मनोरञ्जन

दिवंगत समयप्रति हार्दिक श्रद्धाञ्जली

कति छिट्टै दुई वर्ष बितिसकेछन् । मान्छे बित्दा मृत्यूसंस्कार पूरा गर्ने गरिन्छ । तर समय बित्दा हामीलाई कुनै मृत्यूसंस्कारको टन्टा बेसाउनुपर्दैन । समयको मृत्यू त वर्षमा मात्र होइन दशकमा, शतकमा वा युगमा पनि हुन्छ । महिना, हप्ता, दिन, घण्टा, मिनेट, पल, सेकेन्ड र क्षण क्षणमा पनि समयको मृत्यू भैरहेको हुन्छ । समय बित्दा हाम्रा परेली भिज्दैनन् । आशौच बार्नुपर्दैन । श्रद्धाञ्जलीको औपचारिकता पूरा गर्नुपर्दैन । बारम्बार मृत्यू भैरहने समयप्रति कसैलाई पनि चासो छैन । क्या आनन्द ।

प्रसङ्गको आमूल परिवर्तन गरेर कला क्षेत्रतिर प्रवेश गरौँ । कलामध्ये मलाई बालकला मनोत्तेजक लाग्छ । बालकला भन्नेबित्तिकै म सरिताजीकी दश वर्षीय छोरीलाई सम्झन्छु । उनी नृत्यअभिनय गर्दा दश ठाउँमा शरीरका अङ्गहरु भाँच्न सक्छिन् । वा ज्ञानुजीकी छोरी जसले भाव अभिनयमा अब्बल छिन् । रोऊ भन्नेबित्तिकै आँखाबाट आँशुका धाराहरू छुटाउन सक्छिन् । म यिनीहरूको कलाले औधी प्रभावित भएको छु । यस्ता बालकलाकारसँग रमाउन पाउँदा मलाई समय बितेको पत्तो पनि हुँदैन ।

हो, पछिल्ला दुईवटा वर्ष नबित्दै । म सरिताजीकी छोरी भेट्न सानोठिमी पुगेँ । संयोग कस्तो परेछ भने आमाछोरी नै नेपालगन्ज पुगेको बेला परेछ । पुरानो मित्र रमेशजीसँग मात्र भेट भयो । मैले उहाँसँग रूकुमकोटको इतिहासको बारेमा पनि नाटक तयार गरेको बताएँ । त्यसको लागि बालकलाकारको साथसाथै अन्य समन्वयको लागि उहाँसँग हात पसारेँ ।

रमेशजीले जिल्लवासी गौतमजीलाई भेटेपछि यो समस्याको हल हुने कुरा बताउँदै सम्पर्क नम्बर टिपाइदिनुभयो । मैले गौतमजीलाई तत्कालै फोन लगाएँ । सुरुमा आफ्नो छोट्करी परिचय दिएँ । परिचय भन्नाले साहित्य अनुरागीको हिसाबले । उहाँमा पनि नाटक मन्चनमा केही रूचीजस्तो छनक देखियो । तत्कालै सहयोग गर्न सकिने वचन दिनुभयो । मैले उहाँलाई जतिसक्दो छिटो भेट्ने इरादा बताएँ । उहाँले नाइनास्ती गर्नुभएन । कुरै कुरामा उहाँले मेरो घर सोध्नुभयो । मैले ‘सोलाबाङ’ हो भनेँ । उहाँले जिज्ञासा राखिहाल्नुभयो, “तपाईँ कतै उही पूर्णबहादुर त होइन जसको भर्खरै रेल विभागमा सरुवा गरिएको छ ?”

“हो हो, म त्यही हुँ । भन्नुहोस् म तपाईँलाई कहिले भेटूँ ?” भनेँ मैले ।

उहाँले आफू केही समय उपत्यका बाहिर नै रहने र उपत्यकाभित्र आएपछि आफै फोन सम्पर्क गर्ने बताउनुभयो । त्यसपछि उहाँको फोन कहिल्यै आएन । मैले पनि उहाँलाई खोज्दै हिड्नुपर्ने आवश्यकता  ठानिनँ ।

म उस बेला तीनछक परिनँ जति अहिले पर्ने गर्छु । जतिसुकै निकटतम साथीलाई पनि मैले वर्तमानमा काम गरिरहेको अफिसको नाम याद रहँदैन । मैले प्रत्येक भेटमा दोहोर्‍याउनै पर्छ । तर उहाँलाई एकैचोटी कसरी कण्ठस्थ भयो होला चिन्दै नचिनेको कर्मचारी कार्यरत अफिसको नाम ? समय जति बित्दै जान्छ त्यति त्यति म यस बारेमा चित खाँदै जान्छु ।

रेल विभागमा आउनुपूर्व म एकजना मित्रसँग निकटतम हुन पुगेको थिएँ । उहाँ हुनुहुन्थ्यो ढकालजी । आसपासका जिल्लामा काम गर्ने भएकोले दुईचार पाइला हिँड्दा नै उहाँ मेरो भावनासँग पनि नजिकिइसक्नुभएको थियो । म काठमाण्डौमा सरुवा हुन चाहन्थेँ । सरूवा हुनु मेरो आफ्नै प्रकारको बाध्यता थियो । मेरो नाम उहाँको सरुवा लिष्टमा चढेको थियो । मेरो सरुवा हुनुभन्दा महिनादिन पहिले नै उहाँले यो लटमा सरुवा हुने अरू १६ जना कर्मचारीको नाम सुनाउनुभएको थियो । समय आएपछि ठ्याक्कै त्यही संख्यामा हाम्रो सरुवा भएको थियो । १६ जनामध्ये १२ जनाको उहाँले भने भनेकै तततत् ठाउँमा सरुवा भएको थियो । तर बिडम्बना उहाँको आफ्नै सरुवा पूर्वघोषित कार्यालयमा भएको थिएन । उहाँ म र अरु २ जना कर्मचारी मात्र पूर्व नियोजित ठाउँभन्दा अन्यत्र सरुवा गरियौँ ।

मैले जुन समस्याको हलको लागि सरुवा मागेको थिएँ, त्यसको ठीक विपरीत मेरो सरुवा हुन पुगेको थियो । मलाई लामो यात्रा गर्दा रिङ्टा लाग्ने रोगले हुनुसम्म सताएको थियो । मेरो श्रीमती पनि रोगले ग्रसित थिइन् । जागिर पनि गर्न पनि पाइयोस् र रोगको उपचार गर्न पनि सहज होस् भन्ने हेतु नै सरुवा मागेको थिएँ । तर घर अपायक सरुवाले त्यसपछि झनै समस्या बल्झिएको थियो ।

देशमा धेरै मेची महाकाली बगिसकेका छन् । देशले प्रविधि र विकासमा अविश्वसनीय फड्को मारिसकेको छ । तर प्रशासनिक फड्को कता र कसरी मारेको छ भन्ने कुरा कुनै कार्यालयका हाकिमको दैलो टेक्दा ज्ञात भैहाल्छ । प्रशासन सुधार हेर्न कुनै पनि प्रशासन सुधार आयोगबाट निर्मित ठेलीभित्र खोज्नै पर्दैन । जस्तो कि सरुवाकै कुरा गरौँ । भन्नै पर्दैन कि कसैको सरुवा निकै आसानी तरीकाबाट भैरहेको हुन्छ भने कसैको मरिगए हुँदैन । त्यसको पछाडि कहिले मर्ने त कहिले जाग्ने मापदण्डका तानाबाना पनि हुन्छन् । कसैलाई एउटै तहमा निवेदन गर्नेबित्तिकै चाहेकै ठाउँमा सरुवा भैहाल्छ भने कसैलाई अनेकौँ चरणहरु पार गर्न बाध्य तुल्याइन्छ । तर केही गरी हुँदै हुँदैन । ती कुनै चरणबाट पनि आफ्नो सुनुवाइ हुने लक्षण नदेखिएमा मात्र कर्मचारीले सर्वोच्च कार्यकारीको ढोका घच्घच्याउन पुग्दछ । त्यो ठूलो ढोकासम्म पुग्न उसले निकै मिहनत र समय खर्च गरेको हुन्छ, निकै वेदना सहेको हुन्छ ।

गुनासो सुनुवाइ होला कि भनी जब कुनै पीडित कर्मचारी ठूलै ढोका घचघच्याउने निर्णय गर्छ परिणाम भने विपरीत निस्किन्छ । सर्वोच्च कुर्सीमा बिराजमान हाकिमसाबले पिडीतको कुरा सुन्नुको बदला या त राजिनामा दिनुपर्ने या त कारवाही गरिने धम्की दिएर त्यस्ता निरिह कर्मचारीलाई हप्काएर रित्तो हात फर्काइदिन्छ । हाकिमले आफ्नो निर्णयमा टसको मस नहुने प्रतिज्ञा गर्दछ । जुन निर्णय आफूले गरेको हो कि अरुको रबरस्टाम्प मात्र बनेका भन्ने समेत कुरामा सुइँपत्तो रहँदैन उसैको स्वर ठूलो हुन पुग्दछ । राजनीतिक एवम् प्रशासनिक बजारमा उसैको बोली धमाधम बिक्छ । के गर्नुहुन्छ ?

जहाँ मनोमानी बर्जित हुनुपर्थ्यो त्यही मौलाइरहेको हुन्छ । सरुवा वा पदस्थापनमा राजनीति वा कर्मचारी संगठनको मात्र होइन विकास निर्माणका ठेकेदारहरु, नातागोता, भनसुन धेरै तत्त्वको भूमिकाको योग रहने गरेको छ । अन्य कुरामा वस्तुनिष्ठ ऐनकानुन खोजिने तर कर्मचारी खटाउनेजस्तो सर्वाधिक महत्त्वको कुरामा भने पहिलेदेखि नै अवाञ्छित चलखेलले काम गरिरहेको छ । काग कराइरहन्छ, पीना सुकिरहन्छ ।

गलत व्यक्तिलाई गलत ठाउँमा पठाएर राज्यले बेहोर्नुपरेको फजुल लागतको लेखाजोखा अहिलेसम्म हुनसकेको छैन । त्यो कुरा त परै जावस् एउटा कर्मचारीले घर नजिकैको अफिसमा काम गर्ने सम्भावना हुँदाहुँदै अर्को टाढाको ठाउँमा हुत्त्याएर बढ्न जाने आवागमन खर्च वा दुर्घटना खर्चको कुनै लेखाजोखा गरिँदैन । यही कारणले उत्पन्न अत्यधिक तनावको मूल्य के हुन्छ भन्ने हेक्का हुने झन् कुरै भएन । मनोमानी गरेको सरूवाको क्षतिपूर्ति सम्बन्धित पदाधिकारीबाट असूल गरिने ऐन नियममै व्यवस्था गरिए सरूवामा केही विवेक अपनाउँदा हुन् । अति गरे खति हुन्छ भन्ने उखान चरितार्थ हुनै छोडेको छ ।

अहिले अनेकौँ साथीहरुले मलाई सोधिरहन्छन्, “तेरो आफ्नै दाइ अर्थमन्त्री भएका छन् केरे, राम्रो ठाउँमा सरूवा हुने चान्स प्रबल छ । बल गर् है जेठा बल गर् ।” तर मैले भने आफ्नो सरुवाको लागि अर्थमन्त्रीकहाँ नै पुग्नुपर्छ भन्ने कुरा जान्दिनँ । बाध्यतावश् पुगेछु भने पनि अर्थमन्त्रीले चिन्छन् जस्तो लाग्दैन । म कुनै आकर्षक भनिएको अज्ञात ठाउँको खोजीमा हिँडेको मान्छे पनि होइन । तर भेटिएमा यत्ति सुझाव दिने भने मन छः अर्थमन्त्रीज्यू, वर्षौँवर्षदेखि जरा गाडेर बसेको र अहिले तपाईँको मातहत परेको मनोमानीलाई कुनै जात, रङ नचिनिने गरी जरैदेखि उल्टाइदिनुहोस् ।

फेरि मेरो स्वार्थप्रेरित प्रसङ्गलाई यहीँ स्थगन गरेर पछाडि फर्कौँ ।

मैले आजसम्म सुनिरहेको वाक्यांश ‘समय बित्छ !’ भन्ने मात्र हो । ‘समय जन्मन्छ !’ भनेर आजसम्म कसैले भनेको याद छैन । सुन्दै नसुनेको कुरा मैले यसको सुरुवातमै व्यक्त गर्न सक्ने कुरा पनि भएन ।

नजन्मिएरै बित्ने कुनै त्यस्तो कुराको यो संसारमा अस्तित्व होलाजस्तो पनि लाग्दैन । समय जन्मन्छ, अनि मात्र बित्छ । अर्को कुरा केचाँहि सत्य हो भने क्षण क्षणमा जन्मिरहने समय कसैको लागि क्षण क्षणमा मरिरहेको हुन्छ भने कसैको लागि त्यही समय जुगौँ जुग बाँचिरहन्छ ।

क्षणक्षणमा जन्मिने समय मर्न नदिएर जोगाइ राखियो भने आफू बाँचुन्जेल त पुग्छ नै आफू मरेर गए पनि त्यो समय बाँचिरहन पनि सक्छ ।

समयलाई बचाएर काम छैन भन्नेहरु पनि छन् । बूढेसकालमा त यत्तिकै समय उब्रिरहेको हुन्छ रे । समय छेल्दोफाल्दो हुन्छ रे । यदि त्यसो हो भने बूढेसकालसम्म समय जोगाएर राखेको पनि के काम ? मूल्यहीन समयलाई खर्च गर्ने र मूल्यवान समयलाई बचाउनुपर्ने पो हो कि ?

समय बचाउँछु भन्नु त सजिलो छ तर बचाउनु त्यति सजिलोचाँहि अवश्य छैन । युगलाई कष्टसाध्य प्रसवपीडामा पारेर जन्मेको नवजात समयलाई निकै जतनसाथ हुर्काउनुपर्‍यो । दिनहुँ नुहाइधुवाइ गर्नुपर्‍यो । दिनरात तेल घसाउनुपर्‍यो । छाकछाकमा मिठो खुवाउनुपर्‍यो । झोलिलो पियानुपर्‍यो । यति गर्दा गर्दै पनि अनेक रोग समयमाथि नै लाग्छन् । ओखतीमूलो गर्नैपर्‍यो । अरु काम छोडेर थोडै समय जोगाउनपट्टि लागिन्छ र ? अनेक कष्टसाध्य यत्नसाथ समय जोगायो जोगायो, पछि उसैले आफूलाई चिन्दैन । के गर्नुहुन्छ ?

भनिन्छ समय कसैको वशमा हुँदैन । तर यो भन्नको लागि मात्र हो । समय कसैको वशमा छ पनि, छैन पनि ।

इतिहास कसैको वशमा परेको समयको नाम हो । पुस्तकालय कसैको वशमा परेको समयको नाम हो । विचार कसैको वशमा परेको समयको नाम हो । तपाईँले तपाईँको वरिपरि जे जेलाई नाम दिन सक्नुहुन्छ ती सबै नामहरु कसै न कसैको वशमा परेका समयहरु हुन् । तसर्थ समय कसैको वशमा परेको इतिहास, वर्तमान र भविष्य पनि हो । संसारमा पल्लवित माया, मोह, अहंकार, रिस, लोभ, पाप, धर्म, प्रेम, विश्वास, अविश्वास सबै समयलाई बन्दी तुल्याउन खोज्नेहरुबाट निस्किएका विविध भावहरु हुन् ।

निरीहहरुले मात्र समयमा आफ्नो वशमा पार्न सक्दैनन् । समय पनि यति अहंकारी हुन्छ कि निरीहको वशमा कहिले पर्न चाहँदैन । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समानता, समता, समावेशिता, आरक्षण जे जे भनिए तापनि ती निरीहलाई शन्त्याउनको लागि प्रयोग गरिने अस्त्र मात्र हुन् । वा निरीहलाई चटाउन खोजेको गुलियोले बेरिएका तितो समय सिवाय केही होइनन् । त्यो चाटे पनि पग्लिन्छ, नचाटे पनि पग्लिन्छ । र हात लाग्छ तितो समय मात्र । चटाउनेको भागमा परेको समय मूल्यवान ठानिन्छ र चाट्नेको भागमा परेको समय मूल्यहीन ठानिन्छ । फरक यति हो वस् ।

हुन त मेरो विचार पोख्ने यो समय कसैको लागि मूल्यहीन देखिएला । कसैले अरूको समय मूल्यहीन देखेपछि नै उपेक्षा गरिने हो । जसको समय मूल्यवानजस्तो लाग्छ उसैको पछि लोभीपापीहरु दौडिने हुन् । यसरी सबैको लागि क्षण क्षणमा जन्मिने समयजस्तो अदृश्य, अस्पृश्य चिजलाई पनि मूल्यहीन र मूल्यवान भनी वर्गीकृत गर्नुपर्दा निकै दुःख लागेको छ ।

दिवंगत समयप्रति हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त आफन्तजनप्रति गहिरो समवेदना ।

नयाँ जन्मने समयप्रति जन्मक्षणको मस्तै मस्तै शुभकामना ।

Loading

One thought on “दिवंगत समयप्रति हार्दिक श्रद्धाञ्जली

  • भेषराज रिजाल

    त्यसै बगेर गइरहेको, नव्युँझने गरि निदाएको, अचेत, निस्लोट र बेहोसीझैँ बेपरवाह लडिरहेको वा बेहिसाब खेर गएको, मरिसकेको समयप्रति श्रद्धाञ्जली। समय, युग, इतिहास मारेर, समयलाई कुरूप बनाएर निरीहहरूमाथि रजाइँ गर्ने जिउँला लासहरूप्रति पनि श्रद्धाञ्जली।
    यति सान्दर्भिक विषयमा चोटिलो आलेख लेख्नुहुने लेखकज्यू प्रति हार्दिक बधाई ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *