दोस्रो खेलाडी
बिहानै मोबाइलको कलिङ घण्टीसंगसंगै निर्वाचन अधिकारी टंक गौतमज्यूबाट चियाको लागि निम्तो आयो । उहाँसंग पुष्पलाल चोकमा मेरो भेट भयो । कुनै एक रेष्टुँरामा पस्ने उहाँको प्रस्तावको सट्टा मैले पसलको चियाभन्दा बसाइ, स्वाद र मीतव्ययिताको हिसाबले श्रीमानकहाँ नै चियो खान उपयुक्त हुने सुझाव दिएँ ।
हामी गफिँदै अदालततिर लाग्यौँ । शुरुशुरुमा सामाजिकीकरण हुन अलिकति गाह्रो हुने अनुभूति गौतमजीले सुनाउनुभयो । मैले त्यस्तो कुनै गाह्रो मान्नु नपर्ने भनाइ राखेँ: “सोसलाइज हुने कला आफैले सिक्ने हो, यस कलामा तपाईँ कमजोर हुनुहुन्छ जस्तो लाग्दैन । यसै त यहाँका स्थानीय कर्मचारीहरुसंग काम गर्न अन्यत्र जिल्लाको तुलनामा अत्यन्तै सहज छ, त्यसैमा बाहिर जिल्लाबाट यस जिल्लालाई कर्मस्थल बनाएर आउने सबैवजसो कर्मचारीहरु झनै सरल र मिलनसार भएकोले छिट्टै सोसलाइज हुन सकिन्छ । रुकुम जिल्लामा काम गर्न आउने कर्मचारीहरु पहिलो पटक प्रवेश गर्दा डराइ डराइ आउने र यहाँ रहँदाबस्दा जिल्लाको माटोसंग प्रगाढ आत्मीय साइनो लगाइ जाने गरेको यथार्थता नयाँ होइन ।
“यस जिल्लामा हाल कार्यरत जिल्ला हाँक्ने कर्मचारीहरुको गुण, क्षमता र व्यवहार हेर्दा आगामी दिनको एक अवधिलाई जिल्लाको न्याय, शान्ति र विकास हिसाबले स्वर्ण अवधि माने हुन्छ । प्रतिभा, न्यायोचित व्यवहार र मिलनसारितामा अब्बल दर्जाका न्यायाधीश, समाज सुधारको चिन्तन गर्ने प्रजिअ, स्थानीय माटो सुहाउँदो विकासको सपना साकार पार्न प्रतिबद्ध एलडिओ, कर्तव्यलाई नै अर्जुनदृष्टि तुल्याउने प्रनाउ, शिक्षा क्षेत्रमा नविन सोच राख्ने जिशिअ आदि अग्रणीहरुको यी सबैको कुशल संयोजन, कार्यसम्पादनको सिलसिलामा समन्वय र सौहाद्रताको अनुपम उदाहरण सायदै अन्य जिल्ला वा अन्य कालमा खोजेर पाइएला ।”
हामी यस्तै गफ गर्दै श्रीमान हेमन्त रावलज्यूकहाँ पुग्यौँ र श्रीमानसंगै पुदिनाको चिया पियौँ । पुदिनाको चटनीको स्वाद त बाल्यकालदेखि नै थाहा थियो, तर पुदिनाको चियाको स्वादिष्टताको अनुभूति अद्यापि गर्न पाइएको रहेनछ । पुदिनाको चटनीभन्दा पुदिनाको चियाको स्वाद अत्यन्तै मीठो लाग्यो मलाई ।
फेरि हामी गफिँदै प्रजिअज्यूको ब्याडमिन्टन कोर्टतिर लाग्यौँ । एकातिर श्रीमान तथा राअअ डिएसपि र अर्कोतिर प्रजिअ तथा सिंचाइ डिइको प्रतिस्पर्धा चल्यो, ब्याडमिन्टन खेलको । हामी खेल नखेल्ने कर्मचारीहरुले कोर्टबाहिरैबाट हुटिङ गर्यौँ । श्रीमानको टीमको हार भयो र हारे वापत त्यताको चियाको पैंसा श्रीमानले नै तिर्नुपर्ने भयो ।
मैले “ब्याडमिन्टन खेल र राष्ट्रिय राजनीतिको खेल उस्तै हो कि ?” भनी श्रीमानसंग जिज्ञासा राखेँ । उहाँलाई कुनै प्रश्न राखिदिनु मात्र पर्छ, त्यसको धित मर्ने जवाफको लागि तर्क, सिद्धान्त, नियम तथा यथोचित उदाहरणको धारा प्रवाह छुटिहाल्छ । यसै कारणले नै म ज्ञानको भोकलाई मेटाउने हेतुले विभिन्न निहुँले उहाँको सामिप्यताको अवसर खोजी गरिरहन्छु । त्यस्तै भयो आज पनि ।
उहाँले भन्दै जानुभयो । जे भन्नुभयो त्यसको सम्झना सायद मसंग यस लेख लेख्दासम्म आधाआधी मात्र बाँकी छ । जसलाई लिपिबद्ध गर्दैछु । उहाँले भन्नुभएको थियोः
“हो, शारीरिक तथा बौद्धिक खेलका धेरै जसो नियमहरु राजनीतिक खेलमा पनि लागू हुन्छन् । राजनीतिक खेलका नियमहरु मनोरञ्जनात्मक खेलमा पनि लागू हुन्छन् । यी नियमहरु एकअर्कामा अन्तर-हस्तान्तरणीय हुन्छन् । टीम स्प्रिटले मात्र खेल जितिने हो । टीम स्प्रिट र विजयबीच डाइरेक्टली पोजिटिभ कोर्रिलेशन हुन्छ । अर्थात टीम स्प्रिट जति कमजोर हुन्छ, त्यति नै पराजयको सम्भावना बढेर जान्छ । जब हार हुन्छ, अनि एकले अर्कोलाई दोष थुपार्ने काम शुरु हुन्छ ।
यो नियम खेल र राजनीतिमा मात्र होइन ब्यूरोक्रेसी सोसाइटी र अन्य सोसल अर्गनाइजेशनहरुमा पनि यही नियम लागू हुन्छ ।
टीम स्प्रिटमा टोली नेताको त खेल हारजितमा अहम भूमिका हुने भैहाल्यो नै, सामान्यतया दोस्रो खेलाडी अर्थात् उपनेताको भूमिका कस्तो छ भन्नेमा पनि खेलको जितहार निर्भर रहन्छ । हाम्रो जस्तो दरिद्र मानसिकताको बाहुल्यता भएको मुलुकमा विभिन्न प्रकारका हार बेहोर्नुको पछाडि यही तथ्य लुकेको पाइन्छ ।
जस्तो कुनै एक अफिसकै उदाहरण लिऊँ । प्रमुखपछिको सिनियर कर्मचारी र प्रमुखको सामान्यतया सम्बन्ध राम्रो हुँदैन । त्यही सिनियर कर्मचारीले नै आफ्ना प्रमुखका कामहरु गैरन्यायिक, गैरकानूनी, अव्यावहारिक, हास्यास्पद र शंकास्पद देखिरहेको हुन्छ । ऊ भन्छ:
“यही हाकिमकै कारणले अफिसको वातावरण बिग्रिरहेको छ । समयमा निर्णय गर्न सक्दैन । कर्मचारीहरुलाई अनुशासनमा राख्नै सक्तैन । नियम कानूनको कुनै ज्ञानै छैन । सयथरी नेताहरुको चाकडी गर्नाले हाकिमलाई फूर्सद नै छैन, अफिसको काम कसरी गरोस् विचरा ।”
कोही सेवाग्राही आउँदा गर्न नमिल्ने काम भए भनिहाल्छ, “जाऊ, हाकिमलाई म भन्दिन्छु, यो काम त सजिलै बनिहाल्छ नि ।” जब सेवाग्राही हाकिमबाट काम बन्न नसक्ने भएपछि रुष्ट भएर फर्किन्छ, अनि उसैलाई उचालिदिन्छ, “देख्यौ ? गर्यो त यसले काम ? म भए सजिलै गरिदिने थिएँ । के गर्नु अधिकार प्रत्यायोजन नै नगरी मुठ्ठीमै राख्न खोज्छ ।”
केही काम दिँदा भन्छ: “मलाई मात्र काम अह्राउन खोज्छ, साले । खुब पेल्न खोजेको होला नि । म पनि यो काम त्यत्तिकै थन्क्याएर राखिदिन्छु । मैले काम गर्ने, उसले जस पाउने ? मेरो के बिग्रन्छ ? काम नभए त्यही नै जिम्मेवार हुने हो” र दिइएको काम थन्क्याइदिन्छ । अनि अरु कर्मचारीलाई पनि उक्साउँछ, “किन मरीमरी काम गरेको हो तिमीहरुले ? पुरस्कार पाउने आश होला । यत्रो पाउँछौ पुरस्कार यसबाट ! भनेको बेला विदा पायौ ? मागेको केही सुविधा पायौ ? अनि यति बिघ्नहत्ते किन ? छाड्देऊ कामसाम ।”
केही काम नदिँदा भन्छ: “सब काम आफै गर्न खोज्छ । मलाई त विश्वास नै गर्दैन । सब लुटुपुटु आफैले पार्नलाई होला नि । कहाँको बदमाश ! अख्तियारमा हालिदिनुपर्छ अनि पाउँछ स्वाद ।”
यसरी बिदा स्वीकृति नगर्दा आगो हुन्छ, सुविधामा कम भयो भने हातपात गर्नै बेर लाउँदैन ।
जब कार्यालय प्रमुख उसैलाई निमित्त छाडेर विदामा बस्छ । अनि भन्छ: “अप्ठ्यारो परेको बेला त मलाई नै मुखमा पार्ने हो नि ।” सेवाग्राहीलाई सेवा पुर्याउन नसक्दा भन्छ: “उतिबेला नियम यति कडा थिएन, अहिले नै नियम कडा पारे माथि बस्नेहरुले । न सुविधा दिन्छन्, न अख्तियारी थप्छन् । पहिलेकै हाकिमले लथालिङ्ग छाडेका काम सुधार्नैमा समय बित्छन् कुनै नौलो काम गर्नै पाइएन ।”
यो उदाहरण अफिसको दिएको मात्र हो । सरकार र प्रतिपक्ष हेर्नुस् । कुनै समितिका अध्यक्ष र उपाध्यक्ष हेर्नुस् । मन्त्रालयका सचिव र सहसचिव हेर्नुस् । पहिलो र दोस्रो खेलाडीबीच सम्बन्धको अन्तर जति फराकिलो देखिन्छ, तिनीहरुको संगठनको अवस्था पनि त्यति नै पराजयको नजिकको संघारमा पुगेको हुन्छ ।”
श्रीमानले यति भन्दा हामी सबैले मन्त्रमुग्ध भै सुनिरहेका थियौँ । उहाँको वक्तृत्वकलामा पनि आकर्षण हुन्छ । उच्चारित वाक्यका प्रत्येक शब्दहरुको अर्थ हुन्छ । प्रत्येक वाक्यमा तर्क रहेको हुन्छ र प्रत्येक तर्कमा समुचित न्याय पनि हुन्छ । उहाँको संगतमा रहेदेखि कुनै वाक्य फाल्तू पाएको छैन मैले । फाल्तू जस्ता लाग्ने तर्कमा विशुद्ध मनोरञ्जन हुन्छ ।
उहाँले यो उदाहरण अपवाद बाहेक भन्दै दिनुभएको थियो ।
मैले मनन गरेँ, मेरै अफिसका मपछिका दोस्रा खेलाडी यमजी भने यो उदाहरणको अपवादमै पर्दछन् । वास्तवमा उनकै सहयोग, सदभाव र लगनशिलताले नै मैले आजसम्म अफिसको कुनै पनि कामको अपजस भोग्नु परेको छैन । दोस्रो खेलाडीको सुझबुझले गर्दा नै मैले आफ्नो कार्यकाल सफल भएको अनुभूति गरेको छु । साँच्चिकै खेल सफल हुनु नहुनुमा दोस्रो खेलाडीको अहम् भूमिका हुँदोरहेछ ।