भलिबल
शीर्षक ‘भलिबल‘ नै छानेँ मैले । मनले त मानिरहेको छैन, यो शीर्षक राख्न, किनकि भर्खरै म भाषा सुधार आन्दोलनको एक कार्यक्रम हेरेर आउँदैछु । हामीले आफ्नै भाषालाई जगेर्ना गर्नुपर्छ र गर्नै पर्छ । यसको समर्थक हुँ पनि । भलिबलको ठ्याक्कै नेपालीकरण ‘हाते भकुण्डो खेल‘ वा यस्तै कुनै शब्द हुनुपर्छ । वैकल्पिक शब्द खेलकूद मन्त्रालय वा सम्बन्धित परिषद्को दस्तावेजमा वा कुनै नेपाली शब्दकोषमा खाँदिएर बाफिइरहेको होला । त्यो खोज्नतिर म लागिन अहिले । ‘भकुण्डो‘ शीर्षक राख्दा कसैलाई घोचपेच हुनजाने सम्भावना प्रबल भएकोले पनि मैले यसको नेपालीकरणतिर टाउको दुखाइन । मैले कसैलाई घोचपेच गर्नुको कुनै सार्थकता पनि बाँकि छैन अब ।
मैले कथा वा लेख वा संस्मरण या कुनै पनि साहित्यिक विधा लेख्नरगइरहेको छैन अहिले । मनको विशुद्ध छटपटीलाई ओकल्न आँटेकोले योसँग सम्बन्ध राख्नेख कुनै कुरासँग पनि सतर्क हुनुपर्ने आवश्यकता देख्दिन पनि । यस छट्पटी उकेलीकरणमा मनलाई गाँजेर बसेका थुप्रै प्रवासी वा रैथाने वा मनमौजी शब्दहरू नआउने कुरै भएन यतिखेर ।
यतिसम्म मेरो गन्थन यदि कसैले हेरिसक्नुभएको वा पढिसक्नु भएको छ भने आफ्नो अमूल्य समयलाई थाँति राखेर अब अगाडिको बाँकि गन्थन हेर्ने कष्ट नगरे हुन्छ । भनिसकेँ यो मेरो निजी विशुद्ध गन्थन हो । यसले अरुसँग भन्दा मसँग नै बढी सरोकार राख्दछ । तसर्थ थप गन्थन हेर्नपट्टि लाग्नुभयो भने तपाईँको नदुखेको कपाल टन्टनी दुःख्न थाल्नेछ ।
मनकुराको शुरुवात शुरुकै मनदेखि गर्न सकिन्छ । आँखाभरि सानै छँदा प्राइमरी स्कूलमा पढ्दादेखिका तस्बीरहरू झल्याकझुलुक आइरहन्छन् । सानै छँदा भन्नेबित्तिकै खेल र खेलौनाकै कुरा बढी आउनु स्वाभाविकै हो । विभिन्न खेलहरूमध्ये रोचक र उत्तेजक खेल हो आउटडोर गेम । मैलेभने आउटडोर गेम खेल खेल्न कहिल्यै रुचाइन । त्यसताका आउटडोर खेलहरूमध्ये भलिबल खेल नम्बरी खेलमा गनिन्थ्यो । म त्यही भलिबल खेलदेखि असाध्यै डराउँथेँ । भन्न त साथीभाइहरूले भन्थे- भलिबलले कहिल्यै मान्छे मर्दैन, यति विधि नडरा । डर भन्ने कुरा कसैले नडरा भन्दैमा हट्दो रहेनछ । त्यो खेल शुरु भयो कि मेरो जिउ सिरिङ्ग गर्थ्यो, जिउभरि काँडा उम्रन्थे, यतिसम्म कि भलिबल खेल हुन थालेको छ भने म स्कूलबाटै सुइँकुच्चा ठोकिहाल्थेँ । खेल शुरु हुँदादेखि भाग्दासम्मको बीचमा आक्कछलझुक्कचल खेलका डरलाग्दा दृश्यहरू देखिनपुग्थे । एउटा सानो चउरको ठीक बीचमा पक्ष र विपक्षी खेलाडीलाई अलग्याउन नेट बाँधिएको हुन्थ्यो । नेटका वरिपरि एम्पायरहरू बसेका हुन्थे र कानै खाने गरी घरिघरि सिर्र-सिर्र सिटि फुक्थे । खेल्ने क्रममा खेलका नियम भङ्ग गर्ने जस्तै नेट छुने आफ्नो बाउन्ड्री क्रस गर्ने आदि चोरहरूलाई ठाउँको ठाउँ समात्थे तिनीहरू । दुई बाउन्ड्रीमा ६/६ जना सिद्धहस्त खेलाडीहरू उभिएका हुन्थे । रोमाञ्चक पास दिन्थ बललाई । अग्ला अग्ला खेलाडीहरूले खुब शट् मार्थे । यसरी ताकीताकी हान्थे कि शट् पर्ने ठाउँमा प्रायःगरी अरुभन्दा अलि कमजोर खेलाडी हुन्थ्यो । ऊ विचरा ती खतरनाक शटहरू सितिमिति उठाउनै सक्दैनथ्यो । त्यसको हातमा वा भूइँमा परेको भलिबल भूइँको छारोधुइरो उराउँदै उफ्रिएर कता बिलाउँथ्यो कता । जिउ सिरिङ्ग गर्थ्यो, ‘ओहो ! त्यो शट् कतै आफ्नै जिउमा परे के होला ? कल्पना गर्थेँ – यो खेल अति खतरनाक हुँदो रहेछ । जताजता कमजोर खेलाडीहरू छन् त्यतै मात्र झुक्याझुक्याइ गिराउनुपर्ने, त्यतै त्यतै शट् मार्नुपर्ने ।
म हाइस्कूलमा पुगुन्जेल यो खेलदेखि डराइरहेँ । क्याम्पसमा पुगेपछि मन निकै हल्का भयो किनकि अब क्याम्पसमा नियमित भलिबल खेल हुनेछैन भन्ठानेर । तर सोचेजस्तो भएन । त्यस क्याम्पसको आउटडोर गेम भनेको भलिबल मात्रै हुनपुग्यो । त्यसैले म महिनौँसम्म पनि क्याम्पसमा जाँदैनथेँ ।
त्यसपछि शुरु भयो मास्टरी जागिरी । जुन स्कूलमा पढाउन पुगे पनि मुख्य खेल भलिबल नै हुन्थ्यो । भन्न त कसैसँग पनि भनिन मलाई यो खेल देख्दा डर लाग्छ, अरु नै खेल खेलाइयोस् भनेर । भलिबलकै डरले स्कूल फेर्दाफेर्दा एक दर्जन पुगे । मैले जागिर खाएका ती झण्डै एक दर्जन स्कूलहरूमध्ये २५ प्रतिशत र शिक्षण पेशाको अवधिमध्ये झण्डै ७५ प्रतिशत जागिरी मेरो हेडमास्टरकै रुपमा रह्यो । निर्णायक अवस्थामा रहे पनि मैले भलिबल खेललाई स्कूलबाट पूर्णतः हटाउन सकिन । हटाउन पनि कसरी सक्थेँ र ? शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू र दर्शकरुको लागि सबैभन्दा पृय खेल नै भलिबल हुन्थ्यो । स्कूलका आवधिक कार्यक्रमहरूमा अरु खेल खेलाउँदा दर्शक त्यति हुँदैनथे । भलिबल भन्यो कि दर्शकको घुइँचो लाग्थ्यो । तालीको पर्रा छुट्थ्यो, सिटि मार्थे, चिच्याउँथे, ‘हुर्रा !‘ ‘हान्, हान्‘ ‘मार्, मार‘ ‘गिरा, गिरा !‘ भन्दै उफ्रन्थे नाच्थे दर्शकहरू । ओहो यति भयानक खेल ! मभने अफिसकोठामै धुम्धुम्ति बसिरहन्थेँ । स्कूलको अरु जरुरी कामको बहानामा ।
त्यसबेला राजनीतिको पनि आँधीहुरी बेगवान चलिरहेको थियो । ‘हान् हान्‘ ‘मार् मार्‘ ‘काट् काट्‘ भनेर मान्छेहरू हल्लीखल्ली गरेको मात्र सपनाहरू देख्नेम गर्थेँ । हरेक रात मुटु फुट्ला जस्तो हुन्थ्यो । असिनपसिन हुन्थेँ म । “के भो ?” भनेर कसैले सोधेमा “डरलाग्दो सपना देखेँ” मात्र भन्थेँ । ‘भलिबलको डरले गर्दा हो‘ भनेर कसैसँग पनि भन्न सकिन । आजसम्म पनि भनेको छैन । राजनीतिक खेललाई पनि भलिबलसँगै दाँज्ने हो भने अत्यन्तै चमत्कारिक खेल ! चमत्कारिक खेलाडीहरू ! चमत्कारिक एम्पायरहरू ! चमत्कारिक दर्शकहरू ! चमत्कारिक किनभने भन्न बाँकि नराख्नेचहरूले भन्ने गर्थे – “अदृश्य हातबाट चलेका फगत गोटी मात्र हुन् यनीहरू त ।” कहाँको भलिबल ? कहाँको गोटी ? गोटी भनेको इनडोर गेम अर्थात् क्यारेमबोर्डमा प्रयोग हुने पातला पातला राता, काला, सेता, समष्टिमा रङ्गीबिरङ्गी गोटीहरू । दर्शकले ‘भित्र खेल भइरहेको त होला नि‘ भन्ठान्ने तर हत्पति नदेख्ने् । यही क्यारेमको ‘गोटी‘लाई नै ‘भलिबल‘मा कन्भर्ट गरिदिने हो भने कस्तो हुँदो हो इनडोर भलिबल खेल ? सम्झँदा नै मुटु फुलेर आउँछ । यसको व्याख्यान जति गरे पनि कमै हुन्छ ।
म भने दुर्गम ठाउँको दुर्गम मास्टर । बिहानीपख उठेर जब स्कूल पुग्थेँ, त्यहाँ बिहानैदेखि भलिबल चलिरहेको भेट्टाउँथेँ । मलाई यस्तो खेल हेर्न फुर्सद नै कहाँ थियो र ? मलाई त कहिले प्रशासन-इतर र कहिले प्रशासन-भितरका मान्छेहरूले बेग्लै खालको भलिबल खेलाइरहन्थे । कति बनिबनाउ हुन्थ्यो ! त्यो खेल, मलाई वाक्कहदिक्को लागिरहेको थियो ।
वास्तविक आधारको खेलभन्दा काल्पनिक आधारको खेल निकै भयानक हुन्छ । एकातिर आफ्नो जागिरीबाट आफै आजित भइसकेको थिएँ । अर्कोतिर आफ्नै ठाउँमा बसिखान नदिने तानाबानाहरू बुनिइरहेका थिए । त्यसैले छाडिदिएँ त्यो पेशा नै । अनि मैले जागिरीको सट्टा नोकरी खान थालेँ ।
नोकरी खान थालेपछि केही महिनासम्म भलिबलको डर हरायो । भलिबलकै डरको मारवश् मेरो स्वास्थ्यस्थिति कमजोर भएको रहेछ । त्यसपछि मेरो स्वास्थ्यमा आमूल परिवर्तनका छनकहरू देखिन थाले । म ढुक्क भएँ- यो नोकरीमा भलिबल खेल हुँदो रहेनछ भन्ठानेर । अब आफ्नो सातोसतारो जाने भएन भनेर खुशी भएँ म ।
तर यो मेरो बुझाइलाई परिस्थितले थोरै समयमै हावा खुवाइदियो । त्यो नोकरीभित्रको झनै खतरनाक भलिबल खेल देखेर । टेढामेढा बाउन्ड्री लाइनहरू भएको खेल मैदान । खेलाडी को हो ? दर्शक को हो ? एम्पायर को हो ? छुट्याउनै नसकिने । आफ्नो लाइन कुन हो ? अर्काको लाइन कुन हो छुट्ट्याउनै नसकिने । बीच-बीचमा च्यातिइसकेका नेटहरु टाँगिएका छन् । नेटको पोलछेउमा एम्पायर देखिँदैनन् । एम्पायरले कता हो कताबाट सिट्टि मारेको-मारेइ छ । दर्शकहरूको मौन चिच्याहट छ –‘फलानो अलि कमजोर छ, त्यतै ‘गिरा गिरा‘ ‘हान् हान्‘ ‘मार् मार्‘ । ‘सिध्याइदे सिध्याइदे‘, ‘बाँकि नराख्‘ । तर देखिने गरी होइन । हत्तपत्त नदेखिने गरी एकदमै गोप्य तरीकाले । बाहिर मानौँ केही कतै भएकै छैन । सियो खसे पनि शान्ति खलबलिएलाझैँको अत्यन्तै व्यवस्थित र सुन्दर प्रहार । नियम कानूनको छिद्र खोजीखोजी गरिने अत्यन्तै नियमित तथा कानूनसंगत प्रहार । शालिन र सुसज्जित प्रहार । जसले शट्को प्रहार खायो ऊ व्यग्र छटपटाइरहेको । तर निःशब्द प्रतिक्रियाविहीन । आह ! यो मुखनै बाउन नमिल्ने निःशब्द छटपटि, यति भयानक देखिन्थ्यो, जुन कुरा भोग्नेले मात्र अनुभूति संगाल्थ्यो । अरुलाई छेउटुप्पै पत्तो नलाग्ने । एम्पायरका नेमप्लेटहरू ठाउँठाउँमा विभिन्न ढाँचाले झुन्ड्याइएका त छन् तर नाम मात्रका । पीडा पोख्न त्यहाँ छिर्योु भने उसले “यो सिटि मैले फुकेको होइन, माथिबाट हो” भनेर माथितिर औँल्याउने । औँल्याइएतिर गयो, उसले अझै माथि देखाउने । त्यहीँ पुग्यो, अझै माथि देखाउने । माथि, माथि, अझै माथि, कता हो कता ! यस्ता एम्पायरहरू भएको नोकरी नामको भलिबल खेल पनि देखियो !
यस्तै खेल देख्ने भोग्ने क्रममा जुन ममाथि अन्तिम शट् पर्यो त्यसको चोट एकदमै न्यूनलाई मात्र समानुभूति होला जस्तो लाग्छ मेरो बिचारमा । यो प्रहार मानवीय प्रहार होइन । दैवी प्रहार ! अकल्पनीय र अविश्वसनीय प्रहार ! कतै गुनासो पोख्न नमिल्ने प्रहार ! कसैलाई दोष दिन नमिल्ने प्रहार ! यस्तै यस्तै ठानेर चित्त बुझाउनुपर्ने । ‘यो मानवीय प्रहार हुँदैहोइन‘ भन्दै उत्तेजित, उद्वलित, उद्विग्न मनलाई थामथुम पारिरहनुपर्ने, एकछिन अरु बाँच्नको लागि मात्र । सिर्फ मानवीय दुष्कृतिको एक थप दृश्य देख्नको लागि ।
यो मानवीय प्रहार नै हो भनेर भन्न पनि कसरी सक्ने ? दैवी प्रहार जत्तिको हैसियत राख्ने मानवीय प्रहारको कसरी कल्पना गर्नसक्ने ? जीवनभरि अजातशत्रु बन्नको लागि अत्यन्तै ठूलो मेहनत गरियो । ‘मेरा शत्रु कोही पनि छैन‘ भन्दै मिथ्या विश्वास लिएर हाँसियो, खेलियो, रमाइयो । पाउ ढोगाउन खोज्ने सबैको पाउ परियो । तर परिणाममा यो जीवनपान र नोकरीपानको क्रममा प्रत्येक कदममा मित्रको सट्टा शत्रु नै बढाउन पुगियो । कुनै कारण विनाका शत्रु । मिथ्या आरोपका शत्रु । निराधार शंकाका आधारका शत्रु । आफूले ‘नियतवश् त्यसो गरेकै होइन‘ भने पनि उसले त्यो बुझे पो ! माने पो ! ‘देख्लास् !,’ ‘पख्लास् !‘ ‘खालास् !‘ भन्नेहरू बढ्दै गए । तिनीहरू प्रत्येक मोडहरूमा ढुकेर बसिराखे । मुखमा ‘रामराम‘ जपेको देखाउँदै बगलीमा छुरा घुसाइराखे । तिनीहरूमध्ये नै कसैले सोच्यो- यो अन्तिम प्रहारले यो सितिमिति उठ्न नै सक्नेछैन । यो सधैँको लागि ज्यूँदो लास बनेर सिद्धिने छ । अनि बुने यस्तो खतरनाक प्रहार । ज्यानै सिध्याउने भलिबल खेल । कसैको जहाजलाई चुर्लुम्मै डुबाइदिने भयानक खेल । यस्तो पनि त हुन सक्छ ! हुनै सक्दैन र ?
जीवनयात्राको यति लामो मार्गमा भलिबलको खेल मात्र बनाएनन् मलाई, म आफै भलिबल बनिरहेँ । धेरैले खेले ममाथि । हाने, उफारे, गिराए, पास गरे र शट् मारे । म निर्जीव भलिबल, भलिबल नै बनिरहेँ । हरेक रात सोच्न बाध्य हुन्थेँ – मेरै कारणले म मुर्दा हुँदै गएको छु कि अरुको कारणले ? के मेरो यस जीवनको भूमिका यस्तै यस्तै हो ? यस्तै हो भने पासो लगाएर किन झुन्डिन नसकेको ??? तर भोलिपल्टको खेलले आफैलाई पासोमा पार्ने कुरा बिर्साइहाल्थ्यो ।
हो, धेरैले खेले ममाथि । केहीले खेले, जिते, तक्मा थापे । केहीले हारे, एउटा थप अवसर गुमाएर आफू हार्नुको मूल कारण भलिबललाई नै देखे । जित्नेले हारे, हार्नेले जिते । तर दोष दिए बललाई ।
हो, यस्तै खप्पिस भलिबल खेलाडीहरूले रचेको एउटा एकदमै सुनियोजित खेल पनि हुनसक्छ यो । तर कसले अनुसन्धान गरिदिने यो त्यस्तो भलिबल थियो वा थिएन भनेर ? वश् कपोलकल्पित घटना विवरणका खात बने । ढाक्न खोज्दाखोज्दै पनि देखिने खालका केही तथ्यहरू पनि समावेश हुन पुगे त्यस खातमा । त्यो खेलको मुद्दा एउटा एम्पायरसम्म पुग्यो । गजबको सिटि फुक्यो त्यसले । केही आधारभूत प्रमाणहरूलाई लत्याउँदै सिटि फुक्नुपर्नेले कसैको मुख हेरेर वा ललिपपको मीठो स्वादलाई बढी श्रेयष्कर ठानेर अग्ला अग्ला शटरकै पक्षबाट शट् नै मारिदियो । एकातिर निर्मम प्रहार खेपेर छटपटाइरहेको छ एकजना निर्धो र कमजोर मान्छे । खेलाडीको शट्भन्दा अत्यन्तै चोटिलो हुँदोरहेछ एम्पायरको शट् । वाह ! कति भयानक खेल ! अन्तिम भलिबल नेटको बीचमा झुन्डिनपुग्यो, अनि उसैले हानिदियो अर्को जोडदार शट्, तर एकदमै तथ्यहिन अनुमानको आधारमा । कसले छुट्याइदिने यो संसारमा कुन तथ्य र कुन मिथ्या हो भनेर ? तथ्य र मिथ्या दही मथेझैँ मथिएका छन्, एम्पायरले जसरी सिटि फुक्यो त्यही नै तथ्य हो भनेर स्वीकार्नै पर्ने । एउटा एम्पायरले जे भन्यो, त्यही नै तथ्य हो भनेर फलाक्दै हिड्नुपर्ने । थुक्क भलिबल खेल !
हो, अन्तिम शट् मलाई मार्नुपर्नेमा एउटा होनहार कलिलो बच्चामा मारिदियो भन्ने खबर सुन्नेबित्तिकै म धर्मराउँदै खबर आएतिर कुदेँ, म घटनास्थलको साटो अस्पत्तालमा पुर्याइएँ । मैले यो अप्रत्यासित र अकल्पनीय खबरलाई थेग्न सकिरहेको थिएन । मैले अलापविलाप गरिरहेँ त्यहाँ आँखा मिचीमिची । तर धेरै समयसम्म आँखा बन्द गर्न सकिँदो रहेनछ । जब आँखा खोलेँ, देखेँ रमिता हेरिरहेका केही नरपशुहरू । मेरो दर्दनाक अवस्थालाई मनोरञ्जन मानेर खितखित हाँसिरहेका नरभक्षीहरू । मानौँ उनीहरू अजम्मरी वर पाएर यो संसारमा आएका छन् र उनीहरूले अजम्मरी सन्तानहरू पाएर खुशी भएका होउन् । मानौँ उनीहरुले आफ्नो परिवारमा यस्तो घटना नघट्ने सम्झौता स्वर्गदेखि नै गरि आएका छन् र अहिले मेरो दुर्दशामा रमाइरहेका छन् । मेरो चिरिएको हृदयले त्यो दृश्य खप्न सकेन । त्यसपछि मेरा आँशु तत्कालै रोकिए । मैले आफ्नो अमूल्य आँशु यस्ता संवेदनाहिन पशुहरूको अगाडि बगाएर केही अर्थ राख्दैन भन्ठानेँ ।
म अर्को पटक भने बेसरी रोएँ । म यस प्रहारको चोटलाई मत्थर पार्न उपत्यका बाहिर गएको थिएँ । मसँग मेरी जीवनसाथी थिइन् । मसँग बचेखुचेको लाज थिएन । करिब करिब सबै डर पीडा पचाइसकेको थिएँ । तर अझै एउटा डर बाँकी थियो । आफ्नो परिवारले मेरो आँशु देखेर उनीहरू नआत्तिउन्, न हडबडाउन् भनेर आँशु लुकाउनै पर्थ्यो । मैले त्यो आँशु अलि पर एक्लै बगाएँ । त्यो आँशु व्यर्थ ठाउँमा नझरोस् भन्दै मैले सकुन्जेल आफ्नै आँशु पिएँ त्यतिखेर ।
सन्दर्भ थियो- म यो कर्मस्थलमा फर्किने तयारी गर्दै थिएँ र एउटा बसपार्कमा बस कुरेर बसिरहेको थिएँ । त्यहाँको मान्छेहरूको कल्याङमल्याङभन्दा भिन्दै कल्याङमल्याङले मेरो ध्यान खिचियो । त्यो आवाजलाई पछ्याउन मेरा कानले आँखालाई मद्दत गरे । अलि पर असामान्य आवाज निकालेर कागहरू कराउँदै थिएँ । मैले हेरेँ त्यता । एउटा काग बिजुलीको तारमा अल्झिँदा करेन्ट लागेकोले भर्खरै भूइँमा गिरेर छटपटाउँदै रहेछ । एकछिनमै खुट्टा तान्यो त्यसले । त्यो देखेर अरु कागहरू आए । कागको संख्या बढ्दै गयो । मानौँ त्यो शहरका सबै कागहरू त्यहीँ ओइरिए । तिनीहरूले कसैले तार ठुङ्न थाले । कसैले रमिता हेरिरहेका मान्छेहरूलाई नै आक्रमण गर्न खोजे । कसैले मान्छेका जिउभरि विष्ट्याइदिए । केहीले त्यस मृत कागको परिवारलाई शान्त्वना दिए होलान्, रोए होलान्, उनीहरूकै भाषामा, वेदनामा । मेरो यात्राको बसले आफ्नो गन्तव्य लिँदासम्म त्यहीँ थिए तिनीहरू ।
एउटा अबोध र तुच्छ ठानिएको प्राणीले यस्तो संवेदना प्रकट गर्दछ । तर यो विवेकशिल भनाउँदो मान्छे जाति एउटाको पीडामा अर्को हाँस्छ ! थुक्का मानवता ! ऊ अर्कोलाई सिध्याउनै उद्यत रहन्छ । संवेदना पोख्नुको सट्टा सुनियोजित भलिबल खेल आयोजना गरिरहन्छ र त्यसको अजीव तुष्टि लिइरहन्छ । वेदना सुनाउँदा पनि सुन्न चाहँदैन । एक शब्द सहानुभूति खर्च गर्दा आफ्नो गोजी नै रित्तिएला झैँ गर्छ । यसैकारण रोएँ म, बेसरी हृदय रित्तिने गरी रोएँ त्यसबेला ।
त्यसपछि पनि केही नरपशुहरू देखेँ मैले । सबै मान्छेलाई नरपशु भन्न खोजेको होइन यहाँ । ती संवेदनाशून्य मान्छेको एउटा सानो जमातलाई मात्र जसले मेरो पीडालाई मनोरञ्जनको विषय बनाए । मेरो वेदनालाई अड्कल गरेर अजीव तुष्टि लिएको छर्लङ्गै देखिन्थ्यो उनीहरूको अनुहारको छायाँमा । मैले मनलाई अझै दरिलो बनाउन प्रयत्न गरेँ । मर्न नसकेपछि बाँच्न कोशिस त गर्नैपर्यो ।
अघिल्लो रात मैले एउटा गजबको सपना देखेँ । मैले आफूले आफैलाई सम्झाइरहेको थिएँ – “अब म रुनुपर्ने कुनै कारण छैन । मैले सबैभन्दा भयानक खेल बेहोरिसकेको छु । मैले मेरो मुटुलाई छियाछिया हुनबाट जोगाइसकेँ । अब मलाई यस्ता प्रहारको कुनै डर छैन । अब मलाई मिथ्या आरोपमा भोकभोकै सडकमा पुर्या इए पनि, जस्तोसुकै विपत्ति खन्याइए पनि, जेलमै जाकिनु परे पनि, मलाई दुख्दैन अब । मेरो शरीरलाई टुक्राटुक्रा पारेर छरिदिए पनि मलाई दुखाइको अनुभूति हुनेछैन अब ।
मेरो जीवनका अनगिन्ति खेलमा बाँकी रहेका हिसाबकिताबको कुनै सम्झना छैन अहिले । आइन्दा खेप्ने प्रहारको लागि मात्र हिसाबकिताब भुक्तान गर्न बाँकी रहनेछ । अग्ला अग्ला शटरहरू अझै शट् मार्न तम्सनेछन्, जोसिनेछन् । म पनि प्रतिक्रियाको लागि खडा हुनुपर्नेछ । उनीहरूले माथिबाट हानेको शट् मैले तलैबाट फर्काउनुपर्नेछ । हरेक प्रहारहरू एक एक गरेर फर्काउनुपर्नेछ । अग्लाले हानेको सट तलतिर गिर्नेछ, त्यसलाई टाउकोले पनि छल्न सकिनेछ, मुड्कीले पनि छल्न सकिनेछ, तर मैले उठाएको सट तलबाट माथितिर उछिट्टिनेछ । त्यसले शटरहरूका आँखा, नाक, मुख, केही भन्नेछैन । आँखा फुट्न सक्नेछ, नाक दोब्रिन सक्नेछ, मुख कुच्चिन सक्नेछ । खबरदार प्रहारकहरू ! मैले भोग्न केही बाँकी छैन अब, प्रहारको प्रतिकारको चोट कस्तो हुँदोरहेछ तिनीहरूले भोगेको हेर्न मात्र बाँकी छ ।”
मैले आफूलाई सम्झाउँदै थिएँ, त्यसै बखत अग्ला अग्ला मान्छेहरु चारैतिरबाट हुरुरु ओइरिएर एउटा मैदानमा जम्मा भए । तुरुन्तै त्यो जमातमा भलिबल खेल शुरु भयो – “मार, मार्” “गिरा, गिरा” “हान्, हान्” को कल्याङमल्याङ आवाजसित । ‘सिर्रऽऽऽ‘ ‘सिर्रऽऽऽ‘ कानै खाने तीखो एम्पायरको सिटी ! यसले गर्दा म सपनामा तर्सेर विपनामा आइपुगेँ । जीउ पसिनाले निथ्रुक्क भिजेको थियो । मुटु एकतमासले उफ्रिरहेको थियो । सानै छँदा साथीभाइले गिज्याएको सम्झना आयो “यति विधि नडरा ! भलिबलले मान्छे मर्दैन !”