फुटेको कचौरा
एक दशक अघि एक अफिसमा जागिर खाँदाको कुरा हो । जागिर खाँदै नास्ता खाँदै गर्दाको कुरा ।
अफिसको क्यान्टिनमा एकजोडा स्टिलको गिलास र कचौरा अरु भाँडावर्तनभन्दा भिन्न थिए । कचौरा बिटबिटसम्म फुटेको थियो भने गिलास झण्डै पिँधसम्मै दुईपट्टिबाट चर्किएको थियो । दिउँसो चिया नास्ताको लागि क्यान्टिनमा पुग्थेँ । ती कचौरा र गिलास मेरै भागमा पर्थे । कहिलेकाँही आत्मग्लानीले पोल्थ्यो र भन्थेँ, “ए साहुजी, यो त अति भो ! सँधै मेरै भागमा मात्र किन पर्छन् फुटेका गिलास र कचौरा ? कहिलेकाँही अरुका भागमा परे पनि हुने ?”
मेरो भन्दा क्यान्टिन साहुजीकै स्वर ठूलो हुन्थ्यो, “के भयो ? चिया र तरकारी कम भयो ? थपिदेऊ भने भइहाल्छ नि ! कचकच कचकच गरिराख्नुपर्छ ?” भन्दै ऊ चियाको किल्टी बोकेर मकहाँ गिज्याउँदै आइपुग्थ्यो । मैले नकार्नु र मुख रातो पार्नुबाहेक अरु केही गर्न सक्तैनथेँ ।
म त्यस क्यान्टिनको लागि नयाँ छँदा ती फुटेका गिलास र कचौरा अरुकै भाग परेको पनि देखेको थिएँ । जसको भागमा फुटेको गिलास पर्थ्यो, उसले दिइएको चिया नै मिल्काइदिन्थ्यो र त्यस चियाको पैंसा तिर्नुको साटो उल्टै साहुले बेसमारी झपारिमाग्थ्यो । केही कर्मचारीले कचौरा टिपेर रछ्यानपट्टि मिल्काइदिएको पनि देखेको थिएँ धेरै पटक । यसबेला उसको विरोधको स्वर निस्किए पनि अरुको भन्दा त्यो स्वर झिनो हुन्थ्यो ।
अरुको भागमा ती फुटेका भाँडाहरु किन पर्दैनन् भन्ने कुरा मैले बुझ्न थालिसकेको थिएँ ।
तर मैले कैले पनि त्यसो गरिन । विनित स्वरमा सुझाव दिन्थेँ । अरु सबैले उसलाई तँ/तिमी काढ्दा मैले तपाईँ नै भनेर सम्बोधन गर्ने गर्थेँ । । उसको लगातारको अवाञ्छित व्यवहारबाट मुक्ति पाउन केही छाक क्यान्टिनमा नगएरै पनि आफ्नै पेटलाई मार्थेँ । तर केही दिनपछि उसकै क्यान्टिनमा पुग्नुको विकल्प थिएन अर्थात अफिस नजिक अरु क्यान्टिन पनि त थिएनन् ।
मेरो विनयशिलताले र भद्र विरोधले कहिले पनि काम गरेन । जब म केही दिनपछि क्यान्टिनमा पुग्थेँ, उसले निसंकोच त्यही व्यवहार नै दोहोर्याउँथ्यो ।
म एक दुई हप्तामै पुरानो भइसकेको थिएँ र अक्सर गरेर ती फुटेका कचौरा र गिलासमा चिया र तरकारी थाप्न अभ्यस्त भैसकेको थिएँ । तर खुशीले होइन मनमा ग्लानी घनीभूत हुँदै जान्थ्यो ।
एकदिन आफ्नो सरुवा भएको खबर सुनेँ । यस खबरले घनीभूत हुँदै गएको ग्लानी स्वाट्टै हरायो । त्यस दिनमा अलि ठूलै स्वरमा भनेँ, “ए साहुजी, म भोलिदेखि तपाईँको ग्राहक नहुने भएँ, अब तपाईँका फुटेको गिलास र कचौरा कसको भागमा पर्छ ?”
उसले उल्टै च्याँठ्ठिँदै मैलाई हपार्ने शैलीमा बोल्यो, “के तालको मान्छे होला ! यस्ता नेगेटिभ माइन्डका मान्छे त आजसम्म देखेको पनि थिइन मैले !”
त्यसपछि उसकहाँ कति पोजिटिभ माइन्डका कर्मचारीहरु ग्राहक भएर आए मैले सोधखोज गर्ने आवश्यकता ठानिन ।
मैले त त्यसदिनपछि फुटेको गिलास र कचौराको भागबाट अवकाश पाएकोमा त्यसैत्यसै हाइसुख्खको अनुभूति गरिरहेँ ।