चित्रीपाटनः विचित्र देशाटनसंस्मरण

चित्रीपाटनः विचित्र देशाटन (भाग-५)

मगादेखि कागमारेसम्म

मेरा आँखा बिहान ठीक चारबजे झङ्लङ्ङ ब्युँतिहाले । यात्रामा मलाई कहिल्यै घडीको अलार्म चाहिएन । जति बजे उठ्ने योजना बनायो, त्यति बजे आँखा खुलिहाल्छन् । शरीर थाकेर जतिसुकै लट्ट परे पनि मस्तिष्क थाक्दो रहेनछ ।
साथीहरूलाई बिहानै डिष्टर्ब नगरौँ भनेर मैले पहिले घरबेटी रुपे भण्डारीलाई उठाएँ । उनले आफ्नी बुहारीलाई उठाए । बुहारी उठ्नेबित्तिकै २ वर्षे जाइन कोलाहल छोड्दै उठ्यो । त्यसपछि मात्र भण्डारीका कुखुराहरू उठेर भाका मिलाउँदै पालैपालो कुखुरी काँ गाउन थाले । एकैछिनमा भान्छाघरबाट धुवाँको मुस्लो उठेर हामी सुतिरहेकै कोठामा आइपुग्यो र साथीहरूको आँखा कुतकुत्याउन थाल्यो । साथीहरू आँखा मिच्दै यताउता चलमलाउन थाले ।

म बाठो हुँदै नास्ता खान भान्छाकोठामा पुगेँ । गंगा बुहारीले छोरो काखमा च्यापेरै मकैका रोटी थेच्दै थिइन् । भण्डारीजी जन्मेदेखिको बल लगाएर ठेउलाले आगो फुक्न व्यस्त थिए । दाउरा अलि चिसा कट्मेरा रहेछन् फलस्वरूप रोटी पकाउन पठाएको रिस बेस्मारी धुवाँ छोडेर पोखिरहेका थिए । प्रतीक्षा र परिश्रमको फलस्वरुप बल्ल एउटा रोटी पाक्यो । मैले आलुको तिहुनसँग मकैका ताततातो नरमनरम रोटी खान थालेँ । एउटा रोटी तीन/चार गासमा फुत्लुक्कै घाँटीबाट छिरिहाल्यो । रोटी यति मिठो लाग्यो कि एकैपटक ६ वटै रोटी निलिदिऊँ । भन्नेबित्तिकै पाकेको भए त त्यो पनि असम्भव थिएन तर दाउरा नै इच्छाका अवरोध बनिदिए । रोटी पर्खिरहँदा यहीँ घाम चर्कने सम्भावना देखियो । अर्को रोटी नपाक्दै एक्कबहादुर भान्छामा आइसक्नुभयो । दोस्रो रोटी उहाँकै भागमा पर्‍यो । तेस्रो रोटी मैले फुत्क्याएँ । चौथो रोटी एक्कबहादुरको भागमा नपर्दै बाहिर मिर्मिरे उज्यालो भइहाल्यो । उहाँले अर्को रोटी थप्ने कोशिस गर्दै हुनुहुन्थ्यो, मैले उहाँलाई तान्दै अत्याएँ, ‘मनलाल र खगेश्वरले खान बाँकी नै छ, पाकेका जति हामीले नै खाइदिने हो भने उनीहरूलाई पकाउन ढिला हुन्छ । बाँकी रोटी उनीहरूकै भाग छोडिदिऊँ । बरू हामी बाटा लागिहालौँ । हामी बाटा लागे उनीहरू पनि आत्तिन्छन् ।’

यति भनेर म भान्छाबाट बाहिर निस्किएर सुतेको कोठामा पुगेँ र मनलाल तथा खगेश्वरलाई घचघच्याउँदै भनेँ, ‘तपाईँहरू आउँदै गर्नुहोला, हामी त हिँड्दै गर्छौँ । पर्खँदा तपाईँहरूलाई भेट्टाउन मलाई यसै मुस्किल पर्छ ।’ उहाँहरूले पनि, ‘जाँदै गर्नुहोस् न त !’ भनेर सहजै अनुमति दिनुभयो । पेटले माग्दामाग्दै मिठा रोटी छोडेर निस्कनुपर्दा एक्कबहादुर पश्चात्तापमा पर्नुभएको थियो ।

मैले झाँक्रीले आलामाल भिरेझैँ झोला पिठ्यूँमा फालेँ र बार्दलीमा आएर आकाशतिर हेरेँ । दुईचार छिटा बादलबाहेक मौसम सफा नै थियो । ब्यानताराले पश्चिमको डाँडाबाट चमचम चम्किँदै, ‘शुभयात्रा छ है !’ भन्यो । बिहानको ठीक साढे पाँच बजेको थियो । मनले कौतुहलको पङ्खा फननन घुमाउँदै जमिन छोड्यो । आकाशिन थालेको मनले शरीरलाई जुरुक्क उचाल्यो ।

एक्कबहादुर र मैले चित्रीपाटनको यात्राको पहिलो पाइलो एकैचोटि चाल्यौँ । करेसामा पुगेपछि एक्कबहादुरले लठ्ठी खोज्न थाल्नुभयो । म भने भुइँमा पाइला टेकिएकै छैनन् सरी त्यहाँबाट उडान भर्दै एकैचोटि हिजो प्रवेश गरेको मगाको डाँडामा पुगेँ । यतिखेरसम्म झलमल्ल उज्यालो भैसकेको थियो । मगाको गाउँ बिहानी उज्यालोमा झनै मदमस्त देखियो । पारिपट्टि गैरीपातलमा बाक्लै स्याउ तथा किबी खेती देखियो । स्याउका फूलहरूले गैरीपातल नै हिउँले ढाकिएको झझल्को दिन्थे । रातो माटो तथा कमेरोले पोतिएका झुप्प परेका सुन्दर ढुङ्गेछाने घरहरू चारैतिरका भूभागमा प्रस्टिए । मनले डाँडाकाँडा चक्कर मार्न थाल्यो । माथितिर नजर उठाएँ । चित्रीपाटनको थोरै शिरभाग त यही डाँडाबाट पो देखिँदो रहेछ । सामुन्नेको लेकको पछाडि लुकेर चित्रीपाटनले हिउँको टोपी ढल्काउँदै, ‘आइजा, आइजा !’ भनेजस्तै लाग्यो । हेर्दा उति टाढा देखिएन । मोबाइल स्विचअफ नभएको भए कति फोटो खिच्दो हुँ । कौतुहलताका पङखा झनै मच्चीमच्ची रिङ्न थाले ।

एक्कबहादुरले करेसामा गतिलो लठ्ठी भेट्टाएनछन् । मगाको डाँडातक आइपुगेपछि लठ्ठी खोज्छु भन्दै फेरि उँधोतिर झरे । मनलाल र खगेश्वर घरबाट निस्किएकै थिएनन् । बाँकी ३ जनाको लागि रोटी तथा सबैको लागि बाटोमा खाने अर्नी समेत पाक्न कति समय लाग्ला भन्ने अनुमान गरेकै थिएँ समय कटाउने हिसाबले म एक्लै डाँडाडाँडै उकालो उक्लिएँ । थोरै माथि भर्खरै खनेको सडकबाटो भेटियो । म सडक काटेर अझै माथि उक्लिएँ । माथिपट्टि घना जङ्गल थियो । म बिस्तारै जङ्गलको भित्रभित्र पस्दै गएँ । जङ्गलको भित्रपट्टि थुप्रिएको अँध्यारोलाई मगामा फैलिसकेको उज्यालोले बढार्न सकेको थिएन । मनले जोखिम कल्पियोः ‘एक्लै छु, बाघ वा भालु आएर च्याप्प समात्यो भने ?’ मन ढक्क फुल्यो । कौतुहलताको पङ्खा घुम्न छोडेपछि गोडा पनि अघि सर्न रोकिए ।

म बिस्तारै पछिपछि सर्दै गाउँ देखिने भागसम्म आइपुगेँ । तल हामी बास बसेको घर पनि देखियो । केही पुरुष आकृतिहरू घरमै घुमिरहेका थिए । उनीहरूको बाटा लाग्ने सुरसार नै देखिएन । एक्कबहादुरले लठ्ठी फेला पारेछन्, डाँडामा आएर थुचुक्क बसीकन हाँगाबिँगा भाँचकुच पार्न थाले । म फेरि सडकमा झरेँ र वारिपारि हेर्न थालेँ । एक्कबहादुरलाई बोलाउँदै भनेँ, ‘ससुराज्यू, म यता माथि छु । यता आउनोस्, माथि !’ एक्कबहादुरले बक्क परेर माथितिर हेरे । घना जङ्गल देखेर हो ? वा मेरो लहड देखेर हो ? वा चित्रीपाटनको सेताम्य शिर देखेर हो ? खुट्याउन सकिनँ । उनी घरी रुपेको घरतिर त घरी माथितिरको जङ्गल हेर्दै जाँगर नलागेझैँ लठ्ठी टेक्दै मेरो नजिक आइपुगे ।

‘हामले चाँरि होस् भनेर २/२ वटा मात्र रोटा खाएर आयौँ जुवाइँसाब् । उनीहरूले हाम्रो भाग समेत हसुरेर पेट टन्नै भर्न थाले कि ?’ एक्कबहादुरको अनुमान सही पनि हुनसक्थ्यो । नत्र यत्रो समय त नलाग्नुपर्ने थियो । लेक चढ्नुपर्ने कति छ कति, उनीहरू भने बसिबियाँलो गरिरहेका छन् ।

हामीले दुवैजनाको स्वर मिसाएर मनलालहरूलाई डाँडाबाटै बोलाउन थाल्यौँ, ‘ऐ मनलाल काकू । के भाउँतो भो त्यता आँफू ? पाँचबजे नै हिड्ने भनेको साढे छ बजिसक्यो । किन त्यतै टाल्लिनुभो ? कि आज पनि भण्डारीको घर नछार्ने कुरा भयो ?’ घरका मानवीय आकृतिहरूले पुलुक्क माथितिर हेरे मात्र । बास बसेको घरको परिक्रमा गर्न छोडेनन् ।

‘जाम् भो ससुराज्यू, दुईजना छँदै छौँ, हल्लाखल्ला मच्चाउँदै जाऊँ । उनीहरू आउँदै गर्छन् ।’ मैले कर गरेँ ।

‘के एक्लै गैजाने हो तो ज्वाइँसाप् ? एक्लै ता अलि कर्रो परिजालाए । नचिन्याउ बाटो नजाऊँ कि ? अब ता आइजालान्ए बगाल पनि ।’ भन्दै एक्कबहादुरले मलाई मन नलागी नलागी पछ्याउन थाले । उनले मेरो प्रस्ताव स्वीकार पनि गरेनन् र ठाडै अस्वीकार पनि गर्न सकेनन् । कुरा गर्दागर्दै हामी अलिकति माथि उक्लियौँ ।
‘भो योभन्दा माथि नजाऊँ जुवाइँसाप् ! बाटो अर्को पो छ कि ? बरू उनीहरू निस्किएको देखिने ठाउँमा पर्खिएर बसौँ ।’ भन्दै एक्कबहादुर फरक्क फर्केर आएकै बाटो झर्न थाले । म उनलाई हेरेको हेरेइ भएँ । उभिएको ठाउँबाट बास बसेको घर अलिअलि मात्र देखिन्थ्यो ।

पौने सात बजेतिर पुरुष आकृतिहरू बास बसेको घरबाट लहरै लागेर बाटोमा निस्किएको देखियो । मनलालहरू बाटोमा निस्किएको देखेर खुसी छताछुल्ल भयो । मनभित्र कौतुहलता मच्चिन थाल्यो । शरीर उचालिन थाल्यो । एक्कबहादुर ठाउँको ठाउँ उभिएर उनीहरू आउने दिशा पत्ता लगाइरहेका थिए । म भने उनीहरूको बल पाएर फेरि माथितिर उक्लिन थालिहालेँ । केही माथि के पुगेको थिएँ एक्कबहादुरले मलाई बोलाए, ‘ओए, जुवाइँसाब्, बाटो त्यता रैनछ, छिट्टै तल झर्नोस् । तल ! तल ! बगाल ता तलतलि पारिको डाँडामा पुगिसके ।’

मैले फर्किएर तलतिर हेरेँ । नभन्दै उनीहरू धेरै तलको तेर्छो बाटोमा लम्किरहेको देखिए । रुपे भण्डारी अघिअघि टाङ हाल्दै थिए । उनलाई भेट्टाउने मनलालले प्रयास गरिरहेका थिए । खगेश्वर अलि पछि नै थिए र एक्कबहादुर बाटोमा झरिसकेर खगेश्वरलाई भेट्टाउने प्रयत्न गर्दै थिए । उनीहरूले म्याराथुन धावकझैँ तेर्पायाँ बाटोमा लामालामा छलाङ मार्दै थिए । बक्क परेर हेरिरहेको मसँगको दुरी बढ्दै जाँदा उनीहरूको आकृति मसिनिँदै थियो। यिनीहरूले मलाई पक्का छोड्ने नै भए भनी म आत्तिएँ ।

पहिले उक्लिएको बाटो फर्किँदा झनै ढिला हुने अनुमान गरेर म जङ्गलै जङ्गलको अबाटोबाट तेर्सो लागेँ । रुखबाट झरेका पतकर तथा सोत्तर-स्याउलाले तलतिर झर्नै दिएनन् । हाँगा काटिएर जङ्गलमा त्यत्तिकै छोडिएका झ्यालाझ्याम्टाले मलाई तलको बाटोमा झर्न झनै बिलम्ब गरिदिए । बल्लतल्ल उनीहरूले पार गरेको बाटो भेट्टाएर उनीहरू गएतिर हेरेँ । उनीहरू त पारिको डाँडोबाट पनि ओझेल परिसकेका थिए ।

मैले मनको पङ्खा मन्द गरेर हातगोडाका पङ्खालाई तिब्र पारेँ र तेर्सोमा हामफाल्दै एकैछिनमा डोप्केको डाँडामा पुगेँ । उनीहरू कता पुगे भनी वारिपारि हेरेँ । अलिकति माथि जङ्गलको छेउमा उनीहरूले मलाई पर्खिरहेको देखेँ । रुपे भण्डारीले टुक्रुक्क बसेर दुई हातले सुल्फा समाती मुखबाट धुवाँको मुस्लो फालिरहेका थिए । मनलाल र एक्कबहादुर आम्नेसाम्ने भएर धुवाँ उडाउन सकसकाएका जस्ता देखिन्थे । खगेश्वर अलिकति तलैको पाखामा उभिएरै एउटा खुट्टाको घुँडामा कुइनो अड्याएर अर्को हातले पसिना पुछ्दै थिए । मैले गति घटाउँदै उनीहरूको नजिकनजिक पुग्न सफल भएँ । श्वासप्रश्वास अत्यन्तै बढिरहेको थियो । जिउबाट पसिनाका धारा खलखली छुटिरहेका थिए ।
म उनीहरूको छेउमा पुगेर चार हातखुट्टा टेकी थ्याच्चै बसेँ र कुकुरलाई गर्मी चढेजस्तै हप्याक-हप्याक गर्न थालेँ । मेरो अवस्था देखेर रुपे मज्जाले हाँस्दै बोलेः ‘दुईपाइला नचाल्दै यसरी थाके त चित्रीपाटन त धेरै परैको कुरा हो यही आगाला धाराको जङ्गल पनि आज दिनभर कट्न सकिँदैन ।’

‘पाँच बजे हिड्ने योजनालाई लत्त्याएर दुईघण्टा पछि सार्ने ? अनि अहिले पुग्न सकिँदैन भनेर भो त ? कसरी दुईपाइला मात्र भयो ? म अहिलेदेखि हो र तलमाथि गर्न थालेको ? यति ढिला गरेर के काम फत्ते पार्नुभयो ? तिर्थस्थलमा जाँदा त भोकै पो जान्छन् मान्छेहरू ।’ दौडानले तात्तिएकै थिएँ, म रन्किएँ ।

‘बिहानको नास्तापानी आफूले गरेर मात्र भएन । दिउँसो माथि खानलाई अर्नीपर्नी पाक्न दिनैपर्‍यो । रुपेदाइ गाई दुहुन थाल्नुभयो । झलमल्ल उज्यालो नभई गाईले दूधै दिँदो रहेनछ त हामी आत्तिएर मात्र के गर्ने ? उहाँलाई छोडेर पनि आउनुभएन ।’ मनलालले थामथुम पार्नुभयो । कुरा असंगत थिएन ।

मेरो स्वाँस्वाँ रोकिएको थिएन, रुपेले उर्दी फिराए, ‘जाम्, जाम् । हामी त दुई बिसौनी मात्र बिसाएर चित्रीपाटन पुग्थ्यौँ । पाइलैपिच्छे बिसाउने हो भने कहिले पुगिएला र त्यहाँ ?’

मनलालले भनेः ‘उठ्नोस् भतिज । बिस्तारै बिस्तारै जाउँला । बरू तपाईँ अघि लाग्नुहोस् । हामी तपाईँको पछिपछि आउँला ।’

स्वाँस्वाँ नरोकिँदै म उठेपछि सबैजना उठे । अब ठाडो उकालो र बाक्लो जङ्गल एकैचोटि सुरू भएको थियो । जङ्गलमा निगालाबारी प्रशस्तै रहेछ । निगालाको अलावा गोब्रे सल्लाका झ्याउ लागेका बडेमानका रुखहरूको साथै फलाँट, खर्सु्, रयाँज, बाँझ, बुराँस आदि झ्याम्म परेका लेकाली रुखहरूले वन ढाकिएको थियो । कुराकै तालमा रुपे, मनलाल र एक्कबहादुर हामीलाई तलै छोडेर अगाडि लम्किहाले । खगेश्वर र म पछिपछि कनीकुथी उक्लिँदै थियौँ । जङ्गलको केही उकालो उक्लिएपछि फेरि बाटो तेर्पायाँ लाग्यो । यहाँ जङ्गल फाँडेर पाखेबारी बनाइएको रहेछ । छेउमै गाईवस्तुविहीन गोठ थियो । हामी गाईभैँसी चराउन लैजाने मुखुतोचाख्लो बाटोमै हिँडिरहेका थियौँ । बाटो तेर्छिँदा आँट बढ्थ्यो भने बाटो उक्लिँदा घट्थ्यो । खगेश्वर पछिपछि परेको देखी मलाई हौसला मिल्दथ्यो । जतिसुकै यात्रा गरे पनि खगेश्वर दङाली नै हुन् । यिनी बराबर त म जसरी पनि हिँडिहाल्छु भनी आँट बढेको थियो । म पनि लामो पैदलयात्रामा ननिस्किएको झन्डै २ वर्ष भैसकेकोले दङालीतुल्य भैसकेको थिएँ ।

बाटो फेरि उँभो ठाडियो । रुपे, मनलाल र एक्कबहादुर धेरै अगाडि पुगेर जङ्गलभित्र ओझेल परिसकेका थिए ।

घरी खगेश्वर अगाडि त घरी म अगाडि हुँदै निरन्तर उक्लिरह्यौँ । मलाई फेरि स्वाँस्वाँ बढ्न थाल्यो । त्यही हालत खगेश्वरको पनि थियो । तर आफ्नो वास्तविक अवस्था लुकाउन खगेश्वरले मोबाइल तेर्स्याइहाल्थे । वारिपारि र तलतिरको फोटो लिएको बहाना पार्दै थकान मार्दथे । मैले पनि उनले फोटो खिचेको हेरेजस्तो गरेर थकाइ मार्ने बहाना बनाउँथेँ ।

‘अलि छिटो आउनुहोस् । यो तालले त आज बाटोमै बास बस्नुपर्ने हुन्छ ।’ रुपेको आदेशात्मक आवाज जङ्गलभित्रबाट हामीसम्म आइपुग्यो । अलि माथि उक्लिएपछि थाहा भयो उनले लठ्ठी काटेर ताछ्दै रहेछन् । एक्कबहादुरले पहिलाको लठ्ठी फ्याँकेर अझै मोटो लठ्ठी छान्दै थिए । रुपेले सायद अर्को चिलिम कक्कड हामी आइपुग्नुपहिल्यै तन्काइसकेको हुनुपर्छ । उनको झोलामा हसिँया, कुटो र नाम्लोको समेत व्यवस्था रहेछ । हामी उनीहरूको छेउमा पुग्नेबित्तिकै हामीलाई एक-एकवटा बलिया लठ्ठी थमाइदिए ।

‘हामी त मगादेखि ३०० मिटरभन्दा बढी उचाइ चढिसक्यौँ होला !’ भन्दै खगेश्वरले मोबाइल एप खोलेर उचाइ चेक गरे, ‘जम्मा २३०० मिटर माथि मात्र आइएछ ।’ उनको अनुहार अलिकति बिग्रियो ।

धेरै माथि आइपुगेर पनि मगाबाट १५० मिटर उचाइको मात्र दुरी पार गरेछौँ । मनलालले घडी चेक गरे ८ बजिसकेछ । मैले मनमनै हिसाब फाटेँ चढ्नुपर्ने दुरी २००० मिटर । सवाएक घण्टामा १५० मिटर मात्र चढेको हिसाबले माथि पुग्न कम्तीमा १५ घण्टा लाग्नेछ । बिचैमा बास पर्ने भो भनेर रुपेको अनुहार मलिन हुँदै गएको प्रष्ट देखिइरहेको थियो ।

‘प्राण फुत्किए पनि अब गति नबढाई सुक्खै छैन ।’ मनले अठोट गर्‍यो, ‘अब १०० मिटर उकालो नचढी विश्राम गर्दै गर्दिनँ ।’ जिउको सबै भार लठ्ठीमा पार्दै उकालो चढ्न थालेँ । खगेश्वरलाई फोटो खिच्न सहयोग गर्न थालेकोले मनलाल पनि पछि पर्न थालिसकेका थिए ।

जङ्गल जति गहिरिँदै जान्थ्यो, उति बाटो हराउँदै गएको थियो । मगा र गोतामकोट तलैबाट देखिन छोडिसकेका थिए । जङ्गल यति बाक्लो थियो कि बीस पाइला पर के छ भन्नेसमेत देख्न सकिँदैनथ्यो । अनकन्टारबाट आएको झ्याउँकिरी र चराको नौलो स्वरले घरीघरी जङ्गलको निरवता चिर्ने कोशिस गरिरहन्थ्यो । अब रुपे पनि अनुमानको भरमा मात्र अगुवा लागेको प्रष्ट थियो । कहाँ जाने भन्ने कुरा निश्चित भएपछि कसरी जाने भन्ने कुरा सजिलो भैहाल्दो रहेछ । उनका पाइला घरी बाटोमा त घरी अबाटोमा हुन्थे । उनले जहाँ पाइला टेक्थे, हामी पनि त्यहीँ टेक्थ्यौँ । बाटोमा झरेका पातपतिङ्गरहरू झन् झन् बाक्लिँदै गएका थिए । उक्लिएका पाइला पनि चिप्लिएर तलै झर्थे ।

रुपे र एक्कबहादुर निरन्तरको उक्लाइपछि अलिकति समथर ठाउँमा पुगेर विश्राम गरिरहेका रहेछन् । म पनि अविश्रान्त करिब सँगसँगैजसो पुगेँ । स्वाँस्वाँ त बढेकै थियो, तर सुरूको जस्तो सारोगारो परेको थिएन । सायद हातको लठ्ठीको कमाल थियो । खगेश्वरजी आइपुगेपछि समय र उचाइको जानकारी गराएः ‘हामी २४५० मिटरमाथि आइपुगेछौँ । समय पौने नौ भयो ।’

मगाबाट ल्याएका पानीका बोत्तलहरू रित्तिँदै गएका थिए । मुख भक्रक्कै सुकेकोले मैले रियल जुसको सहायताले जिब्रो भिजाइरहेको थिएँ । एकछिन विश्राम गरेर पुनः माथि उक्लँदै गयौँ । केही माथि बाक्लै सर्‍याकसुरूक सुनियो । कुनै वन्यजन्तु पो हो कि ? मन अलिकति खलबलियो । सबैका आँखाकान चनाखा देखिए ।

‘केही होइन । यहाँ घोरल, झारल, कस्तुरी, व्वाँसो, जङ्गली कुकुर, हरिण, थार, आदि वन्यजन्तु पाइए पनि तिनीहरू माथि पाटनको छेउछाउतिरै देखिन्छन् । हामीले तिनीहरूलाई देख्नुपहिल्यै तिनीहरूले मान्छेको गन्ध सुँघेर भागिहाल्छन् । मान्छे हल्ला गर्दै समूहमा हिँड्दा बाघभालु पनि कि एकातिर लाग्छन् कि त बथानेर चुपचाप बस्छन् । त्यो त चर्दै गरेका घोडा या गाईभैँसीको सर्‍याकसुरुक हुनुपर्छ !’ रुपेले अनुमान गरे । माथि पुगेर हेर्दा साँच्चिकै घोडाहरू नै चरिरहेका रहेछन् । गोठालो भने कतै देखिएन ।

हामी थप दुई बिसौना बिसाइसकेर अझै माथि चढेपछि एउटा अलि मोटो गोरेटो बाटो पूर्वतिरबाट आएर मिसियो । रुपेले भनेः ‘यही हो नयाँडाँडाबाट आउने बाटो । हिजो नयाँडाँडा पुग्न सकेको भए अलि तेर्छैतेर्छो पर्थ्यो र यहाँ आइपुग्न समय पनि निकै कम लाग्थ्यो ।’

अलिकति पर पुगेपछि हामी उक्लिरहेको ‘आगाला धारा’ डाँडाको थाप्लोमा समथर ठाउँ भेटियो । रुपेले भनेः ‘यो ठाउँको नाम कागमारे हो ।’ अनि मास्तिर देखाउँदै भने, ‘ऊ माथि हेर्नुहोस् त ! त्यही हो चित्रीपाटन । हामी अहिलेसम्म जति हिँड्यौँ त्यहाँ पुग्न अझै दोब्बर समय लाग्दछ ।’

हामी चारैजनाले नजर उचालेर एकछिनसम्म चित्रीपाटनमै नजर स्थिर तुल्यायौँ । निकै अग्लो नाङ्गो पाखोमाथि बोकाको लाम्चो टाउकोले आकाशसँग सिँगौरी खेल्दै गरेको जस्तो देखिन्थ्यो चित्रीपाटन । शिरभागमा बाक्लै हिउँ जमिरहेको देखिन्थ्यो । त्योभन्दा परको भागलाई कुहिरोले छोपेको थियो । तल्लुबगरबाट देखिने लेक जति माथि देखिन्थ्यो, त्योभन्दा पनि निकै माथि देखिन्थ्यो यहाँबाट चित्रीपाटन ।

मन आत्तिँदै आफ्नै मनलाई सन्देह पोख्योः ‘आम्मामामा अझै कति टाढा !! आज त के भोलि बेलुकासम्म पनि पुग्न सकिँदैन होला, त्यति माथिको उचाइमा त ।’

पछि परेका खगेश्वर आइपुगेर वर्तमान उचाइ र समय बताइहालेः ‘यतिखेर दश बजेको समयमा २७०० मिटरको उचाइमा आइपुगेछौँ ।’

मैले औँला गनेँ, ‘सवा ३ घण्टामा ६०० मिटर मात्र उक्लिएछौँ । अझै १३०० मिटरभन्दा बढी उक्लनुपर्ने भएकोले रुपेले भनेजस्तै दोब्बरभन्दा बढी दुरी चढ्न बाँकी नै छ । यही हिसाबले हिँड्नसके पनि हामीलाई ६/७ घण्टा त अझै लाग्नेछ र करिब चार/पाँचबजे मात्र हामी चित्रीपाटन पुग्ने भयौँ । भोक र अत्यधिक थकानले गति झन् घट्ने सम्भावना छ । फर्कँदा बाटोमा बास त पक्का पर्ने नै भयो । चित्रीपाटन नपुगेर बिचैबाट फर्कने कि अनेकौँ जोखिमहरू मोलेर निर्जन जङ्गलमा भोकै बास बस्ने ?’

रुपेले खगेश्वर र मतिर हेरेर प्वाक्क भनिहालेः ‘भयो अब ! हामी तीनजना मात्र माथि पुगेर फर्कन्छौँ । तपाईँहरू अब माथि उक्लन कदापि सक्नुहुन्न । हामीलाई पर्खेर यतै बस्नुहोस् । साथमा न ओढ्ने-ओछ्याउने छ, न जिउमा बाक्लो लुगा, न भोजन, न पानी । हिंस्रक जन्तुहरूले शिकार गर्ने बेला नै राति हो । यस्तो घना जङ्गलमा खुल्ला ठाउँमा बास बस्नु भनेको काललाई हाकाहाकी निम्त्याउनु मात्र हो ।’

रुपेको कुरा गलत थिएन । तर खगेश्वरले रुपेको कुरा सुनेनन् । उनी आफ्नो मोबाइल क्यामेरा पूर्वतिर तेर्स्याउँदै सहर्ष सुनाउनमै व्यस्त थिएः ‘म ऊ त्यो गाउँसम्म अस्ति नै आइसकेको छु । त्यो स्याँला हो, त्यो खदी हो, यो तलको भाग पहारा हो । ऊ त्यो पारिको डाँडो झारमारे हो ।’

पारितिर जताततै छाङ्गाछुर आँखा रिङ्ने भिर मात्र देखिन्थ्यो ।

यता मेरो छाती अव्यक्त पीडाले विदीर्ण भैरहेको थियो । आफ्नोसामु खडा भएका चित्रीपाटनभन्दा पनि अग्ला समस्याहरूले भित्रैसम्म चिथोर्दै थिए । रुपेले भनेजस्तै अब योभन्दा बढी हिँडाइको गति बढाउने ताकत ममा छँदै छैन । पाँचजनाको लागि मुख भिजाउन अब एक लिटर मात्र पानी बाँकी छ । पछि परियो भने त्यही पानी पनि आफ्नो भागमा पर्नेछैन । उनीहरू लम्किए भने न उनीहरूलाई भेटाउन सकिन्छ, न उनीहरू माथि गएको हेरेर निर्जन जङ्गलमा एक्लै कुर्न सम्भव छ । मोबाइल हिजैदेखि स्विचअफ छ । आफ्नो असमर्थताको कारणले जान सक्नेलाई माथि जान रोक्नु पनि भएन । यति माथि आइपुगेर चित्रीपाटन नहेरी पनि फर्किनुभएन । हे भगवान्, मलाई यस्तो के विपत् आइपर्‍यो ? म अब के गरूँ ? म भक्कानिएँ । रुन मात्र सकिनँ ।

क्रमशः

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *