बहिनी किरण
बुद्धि विवेकमा तिमी ठुलोमामा खड्कबहादुर खडकाजस्ती । अनुहारले दुरुस्त मामाघरकी बोईजस्ती । जिउडालमा मेरी आमाजस्ती । समष्टिमा मेरो मावलीमा किरण नाम लिएर किरणपुञ्जजस्तै जता जान्छ्यौ उतै चम्किरहेकी हुन्छ्यौ।
आफूलाई मिटाएर सबैलाई सहयोग गर्न तम्सिन्छ्यौ । आफूले हारेर अरूलाई जिताउन खोज्दछ्यौ । यद्देपि तिमीले यथेष्ट शिक्षा पाउनमा तिम्रो वातावरण बाल्यकालमै तगारो बनेर उभिदियो । तिमीले प्रारम्भिक शिक्षा लिन बाल्यावस्थामा विद्यालय समेत जान पाइनौ । उमेर बढेपछि मात्र प्रौढ शिक्षा पढेर औपचारिक शिक्षाको लागि निम्नमाध्यमिक शिक्षा हासिल गर्ने क्रममा मात्र विद्यालयको आँगन टेकेकी थियौ ।
औपचारिक शिक्षाको सुरुवात ढिलै गरे तापनि तिमीले समकालीन साथीभाइलाई पछ्याउँदै उच्चस्तरको शिक्षा हासिल गरी छोड्यौ । आफ्नो भविष्य निर्माणको लागि एउटै बाटो समातेर अगाडि पनि बढ्न सक्दथ्यौ तर तिम्रो सहयोगी भावनाले एउटै बाटोमा अगाडि बढ्न दिएन । तिमी त किरण थियौ । किरण एकै ठाउँमा पोखियो भने त डढेलो बन्न सक्छ । धेरै ठाउँमा फैलिए पो किरणले प्रकाशको काम गर्दछ ज्योति बनेर छरिन्छ ।
इष्टमित्रहरूको खुसियालीका पर्वहरूमा तिमी नै खुसी मनाइदिन पुगेकी हुन्छ्यौ । धार्मिक अनुष्ठानहरूमा तिमी नै प्रसाद ग्रहण गर्न पुगेकी हुन्छ्यौ । अस्पत्तालमा होस् कि घरमा, छटपटाइरहेका बिरामीहरूको घाउमा मलहम लगाउन तिमी नै सबैभन्दा पहिले पुगेकी हुन्छ्यौ । घाटहरूमा मृतकलाई श्रद्धाञ्जली अर्पण गर्न र आफन्त वियोगमा छटपटाइरहेका इष्टमित्रहरूको छेउमै पुगेर समवेदना प्रकट गर्न भरिसक्के तिमी कहिल्यै छुटाउँदिनौ ।
तिमी त असल गुणहरूकी पुञ्ज हौ । तिम्रो रचनात्मकता लोभलाग्दो छ । तिम्रो विचारशीलता गहन हुन्छ । तिम्रो सहनशीलता पनि अजिबको छ । ठुलासाना सबैलाई सम्झाउँदै हिड्न सक्छ्यौ । तिम्रो नेतृत्वशैलीबाट तिम्रा सहकर्मीहरू प्रभावित छन् । नयाँ काम गर्न तिम्रो विशेष रुचि हुन्छ ।
तर तिम्रो लोककल्याणकारी भावनालाई चुनौती दिन जटिल परिस्थति बारम्बार तिम्रो अगाडि तगारो बनेर आइदिन्छ । तिम्रो आफ्नै जटिल स्वास्थ्य समस्याले धेरै वर्ष थलियौ।उक्त समस्याबाट पार पाउन सकी नसकी सङ्घर्ष गर्दै थियौ हुर्कँदै गरेको छोरामा अर्को स्वास्थ्य समस्या बल्झियो । परकल्याणमा कतै नचुकेर बल्लतल्ल आफ्नो छोरालाई सन्चो बनाउँदै थियौ गत तिहारमा छोरी दुर्घटनामा परेर सख्त घाइते भइन्। बल्ल बल्ल छोरीलाई बचाउन सफल त भयौ तर छोरी अझै पूर्ण रूपमा सन्चो भइसकेकी छैनिन् ।
विश्वास गर आगामी दिनमा सबै ठिकठाक हुनेछ । तिम्रो लोककल्याणकारी भावनाको परीक्षा लिन दैवी परिस्थिति बराबर आइरहेको हुनुपर्छ । तिमी सबै परीक्षामा सफल भएरै छाड्नेछ्यौ ।
तिम्रा आगामी दिनहरू सुख शान्तिपूर्वक बितून् । परिवारमा खुसियाली छाओस् । कर्तव्यपथमा अविचलित अगाडि बढ्नू । तिमीलाई सुस्वास्थ, दीर्घायु र निरन्तर प्रगतिको हार्दिक शुभाशीष छ ।
![]()
Post Comment