बदला
मैले कृतज्ञता प्रकट गरेँ-
“कुरा गरिदिएकोमा धन्यवाद्”
तिमीले अनभिज्ञता प्रकट गर्यौ-
“को संग ?”
मैले स्पष्टीकरण पेश गरेँ-
“ऊसंग !”
यस धन्यवाद्को खातिर
तिमीले पनि कृतज्ञता प्रकट गर्यौ –
“कुरा गरिदिएकोमा धन्यवाद्”
मैले विस्मय प्रकट गरेँ –
“को संग ?”
तिमीले जिज्ञासा निदान गर्यौ-
“मैसंग !”
यही शब्दले आहत्, शर्माहत् र मर्माहत्
म रन्थनिएँ, हजुर रन्थनिएँ ।
पहिले,
म हरुवा, भगुवा रणभूमिको
तिमीले ताक्यौ धनु, म तर्सिएँ र हायलकायल थिएँ
र अहिले,
हान्यौ तीखो बाणले मर्मस्थलमै
म उठ्नै नसक्नेगरी घायल भएँ
आखिर किन ?
मेरो ध्येय ?
होइन, कसैलाई झ्याउ/दिक्क लाग्ने अवस्थासम्म डोर्याउनु
हो त
कतैबाट अविरल प्रेरणा प्राप्त गर्नु र त्यसैमा
अविरल बग्नु र बगिरहन पाउनु
पलाएको छ पुन: त्यही आशा !