प्रहसन
तिम्रैछेउमा एउटा गजबको प्रहसन चलिरहेछ
आफूलाई बढ्ता ठान्ने ए बढ्ता मान्छेहरु हो हाँस !
मरीमरी हाँस, पेट मिचीमिची हाँस, रयालसिँगान काढीकाढी हाँस
प्रहसनको पात्र, याने, तिम्रो नजरमा एक ‘कम्ता मान्छे’
उसको सक्कलीपना देखेर हाँस
उसको जङ्गलीपना देखेर हाँस !
कम्ता मान्छे कछाड च्यातिएर वा लाउन नजानेर
मैलो आङ ह्वाङ्ङ देखिएको छ
टोपी च्यातिएर वा मिलाउन ढङ्ग नपुगेर
लट्टिएको टुप्पी निस्किएको छ
खुट्टामा घाउ परेर वा हिँड्नै नजानेर
लडखडाउँदै लत्रिँदै
एउटा खुट्टामा खुइलिएको जुत्ता र अर्को खुट्टामा चुँडिएको चप्पल लतार्दै
तिमीछेऊ आइरहेछ उसको दशा देखेर हाँस
कुपोषणले कक्रिएको कम्ता कद र कुरूपता देखेर
आफूसमान नदेखिनुको बिडम्बना देखेर हाँस
अलि पर सरेर मुख छोपीछोपी हाँस !
कसैको हात भाँचिएको छ, कसैको खुट्टा काटिएको छ
कसैको आँखा फुटेको छ, कोही बहिरिएको छ, कसैको दिमाग खलबलिएको छ
लिङ्ग धर्म, जाति, भाषा, सम्प्रदाय, भूगोलको अमानवीय कित्ताकरणले
त्योभन्दा बढी प्राचीन कुसंस्कार र बिबिधखाले अर्वाचिन बलात्कारको हतियारले
मान्छे मान्छे बीचको खाडल फराकिँदै गएको छ र
एउटा ‘कम्ता मान्छे’ बन्दै गइरहेको छ
अर्को ‘बढ्ता मान्छे’ बन्दै गइरहेको छ
त्यसैले ए बढ्ता मान्छेको कित्तामा परेका भाग्यमानीहरु हो !
तिम्रो आँखामा अजव देखिने यी अजीवहरुको अमिल्दो अङ्ग देखेर हाँस
कम्ता मान्छेहरुको ढङ्ग देखेर हाँस !
कम्ता मान्छे तिम्रो भाषा नसिकेर वा नजानेर
तिम्रोजस्तो औपचारिकता अर्थात ओठले चेप्रा पार्न जानेको छैन
तिम्रो जत्ति ‘कमन सेन्स’ पनि अर्थ्याउन नसकी
टुक्रिएका शब्द र धोद्रिएका स्वरहरुमा
के हो के के ! भकभकिएको सुनेर
ओठको सट्टा आँतले बोलेको देखेर
तिमीले कहिल्यै नसुनेको वा अर्कै बुझेको भाषामा
तिमीलाई केही सुनाउन खोज्दै छ
उसको जङ्गली बोली सुनेरै हाँस, नबुझेरै हाँस
धित मर्नेगरी गललल हाँस !
कम्ता मान्छे पसिनाले भिजेर अमिलो गन्ध निकालिरहेछ
शरीरको घाउ पुछ्ने समय वा विधि पहुँचमा नहुँदा
कट्कटिएको रगतको दुर्गन्ध निकालिरहेछ
एक्काइसौँ शताब्दीको विज्ञानप्रविधिको उत्पातको पर छलिएर
कुनै जङ्गली जनावरको जस्तो ।
यो जुगमा
तिमी बढ्ता मान्छेको पसिना हत्पति आउँदैन
तिम्रो रगत कुन रङको हुन्छ हत्पति थाहा हुँदैन
तसर्थ अर्कै जुगको उसको प्राकृत पसिना र रगतको गन्ध सुँघ्नबाट भाग
आफ्नो शरीरभरि दलेको पर्फ्यूम हम्केर, त्यो दुर्गन्ध दबाउन
नाक थुनेर हाँस, मुख थुनेर हाँस ।
तिम्रो किम्मती पोशाकभित्र के ढाकिएको छ, बिचरा ! उसलाई के थाहा ?
तिम्रो छातिभित्र पनि मुटु छ र त्यो चल्छ भन्ने उसलाई के थाहा ?
तिम्रो कुटील हाँसोको अर्थ उसलाई के थाहा ?
तिम्रोजस्तै उसको शरीरमा पनि पाचन प्रणाली र निश्काषण प्रणाली
दुरुस्तै उस्तै छ भन्ने के थाहा ?
ऊजस्ता कम्ता मान्छेहरुको बढोत्तरीले
तिमी बढ्ता मान्छेमा गनिएका छौ भन्ने के थाहा ?
तिम्रो प्रत्येक धड्कनको श्वासप्रश्वासमा
उसकै रगतपसिनाको गन्ध मिसिएको छ भन्ने उसलाई के थाहा ?
तसर्थ ‘के थाहा ? के थाहा ?’ को भुलभुलैयामा ऊ रुमल्लिएको देखेर
ए तिमी बढ्ता मान्छे भनाउँदाहरु हो !
मच्चीमच्ची हाँस, थच्चीथच्ची हाँस !!
कम्ता मान्छे ऊ त ठान्छ,
‘मुटु फेरिएको एक अप्राकृत मान्छेको याने बढ्ता मान्छेको
दिमागमा गोबर कम र गुहु धेरै भरिएछ,
परिणामतः त्यो अर्धपागल
आफूले बढ्ता मान्छेको पगरी आफैलाई गुथाइएको सिर्फ आत्मतुष्टि लिँदै
उही भूगोल, समाज र अर्थतन्त्रले किचिएको
एक सामान्य वा औसत मान्छेलाई देखीदेखी
आफूभन्दा कम्ता मान्छे बुझेर हाँस्छ र
कम्ता मान्छे देख्न पाएकोमा रमाईरमाई हाँस्छ ।’
तसर्थ तिम्रो बोधभ्रमलाई यथास्थितिमा ल्याउन
कम्ता मान्छे ऊ पनि अट्टहास छाड्दै
तिमी बढ्ता मान्छेको नजिक नजिक आइरहेछ
ऊ तिम्रो समिप आइनपुगुञ्जेल
तिमी आफ्नै तिघ्रा ठटाईठटाई हाँस ।
उसको जङ्गलीपना देखेर हाँस !
उसको सक्कलीपना देखेर हाँस
प्रहसनको पात्र, याने, तिम्रो नजरमा एक ‘कम्ता मान्छे’
मरीमरी हाँस, पेट मिचीमिची हाँस, रयालसिँगान काढीकाढी हाँस
आफूलाई बढ्ता ठान्ने ए बढ्ता मान्छेहरु हो हाँस !
तिम्रैछेउमा एउटा गजबको प्रहसन चलिरहेछ
चाँगुनारायण
२०७१।११।२९