कवितागद्य कविता

चिल्लो

आङ दुख्यो?

टाउको टन्कियो ?

छातिभित्र कट्कटी खायो ?

च्च ! च्च !! च्च !! ओछ्यानमा सुकला होइस्यो

लाखौँका सपनाहरु निचोरेर ल्याइस्सेको तेलमा

आफैभित्रको आगोमा व्यथा फुराएर ल्याएकी छु ।

आइस्यो ! आइस्यो ! म सदाझैँ चिल्लो घसाउन हाजिर छु ।

मेरो काखमा अड्याइस्यो त्यो हात्तीको टाउकोजत्रो शिर

अभावको चुसाइले हाडछाला बचेखुचेको यो काख

मासुले पुष्ट त्यो आङमा बिझाउन सक्छ है राजै ।

कता घसूँ चिल्लो ?

टाउकोतिर ?

आहा कसरी घुँघुरिएको कपाल !

रनबन फाँडेर चख्ल्याइएको जस्तो कति चौडा ललाट

करोडौँका नजरहरु शोषेर बान्की परेका आँखाहरु

अहंकारले मुसारिएका कति मुलायम गाला

लोती झरेर कुरै नसुन्ने कति राम्रा कान!

हातमा घसाइदिऊँ अब ?

लामो हात गर्दा-गर्दा लम्बिएका कति लामा-लामा हातहरु

स्वार्थको अभिभारा बोक्दा-बोक्दा कति खँदिलो काँध

कर्तुत उठाउँदा-उठाउँदा भाले उठेका यामानका पाखुरा

विरोधीहरुलाई धक्याउँदा धक्याउँदा धारिएको कुहिनो

विदेशी भीख माग्दामाग्दा थिलथिलो परेका हत्केला

सुशासनका लेखहरु लेख्दा-लेख्दा तिख्रिएका यी औँलाहरुले

‘विधि पुर्‍याएर देश भड्खालामा जगाइदिए हुन्छ

विधि बिना देश जोगाउन हुँदैन !’ भन्ने ब्यूरोक्रेटिक महावाणी रट्दै

तथाकथित विधिहरुको खातमा छिद्रहरु उधिनिरहेपछि

किन नपाट्टियुन् यी औँलाहरु !

कति सही गरिस्योहोला कैयौँ टिप्पणी फाइलहरुमा

तत्पश्चात् कति महाजनसँग हात मिलाइस्योहोला !

घस्न पुग्यो राजै ?

अझै पुगेन ?

अब पेटतिर?

बाब्बा हो ! पेट बोकेको नवौँ महिनाझैँ कति उक्सेको पेट!

सित्तैको धनले फुपूको श्राद्ध गर्ने कल्याणकारी काममा हौसिएर

अजिर्ण होउन्जेल ज्यूनार गरिस्योहोला भुजा !

गुप्ताङ्गतिर ?

नाइँ राजै नाइँ !

हजुरको सुन्दरता जतिसुकै चुलिए पनि

मलाई त त्यो असाध्यै घिन लाग्छ हजुर

त्यता त चिल्लो नघसाम् क्यारे

लाखौँ अतृप्त सपनाहरु

त्यतै सडेर बाहिरैसम्म डुङ्डुङ्ति गन्हाइरहेको छ ।

कर नगरिस्यो

मेरा केही सीमाहरु हजुरले भत्काइस्यो तापनि

मभित्र कहिले नभत्कने एउटा शाश्वत् सीमा छ

जसको बारेमा हजुर पनि अनभिज्ञ नहोइसिनु पर्ने !

कानुन ओछ्याएर कर्तव्यबाट विमुख भएजसरी

उता फर्किस्यो त

आम्मै नि ! लाखौँ नजरहरु त यहीँ पो गाडिएका रैछन्

मसानघाटझैँ सिनित्त परेको कति शान्त पिठ्यूँ!

बरु गोडातिर ?

हस् हस् !

कति मोटाघाटा साँप्राहरु

कति पुष्ट तिघ्राहरु

रातबिरात कुदिसिन्छ देश बनाउने महान योजनामा

देश त बनाउनै नमिल्ने गरी बनाइस्यो हजुरले

त्यसरी सगरमाथा उचालिएको हजुर एक्लैले त हो

सगरमाथा निचोरेर मेचीकाली बहाएको हजुर एक्लैले नै त हो

आहा कति सुन्दर पाइतालाहरु

आफ्नै सपना बलियो बनाउने धुनमा

कति कुल्चिए होलान् किचिमिची पारी यी पाइतालाहरुले

अरुहरुका निर्धा सपनाहरु !

मेरो हात तलतिर नतानिस्यो न राजै !

बलजफ्ती नगरिस्यो त !

त्यता म मरिगए घसाउँदिन !

मलाई तर्साइरहन्छ एउटा सत्यतथ्य तीतो कथाले

आमाको कानमा फुसफुसाएर बा खसेको गोप्य कथा

जोकसैलाई नसुनाउन कसम खुवाउँदै

मेरै कानमा खुसखुसाएर अस्ति मात्र आमा खसेको भोग्य कथा

सुनिसिन्छ?

बा पनि हजुरकै दरुबारमा एकजमानामा चिल्लो घसाउँथे रे

चिल्लो घसाउने क्रम-उपक्रममा

कुनैदिन मेरो बा हजुरकी मुवाबाट बलात्कृत भएपश्चात्

पैदा भएको सन्तान रे हजुर त

म र हजुर साख्खै सहोदर भाइबहिनी रे !

एकछिटा रगतः-

दुःखको एक सर्को चीसो नपस्ने न्यानो महलभित्र खस्दा

अर्को छिटा रगतः-

सुखको एक धर्को घाम नपस्ने चिसो सिस्नाको झ्याङमा

उही धरती ओछ्याएर

सुख, आराम, ऐयासीले हजुरको ललाट उठ्दै जाँदा

अभाव, आतङ्क, अन्यायले मेरो कर्म फुट्दै रह्यो

र यो महलमा अलग स्वार्थले यो भेट जुट्यो र मात्रै !

उही रगतका सन्तान पो हौँ त दाजै !

मलाई मेरै बाले मैले नजान्दै लाइदेछन् यो महलमा

उही चिल्लो घसाउने काम

हजुर चिल्लो घसाइँदा घसाइँदा चिल्लो हुँदै गइस्यो

म चिल्लो घसाउँदा घसाउँदा झन् झन् फुस्री हुँदै गएँ

हजुरको गाथ सुकोमल हुँदै जाँदा

म मरिचझैँ चाउरिँदै गएँ

हजुरले छुट्याइसिन्न यो अनुहार

हजुरले चिनिसिन्न यो पीडा

हजुरले बुझिसिन्न यो सीमा !

यति बताइसकेपछि पनि जानीबुझीकन

कर नगरिस्यो दाजै

साख्खै बहिनीले ?

आफ्नै दाइको गुप्ताङ्गमा ?

कसरी घसाउन सक्छे ?

चिल्लो ?

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *