बाहिर
सम्बन्ध मक्किएको जीर्ण पुल तर्न नसकी
फँसेको छु अँध्यारो मुछिएको तिम्रो बस्ती बाहिर
धकेलेपश्चात् प्रतिरोधहिन आवाजहरु
कति छिट्टै ठड्याइसकेछौ पातालचुम्बी अविश्वासका बाक्ला पर्खालहरु !
र बिछ्याइसकेछौ अझै बाक्ला आशंकाका छतहरु
आफैलाई लाखौँ बित्ता गहिरो कुवाको पिँधमा पारेर !!
फन्को मारेँ प्रवेशद्वार भेटिन कतै
सिवाय पर्खालका कापकाप र मसिना छिद्रहरुबाट निस्कने
तिम्रो लोभ/कामको ठुस्सठुस्स दुर्गन्ध
गालीगलौजपूर्ण खकारको ख्वाक्क ध्वनि र
कटाक्षपूर्ण भुत्ते चुप्पिले जसलाई हिर्काउँदैछौ तारन्तार
छोडेर तिम्रो वस्ती तरिसके त्यो पुल अघिल्लै दिन ।
त्यो प्रहार तिम्रै अहंकारको भित्ता नाघ्न नसकेर
कुहिरिमण्डल छ तिम्रो दलिनभित्र धेरै र अलिकति बाहिर
क्रोधको ज्वाला लपलपाइरहेको छ
दोहोरो परित्यक्त म एक्लै छु यता ।
सम्भावनाका सबै प्वालहरु बन्द गरी
उज्यालो परिघटना र घटकलाई बलजफ्ती बिर्सनखोज्दै
अन्धरसको लेदो चुसीचुसी
मिल्काइएको पेटीकोटभित्रको अँध्यारोमा गुटमुटिएर
अद्यापि मस्त भोगको बहानामा छौ
सराप्दै पेटीको फेरलाई फुत्किनै नदिई च्यापिराखेर
सुरक्षित हुनुको दम्भमा किन दपेटिएका छौ ?
जीवनका अमूल्य वीर्यकण खस्दै कुहिँदै छन् ।
तिमी आफैले चुल्याइएको
खातैखातको अँध्यारो चिर्नखोज्दै
रश्मीकुम्लो बोकी पश्चिम डाँडोमा पुगेका सूर्जेबाट
भोलि जन्माउने हिजोको एकमुठ्ठी रश्मीबीज उभाएर
तिम्रो रातको बाहिर झुण्डिरहेको छु अझै झिनो उज्यालोको त्यान्द्रोमा
फर्कनुथियो तिम्रो दिलको बस्तीको
अँध्यारो साम्राज्यमा आगो झोस्न ।
पुषको कुहिरोले फुटेका ती आँखा फुकालेर त हेर
तिम्रै आत्मीय सन्तानजस्तै
अँध्यारोबाहिर को छुटेको छ ?
२०७५।०५।०९ मुसीकोट