नन्दराम ! ‘तिमीलाई नयाँ वर्षको शुभकामना !’
‘शुभकामना’ नयाँ वर्षको तिमीलाई
मेरो शुभकामना तिमीलाई कस्तो लाग्छ ?
र
‘म’ तिमीलाई कस्तो लाग्छ ?
दुनियाँको उचाइ देखेका ‘ओ नन्दराम !’
एकताकाका मेरा अनन्य मित्र
भनिदेऊ प्लिज ! अरुले सुन्ने गरी भनिदेऊ
दुनियाँको सापेक्षिकतामा मेरो होचाइ वा उचाइको महत्त्व कति छ ?
मेरो वर्ण, रगत वा विष्टा कति शुद्ध वा अशुद्ध छ ?
मेरो भाषा, जाति, धर्म, लिङ्गको निकट कुन
सामाजिक राजनीतिक धार्मिक आर्थिक दर्शन पर्छ ?
त्यो दर्शन, सानीभेरी र सानचौरको सम्बन्ध कस्तो छ ?
त्यहाँसम्म कुन बाटो पुग्छ ?
लामो, छोटो, उकालो, ओरालो, सजिलो, अप्ठ्यारो कस्तो छ ?
त्यहाँबाट
हाम्रो सुख्ख र दुख्ख कस्तो र कुन रङको देखिन्छ ?
यहाँ सबभन्दा सुखी को ? र सबभन्दा दुःखी को देखिन्छ ?
सबभन्दा अग्लो को छ ? सबभन्दा होचो को छ ?
सुखानुभूतिको प्राप्तीको लागि गरिएका अनेक कसरतमा
सबभन्दा उचित कसरत कसको लाग्छ तिमीलाई ?
एकछिन अरु बाँच्नलाई
सबभन्दा असल ‘शुभकामना’ कसको लाग्छ, तिमीलाई ?
म तिमीलाई यही संसारमा भेट्न खोजेँ
तिमीसंगकाे अप्रत्यासित भेटमा तिम्रोसामू प्रस्तुत गर्न
अनेक कोशेली खोजेँ,
मैले तिमीलाई मन पर्ने कुनै कोशेली फेला पार्न सकिन
सरी, नन्दराम ! सरी,
तिमीलाई अब कुनै प्रकारको कोशेलीको दरकार छैन
म त त्यस्तै कोशेलीको खोजीमा भुक्तभोगी
न मैले आफन्त रिझाउन सकेँ
न मैले मेरो व्यवसायका मालिकहरु रिझाउन सकेँ
न मेरो मार्गमा जम्काभेट हुने यात्रीहरुलाई बुझाउन सकेँ
मैले बुझिन, ‘कसलाई, कति नम्बरको, कुन रङको कोशेली मन पर्छ ?’ भनेर
कुन दिन नयाँ हो ? र कुन दिन पुरानो हो ? केही हेक्का छैन मलाई
नयाँ र पुरानो दिनको साँधी कहाँनेर पर्छ ? मलाई थाहा छैन
तसर्थ उनीहरु सबै मदेखि रुष्ट छन्
उनीहरुको मन पगाल्न
अरुकै लहै लहैमा लागेर
र
अनेक हण्डर खाँदाखाँदै पनि ‘शुभकामना’ दिँदैछु तिनीहरुलाई
अनि तिमीलाई
‘नयाँ वर्षको शुभकामना !’
मैले सकिन !
नन्दराम, मैले सकिन !!
उत्कट चाह हुँदाहुँदै पनि तिमीलाई भेट्न सकिन !!!
तिम्रो यस पृथ्वीको अन्तिम श्वास फेराइमा,
र अहिले तिम्रो यादले पिरोलिरहेछ
त्यसैले औपचारिकताका गुलिया शब्द फ्याँक्न म कामना गर्दैछु
नन्दराम !
‘तिमीलाई नयाँ वर्षको शुभकामना !’
२०७२।०१।०१
चाँगुनारायण भक्तपुर