विविध

पत्नीलाई खुला पत्र

प्यारी सहचरी

लाखलाख सम्झना ।

 

तिमीहरुको हरक्षणको कामनाले गर्दा मैले दुर्गम संसारको हरेक नयाँ बिहानी देख्न पाउने अद्यापि अहोभाग्य प्राप्त गरिरहेको छु । तिमीहरु सपरिवारले पनि सुलभ संसारको हरेक नयाँ दिन संगसंगै देख्ने अहोभाग्य प्राप्त भइरहोस् यही कामना गर्दछु ।

तिमीलाई थाहै छ मैले तिमीलाई सहचरी भनी सम्बोधन गरे तापनि आधा जीवन बिताउँदासम्म तिमीसंगको सहचार्य बिरलै रह्यो । मैले चाहेर पनि म तिम्रो सम्झना आउने बित्तिकै “लाटी” भनेर मायाँले तिम्रो गाला चिमोट्न सक्तिन । तिम्रो दुखाइमा कपाल सुमसुम्याएर तिम्रा आँशु पुछ्न तत्क्षणै उपस्थित हुन सक्तिन । तिम्रो खुशीमा उफ्रिँदै तिमीलाई लखेट्न सक्तिन । मेरो प्राणभन्दा पृय छोराछोरीहरुलाई तिमीले जस्तै हातमा लिएर खेलाईरहन पाऊँ भन्ने मलाई पनि लाग्दछ । तर तिमीहरुकै लागि नै दुईछाकको जोहो गर्न म बाध्यतावश् दुर्गम ठाउँमा जागिरे जीवन बिताइरहेको छु । एकबार प्राप्त गरेको जुनीमा एक्लाएक्लै निरसिला जीवनका क्षणहरु धकेल्न मलाई पनि कम्ती धौधौ परेको छैन । एकातिर प्लेन नहुनु, सडक सुविधा नाम मात्रको हुनु, बारम्बार टेलिकमको नेटवर्क नहुने, बत्ती नहुने लगायतका सञ्चार क्षेत्रका समस्याहरुले गर्दा चाहेको बेला मैले तिमीहरुसंग आफ्नो दुःखसुख बाँड्न सकिरहेको छैन भने अर्कोतर्फ दुर्गममा बस्दाका आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक समस्याहरुलाई मैले एकसाथ सामना गर्नुपर्ने अवस्था छ । यी व्यावहारिक समस्याका बाबजूद पनि राज्यले तोकेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने सर्वाधिक महत्वपूर्ण दायित्व पनि छ । सायद मेरो स्थायी घर यतै हुन्थ्यो त मलाई यस्ता समस्याहरु सामान्य लाग्थे होलान् । बाटो अप्ठ्यारो सप्ठ्यारो कस्तो छ भन्ने कुरा सपांगभन्दा अपांगलाई बढी अनुभूत हुन्छ, पृय । पारिवारिक सामिप्यताको अभावले गर्दा मैले साँच्चिकै भन्नुपर्दा अपांगकै सरह जीवन व्यतित गरिरहनुपरेको छ ।

मैले आफ्ना सम्भाव्य खुशी घटाएर तिमीहरुको खुशी बढाउने प्रयत्न गरिरहेको छु । सायद मैले तिमीहरुको विषयमा सोच्दैनथेँ भने मलाई मेरो मात्र खुशीको लागि मेरो तलब पर्याप्त हुने थियो होला । यो देशमा अनैतिक कार्यहरु गरेर रातारात अकुत सम्पति कमाउने व्यक्तिलाई तिमीले नजिकैबाट देखेकी हौली । त्यस्तो निच कार्य गर्न दुर्गममा आइरहनु पर्दैन र त्यस्तो कार्य गर्न हिम्मत गर्न नसकेकै कारणले हामीजस्ता निरिह कर्मचारीहरुले दुर्गमतिर फन्को मारिरहनुपर्ने बाध्यता छ भन्ने तिमीले नबुझेकी हौली भन्ने मलाई लाग्दैन ।

हो म हप्तैभरि कार्यालयको कामले परेशान हुने गर्दछु । दिनभरिको आवश्यक वा अनावश्यक तनावका कारणले धेरैजसो रातभर पनि निद्रा हराम हुने गर्दछ । जसले स्वास्थमा गम्भीर असर पर्दै गएको हुनसक्तछ । तिमीलाई कर्मचारीहरुको सरदर आयुको बारेमा पनि थाहा हुनुपर्ने हो । हामी जागिरी खाने नाममा आफ्नो आयुलाई क्षयीकरण गर्न यहाँ उपस्थित छौँ पृय । यी कुराहरुलाई नजरअन्दाज गर्दिनौ भने तिमीले पनि बुझ्नुपर्ने हो कि म यस अवस्थामा तिमीहरुकै पीरैपीरले दिनहुँ जलिरहनू मनासिब कि हप्तामा एकदिन भए पनि मनोरञ्जनले पीरलाई क्षणिक हल्का पार्नु मनासिब । क्षणिक तनावबाट मुक्ति पाउन मैले तिम्रो कुनै पनि आवश्यकतालाई असर पार्ने गरी गर्दिन । मैले दैनिक आफ्नै गाँस कटाएर नै मित्रहरुसंग भेटघाट भ्रमण तथा अन्य मनोरञ्जनका कार्य गरेको हुन्छु ।

भन त पृय, यस अवस्थामा तिमीलाई के लाग्छ ? म हरेक दिन कार्यालयको काममा निन्याउरो अनुहार लगाएर काम गरुँ ? हरेक दिन एक्लै खाटमा झोक्राएर बसूँ ? रातदिन तिमीहरुलाई मात्र सम्झेर रोइरहूँ ? यस्तै गर्दा तिम्रो चित्त बुझ्छ ?

म यी कुरा किन लेखिरहेको छु भने एक दिन साथीहरुसंग बसेर जायज रमाइलो गर्दा तिम्रो चित्त दुखेछ र ठुस्किन पुगिछौ । एकदिन अफिसको मोटरसाइकल आधा किलोमिटर पर लग्दा तिमीले ठानिछौ कि एक लिटर इन्धन बढी लागेकोले सय रुपैंया पाउन कम भयो । आधा किमि दुरीमा ५० एमएल इन्धन अर्थात ६ रुपैंया बढी खर्च लाग्यो होला । तिमीले जानकारी मागेको भए मैले तिमीबाट गल्ती स्वीकार गर्दै त्यसको लागि पनि क्षमा माग्न सक्तथेँ । तर तिमी ठुस्किनै पर्ने गरी यस कार्यबाट म तिम्रो नजरमा अनैतिक ठहरिएँ । हेर त मेरै दौँतरीहरुको सुविधा सम्पन्न क्षेत्रमा कत्तिको सान छ ! कति छाति फुलाएर हिँडिरहेका छन् उनीहरु ! मैले हरेक दिन खाली खुट्टा पाँच किलोमिटर पैदल हिँडिरहेको पनि सुनेकी हौली । केही भ्रमणहरुमा मोटरबाटो हुँदाहुँदै पैदल हिँडेको खबर तिमीलाई किन पुग्दैन ? कार्यालयको लागि मैलै गरेको राम्रो कामको खबर किन तिम्रो कानसम्म आइपुग्दैन ? गलत गर्नेले सजाय पाउनै पर्छ, तर त्यो सर्वथा गलत हो कि होइन, त्यो पनि विश्लेषण हुन आवश्यक पर्ला ।

यसको कारणले तिमीले मलाई बदमाश नै ठान्यौ भने पनि त्यो कुरा तिमीलाई बुझाएर म पछि सज्जन कहलिउँला । तर यही कुरा साथीहरुको कानसम्म पुग्यो भने उनीहरुको चित्तमा लागेको ठेसको घाउ सितिमिति नपुरिन सक्छ । दुर्गममा आएर अनेक वातावरणीय समस्याका बाबजूद काम गर्ने कसैलाई रहर छैन । रहर नै हुन्थ्यो भने अरु चौरहत्तर जिल्ला बाँकि नै थिए । बाँकि जिल्लाका पनि थुप्रै आकर्षक कार्यालयहरु थिए, उनीहरु अनैतिक कार्य गर्नको लागि यहीँ नै मरिहत्ते गरेर आइराख्नुपर्ने थिएन । उनीहरु हाम्रा पाहुना सरह हुन् । उनीहरुलाई हामीले मान दिन सक्यौँ भने मात्र सुशासनमा पनि गुणस्तरीयता बढ्छ । यसको अर्थ अरुले गरेको अनैतिक कार्यलाई समर्थन गर्नुपर्छ भन्न खोजेको होइन । कसैले आफ्नो कर्तव्य पालना गरेन वा कसैले बजेटको दुरुपयोग गर्यो भने त्यसको खोजी हुनु स्वागतयोग्य कुरा हो । तर कसले के खायो ? को कसका साथ लाग्यो ? को मोटर चढ्यो, को खाली खुट्टा हिँड्यो भन्ने कुराको आधारमा ठुस्किँदै हिड्ने हो भने तिम्रो मप्रतिको प्रेम नै कच्चा रहेछ भन्ने मूल्यांकन गर्नेछु ।

तिमीलाई के के कुरामा चित्त बुझ्दैन भन्ने कुरामा म आफै सक्दो सतर्क भैरहेको छु र भैरहनेछु । यस्ता चित्त नबुझ्ने कुरा केही छन् भने मलाई फोन गरेर फेहरिस्त टिपाऊ । तिमीलाई यही कुरामा पनि चित्त बुझेको छैन भने म रमाइलो गर्न छोडिदिउँला अरु साथीसंग साथ लाग्न पनि छाडिदिउँला जबकि फेरि यस्तै झिनामसिना कुराहरुले हाम्रो प्रेममा फाटो ल्याउने काम नगरुन् । यो कुरा पनि बुझिराख कि यस्तै झिनामसिना कुरामा चित्त दुखाउँदै हिँडेको थाहा पाएमा तिम्रा माइतीहरुले नै हाम्रै छोरी कच्चा-बच्चा भन्न बेर लाउने छैनन् ।

भो यिनी कुराहरुलाई यतै टुङ्ग्याइदिऊँ किनकि कुरा जति तन्कायो उति तन्किने हो । बरु भन आजभोलि तिमी के गर्दैछ्यौ ? तिमीले पनि मेरो चित्त नबुझ्ने काम अवश्य गरेकी छैनौ भन्ने मलाई विश्वास छ ? तिम्रा छुनामुनाहरु के गर्दैछन् ? तिमीले प्राप्त गरेको आधा पारिश्रमिकले जहानबच्चाको बढ्दो आवश्यकता पूरा गर्न कत्तिको धौधौ परेको छ ? तिमीले पनि मेरो सम्झना आउँदा केटाकेटीको आँखा धेरैपटक छलेर आँश पुछ्नुपरेको होला ! तिमीले आफूले भोगिरहेका दैनन्दिनका विविध तनाव कम गर्न माइततिर हिँडूँ या कतै सखीसंगिनीसंग बसेर भूलूँ भन्ने लाग्छ कि लाग्दैन ?

म विवश छु पृय । यही कुरालाई सँधै मनन गरिराख । म कुनै हालतमा पनि अनैतिक काम गर्नेछैन भन्ने कुरामा ढुक्क होऊ ।

अन्तमा पुनः पत्रको माध्यमबाट भेट्ने बाचासाथ विदा चाहन्छु ।

 

तिमीलाई प्राणभन्दा प्यारो गर्ने

तिम्रै पति

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *