कवितागद्य कविता

द्वाँदाहरु

“ह्याँ छाप ला” उसले हकार्‌यो

“काँ लाऊँ हजुर ?” यसले अनभिज्ञता प्रकट गर्‌यो

“द्वाँदा ! यी ह्याँ” उसले विज्ञता प्रकट गर्‌यो,

उसले देखाएकैनेर यसले ल्याप्चेछाप मारिदियो

त्यो कागज कुनै तमसुक, चेक वा चुनावको मतपत्र

वा अमूल्य अधिकारपत्र थियो होला,

होओस् !

यसलाई पटक्कै खेद छैन,

परवाहै छैन, किनकि

उसलाई केही थाहै छैन,

थाहा छ त यति मात्र :

मालिक निष्कपट र दयावान छ ।

अनजानमा छाप लाउँदालाउँदै

ल्याप्चे छापवाला यो

कुनै दिन हरिकङ्गालमा दर्ज हुनपुग्यो,

परिणामत :

कैयौँ छाक भोकभोकै रह्यो

र एकदिन उही मालिकलाई गुहार्न पुग्यो :

“प्रभू यो गरीबलाई

एक छाक कृपा दान होस्”

“तँ मेरो लागि केही कामको छैनस्” उसले आफ्नो जात प्रदर्शन गर्‌यो

“जहाँ भन्यो त्यहीँ छाप लाउँदै आ’को छु हजुर” यसले विगत स्मरण गर्‌यो,

“हा! हा! हा! हा! हा! हा! हा! हा! हा!

द्वाँदा ! छाप मूलाको कुनै मूल्य हुने भैदिए

छापैछापको खेती गर्ने थिएँ,

छापैछापको उद्द्योग चलाउने थिएँ र

प्रति छाप एक सुक्कामा मात्र बिक्रि गरी

अर्बौँको मालिक बन्न सक्ने थिएँ,”

उसले भुलिसकेको थियो

सम्पन्न विपन्न जो जेसुकै होओस्

यसको र उसको छापको मूल्यमा कत्ति अन्तर छैन

उसको छाप यसलाई कहिल्यै काम लागेको पनि छैन र

यथार्थ त यस्तो थियो

उसलाई मालिकको जात प्रदर्शन गर्न योग्य तुल्याउने

यसकै छापको कमाल थियो ।

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *