नबुझ्ने केटी

उपत्यकाका केही स्कूलहरुमा छोटाछोटा जागिरबाट अघाइसकेपछि मैले महाराजगञ्जस्थित ग्रीन रोज स्कूलमा जागिर भेट्टाएको थिएँ । त्यो प्राइमरी स्कूल थियो । विद्यार्थीहरु र विद्यालय परिवारलाई रिझाएर यस जागिरलाई अलिकति लम्ब्याउने कुरामा म अलि सचेत भएको थिएँ । फलस्वरुप स्कूलमा निर्धारित समय अगावै पुग्ने, शिक्षक तथा प्रिन्सिपललाई सक्दो आदरभाव प्रकट गर्ने, स्टाफमिटिङमा गहकिला सुझाव प्रस्तुत गर्ने, अनुशासनको दायरामा रहने, विद्यार्थीहरुलाई फलामे अनुशासनको चौघेराभित्र राख्ने, घण्टीको जनाउसँगै कक्षाकोठा पस्ने र निस्कने, विद्यार्थीहरुको मनोभाव र लेसनप्लानअनुसार अध्यापन गर्ने, होमवर्क दिने र विद्यार्थीले बुझाएनबुझाएको निरीक्षण गर्ने, घरमा विद्यार्थीको होमवर्क जाँच्ने, नबुझाउने विद्यार्थीको अभिभावकलाई चिठ्ठी लेखेर सोको जानकारी तुरुन्त दिने, आदि, मेरो दिनचर्या बनेको थियो ।

त्यस स्कूलका हरेक कोठामा चौबीसजना जति विद्यार्थी अट्ने गरी बेन्चडेस्क टम्म मिलाएर राखिएका थिए । भुइँ सफासुग्घर राखिएको थियो । भित्तामा विद्यार्थीहरुले प्रतियोगिताको लागि कोरेका मध्ये उत्कृष्ट चित्रहरु टाँगिएका थिए । चित्रहरुका बिचबिचमा विद्यार्थीहरुले के गर्ने, के नगर्ने जस्ता आचारसंहिताका बुँदाहरु पनि टाँसिएका थिए । सबै बेन्च विद्यार्थीले भरिभराउ थिए ।

विद्यार्थीहरु भर्ना हुन अझै आइरहेका थिए, कक्षाकोठा अपुग भएकोले अर्को घर भाडामा लिने प्रक्रिया अघि बढाइएको थियो । यसबाट पनि त्यस विद्यालयप्रति अभिभावकहरुको आकर्षण रहेको बुझ्न सकिन्थ्यो । त्यो आकर्षणलाई कायमै राख्ने चुनौती प्रिन्सिपलमा थियो र प्रिन्सिपलले चुनौती र जोखिमको भारी हामीजस्ता ज्यालादारी शिक्षकमा थुपार्ने हरदम कोशिस गरिरहन्थे ।

मैले सबै कक्षाको कम्तीमा एक पिरियड लिनुपर्थ्यो । पाँचकक्षामा भने गणित र जनसंख्या गरी दुईवटा विषय पढाउने जिम्मा दिइएको थियो । यस कक्षामा दशवर्षदेखि सोह्रसत्र वर्षसम्मका विभिन्न रुपरङका केटाकेटीहरु थिए । सामान्यतया अघिल्लो बेन्चमा होचा विद्यार्थीहरु र पछिल्लो बेन्चमा अग्ला विद्यार्थीहरुलाई बसालिने व्यवस्था भए तापनि होचाहोचा र अग्लाअग्लाबीच पनि बसाइको रोटेशन हुन्थ्यो ।

प्रत्येक कक्षा समाप्तीपछि शिक्षकले, ‘आजको पाठ बुझ्यौ त ?’ भनी प्रश्न राख्नुपर्ने नियमजस्तो थियो । प्रश्न राखिसकेपछि विद्यार्थीहरु एउटै स्वरले “बुऽऽझ्यौँऽऽ  सऽऽ रऽऽऽ !” भनेर प्रतिक्रिया दिन्थे । त्यो स्वरमा साना-ठूला, केटा-केटी, मसिनो-खस्रो सबै स्वरहरुको सम्मिश्रण हुन्थ्यो । तिनीहरुको सुमधुर प्रतिक्रिया यति कर्णपृय लाग्थ्यो कि कक्षाकोठामा रहँदाको तनाव स्वात्तै घटेर शून्यमा आइपुग्थ्यो, मनोबल माथि उक्लन बल गर्थ्यो, आफूले जानअनजान गरेका गल्तीहरुबाट सहजै उन्मुक्ति जस्तो मिल्थ्यो, स्कूलमा जान आउन ऊर्जा समेत थपिदिन्थ्यो ।

तर पाँचौ कक्षाको कारणले म यस्ता निशुल्क सुविधाहरुबाट वञ्चित भइरहेको थिएँ । पाँचौ कक्षा नभनौँ त्यस कक्षाकी एक मात्र छात्राको कारणले । बुझेनबुझेको मेरो सोधाईपछि बाँकी विद्यार्थीहरुले बुझेको प्रतिक्रिया दिन्थे । जब म त्यो प्रतिक्रियाले आनन्दविभोर हुँदै कक्षाबाट पाइला उचाल्न थाल्थेँ पछिल्लो बेन्चमा बस्ने चौबीसौँ क्रमकी केटीले मेरो पाइला स्थिर गराउँदै भन्थीः “एकछिन पख्नुस् सर !” जब मैले उसलाई फरक्क फर्केर हेर्थेँ, उसले थप्थीः “मैले त केही बुझिनँ ।” अनि अरु विद्यार्थीहरुको दबेको हाँसो र मसिनो गुनगुनाहटले कोठा भरिन्थ्यो ।

छातीभरि उम्लिएको आनन्दानुभूति उसको प्रतिक्रियाले सेलाएर चिसो भैदिन्थ्यो, उचालिसकेका पाइलाहरु चाल्न दोधारमा पर्थे, गर्विलो छाती पोल्थ्यो । उसलाई बुझाउनको लागि अर्को घण्टी खाइदिने कुरा पनि हुँदैनथ्यो “उसोभए, अर्को घण्टीमा बुझाउँला ।” भन्दै मैले मुक्तिको बाटो पहिल्याउँथेँ ।

अर्को कक्षा हुन्थ्यो जनसङ्ख्याको । जनसङ्ख्या पढाउँदा गणितको समस्या सिकाउनु पनि भएन । पाठको लाइन-लाइनको अर्थ लगाउँदै आफ्नो घण्टीभर प्रश्नोत्तर शैलीमा पढाउँथे । कक्षा सकिएर होमवर्क दिइसकेपछि सोध्नैपर्थ्यो “बुझ्यौ त ?”

तुरुन्तै विद्यार्थीहरुको एकमुष्ठ कर्णपृय स्वर गुन्जिन्थ्योः “बुझ्यौँ सर ।” त्यसपछि उसले प्रतिक्रिया दिन्थी, “मैले त कत्ती बुझिनँ सर ।”

जनसङ्ख्या विषयको पाठका कुराहरु नबुझ्ने भन्ने सवालै हुँदैनथ्यो । सबैभन्दा कमजोर विद्यार्थीले समेत बुझ्ने भनेकै जनसङ्ख्या विषय थियो । शतप्रतिशत विद्यार्थीले पास गर्ने सबैको लागि सजिलो विषय । सबैभन्दा सजिलो विषय । तर उसले जनसङ्ख्याको पाठ पढाइपछि पनि भन्ने गर्दथीः “बुझिनँ, सर !”

०००

जागिरको शुरुको दिनमा नै आठवटै पिरियडमा पाँचवटै कक्षाहरुमा पसेको थिएँ । शुरुको दिन भएकोले विद्यार्थीहरुसँग परिचय साटासाट मात्र भयो । यस पहिलेका शिक्षकहरुको बारेमा पनि केही कुरा भए । कसरी पढाए बुझ्न सजिलो हुन्छ ? भन्ने विषयमा पनि छलफल भयो । अघिल्लो कक्षामा प्रथम, दोस्रो हुने विद्यार्थीहरुको पनि अनुहार निज्याएर हेरियो ।

शुरुकै दिनमा त्यस स्कूलका विद्यार्थीहरुसँगको परिचयको क्रममा आधाजति विद्यार्थीको नाम सुनेको हुँदो हुँ । बेलुका घर फर्किँदा तिनीहरुको नाम सम्झन प्रयत्न गरेँ । एकदर्जनभन्दा बढी नाम सम्झनै सकिनँ । केही नामहरु राम, श्याम, गीता, सीता आदिजस्ता औसत नामहरु थिए, सम्झिन पुगेका केही नौला नाम पनि थिए, ती नौला नामहरुमध्ये एउटा नाम थियोः ‘सगुना’ । शुरुको दिनमा आफैलाई प्रश्न गरेको थिएँ कि सगुना नाम नै मैले किन सम्झिन पुगेँ ?, मनले चित्तबुझ्दो जवाफ दिन सकेको थिएन ।

भोलिपल्ट । पहिलो पिरियड चारकक्षामा लिनु थियो । विद्यार्थीको हाजिरी लगाउँदा सगुना नाम आएन । नयाँ जोशजाँगरसँग अरु कक्षा पनि लिँदै गएँ । मलाई जान्नु थियो सगुना भनेर कुन विद्यार्थीले परिचय देला ? मैले परिचय लिन चुक्दैनथेँ, कक्षामा सबैभन्दा बढी जानीटोपल्नेले प्रश्न राखेपछि, कसैले ध्यान नदिँदा, कोही पढाउँदापढाउँदै झुङ्यो भने, अप्रासङ्गिक क्रियाकलाप देखायो भने, आफूले पढाएको बुझनबुझेको स्याम्प्लिङ गर्दा सोधिहाल्थेँ “तिम्रो नाम केरे ?” भनी । उसले आफ्नो परिचय दिन्थ्यो । यसरी भोलिपल्ट प्रसङ्गवश् दोहोर्‍याएर लिइएको परिचयबाट अरु धेरै नाम सम्झन सक्ने भएँ । तर सातवटै पिरियड लिँदा पनि कसैले पनि आफ्नो नाम सगुना भनेर परिचय दिएन । मलाई त लाग्यो कि मैले सुनेकै नाम गल्ती थियो ।

आठौँ तथा अन्तिम पिरियडमा पाँचौँ कक्षामा जनसङ्ख्या विषय पढाउन पसेको थिएँ । बिहानैदेखि उम्लिएको जोशजाँगर बेलुकी सातसात पिरियड पढाउँदासम्म उपयोगिताको ह्रास नियमलाई समातेर घटिरहेको थियो । त्यस्तो अवस्था विद्यार्थीहरुलाई भरिसक्य नदेखाउन कथा, चुड्किला, खेल आदिको भर नपरी सुख्खै थिएन । केही आफूले जानेको सुनाएँ । केही विद्यार्थीलाई सुनाउन लगाएँ । जसले गर्दा विद्यार्थीहरुको सुन्ने जाँगरमा पनि ऊर्जा भरिन्थ्यो र भोको अनुहार उज्यालिइरहेको हुन्थ्यो ।

घडी हेरेँ अब केही सेकेन्डमै बेलुकी छुट्टीको लामो घण्टी बज्ने वाला थियो । छिटो छिटो औपचारिकता पूरा गर्न सोधिहालेँ, “बुझ्यौ त ?” मैले सोधिनसक्दै विद्यार्थीहरुले एकमुष्ठ स्वरमा जवाफ दिए,

” बुझ्यौँ सर ।” त्यही मधुर स्वरमा संगीत भरेजस्तै त्यसैबेला छुट्टीको लामो घण्टी टिनिनिनिनिन बजेको थियो र सबै विद्यार्थीहरु बाहिर निस्कन हतारिँदै आआफ्नो सिटबाट जर्‍याकजुरुक उठिसकेका थिए । यस्तो विषम अवस्थामा उसले प्रतिक्रिया दिएकी थिईः “मैले त कत्ति बुझिन सर !”

उसलाई किन बुझिनौ ? कुन कुरा बुझिनौ ? भनी सोधौँ भने विदा घण्टी लागिसकेकोले विद्यार्थीले धकेल्दै बाहिर गुरुरुरुरु निस्किएर एक्लै पार्लान् भन्ने डर, नसोधौँ, ‘बुझिनँ !’ भनिदिएपछि सुनेको नसुनेई गरिदिनु एकजना शिक्षकको लागि पाच्य कुरा थिएन ।

मैले यति मात्र सोधेँ, “तिम्रो नाम ?”

“सगुना  ।”

“सगुना ?”

घण्टी बजेको सुनी विद्यार्थीहरु आआफ्नो सिटबाट सबै उठे र हलचल नगरी उभिइरहे । बाहिर जाने अनुमति खोजेको जस्तो मैले ठहर्‍याएँ ।

म के भनूँ ? केही ठहर गर्न सकिनँ । सबै किँकर्तव्यविमुढ उभिएको देखेर उसैले भनी: “जाऊँ अब ।”

ऊ अगाडि लागेपछि मात्र अरु विद्यार्थीहरु उसको पछि ग्वार्ग्वार्ती लागे । म ढोकामै उभिएकोले मैले बाटो छोडिदिनुपर्थ्यो । शिक्षक भित्र हुँदाहुँदै विद्यार्थीलाई बाहिर जान दिनु शिक्षकको अपमान जस्तो केही हुने अनुमान गरेकोले सहजीकरणको लागि म पहिल्यै बाहिर निस्किँदै सरासर अफिस कोठातिर लागेँ । विद्यार्थीहरुको मिठो स्वर “बाइ, सर ! बाइ, सर !” भनेको पछाडिबाट सुनेँ मात्र । मैले बाइ भन्न  ।

भोलिपल्टदेखि मैले अरु विद्यार्थीहरुको पनि नाम कण्ठस्थ गर्नेतिर लागेँ ।

०००

एक हप्तापछि । पाँचौँ कक्षाको गणित विषय अन्तर्गत सरल पाठ शिक्षण गर्नु थियो । विभिन्न उदाहरणहरु दिँदै सिकाउँदै गएँ र नजान्नेहरुको समिपमै गएर कापीमै समाधान गरिदिँदै पनि गएँ । जब अन्तिम बेन्चमा पुगेँ सगुनाको अस्वाभाविक स्थितिले मेरो ध्यानाकर्षण गर्‍यो । सगुनासँग न कुनै कापी थियो, न किताबको झोला नै थियो । उसले कापीको एउटा पानामा समस्या हलको प्रयास गरिरहेकी थिई ।

“खोइ तिम्रा कापी किताब ?”

उसले नजिकैको साथीको कापीकिताब देखाउँदै भनी, “यी सर !”

“ती त उसकै होलान् नि त । तिम्रो कापी किताब खोइ ? भनेको मैले ?”

“यी मेरा पनि हुन् सर । हामी शेयर गरेर पढ्दै छौँ ।”

मैले पत्याउन करै लाग्यो ।

“हिसाब नआएको भए सिकाइदिऊँ ?”

“पर्दैन सर ।” गम्भीर मुखाकृति तुल्याउँदै जवाफ दिई ।

“बुझ्यौ त ?”

“अँहँ ।” उसले टाउको हल्लाउँदा उसका ठूलाठूला एररिङ अलि बढी नै हल्लिए ।

“खोइ कापी देऊ न त । म सिकाइदिन्छु ।”

“पर्दैन सर ।”

ऊसँग नै जवाफसवालमा उत्रिरहँदा मेरो र अरु विद्यार्थीको समय त्यत्तिकै बर्बाद हुने देखी म अरु विद्यार्थीतिरै पुगेँ । म जब जब सगुनाको नजिक पर्थेँ, अरु विद्यार्थीहरु चुपचाप लागेर सतर्क हुन्थे ।

मलाई लाग्यो पक्का पनि यो केटी कि त यस कक्षाको मोनिटर हो, कि त कुनै विद्यार्थी संगठनकी अगुवा हो । ऊ जे नै भए पनि ती मेरा सरोकारका विषय थिएनन् ।

अन्तिममा मैले “बुझ्यौ त ?” भन्दै औपचारिकता पूरा गरेँ, ऊबाहेक सम्पूर्ण विद्यार्थीले बुझ्यौँ सर भनी प्रतिक्रिया दिएपछि म अर्को कक्षातिर लागेँ ।

बेलुका जनसङ्ख्या कक्षा लिन पुनः त्यही कक्षामा प्रवेश गरेँ । कक्षाकोठामा पसेपछि शुरुमै सबैभन्दा पछिल्लो बेन्चमा मेरो नजर पुग्न थालेको थियो । पछिल्लो बेन्चमा बस्ने त्यही अजीवकी केटी पहिलो नजरमा पर्दथी । म कक्षाकोठामा पस्दा अरु विद्यार्थीहरु अलिकति चनाखो हुन्थे । सबैको गफगाफ बन्द हुन्थ्यो । अगाडिका कापीकिताब मिलाएर झोलामा राख्थे र पिरियडअनुसारको कापीकिताब बेन्चमा फिजाउँथे । आआफ्नो सिटमा स्थिर रहन्थे । उनीहरुको अनुहारको रङ बदलिन्थ्यो । मेरो उपस्थिति कक्षामा हुँदै छ भनेजस्तो गरी विद्यार्थीहरुले दिएको प्रतिक्रिया पनि कम्ता आनन्ददायक हुँदैनथ्यो मेरो लागि ।

ऊ भने म कक्षाकोठामा पसेको सामान्य औपचारिकता पूरा गर्दथी । त्यसपछि आफ्नै पढाइमा घोत्लिरहन्थी । मेरो उपस्थिति कक्षामा भएको कुनै भावभंगी प्रदर्शित हुँदैनथ्यो ।

ऊ पढाइप्रति पटक्कै बेपरवाह भने हुँदैनथी । मैले पढाएको गौर गरेर सुन्ने प्रयास गर्दथी । कसैले प्रश्न गरेमा प्रश्नोत्तरमा सहभागी विद्यार्थीलाई राम्रोसँग हेर्थी र सुन्थी । अनि केही टिपोट गर्थी ।

यो विषय पढाउन पनि र बुझ्न पनि सजिलो मानिन्थ्यो । अतः मैले कमै परिश्रम गरी विभिन्न मनोविनोद गर्दै पढाउँदै थिएँ । सम्पुर्णतः विद्यार्थीका अनुहार मतिर फर्किएका थिए, तर सगुनाको टाउको भने अघिदेखि किताबमै घोप्टिरहेको थियो । यो देखेर मेरो रिसको पारो अलिकति चढ्यो । जो केटी जति घोकाए पनि अन्तिममा बुझिनँ भन्छे उसैले मतिर ध्यान दिइरहेकी छैन ।

मैले उसको ध्यान तत्कालै आफूतिर खिच्नुथियो । मैले हातको चक भाँचेर उसको टाउको ताकेर हिर्काएँ । चकले आफ्नो वजनअनुसारको सुइँइँइँए हल्ला गर्दै ताकिएको ठाउँतिर हुर्रियो । उसको टाउकोमा बज्रिएर आफ्नो करामत नदेखाउँदै ऊसँगैको साथीले त्यो चक सजिलरी आफ्नो हातमा लिइदियो ।

कोठाको कानून मेरो हातमा थियो । म त्यस कक्षाको लागि सर्वोच्च र निर्विकल्प न्यायकर्ता थिएँ । मैले जसलाई सजाय दिन खोजेको थिएँ, उही सजायको भागीदार थियो र उसैले सजाय पाउनुपर्दर्थ्यो । मैले जारी गरेको न्यायलाई अर्कै व्यक्तिले अर्कोतिर बङ्ग्याइदिनु चानचुने अपराध थिएन ।

उसको नाम मलाई कण्ठस्थ थिएन । उसको नाम सोध्ने धैर्य पनि मसँग बाँकी रहेन । म पढाउन छोडेर आँखाकान चिम्लेर त्यस विद्यार्थीको नजिक पुगेँ र भएभरको बल पाखुरादेखि पन्जासम्म सन्चित गर्दै उसको कन्चट ताकेर हिर्काउन हात उठाएँ । मेरो हात उसको कन्चटमा परेको भए उसले कोठामै सगरका ताराहरु फुलेको प्रस्ट देख्नेवाला थियो । ती ताराहरु उसको आँखाबाट निभेपछि कोठामै ब्ल्याकहोलको वास्तविक अनुभूति संगाल्नेवाला थियो । तर मेरा पन्जा उसको कन्चटमा नपर्दै बिजुली चम्केको गतिमा सगुनाले मेरा हातका पन्जालाई च्याप्पै समातिदिई । उसका हातको स्पर्शमा कोमलताको नामै थिएन । मैले जिल खाएँ ।

मैले एउटा मामुली विद्यार्थीबाट हार खानुपरेको थियो । परिस्थितिको आँकलन गर्न कक्षाकोठाको चारैतिर नजर दौडाएँ । कक्षाका सबै विद्यार्थीहरु आआफ्नो सिटबाट जर्‍याकजुरुक उठिसकेका थिए तर अद्भूत अनुशासन प्रदर्शित गर्दै एकपाइला यताउति सारेका थिएनन् । म न त सगुनाउपर थापिने केटा वा सगुनातिर पुनः जाइलाग्न सकेँ, न त त्यो परिस्थितिबाट हारेझैँ लुरुक्क फर्किन सकेँ । मेरो किँकतर्व्यविमुढतालाई विद्यालयको लामो घण्टी टिनिनिनिनिनिले सहजीकरण गरिदियो । अरु विद्यार्थीहरु सिटमै थिए । उनीहरुले घण्टीको कानैखाने ध्वनि सुने पनि प्रतिक्रियास्वरुप कुनै चाल देखाएनन् ।

मैले उनीहरुलाई आदेशात्मक लवजमा भनेँ, “जाऊ घर-घर, निस्क तिमीहरु !”

मेरो आदेशको बाबजुद विद्यार्थीहरु जसको तस उभिई नै रहे । उनीहरुले सुनेको नसुनेइ गरे । सिटबाट टसको मस भएनन् । मेरो आदेशको अवज्ञा जस्तो पनि थिएन, किनकि सबैले टाउको निहुराइरहेका थिए ।

केही समयसम्म न सगुनाहरुबाट केही प्रतिक्रिया आयो, न त विद्यार्थीहरुबाट । कोठामा धेरै बेरसम्म शुन्यता छाइरह्यो ।

त्यसपछि उसैले मुख फोरी, “जाऊ तिमीहरु !”

सगुनाको आदेश कानमा पर्नेबित्तिकै विद्यार्थीहरु अघिल्लो बेन्चबाट क्रमशः लाइनवद्ध हुँदै टाउको नहल्लाई बाहिर निस्किए । लाइनमा पछिल्लो विद्यार्थी मैले हिर्काएको चक समात्नेवाला थियो । अनुहार पढ्न कोशिस गरेँ, अनुहारको पाना बेसरी खजमजिएको थियो । आँखा रसिला र अनुहार निन्याउरो तुल्याएको थियो । अकस्मात उत्पन्न अकाल्पनिक परिस्थितिले हुनुपर्छ । कोठाबाट निस्कनुपूर्व सगुना र मलाई पालैपालो हेर्‍यो । मैले केही भनिनँ । सगुनाले नै भनी, “जाऊ तिमी पनि ।” अन्तिममा ऊ पनि निस्कियो ।

अब कोठामा सगुना र म मात्रै आम्नेसाम्ने उभिएका थियौँ ।

मैले कड्किँदै भनेँ, “जाऊ तिमी पनि,  सबैलाई पठाइसकेपछि केलाई पर्खेर बसेको ?”

उसले मुखाकृतिमा गम्भीरताको रङ पोत्दै मसिनो स्वरमा भनीः “आदरणीय गुरुज्यू कक्षामा हुँदाहुँदै म कसरी निस्कूँ ? मेरो अनुशासनले यस्तो कुरा क्षम्य मान्दैन ।”

मेरो अनुहार क्वार्क्वार्ती हेरिसकेकर ऊ मुसुक्क मुस्कुराइदिई यसरी कि त्यहाँ कुनै असहज परिस्थिति उत्पन्न भएकै थिएन । उम्लिरहेको मेरो रिस सय डिग्रीबाट एकैचोटी ओरालोतिर चिप्लेटी खेल्न थाल्यो ।

म सगुनाको अगाडि पानी पानी भैसकेको थिएँ । सगुनाको मुस्कानलाई मुस्कानले सरोबर तिर्ने हिम्मत बटुल्न समेत सकेको थिइनँ । रित्तो कोठामा एकजना विद्यार्थीसँग बिना प्रयोजन अडिइरहनु पनि मजस्तो नयाँ शिक्षकको लागि हितकर थिएन । सगुनालाई तिमी बाहिर निस्क म पछि लाग्छु भन्ने कुरा पनि थिएन । अतः मैले पुलुक्क सगुनालाई शुष्क नजर लगाएर कक्षाकोठाबाहिर फटाफट निस्किएँ । विद्यालयको आँगन करिबकरिब रित्तो भैसकेको थियो । चहुर त्यहीँ थियो सुन्दर फूलको बगैँचा पनि त्यहीँ थियो र धुपीका रुखहरु पनि त्यहीँ हुँदाहुँदै पनि वातावरण शून्य शून्य लाग्यो । फाट्टफुट्ट थकान लस्त शिक्षकहरु बाहिरिरहेका थिए ।

म अफिस कोठातिर सोझिएँ । मेरो पछिबाट कसैको पदचापको कर्णपृय ध्वनीले कर्णरञ्जन दिलाइरहेको थियो । मैले चालपाइसकेको थिएँ कि मेरो पिछा कसले गरिरहेको छ । सिर्जना मिसले नमस्तै सर भनेपछि मात्र मेरो ध्यान कानबाट नजरतिर सर्‍यो । उनी हतारमा भएजस्तै एकैछिनमा मलाई पछि पारिहालिन् ।

नमस्ते म्याम् म झस्किएर पछाडि फर्किएँ । सगुना र सिर्जना आम्नेसाम्ने थिए । म तर्सिनुको कारण थियो, सिर्जनाले नै सगुना केटीलाई नमस्कार भनिन् कि ? मैले सिर्जना र सगुनाको स्वर व्यक्त्याउन सकिनँ । मैले झटपट आफ्नो नजर उनीहरुबाट सोहोरेर अफिसकोठातिर लतारेँ । अफिस कोठा माथिल्लो तलामा थियो । माथिल्लो कोठामा जान काठको भर्‍याङ चढ्नुपर्थ्यो । भर्‍याङ चढ्दा जुत्ताको आवाज अलि बढी नै बजेजस्तो लाग्यो । अनुमान गरेँ मेरो पछिपछि कोही छ र उसको हिलवाला स्यान्डलले मेरो जुत्ताको आवाजलाई निलिदिएको छ ।

‘घरतिर नलागेर मलाई किन पिछा गरिरहेकी छ यो केटी । कतै मैले  कक्षामा ऊप्रति गरेको दुर्व्यवहारको शिकायत गर्न त आइन ?’ मेरा गोडा घलघली काँप्न थाले । ओठमुख ओबानो भए ।

मैले आफ्ना नजरलाई यताउता लाग्न नदिई अफिसकोठातिरै सोझ्याएँ । अफिस कोठाको ढोकाबाट भित्र छिरेपछि प्रिन्सिपल मिस्टर जोशी देखिए । सशंकित स्वरजस्तो लगाउँदै उनले झटपट सोधिहाले, ‘सुबोध सर त निकै बेर अलमलिनुभयो नि रित्तो कक्षाकोठामा ?”

कोठाको भित्ता विभिन्न गणितीय सूत्रहरुले पोतिएका थिए । एउटा सजिलोजस्तो लाग्ने सूत्रका मेरा नजर अल्झिएः शिक्षक=विद्यार्थी ! नजरलाई भित्तामा अल्झाउँदै जवाफ दिएँ :

“त्यस्तो केही होइन, प्रिन्सिपल सर । नबुझ्ने बच्चाहरुलाई सम्झाउन खोज्दा केही बेर लाग्यो ।” भन्दै जब मैले प्रवेशद्वारतिर नजर डुलाएँ त्यो केटी त्यहीँ उभिएर सुनिरहेकी रहिछ । म फेरि अर्कोपटक तर्सिएँ । मलाई लाग्यो यो केटी प्रिन्सिपललाई नै उजुरी गर्ने हेतुले यहाँ आएकी हुनुपर्छ । मेरो अनुहार बिग्रियो । खुट्टा अरु हल्लिन थाले ।

“तपाईँ त बिनसित्ति सगुनासँग बाझ्दै हुनुहुन्थ्यो त ! प्राक्टिस टिचिङको पहिलो दिनमै यस्तो व्यवहार प्रदर्शित गरेपछि कसरी यो स्कूलमा अट्नुहोला र, खै ?

उनको चेतावनीमूलक कुरा सुन्नेबित्तिकै म झस्किएँ, ‘कसले गर्‍यो होला त पहिल्यै उजुरी ? सगुना त मेरो पछि नै थिई । अरु विद्यार्थीहरु पनि निस्किसकेका थिए ।’ यही सोच्दै मेरो पछिल्तिर हेरेँ । सगुना  अझै ढोकामै हाम्रो थिई । मैले तुरुन्त आफ्नो टाउको भित्रतिर भाँचेँ । एकछिनमा सगुना बार्दली बजाउँदै अर्कैतिर लागेको चाल पाएँ । ऊ आफै पन्छिदिएपछि मैले मुक्तिको सास त फेरेँ । ऊ सिँढीबाट ओर्लेकी भने थिइन । उसको स्यान्डलले काठे सिँढीमा संगीत भरेको थिएन ।

प्रिन्सिपलले मेरो सफाइलाई बेपरवाह गर्दै जुरुक्क उठे र भित्तामा झुण्ड्याइएको बडेमानको कम्प्युटर स्क्रिनमा औँला खुम्च्याउँदै यताउता सार्न थाले । त्यहाँ पाँच कक्षाको कोठाको दृश्य नाच्न थाल्यो । अगाडिपट्टि मै थिएँ । एकछिनमै मैले चक उठाएर सगुनालाई हान्दाको घटनादेखि म कोठाबाहिर निस्केको दृश्य हाम्रो अगाडि पुनः दोहोरियो । तेहरियो पनि ।

लज्जित हुँदै मैले शिर निहुराएँ ।

“सुबोधजी, यता हेर्नुहोस् !” प्रिन्सिपलको आदेशले मैले टाउको उठाउन कर लाग्यो । स्क्रिन अफ भैसकेको थियो । “भन्नुहोस्, भोलिदेखि सच्चिएर आउन सक्नुहुन्छ कि सक्नुहुन्न ? नभए भोलिदेखि तपाईँ नआए पनि हुन्छ !”

म उनको आकस्मिक निर्णयले खङ्ग्रङ्ग भएँ ।

यसै बेला अचानक हामी अगाडिको स्क्रिन अन भयो । अन हुनेबित्तिकै स्क्रिनमा सगुना उस्तै सौम्य अनुहारमा झुल्किई र प्रिन्सिपलतिर हेर्दै भनीः “होइन, होइन, प्रिन्सिपल सर  ! उहाँ भोलि पनि आउनुहुनेछ । हामी दिनदिनै शिक्षकहरु फेरिरहन सक्दैनौँ ।”

यति भनेर भित्ताबाट सगुना हटी र स्क्रिन अटोमेटिक अफ हुन पुग्यो ।

तीनछक पर्ने पालो अब मेरो थियो । म दृष्टिविहीनहरुले हात्ती छामेझैँ नजरले रित्तो भित्तो छामेको छाम्यै भएछु । मेरो अलमलाहटलाई सहजीकरण गर्दै प्रिन्सिपल बोलेः “सुन्नुहोस् सुबोध सर । यो स्कूल अरु स्कुलजस्तो परम्परागत शिक्षण विधिले चल्दैन । भोलि क्रियटिभ लेसनप्लानसहित आउनुहोला । लेसन प्लानमा विद्यार्थी र शिक्षकको भूमिका बराबर हुनुपर्नेछ । विद्यार्थीलाई पढाउने होइन, सिकाउने हो ! बुझ्नुभयो ? लेसनप्लानअनुरुप तपाईँले शैक्षिक व्यवहार प्रदर्शन गर्नुपर्नेछ । एक हप्ता तपाईँको व्यवहार र विद्यार्थी सिकाइको मूल्याङ्कन हुनेछ । अनि मात्र तपाईँको जागिर पक्का । जानुहोस् अहिले ।”

प्रिन्सिपललाई “हस्, नमस्कार !” भन्दै म बाहिर निस्किएँ । म त निस्किएँ तर मनलाई भने स्कूलबाट बाहिर निकाल्नै सकिनँ । सगुना बार्दली बजाउँदै कहाँ गएकी थिई ?  अन नै नगरेको स्क्रिनमा कसरी झुल्किई । प्रिन्सिपलले नआउने विकल्प दिँदा पनि मलाई स्कूलमा आउनुपर्ने सुझाव दिने उसको भूमिका के हो ? के मेरा अगाडि तेर्सिएका काँडेतारजस्ता अवरोधको ताँतीलाई नाघेर यस विद्यालयमा निरन्तरता दिन सकुँला ? के सगुनालाई म नपढाएरै सिकाउन सकुँला ? कि फेरि अर्को विद्यालय खोज्ने मेरो नियति दोहोरिनेछ ?

     म अनेकौँ प्रश्नको बैशाखीमा लडखडाउँदै कोठातिर लागेँ ।

बाटोभरि सगुनाले मेरो दिमाग आफ्नै अँगालोमा च्यापिरही । म बिनसित्ति आवेशमा आएछु, दायाँबायाँ नहेरी सगुनाउपर चक प्रहार गरेछु भनी पश्चात्तापको मुस्लो दिलदिमागमा रङमङिइरह्यो ।

ग्रिनरोज स्कूलमा उसको भूमिका सामान्य होइन भन्ने कुरामा म करिब करिब निश्चित भइसकेको थिएँ । स्कूलबाट बाहिरिँदै गर्दा सिर्जना मिसले नै सगुनालाई नमस्कार गरेकी हुनुपर्छ भन्ने पनि निश्चित भैसकेको थिएँ । प्रिन्सिपलले मलाई भोलिदेखि नआउनू भन्न खोज्दा सो आदेशलाई नै चुनौति दिने त्यो केटी एउटी सामान्य विद्यार्थी हुनै सक्दिन । स्कूल छुट्टीपछि सबै विद्यार्थी आआफ्नो घरतिर लाग्दा ऊ भने स्कूलमै गायब भएकी थिई ।

तर उसको उमेर प्रौढ पनि पटक्कै देखिँदैनथ्यो । अरु बच्चाहरुकै हाराहारीकै उमेरकी थिई । उनीहरुजस्तै स्कूलेड्रेसमा सजिएकी थिई । उसको व्यवहार बालसुलभ थियो । विद्यार्थी होइन कसरी भनूँ ? ऊ विद्यार्थी नेता पनि त हुन सक्छे ! यस्तो नेता कि उसले समग्र विद्यार्थीको मात्र होइन समग्र स्कूलकै नेतृत्व लिइदिई ! यो किन हुन सक्दैन र ?

त्यसो हो भने एकजना विद्यार्थी जतिसुकै प्रवीण होस् शिक्षकले आफ्नो विद्यार्थीलाई नमस्कार गर्दै गर्दैन । सिर्जना मिसले किन सगुनालाई नमस्कार गरिन् ? कक्षाकोठामा ऊसँग आफ्ना कापिकिताब पनि त थिएनन् । मैले पढाइरहेको बखत सम्बन्धित पाठतिर नभई अन्त कतै घोत्लिएकी हुन्थी । यसकारणले पनि पाँच कक्षाकै ऊ विद्यार्थी हो भन्ने आधार कहाँ थियो र ?

उसोभए विद्यार्थीकै ड्रेस पहिनेर किन पसी ऊ पाँचकक्षाको कक्षा कोठामा ? विद्यार्थीसँगै टाँसिएर किन बसी ? जति बुझाउन कोशिस गरे पनि बुझ्दै बुझिन किन भनिरही उसले ?  स्कूलले उत्कृष्ट विद्यार्थीलाई शैक्षणिक अनुगमनकर्ता खटाएको होला त ?

अनुभवी शिक्षकको अनुगमनकर्ताको उमेर यति सानो कसरी सम्भव होला त  ? त्यसो पनि होइन होला !

जुन कोणबाट सोचे पनि मैले आफूलाई चित्त बुझ्दो जवाफ दिन सकिनँ ।

प्रिन्सिपलले मलाई क्रियटिभ लेसन प्लान बनाएर मात्र स्कूल आउनु भनेका थिए । लेसनप्लान बनाउन त सिकेको थिएँ, तर क्रियटिभ लेसनप्लानको मेसो मसँग थिएन । म शिक्षाशास्त्रतर्फको अनुसन्धाता पनि थिइनँ । क्रियटिभ लेसनप्लान के होला भनी जान्न हत्तपत्त गुगल सर्च गरेँ । तर त्यहाँ पनि मैले जसरी लेसनप्लान बनाउँथेँ त्योभन्दा खासै भिन्न सूचनाहरु थिएनन् । भन्नाले क्रियटिभ लेसनप्लानमा पनि उही कुरा थिएः विशिष्ट उद्देश्य, सामान्य उद्देश्य, शैक्षिक सामग्री, शिक्षक सिकाइ क्रियाकिलाप, विद्यार्थी क्रियाकलाप, पृष्ठपोषण, आदि, आदि । विषयभित्रका कुराहरु भने केही फरक थिए । म धेरै बेरसम्म गुगल सर्चमै हराएँ । कोठाको बन्द वातावरणबाट म संचार प्रविधिको आधुनिकतम खुल्ला वातावरणमा पुगिसकेको थिएँ । त्यहाँ सम्पूर्ण मेरा ज्ञानेन्द्रीय अलमलिने निकै फराकिलो ठाउँ थियो ।

यदि यिनै सामान्य कुराहरु भएको लेसनप्लानको बारेमा प्रिन्सिपलले भनेका हुन् भने उनले यति विधि जोड दिनै पर्दैनथ्यो ! यो स्कूलले तोकेको क्रियटिभ लेसनप्लान पनि सायद भिन्नै होला । यस्तै सोच्दै प्रविधिका वैकल्पिक महामार्गमा बतासिँदै म फेसबुक संसारमा आइपुगेँ । साथीभाइका तर्क वितर्क र समसामयिक घटनाहरु के भैरहेछन् जान्न कुतकुती लागे मेरो सहारा फेसबुक नै हुने गर्थ्यो । म फेसबुकमा डुब्दै गर्दा मध्य रात पनि घर्किँदै थियो ।

फेसबुकको संसार खुल्नेबित्तिकै जुकरवर्गले “ह्वाट्स अन योर माइन्ड ?” भन्दै जिस्क्याइहाल्यो । झोक चल्योः लेखिदिऊँ कि, “देयर इज वान्ली अ लिटिल गर्ल नेम्ड ‘सगुना’ इम माइ माइन्ड !” औँला सलबलाइरहेका थिए, तर ती औँलालाई पोष्टतिर जान नियन्त्रित गर्दै सर्च बक्सको प्रयोग गरेँ: सगुना सुनार !

एक सेकेन्डमै सगुना सुनार नामका दर्जनौँ अनुहारहरु मेरो नजर अघि पेश भए । मैले पाँचकक्षाकी उही सगुनाको अनुहार सम्झिएँ । सुलुत्त परेको जीउ । हल्का अग्ली । अलि वेशी नै गोरो रुपरङ । लामो नाक । अनुहारको वरिपरि टाँसिएकाजस्ता चिल्ला गाला । बाक्ला आँखीभौँ । चौडा ललाट । निख्खर कालो कपाल । लामो तर समतल छातिको अग्रभाग । माथिल्लो भाग छोपेको सेतो तर पातलो बुसर्ट । शरीरको तुलनामा छोटा खुट्टाहरु । खुट्टाहरुमा टाँसिएको  गाढा  निलो छोटो पाइन्ट ।

मेरो मनस्पटलमा बनेको सगुनाको यही मानसिक चित्रसँग फेसबुक भित्ताका प्रत्येक अनुहार तुलना गर्दै गएँ । एउटा तस्बीर मनसपटलकी सगुनासँग अलि बढी नै मिल्न पुग्यो । तर तस्बिरका केटीका आँखा भने हरिया देखिए । उत्सुकता मेट्न मैले उसको प्रोफाइल खोलेर हेरँ । धमाधम उसका पोष्टहरु चेक गर्न थालेँ ।

पोष्टहरु गणितीय सूत्रहरुले भरिएका थिए । कतै कतै फिजिक्सका सूत्रहरु पनि थिए । बुझ्दै नबुझिने कठिन सूत्रैसूत्रले उसको फेसबुक टाइमलाइन भरिएको थियो । मलाई दिगमिग लागेर आयो । थप पोष्ट खोतल्ने धैर्यता गुम्न पुग्यो । प्राइमरी स्कूलकी विद्यार्थीसँग यति विधि सूत्रको जानकारी हुनसक्ने कुरै थिएन ।

पोष्ट चेक गर्न छोडेर उसका फोटोहरु चेक गर्न थालेँ । धेरै फोटोहरु कक्षा कोठा भित्रकै थिए । केही फोटोहरु सामुहिक थिए र फिजिक्सका एक्सपेरिमेन्टमा डुबेका जस्ता देखिन्थे । केही त विद्यार्थीहरुलाई पढाउँदै गरेका फोटोहरु पनि थिए । अधिकांश फोटोमा रहेका ग्रीन रोज स्कूलको पृष्ठभूमिले उही सगुना हो भन्ने कुरामा कुनै दुविधा रहेन । म तरङ्गित हुन पुगेँ ।

सगुना एउटी विद्यार्थी मात्र होइन भन्ने कुरा उसको प्रोफाइलले राम्रैसँग बताइदियो । रातको उत्कर्षमा पनि सगुना अनलाइनमै थिई । मेरा औँलाहरु अनायास मेसेज बक्समा नाच्न पुगेः

“हाइ ! सगुना !!”

“नमस्ते सर !” ढिला नगरी प्रतिक्रिया प्राप्त भयो । गम्भीर स्वभावकी सगुना मेरो आँखामा नाच्न थाली । उसको कर्णपृय स्वर कानमा गुन्जियो । मानौँ त्यहाँ अक्षरहरु होइन सस्वर सगुना उपस्थित छे ।

“आरामै छौ ?” म सक्दो विनम्र देखिन खोजेँ ।

“आरामै छु सर । सरको पनि आरामीको कामना गर्दछु ।” उसले झनै नम्रता देखाई ।

“के गर्दैछ्यौ त यति रातिसम्म ?” मैले चोर पक्रन खोजेँ ।

“सरहरुले दिनुभएको होमवर्क गर्दै छु ।”

“खुब गर्दैहौली होमवर्क ? तिमी मलाई यसरी नढाँट । तिमी विद्यार्थी होइनौ भन्ने कुरा मैले पत्ता लगाइसकेँ ।”

“हाहाहाहाहाहाहा ! मज्जाले हसाउनुभयो सरले पनि । के पत्ता लगाउनुभयो सर ? हजुरको अनुसन्धान नै भ्रमपूर्ण छ । ढुक्क हुनुहोस् म विद्यार्थी नै हुँ । मैले ढाँट्नुपर्ने केही कुरा छैन । ढाँटेको कुरा त हजुरले यो स्कूलमा निरन्तरता दिँदा भोलिका दिनहरुमा पत्ता लागिहाल्नेछ ।” उसको जवाफ सामान्य हुँदा हुँदै पनि मेरो दिमाग बेसरी चक्कराउन थाल्यो । आँखा तिरमिराए । एक कारण थियो मैले टाइप गर्दा केही समय लाग्थ्यो, तर उसले जवाफ दिँदा समयको अन्तर निकै झिनो हुन्थ्यो । उसको पछिल्लो एउटै रिप्लाइमा मात्र सातवटा वाक्य थिए ! मैले प्रश्न सोधेको एकसेकेन्डमै उक्त जवाफ फर्काएकी थिई । जतिसुकै फास्ट टाइप गरे पनि यो सम्भव थिएन ।

मेरो दिमागमा हलचल मच्चिनुको अर्को कारण के थियो भने उसले आफू विद्यार्थी नै भएको जिकिर गरिरहेकी थिई र यो कुरा भविष्यले प्रमाणित गरिदिनेछ भनेकी थिई । आजै, अहिल्यै बनेर आइपुग्ने भविष्य जत्तिको प्रमाणिक सत्य अर्को केही हुनसक्दैन भन्ने कुरामा म ढुक्क थिएँ ।

ढुक्क होइन अहिले म तीनछक परिरहेको थिएँ । किनकि यी दुवै परिस्थिति नितान्त विपरीत थिए ।

“हिजो मबाट अनायाश हुन गएको गल्तीको क्षमा चाहन्छु, सगुना म्याडम ।” मैले ‘म्याडम’ नै सम्बोधन गरेर आफ्नो जिद्दी देखाउन खोजेँ ।

“हजुरले आफ्नो जिम्मेवारी पूरा गर्दा देखाइएको व्यवहारप्रति मैले पटक्कै दुःख मानेकी छैन सर । बरु मलाई बुझ्ने मौका दिनुभयो । यो त मेरो अहोभाग्य हो सर ।”

उताबाट उत्तिकै तिब्र गतिमा उसले जवाफ त फर्काई तर मेरो खास प्रश्नको जवाफ भने दिएकी थिइन । मैले उसलाई ‘म्याडम’ सम्बोधन गर्दा उसले के प्रतिक्रिया दिन्छे ? भनी जान्न खोजेको थिएँ मैले । उसले आफू म्याडम भएको कुरा सहजै स्वीकार गरी । ऊ विद्यार्थी होइन भन्ने यो एउटा बलियो प्रमाण थियो ।

“रात निकै बितिसक्यो सर । भोलि तपाईँ स्कूलमा आएर धेरै कक्षाहरु लिनुछ । अब आफ्नो निद्रा पूरा गर्नुहोस् सर !”

“अनि तपाईँचाँहि सुत्नु नपर्ने ?”

धेरै बेरसम्म पनि ऊबाट कुनै जवाफ प्राप्त भएन ।

“म्याम्, क्रियटिभ लेसनप्लानको अर्थ मैले बुझ्न सकिनँ । मलाई हिन्ट्स दिनुहुन्थ्यो कि ?”

फेरि पनि उताबाट कुनै रिप्लाइ आएन । ऊ त पहिल्यै अफलाइन भैसकिछ ।

‘गुड नाइट’ को सामान्य औपचारिकता पनि पूरा नगरी अफलाइन भैदिने कस्ती स्वभावकी केटी हो यो ? मेरो मन निकै खिन्न हुन पुग्यो । मैले आफ्नै इन्टरनेट चेक गरेँ । मेरै नेट पो गएको रहेछ ।

दिमागबाट सगुनालाई बढार्न खोज्दै म निदाउने प्रयत्नमा लागेँ ।

ढिलै आयो, तर, आजसम्मको सन्देह मेट्ने सङ्केत बोकेर आयो ।

परम्परागत पाठयोजनालाई केही फेरबदल गरेर म स्कूलतिर हानिएँ । स्कूल पुग्दा साढे नौ बज्दै थियो । विद्यार्थीहरू आफ्ना झोलाहरू कोठामा थन्क्याएर स्कूलको प्राङ्गणमा लामवद्ध भैसकेका थिए । प्राङ्गण सुगाको बथान आएर ढाकिएकोजस्तो सर्वत्र हरियो देखिएको थियो ।

मैले आफ्नो झोला अफिस कोठामा थन्क्याएर प्राङ्गणमा ओर्लिएँ । प्राङ्गणको अघिल्लो भागलाई मन्च तुल्याइएको थियो । जहाँ शिक्षकहरू सतर्क पोजिसनमा उभिइरहेका थिए । म पनि उनीहरूकै छेउ लागेँ ।

सिर्जना मिसले अनाउन्स गर्न सुरू गरिन्, “शिक्षण सहजकर्ताहरू अगाडि आइदिनुस् !”

प्रत्येक लामको अन्तिममा उभिएका विद्यार्थीहरू फूर्तिसाथ परेड खेलेजस्तो लम्किँदै सोही लामको अगाडि आएर सिधा उभिए । पाँचौ लाइन मेरो सामुन्ने थियो । म जानी जानी यो लामको अगाडि उभिएको त थिइनँ तर संजोग त्यस्तै परेछ । शिक्षण सहजकर्ताको नाम बोलाउँदा सगुना मेरो सामुन्ने उभिएकी थिई । मेरो दृष्टि सगुनामा स्थिर हुन पुग्यो । मलाई यस्तो लागेको थियो कि बिहानभरि मसँग च्याटमा भुलेकी सगुनाले मलाई आफ्नो सामुन्ने उभिएको देखेर शर्माएर खुम्चुक्क खुम्चिनेछ । उसका गालाहरु राताम्मे हुनेछन् । ओठहरु थरथर काँपिरहेका हुनेछन् । खुट्टाका औँलाले जमिन कोट्याइरहेकी हुनेछ । नशर्माए पनि उसको भावभङ्गीमा अवश्य परिवर्तन हुनेछ ।

तर मेरो सोचाइ विपरीत बेपरवाह भएर ऊ सतर्क पोजिशनमा उभिइरही ।

“के के न होली भन्ठानेको त जाबो शिक्षण सहजकर्ता पो रैछे यो मोरी त ! क्लास मोनिटरलाई सहजकर्ता भन्ने नयाँ नाम दिइएको होला ।” भन्यो मेरो मनले ।

उसको पोजिसनप्रति बेपरवाह हुँदा हुँदै म कतै अलमलिइरहेको थिएँ । शिक्षण सहजकर्ता भनेको के ? क्लास मोनिटरभन्दा फरक रोल पो हो कि ? हो भने के भूमिका निभाउनुपर्ने हो स्कूले सहजकर्ताले ? सहजकर्ता नै राख्नुपर्ने के बाध्यता आइपर्‍यो यो प्राइमरी स्कूललाई ? आदि प्रश्नहरु मेरो मनको डोरीको पिङमा मच्चिरहेका थिए ।

मैले अहिलेसम्म परम्परागत स्कूलहरूमा पढाइरहेको कारणले शिक्षण सहजकर्ता भन्ने पद वा वर्ग कतै देखे सुनेको थिइनँ । ताजुब नलागेको होइन । मैले अस्तिदेखिकै घटना सम्झिन थालेँ । चकले उसको निधार ताकेर हानेको । अर्को केटाले छेकेकोदेखि आज बिहान च्याटमा मज्जाले कुरा गरेकोसम्म ।

ती सहजकर्ताहरूले पाँच मिनेटजति विद्यार्थीहरूलाई पिटि खेलाए । जुन नौलो कुरा थिएन ।

कसैले मेरो सामुन्नेबाट उद्घोषण सुरू गर्‍यो । हेरेँ सिर्जना मिस रहिछन्, “अब प्रिन्सिपल सरले व्यवस्थापकीय मन्तव्य दिनुहुनेछ ।”

प्रक्रिया त यो पनि परम्परागत नै थियो । जुन हरेक स्कूलको मर्निङ एसेम्ब्लीमा देख्न पाइन्छ । तर प्रिन्सिपल भनिएका अनुहार भने नयाँ देखियो । हिजो अस्ति प्रिन्सिपल भनेर जसलाई चिनाइएको थियो ती व्यक्तिको अनुहार थिएन यो । यस कुरामा ममा अनौठोपन बाक्लियो ।

मेरो ध्यानलाई खिच्दै नयाँ प्रिन्सिपल बोल्न थालेः “सहकर्मी शिक्षक तथा विद्यार्थी भाइबहिनीहरू !”

प्रिन्सिपलको सम्बोधनले लामवद्ध विद्यार्थीहरु अझै सतर्क हुन पुगे । उनीहरुका आँखा कान प्रिन्सिपलतिर एकोहोरो तानिएका थिए ।

“हामीले यो स्कूलमा केही चिज नयाँ गर्दै छौँ भनी दोहोर्‍याइरहनुपरेन । अहिले हाम्रोजस्तै अरु स्कूलहरू पनि खुल्न थालेका छन् ।”

“अबको दुई दशकपछि हामीले बाइसौँ शताब्दीमा प्रवेश गर्दैछौँ । त्यो नविन युगमा प्रवेश गर्नको लागि हामीले के तयारी गरेका छौँ ? के यही पुरानो मानसिकता र परम्परागत शिक्षण प्रक्रियाबाट हामीले त्यस युगको सामना गर्न सकौँला ? हामी सबैलाई थाहै छ कि बाइसौँ शताब्दीमा प्रत्येकको घर, पसल, अफिसहरूमा यन्त्र मानवहरूको बाक्लो उपस्थिति रहनेछ । प्रविधिको चरम विकासले एकातिर हामी बेरोजगार रहनुपर्ने अवस्था र अर्कोतिर ती नयाँ प्रविधिसँग प्रतिष्पर्धा गर्नुपर्ने चुनौती थपिँदै छ । त्यसको पूर्वतयारीमा अहिलेदेखि नै कदम उचाल्न सकेनौँ भने हामी फेरि पनि धेरै पछि धकेलिने छौँ ।”

“हामी शून्यप्रायः स्थितिबाट अगाडि बढ्दै छौँ । हामी प्रविधिको चरम विकासमा पाइला टेक्न हाम्रा पाइतालाहरु अवश्य कमजोर छन् । तर हामी एक्ला भने छैनौँ । हामीसँग शिक्षण सहजकर्ताहरु छन् । उनीहरुले हाम्रो व्यवहार र मनोविज्ञान बुझ्दै त्यस युगसँग सामञ्जस्यता कायम गर्नको लागि अहोरात्र काम गरिरहेका छन् । हामीले एकअर्कालाई सहयोग गरौँ । अहिलेको सिक्ने र सिकाउने कुरामा अलमल नगरौँ । नबुझेर पनि बुझ्यौँ नभनौँ । बुझेर पनि बुझेनौँ पनि नभनौँ । धन्यवाद ।”

प्रिन्सिपलले आफ्नो मन्तव्यको अन्तिममा भनेको कुरा मलाई निकै मन पर्‍यो । सगुनाले मैले पढाएको बुझेर पनि बुझिनँ भनिरहेकी थिई । मेरा आँखाकान समेत प्रिन्सिपलकै मन्तव्यतिर तानिएका रहेछन् । जब मैले त्यहाँबाट ध्यान हटाएर सगुनातिर लगाएँ उसले मैलाई एकोहोरो हेरिरहेकी रहिछे । मैले चोर पक्रँदै खुच्चिङ भन्ने सङ्केतले उसलाई हेरेँ । ऊ बेपरवाह देखिई ।

“बाइसौँ शताब्दीमा के हुनेछ भन्ने बारेमा सहजकर्ताहरुले एक एक उदाहरण दिनुहुनेछ ।”

सिर्जना मिसले यति भनी नभ्याउँदै पहिलो लामकी सहकर्ता ठूलो स्वरमा बोलीः “त्यस बेला स्कूल नामका कुनै भौतिक संरचनाहरू बाँकी रहनेछैनन् ।”

पहिलीले कुरा आफ्नो नसक्दै दोस्रो लामकी सहजकर्ताले भट्याईः “त्यस बेला शिक्षक र विद्यार्थी नामको कुनै वर्ग बाँकी रहनेछैन ।”

तुरुन्तै तेस्री चिच्याईः “त्यस बेलासम्म कुनै भौतिक पाठ्यपुस्तक र नोट कापीको अस्तित्व रहनेछैन ।”

चौथी कुर्लिईः “त्यस बेलासम्म कुनै बनीबनाउ शिक्षण नीति, विधि र अभिलेखवद्ध सूचनाहरूको आवश्यक पर्ने छैन । सिकारूको अनुहार पढेरै गुरूले सिकारूका सबै सूचना र मनोविज्ञान बुझ्न सक्नेछ ।

अनि मात्र सगुना बोलीः “त्यस बेला कुन यन्त्र मानव हो ? र कुन वास्तविक मानव हो ? छुट्ट्याउनै धौ धौ पर्नेछ । त्यसैले त्यो गन्तव्यमा पुग्नको लागि अहिले हामीहरू परम्परागत स्कूल र बनीबनाउ शिक्षण विधिबाट बाहिर निस्कन बल गरिरहेका छौँ ।”

सहजकर्ता भनिएकाहरूले आ-आफ्नो कुरा राख्नेबित्तिकै विद्यार्थीको प्रत्येक लाम परेड खेल्दै आ-आफ्नो कोठातिर सोझियो । शिक्षकहरू पनि कोही अफिस कोठातिर त कोही कक्षाकोठातिर पसिसकेछन् । म मात्र धेरै बेरसम्म रित्तो प्राङ्गणमा उभिइरहेको रहेछु ।

मेरो पहिलो पिरियड चार कक्षामा थियो । मैले आफ्नो लेसनप्लान बोकेर चार कक्षाको कोठातिर हानिएँ । अफिसकोठादेखि कक्षाकोठासम्मको दशबीस पाइलाको बाटो मलाई निकै लामोजस्तो लागिरेहेको थियो । स्कूल व्यवस्थापन र विद्यार्थीको चाहनाबमोजिम पढाउन सक्दिनँ कि भनी म धर्मराइरहेको थिएँ ।

म यस स्कूलमा प्रवेश गरेकै दिनदेखि आक्कलझुक्कलमा परिरहेको थिएँ । सोच्थेँ एउटा भैदिन्थ्यो अर्कै । दिनहुँ घटिरहेका यी कुराहरुले मैले शिक्षण अभ्यासमा राम्रोसँग ध्यान अड्याउन सकिरहेको थिइनँ । कसरी शिक्षण गरेमा विद्यार्थीलाई सन्तुष्टि दिन सकिएला भन्ने कुरामा झन झन अन्यौलमा फसिरहेको थिएँ ।

हुन त योभन्दा पहिल्यै मैले दर्जनौँ स्कूलमा कुशल शिक्षण गरिसकेको थिएँ । विद्यार्थीको मन कसरी जित्न सकिन्छ भन्ने मलाई कण्ठस्थ थियो । कसलाई कसरी पढाउनुपर्छ भन्ने मनोविज्ञानको ज्ञाता हुँ भन्ने लाग्थ्यो । ती स्कूलमा आफ्नै शिक्षणकला प्रयोग गरेर मैले निर्धक्क पढाउँथेँ । पढाइसकेपछि बुझेनौँ भन्ने विद्यार्थी एउटा निस्कँदैनथ्यो । जतिसुकै खटेर पढाउँदा पनि परिश्रमबमोजिमको पारिश्रमिक नपाउँदा मात्र मैले यसअघिका विद्यालय छोड्ने गरेको थिएँ ।

तर यहाँ भने ? कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ दिनहुँ अनौठा अनौठा घटना घटिरहेका छन् । क्रियटिभ लेसनप्लानको कुरा भैरहेछ । घाँटी सुकुन्जेल रटाउँदा घोटाउँदा पनि बुझेनौँ भन्ने विद्यार्थी निस्किरहेका छन् । शिक्षण सहजकर्ताजस्ता नौला स्रोतव्यक्तिको प्रयोग भैरहेछ । यो पढाइ यही शताब्दीको लागि नभई अर्को शताब्दीको लागि हो भन्नेजस्तो हास्यास्पद तर्क दिइँदै छ । कसरी समायोजन हुन सकूँला यो नौलो परिवेशसँग म ?

यही चिन्ताले मन हडबडाइरहेको थियो । हातगोडा थरथर काँप्न थालेका थिए । यस्तै दोधारे मनस्थितिमा मैले चार कक्षाको दैलो पार गरेँ ।

“गुड मर्निङ सर !!” सबै बच्चाहरु उठेर मिठो स्वरले मेरो स्वागत गरे ।

“गुड मर्निङ ! भाइबहिनी हो !! गुड मर्निङ !! बस ! बस !”

मेरो आदेश पाएर सबै विद्यार्थीहरू आआफ्नो सिटमा बसे तर अन्तिम बेन्चमा उभिएकी एउटी केटी भने नबसेर उभिइरही ।

“बस नानी बस ।’ ऊ नबसेपछि मैले उसलाई बसाल्ने विकल्पको सोच नआएको त होइन । मेरो हातमा चक, डष्टर, नोट कापी सबैको अस्त्र प्रयोग गर्न सक्थेँ । तर सगुनाले मलाई त्यतातिर ध्यान दिन हिजो नै चेताइसकेकी थिई । अतः अर्को अपृय स्थिति सिर्जना नहोस् भनी मैले मनलाई काबुमा राखेँ र झटपट पढाउने तर्खर गरेँ ।

“म आज जनसङ्ख्या वृद्धिका कारक तत्त्वहरूको बारेमा पढाउन गैरहेछु ।”

मेरो वरफजस्तो स्वरलाई पगाल्ने गरी निकै तातो र ठूलो चेतावनीमूलक स्वर पछिल्तिरबाट आएकोले म शिक्षण क्रियाकलाप अगाडि बढाउन टक्क रोकिएँ ।

“सुन्नुभएन सुबोध सर ? हजुर पछि आउनुहोस् !”

बोलाउने केटी सहजकर्ता नै हुनुपर्छ भन्ने अनुमान गरिसकेको थिएँ । ऊसँग किन भनी प्रश्न गर्नुको कुनै अर्थ थिएन । म लुरूलुरू उसको छेउमा पुगेँ ।

उसले आफू बसेको बेन्चको छेउमा खाली सिट देखाउँदै भनीः “यहाँ बस्नुस् ।”

मैले उसको अनुहार हेरेर झस्किएँ । उनी त चीरपरिचित सिर्जना मिस पो रहिछन्, “अरे तपाईँ ?”

उनले मेरो कानमै मुख जोतेर भनिन्, “हो म । तर अफिस कोठाकी सिर्जनाचाँहि होइन । आजलाई चार कक्षाकी सगुना हुँ ।”

मैले केही सोध्नको लागि मुख फटफटाउँदै थिएँ, उनले मलाई चुप रहन संकेत गरिन् । म उनकै छेउमा गएर बसेँ । यति गरुन्जेल पनि कक्षाकोठाका कुनै विद्यार्थीको मतिर ध्यान आकृष्ट भएको थिएन । उनीहरू त सिनेमा हेर्न गएका दर्शकजस्तै कक्षाकोठाको अगाडिको भित्तो मात्र हेर्न व्यग्र देखिन्थे । मैले पनि कौतुहलतावश् उतै हेर्न थालेँ ।

एकै छिनमा कक्षाकोठाको भित्तो कम्प्युटर स्क्रिनमा परिवर्तित भयो । स्क्रिनमा एकजना केटी नमस्कार गर्दै उपस्थित भई । उसलाई मैले चिनिहालेँ । त्यो त उही पाँच कक्षाकी नबुझ्ने केटी थिई । तर पनि उसले परिचयको औपचारिकता निभाईः “म पाँचौँ सगुना । मेरो प्रस्तुती यस्तो छ । जस्तो छ त्यस्तै प्रतिक्रिया दिनुहोला ।” भनेर ऊ स्क्रिनबाट गायब भइहाली ।

केही छिनमा त्यस स्क्रिनमा एकजना शिक्षक हातमा चक डष्टर नोटकापी लिएर झुल्कियो । त्यो देखेर म आश्चर्यचकित् मात्र नभई हतप्रभ भैगएँ । कता कता लाज पनि लागेर आयो । त्यो शिक्षक सुबोध सर थियो । अर्थात् अरु कोही नभई म स्वयम् थिएँ ।

“भाइबहिनी हो, म आज तिमीहरुलाई जनसङ्ख्या वृद्धि दरको कारक तत्त्वको बारेमा बताउन गइरहेको छु ।”

मैले एकछिन अगाडि जे भनेको थिएँ, त्यही लवज मेरो प्रतिरुप शिक्षकले दोहोर्‍यायो । स्वर मेरै थियो । हाउभाउ मेरै थियो । कतै तलमाथि परेको थिएन ।

मेरो प्रतिरुप सुबोध सरले स्क्रिनमा पढाउँदै थियो वास्तविक म भने बेन्चमा बसेर आफैलाई टुलुटुलु हेरिरहेको थिएँ ।

अरु विद्यार्थीहरु कोही नोट कापीमा केही ल्यापटपमा त कोही ट्याबमा पढाइएको कुरा ध्यानपूर्वक नोट गर्दै थिए । विद्यार्थीले नोट गर्नु त स्वाभाविकै थियो चौथो सगुना हुँ भन्ने सिर्जनाले पनि मेरो सामुन्ने बसेर निकै ध्यानपूर्वक नोट गर्दै थिइन् ।

भित्तोको विशाल कम्प्युटर स्क्रिनमा सुबोध सरले जनसङ्ख्या शिक्षाको परिचय दिँदा विभिन्न विद्वानहरूको परिभाषा सापट लियो । विश्वमा यतिखेर जनसङ्ख्या यति पुगेको छ, भर्खरै कति जन्मिए, यति मरे, यति मरेकामध्ये कोरोनाकै कारणले मर्ने यति छन्, जनसङ्ख्या वृद्धिको चाप  यो यो देशमा यति यति छ । जनसङ्ख्या वृद्धिको कारण के हो प्रभाव के हो भन्ने सम्बन्धमा नेपाल लगायत विश्वका अलग अगल देशका अलग अलग उदाहरण दिँदै उसले निर्धक्क पढाइरहेको थियो ।

जुन कुरा मेरो जानकारीमा आजसम्म आएकै थिएन, जुन कुरा मेरो सीमित दिमागमा अट्दै अट्दैनथ्यो त्योभन्दा धेरै गुणा बढी कुरा मेरै प्रतिरुपले अगाडि उभिएर भट्याइरहेको थियो । मेरो क्रियटिभ लेसनप्लान मेरै नोटबुकको बीचमा खापेको थिएँ । त्यस लेसनप्लानमा त आधाको आधा सूचना पनि थिएनन् । मैले जान्दै नजानेका कुरा आफ्नै प्रतिरुपले विद्यार्थीलाई सविस्तार पढाएको देख्दा म कायल परिरहेको थिएँ । अत्यन्तै सीमित कुराको जानकारी दिँदै आफैले पढाएको भए के हुन्थ्यो होला भनी म औधी शर्माइरहेको थिएँ ।

कक्षाकोठाको शिक्षण विधि हेर्दा द्वितर्फी सञ्चार भैरहेको थियो । विद्यार्थीहरुले भकाभक जिज्ञासा राखिरहेका थिए । सुबोधले विभिन्न उदाहरण दिँदै जवाफ फर्काइरहेको थियो । सुबोधले प्रश्न गर्दथ्यो । विद्यार्थीले तत्कालै जवाफ दिएको आवाज घन्कन्थ्यो ।

तर मैले जब विद्यार्थीतिर दृष्टि दिन्थेँ । कसैले पनि जिज्ञासा राखेको वा जवाफ दिएको प्रतिक्रिया देख्दैनथेँ । विद्यार्थीहरु त हलचल नगरी हेरिरहेका थिए र सुनिरहेका थिए । जवाफ फर्काउने अवसर नै पाएका थिएनन् । उसोभए स्क्रिनमा प्रतिध्वनित हुने स्वर कसको थियो त ?

मेरो प्रतिरुप सुबोधले एकजना विद्यार्थीलाई सोधिहाल्योः “बुझ्यौ निकेतन ?”

मेरो बाँया छेउमा मसँगै टाँसिएको विद्यार्थीको नाम ‘निकेतन’ रहेछ । सुबोधले सोधेपछि ऊ अलिकति चलमलाएको चाल पाएँ । उसले के जिज्ञासा दिन्छ भन्ने कौतुहलता जागेकोले मैले तुरुन्त उसको ओठ निज्याइहालेँ । उसले ओठ खोल्न भ्याएकै थिएन, स्क्रिनमा उसको स्वर घन्किसकेको थियोः “बुझेँ सर !”

यस स्कूलको वास्तविक सुबोध सर, जो पछिल्लो बेन्चमा बसेर सारा गतिविधि नियालिरहेको थिएँ, मलाई मेरो छेउको विद्यार्थीको नाम थाहै थिएन । उसको नाम अवास्तविक सुबोधलाई जानकारी भैसकेछ ।

अरु विद्यार्थीजस्तै सिर्जना मिसले नोटकापीमा केही कुरा टिपेको टिपेई थिइन् । मैले जिज्ञासापूर्वक आफ्ना जासुसी आँखा उनको नोट कापीमा पुर्‍याएँ ।

उनको कापीमा जे देखेँ त्यसले मलाई पुनः निकै झाङ्गलझुङ्गल पारिदियो ।

म अलमिइरहेको बखत सुबोध सरले आफ्नो पढाइ सकाउँदै विद्यार्थीहरुलाई धन्यवाद दियो र ऊ स्क्रिनबाट अलप भैहाल्यो । तुरुन्तै सगुना नै स्क्रिनमा उपस्थित भई र मैलाई हेरेर मिठो स्वरमा सोधीः “बुझ्नुभयो त सुबोध सर ?”

मैले के जवाफ दिऊँ भनी सोच्न भ्याएकै थिएन मेरो स्वर स्क्रिनमा प्रतिध्वनित हुँदै कोठामा घन्कियोः

“मैले त केही पनि बुझिनँ मिस !!!”

आफूले पढाउनै नपरी आजको एउटा क्लास सित्तैमा सकिएको थियो । क्या आनन्द !

भर्खरै सकिएको क्लासमा मेरो शरीरको संरचना, मेरो स्वर तथा मेरो हाउभाउलाई कपि पेस्ट गरी अर्कै सुबोध सर तयार गरिएको रहेछ । विभिन्न इन्साइक्लोपेडियाबाट सूचनाहरु कपि गरी कृत्रिम सुबोधको कृत्रिम दिमागमा भरिएको रहेछ ।

एक मनले भन्योः “आऽऽ टन्टै साफ ! आफूले शिक्षण अभ्यासको दुःख नै नउठाई अर्कैले पढाइदिएर खुरुखुरु आफूलाई तलब झर्छ भने भैगो नि !” अर्को मनले भन्यो: “होइन, मेरो नितान्त निजी स्वामित्वको कुरालाई तोडमरोड गरेर दुरूपयोग गरिनु कदापि जायज होइन । मैले प्रिन्सिपलसँग यस विषयमा कम्प्लेन गर्नुपर्छ ।”

यस्तै कुरा खेलाउँदै म अफिस रुमतिर हानिँदै थिएँ ।

“त्यता होइन सर, यता, यता !”

“कता ?” म झस्किएँ । मलाई बोलाउने पाँचौँ कक्षाकी सगुना थिई । उसले औँल्याएतिर मेरा नजर डोरिए । अरु शिक्षकहरु लाम लागेर हतारहतार त्यतै गइरहेका थिए । म अनायास सगुनाको पछि लागेँ । हामी एउटा फराकिलो ढोकाको सँगार पार गर्दै अगाडि बढ्यौँ । त्यो बडेमानको सिनेमाजस्तो हल थियो । फोल्डिङ कुर्सीहरु लहरै मिलाएर अगाडिदेखि पछाडिसम्म मिलाइएको । बिचमा पछिल्तिर जाने बाटाहरु । अघिल्तिर होचो भाग पछिल्तिर उँचो हुँदै गएको । अघिल्ला कुर्सीहरूजति विद्यार्थीहरूले ढाकिसकेका थिए ।

“तपाईँ सबैभन्दा पछाडिको लहरमा जानुहोस् !”

“जाऊँ न सँगै पछिल्तिरै । सँगै बसे के बिग्रिएला र ?”

“होइन । शिक्षकहरु पछिल्लो लहरमा बस्नुभएको छ । बिचमा विद्यार्थीहरु । शिक्षण सहजकर्ताको लहर अघिल्लो हो । सुरुमै मेरो प्रिजेन्टशन छ । प्रत्येक प्रिजेन्टशनको बिचमा इन्टर्भल हुनेछ । नबुझेका कुराहरु मनन गर्नुहोला जवाफ तुरुन्त पाउनुहुनेछ । छिटो पछाडि जानुहोस् झ्यालहरु बन्द भए भने अन्धकार हुनेछ र तपाईँ बिचमै अलमलिनुहुनेछ ।”

सगुना अघिल्लो खाली कुर्सीमा बसिसकेकी थिई । उसको आदेश स्विकार गर्दै म पछिल्लो लहर खोज्दै सर्न थालेँ । पछिल्लो लहरमा शिक्षकहरु पहिल्यै बसिसकेका थिए । मैले रिक्त सिट ग्रहण गर्नेबित्तिकै हलका सबै झ्यालहरु बन्द भए । हलभित्र बचेखुचेको जम्मै उज्यालो अन्धकारले निलिदियो । मेरो अघिपछि दायाँबायाँ कसैलाई देख्न सकिनँ । कालो भित्तोमा दायातिरबाट निला अक्षरहरु साङ्ले कीराजस्तै देब्रेतिर दौडिएः “You are In the 22nd Century !”

अक्षरहरू गायब हुनेबित्तिकै चर्को आवाजसहित अगाडि भित्तातिर फिलिमकोजस्तो पर्दा खुल्यो । पृष्ठभूमिमा एरपोर्टजस्तै समथर भाग देखियो । त्यहाँ लामो यात्रामा निस्कनको लागि ठूलठूला झोला बोकेर तँछाडमछाड गरिरहेका अनगिन्ति मान्छेहरुको कल्याङमल्याङसहितको झुण्ड देखापर्‍यो । मेरो टाउकोमै ठोक्किएलाझैँ गरी पछिल्तिरबाट अन्तरिक्ष यानजस्तो वस्तु हुत्तिएर मान्छेको झुण्डको बिचमा गएर रोकियो । मैले पछाडि फर्किएर हेरेँ । पछिल्तिर अनेकौँ यानहरु गाढा निलो आकाशमा कावा खाइरहेका थिए ।

मैले आफूलाई सम्हाल्न कोशिस गर्दै यताउता हेरेँ । मेरो वरिपरि कोही पनि देखिएन । म त ती कल्याङमल्याङ गरिरहेका अनचिनारु मान्छेहरुको रमिता हेर्दै एक छेउमा एक्लै बसिरहेको थिएँ ।

मैले एकछिन अगाडिको घटना सम्झन प्रयत्न गरेँ । म सगुनासँगै भित्र पसेको थिएँ र पछिल्लो लहरमा पुगेर बसेको एक मिनेट पनि बितेको थिएन । सगुनासँग भित्र पसेको स्मृति नै भ्रम थियो जस्तो लाग्न थाल्यो । थ्रि डि फिल्मले सिर्जना गरेको भ्रममा परेको हुँला भनी चित्त बुझाएँ ।

कल्याङमल्याङ गरिरहेका मान्छेमध्ये केहीलाई लिएर यान फुत्त उड्यो । मेरा नजरले त्यसलाई आकाशमा पछ्याउने कोशिस गरे तर सकेनन् । बरु दिउँसोको आकाशमा पनि चम्किरहेका ताराहरु देखा परे । राम्रोसँग निज्याएर हेर्दा रिकापिजस्ता चिजहरु घुमिरहेका देखिए । के होलान् तिनीहरु भनेर अच्च्म्भ मान्दै थिएँ । तिनीहरु सरररर उड्दै मेरा आँखा नजिकै आइपुगे । ती त आकाशमा झुलिरहेका बगैँचाहरु रहेछन् । व्यवस्थित रुपमा गोडमेल गरिएकाजस्ता तरकारी तथा अन्नका ब्याडहरु देखिए । तरकारीको बोटमा अन्न फलाइएको थियो भने अनाजको बोटमा तरकारी पनि । डिपार्टमेन्टल स्टोरहरु पनि आकाशमै चङ्गाजस्तै घुमिरहेका देखिए ।

म त्यो दृश्य देखेर मुख बाउँदै थिएँ कसैले मेरो नजिकै आएर सोध्योः “जाने हो दाइ ?”

“कहाँ ?” भन्दैं मैले आवाज आएतिर फर्किएँ,

“अमेरिका !” पखेट्टा भएको एउटा चालकविहीन कार मेरो छेउमै रोकिएको थियो । मैले केही भन्न नपाउँदै कार अघिल्तिर बतासियो ।

अर्को उस्तै कारले फेरि सोध्योः “दक्षिणी सुडान जाने भए म हाजिर छु ।”

म त आफू नै कहाँ छु भनी अकमकिइरहेको थिएँ । के जवाफ दिनसक्थेँ ? ऊ पनि उसरी नै मबाट चिप्लिएर गयो ।

एक निमेषमै अर्को आइपुग्योः “अन्टार्कटिका ! अन्टार्कटिका !!”

सितिमिति मान्छे पुग्न नसकेको ठाउँ हेरिहालूँ न त जस्तो लाग्यो र भनिदिएँ, “जाने ! जाने !”

ढोका खुल्नेबित्तिकै म उचालिएँ र आरामदायी सिटमा गजक्क बसालिएँ ।

मनले गोजी छामी हेर्‍यो भाडासाडा फुटेको कौडी पनि छैन त !

“चिन्ता नलिनुस्, यो पैँसाको युग होइन । यात्राको आनन्द लिनुहोस् । यात्रा भाडा तपाईँको वार्षिक परिश्रमबाट अटोमेटिक कटिन्छ ।” बोल्यो कार । कारमा मबाहेक कोही पनि छैन । अरू को बोल्यो भन्ठानूँ म ?

कारले दुई सेकेनमै सिनामङ्गल कटेपछि तीनकुने हुनुपर्छ, हजारौँ थरीका गाडीमोटर हुँइकिरहेको विशाल मार्ग भेटियो ।

“कहाँ आइपुगेँ म ?” अच्चम्भित हुन नपाउँदै कारभित्रको डिजिटल प्लेटमा राता अक्षरहरु प्लिक प्लिक गरेः “World Hihgway-WHW91”

‘केले चल्छ होला यो कार डिजेल सिजेलले चल्नेजस्तो त छैन ?’ सोच्यो मनले,

“By Light Fuel !”

“हलुका इन्धन हो ?” प्रतिप्रश्न गर्‍यो मनले

“प्रकाश इन्धन !”

“एऽऽ उही सोलार सिस्टम पो रैछ ।” सोचेँ मैले

“सोलार सिस्टम पुरानो प्रविधि भैसक्यो । यो सौर्य परिवार पारिको अर्को ताराको लाइट सिस्टम हो । अर्को ताराबाट उत्सर्जित हुने लाइटबाहेक अन्य तत्त्वबाट पनि अटोमोबाइल्स चल्छन् तर त्यो इन्धन अलि महङ्गो छ ।” उसरी नै जवाफ दियो ।

“मेरै पालामा नेपाली भाषा बोल्ने कार परेछ !” सोचेँ मैले ।

“होइन । भाषाको जमाना समाप्त हुँदै छ । तपाईँ र मबीच अहिले मननबाटै संवाद हुँदै छ । मैले व्यक्त गरेको भाषा नेपाली नभई संकेत भाषा हो । जुन भाषी यस कारको यात्री बन्छन् संकेत भाषालाई त्यही भाषामा अटो डिकोडिङ भएर अर्थ्याइन्छ ।”

पाँच मिनेट नबित्दै हामी दुईतीनवटा सुरुङ पार गरेर निकै ठूलो बजारमा आइपुगेका थियौँ । अगाडिको कारलाई ओभरटेक गर्दा र चोकमा दायाँबायाँ क्रस गर्दा हाइवेमा एकनाशले हुँइकिरहेका कारहरु भुर्र उडेर खालि ठाउँ ओगट्न पुग्दथे । अर्को कार ठोक्किन थाल्दा स्वचालित रुपमा ब्याक हुन्थे । अन्टार्कटिका पुग्ने लहड बोकेको यात्रीलाई बिनाचालकको कारले कहाँ ठोक्काएर परमधाम पुर्‍याइदिन्छ भन्ने तर्सोले म आत्तिरहेको थिएँ ।

“दुर्घटनाको एकरत्ति पनि सम्भावना छैन, नआत्तिनुस् !” भनी उसैले कारको सिस्टमको बारेमा बेलिबिस्तार लगाइरहेको थियो । सूचनाहरु घरी आवाजमा त घरी डिजिटल प्लेटमा अङ्कित भएर पाइरहेको थिएँ ।

पहाडी भेकमा निकै झिलिमिली बजार देखेपछि कुन ठाउँ होला भनी म अकमकाएँ ।

“जिरी हो ।” आवाजसँगै कार कागजस्तै भुर्र उड्यो र लामवद्ध उडिरहेका अरु सयौँ कारहरुसँगै आकाशिन थाल्यो ।

“यो त उड्ने कार पो रैछ त ! पैले नै किन नउडेको होला ?” भन्यो मनले ।

“इन्धन बचत, थलगत दृश्यावलोकन आदि थुप्रै फाइदाका कुरा छन् !” भन्यो उसले ।

मैले तिब्र गतिमा उडिरहेको कारबाट बाहिरतिर हेर्न थालेँ । बाहिरतिर हरियाली शून्यप्रायः थियो । कङ्कृट सहर बजारहरु र सुख्खा पाखाहरुले जमिन ढाकिएको थियो । डाँडापाखा, फाँट, जताततै आधुनिक सडक र गगनचुम्बी महलहरु ठडिएका थिए । खाली ठाउँमा जताततै मान्छेहरुको कमिलाजस्तो ताँती देखिन्थ्यो । मैले जिब्रो टोकेँः “आब्बुइ !! कति धेरै मान्छेहरू ?”

“ती सबै मान्छे मात्र होइनन् । आधाआधी त यन्त्रमानवहरू हुन् । मान्छेले गर्ने हरेक कामहरू छिटोछरितो, सजिलो र व्यवस्थित तरीकाले यन्त्रमानवले नै गर्दछन् । त्यसैले बाइसौँ शताब्दीको विकासको गति तिब्र हुन पुगेको हो । अहिले पचास प्रतिशतजति बेरोजगार मान्छेहरू बेरोजगारी भत्ताको भरमा बाँचेका छन् ।”

‘बस्तीजति जम्मै सुख्खा देखिन्छ । नदीहरु सुकेर पहेँला बगरमा परिवर्तित भएका छन् । के खान्छन् होला यति धेरै मान्छेहरुले ?’ मेरो मनले जिज्ञासा पोख्यो ।

मैले सोचिनभ्याउँदै कारको डिजिटल प्लेटमा सूचना प्राप्त भैहाल्योः “भिटामिन, प्रोटीन तथा क्यालोरीले भरिपूर्ण क्याप्सुल चुस्छन् । शक्ति पनि दिन्छ । धेरै दिनसम्म भोक पनि मेटिन्छ ।”

एकैछिनमा मेरो कार निक्कै कालो अग्लो पहाडको माथि माथि उड्न थाल्यो ।

“कुन पहाड होला यो ? इन्डियको कालापहाड या नङ्गा पर्वत त पुगेनौँ हामी ?”

“होइन । त्यो त खुम्बु हिमाल श्रृङ्खला हो । त्यो ल्होत्से । त्यो सगरमाथा । त्यो मकालु । ऊ त्यो कञ्चजङ्घा । हिउँजति पग्लिएर सकिएपछि हिमालय श्रृङ्खला नङ्गा पहाडमा परिवर्तन भैसक्यो ।”

“ओहो ! कस्तो दुर्भाग्य !” मेरो मन निकै कटकटी खायो ।

हामी निकै आकाशिएका थियौँ । आकाशे खेती र बतासे बजार पनि मेरो सन्मुख आइपुगेका थिए । ‘एउटै बालीमा सबै प्रकारको भिटामिन तथा खनिज पदार्थ पाइँदो हो ।’

“त्यति मात्र होइन वनस्पतिमा मांसजन्य पदार्थ र पशुपन्छीको आङमा वनस्पति पनि उमारिएको छ । हिड्ने वनस्पति र फुल्ने पशुपन्छी पनि आविष्कार भैसकेका छन् ।”

मलाई ताजुब लाग्नै छोड्यो । आफू २२ औँ शताब्दीमा छु भन्ने अनुभूत गरे अनौठो भन्ने केही बाँकी हुँदो रहेनछ ।

हामी केही क्षणमा नेपालको सिमाना कटेर अगाडि बढिरहेका थियौँ, ‘बङ्गलादेश हुनुपर्छ यो !’

“होइन । के को देश हुनु ? देशहरुको अस्तित्व त उहिल्यै समाप्त भैसक्यो । अहिले विश्वमा एउटा मात्र संसार नामको देश छ । एउटा मात्र शासन व्यवस्था छ । एउटा मात्र राष्ट्रपति छ । यो त बङ्गाल उपप्रदेश हो । बरु हाम्रो संसार देशभन्दा परका अन्य हजारौँ जीवधारी देशहरु पत्ता लाग्दै गएका छन् ।”

उहिलेको नाम पो बङ्गलादेश थियो भनी सोचेको थिएँ मैले । देश नै त कहाँ भनेको थिएँ र मैले पनि ?

हामी बङ्गालको खाडी नजिक पुगिसकेका थियौँ । म चढेको हवाइ कार लगायत सयौँ उड्ने कारहरू कर्‍याङकुरुङको बगालझैँ बेगबान गतिले दक्षिणतिर बत्तिन थाले ।

निकै तल खैरो तलाउ देखिन थाल्यो । तलाउ बिस्तारै रातो महासागरमा बदलियो । हिन्द महासागर भनेको लालसागरमा पो पुगियो कि ? निलो महासागर त कतै देखिन्न त हँ ?

“हिमालको हिउँजति पग्लिएएपछि र खोलानालाहरु सबै सुकेपछि मान्छेहरुले महासागरकै पानी पम्पले तानेर काम चलाउँछन् । महासागरमा मान्छेले विसर्जन गरेको ढलका नदीहरु मात्र आइपुग्छन् । त्यसको प्रभाव महासागरमा परेको छ । उहिलेका समुन्द्रकिनारका धेरै देशहरू डुबिसकेकोले अहिले अस्तित्वमा छैनन् ।इन्डिया समेत नेपालजत्रो भैसक्यो । “

“मान्छेको बीउ भुटिने समय नजिकै आएर हो कि ?”

“होइन होइन । मान्छेहरु जीवनको लागि संघर्षरत छन् । उनीहरू धेरै पहिलेदेखि हरित ग्रहको खोजीमा लागेका छन् । कति हरितग्रह त भेट्टिइसके र केही मान्छेले ती हरितग्रहमा बसाइँसराइ पनि गरिसके ।”

मेरो कारले गति कम गर्दै ओर्लिने लक्षण देखायो । लाग्यो हामी बीस मिनेट जतिमा अन्टार्कटीका महादेशमा प्रवेश गर्दै छौँ ।

“ठीक सोच्नुभयो तपाईँले । तर महादेश होइन है । एउटा सानु प्रदेश । अन्टार्कटिका प्रदेश ।”

मेरो नजरको अगाडि आधा खैरो समुन्द्र फैलिएको थियो । पारितिर निलो समुन्द्र पनि मधुरो मधुरो देखियो । परतिर हिउँका थोप्लाहरु पनि देखिए । खैरो समुन्द्रलाई पार गरेर कार एकैछिनमा निलो समुन्द्रको नजिक पुग्यो ।

समुन्द्रबिचका टापुहरुमा हरियाली भाग पनि देखियो । निकै समयपछि पृथ्वीको हरियो रुप देख्न पाउँदा मन आल्हादित भयो । टापुमा यताउता गरिरहेका र समुन्द्रमा तैरिरहेका पेन्गुइनको ताँतीले मन औधी लोभ्यायो ।

पेन्गुइनहरुको चालामाला राम्रोसँग हेर्ने धित नमर्दै कार निलो समुन्द्रबाट फर्केर फेरि खैरो समुन्द्रको माथि ढलपल गर्न थाल्यो ।

अन्टार्कटीकाका टापुहरुमा गगनचुम्बी महलहरु खडा थिए । जताततै मान्छेहरुको भीडभाड देखिन्थ्यो ।

‘एउटै भूगोलको एउटै सागरको आधा आधा भागको रङ फरक हुनुको कारण के होला ?’

“यताको खैरो भाग यस संसारका मान्छेहरुले कब्जा जमाएको भाग हो । उताको हरियाली र निलो भाग संसारबाहिरका मान्छेहरुले कब्जा जमाएको क्षेत्र हो । तपाईँले पेन्गुइन ठानेका वास्तविक पेन्गुइन होइनन् । ती त एलियन प्राणीहरु पो हुन् । पेन्गुइन लगायतका चराचुरुङ्गीहरु त उहिल्यै यो संसारबाट लोप भैसके ।”

हो त आकाश यात्रामा मैले एउटा पनि चरा नदेखेको ख्यालै गरिनछु ।

“संसार पारिका मान्छे कस्ता होलान् ? के वैज्ञानिक चलचित्रहरुमा देखाइएका जस्ता जनावरजस्तो अनुहार होला त ?”

मनमा खुलदुली जाग्दै गयो । मनगढन्ते थुप्रै प्रश्नको जवाफको प्रतीक्षामा थियो मेरो मन । उता हजारौँ उडन्ते कारहरुको जाममा फसेको थियो मेरो कार । मेरो मनकुराको जवाफ फर्काउन सकेन । पालो पाउनेबित्तिकै कारले अन्टार्कटीकाको चिल्लो सडकमा ल्याण्ड गर्न पुग्यो र सडक सञ्जालमा गति घटाउँदै कुद्न थाल्यो ।

अन्टार्कटिका आइपुगेर अर्कै ग्रहका प्राणी एलियनहरुलाई पनि देख्न पाइने भइयो भन्ने कौतुहलताले म औधी छट्पटाइरहेको थिएँ ।

स्वचालित कारको ढोका खुल्दै गर्दा सयौँ मान्छेहरुले मलाई घेरेर परररर ताली बजाएर मेरो स्वागत गरे । म यहाँ आइपुगेको देखेर एउटा हलमा जम्मा भएर कसैले हात हल्लाइरहेका थिए । कसैले सिटि मारिरहेका थिए । म अत्यन्तै रोमाञ्चित हुन पुगेँ र उनीहरूलाई हात हल्लाउन थालेँ ।

एकैछिनमा म यथास्थितिमा आइपुगेँ ।

अन्टार्कटीकाको मान्छेहरुले कहाँको मेरो स्वागत गर्नु ? त्यो त सगुनाको प्रिजेन्टेशनले सिर्जना गरेको भ्रमको कमाल पो रहेछ ! म त महाराजगन्जस्थित उही ग्रिनरोज स्कूलको एउटा हलमा पो रहेछु । सगुनाको प्रिजेन्टेशन सकिइसकेको थियो । हलका जम्मै झ्यालहरु खुलिसकेकोले हलमा उज्यालोले प्रवेश पाएको थियो । अगाडिका विद्यार्थीहरुले सगुनालाई घेरेर  बधाई दिइरहेका थिए ।

“गलत ! गलत ! गलत !! निकै झुटहरूले भरिपूर्ण वाहियात प्रिजेन्टेशन ! सगुना-५ ले भनेजस्तै २२ औँ शताब्दीमा त्यस्तो केही हुनेवाला छैन । ” अघिल्तिर एउटी केटी घोक्रो सुक्ने गरी चिच्याउँदै उफ्रिरहेकी थिई । मैले उसको अनुहार निज्याएँ । उही सिर्जना मिस थिइन्, उनी अगाडि भन्दै गइन्, “सगुना-५ ले तपाईँहरुको सामू निकै भ्रमहरु छर्न सफल भइन् । तपाईँहरुलाई यिनले पागलतुल्य बनाइदिइन् । तपाईँहरू शान्त रहनुहोस् । धैर्य गर्नुहोस् । उनको प्रदर्शनीको उचित जवाफ अब म दिनेछु ।”

उनको हाँकले हलको हल्लीखल्लीलाई कुनै बेर नलगाई सामसुम तुल्याइदियो । म पनि शान्त रहेजस्तो गर्दै सिर्जना मिसको अर्को प्रिजिन्टेशनको व्यग्र पर्खाइमा बसेँ ।

क्रमशः

 234 total views,  3 views today

Leave a comment

Your email address will not be published.


*