कविताछन्द कविता

पी.ए.को जागिरे

सुन्द्यौ हाकिम साब मर्म पियको, निक्कै भयो यो गह्रौँ,

सेवामा रहँदै बित्यो सब जुनी, धैर्जे टुट्यो के गरौँ ?

ऊर्जा, सिर्जन, जोस, जाँगर मर्‍यो, गिर्दो मनोबल् छ यो,

तल्ला पाँच, उँधोउँभो दगुरदा, सुक्तै गयो ज्यान यो ।।

पानी छैन, न फोन् छ, नेट छ न ता, टेर्ने न कोही हुनु ,

चर्पी हेर्नु ,ज्युनार पार्नु र पियन्, बोलाउँदै दौडिनु

पैँसा धर्दिनु बैंकमा, फगतका, यी कार्य मेरै भए,

भो भो खान्न निरीह जागिर म यो, कर्तव्य यस्तै भए ।

नाता के छ तिमी मबिच् रगतको ? मान्छे बरोबर् हगि ?

कस्को सेवक ? राष्ट्रको कि घरको ? दास् तुल्य भो जिन्दगी

दासीदास प्रथा ढले रुढिबुढी बीसौँ शताब्दी उता,

तिम्रै नित्य निजी सहायक बनी, स्वीकार्नु के दासता ?

पैँसा, मान, दया, अनेक सुविधा, पाइस् नि जो भन्दछन्,

दाँज्दा ती सुविधा समान तहका, सैयौँ गुणा तुच्छ छन् ।

टाँठा धूर्त, ठुलाबडा  पहुँचका, कुम्ल्याउनै मस्त छन्,

कोही काम नभै यही अफिसमा, मारी झिँगा बस्तछन् ।।

के हो काम् कुनको ? छ कार्य विवरण् ? के हेर्छ ‘सामान्य’ त्यो ?

आफैभित्र अस्तव्यस्त अफिसले, कुन् ‘लोक सेवा’ गर्‍यो ?

बुझ्दैनौ कि पचाउँछौ बुझ तिमी, पार्छौ महाजालमा !

को लत्याउँछ ? को निरन्तर रह्यो, दायित्व कर्तव्यमा ?

पार्‌दर्शी, दक्षता र मीतव्ययिता, मूल्‌मन्त्र था पाउँछु,

देऊ काम जुनै दुरूह, जनको, फत्ते गरी आउँछु ।

लाऊ लेपन, घाउको मलम हुँ, खोज्यौ भने साध्य छु,

जानी राख म युगको कलम हुँ, जोत्छौ त दु:साध्य छु ।।   

  • २०६६।०३।२१
  • काठमाण्डौँ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *