व्यक्ति विशेष

डा. नवराज गौतम

(१) शिक्षातर्फ प्राथमिक विद्यालयदेखि विश्व विद्यालयसम्म।

रुकुम जिल्लाको तत्कालीन खलङ्गा गा.वि.स. वडा नं. ३ सेरीगाँउमा पिता श्री  बिष्णुप्रसाद उपाध्याय र माता श्री नर्मदा देवीको कान्छो सुपुत्रको रुपमा २०१२ साल श्रावण २० गते नागपञ्चमीको दिनमा मुसिकोट सेरीगाउँमा मेरो जन्म भएको हो ।  जन्म भएपश्चात् पिताश्रीको जग्गा-जमिन साँख गाँउ विकास समिति वडा नम्बर ८ टेवाखोलामा भएकोले मेरो ५ वर्षसम्मको शैशवकाल साँख टेवाखोलाको घरमा अन्य केटाहरुसँग ढुँगामाटो खेलाउँदै बितिरहेको थियो । रुकुम भलाक्चा गा.वि.स.को स्याबाङ गाँउमा जन्मी भारतको मुम्बइमा शिक्षा आर्जन गरेका शिक्षक कृष्णबहादुर दमाइले मलाई मेरा पिताश्रीसँग सल्लाह गरी कक्षा १ मा मेरो भर्ना गरिदिनुभएको हो । मलाई भर्ना गर्ने दिनमा मेरा आदरयी गुरु पाठशालाका प्र.अ. शिवकुमार शर्माले ॐ भन्ने अक्षर उच्चारण गराउर अ, आ स्वर अक्षर सिकाउनु भएदेखि मेरो शिक्षा आर्जन गर्ने क्रम शुरु भएको हो । शिक्षक गुरु कृष्णबहादुर दमाइले मलाई बाटोमा कता कता बोकेर पनि पाठशाला ल्याउने काम गर्नुका साथै पढाउने काम पनि गर्नुहुन्थ्यो । २०१६ सालमा स्थापना भएको पाठशालाको आफ्नो भवन नहुँदा भवन निर्माणस्थल नजिकै माइला पुजारीको घर दलानमा र वडा न ३ सेरीगाँउको भुफाल्ने भन्ने पिपल चौतारामा बसेर मैले २ कक्षासम्मको अध्ययन गरेको थिएँ ।

बाल्यकालमा मलाई त्यस पाठशालामा पढाउने गुरुहरुमा नुरजँग शाह गोपालप्रसाद उपाध्याय, कुलराज शर्मा, शिवकुमार शर्मा र टिका मल्ल हुनुहुन्थ्यो । १ कक्षादेखि ५ कक्षासम्म पढ्दा मेरा मिल्ने साथी चित्रबहादुर गिरी र चन्द्रप्रसाद पुन थिए । म जहिले पनि कक्षा दोश्रो हुन्थे । चित्रबहादुर गिरी कक्षा प्रथम र चन्द्रप्रसाद पुन कक्षा तृतीय हुन्थे । ती साथीहरुको बिचमा २०१८ सालदेखि २०२३ सालसम्म त्यस पाठशालामा मेरो शिक्षा आर्जन गर्ने काम सम्पन्न भएको हो । त्यसबेला यमुना प्राथमिक पाठशाला जिल्लाभरि नाम चलेको पाठशाला थियो । पछि सोही पाठशाला निमावि हुदै मावि तहसम्म नमुना विद्यालयको रुपमा पठन पाठन भैरहेको छ ।

त्यस पाठशालाको नाम यमुनानन्द रहनाको कारण महत्त्वपूर्ण छ । २०१६ सालमा यमुना बाबा नाम गेका १ जना बाबा भारत बङ्गालबाट घुम्दै घुम्दै सेरीगाँउमा आइपुगेका थिए । यमुना बाबाले ले यहाँ विद्यालय स्थापना नभएको महसुस गरी रावलबारा भन्ने स्थानमा रहेको शिवालयमा सो पाठशाला स्थापना गरेका थिए । यी बाबा शिक्षाप्रेमी भएको कारणबाट बाबाको नामबाटै प्राथमिक विद्यालयको नाम यमुना प्राथमिक विद्यालय राखीएको भन्ने कुरा बुभिन्छ । भारत बङ्गालबाट आएका यमुना बाबा जातले गिरी भएपनि शिक्षाप्रेमी शिक्षित समाजसेबी थिए । उनको शिक्षा दिँदादिँदै शिवालयको नजिकमा निधन भएको थियो । सोही ठाउँमा नुनले पुरेर उनलाई समाधिस्थ गरेको बुभिन्छ ।

२०२८ सालमा म सेकेण्ड डिभिजनमा प्रबेशिका  परीक्षा उतिर्ण भएँ । शिक्षण पेशा गर्ने मलाई रहर र आवश्यकता दुवै परेको थियो । यमुनानन्द प्रा.वि. मा दरबन्दी खाली हुँदा म सेकेण्ड डिबीजन पासलाई शिक्षकमा नियुक्ति नदिई तृतीय श्रेणी पासलाई शिक्षक नियुक्ति दिइयो । त्यसपछि म सेरीगाउँ र यमुना प्रा.वि. देखि टाढा हुदै गएँ । भलाक्चा निमाविमा मेरो योग्यताको कदर गर्दै ८ कक्षासम्म गणित र बिज्ञान विषय पढाउने शिक्षकको रुपमा नियुक्ति दिइयो । यसरी म शिक्षक भएर समाजसेवा गर्ने अवसर पाएँ । मैले भलाक्चामा १ वर्षसम्म शिक्षण गरेँ । त्यसपछि निमावि साँखको प्रअ दरबन्दी खाली भएकोले मलाई सो विद्यालयको कामु प्रअ हुने अवसर प्रदान गरियो । सो विद्यालयमा शिक्षक हुँदा हुदै आइएको प्राइभेट परीक्षा दिई द्वितीय श्रेणीमा उतिर्ण भएपछि सोही विद्यालयको कामु प्रअ बाट प्रअमा नियुक्ति पाएँ । उक्त विद्यालयमा ६ वर्षसम्म प्रअ हुदा प्राइभेट अध्ययन गरी स्नातक उपाधी प्राप्त गरेको हुँ ।

२०३३ सालमा शिक्षक हुँदाहुँदै सर्वोच्च अदालतबाट लिइने कानुन व्यवसायीको परीक्षामा सामेल भएँ र त्यसै सालमा अभिकर्ता वकिलको रुपमा प्रमाण पत्र प्राप्त गरेँ । जसले गर्दा जिल्लाको पहिलो लाईसेन्स प्राप्त वकिलको रुपमा चिनिने मौका पाएँ । वकिलको प्रमाणपत्र पाएपछि मलाई सदरमुकामभित्रको विद्यालयमा सरुवा हुन मन लाग्यो । सौभाग्यवश् आफुले १ कक्षादेखि ५ कक्षासम्म अध्ययन गरेको र यसअघि ०२९ सालमा नियुक्ति पाउन नसकेको आफने गाउँको यमुनानन्द नमुना निमाविका प्रअ शिवकुमार शर्माले राजिनामा दिनुभयो । यसरी रिक्त रहेको प्रअ पदमा म सरुवा हुनपुगेँ । २०३४ सालभर यमुनानन्द नमुना को प्रअ भै त्यहाँको नागरिक समाज, विद्यालयस्टाफ, विद्यार्थी, समुदायसँग सौहार्दपूर्ण वातावरणमा सबैलाई खुशी तुल्याउँदै गएँ । शिक्षण पेशा गर्दागर्दै पनि तत्कालीन विद्यालय सहयोग समितिका अध्यक्ष टोपजङ्ग मल्लसँग खटपट भयो । मैले स्वतन्त्र ढङ्गबाट प्रअ भै विद्यालय प्रशासन सञ्चालन गर्न नपाउने स्थिति सिर्जना भयो । अतः २०२५ बैशाख ५ गते बाध्यतावस प्रअबाट राजीनामा दिएँ । त्यसपछि सदरमुकाममा बसी वकालत पेशा गर्दै २०३७ सालमाअभिवक्ताको परीक्षा उतिर्ण पनि गरेँ । साथै अभिवक्ता वकिलको लाईसेन्स पाउन सफल भएँ । २०३८ सालमा कानुन शास्त्रीको उपाधी हासील गरेँ । २०३८ सालमै नियमित परीक्षार्थीको रुपमा राजनीतिशास्त्र विषयमा स्नातकोत्तर डिग्री हासिल गरी रुकुमबाट पहिलो एमए पास गर्ने व्यक्तिको रुपमा चिनिने मौका पाएँ ।

२०४४ सालमा  म रुकुम जिल्लाको युवक संगठनको सभापतिको हैसियतले मैले पढेको मैले पढाएको उही यमुनानन्द निमाविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने मौका पाएँ । मुसीकोट खलङ्गा बहुमुखी क्याम्पसमा २०५० सालमा स्नातक तहको अनुमति पाएपछि राजनीति शास्त्र विषयको उपप्राध्यापक पदमा मैले नियुक्ति पाएँ । क्याम्पसमा प्राध्यापन गर्ने सुअवसर पाएर प्राध्यापन गर्दागर्दै पुनः एमए नेपाली विषयमा भाषा र साहित्यमा स्नातकोत्तर डिग्री प्राप्त गरेँ । क्याम्पसमा पठनपाठन गर्दा १२ वर्षसम्म पढाएको अनुभव तथा राजनीति शास्त्रको उपप्राध्यापकको हैसियतले म सो क्याम्पसबाट विद्याबारिधी गर्ने मौका पाएँ । विश्वविद्यालय अनुदान आयोगले मलाई आंशिक विद्वत बृत्ति प्रदान गर्‍यो । अनुदान आयोगको बृति र मेरो आफनै निजी लगानीमा मैले ६ वर्ष भित्र विद्यावारिधिको शोधपत्र बुभाउन सफल भएँ ।

५ वर्षमा बुभाउनुपर्ने मेरो शोधप्रबन्ध किन ६ वर्ष लाग्यो भन्ने सन्दर्भमा रमाइलो सन्दर्भ छ । म कार्यरत क्याम्पस प्राइभेट क्याम्पस भएको कारण सञ्चालक समितिको अधिनमा रही काम गर्नु पर्नेरहेछ क्याम्पसका प्रमुख, क्याम्पसका अध्यक्ष गोपालजी जङ्ग शाह र मेरो राजनीतिक आस्था एउटै थियो तथापि राजनीति शास्त्रमा विद्याबारिधि अध्ययन गरिरहेको समयमा अनुदान आयोगबाट विद्वत वृत्ति पाउने स्थायी दरबन्दीको म प्राध्यापकलाई एकाएक अवकास दिएका थिए । त्यसैले मैले क्याम्पस प्रमुख र अध्यक्षलाई समेत सर्बोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश रीट निवेदन दायर गरेँ । ५ वर्षसम्म सो मुद्दा लड्दा २०६६।६।१० गते मैले प्राध्यापन गर्ने क्याम्पस प्राइभेट भएकोले श्रम अदालतमा उजुरी दिनु पर्ने ठहर गरी रिट खारेज भयो । त्यसपछि सर्त बमोजिम ५ वर्षसम्म क्याम्पसमा सेवा गर्नुपर्ने झन्झटबाट मुक्त हुन चाही क्याम्पसको प्राध्यापन त्यागिदिएँ । मैले स्वत्रन्त कानुन व्यवसायीको रुपमा काम गर्न थालेँ ।  जिल्लाको नोटरी पब्लिक रुकुम जिल्ला अदालतको वैतनिक वकिल भई मेलमिलापकर्ताको रुपमा बाल न्याय समिति बाल इजलाशमा समाजसेवीको रुपमा काम गर्ने अवसर पाउनुको साथै नेपाल बारको पार्सदको रुपमा समेत काम गर्न पाएँ । हाल नागरीक समाज रुकुमको अगुवा हुनुका साथै बरिष्ठ अधिबक्ताको हैसियतले वकालत गर्दै समाजको सेवा गरिरहेको छु ।

मैले कानुन विषयमा विद्यावारिधि गर्नुपर्ने मानिसले किन राजनीतिशास्त्र विषय अन्तर्गत विकेन्द्रीकरण शीर्षकमा विद्यावारिधि गर्नुपरेको हो भने विद्याबरीधीमा नाम दर्ता गर्दा कुनै विषयमा सकभर प्रथम श्रेणी नभए द्वितीय श्रेणी उतिर्ण गरेकै हुनुपर्ने रहेछ। २०५७ सालको माघे सत्रसम्म मैले नेपालीमा एमए राजनीति शास्त्रमा एमए उतिर्ण गरिसकेको थिएँ । तर शिक्षामा एमएड र कानुनमा एलएलएम अध्ययन गरिरहेको तर स्नातकोत्तर डिग्री पूरा भएको थिएन । त्यस बेलासम्म रुकुम जिल्लामा कसैले पनि विद्यावारिधि गरेका थिएनन् । जिल्लाबाट पहिलो विद्यावारिधिको उपाधी हासील गरी जिल्लालाई चिनाउनु आवश्यक थियो । अतः कुम जिल्लालाई कार्यथलो बनाएर रुकुमकै केस स्टडी गरी विद्यावारिधि गर्नुपरेको हो । पञ्चायतकालमा म रुकुम जिल्लाको युवक संगठनको सभापति थिएँ र पदेन जिल्ला पञ्चायतको सदस्य भएको थिएँ । यस नाताले राजनैतिक सेवा गर्दा विकेन्द्रीकरणलाई प्राथमिकतामा राख्नुपर्दथ्यो । पञ्चायती व्यवस्थामा विकेन्द्रीकरण   २०३९ र विकेन्दीकरण कार्य व्यवस्था नियमाबली २०४१ लागु मात्र भएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आएको थिएन । अतः मैले राजनीतिशास्त्र विषयमा नेपालमा विकेन्द्रीकरण प्रक्रियाका अभ्यासहरुमा जिल्ला विकास समितिको भूमिका सन्दर्भमा रुकुम जिल्ला एक अध्ययन विषयवस्तु छानेँ । साथै २०५७ सालको माघे सत्रमा रुकुम जिल्लाबाट प्रथम शोधार्थीको रुपमा अस्थायी नाम दर्तागरी २०६३ सालमा आफ्नोतर्फबाट शोध प्रबन्ध बुभाउने अवसर मिलेको थियो । रुकुम जिल्लामा बसेर रुकुम जिल्लाको विकास निर्माणलाई अगाडि राखी आजसम्म विकेन्दीकरण कार्यान्वयन हुन नसक्नाको कारणको विस्तृत अध्ययन गर्न थालेँ । रुकुम जिल्लालाई पनि विश्वमानचित्र र नेपालभित्रै चिनाउनलाई रुकुममै बसी जिल्लावासीबाट प्रथम विद्यावारिधि गर्नुपरेको हो । विद्यावारिधिपश्चात् प्रशंसापत्र, अभिनन्दन–पत्र, सम्मान–पत्र गंहन गरिरहेको छु । यसले म भन्दापछिका सन्ततिहरुलाई पनि विद्यावारिधि गर्न सकिन्छ भन्ने हौसला मिल्न पुगेको छ । विषयवस्तु छान्दा नेपालमा एकात्मक राज्य व्यवस्थाबाट विकेन्द्रीकरण कार्यान्वयन सम्भव नभएकोले संघीय राज्य प्रणालीबाट विकेन्द्रीकरण कार्यान्वयन हुन सक्छ भन्ने धारणा अघि सारेर नेपालको संविधान निर्माण र संघीय राज्यको अवधारणासँग मेल खाने गरी अनुसन्धान गरिएको छ । यस शोधग्रन्थमा  ९ अध्याय १७ परीशिष्ठ र ४४२ पृष्ठको रहेको छ । शोधप्रबन्ध तयार गरी त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत समेत भएकोले म रुकुम पश्चीम जिल्लाको पहिलो पिएचडी उपाधी ग्रहण गर्ने व्यक्ति हुन पुगेको छु ।

(२)राजनीति तर्फको अनुभव

म कक्षा ६ देखि ९ कक्षासम्म पढदा कक्षा कोठाको विद्यार्थीको अगुवा मनिटर चुनिन्थेँ । २०२८ सालमा १० कक्षामा पढदा त्रिभुवन जनता हाइ स्कुल मुसीकोट खलङ्गाको विद्यार्थी समितिको महामन्त्री निर्वाचित भएको थिएँ । त्यसै बेलादेखि राजनीतिमा रुची शुरु भएको हो । मैले २ जना प्रतिद्वन्दीलाई हराई विजयी भएको थिएँ । विद्यार्थीको नेताको हैसियतले विद्यार्थीको हकहित र पठन पाठनमा अगुवाइ गर्दै आएको थिएँ । कानुन व्यवसायीको स्वत्रन्त्र पेशा अँगालेको हुदा मलाई राजनीतिक क्रियाकलाप सञ्चालन गर्न सजिलो थियो । २०३६ सालको जनमत संग्रह हुनुअघि रुकुम जिल्लाको बहुदल प्रचार प्रसार समितिको सदस्य भएको थिएँ । त्यसताका निलो भण्डा बोकी पञ्चायती व्यवस्थालाई हराउन जिल्लाको प्रत्येक गाउँ गाउँमा बहुदल काँग्रेसको प्रचार गर्न गएका थियौँ ।  ठाउँ ठाउँबाट लखेटिएका थियौँ । गाउँगाउँमा काँग्रेसको भण्डा खोसिएको थियो । गणेशमान सिँह, विपिको पर्चाहरु लुटिएको थियो । यस्तो अवस्थामा पनि पञ्चायती व्यवस्थाका बिरोधमा निलो चिन्हमा भोट खसाई मतदान गर्दा बहुदलीय व्यवस्थाले हारेको थियो र सुधार सहितको पञ्चायती व्यवस्थाले जितेको थियो ।

प्रजातन्त्रवादी कानुन व्यवसायीको हैसियतले जिल्लामा प्रजातन्त्रको पक्षमा कलम चलाउदै राजनीतिमा अभिरुची राख्दै आएको छु ।

२०४४ सालमा नेपाली काँग्रेसको गोप्य निर्देशनमा रुकुम जिल्लाको युवक संगठनको सभापतिमा उम्मेदवारी दिएँ । पञ्चायतका खम्बा मानिने बाँफीकोट गापाको प्रधानपञ्च जस्तो व्यक्तिसँग चुनाव लडी बहुदल काँग्रेसको उम्मेदवार मैले जितेको थिएँ । पञ्चायतको प्रधानपञ्चलाई हराई जिल्लास्तरको नेता भई समाजको सेवा गर्दै रहेँ । २०४६ सालमा पञ्चायती व्यवस्था ढली देशमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि २०४६ सालकै चैत्र महिनामा पुनः नेपाली काँग्रेसको साधारण सदस्य भएँ र २०४८ सालमा काँग्रेसको कृयाशील सदस्य भएँ । २०४८ सालदेखि २०६० सालसम्म नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भएँ । जिल्ला कार्य समितिको सदस्य हुँदै पार्टोको सचिव, कोषाध्यक्ष र उपसभापत समेतको जिम्मेवारी पदमा निर्वाचित भएँ । म कोषाध्यक्ष हुदा गोपालजी जङ्ग शाह सभापति थिए । सो कार्य समितिमा नेपाली काँग्रेसको कार्यबाहक सभापतीको जिम्मेवारी बहन गरी केसरमान रोका सभापति भएको कार्य समितिमा पनि कार्यबाहक सभापतीको जिम्मेवारी बहन गरेँ । नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्दीय महाधिवेशन प्रतिनिधि भई काम गरेँ । १३ औँ महाधिवेशनमा महासमिति सदस्य हुन खोजेकोमा पराजीत भै हाल म नेपाली काँग्रेस जिल्ला कार्य समितिको बरीष्ठ सल्लाहकार छु । शुभेच्छुक सँस्था डी एल ए रुकुमको २०४८ सालदेखि २०७५ सालसम्म जिल्ला अध्यक्ष भै हाल सो संस्थाको केन्द्रीय पार्षदको रुपमा कार्यरत छु।

(३) कानुन र न्याय तर्फको अनुभव ।

म २०२९ सालमा साँख निमाविको शिक्षक हुँदा विद्यालयमा दिउसो विद्यार्थीसग भलीबल खेलिरहेको अबस्थामा एउटा वनमा आगलागी भएको रहेछ । म साँझ घरतर्फ जाँदा वनमा आगो लागेको देखेँ । त्यो आगो कसले लगाएको थियो थहा भएन । त्यसको ४ दिनपछि मलाई र मेरो परीवारप्रति रिसइबि राख्ने आफ्नै सन्तानले मास्टरले आगो लगाउन सिकायो भन्ने उजुरी नुवाकोट वन रेन्जर कार्यालयमा दिएछन् । रेन्जर मेरा घरमा आइ मलाई पक्राउ गरी आफनो अफिस तर्फ लिन खोज्दा म पक्षका मेरा छिमेकीले मास्टरले आगो लगाएकै होइनन असत्य मुद्दा हालेर मास्टरलाई पकाउ गर्न पाइँदैन भनी मलाई रेन्जरका हातबाट तान्न खोजे । रेन्जरसँग लछार पछार भयो । रेन्जरलाई सानो चोट लाग्न गएछ । बाटोबाटै मलाई छिमेकीले घरतर्फ फिर्ता गरे । त्यसको केही दिनपछि फेरि प्रहरी थाना रुकुमकोटमा मास्टरले वन कर्मचारी कुटेको भन्ने उजुरी परेछ । भागाभाग चल्यो । प्रहरीले पक्राउ गर्न लागेपछि म लुक्दै गर्दा गाउँका केही कानुन जानेका एउटा भलादमी मानिसले मलाई सम्झाएः भाइ तिमीले आइए पढेर मास्टर भयौ । तिमीलाई २।२ पटक फोज्दारी मुद्दा लगाए । तिम्रो रिस मान्ने मुसीकोटमा धेरै छन् । तिमी अब कानुन पढेर वकालत गर भन्ने
सल्लाह दिए । त्यसपछि मैले २०३२ सालमा सर्बोच्च अदालतबाट लिइने अभिकर्ताको परीक्षामा सामेल भएँ । मुलुकी ऐन र केही विवेचना भन्ने रेवतीरमण खनाल एमएबिएलले लेखेको किताब पढी अभिकर्ता वकिलको परीक्षामा पास पनि भएँ । यसरी म रुकुममा लाईसेन्स प्राप्त पहिलो कानुन व्यवसायीको रुपमा चिनिएँ ।२०३७ सालमा सर्वोच्च अदालतबाटै अभिवक्ताको परीक्षा दिई अभिवक्तामा दरिएँ र वकालत गर्न पनि शुरु गरेँ ।

मुलुकी ऐन र केही विवेचना भन्ने किताबका लेखक रेवतीरमण खनाल जस्तै एमएबिएल कसरी हुन सकिएला भन्ने सोच्न थालेँ । २०३५ सालदेखि कानुनमा स्नातक तहको पठन पाठन शुरु गरेँ । २०३६ सालमा मुलकोर्ट सकी डिएल सँगै राजनीति शास्त्रमा एम ए पढन शुरु गरेँ । कानुन स्नातक र राजनीति शास्त्रको स्नातकोत्तरसँगै पास गरेँ । २०४३ सालमा अधिबक्ताको प्रमाणपत्र सर्बोच्च अदालतबाट लिइ वकालत पेशा गर्न थालेँ । यही अबस्था ४१ वर्षपछि २०७४ सालमा बरिष्ठ अधिवक्ताको उपाधि हासील गर्ने अवसर मिल्यो। यही बसी वकालत गरीरहेको अबस्थामा ४४ वर्षभित्र मैले ४ विषयमा स्नातकोत्तर १ विषयमा विद्यावारिधि गरी रुकुम जिल्लाबाट पहिलो वरीष्ठ अधिवक्ता र पहिलो पिएचडी गर्ने व्यक्तिको रुपमा चिनिने अवसर प्राप्त भयो । यदि मलाई २०२९ सालमा म शिक्षक भएको अवस्थामा आगलागी मुद्दा र रेन्जर कुटेको मुद्दा न लागेको भए मैले कानुन
व्यवसायीका ४ वटा डिग्री प्राप्त गर्न सक्ने थिएन होला । मलाई कानुन व्यवसायी बन्न प्रेरणा दिने मेरो जिल्लामा जिल्ला न्यायधिशको रुपमा आउनु भएका तत्कालीन जिल्ला न्यायाधीश कुलबहादुर श्रेष्ठको ठूलो योगदान छ । मैले कानुन व्यवसाय पेशा न अँगालेको भए क्याम्पसमा उपप्राध्यापक भै सकेको म हाल प्राध्यापक भै डिनको कार्यालयको डिनसम्म हुन सक्थेँ हुँला ।

(४) धार्मिक सास्कृतिक तथा अन्य सामाजिक सेवातर्फ

मैले विद्यार्थीकालदेखि नै लोकसाहित्यमा अभिरुची राख्थेँ । २०२८ सालमा १० कक्षामा पढदा विद्यार्थी समितिको महामन्त्री हुँदा मुसीकोट हाइस्कुलमा प्रकाशन हुने जीवन पत्रीकामा मुसीकोटे लोकगीत कबिता प्रकाशन गरेँ । विभिन्न साहित्यिक कार्यक्रममा भाग लिदै हाल राप्ती साहित्य परीषदको आजीवन सदस्य छु । २०२९ सालदेखि २०३४ सालसम्म ३ वटा निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापक भएँ । २०५७ सालदेखि २०६१ सालसम्म उच्च मा बि को उपप्राचार्य भएँ । २०५० सालदेखि २०६१ सालसम्म १२ वर्षसम्म क्याम्पसको उपप्राध्यापक भै सामाजिक सेवा गर्ने अवसर प्राप्त भयो । २०४२ सालमा म उद्योग मन्त्रालय अन्तरगत भक्तपुर इँटा कारखाना लिमिटेडको बोर्डको सदस्यको जिम्मेवारी प्राप्त भएको थियो । २०४५ सालमा नेपाल रेडकस सोसाइटी जिल्ला शाखा रुकुमको सदस्य भै हाल सो सस्थाको आजीवन सदस्य छु । त्यसैगरी सिस्ने युव क्लब रुकुमको आजीवन सदस्य पनि छु । साथै रुकुम जिल्ला बार इकाइको सँस्थापक अध्यक्ष भई लगातार १८ वर्षसम्म अध्यक्षको हैसियतले सेवा गर्दै आएको छु। रुकुम जिल्ला अदालतको पटक पटक वैतनिक वकिल भएको छु ।  रुकुम जिल्ला अदालतको सिनियर मेलमिलापकर्ता र नोटरी पब्लिक अफिसर भई नागरीक समाज रुकुमको अगुवा पनि भएको छु । यही नाताले न्यायक्षेत्र समन्वय समितिको सदस्य र बाल न्याय बाल इजलाशको समाजसेवीको भूमिका निर्बाह गरी आएको छु । रुकुममा ब्रह्मा कुमारी राजयोग केन्द्र रुकुम शाखाको स्थापना मेरै अगुवाइमा भएको हो । सो केन्द्रमा १ वर्षसम्म प्रशिक्षार्थीको रुपमा अध्ययन गरेको छु । २०६२।६३ को आन्दोलनको समयदेखि हालसम्म पापडको क्याम्पसको निर्माणका लागि भनी एघार लाख एघार हजार एघारसय एघार रुपैया भुमीदान समेत गरी जग्गा हस्तान्तरण गरेको छु । यसै समयमा म राष्ट्रिय धर्म सभा नेपालको केन्दीय सदस्यको जिम्मेवारी र ब्राह्मण समाज नेपाल रुकुमको जिल्ला अध्यक्षको कार्यभार पनि सम्हालेको छु । केन्द्रीय ज्योतिष परीषदको सदस्य भै सेवा गर्दै आएको छु । २०३७ सालमा एम ए पढदा जिल्लामा ३ महिने राष्ट्रिय विकास सेवामा समेत जिम्मेवारी निभाएको छु । रुकुम धार्मिक महोत्सबको मुख्यकर्ता निर्देशक समेत भै महायज्ञमा सञ्चालन गरी २ रोपनी जग्गा भूमिदान गरी सो जग्गा रुकुमेली क्याम्पसका नाउमा दर्ता गरी हस्तान्तरण गरेको छु ।

(५)बिभुषण सम्मान कदरपत्र तथा प्रशसापत्र र अभिनन्दन पत्र तर्फ

स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट पिएचडी सम्पन्न गरेपछि तत्कालीन राष्टपति रामबरण यादब र त्रिभुवन विश्व विद्यालयको कुलपति तत्कालीन प्रधानमन्त्री माधबकुमार नेपालबाट राज्यबाट पाउने नेपाल विद्याभुषण क प्रथम प्राप्त गरेको छु । बाल इजलास बाल न्यायको समाजसेवी सदस्यको प्रमाणपत्र सर्वोच्च अदालतका तत्कालीन माननीय न्यायधीश रामकुमार प्रसाद शाहबाट मलाई प्रदान गरिएको छ। मुसीकोट धार्मिक महोत्सब महायज्ञमा ब्यास पण्डित गोविन्द शरण महाराजबाट सम्मान तथा अभिनन्दनपत्र प्राप्त गरेको छु । नेपाल बार एशोशियसनको स्वर्ण महोत्सवमा कानुन र मानब अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भनि सो एशोशियशसनबाट सम्मान पत्र पाएको छु । नेपाल बार यशोशीयसनले बरीष्ठ अधिबक्ताको उपाधीप्राप्त गरेपछि मलाई सम्मानपत्र प्रदान गरेको छ । मुसीकोट खलङ्गा क्याम्पसमा व्यवस्थापन समितिको सदस्य भै उल्लेखनीय कार्य गरेको भनी मध्यपश्चिमाञ्चल विश्व विद्यालयले प्रशसापत्र प्रदान गरेको छ । स्वर्ण महोत्सबमा मुसीकोट खलङ्गा बहुमुखी क्याम्पसले उपप्राध्यापक भै १२ वर्ष सेवा गरेको मुल्याकन गरी प्रशंसापत्र प्रदान गरेको छ । बार इकाइको अध्यक्ष भइराखेको अवस्थामा विद्यावारिधि गरेको भनी रुकुम बार इकाइले पनि अभिनन्दन गरेको छ । यमुनानन्द मावि र त्रिभुवन जनता माविले यसै विद्यालयको विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिको अध्यक्ष समेत भई सेवा पुर्‍याएको भनी पटक पटक विभिन्न समारोहमा कदरपत्र, अभिनन्दनपत्र प्रशंसा पत्र र सम्मानपत्रले सम्मान गरेको छ। रुकुम जिल्लामा बसी शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याई पहिलो पिएचडी, पहीलो बरीष्ठ अधिबक्ताको उपाधी प्राप्त गर्न सफल भएको भनी रुकुम जिल्ला नेपाल राष्ट्रिय शिक्षक संगठनले र नेपाल शिक्षक सघ रुकुमले कदरपत्र तथा सम्मानपत्रले सुशोभीत हुने सुवर्ण अवसर मैले प्राप्त गरेको छु। आगे भगवानको भरोसा गर्दछु ।  ।इति।

प्रस्तुत आत्मवृतान्त डा. नवराज गौतमज्यूले २०७७ असार १५ मा आफै तयार गर्नुभएको हो ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *