×

चीसो

चीसो

हिजोआज केभो कुन्नि ? टाउको दुखी राख्छ,

नाकमा सिंगान बगिरन्छ, लामो खोकी लाग्छ ।

बिसेक भए जस्तो लाग्छ, फेरि आँफ्फै जाग्छ

टिबी हो कि ? डर लाग्छ, ‘चीसो हो कि ?’ लाग्छ ।

 

डाक्टरलाई देखाउँ भने हज्जार रुप्प्या माग्छ ।

दिसापिसाब, रगत, खकार सप्पै जाँच्न लाग्छ

बोराभरि ओख्ती दिँन्छ, बोराभरि राख्छ ।

भन्छ पिनास, ब्रोन्काइटिस, टिबी जस्तो लाग्छ ।

 

श्रीमतीले भन्दैथिइन् “मेरो केही लाग्छ ?

घरको काम छाडिकन ब्यानै एक्लै भाग्छ ।

रात परुन्जेल लुखुरलुखुर घुम्ने खुप्पै लाग्छ

घाम लाग्छ, चीसो लाग्छ, हावा, धुलो लाग्छ ।”

 

कोही भन्छन् प्रदुषण हो, शहरबजार ढाक्छ

मोटरगाडी, कार्खानाले धुवाँ फालि राख्छ ।

चुरोटबिँडी छाड्नुपर्छ, कलेजो नै पाक्छ

नाकमुखमा मास्क लाउनु, छाति जोगाइ राख्छ ।

 

कोही भन्छन्, ‘रुघाखोकी जल्लाइ पनि लाग्छ !’

कोही भन्छन् ‘चिन्ता नगर् बुढेउली हो लाग्छ ।’

अर्को साथी जिस्क्याउँदैथेः ‘टेन्सन माने जाग्छ

तात्तै पानी, खुकुरी रम् स्वाट्ट पिए भाग्छ ।’

 

आजभोलि केभो कुन्नि ? टाउको दुखी राख्छ,

नाकमा सिंगान बगिरन्छ, लामो खोकी लाग्छ ।

 

Loading

Post Comment

You May Have Missed