बाघचाल
आयो याद अठाह्र वर्ष पहिले, भेडी गुवालो थिएँ
भेडालाइ धपाइ पारि वनमा, वारी बसेको थिएँ
ढुङ्गा लीकन बाघचाल खरिले, कोरी बसेको थिएँ
आयौ झट्ट र “बाघ खेल्दछु”, भन्यौ ‘बाख्रा’ म खेल्ने भएँ ।
‘यो, यो, गर्न हुँदैन खेलबिचमा’, गर्थ्यौ नियम् का कुरा
टाढा’नी गइनौ, समीप भइनौ, जैल्यै समानान्तर
भन्दा ‘जाउ’, डराउँदै गइदिएँ, ‘आऊ’ भन्यौ आइदिएँ,
“‘तोड्ने छैन नियम् भनी’ कसम यो, खाऊ” भन्यौ, खाइदिएँ ।
जित्नैपर्छ बुझेँ र बाघ जति छन्, थुन्दै र जित्दै गएँ
बाख्रा एककुनै निकाल्न सकिनौ, मै मात्र मिच्दै गएँ
ठानी माफ दिने बिराम सहजै, खुल्दै र झुक्दै गएँ
बाँधेका ति कठोर नीयमहरु, हार्दै र चुक्दै गएँ ।
खेल्नै यत्न गरेँ तथापि तिमिले जिस्केसरी ठान्दियौ ।
खैलै छोडि हिँड्यौ रिसाइ अब ता, बोल्नै समेत् छाड्दियौ ।
आफ्नै मित्र थियो सुचाल चलने, भिन्नै बुझ्यौ यो किन ?
तिम्रै चित्र थियो दुरुस्त मुटुमा, चिन्नै सकीनौ किन ?
खेलेनौ किन ? खेल त्यो रहरिलो, आनन्द बेग्लै थियो
देखेनौ किन ? स्वार्थदेखि परको, संसार एक्लै थियो
जाऊ मुक्त भई रमाउ पर है, छोडी अँध्यारो कुना
मेरा लाख बिलाप वा लहडले, कैल्यै नपाउन् छुन ।