Purna Oli

Freelance Writer

कविताछन्द कविता

बाघचाल

आयो याद अठाह्र वर्ष पहिले, भेडी गुवालो थिएँ

भेडालाइ धपाइ पारि वनमा, वारी बसेको थिएँ

ढुङ्गा लीकन बाघचाल खरिले, कोरी बसेको थिएँ

आयौ झट्ट र “बाघ खेल्दछु”, भन्यौ ‘बाख्रा’ म खेल्ने भएँ ।

 

‘यो, यो, गर्न हुँदैन खेलबिचमा’, गर्थ्यौ नियम् का कुरा

टाढा’नी गइनौ, समीप भइनौ, जैल्यै समानान्तर

भन्दा ‘जाउ’, डराउँदै गइदिएँ, ‘आऊ’ भन्यौ आइदिएँ,

“‘तोड्ने छैन नियम् भनी’ कसम यो, खाऊ” भन्यौ, खाइदिएँ ।

 

जित्नैपर्छ बुझेँ र बाघ जति छन्, थुन्दै र जित्दै गएँ

बाख्रा एककुनै निकाल्न सकिनौ, मै मात्र मिच्दै गएँ

ठानी माफ दिने बिराम सहजै, खुल्दै र झुक्दै गएँ

बाँधेका ति कठोर नीयमहरु, हार्दै र चुक्दै गएँ ।

 

खेल्नै यत्न गरेँ तथापि तिमिले जिस्केसरी ठान्दियौ ।

खैलै छोडि हिँड्यौ रिसाइ अब ता, बोल्नै समेत् छाड्दियौ ।

आफ्नै मित्र थियो सुचाल चलने, भिन्नै बुझ्यौ यो किन ?

तिम्रै चित्र थियो दुरुस्त मुटुमा, चिन्नै सकीनौ किन ?

 

खेलेनौ किन ? खेल त्यो रहरिलो, आनन्द बेग्लै थियो

देखेनौ किन ? स्वार्थदेखि परको, संसार एक्लै थियो

जाऊ मुक्त भई रमाउ पर है, छोडी अँध्यारो कुना

मेरा लाख बिलाप वा लहडले, कैल्यै नपाउन् छुन ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *