बीरजन
कुनै बेला बीरजन नामको मेरो एकजना साथी थियो । ऊ समाज सेवा, व्यापार, व्यवसाय, कृषि कन्सल्टेन्सी आदि सबै काम गर्दथ्यो । उसले विभिन्न कलेजमा कक्षाहरु पनि लिन्थ्यो । उसले सबै क्षेत्रमा हात हाल्ने भएकोले त्यस क्षेत्रमा उसलाई नचिन्ने कोही थिएन । ऊ सँधै व्यस्त हुन्थ्यो । उसको गाउँ र मेरो गाउँ फरकफरक भए पनि मेरो उससंग मित्रता गाँसिन पुगेको थियो । त्यसो त उसका लाखौँ साथीमा म एकजना भएकोले उसले मलाई खासमा साथी मानेको थियो थिएन भन्ने कुरा पनि उसैले जानोस् तर मैले भने उसलाई पर्दा काम लाग्ने एक असल मित्रको रुपमा लिएको थिएँ ।
रोजगारीकै क्रममा म पनि उसको गाउँमै पुग्नुपर्ने भयो । उसका अरु कति घर थिए मलाई जानकारी भएन । तर म पुग्दा उसले अर्को एउटा घर बनाउने तरखर गर्दैंथियो । उसलाई घर बनाउने सल्लाह दिने मान्छेको कमी थिएन । कसैले उसको लागि नक्शा पास गरिदियो । कसैले ठेकेदार छानिदियो । कसैले निर्माण सामग्री आपूर्ति गरिदियो । कसैले आर्थिक सहयोग जुटाइदियो । कसैले इन्जिनियर छानिदियो, कसैले प्राविधिकहरु छानिदियो । उसलाई घर बनाउन कुनै परेशानी बेहोर्नुपर्ने भएन ।
एवंप्रकारले मैले पनि उसलाई सहयोग गर्नुपर्ने भयो । त्यसताका मैले एक रोजगारदाता संस्थामा काम पाएको थिएँ । त्यस संस्थामा मैले विभिन्न माग बमोजिम कामदार (लेबर) आपूर्ति गर्ने जिम्मा पाएको थिएँ । यस कामको जिम्मेवारीको कारणले उसलाई पनि मैले सहयोग उपलब्ध गराउन सक्तथेँ । मसँग कामदारको खालि हुँदैनथ्यो । विभिन्न कामदारहरु कामको खोजीमा मसँग सम्पर्कमा हुन्थे । उनीहरुलाई छनोट गर्ने अधिकार पनि मलाई दिइएको थिएन, मेरो काम त छनोट भइसकेका कामदारलाई विभिन्न मागको आधारमा पूर्ति गर्ने मात्र थियो ।
तर उससँग मेरो भेट भने भएको थिएन । उसलाई भेट्ने फुर्सद मिलेको थिएन । एकदिन साथी आफैँले फोन गर्यो –
“तँ पनि मेरै गाउँमा रोजगारीको सिलसिलामा आएको थाहा पाएँ । खुशी लाग्यो । मैले घर बनाउँदैछु । तसर्थ मलाई सहयोग गर्नू ।”
“भैहाल्छ नि, मैले सकेको सहयोग गरुँला नि । बरु के सहयोग टक्र्याउँ ?” मैले सहज रुपमा जवाफ दिएँ ।
“गारो कुरा होइन । तैँले सक्ने र तेरै कार्यक्षेत्रको काम हो । मेरो घर बनाउँदा राम्रा राम्रा कामदार छानेर पठाइदिनू ।”
मैले ठट्टा गर्दै जवाफ दिएँ- “मलाई राम्रा त थाहा छैन । तर भएसम्म दक्ष कामदार भने अवश्य पठाइदिउँला । तर तैँ आफैले छानेर लिए वेश हुन्थ्यो ।”
“मलाई कामदार छान्ने फूर्सद छैन । ठेकेदार, प्राविधिकहरु त अरुले नैं छानिदिए भने कामदार छान्ने फूर्सद हुन्छ मलाई ? मलाई अरु थाहा छैन मेरो घर बिगार्ने खालको कामदार नपठाउनू ।”
म सहमत भएँ ।
भोलिपल्ट ठेकेदारले कामदारको नाम किटेर पठाइदियो । अनि इन्जिनियरले पनि कामदारको अर्को लिष्ट पठाइदियो । साइट इन्चार्जले छुट्टै लिष्ट पठायो । प्राविधिकहरुले छुट्टै र हुँदाहुँदा गाउँका अध्यक्षले पनि गाउँमा विकास निर्माण हुँदा गाउँ अध्यक्षको भूमिका बढी हुनुपर्छ भनी कामदारको अर्को लिष्ट पठाइदियो ।
आफ्नो साथीको घर बन्दैछ । उसले मलाई पूरै विश्वास गरेको छ । अत: मैले मित्रको भूमिका निर्वाह पनि गर्नुछ । उता ठेकेदार, इन्जिनियर, अध्यक्ष लगायत सबै उसकै घर निर्माणसंग सम्बन्धित छन् । उनीहरुको कुरा पनि सुन्नै पर्यो । कामदार छान्नमा दुविधा उत्पन्न हुने नै भयो । मलाई कामदार छान्न गारो भएको कुरा साथीलाई अवगत गराएँ ।
“म अरु कुरा जान्दैन । तैँले पठाएका कामदार राम्रो हुनुपर्छ र राम्रो ढंगले काम गरिदिनुपर्छ । ठेकेदार, इन्जिनियरहरुले गलत तरिकाले घर बनाउन थाले भने त्यसको बदला मेरो हित हुने काम गर्नुपर्छ । तसर्थ तैँले पठाएका कामदारबाट मेरो घरको स्वरुप बिग्रन गयो भने त्यसको जिम्मेवारी सबै तैँले लिनुपर्छ, बुझिस् ?” ऊ रन्कियो ।
मैले यो कुरा ठेकेदारलाई अवगत गराएँ ।
“ठेक्का मैले लिने कामदार, निर्माण सामग्री र कामको स्वरुप अरुले तोकेर हुन्छ ? भोलि मलाई
घाटा लागे त्यसको जिम्मेवारी कसले लिने ? तसर्थ कामदार मैले नै छानेको हुनुपर्छ ।
अनि फेरि इन्जिनियरसंग कुरा राखेँ
“मलाई के को लागि इन्जिनियर नियुक्त गरेको त उसोभए ? घर बनाउने कुरा धेरै प्राविधिक कुरा हो । त्यहाँ फरक फरक खालका दक्षताको खाँचो पर्छ । त्यसको लागि दक्ष कामदार आवश्यक पर्छ । कुन काममा कुन दक्ष छ भन्ने कुरा अरुलाई थाहा हुन्छ ? तसर्थ कामदार मैले नै छानेको हुनुपर्छ ।
प्राविधिक साइट इन्चार्जलाई कुरा राखेँ –
उनीहरुले भने – “दक्षता मात्र भएर हुन्छ ? कुन कामदारले इमान्दारी पूर्वक काम गर्छ भन्ने कुरा नजिकबाट दैनिक काम गराइरहेकालाई थाहा हुन्छ कि अरुलाई ? तसर्थ कामदार मैले नै छानेको हुनुपर्छ ।
सोही कुरा फेरि अध्यक्षलाई अवगत गराएँ
ऊ पनि रन्कियो, – “यो गाउँमा कस्तो घर बन्ने ? कसले बनाउने ? भन्ने कुरा अरुलाई जिम्मा लगाएर हुन्छ ? विकासनिर्माणमा स्थानीयको नै निर्णय नियन्त्रण र प्रतिफल उपभोगमा अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने जानकारी छैन यिनीहरुलाई ? मैले सिफारिश गरेका कामदार भएनन् भने यहाँ घर बन्नै दिइँदैन । के ठान्याछन् बाहिरबाट आउनेहरुले हामीहरुलाई ?”
मैले यी सबै कुराको बेलिबिस्तार साथीसंग राखेँ ।
ऊ फेरि मैमाथि खनियो- “तँ अनेक बहाना गर्छस् भन्ने मलाई पहिल्यै जानकारी थियो । छानिएका ठेकेदार, इन्जिनियर, प्राविधकप्रति मेरो घोर शंका थियो । त्यो बल्ल प्रमाणित भयो । त्यो अध्यक्षले मेरो घरमा राजनीति गर्न खोज्दैछ । तिमीहरु सबकासब मिलेर मेरो घर बिगारिदिन उद्धत छौ । घर बनाउनुपर्ने मेरो, फाइदा लुट्न खोज्ने अरुले ? म अब मेरो घर बनाउँदिन, बुझिस् ?
“तैँले घर बनाइनस् भने मेरो के बिग्रन्छ ? मलाई त हाइसन्चो हुन्छ ।” म पनि चट्टारिएँ, “आफ्नै घर बनाउने कुरामा तँलाई मतलब नहुने, सोको लागि ठेकेदार छान्दा फूर्सद नहुने, इन्जिनियर तोक्न फूर्सद नहुने, प्राविधिक साइट इन्चार्ज खटाउँदा फूर्सद नहुने, यस्ता महत्वपूर्ण कुराको लागि अरुको भर पर्ने तँ । तेरै कामको लागि खटाइएका यी विशेषज्ञहरुसंग मैले भन्दा तँ आँफै पनि समन्वय गर्न सक्थिस् । त्यो कुरामा तैँले उपेक्षा गर्ने, तर जाबो कामदार खटाउने मात्र अधिकार भएको आफ्नो साथीले काम गरिदिएन भनेर मलाई थर्काउँछस् ? तैँले घर नबनाए नबना ! म पनि तेरो गाउँमा बसेर काम गर्दिन ।”
यति भनी म आफ्नो मालिकलाई जागिरी छोड्ने कुरा अवगत गराइ त्यहाँबाट हिँडेँ ।
पछि, उसले मेरो जवाफलाई कसरी लियो ? घर बनाउन शुरु गर्यो कि गरेन ? मैले आजसम्म पनि कुनै जानकारी पाएको छैन ।