कवितागद्य कविता

भुस

कठैबरा ! तर्स्यौ हगि !!
तिम्रो गृहप्रवेशद्वारको बाहिरपट्टि
उक्सिएको थैलोजस्तै कुनै फाल्तु जिनिसमा 
एकाबिहानै अचानक आँखा पर्दा ।

कुसाइतको आशंकाले बरक्क बर्कियौ
गाँज्नसक्ने दुर्गन्धको पूर्वानुमानले नाक थुन्यौ र
लुगलुग काँप्दै पछिपछि सर्‍यौ ।
तत्कालै
एकहुल खातेले छामछुम पारे,
एकहुल कुकुरले तानतुन पारे
त्यहाँ न केही झर्नु थियो, न केही भर्नु थियो ।

केही नझर्दा निहुँ कोरल्यो तिम्रो मनमा
देख्यौः पड्किनै आँटेको एम्बुसजस्तो
ठान्यौः अड्काउन छोडेको अङ्कुसजस्तो
तिम्रो मनको भित्ताभरि
अनुसन्धानयुक्त खातका खात चुलिए
विस्थापनका सैयौँ बिचार उठे
र श्रोतसाधन यथाशक्य जुटे ।

लघारिनु अघि ऊ बोल्योः
“पर्ख ! बिर्स्यौ तिमीले ?
अस्तिमात्रै त मेरो पेटभित्र थियौ
अन्तिममा तिमीलाई बोकी म निस्किएकी थिएँ
कालकोठरीतुल्य ढिकीसम्मको यात्रामा
ढिकिच्याउँ ! ढिकिच्याउँ !!
मुसलले बेसमारी चुटिँदाकुटिँदा
म क्षतविक्षत भएँ/घाइते भएँ/लास भएँ
अलिकति ढुटो उड्यो र कनिकाहरु उछिट्टिए
तिमी भने सग्लै बेदाग अलग्गियौ
तिमीले तिल्की, मार्सी वा बास्मतीको जात लिएर गयौ
म बेजात भएँ र एक खात भएँ ।

तिम्रो बास्नासँग मेरो गन्ध दाँज
बास्मतीजस्तै मातृ/पुत्रको कुनै गन्ध पाएनौ ?
सुँघ्छौ गन्ध ?
ममा पानी फाल म छचल्किरहन्छु
बरु आगो हाल म सल्किरहन्छु ।

सम्झिएनौ हगि ?
ती गैरीखेतका बयालीहरु !!
मैले तिमीलाई पेटमा सुरक्षित खाँदेर
हुरी खेपेँ/घाम खाएँ
जीउभरि झुस पालेर
सिर्फ तिमीलाई पुष्ट जन्माउन
कीरा घोचेँ/पुतली घोचेँ
तिम्रो बोझ बिर्सिएर म लहलहाउँथेँ
गराभरि पहेँलपुर भै म टहटहाउँथेँ
तिमी भ्रुण थियौ र देख्नेले मलाई सुन भन्थे ।

मेरै न्यानो वक्षस्थलले कालान्तरमा
तिमी मन्दिरको शुद्ध अक्षता बन्यौ
अमीरहरुको शौखिन चामल बन्यौ
र ध्रुतहरुको सामल बन्यौ ।

त्यसरी नतर्स,
तिमीलाई पटक्कै हानी नगर्ने
निरन्तर सुक्दैगएको फुस हुँ/झुस हुँ
तिमीजस्तै मबाट अङ्कुरित हुँदैन कुनै टुसा
यत्तिमा म खुश हुँ ।
र याद राख
तिम्रै दैलो कुरेर बसे पनि
आइन्दा तिमी मेरो लागि र
म तिम्रो लागि कतै/कहिल्यै काम नआउने

सिर्फ एक थैलो भुस हुँ ।”

– भैरहवा । निजामती सेवा प्रवेश गरेको दिन । १८ वर्ष पूरा ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *