चित्रीपाटनः विचित्र देशाटनसंस्मरण

चित्रीपाटनः विचित्र देशाटन (भाग-६)

विचित्र पाटनमा पाइलो पर्दा ।

यात्रामा जस्तो आइपर्छ त्यसको सामना गर्नुको विकल्प छैन । चारैजनाले छोडेर गए पनि निराश नभई जहाँसम्म सकिन्छ त्यहाँसम्म अविश्रान्त माथि उक्लिरहने निश्चय गरेँ ।

मेरा नजरहरू चित्रीपाटनबाट तल झर्न मानेका थिएनन् । चित्रीपाटन सुन्दर क्यानभासजस्तो देखिन्थ्यो र त्यसमा कुनै सिद्धहस्त कलाकारले होशियारपूर्वक सिधा रेखा कोरेर विभिन्न खण्डमा विभिन्न रङ्गको पृष्ठभूमि तयार गरेकोजस्तो देखिन्थ्यो । हामी बसेको सामुन्नेको पहाडभरि हरियो रङले पोतेजस्तो गोब्रे सल्लाका रुखहरूको घना जङ्गल थियो । त्योभन्दा माथिको नवै रङ्गका छिर्कामिर्का पारेजस्तो रङ्गीबिरङ्गी जङ्गल थियो । त्योभन्दा माथिको खण्डमा खैरा रङका बुट्यान मात्र थिए र त्योभन्दा माथिको भूभाग हल्का पहेँलो रङले पोतेजस्तो देखिन्थ्यो । सबैभन्दा माथिको खण्डमा सेतो रङको हिमाच्छादित भूभाग देखिन्थ्यो ।

चित्रीपाटनको आधा उचाइसम्म फैलिएको गोब्रे सल्लाको बाक्लो जङ्गलको नाम सोधेपछि रुपेले बताए, ‘इग्नुपैना ।’

अर्थ लगाउन खोजेँ सकिनँ । अर्थ न बर्थको कुरामा रुमलिने समय पनि थिएन । मैले उठ्दै भनेँ ‘तपाईँहरू जति सक्नुहुन्छ माथि जाँदै गर्नुहोस्, म जति सक्छु आउँदै गर्नेछु । मलाई पर्खनुपर्दैन ।’

मनलालले शान्त्वना दिए, ‘यहाँसम्म सँगै आइपुगेर कसैले कसैलाई छोड्ने कुरै भएन । जहाँसम्म सकिन्छ सबै सँगसँगै जाने हो । जे आइपर्छ सबैले बाँडेर सामना गर्ने हो ।’

रुपे र एक्कबहादुर अघि लागे । म बिचमा परेँ । मनलाल र खगेश्वर फोटो खिच्ने क्रममा पछि परे । गाईभैँसी लगिने बाटो भनिए पनि अबको बाटो भिरैभिरको मात्र थियो । अलिकति खस्रक्क चिप्लियो कि कतै नछोइएर एकैचोटि हजार फिटभन्दा तलको पहारा गाउँमै पुगिने । तलतिर अक्करेभिर भएकोले मास्तिर हेरेर मात्र उकालो चढ्न सकिन्थ्यो ।

अलिकति उकालो लागेर बाटो तेर्छिएपछि हिड्ने बाटो नै ढाकेको निकै ठूलो ओढार भेटियो । ओढारको आकृति देख्दा लाग्थ्यो कुनै हतियारले बडेमानको ढुङ्गाको बिचको भाग फुटाएर बास बस्नलायक बनाइएको थियो । रुपेले भने, ‘यो ओढारलाई चरीपोल्ने ओढार भनिन्छ ।’

‘गोठालाहरूले मार्न सके त मृग नै पोल्थे होलान् तर मृग नभेटिएपछि गुलेलीले हानेर चरा मार्थे होलान् र यही ओढारमा बसेर पोलेर खान्थे होलान् ।’ मैलेअनुमान लगाएँ ।

अलिकति माथि पुगेपछि रङ्गीबिरङ्गी धजैधजा बाँधिएको बडेमानको रुख भेटियो । रुपेले गोजीमा धजा बोकेर आएका रहेछन्, झिकेर मन्त्रोच्चारण गर्दै धजा चढाए ‘जय गोस्स्याँ परमेश्वरी । तिमी दाइने भया । हामलाई चित्रीपाटन पुगेर आउन्जेल रख्ख्या गर्‍या । जय गोस्स्याँ परमेश्वरी ।’

रुपे धजा चढाउनतिर लागेको समयको सदुपयोग गर्दै म बाटोमै लम्पसार परेँ ।

धजा चढाइसकेपछि रुपेले भने, ‘यो ठाउँको नाम नै धजाहाल्ने हो । चित्रीपाटन पुग्ने भनी तम्सिएर आएका तिर्थयात्रीहरू यहाँदेखि माथि उक्लिन नसकेपछि चित्रीपाटनतिर फर्किएर यहीँ धजा चढाएर फर्किने गर्छन् । चित्रलेखिलाई हामी आउँदै छौँ है भन्ने सन्देश पनि हो यो । मनले राम्रो चिताउनुहोला । तपाईँहरूले मनले चिताएको पूरा हुनेछ । माथि जान नसक्नेहरूको लागि यही नै चित्रीपाटन हो । यहीँबाट चित्रीपाटनको दर्शन गरेर फर्के पनि हुन्छ ।’

मैले काल्पनिक चित्रीपाटनमा चित्त बुझाउने गरी यात्रा प्रारम्भ गरेकै थिइनँ । त्यसो हो भने आफ्नै घरभित्र चित्रीपाटनको फोटो टाँगेर बसीबसी चित्रीपाटनको अवलोकन गर्दो हुँ । मेरो गन्तव्य त त्यही ४००० मिटर माथिको चित्रीपाटन नै थियो । प्राणै फुत्कियोस् तर त्यहाँ नपुगी नछाड्ने दृढ निश्चय गरेको थिएँ ।

यो ठाउँबाट चित्रीपाटन सपाट देखिन्थ्यो । जति नजिक पुग्यो उति चित्रीपाटनको उचाइ झन् अग्लो अग्लो हुँदै गइरहेको थियो ।

‘यहाँ धजा चढाएपछि सबैले केही न केही ऊर्जा प्राप्त गरेको अनुभव गर्छन् । तपाईँहरूले त्यस्तो केही फरक अनुभव गर्नुभएन र ?’ रुपेले सोधे ।

रुपेले सोधेपछि हामी चारजनाले एकअर्काको मुख हेराहेर गर्‍यौँ । एक्कबहादुरले जुरुक्क उठ्दै भनेः ‘साँच्चै रैछ । मलाई पनि केही शक्ति मिलेजस्तो भयो ।’ मनलाल र खगेश्वर पनि सकपकाएको देखेँ ।

रुपेको प्रश्न, एक्कबहादुरको जवाफ र मनलालहरूको सकपकाहटको संयोजनले स्वाँस्वाँ भइरहेको मेरो जिउमा पनि विचित्र शक्ति पैदा गरिदियो । ठप्प रोकिएको रगत नशाभरि दौडिएजस्तो भयो । झारफुकपछि बिरामी मान्छे तङ्ग्रिएजस्तै म पनि रोमाञ्चित हुँदै जुरुक्क उठेँ र चित्रीपाटनतिर हेर्दै कामना गरेँ, ‘हे, चित्रलेखि कुलदेवता, मलाई कसैगरी तिमीछेउ पुर्‍याइदेऊ !’

कामना गर्नेबित्तिकै जिउ अझै फुर्तिलो भएझैँ भयो, ‘ल साथीहरू, तपाईँहरू नसक्ने भए यतै बसेर पर्खँदै गर्नुहोला, म त एक्लै चित्रीपाटन हिँडेँ !’ भन्दै मैले फटाफट गोडा चाल्दा अरू साथीहरू हेरेका हेरेई भए । करिब २०० मिटर उचाइसम्मको यात्राको अगुवाइ लगातार मैले नै गरेँ ।

इच्छाशक्ति जतिसुकै बलियो भए पनि निरन्तरको कुदाइ र भोकले गर्दा शरीर झन् झन् कमजोर हुँदै गइरहेको थियो । मुख सुकेर प्याक्प्याक्ति भइरहेको थियो । जिउमा भएको जम्मै पानी पसिना भएर बगिसकेको थियो । झोलामा एक बोत्तल पानी बाँकी भएकोमा त्यो पनि करिब आधा रित्तिसकेको थियो ।

रुपेले भने घरीघरी चेतावनीमलक सन्देश जारी गरिरहेका थिए, ‘अलि माथि पोहोरसम्म पानीका खोबिल्टाहरू त थिए । तर म यता नआएको पनि एक वर्षभन्दा बढी भैसक्यो । त्यहाँ पानी पाइन पनि सक्छ, नपाइन पनि सक्छ । तसर्थ ओठ वा घाँटी सुक्यो भने बाँकी रहेको पानीले दुईचार थोपा राखेर भिजाउनुहोला । कसैले पनि नघुट्क्याउनुहोला । विपतमा चाहिन सक्छ । माथि पुगे त हिउँ नै पगालेर राखौँला । तर कुनै कुनै हिउँ विषतुल्य पनि हुन सक्छ ।’

खगेश्वरले समय र उचाइ चेक गर्दै भने हामी त एकैचोटि ३०० मिटर चढिसकेछौँ । अहिले ठीक बाह्र बज्दा ३००० मिटर माथि आइपुग्यौँ । तल्लुबगरबाट देखिने चुचुरो अब हामीभन्दा तल परिसकेको छ ।

हामीले उठीउठी विश्राम गर्‍यौँ र फेरि अगाडि बढ्न थाल्यौँ । अब गोब्रे सल्लाको हरियो जङ्गल समाप्त भएर रङ्गीबिरङ्गी फूलहरूको जङ्गल सुरू भएको थियो । जसमा लाली गुराँसका अतिरिक्त जिला, डोइली, बिजौरी, जुरमुठो, छतारो आदि होचा रूखहरूको राज थियो । मनलाल र खगेश्वरले राताम्मे लालीगुराँस र पहेँलपुर जिलाको बोटमा चढीचढी फोटो सेशन गर्न पनि भ्याए ।

अगाडि बढ्दै जाँदा हामी यस्तो ठाउँमा आइपुग्यौँ बिचमा खुकुरीको जस्तो धार थियो र दुवैपट्टि छाङ्गाछुर भिर । अलिकति चिप्लिए जिउले सन्तुलन मिलाउने ठाउँ नै नपाउने खालको । त्यसलाई मुस्किलले पार गरेपछि फेरि पूर्वपट्टि लाग्यौँ । चित्रीपाटन अझै नजिक र अझै अग्लो देखियो । तल पत्थरै पत्थरको अक्करेभिर थियो । मनलाल र खगेश्वरले भिरलाई पृष्ठभूमि तुल्याएर फोटो खिच्न थाले ।
‘यो ठाउँको नाम नै आँखा रिङ्ने भिर हो । यही भीरबाट वर्षेनी गाईभैँसी र गोठाला खसेर मर्ने गर्दछन् । होसियार भएर फोटो खिच्नुहोला ।’ रुपेले सचेत गराए ।

अलि माथि पुगेपछि निकै ठूलो ढुङ्गाको प्राकृतिक चौतारी भेटियो । रुपेले भनेः ‘यो ठाउँको नाम जुका फाल्ने ढुङ्गा हो । यहाँ पानी पर्नासाथ जुका लाग्न थाल्छन् । आनन्दले बसेर जुका फाल्ने ठाउँ अन्यत्र नभएको हुँदा यहीँ आइपुगेर गोठालाहरूले जिउमा लागेका जुका फालेर मुक्तिको सास फेर्दछन् ।’ धन्न पानी नपरेको वेला आइएछ र जुकाको सास्तीबाट बचिएछजस्तो लाग्यो ।

जिब्रो सुकेर मुखमा चेप्टो हाड कोचिएको जस्तो भइरहेको थियो । ज्वरोले जिउ तातिँदै गएको थियो । पिसाब फेर्दा झन्डै रगतजस्तो रातो देखियो । रिङ्टा लाग्लाजस्तो झुम्म हुनथाल्यो । कमजोरी महसुस भएर जिउ थरथर कामिरहेको थियो । डिहाइड्रेशन भएर बाटोमै मरिन्छ कि भन्ने आशंका उत्पन्न भयो ।

एकछिन ढुङ्गे चौतारीमा बिसाएर हामी फेरि माथि उक्लिन थाल्यौँ । सगरमा झुन्डिएको चित्रीपाटनमा मौसम बदली भएर पानीको तुफान मच्चिरहेकोजस्तो देखिन्थ्यो । ‘यस्तो अवस्थामा उच्च लेकाली भेगमा चट्याङले चौपट पार्न सक्छ । पानी मात्रै परे पनि हामीसँग जिउ ओताउने व्यवस्था केही छैन । कसरी जानेहोला त्यहाँ ?’ मनलालले चिन्ता व्यक्त गरे ।

रुपेले ढाढस दिए, ‘केही हुँदैन । यो ठाउँमा प्रायजसो यस्तै हुन्छ । परे हिउँ पर्न सक्छ ! चैत/बैशाखको त्यो हिउँ जिउमै बिलाइहाल्छ ! पानी नै पर्यो भने पनि माथि अनेकौँ ओढारहरू छन्, त्यहीँ ओत लागौँला ।’

साथमा पानी छैन भन्ने भएपछि झनै प्यास लाग्दोरहेछ । अब जिब्रो र घाँटीले मात्र होइन; आँखा, नाक, कान र शरीरका प्रत्येक अङ्गले ‘पानी ! पानी !’ अलापिरहेको थियो । सायद मृत्यूशैयामा पुगेको व्यक्तिले पनि यही अवस्थाको सामना गरेर पानी मागिरहेको हुन्छ होला । तथापि शरीर यन्त्रवत् चलिरहेको थियो ।

होचा र रङ्गीबिरङ्गी रुखहरूको जङ्गल सकिएर अब पहेँला बुटाहरूको बारी सुरू भएको थियो । बिचबिचमा रङ्गीबिरङ्गी बुकीफूलहरूको घारी पनि भेटिन्थ्यो ।
अझै माथि पुगेपछि रुपेले भने, ‘खाली भएका सबै बोत्तलहरू मलाई दिनुहोस् । ऊ त्यो भिरको पारिपट्टि पानी जाग्ने ठाउँ थियो । अहिले छ कि छैन म हेरेर आउँछु । पानी पाइयो भने म लिएर पनि आउँछु ।’

बोत्तलहरू जम्मा गरेर रुपे अघि लागे । मनलालले रुपेलाई पछ्याए ।

‘म पनि जान्छु ।’ पानी पाइन्छ कि भन्ने आशाले शरीर निद्राबाट ब्युँझेजस्तै भयो ।
‘होइन तपाईँ यतै बस्नुहोस् । त्यता झन् ठूलो भिर छ । तपाईँ जान सक्नुहुन्न । पानी पाइए म ल्याइदिहाल्छु नि !’ रुपेले मनाही गर्दै उत्तर-पश्चिमपट्टिको अबाटोतिर लागे । मैले रुपेको आदेशको उल्लङ्घन गर्दै उनीहरूको पदचाप पछ्याउँदै पछि लागेँ । यदि त्यहाँ पानी नभएर जमिन चिसो मात्र भेटिए पनि चिसो जमिननै चुसेर प्यास मेटाउने मेरो तिब्र इच्छा थियो । मलाई देखेर खगेश्वर पनि पछि पछि आए । एक्कबहादुर भने हामीतिर नआएर माथितिरै उक्लिए ।

भिरको पाखामा छाती टाँसेर भिरको सतहलाई हातले छाम्दै बिस्तारै खुट्टा सार्दै अलि पर पुग्यौँ । चिसो जमिन भेटिन थाल्यो । अब पानी नपाएर मरिनेछैन भन्ने कल्पनाले जिउ नै रोमाञ्चित भयो । मन खुसीले आल्हादित भयो ।

‘जमिन चिप्लो छ, बिस्तारै आउनुहोला । तिनी बुटाहरूको भने आड नलिनुहोला है । जरा कमजोर हुनसक्छन् । यी धतुराका सुकेका बोटहरू हुन् । यो ठाउँको नाम धतुरोहाल्ना हो । शिवजी धतुरो खान बेलाबखत यहीँ आउँछन् रे ।’ रुपेले पथप्रदर्शकको भूमिका राम्रैसँग निर्वाह गरिरहेका थिए ।

धनबहादुर वलीले लेखेको आदिपुरूष चित्रलेखि शीर्षकको ऐतिहासिक पुस्तकमा पनि श्रीकृष्ण र राधा यहीँ आएर लीला गरेको र शिवजीको पूजाआजा गर्ने गरेको वर्णन छ । साँच्चिकै शिवजी यतै कतै छन् जस्तो लाग्यो ।

अलिकति पर पुगेपछि कुइनेटो परेको पाखामा साँच्चिकै पानीका खोबिल्टाहरू भेटिए । पानी देखेर मन हर्षले आल्हादित भयो । अब बाँचिन्छ र चित्रीपाटन पनि पुगिन्छ भन्ने आँट पैदा भयो ।

केही खोबिल्टा धमिला थिए केही सङ्ला । खोबिल्टाको डिल आलै थियो । भर्खरै कसैले बनाएर छोडेका जस्ता । चारजनाले एकएक खोबिल्टा कब्जा जमाएर पानी पिउन तम्सियौँ । तर पानी मुखमा हाल्न सकिए पो । पानी त भर्खरै हिउँ पग्लिएजस्तो निकै ठण्डा थियो । एक घुट्का निल्न पनि निकै गाह्रो थियो । मैले रियलजुस पिउने नली बोकेको थिएँ, त्यसले ठण्डा पानी पिउन सजिलो भयो । मैले बिस्तारै बिस्तारै गरी झन्डै २ लिटर पानी पिएँ । बल्ल जिउ शितल भयो र फुर्तिलो पनि भयो ।

मगाबाट ल्याएका मकैका रोटी पनि त्यहीँ बसेर खायौँ । निस्तो/बुक्लो रोटीको एक गास निल्न पनि निकै गारो भयो ।

‘अब माथि यो कोक चाहिँदैन, यहीले रोटी निल्नुहोस् !’ भन्दै रुपेले आफ्नो झोलाबाट कोकका साना २ वटा बोत्तल झिके । हिजो तल्लुबगरबाट मैले नै ती कोक किनेर ल्याएको थिएँ । सर्दै सर्दै रुपेको झोलामा पुगेछन् र बचेछन् । नत्र त तलैको जङ्गलमा सखाप भैसक्थे । नभन्दै कोकको घुट्काले सुख्खा तथा ठण्डा मकैका रोटीलाई घाँटीभित्र छिराउन सजिलो भयो । यतिवेला हामी ३४०० मिटरको उचाइमा थियौँ र दिनको साढे १ बजेको थियो ।

चिसो पानी र रोटीले अपूर्व ऊर्जा थपेको थियो । अब खुट्टा स्वचालित रूपमा फटाफट उकालो उक्लन थाले । अबको जमिन पूरै नाङ्गो थियो र नाक ठोक्किने खालको उकालो थियो । रुपे भन्दै थिएः ‘अब अक्सिजनको कमीले उकालो चढ्न झन् गाह्रो हुनसक्छ । लेक लाग्न सक्छ । बिस्तारै बिस्तारै होशियारपूर्वक चढ्नुहोला ।’

जति माथि गयो उति फरक भूसंरचना भेटिन थाल्यो । कहिल्यै नदेखेको फरक भूसंरचनामा पुग्दा मन यति प्रफुल्लित भइरहेको थियो कि जिउको थकान सर्लक्कै मेटिइसकेको थियो । अब विश्रान्तिको कुनै दरकार थिएन । नजर जता दौडन्थे, खुट्टा पनि बुरुक्बुरुक् उतै दौडन थालेका थिए । लेक लाग्ने कुराको परवाह नै गरिएन ।

रुपेले आफ्नो गोजीबाट तिलजौँ झिकेर हाम्रो हातहातमा दिँदै भनेः ‘अब हामी भूलोकबाट सिद्धभूमि देवलोकमा प्रवेश गर्दै छौँ । शरीर शुद्ध पार्नको लागि तिलजौँ मुखमा राख्नुहोस् । तन, मन र चित्तसमेत सफा हुन्छ । यहाँ तपाईँहरूले नचिताएका अनौठा दैवीलीलाहरू पनि देखिन थाल्नेछन् ।’

उनको यो उदघोषले शरीरमा विद्युतीय झड्का लागेझैँ झननन भयो । आँखा तिरिमिरी भए । कानले मुरलीको तिरिरिरिरि गुन्जन सुन्न थाले । नाकले मिठो सुगन्ध लिन थाल्यो । जिउमा शितलता छायो । रुपेले साँच्चिकै हामीलाई अलौकिक दुनियाँमा पुर्‍याइदिए । लाग्यो, अब हामी आफ्नो खुट्टाले उक्लँदै छैनौँ, कसैले स्वचालित लिफ्टमा सरररर माथितिर उचालिरहेको छ ।

त्यो प्राप्तिको सुखद अनुभूति मात्र थियो । दुरी काट्न त गोडा नचाली सुक्खै थिएन । उक्लँदै जाँदा माथि माथि बडेमानका सिङ्गो ढुङ्गाका प्राकृतिक ओढारहरू देखिन थाले । ओढारलाई छेउछेउमा पर्खालले घेरेर बास बस्नलायक तुल्याइएको थियो । यी ओढारहरू आवासको लागि मान्छेहरूले नै दक्षिणपूर्वपट्टिको पत्थरिलो भित्ताबाट बोकेर ल्याई टम्म मिलाएर राखेका जस्ता देखिन्थे । तथापि हजारौँ मान्छेहरूले पनि बोक्न सकिने खालका थिएनन् । बेलायतको स्टोनहेज हेर्न वर्षमा करोडौँ मान्छे पुग्छन् तर यहाँको स्टोनहेज हेर्न आठ/दशजना गोठालाबाहेक कोही आइपुग्दैनन् । मन खिन्न भयो ।

अलि माथि पुगेपछि मसिना गरा परेको दम्सिलो जमिन भेटियो । कुनै सुन्दर वाटिकामा टम्म मिलाएर रोपिएजस्तै मुलायम वनदुवोको बगैँचाजस्तो थियो । साउनभदौतिर यस बगैँचाको सौन्दर्य अवर्णनीय हुँदो हो ।

के छैन यहाँ ? खोज्न सकेमा श्रीकृष्णको झुल्ने बगैँचा यहीँ छ । ताजमहलभन्दा अब्बल राधाकृष्णको लीलामहल यहीँ आसपासमा छ । काँधमा काँध मिलाएर जोडिएका उच्चशिखरहरू ग्रेटवालको ढाँचामा धौलागिरीसम्मै पुगेका छन् । चित्रीपाटन आफै गिजाको पिरामिडभन्दा बढी आश्चर्यलाग्दो थियो । मृग र मयुरको स्वर्गीय क्रिडास्थल यही छ । वली थरका आदिपुरुष चित्रलेखि, विभुति र पिनालेखिले चमत्कार देखाउँदै हुर्किएको पुण्य स्थल यही छ । बुद्धका पाइला यहीँ छन् । अझ भनौँ विश्वका सातवटै प्राकृतिक आश्चर्य यहीँ थिए । यो चित्रीपाटन मात्र होइन, विचित्र पाटन थियो ।

र यहाँ आठौँ आश्चर्य पनि थियो । त्यो के थियो भने सरकारीस्तरबाटै यस क्षेत्रलाई १०० वटा गन्तव्य स्थलमा चयन गरे तापनि यसको ऐतिहासिकताको खोजी, संरक्षण तथा संवर्द्धनको लागि तीनैतहका सरकार वा गैरसरकारीस्तरबाट कसैले एउटै सिन्कोसम्म भाँच्ने काम गरेको देखिँदैनथ्यो ।

चित्रीपाटनको शिरतिर हिमआँधी चलिरहेको देखिन्थ्यो । त्यसको झोँक्का घरीघरी हामीसम्मै आइपुगेर धकेल्ने कोशिस गर्थ्यो । त्यो झोँक्का मुटु कठ्याङ्ग्रिने खालको थियो । तथापि चित्रीपाटनले हामीलाई न्यानो स्वागत गरेको अनुभूति भयो । झन्डै ४००० मिटरको उचाइमा श्वास फेर्न गाह्रो हुनुपर्नेमा हामीलाई झन् सजिलो भइरहेको थियो । जिउ गह्रुँगो हुनुपर्नेमा निकै हलुङ्गो भइरहेको थियो । हामीले खुसीले पागल हुँदै यताउता छलाङ मार्न थाल्यौँ ।

‘यही हो मसिनाधुरी ।’ रुपेले बताए । उत्तरतर्फ मसिनाधुरीको तरवारजस्तो मसिनो धार थियो र यतापट्टि खेतीयोग्य जमिन त उतापट्टि चरीलोट्ने भिर ।

खगेश्वरले यसको उचाइ ३९०० मिटर रहेको बताए । यति वेला दिउँसोको ३ मात्र बजेको थियो । सुरूमा १०० मिटरको उचाइ चढ्न झन्डै १ घण्टा लाग्ने गरेकोमा अहिले हामी डेढ घण्टामै ५०० मिटरको उचाइ पार गर्न सफल भएका थियौँ । कसरी यति छिटै यति धेरै उचाइ पार गर्नसक्यौँ आफै अच्चम्भित भइरहेका थियौँ ।

उत्तरपट्टिको पाखोभरि बाक्लो हिउँ जमेको थियो । निकै तलको खोँचमा ठुलीभेरी नागबेली आकारमा मस्त निदाएकीजस्ती देखिन्थिन् । पारि भूक्षयले सकिन थालेका झन्डै चित्रीपाटनजति अग्ला काला चुचुराहरू देखिए । रुपेले बेलिबिस्तार लगाए, ‘त्यो पश्चिमपट्टिको जग्गा जाजरकोट हो र त्यो उत्तर-पूर्वपट्टिको भूभाग डोल्पा हो । बादल नलागेको भए उत्तरतिरको कान्जिरोबा हिमश्रृङ्खला प्रष्टै देखिन्थ्यो । दक्षिणतिर कुमाखको लेक र दाङनजिकको कपुरकोटसमेत देख्न सकिन्थ्यो । चित्रीपाटनको चुचुरोबाट पूर्वतिर सिस्ने र धौलागिरी श्रृङ्खला छर्लङ्गै देख्न सकिन्थ्यो । समय घर्किसकेको, मौसम बिग्रिएको र त्यहाँ हिउँ नबिलाएको हुँदा चुचुरोमा पुग्न सम्भव छैन ।’

जमिनभरि ठ्याक्कै यार्चागुम्बा आकारका मोटा झुसिलकीराजस्ता आकृति छरपस्ट देखिन्थे । ‘यही त होइन यार्चागुम्बा ?’ मैले हातमा लिएर सोधेपछि रुपेले भने, ‘होइन, यो त मृगको बड्कौँला हो । यार्चागुम्बा त त्यो चुचुरोको आसपासमा मात्र पाइन्छ ।’ यहाँ मृगको बड्कौँलाले पनि यार्चागुम्बा भनी झुक्याउँदो रहेछ ।
चित्रलेखि थान भएको ठाउँतिर हिमआँधी चल्न रोकिएको थिएन । तर मौसम प्रतिकूल रहे पनि हामी त्यतैतिर अघि बढ्यौँ । मगा फर्कँदा ५ घण्टा नै लागे पनि अब उति हतारो थिएन । एकातिर दुर्गमनीय चित्रीपाटनमा पुग्न सफल हुनु, अर्कोतिर जङ्गलमै बास बस्नुपर्ने समस्याको अन्त्य हुनु । अनकन्टारमा हराएका यात्रीहरूको लागि योभन्दा खुसीको कुरा अर्को के हुन सक्थ्यो ?

रुपेले मसिनाधुरीभन्दा अगाडिको ठाउँ देखाउँदै भने- ‘यस ठाउँलाई तेर्छेकुला भनिन्छ ।’

‘तेर्छेकुलो ? कुलोको नामोनिशान कहीँ देखिँदैन त ??’

मैले अनुमान गरेँ, ‘धेरै पहिले यहाँ कुलोको अस्तित्व भएरै तेर्छेकुलो नाम रह्यो होला । मसिनाधुरीको आसपासमा गरागरा तुल्याएर खेती गरिएजस्तो जमिन छ । पूर्वतिर असारदेखि हिउँदसम्मै निकै ठूलो झरना बग्दछ रे । त्यसलाई नौधारी झरना भनिन्छ । धामीले त्यहाँ नजिकै च्याउतेखोला रहेको बताउँदछन् । यहाँ नौवटा कुण्ड पनि थिए भनिन्छ । कि अहिले पनि यसको पूर्वपट्टि पानीको मुहान हुनुपर्छ, कि पहिले पानीको मुहान भए पनि अहिले सुकिसकेको हुनुपर्छ । सिँचाइयोग्य पानीको स्रोत भएर नै त्यहाँबाट कुलो खनेर यहाँसम्म ल्याई परापूर्वकालमा खेती गरिएको हुनुपर्छ ।’

हामी मसिनाधुरीबाट हिँडेको केही बेरमै सवा ३ बजेतिर एक समथर तर अनौठो भूभागमा प्रवेश गर्‍यौँ । खगेश्वरले ४०५० मिटरको उचाइमा आइपुगेको बताए । यहाँको मौसम बेग्लै थियो । घरी ढपक्कै कुहिरोले ढाक्दथ्यो घरी छ्याङ्ङ फाटेझैँ हुन्थ्यो । घरी फूल बर्सिएजस्तै हिउँका गेडाहरू बर्सिन्थे, घरी अक्षता बर्सिएझैँ पानीका सिमसिम थोपाहरू बर्सन्थे । बाहिर सिरेठो चलिरहेको थियो, तर भित्र सिरक गम्लङ्ग ओढेजस्तै न्यानो भैरहेको थियो । घरी वातावरण उज्यालिन्थ्यो, घरी अँध्यारिन्थ्यो । भूसतहले पनि त्यसरी नै घरीघरी आफ्नो रूप फेरिरहेको थियो । भुइँभरि तिखा ढुङ्गाका छेस्काहरू थिए, तर टेक्दा मुलायम प्रतीत हुन्थे । विचित्र स्थलमा आइपुग्दा द्रवीभूत भैरहेको थिएँ । आफैलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।

केही तेर्छिएपछि टाढैबाट चहुरको बिच भागमा भर्खरै टाँगिएका सेतापहेँला थुप्रै ध्वजाहरू देखिए । आराले चिरेर टुक्रा पारेका जस्ता एउटै आकारका पत्रेचट्टानहरू भित्तामा छरिएका थिए । त्यस्तै चौकुना मिलाइएजस्तो निकै ठूलो पत्रेचट्टानमा शिवलिङ्ग स्थापना गरिएको थियो भने पूर्वपट्टिको अर्को चट्टानमा बसाहा स्थापना गरिएको थियो । दक्षिणपट्टि ठूलो घण्ट झुन्ड्याइएको थियो । मन्दिरको संरचना निर्माण गर्न केही बोरा बालुवा र सिमेन्ट पनि ल्याइएको रहेछ । पानी उपलब्ध हुन नसक्दा यत्तिकै छोडिएको देखिन्थ्यो । २०८० को चैत्र २८ गते वली वंश समन्वय समाजको आयोजनामा यो सबै काम सम्पन्न गरिएको थियो । ओली वंश समन्वय समितिका अध्यक्ष हरि वली र धनबहादुर वली यहाँ आएर वलीको उत्पत्तिको बारेमा पटक पटक अध्ययन अनुसन्धान गरेका थिए । तिनै धनबहादुर वली (हालः थाइल्यान्डका राजदूत) द्वारा लिखित आदिपुरुष चित्रलेखि नामक पुस्तकको विमोचन पनि आठबीसकोटका मेयर रवि केसीबाट यहीँ गरिएको रहेछ । वली समाजबाट सारिएको यो प्रथम पाइला यस क्षेत्रको संरक्षण तथा विकासको लागि दूरगामी महत्त्व राख्नेछ ।

जहाँ पुग्न केही घण्टाअघिसम्म असम्भवप्रायः ठानेको थिएँ त्यही ठाउँ आइपुग्न सफल भएर होला म भक्कानिएँ । शरीरबाट कम्पन छुट्लाजस्तो भयो । गहभरि आँशु छचल्कियो । आफूलाई सम्हाल्न पूर्वतिरको त्रिशुल ठड्याइएको ठाउँमा पुगेँ र गलामा बगिरहेका आँशु पुछ्दै केही बेर बिताएँ ।

फर्केर आइसकेपछि चित्रलेखि थानको अगाडि घोप्टो पर्दै यो विचित्र स्थलमा पाइला टेक्न समर्थ तुल्याएकोमा चित्रलेखि कुलदेवतालाई हृदयदेखि नै धन्यवाद टक्र्याएँ ।

क्रमशः (विचित्र पाटनको प्रसङ्ग अझै बाँकी नै छ ।)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *