चिठीपत्र

छोरालाई शुभकामना चिठ्ठी

परिक्षित बाबु,

मेरो इस्पातजस्तै छोरा, तिमीलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको मस्तै मस्तै शुभकामना !!

सुन्ने गरेको थिएँ, फलामलाई पिट्दा पिट्दा इस्पात बन्दछ । राजनीतिमा हार्डलाइनरहरुलाई इस्पातको उपमा दिने गरिन्छ । धेरै कठिन संघर्षहरुबाट सफलता प्राप्त गर्नेहरुलाई पनि इस्पातकै उपमा भिडाइन्छ । तर प्यारो कान्छो छोरा परिक्षित, तिमीलाई मैले यस प्रकारको उपमा दिन खोजेको भने होइन । तिमी साँच्चिकै फलाम थियौ र पिटिँदा पिटिँदा आजसम्म तिमी साँच्चिकै इस्पात बन्न पुग्यौ ।

तिमी जन्मँदा तिम्रो जीउ सिन्कासरह दुब्लो पातलो थियो, तिमी फलामकै सियोजस्तै थियौ । सायद अस्पत्तालमा जन्मेको भए तिम्रो तौल औसत शिशुको भन्दा निकै नै कम भएको पत्तो लाग्दथ्यो । त्यो कुरा कसरी थाहा पाउनु ? तिमी त आजभन्दा चौबीसवर्ष पहिले विकट स्थलको माटोको घरको झुप्रोको भुइँमा प्राकृतिक रुपमा जन्म लिएका थियौ । तिमी जन्मनुपूर्व प्रसववेदनामा रोइरहेकी तिम्री आमाको रुवाइ तिमीले जन्मनेबित्तिकै सापटी माग्यौ र उनी हाँस्न थालिन्, तिमी भने रुन थाल्यौ । तिम्रो रुवाइ आम नवजात शिशुको लागि स्वाभाविक नै थियो । तर अस्वाभाविक के भैदियो भने अरु शिशुहरु केही अवधिपछि रुन छोड्छन्, तर तिमी भने रुन छोडेनौ । तिमी सुत्दा मात्र रुवाइ बन्द हुन्थ्यो, उठ्नेबित्तिकै रुन थालिहाल्थ्यौ ।

तिमी दुईतीन महिनाको हुँदासम्म पनि रुन छाडेनौँ । हामीले त्यसपछि तिमीलाई तिमाल्ने एक मात्र उपाय पत्ता लगायौँ, त्यो उपाय थियोः तिमाल्नको लागि तिमीलाई पिट्नु । तिमीलाई दूध पुग्थेन होला, तिम्रो शारीरिक अवस्था कमजोर रहेकोले जहाँ छोए पनि उतै दुख्थ्यो होला । तिम्रा रुवाइको कारण अरु पनि थुप्रै थिए होलान् । तर ती कारणहरु खोज्नतिर हामी लागेनौँ । तिमी रुँदा तिमीलाई तिमाल्न हामीले हात छोडिहाल्थ्यौँ, तिमी अझै चिच्याउँथ्यौ, हामीले अझै पिट्थ्यौँ । तिमी रुँदारुँदै जब सुत्थ्यौ अनि मात्र पिटाइबाट मुक्ति पाउँथ्यौ । तर जब ब्युँझन्थ्यौ अनि रुन थालिहाल्थ्यौ, तसर्थ तिमीले श्रृङ्खलाविहिन पिटाइ खाइरहन्थ्यौ ।

तिमीमा अर्को अनौठो कुरा यो थियो कि जसले पिट्छ उसैलाई तिमीले बढी पछ्याउँथ्यौ । हरदम् तिम्रो नजिक भइरहने तिम्री आमाले तिमीलाई बढी पिट्थिन्, तिमीले उनैलाई पछ्याइरहन्थ्यौ । तीनचार वर्षको भइसक्दा पनि भूँइमा एकछिन बस्न मान्दैनथ्यौ । दिशापिशाब, धारापानी गर्दा पनि तिमीलाई पिठ्यूँमा बोकेरै तिम्री आमाले उतिबेलाको आफ्नो अनिवार्य कठिनतम् बुहार्तन बेहोर्थिन् । आमापछि तिम्रो बाबु नै तिम्रो नजिक बढी पर्ने भएकोले तिमीलाई उसैले बढी पिट्थ्यो र त्यसै कारणले मलाई पनि तिमीले कम पछ्याउन्नथ्यौ । सायद तिमीले त्यतिबेला बुझ्थ्यौहोला कि जसले आफूलाई बढी पिट्छ त्यो नै आफ्नो सबभन्दा नजिकको नातेदार हो ।

केही परिबन्द र केही परिस्थितिले गर्दा मैले तिमी शिशुअवस्थामै हुँदा तिमीलाई छोडेर काठमाण्डौको सुविधावासी हुन पुगेँ । यता हुँदा तिमीलाई पिट्न नपाउँदा मेरा हात चिलाइरहन्थे । जब हात चिलाउँथे, अनि तिमीलाई बेस्मारी सम्झन्थेँ ।

तिमी अलिअलि गर्दै बढ्दै गयौ र अलिअलि बुझ्ने पनि हुँदै गयौ तर पनि रुने जस्तो तिम्रो निरन्तर काम पटक्कै छोडेनौ । तिम्रा आवश्यकता के थिए स्पष्ट भन्न नसक्नु वा हामीलाई बुझाउन नसक्नु पनि रुवाइको अर्को कारण हुन सक्थ्यो ।

जब लोकसेवामा मेरो नाम निक्लियो तिमी आमा तथा दाजुदिदीसँग काठमाण्डौसम्म रुँदैरुँदै आइपुग्यौ । तिमीलाई के गरे तिम्रो रुवाइ बन्द गर्न सकिन्छ भन्ने विषयमा म तब पनि आर्थिक वा मनोवैज्ञानिक हिसाबले सक्षम भैसकेको थिइनँ । गठ्ठाघरस्थित साहित्यकार युद्धप्रसाद मिश्रको घरमा डेरा थियो । त्यसबेला भाइ प्रकाश, भदाहा सुशिल, साला मन्त्री (तोषराज) पनि साथमै दिए । एक दिन म दारीजुँगा लामा भएकोले साबुनको फिँज उतारेर सफाचट पार्दै थिएँ, दायाँपट्टि सफा गरिसकेको थिएँ, बायाँपट्टि बाँकी नै थियो, त्यतिबेलै तिमीले केही कुरामा रुने निहुँ झिक्यौ र दारी काट्न छोडेर तिमीलाई पिटिदिएँ । तिमी मेरो हातबाट फुत्कियौ र गठ्ठाघर बजारतिर चिच्याउँदै कुद्न थाल्यौ । मैले बाँकी दारी सफा गर्न त्यत्तिकै छोडेर तिमीलाई पक्रन दौडिएँ तर भेट्टाउन सकिनँ । सुशिल र मन्त्रीलाई गुहारेँ उनीहरुले तिमीलाई भेट्टाउन मद्दत गरे । मेरो अनुहार एवम् अवस्था देखेर बजारका मान्छेहरु सुशिल मन्त्री सबै हाँसिरहेका थिए, तिमी मात्र रोइरहेका थियौ ।

जब तिमी मेरो फेला पर्‍यौ, म रिसले चूरचूर भैसकेको थिएँ । तिमीलाई थाहा नै थियो तिमीले के सजाय पाउन सक्थ्यौ भन्ने । मैले तिमीले सकुन्जेल मर्मत गरेँ । तिम्री आमाले “यति सानो बच्चोलाई यो के गरेको अलिकति पनि दयामाया छैन ?” भनी छुटाउन आएपछि मात्र तिमीले मेरो पिटाइबाट छुट्कारा पायौ ।

अर्को घटना झनै बिर्सन लायक छ ।

सरकारी जागिरी पाइसकेपछि पनि म एउटा सानो परिवारलाई पाल्न सक्षम भइनँ । तसर्थ तिम्रो दिदी र दाइलाई आफूसँग राखेर तिमी र तिम्री आमालाई रुकुमकै घरतिर पठाइदिएँ । मेरो पिटाइबाट त तिमीले केही समय मुक्ति पायौ, यता मेरो हात चिलाइरह्यो ।

केही वर्षपछि मलाई भेट्न फेरि काठमाण्डौ आइपुग्यौ । त्यतिखेर सानोठिमीमा यस्तै कुनै निहुँमा तिमी फेरि भागिदियौ । भेट्टाएपछि तिमीलाई एउटा कोठामा भित्रबाट चुकुल लगाएर थुनेँ । यसरी थुनेपछि तिमीलाई जोगावट गर्न कोही आउने सम्भावना थिएन । अनि बेरोकटोक तिमीले मेरो हातको निर्घात चुटाइ खायौ । त्यत्रोविधि चुट्दा पनि तिमीले राक्षसको रुप धारण गरिरहेको बाबुप्रति पटक्कै आक्रोश देखाएनौ । वश् अबोध बिलौना गर्दै रोइरह्यौ, रोइरह्यौ ।

“मलाई नपिट्नू के बाबा ! मेरो केही पनि बिराउँ छैन ।” मात्र अलापिरह्यौ । उतिबेला तिमीले हिक्का छोडेर क्षमायाचना गर्न नसक्ने भएपछि मात्र मेरो चुटाइबाट मुक्ति पाएका थियौ ।

अर्को घटना भने सम्झन लायक छ ।

तिमी रुकुमको सरकारी स्कूलमा कक्षा एकमा पढ्दै थियौ त्यतिबेला नै तिमी काठमाण्डौमै पढ्ने अवसर पाउने भयौ । उता एक कक्षामा पढिरहेकोले सानोठिमीस्थित सस्तोखालको बोर्डिङ स्कूलमा (बिराट) तिमीलाई भर्ना गरियो र तिमीलाई पढ्न पठाइयो । बेलुका स्कूल छुट्टि भएपछि तिमी रुँदै फर्कियौ । त्यस बेलुका तिमीले खाना खान पनि मानेनौ । तिमीलाई तिमाल्ने अचुक उपाय हामीसँग छँदै थियो । तिमीलाई हामी आमाबा मिलेर चुट्न थाल्यौँ । तर पनि तिमीले खान मानेनौ । खाने मात्र होइन जति चुटे पनि तिम्रो हिक्का बन्द भएन र त्यस रातभर सुत्दै सुतेनौ । बल्ल हाम्रो होश खुल्यो कि तिमीलाई चुटेर पनि अब थकाउन सकिँदैन । तिमीलाई रुवाउँदा रुवाउँदै स्कूल पठाउनू जोखिम थियो भन्ने कुरा धेरै पटक भागेर हामीलाई सतर्क गराइसकेका थियौ ।

तिमीलाई हामीहरुले फकाउन थाल्यौँ ।

अनि मात्र तिमीले भन्यौः “म एक कक्षामा पढ्दिन ।”

“कतिमा पढ्छौ त ? युकेजीमा ?”

“नाइँ, युकेजीमा पनि पढ्दिनँ ।”

“एलकेजीमा पढ्छौ त ?”

“अँ, पढ्छु ।”

तिम्रो मागअनुसार तिमीलाई भोलिपल्ट एलकेजीमै भर्ना गरियो । बल्ल तिम्रो रुवाइ बन्द भयो । त्यसपछि तिम्रो भगाई पनि बन्द भयो । तिम्रा अव्यक्त मागहरु पनि बन्द भए । फलस्वरुप तिमीउपरको अमानवीय चुटाइ पनि चमत्कारिक रुपले ठ्याम्मै बन्द भैदियो ।

तिमीले तीन महिनामै टर्मिनल एक्जाममा फस्ट भएर देखाइदियौ । स्कूलका प्रिन्सिपलको सुझाव र तिम्रो सहमतिअनुसार चौथो महिनामा तिमीलाई युकेजीमा अपग्रेड गरियो । वर्षान्तमा युकेजीमा पनि प्रथम भइदियौ । अर्को वर्ष तिमीलाई एककक्षाको सट्टा दुई कक्षामा भर्ना गरियो । त्यो कक्षामा तिमी पुनः प्रथम भइदियौ । प्रिन्सिपलको सुझाव थियो, पुनः तिम्रो क्लास जम्प गराउने तर तिमीले पनि मानेनौ र मैले पनि तिम्रो रुवाइ र आफ्नो चुटाई दोहोर्‍याउन नचाहेकोले जम्प गराउन मानिनँ र तिमीसँगै पूर्णरुपमा सहमत भएँ । तिमीले आफ्नो प्रतिभा देखाउने प्रशस्त स्थान पाउने भयौ ।

बिराट स्कूलका आआफ्ना कक्षाहरुमा तिमीहरु तीनै भाइबहिनी प्रथम भइदियौ । त्यसपछि नयाँवानेश्वरको सोसाइटल स्कूलमा तिमीहरुलाई भर्ना गरियो । त्यहाँ पनि आआफ्नो कक्षामा तीनैभाइबहिनीले प्रथम भएर स्कूलमा तहल्का मच्चाउन सफल भइदियौ ।

तहल्का किन भनेको भने त्यतिबेला प्रथम हुनेलाई स्कूलले पूर्णतः निशुल्क छात्रवृत्ति दिन्थ्यो । एउटै परिवारका तिमी भाइबहिनीहरु एउटा निजी स्कुलमा तीनैजना पूर्ण छात्रवृत्तिको हकदार भैदिएका थियौ । स्कूलका व्यवस्थापक भन्थेः तीनैजनालाई निशुल्क गर्न सकिँदैन, तसर्थ कम्तीमा एकजनासम्मको फि तिर । मैले भन्थेँ: उसोभए एकजनालाई मात्र पढाऊ, अरु दुईजनालाई अरु नै स्कूलमा भर्ना गरिदिन्छु । उनीहरु तिमीहरुजस्ता मेधावी विद्यार्थीलाई स्कूलको फिको कारणले मात्र गुमाउन पनि चाहन्नथे । अतः एकजनाको आधा मात्र शुल्क तिर्ने सम्झौता गरी तिमीहरुलाई त्यस स्कूलमा पढाइएको थियो । तिमीले आफ्नो बाबुको पैँसा र इज्जत एकैसाथ जोगाइदिएर पिटाइको गुण तिरेका थियौ ।

त्यसपछि सानोठिमीस्थित एसओएसमा नाम निकालेर टप फाइभ भित्र पर्दै त्यहीँबाट हाइ डिस्टिँक्सनमा स्कूले शिक्षा सक्यौ । साथसाथै ओली वंश समन्वय समितिबाट एसएलसीमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेको सम्मान पनि बटुल्यौ । तिमीले प्लसटु अध्ययनको लागि सेन्टजेभियर्समा नाम निकाल्न सफल भयौ । पास हुनेबित्तिकै पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा पनि नाम निकाल्न सफल भयौ र अहिले इन्टर्नशिपको अन्तिम चरण पार गर्दैछौ । अबको दुईतीन महिनाभित्र डाक्टरको उपाधिसहित कर्मक्षेत्रमा उत्रिने छौ । यो सबै प्रगतिबाट तिमीले त्यही मेरो पिटाईको गुण पाइपाइको हिसाबले तिरिरहेको ठानिरहेको छु मैले ।

यसरी नै तिमी तीनै भाइबहिनीले तिमीहरुलाई लाग्ने शैक्षिक शुल्कको भारबाट मलाई काठमाण्डौजस्तो महंगीको मारमा मुक्ति दिलाइदिने मात्र होइन आफ्नो प्रगतिको मार्ग आफैले प्रशस्त गरेका थियौ । नत्र भने चाकडीबाजहरु मात्र बाँच्न सक्ने पेशा अपनाएर तिमीहरुको जोगाड गर्न मैले किमार्थ सक्दिनथेँ ।

सायद त्यही पिटाइको अभिशाप हुनुपर्छ जीवनको उत्तरार्धमा मैले विभिन्न प्राकृतिक एवम् मानवीय पिटाइहरु लगातार भोग्दै आइरहेको छु । फलस्वरुप फलामबाट इलास्टिक जस्तो अत्यन्तै कमजोर र झन् तान्यो झन् संकुचित हुँदै जान अभिशप्त भएको छु ।

तिमीले आफ्नो सहोदर दाइलाई दुर्घटनामा गुमाउनुपर्दाको क्षणमा अर्को एकपटक नथामिने गरी रोएका थियौ । तर तत्क्षणै हाम्रो अगाडि थामिएर देखाइदियौ । सन्तान बिछोडमा अत्तालिएका बाबुआमालाई अझै बिचलित हुन नदिन बाँकी रुवाइ भित्रभित्रै घुटुक्कै पिइदिएर हाम्रो आडभरोसाको आधार बनिदिएका थियौ । त्यतिबेला पनि तिमीले आफू साँच्चिकै इस्पातजस्तै भएको प्रमाणित गरिदिएका थियौ ।

मेरा हात त अहिले पनि चिलाइरहन्छन् । तर तिमीलाई अनाहकमा बारम्बार पिटिरहने यी हातहरुले यथेष्ट कारणहरु हुँदाहुँदै त्यो दुर्घटनाका योजनाकारहरुको कठालो समातेर घिच्याउँदै त्यसैगरी चौबाटोमा किचिमिचि पार्न सकेनन् । जीवनवृत्तिको क्रममा अनाहकमा दुःख दिँदै झनझन कमजोर तुल्याउन लागिपरेकाहरुलाई पक्रिएर तिनै हातहरुले निर्घात चुट्न पनि सकेनन् ।

किनभने,

किनभने तिम्रो पिटाईबाट तिमीले आफ्नो बाबुलाई धेरै नै संयमताको पाठ घोकाइसकेका थियौ । फलस्वरुप तिमीउपरको पिटाईको प्रायश्चित गर्दै तिम्रो सुन्दर भविष्य कल्पना गर्नसक्ने तुल्याइदिएका छौ । आफू इस्पातसरह बनेर मलाई भने नौनीसरह तुल्याइदिएका छौ ।

फेरि पनि तिम्रो जन्मदिनको अवसरमा लाखौँलाख शुभकामना बाबु ।

उही तिम्रो बाबा ।
२०७६।११।२९, दुवाकोट ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *