मनोरञ्जन

नारदको अभिमान

नारद विष्णुका परमभक्त हुन् । नारदलाई यस कुराले अभिमानी तुल्याइरहेको थियो । उनले सोचे कि ‘विष्णु भगवानले पनि आफू नै विष्णुको ठूलो भक्त भएको अनुभूत गरेका छन् होला कि छैनन् होला ?’ उनले यो कुरा जाँच्न तुरुन्त बैकुण्ठ लोक पुगिहाले र विष्णु भगवानलाई सोधिहालेः “भगवान हजुरको भक्त म जत्तिको अरु कोही छ कि छैन ?”

विष्णु भगवानले प्रतिप्रश्न गरेः “कसरी नै तिमी नै मेरा सबभन्दा ठूलो भक्त भयौ र ?”

नारदले भने, “म हरदम हजुरको नाम पुकारिरहन्छु । मैले जत्ति अरु कुनै भक्तले पनि हजुरको नाम पुकार्दैनन् । यसको परीक्षण गरौँ हजुर, जाऊँ देवलोक, मर्त्यलोक जता पनि ।”

“उसोभए जाऊँ त मर्त्य लोकमै”, विष्णुले सही थापे ।

अनि दुवैजना मर्त्यलोकतिर पुगे र भेष बदलेर एक किसानको घरभित्र छिरे ।

त्यस किसानले हातमुख धुँदा, खाना पकाउँदा, कामबाट विश्राम लिँदा, बेलुका बिछ्यौनामा जाँदा, बिहानै उठ्दा गरेर जम्मा ६ पटक मात्र नारायणको नाम लियो ।

नारदले खुशीले गदगद हुँदै भने, “देख्नुभो भगवान ? त्यसले ६ पटक मात्र हजुरको नाम लियो । म दिनभरिमा ६००० पटक हजुरको नाम लिन्छु । यही नै म हजुरको सबैभन्दा ठूलो भक्त हुँ भन्ने प्रमाण हो ।”

उत्तिखेरै विष्णु भगवानले आफ्नो ठूलो मूर्ति तयार गरिदिए र एक कचौरा तेल नारदको हातमा थमाइदिँदै भने, “ल, तिमीले एक थोपा तेल पनि कतै नचुहाएर यस मूर्तिलाई पूरै तेल घसाइदेऊ । तेल बचाउन पनि पाइँदैन र मूर्तिलाई कुनै ठाउँ बढी चिल्लो र कुनै ठाउँ कम चिल्लो पनि गर्न पाइनेछैन ।”

नारदले तनमनको साथ त्यो विशाल मूर्तिलाई तेल घस्न थाले । एकथोपा पनि तेल चुहाउन नपाइने तेल बचाउन पनि नपाइने र अपुग पनि गराउन नपाइने विष्णु-आज्ञाको कारण उनले निकै सतर्कता अपनाए र करिब आधा दिनमा त्यस मूर्तिलाई तेल घसाइसके ।

विष्णुले नारदलाई सोधे, “यस मूर्तिलाई तेल घसाउन्जेल तिमीले कति पटक मेरो नाम लियौ ?”

नारदले एक पटक पनि नाम लिएका थिएनन् । उनी नाजवाफ भए ।

विष्णु भगवानले थपेः “मेरो नाम लिएर वा मेरो वरिपरि घुमेर मात्र मेरो सच्चा भक्त भइँदैन । एउटा किसानले आफ्नो परिश्रममा व्यस्त हुँदाहुँदै पनि ६ पटक नाम लियो, तर तिमीले काममा व्यस्त हुँदा एकपटक नाम लिन सकेनौ । मेरो नामै नलिए पनि जो परिश्रममा व्यस्त छन् ती सबै मेरा सच्चा भक्तहरु हुन्, बुझ्यौ ?”

यस परीक्षणबाट नारद लज्जित भए ।  त्यस दिनबाट नारदले विष्णुको सबभन्दा ठूलो भक्त आफै हुँ भन्ने अहम त्यागिदिए ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *