नदीराम केसी
साहित्यकार नदीराम के.सी. को जन्म २०२५ साल असार ८ गते बाँफीकोट गाउँपालिका वडा नं. ८ ।। साविकको दुली गाविस वडा नं. ६ पोखरामा भएको हो । बुबा रतु खत्री र आमा गौमी खत्रीका कान्छा छोरा के.सी. का दुईभाइ दाजु र दुई दिदी र १ बहिनी हुनुहुन्छ । साहित्यकार नदीराम केसीले त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट नेपाली विषयमा एमए पास गर्न भएको । शिक्षण पेसा आबद्ध केसीले विसं. २०४७ सालमा प्राथमिक विद्यालय दतकुना प्वाङ रुकम पश्चिमबाट प्राथमिक तहको शिक्षकको रुपमा नियुक्त भई आफ्नो शिक्षण कार्यकलापहरुलाई अगाडि बढाउन भएको थियो। पेसाकै क्रममा उहाँ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दुली पोखराको निम्न माध्यमिक शिक्षक, जनजागति मावि महतको नेपाली भाषा शिक्षक हुँदै हाल सिद्धार्थ माध्यमिक विद्यालय मग्मा रुकम पश्चिमको द्वितीय श्रेणीको शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
विसं. २०३२ तिर गाउँतिर पठनपाठनको सुविधा थिएन । निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका केसीको परिवारमा पठनपाठनतिर खासै चासो पनि थिएन । निजको भनाइअनुसार उहाँका बुबा आमा पनि उहाँलाई पढाउन चाहनु भएको थिएन । किनकि पढेर पछि के फाइदा छ भन्ने बारेमा उहाँहरुलाई जानकारी थिएन । तत्कालीन समयमा उहाँलाई बाल्यकालमा पठनपाठन गराउने शिक्षकहरु वीरभान पुरी, तुलसीप्रसाद शर्मा, भीउसन गौतमले अध्ययन कार्यमा लाग्नका लागि उत्प्रेरित गरेको कुरा स्वयम् केसीको स्वकारोक्ति छ।
केसीले उमेर छिप्पिएपछि मात्र विद्यालयीय शिक्षाका लागि प्रवेश गर्नु भएको थियो। पढाइका साथै केसी विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरुअन्तर्गतका साहित्यलेखनमा आकृष्ट हुनुहुन्थ्यो । कार्यक्रमहरुमा नदीराम केसी प्रच पृथम र द्वितीय स्थान प्राप्त गर्दै जाउन् भएको थियो । निजलाई साहित्यतर्फ आकर्षित गर्ने काममा तत्कालीन नेपाली भाषाशिक्षक गिरीप्रसाद भट्टराईको अतुलनीय योगदान रहेको थियो । निजबाट प्राप्त सूचनाअनुसार उहाँले साहित्य लेखनको आरम्भ विसं. २०४० सालदेखि गर्नुभएको थियो । लेखनकार्यलाई अगाडि बढाउने क्रममा विसं. २०४५ सालमा ओइलाइएका यी फूलहरु शीर्षकको कविता दाङबाट प्रकाशित हुने युगबोधमा छापिएको थियो । यो कविता नै केसीको साहित्ययात्राको पहिलो कृति हो।
साहित्यकार नदीराम केसी बहुमुखी प्रतिभाको रुपमा चिनिनु भएको छ । उहाँले विभिन्न प्रक्रियाबाट उपन्यास, कविता, यात्रासंस्मरण, गीत, गजल, मुक्तक पकाशित गर्नु भएको छ । उहाँका अहिलेसम्ममा प्रकाशित कृतिहरुमा विद्रोहको गीत (२०६४) उपन्यास, गपमाली गौतम वंशावली (२०७५) हुन् भने किसान उपन्यास, घसारी खण्डकाव्य, आफै बोल्छन् लाखौँ चिहानहरु कविता संग्रह प्रकाशोन्मुख कृतिहरु हुन् । उहाँले अतितका पानाहरु संस्मरणात्मक लेख, फुटकर कविता, गीत, गजल, मुक्तक गरी करिब १०० जति रचनाहरु विभिन्न साहित्यिक पत्रिकाहरु, सामाजिक समालह, तथा अनलाइन पत्रिकाहरुमा प्रकाशित भएका छन् । साहित्यकार नदीराम केसीले राप्ती साहित्य पुरस्कार (२०५), कृष्णसेन इच्छुक साहित्य पुरस्कार (२०७४) र रुकुम साहित्य पुरस्कार २०७८ बाट सम्मानित हुनुभएको छ।
साहित्यकार केसी विश्वसाहित्यका महान् समाजवादी साहित्यकार म्याक्सिम गोर्कीबाट विशेष प्रभावित हुनुहुन्छ । त्यस्तै अन्तराष्ट्रिय स हित्यकार लुसुन, नेपाली प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा, मोहनविक्रम सिंह, मोहन वैद्य किरण, मोदनाथ प्रश्रित आदि साहित्यिक मान्यताहरुलाईअनुकरण गर्न चाहनुहुन्छ । प्रगतिशील विचारधारालाई अँगाली साहित्य रचना गर्न रुचाउने केसी राप्ती साहित्य परिषद रुकुमका संस्थापक अध्यक्ष, प्रगतिशील लेखक संघ रुकुमका संस्थापक अध्यक्ष, राप्ती साहित्य परिषद रुकुम पश्चिमका सल्लाहकार, जनसांस्कृतिक संघ, शिक्षक संगठन, लेखक संघ आदिमा आबद्धता जनाइसक्नु भएको छ ।
साहित्यकार केसीको साहित्यलेखनको मुख्य आधार क्रान्तिकारी चेत रहेको छ । साहित्यमा क्रान्ति उमार्न खोज्नु निजको महत्वपूर्ण प्रवत्ति हो । उहाँको साहित्यलेखन प्रगतिशील विचारधाराबाट अनुमाणित देखिन्छ । उहाँले साहित्यमा सामाजिक उत्थानलाई पनि प्रश्रय दिनुहुन्छ । वर्गीय मुक्ति तथा उत्पीडित सर्वहारा श्रमजीवी वर्गका पक्षमा साहित्यिक आवाज उठाउनु उहाँको मुख्य उपलब्धि हो । निम्न मध्यम वर्गीय समाजलाई उत्थानका लागि सदा वकालत गरेर नथाक्ने केसीले गद्य र पद्य दुबै स्वरुपमा साहित्यको रचना गरिसकेका छन्। उहाँको लेखनयात्रा अथक रुपमा अगाडि बढिरहेको छ । साहित्य रचनामा केसीको कलम परिपक्व छ । सरल र सम्पेष्य भाषामा रमाउँदै जनसाधारणलाई साहित्यिक आस्वादन गराउन सक्नु साहित्यकार केसीको साहित्यिक योगदान हो । आगामी दिनमा निजको साहित्यिक यात्रा अविरल रुपमा अगाडि बढिरहोस् । साहित्यले समाज रुपान्तरणको मार्गचित्र तयार गर्न सकोस् । शुभकामना । धन्यवाद
कमप्रसाद देवकोटा