छन् । समझदार व्यक्ति यस्ता चिजहरुलाई छोडीदिन्छ । जो इच्छाले मनलाई व्यर्थमा भड्काइदिन्छ, तिनलाई छोड्नुपर्छ ।
एक त इच्छाहरु कामनाहरु तृष्णाहरु जो छन्, तीनलाई छाड्नै पर्छ, अर्को हो अपेक्षाहरु, जसबाट हाम्रो व्यवहार हुन्छ, जसको बीचमा हामी रहन्छौँ, हाम्रो लेनदेन चल्छ, नातागोता मित्रता सम्बन्ध जोसंग छ, उनीबाट हामी अपेक्षा गर्दछौँ र उनीहरु पनि हामीबाट अपेक्षा गर्दछन् । धेरैजसो मान्छे डिमाण्डिङ हुन्छ र ऊ आफ्ना साथीबाट अनुचित रुपबाट बढी अपेक्षा गर्दछ । जुन चिजहरुको अपेक्षा हुनुहुँदैन, उनको पनि अपेक्षा गर्दछ, कहीँ गलत कहीँ ठीक । बच्चा हो, बाबुले उसलाई धेरै प्रेम गर्छन्, पाल्दछन्, उसलाई एकदमै राम्रो तरीकाले पढाउँछन् । सम्झन्छन् कि यो नै मेरो उत्तराधिकारी हो, ऊ ठूलो हुँदै जाला, म बूढो भएपछि मलाई सम्हाल्ला । मेरो उपर ध्यान देला । जब मेरो जीवनमा कुनै कष्ट आउला, कठिनाइ भयो भने उसले मलाई हेर्ला सेवा गर्ला । यो अपेक्षा हो । जब बच्चा अगाडि गएर नराम्रा बानीहरुमा, कुसंगतमा फस्छ, बाबुको अपेक्षा पूरा गर्न सक्दैन, बाबुलाई शक हुन्छ, फ्रस्ट्रेशन हुन्छ, दुःख हुन्छ । संसारमा अनेक प्रकारका दुःख यसै कारणले हुन्छ । दुःखी भएर भन्छ कि मैले सोचेँ एउटा, थियो एउटा, भयो अर्को । मैले सोचेको थिएँ कि यो मेरो छोरा बुढ्यौलीमा मेरो लठ्ठी हुनेछ, तर यसले मेरो सबै आशामा तुषारापात गरिदियो । रुन्छ, उसको मन दुःखी हुन्छ ।
जसरी बाबुको बच्चासंग अपेक्षा हुन्छ, उसरी नै बच्चाको पनि बाबुसंग अपेक्षा हुन्छ । मेरो जन्मदिन आयो भने बाबाले यसपालि मलाई मोटरसाइकल किनिदिनुहोला, यो दिनुहोला, ऊ दिनुहोला । यो दुनियाँ नै अपेक्षाबाट चलिरहेको छ । सरकार आफ्नो प्रजासंग अपेक्षा गर्दछ, प्रजा आफ्नो सरकारसंग । सारा व्यवहार कुनै न कुनै अपेक्षामा निर्भर हुन्छ । जब यी अपेक्षा बिल्कूल पनि पूरा हुँदैन वा आंशिक रुपमा पनि पूरा हुँदैन, तब मनुष्यलाई कष्ट हुन्छ । मानसिक कष्ट हुन्छ । शरीरको जुन कष्ट छ, त्यो विकर्मको हिसाबकिताबबाट हुन्छ, तर त्योभन्दा बढी मानसिक कष्ट हुन्छ । मनको दुःख भित्र अनुभव हुन्छ । यस तरह मनको कष्टको कारण हो मान्छेकै अपेक्षा । मनुष्य यिनै अपेक्षालाई लिएर जिउँछ ।
तेस्रो हो, उसको केही मन पराइ, अमन पराइ । चिज एउटै हुन्छ, तर कसैलाई राम्रो लाग्छ, कसैलाई राम्रो लाग्दैन । एउटै वस्तुलाई कसैले भन्छ, ‘यो कति सुन्दर छ !’ अर्कोले भन्दछ, ‘यस्तोलाई पनि कतै सुन्दर भनिन्छ ? तपाईँ पनि कस्तो मान्छे हुनुहुन्छ ? यस्तालाई सुन्दर भन्नुहुन्छ, यो त कुरुप छ ।’ यसरी एउटै वस्तुलाई एउटाले मन पराइरहेको छ, अर्कोले घृणा गरिरहेको छ । उही वस्तुलाई किन फलानो व्यक्तिले मन पराइरहेको छ ? किनकि उसलाई मन पर्छ, उसलाई राम्रो लाग्छ । उसलाई सोध्नुस् कि गुलाबको फूल तपाईँलाई किन मन पर्छ ? उसले जवाफ दिनेछ, किनकि मलाई राम्रो लाग्छ । भनिन्छ खयाल अपना अपना, पसन्द अपना अपना । यसरी मान्छेले केहीलाई मन पराउँछ, केहीलाई मन पराउँदैन । यदि दोकानमा राम्राभन्दा पनि राम्रा कपडाहरु छन्, दोकानदार भन्छ ‘हेर यो एकदमै राम्रो छ, यो लेटेस्ट मोडेलको हो, आजकल यो एकदमै विक्रि भइरहेको छ, भकाभक विक्रि भइरहेको छ, तपाईँ पनि लिइहाल्नुस् ।’ तर ग्राहकले उसको कुरा सुनेको नसुन्यै गर्छ र अर्को कपडा देखाउन भन्छ किनकि उसको मन पराइ बेग्लै छ । हरेक मनुष्यको मन पराउने र मन नपराउने अलग अलग छ व्यक्ति, वस्तु र परिस्थिति ।
तपाईँका मित्रले तपाईँसंग भन्छन् कि यो फलानो व्यक्ति एकदमै राम्रो छ Noble (उदात्त महान) छ, Genuine (सच्चा) छ, योसंग कुरा गरेर हेर्नुस्, जीवनमा धोखा दिँदैन, sincere(निष्कपट) छ honest(इमानदार) छ । तपाईँ भन्नुहुन्छ, ‘मलाई त थाहा छैन, के उसबाट सितारा त मिल्दैन होला ? उसमा मेरो आकर्षण छैन । हामी दुईको कुरा पनि हुँदैन र मित्रता बन्न पनि बन्दैन । मनभित्र त्यस व्यक्तिप्रति आकर्षण हुँदैन । उसको लागि मेरो मनमा केही पनि छैन । हाम्रो आपसमा केही भएको पनि छैन, तर पनि मेरो मन त्यता जाँदैन ।’ यही मन र अमन तथा आकर्षण र विकर्षणको कारणले नै यो संसारमा चहलपहल, आशाहताशा, सर्दीगर्मी, लडाइझगडा आदि भैरहेको छ । हामी दोकानमा कुनै चिज किन्नको लागि जान्छौँ । एकमा हेर्छौँ, मन पर्दैन र अर्कोमा जान्छौँ, त्यहाँ पनि मन नपरेमा तेस्रो दोकानमा जान्छौँ । यसरी पाँच दोकानमा हेरिसक्यौँ, तर पनि मन परेको वस्तु भेटाउँदैनौँ । चिज त सबै पसलमा छन्, तर मन पर्ने चिज भेटिएन । बाबाले पनि भन्नुहुन्छ, ‘बच्चाहरुले तीनवटा सर्टिफिकेटहरु लिनुपर्नेछः मन-पसन्द लोक-पसन्द र प्रभू-पसन्दको ।’
मनपराइ जुन छ एकदमै विचित्र चिज छ । यहाँबाटै दुनिया शुरु हुन्छ, मन र अमनको । मानिसलाई कुनै चिज मन पर्यो भने त्यो पाउन मरिहत्ते गर्छ । जब त्यसलाई पाउँछ, त्यसको प्रयोग गर्दा गर्दा त्यसमाथि आसक्त हुन्छ । अर्थात जुन वस्तुप्रति उसको आसक्ति हुन्छ, त्यसको बेगर ऊ रहनै सक्दैन । यो भयो मन पराइ । अमन पनि यस्तै हुन्छ । पहिले कुनै वस्तु वा व्यक्तिलाई मन पराउँदैन । अनि त्योबाट टाढा रहन्छ, बिस्तारै बिस्तारै त्यसलाई घृणा गर्न शुरु गर्दछ । अन्तमा त्यो घृणा यति बढ्दछ कि बिनाकारण आपसमा दुश्मन बनी बस्दछ । अमन घृणामा बदलिन्छ ।
चौथो, मनको अरु एक प्रक्रिया हुन्छ कि ऊ कल्पना गर्दछ, अनुमान लगाउँदछ । अनुमान पनि कल्पनाको एक रुप हो । उदाहरणार्थ कसैलाई महसुस हुन्छ कि ‘यस पटक म आफ्नो मित्रको घरमा गएको थिएँ, तर उसले चिया समेत सोधेन । योसम्म भनेन कि ‘भाइ बस, केही खानपिन गर ।’ जब पहिले म जान्थेँ त्यसबेला प्रेमले कुरा गर्दथ्यो । जब उठेर आउने कोशिस गर्थेँ, तब ऊ भन्थ्यो ‘हतार के छ र ? धेरै दिनपछि आएका छौ, अरु केही समय बस ।’ यस्तो भन्दथ्यो । अहिले म जाँदा त मेरोतर्फ ध्यान नै दिएन । यसको अर्थ हो कुछ दालमा काला है । वा मेरो बारेमा कसैले केही कुरा लगाइदियो होला वा अरु कुनै कारण होला ।’ यस प्रकार अरु अनुमान लगाउन शुरु गर्छ कि अरु कारण के के हुनसक्छ भनेर । सारा रामायण नै अनुमानले भरिएको छ । अनुमानरुपी हनुमानको पुच्छर ज्यादै लामो हुन्छ । यसैबाट सारा गडबड शुरु हुन्छ । यसैले बाबाले भन्नुहुन्छ, ‘अनुमान लगाउन छोडिदेऊ ।’ कुनै कुरा वा घटना भयो भने त्यो सत्यताको आधारमा हुँदैन, अनुमानको आधारमा हुन्छ । हामी कल्पना गर्दछौँ, अन्दाज लगाउँदछौँ । यसैको कारण आपसमा भिन्नता र मनमुटाव हुन्छ । अनुमान लगाउनु खराब होइन, त्यो त मनुष्यको योग्यता हो, गुण हो । तर कुन अनुमान लगाउने ? र कुन अनुमान नलगाउने ? यो जान्नु जरुरी छ ।
वास्तवमा न इच्छा खराब हो, न अपेक्षा, न कल्पना या अनुमान, तर वर्तमान समय यी सब अशुद्ध भइसकेका छन् । अब हामीले ईश्वरीय ज्ञान र राजयोगद्वारा यिनको शुद्ध बनाउनु छ, श्रेष्ठ बनाउनु छ । यो हो मनलाई बदल्ने भाव । तर यसलाई कसरी बदल्न सकिन्छ । बाबाले यसको लागि के अपनाउने भन्नुहुन्छ, यो एकदमै लामो टपिक छ । म यसलाई संक्षेपमा बताउँछु । जब हामी महान मानिसहरुको जीवनकहानी सुन्छौँ जस्तो बाबाको, बडी दादीजीको । उनको जीवनमा जब परीक्षाहरु आए, तब उनीहरुले कसरी आफूमा परिवर्तन ल्याए ? कसरी सहेर पार गरे ? यी सारा कुरा सुनेर हाम्रो मनमा पनि परिवर्तन आउँदछ । मनुष्यहरुको कहानीमा धेरै रुचि हुन्छ, चाहे ऊ बच्चा होस् वा वृद्ध । जसले जस्तो कहानी जीवनी पढ्दछ, सुन्दछ ऊ त्यस्तै बन्दछ, त्यस्तै नै उसले लक्ष्य राख्दछ । यसैले बाबाले भन्नुहुन्छ, ‘जस्तो चित्र, उस्तै चरित्र, जस्तो लक्ष्य उस्तै लक्षण ।’ तपाईँ जस्तो बन्न चाहनुहुन्छ, ती व्यक्तिको चित्र मनमा ल्याउनुहोस्, उनको कहानी सुन्नुहोस्, उस्तै बन्नुहुनेछ । बाबाले उदाहरण दिनुहुन्छ कि शालिग्राम कसरी बन्दछ ? त्यो पनि पत्थर हो । तर पानीको लहरहरुमा टकराउँदा टकराउँदा त्यसको सबै कुनाहरु घिसिन्छन् । सबै रफनेस हराउँछ र चिल्लोपन आउँछ, जस्तो कि मेशिनले बनाएजस्तो । बिस्तारै बिस्तारै पानीमा घिसिँदा घिसिँदा ढुङ्गा पनि पूजनीय बन्दछ । कहाँको ढुङ्गा ! कहाँको पुजनीय !! त्यो कसरी बन्यो ? पानीको थप्पड लाग्दा लाग्दा बदलियो । त्यसरी नै तपाईँ पनि पुजनीय बन्न सक्नुहुनेछ, यदि यस्तै कहानीहरु सुन्नुभयो भने । यस्ता कुराहरु सुन्नुहोस्, खराब कुरा नसुन्नुहोस, खराब मान्छेबाट नसुन्नुहोस् । जस्तो सुन्नुहुनेछ, उस्तै बन्नुहुनेछ ।
यदि तपाईँ मनलाई ठीक गर्नचाहनुहुन्छ भने यस्ता जीवनकहानीहरु सुन्नुहोस् । मान्छेहरु किन पढ्छन् रामायण श्रीमद्भागवत गीता र महाभारतहरु ? सम्झन्छन् कि यसमा श्रीकृष्ण र श्रीराम जस्ता चरित्र छन्, श्रेष्ठ गाथाहरु छन्, तिनीहरुबाट हामी सुध्रनेछौँ । तर तिनमा त लडाइँ नै लडाइँ छन् । आश्चर्य हुन्छ कि तिनीहरु त्यसो किन गर्छन् ? भनिन्छ जसको घरमा महाभारत छ, उसको घरमा झगडा अवश्य हुन्छ । महाभारत किताब कसैले राख्यो कि, लडाइको आह्वान गर्यो । महाभारतमा कौरव-पाण्डव जो भाइ भाइ हुन्, राज्य सम्पत्तिको लागि लडाइ झगडा गर्दछन् । त्यो त उनको मनमा असर जरुर पर्छ । उसले पनि आफूलाई अर्जुन सम्झन्छ र काका भाइहरुलाई दुर्योधन सम्झन्छ । तपाईँले देख्नुभएको होला कि रामनवमी आयो भने भारतमा रामलीला देखाइन्छ । साना बच्चाहरुले उनीहरुलाई देख्छन् र आफूलाई राम लक्ष्मण अथवा हनुमान सम्झन लाग्छन् । आउँदो साल रामनवमी आउन लाग्दा बजारबाट तीर, धनुष खरिद गरेर लिन्छन् र आफ्ना साथीहरु तथा आसपासको लाई तीर चलाउन शुरु गर्दछन्, यसबाट कसैको आँखा फुट्छ, कसैको शिर । यी आँखाहरुबाट जे देखिन्छ, फिल्म या चित्र त्यसको प्रभाव मनमा पर्दछ, मनमा त्यसको एक चित्र बन्दछ । समयमा त्यो निक्लन्छ । यसैले बाबाले एकदमै साधारण र सरल भाषामा भन्नुभएको छ कि सारा फिलोसफिको सार समाज, विश्व, व्यक्ति र परिवार बदल्ने एक उपाय हो, एक परमऔषधि हो जस्तो चित्र, उस्तै चरित्र । तपाईँलाई के याद आउँछ ? यदि तपाईँको घरमा एक योगीको चित्र छ, जो प्रभूको यादमा लवलीन छन् भने, उनलाई देखेर तपाईँलाई के याद आउँछ ? म पनि यस्तै बनूँ, भगवानको यादमा मस्त रहूँ ? हो नि ? जो मीराको चित्र घरमा राख्दछ, उसलाई उनको के याद आउँछ ? यही होइन, म पनि मीराको जस्तै श्रीकृष्णको याद गरुँ ? मेरा त एक गिरधर गोपाल ….. । दुनियामा धेरै चित्रहरु छन्, तर मान्छेले किन मीराको, तपश्वी शंकरको, ध्यानस्थ हनुमानको नै चित्र घरमा राख्दछन् ? किनकि तिनीहरु जस्तै बन्न चाहन्छन् । जो बीर, शूर, लड्ने वाला बन्न चाहन्छ, उसले राणा प्रताप, छत्रपति शिवाजी, आदिको यस्तो तस्वीर, जसमा तरवार निकालिएको होस्, घरमा टाँग्दछन्, किनकि तिनीहरु यस्तै बन्न चाहन्छन् । त्यसैले जस्तो चित्र, उस्तै चरित्र । तपाईँ जस्तो बन्न चाहनुहुन्छ, उस्तै कहानी सुन्नुहोस्, त्यस्तै चित्र लगाउनुहोस् । म भक्तिमार्गको कथा र तस्बीरहरुको बारेमा मैले भन्न खोजेको होइन । हाम्रो लक्ष्य नै देवता बन्ने हो । देवी-देवताको कहानीहरु अथवा देवता बनाउने वालाको ईश्वरीय ज्ञान सुनौँ । ब्रह्माबाबाको जीवन कहानी सुनौँ । देवी-देवता, श्रीलक्ष्मी, श्रीनारायण, श्रीराधे, श्रीकृष्णको चित्र लगाऔँ । यिनलाई देख्दा देख्दा यिनीजस्तै बन्ने अभिलाषा आउला, प्रेरणा मिल्ला, मोटिभेसन होला । तब उस्तै बन्नको लागि पुरुषार्थ गरौँ । पुरुषार्थ गर्दा गर्दा हामी पनि त्यस्तै बन्दछौँ । यो मनलाई बदल्ने तरीका हो ।
मन बदलिएपछि जीवनमा त्यागको भावना आउनेछ । वैराग्य वृत्ति आउनेछ । बाबाको जीवन कहानी तपाईँले सुन्नुभएको होला । उहाँको जवाहरतको राम्रो व्यवसाय थियो । समाजमा आफ्नो प्रतिष्ठा थियो, पैंसा थियो, सबथोक थियो । उहाँले चाहेको भए काशीमा हरिद्वारमा आफ्नो एक आश्रम बनाएर आरामपूर्वक बस्नसक्नुहुन्थ्यो । भक्ति नै गर्नुथियो, भगवानलाई जप्नु थियो भने त्यहाँ एक बंगला अथवा कुटी बनाएर एकान्तमा गएर रहन सक्नुहुन्थ्यो । के जरुरत थियो यो झञ्झटमा फस्न ? तर सबथोक दिनुभयो शिव बाबाले भन्ने बित्तिकै । एक नयाँ श्रृष्टि रच्नु थियो, यस विश्वको परिवर्तन गर्नु थियो, त्यसैले सबै त्यागिदिनुभयो । यज्ञमा यस्तो पनि समय आयो कि उहाँले पनि आफ्नो हातले नै काम गर्नुपर्यो । जो मजदूरले गर्नुपर्ने काम थियो, त्यो उहाँले नै गर्नुभयो । कहाँको राजामहाराजसरह ठाँठसंग जिउनु, कहाँ मजदूरको काम गर्नु ! यति धेरै आयुमा, वृद्धावस्थामा हातैले काम गर्नुभयो । यो त्यागको जीवन थियो । उहाँले आफ्नो लागि केही पनि बाँकी राख्नुभएन । सबै दिनुभयो, दान गर्नुभयो, शिव बाबाको कार्यमा । घर पनि दिनुभयो, जहाँ ओम् मण्डलीको सत्संग शुरु भयो । जे जे थियो आफ्नो भन्नु, सबै यसै कार्यमा लगाइदिनुभयो । बच्चाहरुलाई, पत्नीलाई, बुहारीहरुलाई, भन्नुभयो हेर, सत्ययुग आउँदैछ, विनाश हुनेवाला छ, परमात्मा आउनुभएको छ, स्वर्गको स्थापना गर्न । तिमीहरु पनि यही सेवा गर । समाज र समुदायको कति गाली सुन्नुभयो । कति टीकाटिप्पणी सुन्नुभयो । कति कठिनाइहरुबाट गुज्रनुभयो । जो मान्छे अथाह इज्जतले हेर्दथे, व्यवहार गर्दथे, उनीहरुले पनि विरुद्धमा गए, निन्दा गर्न थाले । तर पनि सब त्याग गरिदिनुभयो । यस्ता कहानीहरु चरित्रहरु सुन्नाले पढ्नाले मनमा आउँछ कि म पनि यस्तै बनूँ । के हामीले सारा सम्पत्ति आफैसंग लिएर जानेछौँ ? लिन सक्नेछैनौ । त्यसो हो भने ईश्वरीय सेवामा लगाउनुभएन भने के कामको भयो ? विनाश हुनेवाला छ । अब आफ्नो लागि घर बनाइसक्नुभएको छ भने त्यसमा सत्संग गर्नुहोस् । आफ्ना इष्टमित्र नातागोताहरुलाई बोलाएर उनलाई बाबाको सन्देश सुनाउनुहोस् । घरलाई एक आश्रमको रुप दिनुहोस् । दुवै काम हुन्छ, हामी पनि ठीक हुन्छौँ र बाबाका अन्य बच्चाहरुले पनि केही सन्देश लिएर जानेछन् । जुन घरमा सत्संग हुँदैन, त्यो घर श्मसानभन्दा पनि खराब हो । आजकल मान्छेहरु घर बनाउँदा यो सोच्छन् कि किचन कस्तो बनाउने ? डायनिङ हल कस्तो बनाउने ? ड्रेसिङ रुम कस्तो बनाउने ?, आदि परन्तु सत्संगको लागि हल अथवा कोठा कस्तो बनाउने ? जसमा १०-२० जनासम्म बोलाउन सकियोस् र सत्संग गर्न सकियोस् भनेर सोच्दैनन् ।
घरको केही उपयोग गरौँ । सिर्फ खाने पिने सुत्ने कामको लागि अर्थात भौतिक जीवनको सुख साधनको लागि त्यसको उपयोग नगरौँ । सबथोक जलेर खरानी हुनेवाला छ । हामीलाई किन यो देखा पर्दैन ? के बाबाले गलत भन्नुभएको होला ? के बाबाको महावाक्यमा अविश्वास होला ? शक होला ? यो सब विनाश हुनेवाला छ । फेरि पनि जबसम्म समय छ, तबसम्म यिनीहरुको ईश्वरीय सेवामा किन प्रयोग नगर्ने ? अरुहरुको कल्याणको लागि प्रयोग गरौँ । भारतमा पनि मान्छेसंग धेरै पैंसा छ । उनीहरुले पनि आफ्नो घर सत्ययुगको जस्तो बनाएर राखेका छन् । घरको सामुन्ने तलाउ बनाएका छन्, पहाड बनाएका छन्, लान्स बनाएका छन् । बंगला बनाएका छन्, फार्म हाउस बनाएका छन् । घरबाट बाहिर निक्लन जरुरत नै छैन । त्यहीँ नै सब बनाएका छन् । यस्ता सुख-सुविधा विदेशमा मात्र होइन, भारतमा पनि राम्रा राम्रा घर बंगलाहरु छन् । यी सारा के कामका छन् ? भोलि के हुने हो ? कसलाई फाइदा होला ? यसैले तपाईँसंग जुन वस्तु वैभव छ, त्यसलाई ईश्वरीय सेवामा युज गर्नुहोस् । जब त्याग, योग, परोपकारबाट भरिएको जीवनकहानीहरु सुन्छौँ, तब हाम्रोमा पनि परिवर्तन आउनेछ । अतः हाम्रो मनलाई परिवर्तन गर्नको लागि हाम्रा इच्छा, अपेक्षा, मन, अमनको परिवर्तन गर्नको लागि, स्वपरिवर्तनको लागि, विश्व परिवर्तनको लागि एक विधि छ । यस्तो जीवनकहानी पढौँ, सुनौँ । भक्तिमार्गमा पनि मान्छेहरु पूजाको लागि एउटा कोठा बनाउँदथे, पछि कोठा बनाउन छोडे र भित्तामा सानो ठाउँ बनाएर इष्टदेवताको मूर्ति राख्थे वा गीतालाई कपडामा लपेटेर राख्दथे र धूपदीप बालेर राख्दथे । आजकाल त त्यो पनि छोडिसके । भन्छन् कि यो त आउटडेटेड हो, गाउँका मान्छेको काम हो । हामी त मोडर्न हौँ, हामीले यसो गर्नुहुँदैन । घरबाट भक्ति पनि निकालिदिए र गीता पनि निकालिदिए । यो हो सिभिलाइज्ड लाइफ !
पहिलो कार्य हो मनलाई बदल्ने, दोस्रो हो बुद्धिलाई बदल्ने । मनलाई मुखिया भनिन्छ । बुद्धि पञ्चायत हो । बुद्धिको पनि धेरै ठूलो खेल हुन्छ । जसको बुद्धि हरायो, सम्झनुहोस् उसको विनाश काल आयो । विनाश काले विपरीत बुद्धि, उल्टो काम गर्न थाल्दछ । यसैले भक्त भन्दछन् ‘हे प्रभू, मलाई केही चाहिँदैन, मलाई सद्बुद्धि दिनुहोस्, मेरो बुद्धि ठीक होस् । जसको बुद्धि ठीक हुन्छ, उसले राम्रो काम गर्नेछ, त्यसको फल पनि राम्रो हुनेछ । यो त कर्मको सिद्धान्त हो । भगवानबाट प्राप्त हुने सबैभन्दा ठूलो चिज के हो ? सद्बुद्धि । सद्बुद्धि केलाई भनिन्छ ? जो ईश्वरको चिन्तन गरोस्, बाबाको नै याद गरोस्, सदा राम्रो निर्णय गरोस्, सदा हंससरह रत्न नै टिपोस्, कंकर ढुङ्गा छाडोस्, फोहोर छाडोस् । कागको काम नगरोस्, कोइलीको काम गरोस् । अर्को शब्दमा ईश्वरको सबभन्दा ठूलो वरदान हो, ‘सद्बुद्धि ।’ भलै गरीब नै भए पनि, ज्यादा पैंसा नभए पनि केही छैन, हामीसंग सद्बुद्धि छ, सन्तोष छ, निश्चिन्तता छ । जति साहुकार हुन्छन्, त्यति नै सुख पनि छ र दुःख पनि । यदि पैंसा छ भने त्यसलाई सत्कार्यमा लगाऊँ । ईश्वरीय सेवामा लगाऔँ । नत्रभने पैंसामाथि चोरको पनि नजर लाग्छ डाँकूको पनि, आयकरवालाको पनि, मित्र सम्बन्धीहरुको पनि । पैंसावालाले आफ्नो पैंसा कहाँ कहाँ मात्र छिपाउँदैन ! कहिले खटियाको भित्र छिराउँछ, कहिले भित्तामा, कहिले पुराना कपडाहरुमा, यहाँसम्म कि कहिले फोहोरको थुप्रोमा ! किनकि उनीहरुलाई डर हुन्छ कि कसैले चोरी गरेर लिएर नजाओस् वा कसैले मागेर नलैजाओस् । सम्पत्ति उनैको सफल हुन्छ, जसले ईश्वरीय सेवामा लगाउँछ । हाम्रो गुजाराको लागि जति चाहिने हो, त्यति त हुनु नै पर्छ, तर अधिक धन-सम्पत्ति कमाउनको लागि आफ्नो समय संकल्प व्यर्थ नगुमाऔँ । हाम्रो सबभन्दा असल कमाइ नै बुद्धि हो, ईश्वर प्रदत्त सद्बुद्धि अर्थात ईश्वरीय बुद्धि अर्थात पवित्र बुद्धि अर्थात दिव्य बुद्धि । दिव्य बुद्धि नै बाबाको सबभन्दा ठूलो वरदान हो ।
(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)