प्रवचन संग्रह

पुरुषार्थमा तिब्रता कसरी ल्याउने

  • ब्रह्माकुमार जगदीश चन्द्र

हामी सबैलाई थाहा छ कि यस ईश्वरीय विश्व विद्यालयमा हामीले योग विद्याको अध्ययन गरिरहेका छौँ । ईश्वरीय ज्ञानको अध्ययन गरिरहेका छौँ । यस अध्ययनद्वारा हामीले पुरुषार्थ गरिरहेका छौँ कि मनुष्यबाट देवता बन्न, आफ्नो जीवनमा दैवीगुण धारण गर्न, आफ्नो जीवन पवित्र बनाउन । यसैले धेरै भाइबहिनीहरुले भन्छन् हामी पुरुषार्थी हौँ । पुरुषार्थी शब्दको धेरै तरीकाबाट प्रयोग गरिन्छ, तर भाव अलग-अलग हुन्छ । कुनै बेला कसैले भूल गर्दा भन्छ कि भूल भयो र त म पुरुषार्थी हुँ । यसको अर्थ यो भयो कि जो व्यक्तिले आजसम्म भूल गरिरह्यो र भोलि पनि भूल गर्नेछ त्यसले आफूलाई पुरुषार्थी सम्झन्छ । पुरुषार्थी शब्दको यस्तो प्रयोग गलत हो । हरेक शब्दको अर्थ हुन्छ र यसको ठीक प्रकारले सम्झने र प्रयोग गर्ने गर्नुपर्छ । पुरुषार्थी शब्दको अर्थ यो हो कि हामीले जीवनमा अगाडि बढ्नको लागि, अवगुणहरु निकाल्नको लागि र दैवी गुण धारण गर्नको लागि साधना गरिरहेका छौँ तथा अहिले जुन भूल भएको छ, त्यो अब हुन नदिने कार्यलाई नै पुरुषार्थी भनिन्छ । यदि दोस्रो पटक पनि भूल भयो भने यसलाई गल्ती भनिन्छ । मानौँ कि, योगबलको कमीको कारण, निर्बलताको कारण अथवा पुरानो संस्कारको कारण आत्माले कुनै भूल गर्नथाल्यो भने भूल हुन नदिनु नै पुरुषार्थीको लक्षण हो । यदि कसैले यात्रा गरिरहेको छ भने हिँड्दा हिँडदै उसका खुट्टा गलत बाटोतिर लागेको थाहा हुने बित्तिकै सम्हाल्नु पुरुषार्थ हो । यदि सम्हाल्न सकेन र बारम्बार गलत कदम चाल्दछ भने उसलाई यात्री अथवा पुरुषार्थी भन्न सकिँदैन । बाबाले भन्नुहुन्छः ‘बच्चाहरु हो, तिमी पुरषार्थी हौ कि तिब्र पुरुषार्थी । सिर्फ पुरुषार्थी होइन, तिब्र पुरुषार्थी बन । किनकि समय एकदमै थोरै छ, मंजिल एकदमै उच्च छ, प्राप्ति धेरै गर्नुछ । कैयौँ जन्मको अवगुण र दुर्गुणहरु छन्, तिनीहरुलाई निकाल्न मेहनत गर्नुछ । यसैले बच्चाहरुलाई तिब्र पुरुषार्थको जरुरी छ ।’

तीब्र पुरुषार्थ केलाई भन्ने त ? बाबा भन्नुहुन्छः यदि कुनै भूल भइहाल्यो भने यसलाई नदोहोर्याऊ । अब समय पनि एकदमै कम छ । तिमी एउटा भूल गर्छौ र अर्को पटक पनि त्यही गर्यौ भने बाँकी अवगुण कहिले निकाल्ने ? एक एक गरेर निकाल्न थाल्यौ भने गन्तव्यमा कहिले पुग्ने ? यसैले अज्ञानवश, पुरानो संस्कारवश् यदि केही भूल भइहाल्यो भने अर्को पटक भूल हुन नदिन जसले ध्यान दिन्छ, उसैले सफलता प्राप्त गर्दछ । बाबा, माता र दिदीहरुमा जो विशेषता छ, त्यो यही नै हो । उहाँहरुले पनि आफैले आफ्नो पुरुषार्थ गर्नुहुन्छ, हामीहरु पनि आफ्नो पुरुषार्थ गरिरहेका छौँ । दुवैमा के अन्तर छ ? कुनै भूलचुक भइहाल्यो भने फेरि नदोहोर्याउने, भइहाल्यो भने समयको बर्बादी मात्र भयो । यसको अर्थ हो ज्ञान पूरा बुझ्न सकिएको छैन । यिनीहरुमा जिम्मेवारीको भावना नै छैन, समयको महत्त्व जान्दैनन् र आफ्नो उद्देश्य नै थाहा पाउँदैनन् । हामीले पास विद अनर हुने हो भने यसो गर्नुपर्‍यो कि दोस्रो पटक भूल नहोओस् । बाबाले भन्नुहुन्छ कि वर्णन, मनन र मगनमा समानता होओस् । तपाईँले देख्नुभएकै छ, केही मान्छेहरुले ज्ञानको वर्णन त खुप्पै गर्छन्, तर मनन गर्दैनन् । ज्ञानको गहिराइमा उनीहरुको बुद्धि जाँदैन । उनीहरु परमात्माको नाम, रुप, काल, कर्तव्य आदिको बारेमा अरुलाई सम्झाउन सक्दछन्, परन्तु सर्व सम्बन्ध कसरी निभाउने ? आफ्नो जीवनलाई कसरी आचरणमा ल्याउने ? यो कुरा बुझ्दैनन् । उनीहरुले भन्छन्, ‘हामी मनन गर्न सक्दैनौँ, हाम्रो बुद्धिमा नै बस्दैन र बढ्दैन ।’ तर यस्ता व्यक्तिहरु पनि छन् जसले ज्ञानको वर्णन पनि गर्छन् र मनन पनि गर्छन्, तर मगन हुन सक्दैनन् । हामीले शिव बाबालाई चिनिसकेपछि हाम्रो मन उहाँमै मग्न हुनुपर्‍यो । हाम्रो लगन यति तिब्र होस्, बाबा प्रति प्रेमले यति खिचोस् कि हाम्रो मन अन्त कतै नजाओस् । बारम्बार बाबातर्फ नै आकर्षित होओस् । बाबाद्वारा हामीमा यति उच्च प्राप्ति भइरहेको छ कि हामीलाई विकारहरुबाट निकालेर, खाडलबाट उठाएर, विषय सागरबाट पार गराएर कहाँ लिइँदै छौँ ? जसले हामी यति उच्च बनाइरहेको छ, उहाँलाई छाडेर हाम्रो मन कहाँ जाला ?

भक्तिमार्गमा एउटा कथा सुनाउने गरिन्छ । एउटा विशाल सागर थियो । सागरमा एक जहाज गइरहेको थियो । साथसाथमा एउटा पंक्षी पनि उडिरहेको थियो । उड्दा उड्दा यताउता गर्दा गर्दै उसलाई बस्नको लागि कतै स्थान नै मिलिरहेको थिएन । किनकि सागरमा जता देख्यो उतै पानी पानी मात्र थियो । यसैले त्यो पंक्षी आएर जहाजमा बस्यो । यस्तै यो संसार पनि साग नै हो, विषय वैतरणी नदी हो, जहाँ विकारहरु नै छ्यापछ्याप्ती छन् भने हाम्रो मनरुपी पंक्षी कहाँ गएर बस्ने ? परमात्मा कहाँ । जब उसले सम्झला कि यो मेरो लागि एक मात्र स्थान हो । चारैतिर पानी नै पानी छ । जहाँ बसे पनि देहधारी नै छन्, हड्डी मासु र छालाका अभिमानी छन् र सबैमा विकार भरिएको छ, तमोगुणी संसार छ, कलियुग हो, यसैले त आसुरी बनेको छ । अब मन जाला कहाँ ? मन उतै जान्छ, जहाँ सुन्दर वस्तु छ । कुनै चिजमा आकर्षण छ भने उतै जान्छ । यस कलियुगी संसारमा आकर्षण भन्ने नै के छ र ? जसमा मन जाओस् । कति आश्चर्यको कुरा छ कि हाम्रो मन शिव बाबातिर नगएर फोहोरी संसारतर्फ जान्छ भने हामीले ज्ञान बुझे नबुझेको अर्थ नै के रह्यो र ! बाबाले मुरलीमा सोध्नुहुन्छ, ‘बच्चाहरु हो, बुझ्यौ त ?’ यसैले बाबाले भन्नुहुन्छ, वर्णन, मनन र मगन यी तीनको बराबर गर । कति मान्छे दिनभरि अरुलाई ज्ञान सुनाउँछन्, तर मनन गर्दैनन् । कति मान्छे ज्ञान पनि सुनाउँछन् मनन पनि गर्छन् तर योग लगाउँदैनन् । भलै तपाईँ जतिसुकै ज्ञानसेवा अथा कर्मणा सेवा गर्नोस्, मनन गर्नोस, यदि योग नलगाएमा आत्मामा लागेको दाग कसरी मेटाउने ? आत्मामा जो मैलो लागेको छ, उसको धुलाइ नै हुँदैन । यसैले योग साबुन हो । बाबा भन्नुहुन्छः योग लक्ष्य साबुन हो । यो लक्स साबुन होइन, जो नुहाउनको लागि प्रयोग हुन्छ । यो हो लक्ष्य साबुन, सम्पूर्ण पवित्र बनाउने हाम्रो लक्ष्य हो । यो लक्ष्य योगबाट नै प्राप्त हुन्छ । यो योगले साबुनको काम गर्दछ । यस प्रकार रोज साबुनले नुहाउने बेलामा यो पनि याद गरौँ कि लक्ष्य सोपको प्रयोग कसरी गर्ने ? अर्थात हामी के बन्ने हो ? र के गर्ने हो ?

तेस्रो हो बाबाले सोध्नुहुन्छ, ‘बुझ्यौ ?’ भनेर । केही मान्छेहरुले आत्मा के हो ? परमात्मा के हो ? योग के हो ? ८४ जन्मको कहानी के हो ? भारतको उत्थान र पतनको कहानी के हो ? यो सब जान्दछन्, तर मान्दैनन् । उदाहरणको लागि केही मान्छेले भन्छन् कि हामीले तपाईँको साहित्य पढेका छौँ, प्रवचन सुनेका छौँ, कोर्स गरेका छौँ । उनीहरुले जान्छन् कि परमात्मा सर्वव्यापी हुनुहुन्न, तर यो कुरा मान्दैनन् । यसरी उनीहरुले मान्दैनन्, तर जान्छन् । कोही यस्ता पनि हुन्छन्, जान्दैनन् तर मान्छन् । यस प्रकार जान्नु एक चरण हो, मान्नु दोस्रो चरण हो र सो अनुसार चल्नु तेस्रो चरण हो । केहीले जान्छन् पनि, मान्छन् पनि, तर चल्दैनन् किन ? तपाईँ कसैलाई सोध्नुहोस् कि के तपाईँलाई थाहा छ ? काम, क्रोध, लोभ, मोह, अहंकार यी विषय-विकार नरकका द्वार हुन् ?’ उनीहरुले जवाफ दिनेछन्, ‘हजुर थाहा छ ।’ फेरि सोध्नुहोस्, ‘यिनीहरु नै मनुष्य पतनका कारक हुन् भन्ने कुरा मान्नुहुन्छ त ?’ उनीहरुको जवाफ हुनेछः ‘अवश्य हो ।’ फेरि सोध्नुहोस्, ‘यिनीहरुको विरुद्धमा चल्नुहुन्छ त ?’ जवाफ हुनेछः ‘अँहँ नाइँ ।’ जब जान्छन् पनि, मान्छन् पनि, तर चल्दैनन् किन ? कोही व्यक्तिले उसको खानामा कुनै कीरा परेको छ भन्ने थाहा छ । त्यो कीरा माउसुली नै हो भन्ने मान्दा मान्दै पनि खान्छ भने त्यस व्यक्तिलाई के भन्ने ? समझदार ? होइन होइन । यसैले तिब्र पुरुषार्थी बन्नको लागि पहिले जान्नुपर्‍यो, जानेपछि मान्नुपर्‍यो र मानेपछि सो अनुसार चल्नु पनि पर्‍यो । तर जानेर पनि, मानेर पनि सो अनुसार चल्दैन भने त्यसको कुनै फाइदा छैन । प्रश्न उठ्छ जानिसकेपछि पनि, मानिसकेपछि पनि, किन सो अनुसार चल्दैनन ? यदि उनीहरुलाई सोध्ने हो भने उनीहरुले चारपाँच कारणहरु बताउनेछन्

हाम्रो शरीरले काम नै गर्दैन । हामी वृद्ध भइसक्यौँ । स्वास्थ्य ठीक छैन । निँद लाग्छ । कमजोरी छ । उनीहरुले भन्छन् कि भगवान यस्तो समयमा आउनुभयो कि ज्यान नै ठीक छैन । हामी कुनै कामका छैनौँ । यसरी शरीरको कारण देखाउँछन् । कोही कुनै परिस्थितिको कारणले चल्न नसकेको बताउँछन्, उनीहरु भन्छन् कि मेरो छिमेकमा के भयो, के भयो ! झन्झट भइरहेको छ । यो समस्या हल हुने बित्तिकै ज्ञानमा चल्नेछु । यदि छिमेकीसंग ज्ञानी बनेर, मीठो शब्दमा नम्रतापूर्वक बोल्ने हो भने उसले सोच्नेछ कि यो डरायो । तसर्थ अलिअलि कडा शब्द पनि प्रयोग गर्नै पर्‍यो र रिसाएको पनि देखाउनै त पर्‍यो । ऊ ठीक भयो भने म पनि ठीक भइहाल्नेछु । अनि यस्तो कारण पनि देखाउँछन् छोरी हुर्किसकी, उसको बिहे गर्नैपर्‍यो । उसको बच्चाको पनि बिहे गर्नैपर्‍यो । त्यसपछि म पूरै रीतिले ज्ञानमा चल्नेछु ।

कसैले आफ्नो परिवारलाई कारण देखाउँछन् । भन्छन् कि, ‘म एक्लै ज्ञानमा चलेको छु । परिवारका अरु मान्छेहरु ज्ञानमा चल्न मान्दैनन् र शुद्ध खानपिनमा नै समस्या आउँछ । अमृतबेलामा उठ्दा अरुलाई बाधा पुग्छ, यसैले ओछ्यानमै सुतेर योग लगाउँछु । घरमा यसकै कारण झगडा पर्छ । उनीहरु ज्ञानमा नआई रीतपूर्वक ज्ञानमा लाग्न नै धौ धौ पर्‍यो ।

बाबाले भन्नुहुन्छः ‘बच्चाहरु हो, यी सब बहाना हुन् । बहानाले चल्दैन । कसैको पर्खाइमा नबस । यस्ता बहाना र समस्याहरु कहिल्यै समाप्त हुँदैनन् । एकपछि अर्को आइ नै रहन्छन् । यो त समस्या-समस्याको दुनियाँ हो । यदि कुनै समस्या वा कारणहरु छन् भने आफ्नो हल आफै गर र जे कुरा जान्छौ जुन कुरा मान्छौ, त्यसै अनुसार चल । अनि मात्र तीब्र पुरुषार्थी बन्नेछौ र समयमै घरमा पुग्नेछौ ।

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *