जीतौरी
स्साला… बेबकुफी यो हात ! त्यसैमा अनायास खस्दा पनि टिपेर अर्कोमा राख्नुपर्ने ? थ्थु ! थ्थु ! थ्थु ! थ्थु !! थुक्क !!! तँ अविवेकी हातलाई ? तँ बढी जान्न हुने हातलाई ? पर्खि न । कोठामा पुगेपछि ठीकठाक नपारी कहाँ छाड्छु र ?
हँ ! हँ !! के भयो यो मलाई ? के भयो ? किन धङधङी लागेको जस्तो भैराछ ? धङधङी मात्र होइन झण्डै लडुँला भयो, लौन के भयो ? लडुँलाजस्तो भयो !! बिहानैदेखि एक गेडा पनि दानापानी मुखमा नच्यापेकोले यसो भएको हो कि ? होइन होला । के होला त उसो भए ? मेरो मुनिको जमिन किन फनफनी घुमिरहेको छ ? ओहो तिनीहरु पनि धेरै पर छुटिसकेछन् !
के बज्दै छ यो ? ए मोबाइल फोनको घण्टी पो रैछ, ह्याऽऽऽ जोसुकैले गरोस् ! त्यही शिलामणिले गरेको त होला । तर उसले भए त मेसेज मात्र पठाउँथ्यो, मेसेज पठाउनु इज्जत सम्झन्छ, अनि हामीजस्तालाई आफै फोन गर्नु अपमान सम्झन्छ उसले । होइन रहेछ उसको….. । हँ यो नम्बर ? सँधै जाने मात्र, कहिले नआउने नम्बर ! यो त मुनाको पो रैछ, मुनाको !! यसले पनि मैले हारेको थाहा पाइ होली । बोलाउँदा पनि सितिमिति नबोल्ने, फोन पनि सितिमिति नउठाउने, उल्टै मेरो हारमा चाँहि रमाउने ? मरिगए उठाउँदिन । काटिदिन्छु ल जा ! ल जा !! अरु कुनै बेला गर्नु नि ।
के को हल्लीखल्ली हो यो ? ए, मैले नै छोडेको खालमा पो हल्लीखल्ली भइरहेको रैछ त ! बाजी मार्ने वालाले जीतको बयान गर्दैछ होला । उसले यही जीतको बारेमा कविता लेख्ला, कथा बनाउला, वा औपन्यासिक पात्र बन्ला ऊ । आ… जेसुकै होस् हेर्दिन त्यता ।
हल्लीखल्ली त बढ्दै पो छ त ! आफूले हारेको खालको दृश्य हेर्नै पर्ने बनाए बजियाहरुले ! कोही छरपष्ट, कोही गुजुमुज्ज ? के हो यो ? नबुझिने स्वरहरु । जेसुकै होस् अलि नजिक जानुपर्यो । अँ.. अँ… हल्लीखल्लीका स्वरहरु स्पष्ट हुँदै जाँदैछन् ।
उनीहरु कराइरहेका छनः ‘ओहो कति ठूलो भूइँचालो ?’ ‘यो त नब्बे सालको भन्दा ठूलै हुनुपर्छ ।’
‘गाउँ सोत्तर भयो होला ।’ ‘ऊ त्यो पारि डाँडाचतिर पहिरो गए जस्तो छ । रातो माटो कुइरीमण्डल भएको छ ।’ ‘राम राम अब के हुने होला ?’ ‘जाऊँ, जाऊँ, अब नबसौँ यता ।’ ‘घरतिर के के भयो होला ?’ ‘होइन, होइन फेरि आउन सक्छ । अहिल्यै जान हुँदैन, कम्तीमा आफ्नो ज्यान त सुरक्षित स्थानमा छ ।’ ‘होइन, कोही आफन्त पुरिएर बचाउ बचाउ भन्दै पुकार गरिरहेका छन् कि ? हाम्रो एक सेकेण्डको ढिलाइले पनि कसैको ज्यान जान सक्छ । जाऊँ, जाऊँ ।’
ए बल्ल बुझियो । अब फर्किए पनि हुन्छ । नभन्दै उनीहरुले भनेकै सही रहेछ । भरखरै भुइँचालो नै गएको रहेछ । मेरो जीऊले सिरिङ्ग गर्यो । मुटु हल्लिन थाल्यो ।
दयाको स्वाङ पार्नेहरु होलान् यिनीहरु खाल छाडेर फटाफट पाइला चाल्दैछन् । एकदुई जना गर्दागर्दै खाल त रित्तो हुन पो थाल्यो त । फट्के अलि ढिपाहा छ, ‘जितेर कहाँ त्यसरी भागेर जान पाइन्छ ?’ भन्दै उठ्न खोज्नेलाई तान्दै खालमै थचार्दै गरिरहेको छ सकीनसकी । खट्के अझै ट्वाँ परेर हेरिरहेको छ । बरु खट्के जस्तै जुवा खेलाउने काम गरेको भए कहिले हारिँदैनथ्यो कि ? कति धैर्यवान छ खट्के ! उसको खेलाउने धीत अझै मरेको छैन । ‘यो खट्के हो, यसको घर तथा परिवारलाई यसै छाडिदिऊँ’ अवश्य भनेको छैन होला यो भुइँचालोले । तर उसले यस्तो बेलामा पनि हिम्मत हारेको छैन । परवाह गरेको छैन घर र परिवारलाई । तलतल लागेको होला चौबीसै घण्टा यस्तै जुवा खेलाइरहन पाऊँ र पैंसा सोहोरिरहन पाऊँ भन्ने ।
मलाई त सँधै भूइँचालो गइरहन्छ । हरेक चोटीको हारमा यस्तै भुइँचालो गएकोजस्तो भान हुन्छ मलाई । पूरै जीउ काँप्छ । जमिन बेसरी हल्लिएजस्तै लाग्छ । आँत सुकेर आउँछ । यो मनमा जाने हरेक पटकको भुइँचालोमा मुना नै रमिते बन्न आइपुग्छे र अनि मात्र घरमा एक्लै बसेकी बुढी आमा हस्याङफस्याङ गर्दै ‘कुलतमा नलाग् बाबु । कुकार्य गरेर पाएकी बुहारी पनि चाहिँदिन मलाई !’ भन्न आइपुग्छिन् ।
मुटु पनि हल्लिरहन्छ । जब खट्केले ख्वारख्वारेको गोटी हल्लाईहल्लाई ख्वारख्वार पार्न थाल्छ त्यही गतिमा मुटु पनि हल्लिन थाल्छ । अनि जब बुढी माऊको असक्त अवस्थाले झल्याँस्स हुन्छु, ती बुढी माउको ओठजस्तै हल्लिन्छ मेरो मुटु । जब शिलामणिले ‘जागिर मिल्नमिल्न आँट्यो’ भन्छ बेसरी हल्लिन्छ यो मुटु । अनि अनि जब मुनाले मसंग बोलूँबोलूँको भावमा गाला राता पार्छे झनै हल्लिन्छ मुटु । तर प्रत्येक मुटु हल्लाईमा फरक छ । साँच्चिकै फरक छ ।
अहिले भने साँच्चै भुइँचालो पो गएको रहेछ त । कति ठूलो गएको होला ? पुरानो घर थियो, मान्छेलाई नै लडाउन खोज्ने भुइँचालोले के बाँकि राखेको होला र त्यो रुग्ण घरलाई ? बिचरी बुढी आमा घरसंगै पुरिइन् कि ? ‘इन्द्रे, इन्द्रे, मलाई बचा, मलाई बचा ।’ ‘बुहारी खोज्ने काम छोडेर आइज यता । मलाई बचाइस् भने मात्र मेरा आँखाले बुहारी देख्न पाउनेछन्’ भन्दै गुहार मागिरहेकी होलिन्, बरी ! अरुहरु आफ्नै घर सम्पत्तिको सुरक्षामै लागेकाले मेरो घर हेर्न नभ्याएका हुन सक्लान् ।
बुढीको जिद्दि पनि अनौठो छ । उनलाई बुहारी चाहिएको हो र नाति चाहिएको होला नि । नातिको श्रीसम्पत्ति चाहिएको होला । नातिको पनि नाति चाहिएला । पनातिको पनि पनाति चाहिएला । त्यति जम्मै त कहाँ पुर्याउन सक्छ यो लफङ्गो इन्द्रेले ।
हो यो इन्द्रेले गाउँका खोरियाहरु खनेर कहिले पनि बुढी आमालाई बुहारी जुटाइदिने योग्यता हासिल गर्न सकेन । आजकालकी केटीहरु पनि छुनखान नसकिने भइसके ! सबैलाई पढेलेखेकै चाहिने, सबैलाई रोजगार लोग्ने चाहिने, सबैलाई सोझो र इमान्दार चाहिने, सबैलाई लक्का जवान चाहिने, अनि मजस्तालाई कसले पत्त्याउने ? कत्ति बुझ्दिनन् भन्या यो कुरा यी बुढी माऊ पनि ।
यिनै बुढीले बेलैमा नपढाइदिएर त हो नि ! बेलामा पढाइदिएको भए, मैले पनि सुखारी जागिर भेट्टाउँथेँ हुँला । ती बाँझा खोरियाहरुमा दिनरात जोत्तिन त पर्दैनथ्यो कम से कम । खोरिया खन्दा खन्दा जवानीमै जीउ कुप्रो परिसक्यो, जीउ कङ्काल बनिसक्यो, छाला लत्रिसक्यो ! कपाल फुलिसक्यो !
पाल्ला घरकी डल्ली पनि कम पात्तिएकी छे । माथ्ला घरको मभन्दा जेठो हिरे दाइलाई देखी भने ‘ए, दाइ ! चिया खान त कहिलेकाँहि हाम्रो घरमा पाल्नुस्, हामीदेखि त्यतिसारो किन रिसानी भाको ?’ भनेर हेल्का पार्छे । जब कि त्यो हिरेभन्दा दुईदुई वर्ष कान्छो मलाई देख्दा भने, ‘यो इन्द्रे बाजे पनि पापी मनको रैछ, बुढेसकालमा पनि तरुनीहरुलाई आँखामा आँखा जोतेर पो हेर्छ, बाइ !’ भनेर मेरो खिसि गर्छे ।
त्यै भएर नै ती बुढी माऊलाई एक्लै छोडेर बुढेसकालमा भए पनि पढ्न सकिन्छ कि भनी शहर पसियो । तर पस्दा नपस्दै यो कुलतमा फसियो । हत्तेरिका !
कुलत हो भन्नु कि होइन भन्नु । यो त्यति ठूलो जुवा होइन । जुवाको मापदण्डभित्र पर्दैन रे यो । तैपनि लुकिछिपि खेल्नुपर्ने । पुलिसले भेट्टाएमा एकरात चिसो छिँडीमा सुताएर छोडिदिन्छ रे । तर यसै पेशामा लागेकाहरुले पनि इज्जतको धक्कु लाउँछन् । करोडौँको सम्पत्तिवाल छन् रे । उनीहरुको लागि यो पेशा लतको छ । मेरै लागि कुलतको भइदिनुपर्ने ? कि आँटैले खान्छ, कि ढाँटैले खान्छ, भन्या सोह्रै आना साँच्चिकै हो रहेछ । भाग्य पनि हो, अरुले थापेको परिहाल्छ, मैले थापेको कहिल्यै परेन । थुक्क मेरो भाग्य ! त्यै बुढी माऊले गर्दा त हो नि ! होइन, होइन त्यै शिलामणिले गर्दा हो, त्यो पनि होइन त्यै मुनाले गर्दा हो !
मुना पनि निकै अनौठी लाग्छ मलाई । मैले नहेर्दासम्म मलाई हेरिरहन्छे, मैले हेर्यो कि नदेखेजस्तै गर्छे । सायद मेरो अवस्था बुझेकी हुनुपर्छ उसले । अनौठो छ यो संसार पनि, कोही अवस्था बुझेपछि घिनाउँछन्, कोही त्यही अवस्था बुझेपछि दयाउँछन् । यस्तै दयावान छे मुना । अरुको घिनलाग्दो अवस्था बुझ्दाबुझ्दै पनि दयाउने मान्छेहरु नै देवता बनेको हुनुपर्छ । यो अर्थमा त मुना देवी हो देवी !
एक दिन त मुटु दरो पारेर सोधिहालेँ, ‘मुना तिमी मलाई साँच्चिकै मन पराउँछ्यौ ?’
उसले पनि ठाडो जवाफ लगाई ! ठाडो भन्नु कि नरम भन्नु ? उसले भनेको ठीकै हो पनि । यो अर्थमा त नरम जवाफ हो उसको । उसले प्रत्युत्तरमा भनी, ‘पहिले आफ्नो खुट्टामा उभिने होऊ अनि भनुँला ।’ अच्चम्मको जवाफ के अच्चम्मको ! म त चकित परेँ ! काटीकुटी मेरी आमाकै जस्तो जवाफ ! ऊ पढेलेखेकी, मेरी आमा भने अनपढ गँवार, तर प्रत्युत्तरमा कस्तो समानता !
सबै यस्ता हुँदैनन् । त्यो नखरमाउली डल्लीले त मलाई ‘बाजे’ पो भन्छे । मभन्दा पाँच वर्ष मात्र कान्छी हुँ भन्ने पनि थाहा छ उसलाई । तर यो मुना त्यस्ती छैने । उसले मेरो कपाल फुलेको पनि देखेकी छे । बुढ्यौलीले मात्र कपाल फुल्दैन भन्ने पनि ज्ञान रहेछ उसलाई । यो ज्ञान कि म भोग्नेसंग छ कि त्यो बुझ्नेसंग मात्र छ । मेरो भोगाइ र उसको बुझाइमा कति समानता ! त्यसैले उसको, मेरी आमाको र मेरो बुझाइ उस्तैउस्तै लागेकोले नै मैले मुनालाई मन पराउन थालेको हुँ ।
तर ? मेरो फोन कहिले पनि उठाउँदिन उसले । कहिले त नभनूँ, कहिलेकाँही मात्र उठाउने गर्छे । मैले उसलाई मन पराए पनि उसले मन पराउँदिन कि ? मेरो बुझाइ त्यस्तो हुन गएको हो कि ? जे होस्, मैले आफ्नै खुट्टामा उभिन निकै प्रयास गरेँ । तर मलाई आफ्नै खुट्टामा उभिनको लागि कुलतको बाटो देखाइदिए बद्माशहरुले । मतियार त त्यही शिलामणि हो । अरु जुवारेहरु सहायक बनिदिए । उनीहरुको लागि यही बाटो सुलतको छ ।
हुन त भाग्य पनि हो । उनीहरुको भाग्यले साथ दिइरहेको छ । मेरो भाग्यले तीन बल्ड्याङ खाइरहेको छ । अपराधीहरु पनि सबै जेल कहाँ गएका छन् र । भ्रष्टाचारीहरु सबैले कहाँ भ्रष्टाचारको आरोप खेपेका छन् र । अपराधी जेल नगएसम्म साधु नै कहलिन्छ । मेरा मात्रै दिनदशा बिग्रिएका रहेछन् । थुक्क जिन्दगी !
कसैले नजितेको दिन आजै हो । हो आज कसैले जितेन । सबको सब पैँसा खट्केकै भयो आज त । जितेकोले नै हल्लीखल्ली मच्चायो भन्ने मेरो भ्रम रहेछ आज भने । आज त कसैले पनि बाजी मार्न सकेन । त्यो खट्लाकेई नै फाइदा भयो । सबै खेलभन्दा मेरो लागि आजैको ठीक दिन रहेछ । मैले मात्र होइन सबैले हारे । कसैले जितेन । सबैको पैँसा खट्केकै भयो । त्यसमा पनि सन्तोष मान्नुपर्छ मैले । तर, त्यस्तो आत्मसन्तुष्टि हुनेलाई किन रिङ्टा लागेको भान भयो त ? हारले गर्दा हो र ? आज रिङ्टा लागेको भुइँचालोले गर्दा पो हो त । थुक्क सुद्धि !
भुइँचालो ? हो, भुइँचालोले गर्दा नै हो जमिन रिङेको । उसोभए मेरी बुढी आमा खोइ ? बिचरी घरले च्याप्पिएर पनि बुहारी खोज्दै होलिन् । बुहारी होइन होला, छोरो इन्द्रेलाई नै खोज्दै होलिन् । बुहारी मुना त बुहारी बन्न नै बाँकि छ नि । मुना ? हो मुना । उसले त भर्खर फोन गरेकी थिई । तर मैले उसको फोन काटिदिएँ । किन ? किनकि उसले मेरो हारमा गिज्याएकी थिई । कहाँ हुनु ? उसको फोननै आएको थिएन । होइन, फोन त आएको थियो, तर उसलाई मैले यस्तो खालको जुवा खेल्छु भन्ने थाहै छैन । जुवाको बारेमा थाहा छैन भने हारको बारेमा पनि थाहा हुने कुरै भएन उसलाई ।
उसोभए किन काटिदिएँ त फोन ? बिचरीले भुकम्पको जानकारी दिन खोजेकी होली । कति मायाँ गर्छे मलाई उसले । अघिपछि फोन उठाउँदिन, तर आज आफैँले गरी । तर मैले भने हारको लज्जावश् फोन नै काटिदिएँ । अब उसले किन गर्थी मलाई फोन ? अब उसले मलाई मरिगए फोन गर्दिन होली । ए त्यो पनि रहेनछ । ए नेटवर्क नै रहेनछ ! थुक्क नेपाली नेटवर्क ! भुइँचालोको यस बिपत्तिमा पनि बन्द हुनुपर्ने ? मैले कोशिस गर्दा नै फोन नलाग्नुपर्ने ?
आज भने जित हुने पक्का थियो । अरु कसैले पनि ‘बुर्जा’मा बाजी थापेकै थिएनन् । मैले ‘झण्डा’मा बाजी थाप्न पुगेँ । मैले ‘झण्डा’मा बाजी थाप्न खोज्दा ‘बुर्जा’मै मेरो हज्जारको नोट खस्न पुगेको थियो । थुक्क बुद्धि ! थुक्क कीरा पर्न नसकेका हात ! उठाएर झण्डामा हाल्न पुगेँ । नउठाइदिएको भए डब्बल पर्ने थियो । डब्बल भनेको चौबीस, चौबीस हजार । चौबीस हजारमा एकहजार थपेको भए पच्चीस हजार पुग्थ्यो !
शिलामणिले ‘पच्चीस हज्जारले हुन्छ’ भनेको थियो । पच्चीस हज्जार मात्र पुर्याउन सकेको भए मेरो जागिरी पक्का थियो र मुना मेरी बन्न सक्थी । शिलामणिको मन पनि शिलाले नै बनेकोजस्तो छ । कहिले मन पग्लँदैन । हामीजस्ता गरीबगुरुवाको काम कहिलेकाँहि बिना पैँसा गरिदिए पनि हुने ! धर्मै कमाउँथ्यो होला । पच्चीस हजारको सट्टा चौबीस हजार नौ सय उनान्सय टक्राउँछु भने पनि मण्टो बटार्छ । छोइसक्नु छैन उसलाई पनि । जागिर खोज्नेले पनि स्थापित पेशा बनाइिदएका छन् यो उसको । उता खोरिया, यता शिलामणि सबैले मेरो घरजमको लागि मलाई अयोग्य नै प्रमाणित गरिदिए । अहिले नै बुहारी लिएर आमा भए ठाउँ पुग्दा कति रमाउँथिन् होला ती बुढी आमा ! हरे धुकधुकी पनि बाँकि छैन कि उनको ? यो भुइँचालोले गर्दा !
ध्यान पनि कता पुर्याउनु ? यो ठूलो जुवा होइन । हुँदै होइन । जाबो लङ्गुर बुर्जा हो । गाउँतिर यसैलाई ख्वारख्वारे भन्थ्यौँ । ठूलठूलो चित्र कोरेर बनाइएका इँट, पान, हुकुम, चिडी, झण्डा, बुर्जा । इँट, पान, हुकुम, चिडी, झण्डा, बुर्जा । ती पनि राता काला । रातामा पनि पान र इँट । अनि कालामा पनि चीड र हुकुम । अनि थप झण्डा र बुर्जा । बुर्जा पनि राजाको श्रीपेच जस्तो । कुन महत्त्वपूर्ण, कुन अमहत्त्वपूर्ण ?
मलाई त लागेको थियो एकपटक बुर्जामै बाजी थाप्छु भनेर । एक मन दोमन हुन पुग्यो । बुर्जामा खसिसकेको नोट पनि झण्डामा राख्न पुगियो । मैले मात्र हो र कसैलाई हेक्का भएनछ आज दुई हज्जार बहत्तर सालको बैशाख बाह्र गते बाह्र बज्नै थाल्दा बुर्जामै बाजी पर्ने सम्भावना त थियो नि । सप्पैको सुद्धि हराएछ । अरुको सुद्धिमा नआइदिएर मेरो सुद्धिमा मात्रै आइदिएको भए पनि पासा पल्टिने थियो । जागिर पाइने थियो । आमाले बुहारी मात्रै होइन नाति पनाति समेत पाउने थिइन् । थुइक्क भाग्य ।
आयो आयो । सुद्धिमा आयो । अब भोलि बैशाख तेह्र गते ठीक तीन बजे तीनमै थाप्छु म बाजी । तीन भनेको चिडी हो । यो कुरा जुवारेहरु कसैलाई मरिगए थाहा हुने छैन । मुनालाई यो कुरा भोलिसम्म थाहा नहोस् । अनि आमालाई । बिचरी घरमा पुरिएर अझै बचाऊ बचाऊ भनिरहेकी छिन् कि ।
आयो । आयो । भोलि भनेर व्यग्र प्रतिक्षामा रहेको त्यो दिन पनि आजै बनेर आइपुग्यो ।
खट्के पनि महाचतुर छ भन्या । आज टुँडीखेलमै पाल र खेलको व्यवस्था मिलाइसकेको रहेछ । पहिले हामीले टीनले बेरेको छाप्रोमा जुवा खेल्थ्यौँ, तर आज नयाँ रङ्गीबिरङ्गी पालको चिटिक्कको घर पो तयार गरेर राखेको रहेछ । अरुको भन्दा फरक देखिँदैन यो पाल ।
अब पुलिसले पक्रने डर पनि छैन उसलाई । केटाकेटीदेखि बुढाबुढीसम्म खेलिरहेका छन् तास र लङ्गुर बुर्जा । खुलेआम । हामी पनि मज्जासंग उनीहरुको बीचमै बसेर खेल्न सक्ने भयौँ । भाग्य दायाँ पर्दै जान थाले जस्तो छ । हेरौँ अब केही हुन्छ कि ?
हरिबहादुर पनि फत्तर फत्तर गरिरहन्छ । उसले बाजी थाप्नुपर्या छैन अनि किन नगरोस् । बाजी थाप्नुपर्या भए सातो कसरी गइरहन्छ थाहा पाउँदो हो पाजीले । यसो कसैले जीतौरी दियो भने हात थाप्छ । नत्र हेरेर गफमा भुलाइरहन्छ । आफूलाई टेन्सन भइराख्या बेला ।
ऊ भन्छः
‘धेरै भयो मान्छेहरुको आफ्नो घरमा जान डराएर खुल्ला आकाशमुनि बास बस्न थालेको पनि । खुल्ला आकाशमुनि भनिए तापनि उनीहरुको पाल लाउने खाने सामग्रीको व्यवस्थापन आदिले को सम्पन्न र को विपन्न अलग्गै चिन्न सकिन्छ । राहत पनि पहुँचवालाहरुको लागि मात्र हो रे । हल्ला जे भए पनि पालमुनिको बासिन्दाहरु सबैलाई एउटै चिन्ता छ मुख बाएर सम्मुख आउँदै गरेको प्रलयकारी भुइँचालोको । यही डरको मारवश् उनीहरु यताउता कतै सर्न पाएका छैनन् । आफन्तजनलाई पनि स्कूल अफिस वा व्यावसायिक काममा जान दिएका छैनन् अभिभावकहरुले ।
मोबाइलमा एफएम वा नेट हुनेहरुले बेलाबेलामा जानकारी गराउँछन् । सुरक्षाकर्मी र स्वयमसेवकहरुले दशौँ दिनसम्म पनि पुरिएका ज्यूँदा मान्छेहरु सकुशल निकाल्दै छन् रे । घरमा छोरो बित्दा वा आफ्नै घर भत्किँदा पनि बिदा मिलेको छैन रे । सहयोगी हातहरु दिनरात नभनी उद्धारमा खटिईरहेका छन् रे । कतिले त उद्धारकै क्रममा ज्यान पनि गुमाए रे ।
ज्यूँदाहरुले ज्यूँदो छु भनी प्रमाणित गर्ने समय हो यो । सरकारले ज्यूँदो छु भनी देखाउन दाँतेनङ्ग्रे गरिरहेको छ । विपक्षीले ज्यूँदै छु भनी देखाउन कसरत गर्दै छ । अरु संघसंस्था तथा ज्यूँदो आत्मा भएकाहरुले पनि ज्यूँदो देखिने काम गर्न थालेका छन् । हाम्रो जुवारे ताल त मरेका मान्छेहरुले गर्नेजस्तो ताल भयो ।’
फट्केले मुखभरिको जवाफ दिन्छ उसलाई, ‘हामी मात्र हो र ? हेर न वरिपरि साराको सारा दुनियाँ उल्टिएर यतै बसाइ सर्न आएको छ । आफेलाई भनेको होस् भने तँ त कहिले पो ज्यूँदो थिइस् र भुइँचालो नआउँदै मरिसकेका मध्ये तँ पनि एक होस् ।’
हरिबहादुरलाई फट्केले भनेको कुराले कत्ति बिझ्दैन । उसको रोजगारी नै गफ लडाउनु हो । उसले गफ सुनाउन छाड्दैनः
‘मर्नेहरुको संख्या पनि दश हजार नाघिसक्यो रे । घाइते त कति हो कति । पाँच लाखभन्दा बढी घरहरु त क्षतिग्रस्त छन् रे । भरखरै दोलखातिर केन्द्रबिन्दू बनाएर पाँच रेक्टरको भुइँचालो गयो रे । यसले कैयौँ मान्छेहरु तथा पशुहरु घरमै पुरिएर लाश गन्हाउँदा महामारी फैलिने डर छ रे । यी पालबासीहरुलाई यस्ता समाचारले मुटु पगाल्न सकेको छैन । तसर्थ यस्ता समाचार हत्पति अर्को व्यक्तिसम्म पुग्दैन । तर एक ज्योतिषले भनेका छन् रे आज बेलुका भयंकर भुँइचालो जाँदैछ रे भनेर चलाइदिएको हल्ला तुरुन्त प्रत्येक पाल पालका भुराभुरीदेखि बुराबुरीसम्म पुग्छ र सबै मानिसहरु डरले थरहरी काँप्न थाल्छन् । आफै डरपोकहरुले अरुहरुलाई के उद्धार गरुन् ?’
खट्के पनि महाचतुर छ । ख्वारख्वारेमा विद्यावारिधि हासिल गरे जस्तो छ । आँखा चिम्म पार्ने बित्तिकै कपटी खेल खेली हाल्छ । कसलाई जिताउने कसलाई हराउने भन्ने कला पनि सिके जस्तो छ । ती समाचारहरुतिर उसको ध्यान पटक्कै खिचिँदैन । हामी केही जुवारेहरुको पनि ध्यान त्यतातिर जान दिएको छैन उसले । धेरैजसो त जुवाको खाल छाडेर हिँडेका पनि छन् । हिँडेकाहरुलाई लक्षित गर्दै भन्छ ऊ, ‘उद्धार गर्न जानेहरु नै चोर भनेर समातिनु बेर छैन । नदुखेको टाउको डोरी लाएर किन दुखाउनु पर्याछ र हामीलाई ?’
चोरहरुको मुटु पनि उस्तै शिलाले बनेको जस्तो छ । अरुहरु घरबार तथा कामकाज छोडेर बाहिर बसे पनि यी चोरहरुले चोर्न छोडेका छैनन् । यही हो मौका मौका फेरि आउँदैन जस्तो गरी खाली घरमा लुकिछिपि चोरी गरिरहेका छन् । भुइँचालो आउँदाआउँदै अर्को घरमा पस्दा आफू मर्लान् तर चोरेको धनले महल बनाई अर्को भुइँचालोसम्मलाई बाँच्ने रहर मरेकै छैन उनीहरुमा । धन्य चोरका मनहरु ।’
हरिबहादुर गफ सुनाउन छाडेको छैन, रेडियोले भनेको ठूलो भुइँचालो गएको चौबीस घण्टाभित्र अर्को ठूलो भुइँचालो जाने सम्भावना हुन्छ रे । आज बाह्र बजेसम्म सतर्क हुनुपर्छ । त्यसपछि त केही हुँदैन रे । यो कुरा सबको कानमा परिसकेको छ । यस्ता कुरा कसैलाई सुनाउनुपर्दैन । बाह्रै बज्न थाल्दा सबैको सातोपुत्लो उडेको छ ।
बाह्र बज्यो । बाह्र बज्दासम्म साना साना झट्का त कति गए कति । बाह्र बजेर ए मिनेट गयो । दुई मिनेट गयो । पाँच मिनेट गयो । दश मिनेट पनि गयो । अब सबैका चेहरा उज्यालो हुन थाल्यो । अब केही हुँदैन ।
म झनै खुशी छु । मलाई अड्कलबाजी र बाजी गर्न दुवै आउँछ । मैले निधो गरिसकेको छु । मैले आज पनि चिडीको चिन्हमा बाजी थाप्नेछु । चिडी भनेको तीन हो । तीनमा अगाडि एक थपे तेह्र हुन्छ । तसर्थ तेह्र गते तीन बजे मलाई बाजी पर्ने सम्भावना प्रबल छ । अरुले यसमा बाजी थाप्न अनुमान गर्नसक्ने छैनन् । अरुले अन्तै बाजी लगाउने छन् । सबको पैंसा आज मेरै पोल्टामा पर्नेछ ।
खट्केले थाङ्नो परिसकेको कालो रातो रङ पोतिएको खाल भुइँमा बिछ्याइसकेको छ । गोटी ख्वारख्वार पारी पारी हल्लाइरहेको छ, ‘आउनुहोस् ! आउनुहोस् ! ल खुल्दै छ, ल खुल्दै छ’ भन्दै । मेरो मन तीनको नजिक कुन बेला पुग्ला भनी हुत्ति खेलिरहेको छ ।
एक नबज्दै फेरि हल्लियो जमिन । उभिएकाहरुलाई पल्टाउने गरी हल्लियो । घर ढाल्ने गरी हल्लियो र वरिपरिको भौतिक संरचनामा पुनः विध्वंश मच्चियो । मान्छे लगायत सबै जीवजन्तुको हाहाकार मच्चियो । वरिपरि कुइरीमण्डल भयो । जुवा खेलाउने र खेल्नेहरुको भागदौड मच्चियो । म भने फेरि दुवै हातले पुर्पुरो थामेर थचक्क भूइँमा बस्न पुगेँ । मेरो संसारसंगै मुना र मेरी आमाको तस्बीर पनि आँखा अगाडि फनफनी घुमिरहेको थियो ।
भुइँचालोले जमिन हल्लाउन छाडेपछि म उठेँ । साला खट्केले नछोडेको भए पनि हुने नि अहिल्यै । आज त बाजी पक्का पर्थ्यो, पर्थ्यो । नामर्द डरछेरुवाहरु ! नाथे भूकम्पदेखि पनि डराएर भाग्छन् । उनीहरुले दिनदिनैको बाजीबाट बाजी मारेकै छन्, कमाएकै छन् । अनि किन नभागून् ? साला भगुवाहरु !
त्यसबेलादेखि मुनाको फोन आएकै छैन । जागिर नै नभेट्टाएर मुनालाई मैले पनि किन फोन गरिरहूँ भनी फोन गर्न छोडिदिइसकेको छु । आ, जेसुकै होस् ! भनी जीर्ण घर र बुढी आमालाई पनि वास्ता गर्न छोडिदिएँ ।
बाह्र गते बाह्र बजे आयो । तेह्र गते तेह्र बजे आयो । चौध गते पनि चौध बजे धेरै ठूलो भुइँचालो जाने सम्भावना छ रे । अर्को हल्ला चल्यो । चौध गते चौध बजे पनि सबै शहरबासी आफ्नो नियमित काम छोडेर खुल्ला चौरमा भागदौड मच्चियो । यो देखेर सरकारले रेडियोले फुक्यो एक हप्तासम्म सानासाना पराकम्पन गइरहन्छन् । आत्तिनुपर्दैन । सरकारले पनि अड्कलबाजी गरिरहेको छ । मैले पनि अड्कल बाजी गरिरहेको छु । उसोभए चौध बजे पो चिडीमा थापे बाजी पर्थ्यो कि ?
अड्कल नगरेको दिन उनन्तीस गते पनि भुइँचालोले ठूलै झड्का दियो र सामान्यीकरण हुन थालेको शहरको जनजीवन फेरि अत्तालियो । न ज्योतिषको अड्कल मिल्यो न सरकारको अड्कल मिल्यो न मैले अड्कल गरेकोमा नै बाजी पर्यो ।
यस्तै बाजी र अड्कलबाजीमा धेरै दिन बितिसकेका थिए । मैले सोचेँ दुई हज्जार बहत्तर साल दुई महिना दुई गते दुई बजे आउँदै छ । बाजीको लागि यो दिन एकदमै उपयुक्त दिन बन्न सक्छ ।
बैशाख बाह्रदेखि यता शहरवासीहरुको शंकाउपशंकाले निद्रा हराम भइरहेको थियो । कसैले सरकार छ भन्थे, कसैले छैन रे भन्थे । कसै कसैले अनावश्यक हल्ला मच्चाउने राहतमा तलमाथि गर्ने र कालोबजारीया गर्नेहरुलाई ठाउँको ठाउँ ठहरै पार्ने भनेर सरकार घाँटी सुक्ने गरी कराइरहेको छ रे भन्ने पनि सुनिन्थ्यो । बिजुली बत्ती नआएको धेरै दिन भइसकेकोले सरकार कहाँ छ ? र के भन्छ, के भन्दैन ? केही सुन्नै पाइएको थिएन । सरकारले जे भने पनि खुल्ला आकाशमुनि डेरा सारेर बसिसकेकालाई कुनै परवाह थिएन । मान्छेहरुलाई त एउटै डर थियो कि बैशाख बाह्र जस्तै यो बहत्तर साल दुई महिना दुई गतेको दिन पनि कुसंयोग जुरेको साह्रै खतरनाक साइत हो रे । यो दिन ९ भन्दा बढी रेक्टरको भुइँचालो जाने सम्भावना छ रे ! त्यो भुइँचालो आइहाले मान्छे भकुण्डोजस्तै उफ्रिने छन् रे । डाँडाहरु समथर बन्ने छन् रे, समथर ठाउँ पहाड बन्ने सम्भावना छ रे, ज्योतिषहरुले पनि त्यही भनिरहेका थिए रे । सबैको गाइँगुइँ यस्तै सुनिन्थ्यो । सरकारले जतिसुकै यो कुरालाई छिपाउन खोजे पनि एककान दोकान मैदान भइसकेको थियो । यो दिन जतिजति नजिक सर्थ्यो, त्यति त्यति मान्छेहरुको ढुकढुकी बढिरहेको थियो । हसले ठाउँ छोडिरहेको थियो ।
तर मलाई त्यसको परवाह थिएन । घरबेटीले डेराबाट निकालिदिइसकेका थिए । डेराको सामान खुल्ला रुपमा चौरमा छाडे पनि चोरले आँखा लगाइहाल्ने खालको थिएन । त्यही पनि नयाँ पालमा राख्ने व्यवस्था मिलिसकेको थियो । तसर्थ त्यसको संरक्षण गर्ने चिन्ता पनि थिएन । चिउरा चाउचाउ पनि निशुल्क आउन थालिसकेको थियो । दिनदिनभर रातरातभर ख्वार ख्वारमै बिताउने सुअवसर मिलिरहेको थियो ।
त्यो दिन पनि आइपुग्यो अर्थात् बहत्तर साल दुई महिना दुई गतेको दिन । सबैको लागि केही न केही अनिष्ट हुने आशंकाको दिन । मेरो लागि भने पक्का जीत हुने दिन । अर्थात बाजी मार्ने दिन । मैले खट्केलाई फकाइ फकाइ जे सुकै भए पनि संसारै उल्टिए पनि ठीक दुईबजे लङ्गुर बुर्जा खेलाउन मनाइसकेको थिएँ ।
लङ्गुर बुर्जा खेलाउने खट्केले खाल खोल्यो केही मान्छेहरु उसका वरिपरि झुम्मिए ।
मैले पानमा बाजी राख्न खोजेँ । अरुले पनि पानमै बाजी थापिदिए । पान बाहेक अरुमा बाजी थाप्ने एउटा पनि भएन । सबैको मनमा भुइँचालोको त्रासले चेहरा कालोनिलो देखाइरहेको थियो । मानौँ केही बेरमै संसार ध्वस्त हुँदैछ । केही बेरमै मान्छेहरु कच्याककुचुक हुँदैछन् । दुई बज्दै थियो ।
बाजी खेलाउने खट्केलाई भुइँचालोभन्दा पनि खेलबाट उठ्ने पैंसाको चिन्ता थियो । तसर्थ उसले भुइँचालोको कुनै परवाह गरेन । ठीक दुई बजे उसले गोटी ‘ख्वार ख्वार ख्वार ख्वार’ पारेर हल्लायो र फुत्त फाल्यो । तीनवटै झण्डा पल्टिए ।
‘मार्रा !’ भन्दै उफ्रियो खट्के । बाजी थापेको सबै पैंसा उसैको भइसकेको थियो । भुइँचालोको अड्कलबाजी गर्नेहरुको भने बाजी मरेकोले चेहरा अँध्यारो भएथ्यो होला । भुइँचालोको त्रासले लुगलुग काँपिरहेकाहरुमा पनि महाकाल टरेको देखेर चेहरा उज्यालो हुन नपाउँदै फेरि हल्ला चल्न थाल्यो । दुई बजे होइन बीस बजे हो रे भरखरै अर्को एकजना नयाँ ज्योतिषले भनेको । अर्थात रातको आठ बजे । विश्वास गर्नेहरुको अनुहार पुनः अँध्यारो हुन पुग्यो ।
त्यसो त अड्कलबाजी चलिनै रह्यो । बैशाख बाह्रदेखि यता हरेक दिनको लागि भुइँचालो आउने अडकल गरे । जसको अड्कल मिल्यो ऊ ठूलो ज्योतिष कहलियो । मैले पनि बरु भुइँचालोकै अड्कल गर्न थालेको दिनमा कुनै न कुनै दिनमा अवश्य ज्योतिष बन्ने थिएँ कि ?
इस् ! गरिस् !! तेरो काम पनि त त्यही अड्कलबाजी गर्ने जुवामा बितिरहेछ । कहिले मिल्यो तेरो अड्कल ? कहिले मिल्यो तेरो अड्कल ? अड्कलै अड्कलमा बित्नेभयो शिलामणि मेरो जीवन । बिचरी बुढी आमा तिम्रो हालत के भएको होला अहिले ?
पाँच बजेर उन्नाइस मिनेट जाँदा मझौला भुइँचालो गयो । हल्ला चल्यो फेरि ‘फलाना ज्योतिषले सवा पाँच बजे नै भुइँचालो जान्छ’ भनेका थिए रे । उनको गेस ठ्याक्कै मिल्यो । उनै रहेछन् ठूला ज्योतिष त !
मेरो पैँसा गइसकेको थियो । घर फर्किने पैँसा नभएको भन्दै एकजना चिनजानका व्यक्तिबाट ऋण काढेर बाँकि रहेको हजार रुपैँया अझै बाँकी थियो । मेरो मुख हेरेर होइन आमाको मुख हेरेर सापटी दिएका थिए ती व्यक्तिले ।
दुईहजार बहत्तर साल दुई महिना सात गते । अठोट गरेँ । आज बाजी नजिती छाड्दैन । खट्के पनि तयार भो मलाई मात्र बाजी खेलाउनलाई भए पनि ।
अरुहरुको लङ्गुर बुर्जा खेल्ने जाँगर मरिसकेको थियो । कोही पनि उपस्थित भएनन् त्यस दिन । मैले प्रत्येक चिन्हमा पान, हुकुम, चिडी, इँट, झण्डा र बुर्जा सबैमा एकसय पचासको दरले बाजी थापिदिएँ । मेरो नौ सय रुपैँया बाजी थापेकैमा गयो ।
‘ख्वार ख्वार ख्वार ख्वार’ ‘मार्रा’
‘मार्रा’ चिच्याएँ म पनि ।
इँटमा दुई र चीडमा एक चिन्ह उल्टिए ।
म मार्रा भन्दै उफ्रिएँ । मैले खट्केबाट जीतेको पैंसा तुरुन्तै मागेँ । खट्केले इँट र चीडमा थापेको पैंसा बाहेक सबै सोहोर्यो र इँटको डबल र चिडीको सिङ्गलको हिसाब गरेर जम्माजम्मी चार सय पचास रुपैँया मलाई बुझायो । खट्केले कति लियो मलाई कुनै पछुतो थिएन । म खुशीले आल्हादित भएको थिएँ । आज बल्ल मेरो जीत भएको थियो । मैले सर्ट र बनेन खोल्दै लठ्ठीमा घुसारेर घुमाउन थालेँ । अनि चौरभरि ‘जीतेँ, जीतेँ’ भन्दै कुद्न थालेँ । मलाई यसरी विजयोन्मादले कुदेको देख्दा अरुहरु आश्चर्यचकित भई हेरिरहेका थिए ।
एकछिनपछि मलाई एकदमै ग्लानीले गाँज्दै लग्यो । किनभने मेरो यो जीतको जीतौरी माग्न कोही आएन । मलाई हेपे जीतौरी माग्नेहरुले पनि ।
मैले यो जीत मुनालाई सुनाउन खोजेँ । उसले मरिगए फोन उठाइन । उसले फोन नउठाउनु मेरो लागि हार थियो । तर म हार्ने वाला थिइन ।
ल्याण्डलाइन भएको ठाउँमा पुगेँ र फोन गर्नुपर्ने काम बताएँ ।
उसले मलाई फोन गर्न दिएन । मैले फोन गरेवापत आकर्षक पैंसा दिने लोभ देखाएपछि उसले भन्यो, ‘एक कलको दश रुपैंया लाग्छ, तिर्छौ ?’
म अकमकाएँ, ‘तर सरकारले त चाहिँदो भन्दा बढी शुल्क लिने दिनेलाई कारवाही गर्ने भनेको छ नि ?’
उसले भन्यो, ‘बिजुली, पानी र संचारमा बाहेक अरुमा पो कारवाही गर्ने भनेको हो त लाटा । यी कुरा त सरकारले नै पुर्याउन सकेको छैन । कहाँ कारवाही गर्छ ?’
म पनि सहमत भएँ ।
एक दुई घण्टी गएपछि मुनाले फोन उठाई । उठाई मुनाले फोन । हेलो । यो स्वर मेरै मुनाको थियो ।
खुशीको मारवश् मैले रिसिभर कानमा राख्नुको सट्टा दायाँ हातले टाउकोभन्दा माथि उठाएँ र देब्रे हात कम्मरमा राखी नाच्न थालेँ । खुशीले उफ्री उफ्री नाच्न थालेँ ।
मुनालाई मैले आज साँच्चिकै जितेँ ।
उसले के सुनी, के बुझी, मलाई हेक्का भएन । जवाफ के दिई । परवाह भएन । एकोहोरो चिच्याइरहेँ ‘मैले जितेँ ।’ ‘मैले जितेँ ।’
अनि फोन राखिसकेपछि साहुले फोनको प्रतिकल दश रुपैँयाको दरले दश मिनेटको सय रुपैँया माग्यो ।
मैले उपयुक्त समय पाएँ, ‘सय रुपैँया मात्र होइन जीतौरी स्वरुप थप सय रुपैँया पनि लैजाऊ ।’
फोनवालाले मलाई के ठान्यो मैले परवाह गरिन । ऊ पनि खुशी नै भयो होला ।
अनि म लागेँ आफ्नै बाटोतिर । खुशीले उफ्रिँदै उफ्रिँदै ।
सोचेँ बाँकि पैँसा पनि साथमा किन लैजाऊँ ? लाग्यो पैंसाले कहिले नपुग्ने मानिसलाई नै यो बाँकी पैंसा दिएमा सदुपयोग गर्न सक्ला । यसको लागि शिलामणि नै उपयुक्त व्यक्ति हुनसक्छ । तसर्थ हानिएँ सरासर शिलामणिको घरतिर । बाटोभरि कच्ची घर हुनेहरुको कारुण दृश्य देखिन्थ्यो । रोइकराइ गरिरहेका थिए उनीहरु । पक्की घर हुनेहरुको अलिअलि घर चर्केका र घरधनीहरु अप्रत्यासित आशंकाले कालानीला भएका देखिन्थे । सडक पनि कतैकतै उखडआखड भएको थियो । मेरो ध्यान कतै अडिन सकेन । म शिलामणिको घरको पर्खालबाहिर पुगेँ । पर्खाल अलिअलि भत्किएको थियो । चारतले घर जसको तस थियो । अनि बाहिरबाटै चिच्याएँ ।
‘ए, शिलामणि मैले आज जितेँ । यसरी जितेँ कि अब मलाई शहरको जागिरको जरुरत छैन । तँलाई पच्चीस पच्चीस हजार बुझाएर यहाँ जागिर खानुको औचित्य पनि समाप्त भई सक्यो । आइज बाहिर बरु म नै तँलाई यस जितको जीतौरी दिन चाहन्छु । लैजा जीतौरी खा । तँ पनि यस जीतौरीको लागि योग्य नै छस् । तँलाई थप अवसर छोडेर आएको छु । शहरभरि घर ठड्याएस् ।’
घरबाहिर कोही निस्किएन । कोही भए पो निस्कनु । घर एक्लो थियो ।
त्यहीँ नजिकैको एउटा सानो ढुङ्गा टिपेँ । मैले बाँकि रहेको चार सय पचास रुपैँयालाई त्यही ढुङ्गामा बेरबार पारेँ । मैले उसलाई बोलाउँदा ऊसले सँधै टाउको निकाल्ने गरेको झ्यालमा त्यो पैंसा बेरिएको ढुङ्गा हिर्काएँ । ढुङ्गाले कालो सिसा फोर्दै भित्र छिर्यो ।
म खुशीले आल्हादित भएँ । मैले हार्दा हार्दै पनि आज धेरै कुरा जितेको थिएँ । जित्दाजित्दै पनि धेरै कुराहरु हार्न पुगेको थिएँ ।
साला जिन्दगी………………..
देखिस् डल्ली ? देखिस् ? मैले शहरबाट थप कपाल फुलाएर आएको छु ।
कति दिन भयो आज ठूलो भुइँचालो गएको ? यहाँका सबका सब मान्छेले दिन मात्र होइन कति मिनेट कति सेकेन्ड भयो भनेर पनि बताइदिने छन् । तर म हुस्सु । म एकजनालाई मात्र । म मात्र होइन । त्यो खट्के र फट्केलाई पनि थाहा छैन आज कति दिन भयो भनेर । तिनीहरु त दिनलाई पनि मध्यरात भन्न बेर लाउँदैनन् । जे भए पनि धेरै दिन बितिसकेको हुनुपर्छ बैशाख बाह्र यता ।
‘आमा, आमा, आमा, म फर्किँदैछु । त्यसबेलासम्म तिमी बाँचिरहे है ।’
यो जितहार यस महाभूकम्पको सम्झनाजस्तै अमिट भएर रहनेछ । मैले पूरा गर्नुपर्ने कर्तव्यबाट च्यूत भएर बरालिनु परेको सम्झनाले मलाई जिउन्जेल सताइरहनेछ । मैले मेरी आमा लगायत पीडामा छटपटाएकाहरुको लागि सिन्को भाँच्ने काम पनि गर्न सकिन । थुक्क मेरो मति ! मेरा छोरा, नाति र पनातिहरुले भविष्यमा महाभूकम्पबारे मलाई सोधे भने केही बताउन सक्नेछैन । मलाई पश्चात्तापले सँधै पोलिरहनेछ । मलाई यस पश्चात्तापले भविष्यमा पनि पोलिरहनेछ ।
२०७२।०२।०७
चाँगुनारायण भक्तपुर ।