पाहुना
म सानै छँदाको घटना हो । त्यस्तै पाँच छ वर्षको थिएँ हुँला । एकदुई कक्षामा पढ्थेँ हुँला म । मलाई चित्र कोर्न औधि मन लाग्थ्यो सानो छँदा । वरिपरि जे वस्तु दर्खिन्थ्यो त्यसैको चित्र कोर्न प्रयास गर्थेँ । पाठ्यपुस्तकमा छापिएका चित्र निकै ठूला र अजबका लाग्थे । घरमा पनि चित्र नै कोर्थेँ, स्कूल गयो चित्र कोर्थेँ र विदा वा फुर्सदको बेला फुपूसंग गाईवस्तु चराउन गुवाला जाँदा पनि चित्र नै कोर्थेँ, कापी, माटो, ढुङ्गा, केतुकेका पात, आदि समथल सतह भएका जे वस्तु भेट्टायो त्यसैमा । यो कुरा घरमा आमाबालाई पटक्कै मन पर्दैनथ्यो । उहाँहरु त चाहनुहुन्थ्यो छोराले पढाइमा ध्यान देओस् । अत: यस सम्बन्धमा आमाबाको हप्काइ, पिटाइ त कति खाइयो कति ! स्कूलमा भने गुरुवरहरुलाई म चित्रमा लागिपरेको मन नपरेको त होइन, तर पढाइमा पनि ध्यान दिनुपर्छ, भन्ने उहाँहरुको सुझाव थियो । कक्षामा त के विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा पनि अरुलाई प्रथम हुने मौका कहिले दिँदैनथेँ मैले । जस्तो चित्र बनाए पनि गुरुज्यूहरुले तारिफ नै गर्नुहुन्थ्यो ।
एकपटक हाम्रो घरमा एकजना प्रौढा आइमाई पाहुनाको रुपमा आउनुभयो । उहाँ हाम्रो को पर्नुहुन्थ्यो, आजसम्म मैले सोधखोज गरेको छैन । आएको बखत आमाले हातमा ‘जिउ’ गर्न लगाउनुभएको याद ताजै छ अझै । ‘बुनिता’ हो कि यस्तै यस्तै नाम कारेको जस्तो लाग्छ उहाँलाई । उहाँले ल्याएको ताततातो एक टपरी खिर र एक काइँयो मालभोग केरा हामीले बाँडीचुँडी खाएको पनि याद छ । उहाँले दिनभर आमाबासँगै कुरा गर्नुभयो । अनि रातमा तेलको टुकी बालेर हामी सबै सँगै बस्यौँ । मैले चार हातखुट्टा टेकेर एउटा गाउँको चित्र कोर्दै थिएँ । उहाँले रुचि लिएर हेरिरहनु भएको थियो । आमाले भने ‘खुइए…..’ श्वास फेरेर “यसको चाला हेर्नुस् न, पढाइमा पटक्कै ध्यान दिँदैन, घरि कुकुरका, घरि बिरालाका नानाभाँति चित्र मात्रै कोरिरहन्छ,” भनेर गुनासो सुनाउनु भयो पाहुनालाई ।
पाहुनाले मेरो चित्र हातमा लिनुभयो र ट्वाल्ल परेर हेर्नुभयो । “आम्मै ! यति सानो बच्चाको यति राम्रो चित्र ! म त छक्कै परेँ । अनि, तपाइँहरु भने उसलाई किन हप्काइरहनुभएको छ त ?”
आमाले भन्नुभयो, “चित्र मात्रै कोरेर को ठूलो भएको छ र ?”
उहाँले भन्नुभयो, “ठूला किन हुँदैनन् ? तपाईँहरुको यही बच्चा ठूलो भएर देखाइदिनेछ । हेरिराख्नुस् न ।” अनि, उहाँले मलाई आफ्नो काखमै लिएर म्वाइ खानुभयो ।
त्यसपछि मैले कोरेको चित्रमा नमिलेका भागहरुलाई सुधारिदिनु भयो । “यहाँ चित्र अलि मेल खाएन, टोइलेट घर नजिकै भयो, अलि टाढा हुनुपर्छ, एउटा धारा पनि घर नजिकै बनाउ, बगैंचामा यस्ता यस्ता फूलका बोट बनाउ, जङ्गल अझै बाक्लो बनाउ, बारीमा बच्चा खेल्ने होइन तसर्थ आँगनमै खेलेको देखाउ,” आदि, आदि । त्यसपछि कसरी रङ भर्ने भन्ने कुरा पनि सिकाइदिनुभयो । मेरा साना औँलाहरु समाएर कलर पेन्सिलले रङ भर्न मद्दत गर्नुभयो । म मख्ख परेँ । यस्तो कुरा न कहिले मलाई घरमा कसैले सिकाउनुभएको थियो न स्कूलमा ।
“रात धेरै बितिसक्यो अब सुत्नुपर्छ” आमाले भन्नुभयो ।
मलाई सुत्न मन लागेको थिएन । अघिपछि खाने बित्तिकै आँखा पीरो हुन्थ्यो र घुप्लुक्कै भुइँमै सुतिदिन्थेँ । तर आज आँखा पीरो भएकै थिएन । मैले पहिले बनाएका सप्पै चित्रहरु उहाँलाई देखाएँ । उहाँले केही हेर्नुभयो र केही हेर्न भ्याउनुभएन । मैले बनाएका चित्रमा उहाँले रङहरु थपिदिँदा ती चित्रले सार्थकता पाएका थिए । मैले बनाएका चित्रहरु बल्ल साँच्चिकै सुन्दर, दुरुस्त र सजीव देखिन पुगेका थिए । सायद उहाँलाई पनि निद्राले च्यापेको थियो होला । मैले उहाँलाई झिज्याइरहेको थिएँ, घरि पुराना चित्र देखाएर, घरि नयाँ चित्र बनाएर ।
“अब सुत, बाबु, धेरै निद्रा खलबल भएमा बिरामी परिन्छ । भोलि बिहानै हेर्छु है ? सप्पै चित्र ।” यति भनेर उहाँ छुट्टै सुत्न जानुभयो । म आमासंगै सुतेँ । मलाई निद्रा आएकै थिएन । घरि यता, घरि उता फर्किरहेँ । आमाले भने छोरो छिट्टै सुतोस् भनी मलाई चलमल गर्न नमिल्नेगरी खुट्टाले च्यापी अंगालोमा बेरी निदनिदै मेरो कपाल मुसारिरहनु भएको थियो ।
म कुन बेला भुसुक्कै सुतेछु । राति गज्याङमज्याङ सपना देखिए । ती पाहुना पनि म जत्रै सानी बनिछन् । हामी एउटा बगैँचामा गएर चित्र बनाउन थाल्यौँ । मैले चित्र बनाएँ, उनले रङ्ग भरिदिइन् । उनले चित्र बनाइन्, मैले रङ्ग भरिदिएँ । एउटा खरायोको चित्र कोर्यौँ । खरायो हामीसंग खेल्न थाल्यो । पुतली बनायौँ । पुतली नै खेल्न थाल्यो । जे जे चित्र बनायौँ, त्यही चित्र साक्षात्कार हुँदै गए । हामी सबैले खेल्यौँ । लखेटालखेट गर्यौँ । नाच्यौ । गीत गायौँ । यति रमायौँ यति रमायौँ कि हामीले स्वर्गीय आनन्द लिइरहेको अनुभूति भयो ।
बिउँझँदा त उज्यालो भइसकेछ । बाले ‘घ्यार्र घ्यार्र’ मोही पारिरहनुभएको थियो । अगेनामा दाउरामा रोटी जलेको मीठो सुगन्ध आइरहेको थियो । आमाले एउटा चुल्होमा ‘थ्याचथ्याच थ्याचथ्याच’ पार्दै मकैका रोटी पकाइरहनु भएको रहेछ । मैले यताउता चारैतिर पाहुनालाई खोजेँ, देखिन । ‘गैसक्नु भयो कि’ भनी ह्यास्सै भएँ । आमाले हाँस्दै गिज्याउनु भयो, “उठ्ने बित्तिकै तैँले कल्लाइ खोज्दैछस् भन्ने थाहा छ नि हामीलाई पनि ।”
अनि त म क्वाँ क्वाँ रोइदिएँ । बाबाले सम्झाउनुभयो, “न रो । कतै गएकी छैनन् तिनी । हातमुख धुँदैछिन् बारीमा ।”
म कुद्दै बारीमा पुगेँ । साँच्चिकै उहाँ त्यहीँ बारीमा एक अमखोरा पानी लिएर मुख छ्याप्पछ्याप्प धोइरहनु भएको थियो । म नजिकै पुगेर उहाँले मुख धोइरहेको एकोहोरो हेरिरहेँ । उहाँले मलाई ‘एकछिन है बाबु’ भन्नुभयो । अनि आफूले तौलियाले मुख पुछपाछ पारेर मलाई पनि काखमै राखेर मुख धोइदिनु भयो ।
अनि मैले नै उहाँलाई डोर्याएर मेरो कोठासम्म पुर्याएँ र फेरि चित्रमा रङ भरिदिन अनुरोध गरेँ ।
आमाले खाना खान बोलाउनुभयो र उहाँसँगै लुटपुटिएको देखेर “यो त एकदमै उपद्रो मच्चाइ रहन्छ । कसैलाई पायो कि झिज्याइरहन्छ । दिक्कै लगाउँछ, भन्या ! उहाँको पनि घर धेरै टाढा छ, अब उहाँलाई पनि घर जाने ढिला भैसक्यो । तँ पनि स्कूल जाने अबेर भैसक्यो । छिटो खान आइज ।” भनेर हकार्नुभयो आमाले ।
उहाँलाई पनि घर जाने ढिला भइसकेको कुरा सुनेर मेरो मुटुमा च्वास्स ठूलै काँडाले घोचेजस्तो लाग्यो । म ती पाहुनाको काखमा लुटुपुटिएँ र फेरि पनि क्वाँ क्वाँ रुन थालेँ । अनि हिक्का छोड्दै पाहुनालाई अनुरोध गरेँ, “तपाईँ, हामीलाई छोडेर नजानुहोस् है ?”
आमाबा गललल हाँस्नुभयो । उहाँको भने आँखाको कुनाकुनामा आँशु प्रष्ट देखिन्थ्यो । तै पनि आमाबासँग हाँसोमा हाँसो मिलाउनुभयो ।
आमाले गिज्याउँदै भन्नुभयो, “नानी, तपाईँलाई त यसैसंग बिहे गरेर राखिदिनुपर्ने भयो अब ।”
म लाजले भुतुक्कै भएँ । ‘बिहे’ भन्ने कुरा कुनै अनैतिक काम हो भन्ने बुझेको थिएँ त्यसबेला । अनि आमातर्फ फर्केर आमालाई झ्याम्झ्याम् कुट्न थालेँ ।
“छोड्” मलाई हुत्याएर पर फाल्नुभयो आमाले, “अनि क्यार्न रुन्छस् त ?”
“उहाँ गएपछि मैले बनाएका चित्रहरुमा कसले भरिदिन्छ त रङ्ग ?” भन्दै म फेरि कोलाहल गर्दै रुन थालेँ ।
सबैले खाना खान थाल्यौँ । मलाई अघिपछि मोही, अदुवाखुर्सानीको नुन र मकैको रोटी जस्तो मीठो कुनै चिज लाग्दैनथ्यो । तर आज नौनी पोतिएको तातो रोटी र दुधको खाना एक गाँस पनि निल्न सकिन । आमाले खुवाउन कर गर्नुभयो । बाबाले सम्झाउनुभयो । अनि ती पाहुनाले काखमै लिएर खुवाउन प्रयत्न गर्नुभो । तर मैले एक गाँस निल्नै सकिन । ‘हिक्क’, ‘हिक्क’ हिक्का छुटिरहेको थियो आँतबाट । मलाई वास्तवमा कसैले बुझ्न नसक्ने धेरै पीडा भइरहेको थियो ।
“यल्ले नखाए, यसैलाई भोक लाग्छ, दिनभरि” भन्दै आमाले नुन र रोटी मेरो स्कूल लिने झोलामा घुसारिदिनुभयो ।
मलाई स्कूल जाने कपडा पनि ती पाहुनाले नै फेरिदिनुभयो । उहाँ पनि आफ्नो घर जान तयार हुनुभयो । अनि मलाई आफ्नो अंगालोमा च्यापेर स्कूलमा छाड्न उहाँ आँफै तम्सनुभयो ।
घरबाट केही परसम्म पुगेपछि उहाँको काखबाट बलले सुरेली खेल्दै तल झरेँ र घरतर्फ दौडिएँ । उहाँ वाल्ल परेर मेरो ढिपि अवलोकन गरिरहनु भएको थियो । मैले भने एउटा कागजमा त्यत्तिकै सिसाकलमले कारकोर पारेँ र त्यो कागज आफ्नो खल्तीमा राखेँ । आमा र ती पाहुना मेरो पछिपछि दगुर्दै मेरो कोठासम्म आउनुभयो । अनि पाहुनाले मलाई काखमा लिन खोज्नुभयो, मैले मानिन, “म आँफ्फै जान्छु,” भनी लुरुलुरु उहाँको अघिअघि लागेँ ।
स्कूल जाने बाटो र उहाँ घर जाने बाटो छुट्टिने दोबाटो आएपछि फेरि उहाँले मलाई अंगालोमा लिनुभयो र दुवै गाला तथा हातहरुमा धेरै बेरसम्म म्वाइ खाइरहनुभयो । म फेरि रोएँ । उहाँ पनि रुनुभयो । आमा समेतको आँखामा आँशु डलबलिरहेका थिए ।
“ल, राम्रो चित्र बनाइ राख है ! बाबु,” भनेर उहाँले मलाई विदाइको हात हल्लाउनुभयो । म आमाको मुठ्ठीको कसिलो बन्धनमा बाँधिएर रुँदैरुँदै स्कूलको बाटोतर्फ लागेँ । पर पुगेपछि आमाको मुठ्ठी मेरो हातबाट हठात् फुस्काइ म फर्किएँ र दौड्दै ती पाहुना गएतर्फ हानिएँ । अनि “बुनिता आन्टी, पर्खनुहोस्” भनी चिच्याएँ । उहाँ अलि पर पुगिसक्नु भएको थियो । टक्क रोकिनुभयो । मैले घरमा अन्तिम पटक कारकोर पारेर कोरेको रङबिहिन चित्र उहाँको हातमा थमाइदिएँ ।
उहाँले “आहा, कति राम्रो चित्र ! तिम्रा सुन्दर चित्रहरु फेरिफेरि हेरौँला । तिमीलाई स्कूल जान धेरै ढिला भइसक्यो बाबु, जाउ । यो चित्र तिम्रो गुरुलाई नै देखाउ ।” भनी त्यो चित्र मैलाई फर्काइदिनुभयो । मैले उपहारको रुपमा दिएको त्यो चित्र उहाँले लिइदिनु भएन । वास्तवमा त्यो कुनै चित्र नै थिएन, त्यत्तिकै कारकोर मात्र पारेको थिएँ । त्यसमा कुनै रङ पनि भरिएको थिएन । त्यसपछि म लज्जित हुँदै फर्किएँ । आमाले अझै कसिलो पन्जाले मेरो नाडी बेस्गरी समात्नुभयो र तान्दै स्कूलसम्म पुर्याउनुभयो । “अब फेरि नभागेस् नि” आमाले सम्झाउनुभयो, मैले स्वीकृतिसूचक मण्टो हल्लाएँ । आमा फर्किएको परसम्म पनि हेरिरहेँ, उहाँले पनि फर्कीफर्की मलाई चियाइरहनु भएको थियो । स्कूल पुग्दासम्म मेरो रोदनको पिडादायक हिक्का भने अझै रोकिएको थिएन । दुवै हातले आँखामा आउँदै गरेको आँशु र नाकमा बगिरहेको सिँगान पुछ्दै म सरासर अघि बढेँ र हेडसरलाई त्यो चित्र बुझाएँ । हेडसर, अरु सरहरु लगायत सबै विद्यार्थीहरुले मलाई अनौठो तरिकाले हेरिरहेका थिए ।
त्यस दिनको चित्रकला प्रतियोगितामा पनि म नै प्रथम भएँ । मलाई आश्चर्य लाग्यो ।
त्यस दिनदेखि मैले चित्र कोर्नमा भन्दा पढ्नतर्फ ध्यान दिन थालेँ । त्यसपछि ती पाहुना मेरा चित्रहरुमा नमिलेको भाग मिलाइदिन र चित्रमा उपयुक्त रङ भरिदिन कहिले पनि मेरो घरमा आउनुभएन । अब उहाँ आउन पनि आवश्यकता देखिन मैले, किनकि मैले चित्र बनाउनै छोडिसकेको थिएँ ।