संस्मरण

फेरि अर्को एउटा पुरस्कार !!!

उपभोक्ता सचेतना गोष्ठीको सन्दर्भमा मलाई भैरहवा पुग्ने अवसर मिलेको थियो । निजामती सेवाको जागिरीको शुरुशुरुमा यस्ता अवसर मिल्दा म खुशीले निकै आल्हादित हुने गर्थेँ । किनभने घुम्ने भन्ने बित्तिकै म हुरुक्कै हुन्थेँ, त्यसमा पनि सरकारी खर्चमा घुम्न पाउनु मेरो लागि अहोभाग्य नै हुन्थ्यो ।

भैरहवा भरखरमात्र खुट्टा टेक्न पाएको के थिएँ, मलाई काठमाण्डौको मेरो कार्यालयबाट जरुरी खबर प्राप्त भयो, “तुरुन्त आजकै प्लेनमा काठमाण्डौँ फर्किनू” भन्ने । यो खबर पठाउने मेरो हाकिम हुनुहुन्थ्यो, वाणिज्य विभागका तत्कालीन महानिर्देशक कृष्णहरि बास्कोटा । उहाँ राप प्रथम श्रेणीको अधिकृत हुनुहुन्थ्यो, म थिएँ राप अनं प्रथम श्रेणीको कारिन्दा । तैपनि उहाँले ‘तिमी पनि प्रथम श्रेणी, म पनि प्रथम श्रेणी, के फरक छ तिमी र ममा ?” भनेर मलाई आकाश पुर्याउनुहुन्थ्यो ।

त्यस जरुरी खबरका कारण म भैरहवाको शहरको अवलोकन गर्नै नपाई काठमाण्डौँ फर्किएँ । मलाई तुरुन्त फर्काउनुको तात्पर्य रहेछ: वाणिज्य क्षेत्रको निकासी, पैठारी तथा मूल्यस्थितिको सन्दर्भमा सफ्टवेयर विकास गर्न मसंग सल्लाह लिनू ।’ त्यसैदिन वाणिज्य विभागमा तत्सम्बन्धी विशेषज्ञ टोलीले सो सम्बन्धमा महानिर्देशकसंग भेट्न आउँदैरहेछ । (पाठकवर्गलाई यो कुरा हास्यास्पद एवं बनावटी कुरा लाग्न सक्दछ किनकि एउटा तल्लोस्तरको कर्मचारीले महानिर्देशकलाई के सुझाव दिन सक्ला र भन्ने कुरामा ।) म काठमाण्डौ फर्किएपछि त्यो विशेषज्ञ टोलीसंग डिल गर्ने सम्पूर्ण जिम्मा मैले नै पाएँ । फलस्वरुप बजार अनुगमन, देशको मूल्य स्थिति, उत्पादन, निकासी र पैठारीका केही महत्वपूर्ण तथ्यांक तथा सोको विश्लेषणलाई समेट्ने गरी सफ्टवेयरको पनि विकास गरियो र त्यो सफ्टवेयर चलाउने सर्वाधिकार पाउने व्यक्तिमा पनि म नै छानिएँ ।

त्यसको केही महिनापछि ‘कम्प्यूटर प्रविधिबाट दर्ताचलानी गर्न सकियो भने ज्यादै महत्वपूर्ण सूचनाहरु प्रवाह, संकलन र विश्लेषण गर्न सकिन्छ’ भन्ने सुझाव दिँदै मैले महानिर्देशक कृष्णहरि बास्कोटा समक्ष एक प्रतिवेदन पेश गरेँ । ‘एकजना सहायकस्तरको कर्मचारीले अनावश्यक कुरामा ध्यान दिएको’ भनी धेरै पदाधिकारीहरुबाट मैले आलोचना खेप्नु पर्यो । त्यो प्रतिवेदन ‘धन्यवाद् !’ भन्दै महानिर्देशकज्यूले मलाई नै फिर्ता गर्नुभयो । विभागका तत्कालीन शाखा अधिकृत गजबहादुर राणाले यो कुरा मनन गरिरहनु भएको रहेछ ।

त्यसको केही दिनपछि मलाई वाणिज्य विभागको ‘सर्वोत्कृष्ट कर्मचारी’ भन्दै प्रशंशापत्र पनि प्रदान गरियो । कार्यालयबाट सर्वोत्कृष्ट कर्मचारी छनौटको शुरुवातमै आफू पर्दा मैले आफूलाई अत्यन्तै भाग्यमानीहरुको दर्जमा उभ्याइएको पाएँ । यो मेरो सिर्फ आत्मतुष्टि थियो । किनभने मलाई यो प्रशंशाले वृत्तिविकासको कुनै अंशमा पनि सहयोग पुर्याउन सकेको थिएन । यी घटनाहरु आजभन्दा ठीक बाह्र वर्ष अगाडिका हुन् ।

संयोग नै मान्नुपर्छ, आज तत्कालीन शाअ गजबहादुर राणा सामान्य प्रशासन मन्त्रालयको सहसचिव जस्तो उच्च पद प्राप्त गरिसक्नुभएको रहेछ र प्रशासनिक संगठन सुदृढीकरणको सिलसिलामा कार्यविवरण तथा दर्ताचलानीको सफ्टवेयरको आवश्यकता र महत्व दर्शाउँदै विभिन्न जिल्ला पुग्ने क्रममा रुकुम आइपुग्नु भएको रहेछ । रुकुम जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा आफ्नो मन्तव्य दिने क्रममा उहाँले “मैले जानेबुझेसम्म यस सफ्टवेयरको पहिलो प्रस्तावक नै पूर्ण ओली हो” भनी दिनुभएको उद्गारले म हर्षविभोर हुनपुगेँ ।

कार्यालयगत रुपमा बाहेक मैले आजसम्म कुनै प्रकारको औपचारिक राष्ट्रसेवक पुरस्कार र सम्मान प्राप्त गर्नसकेको छैन र त्यस्तो प्रकारको पुरस्कारको लागि आफूलाई योग्य पनि ठान्दैन । तर आफूलाई जुन समाजले चिनेको छ, त्यही ठाउँमा त्यस समाजले चिन्दै नचिनेको तर आधिकारिक व्यक्तिले प्रशंशा गरिदिनु त्यस्ता पुरस्कारभन्दा लाखौँ गुणा बढी महत्वको लाग्दो रहेछ ।

तसर्थ मेरो भुलिसकेको विगतको प्रयासलाई महत्व दिई ब्यूँझाइदिनुहुने आदरणीय सहसचिव राना सरलाई यस गुणको बदला के तिरुँ भनी एकछिन छट्पटिएँ र उहाँलाई यस जिल्लाको महत्पूर्ण धार्मिक स्थल साइकुमारी मन्दिर पुर्याएँ, अनि देवीले सुन्ने गरी प्रार्थना गरेँ “देवी, तिमीलाई भाकल गरेअनुसार तिमीले मलाई दिएको पुरस्कार यिनै व्यक्तिबाट राष्ट्र सेवकको नियुक्तिको रुपमा प्राप्त गरेको थिएँ ।  धेरै पुराना गुरुचेलालाई (नियुक्तिको हिसाबले) आश्चर्यजनक तरिकाले तिम्रो यस पवित्र आश्रयस्थलमा एकैसाथ उभिने मौका दिएकोमा तिमीलाई लाखलाख धन्यवाद् ।”

अनि राना सरसंग भनेँ, “राना सर, मैले हजूरलाई उपहार दिन सक्ने कुनै पनि मूल्यवान् वस्तु मसंग छैन । तर मैले हजुरलाई यस्तो ठाउँमा ल्याइपुर्याएको छु, जहाँ हजुरले मागेको हरेक कुरा प्राप्त गर्न सक्नुहुनेछ ।”

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *