देख्नु भै, पैरनु भैनै कर्णालीका जल ।।
काफल डाली भरेलीए चोर्थे डाली लै लै
आफू तोला एउटै गाउँमा, भेट हुँदैन कैलै ।
काचो छाम्नु, पाको छाम्नु, तिजु माजा फल
देख्नु भै, पैरनु भैनै कर्णालीका जल ।।
उल्लेखित दुई लहर गीतमध्ये पहिलो लहर आँफैले सुन्दै आएको र अर्को लहर गीत करिब दुई हप्ता अगाडि मित्र दिवाकर खनालज्यूले फेसबुक वालमा पोष्ट गर्नुभएको थियो । एकजना मित्रले हिजो मात्रै ‘मध्य तथा सुदूर पश्चिमेली लोक-साहित्यलाई मुलुकका बाँकी भागहरुमा पुर्याउन फेसबुक भित्तामा पोष्ट गरेर मात्र नहुने सो को अर्थ पनि लगाएर बुझाउनुपर्ने’ सुझाव दिनुभएको थियो । साहित्यिक रचनाको एउटै अर्थ नहुन सक्छ, व्यक्ति-व्यक्ति, सम्वद्ध घटना, देश, काल, परिस्थिति अनुसार भिन्नाभिन्नै रुपमा यसको अर्थबोध गरिन्छ ।
जस्तो कि उल्लेखित गीतका लहरहरुलाई यसरी पनि अर्थ्याउन सकिन्छः
एकजना युवकको अर्कै गाउँकी युवतीसंग मायाँ बस्न पुग्छ । उसले आफ्नो मायाँ यति गाढा भएको अनुभूति गर्छ कि ‘चैतबैशाखमा हाँगाभरि फलेको काफल’संग आफ्नो मायाँलाई तुलना गर्दछ । काफल फल्ने समय अघिपछि पनि काफलको खँदिला र सदा हरियो रहिरहने पातले पनि काफल फलेकै जस्तो दृष्टिभ्रम पैदा गरिदिन्छन् । त्यसैगरी त्यस युवकले आफ्नो मायाँलाई काफलको डालीसंग र अरुको मायाँलाई चुथ्राको तुलनात्मक रुपमा धेरै हल्का डालीसंग तुलना गर्दै भन्छः “काफल डाली भरेलीए, चोर्थे डाली लै लै ।”
एकदिन यही दृष्टिभ्रम पालेर ऊ आफ्नी पृयसीको गाउँमा आइपुग्छ । तर, हुनसक्छ उसको घर नचिनेर वा घाँसपात गर्ने पाखोपखेरो नचिनेर वा जातीय वा भाषिक वा वर्गीय वा अन्य कुनै अदृश्य कठिनाइको कारणले ती प्रियसीसंग भेट गर्ने अनेकौँ प्रयास गर्दागर्दै पनि ऊ भेट गर्न असफल हुन्छ । आफूले मायाँ संगालेर कति धेरै राखेको थियो भनी आफ्नी प्रियतमसंग अभिव्यक्त गर्ने जुन उत्कट प्यास जागेको थियो त्यो अतृप्त रहन्छ । अतः आफू टाढाको गाउँबाट मायालुको गाउँमा नै भेट गर्न आइपुगेको तर भेट हुन नसकेको खबर कतैबाट आफ्नी मायाँलुले थाहा पाओस् भन्ने हेतुले उसले लामो सुस्केरा हाल्दै भन्छः “आफू तोला (प्रियतम्) एउटै गाउँमा, भेट हुँदैन कैलै ।”
ऊ यसरी आफ्नी प्रियतमसंग मिलनको लागि भौँतारिरहेको बखत त्यसै गाउँको अर्को साथीसंग भेट हुन्छ । उसले आफ्नी प्रियसीको हालखबर उसैबाट सुन्न चाहन्छ । तर त्यस साथीले भन्छ कि ‘उसले त त्यो गाउँ छाडेर अन्तै गइसकी । यदि उसले पनि मायाँ गर्दी हो भने त एकवचनसम्म खबर त गर्थी । तसर्थ उसको (युवकको) मायाँ एकतर्फी मात्रै हो । यसरी सपनैसपनामा भौँतारिनुभन्दा होशमा आएर यथार्थता बोध गर् र आफ्नो गाउँमा फर्की ।’
त्यस साथीको यस भनाइबाट ऊ एकदमै उद्दिग्न हुनपुग्छ । साथीको कुरा उसलाई ठीकै पनि लाग्छ र भन्छः ‘यो कुरा साँच्चै हो भने आफ्नो सोच्ने शक्तिलाई नै धिक्कार छ ।’ अनि आफ्नो टाउकोलाई धारे हात लाउँदै भन्छ कि ‘किन तिजुका फलजस्तै उसले काँचोपाको (मायाँ दोहोरो छ/छैन) छामेर (परीक्षण गरेर) छुट्टयाउन सकेन ?’ अनि गीतबाटै भन्छः “काचो छाम्नु, पाको छाम्नु, तिजु माजा फल !” (माजाः कुनै वस्तु/सन्दर्भलाई विशेषीकृत गर्दा वा अवहेलना गर्दा वा धिक्कार दिँदा विशेषण दिई भनिने शब्द ।)
एकपटकको देखादेखमै उम्रेको मायाँको बेर्ना समयको अन्तरालमा उसको दिलमा सितिमिति उखेलिन नसक्ने गरी झांगिसकेको थियो । त्यो मायाँको झाडी एकदुई अप्रत्यासित घटनाबाट खङ्ग्रङ्गै सुकेर जाने वाला नै थिएन । उसले त आफ्नो मायाँलाई कर्णालीसरह सबैभन्दा लामो, सबैभन्दा ठूलो र सबैभन्दा स्वच्छ भएको भ्रम पालिसकेको थियो । अतः कर्णालीजस्तै आफ्नी मायाँलुलाई पैरन (लगाउन/भेट्न/अपनाउन) नसके पनि बरु टाढैबाट सँधै देखिरहन पाए पनि हुन्थ्यो भन्ने आत्मतुष्टि लिँदै भन्छः “देख्नु भै, पैरनु भैनै, कर्णालीका जल !”