पर्दा
म मेरो श्रीमानलाई अत्यन्तै प्रेम गर्दछु । उनलाई आदर र सम्मान पनि गर्दछु किनभने मेरो प्रेम पाउन लायक यो संसारमा अरु कोही छैन जस्तो लाग्छ । उनकै कारणले मेरो जीवन सरल र सहज भएको छ । उनकै साथ पाएर मैले समाजमा इज्जत पूर्वक बाँच्न सकेकी छु । मेरा बच्चाहरुलाई विभिन्न शिक्षादीक्षाका साथ हुर्काउन मलाई श्रीमानकै खाँचो छ । हामी दम्पत्तिको ढुक्कुरका भालेपोथीको जस्तो प्रेम देखेर डाह गर्ने र खिसी गर्नेहरु पनि छन् मेरो गाउँमा । श्रीमान् बिनाको जिन्दगी म कल्पना पनि गर्न सक्तिन । मैले बुझेको कुरा र मेरो समाजले बुझेको कुरा यही हो ।
बिहे हुनुपूर्व भने एकजना मेरो अर्कै केटा साथी थियो । उसले मलाई चाहन्थ्यो, मैले पनि उसलाई उत्तिकै चाहन्थेँ । सायद ऊ मेरो पहिलो प्रेमी थियो । उसलाई जहाँ देखे पनि म कुनै न कुनै निहुँ पारी त्यहाँ नपुगी छाड्दैनथेँ । ऊ पनि विभिन्न निहुँ पारी मलाई भेट्न आउँदथ्यो । उसलाई देख्ने बित्तिकै मेरो आँत सुकेर आउँथ्यो, हातखुट्टा गल्थे र आँखा त्यस्सै त्यस्सै लोलाउँथे । उसको जीउडाल पनि चिटिक्क परेको थियो । अनुहार ज्यादै सुन्दर लाग्थ्यो मलाई । पानी ल्याउन धारा जाँदा होस् कि घाँसदाउरा गर्दा वनतिर जाँदा होस्, मेलापात जाँदा होस् कि अस्पत्ताल पुग्दा होस्, उसले मलाई पछ्याइरहन्थ्यो । उसले फोटो पनि खिचिदिन्थ्यो । म फोटो भन्ने बित्तिकै हुरुक्क हुन्थेँ । म पनि यस्ता ठाउँहरुमा सकभर एक्लै भएको बखत ऊ भेटियोस् भन्ने चाहना गर्दथेँ । ऊ प्राविधिक जागिरको सिलसिलामा मेरो गाउँमा आएको थियो ।
मेरो बिहे हुने पक्का गरिएका भविष्यका लोग्नेले विदेशमा पढ्दै थिए । उनले मलाई प्रेमपत्रहरु पठाइरहन्थे । मैले यी पत्र आफूले पढ्थेँ र रोमाञ्चित हुँदै मेरो साथीलाई देखाउथेँ । उसले हल्का पढ्थ्यो र मलाई भन्थ्यो- “नानीको बिहे त पढेलेखेका केटासँग हुँदैछ, राम्रो कुरा हो, तर पढिरहेको केटा हो विदेशमै बिहे हुन पनि सक्छ ।” तर यो कुरा म विश्वास गर्दैनथेँ किनकि मेरो हुनेवाला लोग्नेले मलाई विश्वास दिलाइरहेका थिए ।
मलाई कस्तो लाग्थ्यो भने मेरो साथीसंगको सम्बन्ध पनि उनलाई बताइदिउँ । तर मेरो आमाबा र दाइहरुले मलाई बेलाबखत सतर्क गराउनुहुन्थ्यो, “नानी, तेरो अर्कै केटासंग बिहे हुने पक्का भइसकेको छ । तर तैँले यहाँ आएको जागिरे केटासँग लहसिन थालेको बुझेका छौँ । यो कुरा कसैले उसलाई पुर्याइदियो भने उसले आपत्ति प्रकट गर्नसक्छ । तेरो बिहे उसंग नहुन सक्छ । आफै ख्याल गरेस् है ।” यस चेतावनीबाट मैले लख काट्थेँ कि साथीसंगको हेलमेल सम्भावित लोग्नेलाई बताउन हुँदोरहेनछ । तसर्थ मैले पठाउने प्रेमपत्रमा यी कुरा उल्लेख गर्न हिचकिचाउँथेँ म । तर मेरो साथीसंगको उठबसमा भने कुनै फरक आउन सकेन ।
विदामा मेरो सम्भावित लोग्ने घरमा आए । उनलाई हेर्न आतुर थिएँ म र एकदिन टाढैबाट हेरेँ । प्रेमपत्र पढ्दा कल्पना गरेजस्तो केटा थिएनन् उनी । अति साधारण । न सोचे जस्तो रुप, न नरम बोली । मेरो साथी र उनीमा आकाश जमिनको फरक थियो ।
म उनी गाउँमा आएको बखत पनि मेरो साथीलाई पछ्याउन छोडिन । धेरैपटक म र मेरो साथी संगै उठबस गरेको र हाँसखेल गरेको उनले टुलुटुलु हेरेको देखेँ ।
एकदिन बिहानै मलाई एकान्त धारामा भेट्न आए उनी । उनले मलाई केही भन्न चाहे तर भन्न नसके जस्तो लाग्यो । मैले पनि भन्न चाहेको कुरा उनलाई प्रकट गर्न सकिन । उनले यति भने “नानी मेरो पढाइ सकिएको छैन । अझै एक वर्ष लाग्छ, त्यति समयसम्म बिहेको लागि पर्खन सक्छ्यौ ?” मैले लाजले मण्टो हल्लाएर पर्खन सक्ने कुरा बताइदिएँ । “उसोभए गलत व्यक्तिसंगको सम्पर्क नगर्नू ।” मैले “हस्” भनेँ । मेरो साथीलाई नै गलत भनेको हो कि भनी म सशंकित भएँ । “तिमीले जसलाई भेट्ने गर्छ्यो, त्यस्तो काम नगर्नू, त्यो गलत मान्छे हो ।” अब मैले कुरा बुझेँ ।
मलाई सहीनसक्नु भयो । म केही नभनी मेरो घरमा आएँ र ढोका थुनी रुन थालेँ । उनी छिट्टै पढ्न फर्किए हुन्थ्यो जस्तो लाग्यो मलाई ।
दिउँसो उनको आमा मेरो घरमा आई मेरी आमासंग केही कुरा गर्नुभयो । बेलुका उनका बाबुसहित चारपाँच जना मान्छेहरु मेरो घरमा आए । भाउजुहरुले मलाई यी मान्छेहरु मेरै बिहेको लागि कुरा छिन्न आएको कुरा बताइदिनुभयो । म छाँगोबाट खसेजस्तै भएँ । अनि आमालाई बिन्ति गरेँ “आमा, मेरो बिहे गर्ने बेलै भएको छैन । म यति छिट्टै बिहे गर्दैन ।” आमाले धेरै सम्झाउनुभयो । बुबा, दाइहरुले पनि धेरै सम्झाउनुभयो । “यस्तो मान्छे फेरि पाउन सकिँदैन” भन्ने उहाँको जिकिर थियो । “आफू राम्रो भए हज्जारौँ राम्रा मान्छे आउलान् । फेरि बिहे नै गर्नुपर्छ भन्ने के छ र ? भनी मैले पनि जिद्धि गरिरहेँ । मलाई यस बखत त्यही साथीको सहारा चाहिएको थियो । तर ऊ त्यसबेला आउन सकेन । मैले नमान्दा आमा समेत रुन थाल्नुभयो । अनि मैले “हुन्छ” भन्ने करै लाग्यो । मेरो बिहे पाँच दिनभित्रै हुने पक्का भयो । भोलिपल्ट बिहानै मेरो साथी आयो र मेरा आमाबालाई छोरीको इच्छाविरुद्ध निर्णय नगरेको भए पनि हुन्थ्यो भनी गुनासो गर्यो ।
यो घटनाको पाँचौँ दिनमा मेरो बिहे भयो ।
सुहाग रातमा मैले मेरो पुरानो साथीसंग नियमित भेट गर्न पाउनुपर्ने प्रस्ताव राखेँ । यो प्रस्तावले उनको मुखाकृति धेरै बिग्रिएको पाएँ । उनले झोक्किँदै भने- “उसोभए, म पनि मेरी केटी साथी खोज्न जाउँ ?” मैले जवाफ दिएँ- ” मलाई केही फरक पर्दैन । तपाईँले आफ्नो इच्छा लागेको गर्नुस्, मलाई मेरो इच्छा लागेको गर्न दिनुस् ।” मेरो नयाँ दुलाहाले कड्केर हप्काए – “मलाई फरक पर्छ । मेरो इज्जत जान्छ । तिमीले यसै गर्यौ भने मलाई गाउँमा नामर्द भन्नेछन् भने तिमीलाई बेस्से भन्नेछन् । यो कुरा समाजलाई पच्दैन भन्ने समेत नजान्ने कस्ती केटी ल्याएछु” भन्दै उनी पो सुँक्क सुँक्क रुन थाले । म अवाक् भएँ । एकातिर कुनै लोग्नेमान्छेले पहिलोपल्ट हप्काएकोले मेरा कनपारा पनि तातिएका थिए अर्कोतिर सुहागरातकै दिनमा हाम्रो झगडा परेको थियो र एक मर्द मान्छेलाई मैले रुवाइदिएकी थिएँ ।
यस घटनाले एकातिर हाम्रो सम्बन्ध चिसिन थाल्यो । यस परिस्थितिको मारवश् मैले लोग्नेलाई के के कुरा गर्दा चित्त दुख्दैन भन्ने कुरा हेक्का राख्न थालेँ । फेरि पुरानो साथीसंग भेटघाट गरेको पत्तो पाए डिभोर्स गरिदिने चेतावनी दिँदै उनी दुईचार दिनपछि पढाइको सिलसिलामा विदेश हिँडे । मेरो गर्भ समेत रहिसकेकोले मैले लोग्नेको महत्व जबर्जस्त बुझ्नुपर्ने भयो । डिभोर्स हुँदा हुनसक्ने खतरा र सामाजिक अपहेलना बारे बुझ्दै गएँ र यस डरका कारण मैले लुकीछिपी साथीलाई भेट्नुपर्ने बाध्यता भयो ।
अध्ययन सकेपछि उनी विदेशबाट फर्केर आए । उनको लागि मेरो चरित्रको सम्बन्धमा धेरै अग्नीपरीक्षा उत्तीर्ण गर्नुपर्ने भयो मैले । आफ्नो परिवार, गाउँले र साथीभाइहरुसंग मेरो चरित्रबारे सोधपुछ गरे । रातको बखत एक्लै आफ्नै साथीको कोठामा छोडे र गुप्त रुपमा मेरो क्रियाकलाप अध्ययन गरे । विभिन्न मेलापातमा मेरो पिछा एवम् चियो गरे । यतिसम्म कि उनले आफ्नै छोराको डिएनए परीक्षण गर्न बाँकी राखेनन् । मैले कम परेशानी बेहोर्नुपरेन । यी सबै परीक्षा मैले उत्तीर्ण गरेर देखाइदिएँ । उनका सबै शंका गलत सावित भए ।
उनका पनि केटी साथीहरु हुन सक्छन् । उनले पनि धेरै कुरा मलाई बताएका छैनन् । तर मैले उनको अग्नीपरीक्षा लिनुपर्ने आवश्यकता उनले देखेनन् र मैले पनि आवश्यकता देखिन । किनकि लोग्नेप्रति मेरो पूर्ण विश्वास छ । मैले पूर्ण विश्वास गरेकै कारण पनि उनले विश्वासघात गर्न सक्तैनन् ।
आजकाल उनले मलाई पूर्ण रुपमा विश्वास गर्दछन् । मेरा केटा साथीहरुसंग मैले उठबस गरेको विषयमा उनी कुनै शंका गर्दैनन् । मैले उनको विश्वास जितिसकेकी छु । उनले मप्रति जति विश्वास गर्दछन्, त्यति उनीप्रति श्रद्धा बढदैजान्छ, प्रेम बढ्दै जान्छ ।
तर केही कुरा अझै अनुत्तरित छन् । मलाई मेरो पुरानो साथी देख्दा अझै आँत सुकेर आउँछ तर मेरो लोग्नेलाई देख्दा त्यस्तो केही अनुभव हुँदैन । मेरो पुरानो साथीको स्पर्श जति न्यानो लाग्छ त्यति मेरो लोग्नेको स्पर्शमा हुँदैन । यी लगायत बिहे पूर्वका कुराहरु । हामी लोग्नेस्वास्नीबीच यी कुरा आउने बित्तिकै हामीबीचको सम्बन्ध फेरि चिसिन थाल्दछ । उनी मलाई बिन्ति गर्दै भन्छन् – “कृपया, पुराना कुरा पर्दा पछाडि नै राख । यसको विश्वास गर्नुपर्ने कुनै आधारहरु पर्याप्त छैनन् । मलाई नसम्झाइदेउ यी कुराहरु । म पागल हुन सक्छु ।”
सामाजिक जीवन अर्थपूर्ण रुपमा व्यतित गर्न केही हदसम्म पर्दा पनि आवश्यक पर्दोरहेछ । यस्तो पर्दा, जुन केही सिमित नातेदारहरुको बीचमा निश्चित समयमा केही निश्चित् कुरा ओझेलमा राख्नको लागि प्रयोग होस्, जस्तो कि, हामी निश्चित अङ्ग ढाक्न कपडा लगाउने गर्दछौँ । निश्चित समयमा कसैको लागि ती अङ्ग सबैको लागि खुल्ला हुन्छन् त अर्को समयमा ती नै गोप्य हुन पुग्दछन् । केही कुरा यस्ता छन्, लोग्नेलाई बाहेक अरु कसैलाई भन्न मिल्दैन । केही कुरा लोग्नेलाई भन्न मिल्दैन तर आमाबा, दाजुभाइ वा पुरानो साथीलाई भन्न मिल्दछ । यो पर्दाको सिद्धान्त जानिएन भने समाजमा कलहको बीजारोपण हुन पुग्दछ । हाम्रो भविष्यमा पनि पर्दा लागेको छ, एकछिन पछिको कुरा अनुमान मात्र गर्न सकिन्छ, यसै हुन्छ भन्न सकिँदैन । समय बगिरहन्छ, यो बहावसंगै भविष्यको पर्दा उठ्दैजान्छ साथसाथै भूतमा पर्दा लाग्दै जान्छ । अन्तमा जीवनको रङ्गमञ्चमा नै पर्दा लाग्दछ र हामी संसार त्यागेर विलय हुन पुग्दछौँ । तत्पश्चात् भूत, वर्तमान र भविष्य तीनवटै कालमा कि त पूर्ण रुपमा पर्दा लाग्दो हो कि त पूर्ण रुपमा पर्दा हट्दो हो ।
म भने त्यो समयको पर्दा च्यातेर देखाइदिन चाहन्छु, छर्लङ्ग । उनले बुझुन् कि मेरो पुरानो साथी र म बीच एक अबोध र विशुद्ध आत्मीय सम्बन्ध बाहेक अरु केही सम्बन्ध थिएन भविष्यमा पनि केही हुनेछैन भनेर । तर, कठै ! बितिसकेको ‘समयको पर्दा’ च्यात्न सक्नु कसैको वशमा हुँदो रहेनछ ।